सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’ मा आज हामी भारत-क्यानडा सम्बन्धमा पछिल्लो समय चुलिएको तनाव, योसँग जोडिएको खालिस्तानी आन्दोलन र उक्त आन्दोलनको इतिहासलगायत विषयमा चर्चा गर्नेछौं।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार संसदमा बोल्दै पृथकतावादी शिख नेता हरदीप सिंह निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग भएको दाबी गरे।
‘क्यानडाको भूमिमा क्यानेडियन नागरिकको हत्यामा विदेशी सरकारको कुनै पनि संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो,’ उनले चेतावनी दिए।
भारत सरकारले भने निज्जरलाई आतंककारी घोषणा गरेको थियो। उनी खालिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख भएको दाबी गर्थ्यो र उनको नाममा पक्राउ पूर्जीसमेत जारी गरेको थियो।
प्रधानमन्त्री ट्रुडोको दाबीलाई भारतले बेतुकको र निहित उद्देश्यका लागि लगाइएको निराधार आरोप भनेको छ। ट्रुडोको भनाइ क्यानडाले आश्रय लिइरहेका, भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई धम्की दिइरहेका खालिस्तानी आतंकवादी र चरमपन्थीहरूबाट ध्यान हटाउने प्रयास भएको भारतको दाबी छ।
क्यानडाकी विदेश मन्त्री मेलानी जोलीले स्थानीय मिडियालाई निष्कासित कूटनितिज्ञ भारतीय गुप्तचर संस्था रअका क्यानडास्थित प्रमुख पवनकुमार राय भएको जानकारी दिइन्। भारतले पनि निकालिएका कूटनीतिज्ञ ओलिभियर सिल्भेस्टर क्यानडाको गुप्तचर संस्थाको भारतस्थित प्रमुख भनेर मिडियालाई चिनायो।
प्राय:सबै देशले गुप्तचरलाई कूटनीतिज्ञको आवरणमा अरू देशमा जासुसी गर्न खटाउने गर्छन्। नराम्रो सम्बन्ध भएका देशले जासुसी गरेको आरोपमा त्यस्तालाई निकाला गर्छन्। तर राम्रो सम्बन्ध भएका देशले हत्तपत्त एक-अर्काका कूटनितिज्ञलाई देश निकाला गर्दैनन्।
राम्रो सम्बन्ध भएका देशमा समेत जासुसहरू भने खटिएका हुन्छन्। ठूलो मात्रामा अमेरिकी गोप्य सूचना सार्वजनिक गरेर फरार भएका जासुसी कन्ट्रयाक्टर एडवर्ड स्नोडेनले अमेरिकाले तत्कालीन जर्मन चान्सलर एन्गेला मर्कललगायत पश्चिमा मित्र राष्ट्रका सरकार प्रमुखको फोन रेकर्डिङ गरेको खुलासा गरेका थिए।
राम्रो सम्बन्ध भएको देशमा खटिएका जासुसले स्वार्थ मिल्ने विषयमा त्यो देशका गुप्तचरसँग सहकार्य नै गर्छन्। केही खटपट भए गुप्तचर निकाय वा सरकारको स्तरमा नै सामसुम पार्छन्। त्यसलाई सार्वजनिक गर्दैनन्। जासुसहरूको गोप्यता र सुरक्षाका खातिर उनीहरूको परिचय त झन् खुलाउँदैनन्।
तर क्यानडाले नामै तोकेर राय रअको क्यानडा स्टेसन प्रमुख भएको खुलायो। भारतले पनि त्यसै गर्यो।
यो विवादले दुई देश बीचको सम्बन्धमा तनाव ल्याएको छ। लामो समयदेखि स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न भइरहेको काम यसै कारणले सेप्टम्बरको सुरूदेखि नै रोकिएको खुलासा अहिले भएको छ।
द न्युयोर्क टाइम्सका अनुसार केही साताअघि क्यानडाका उच्च सुरक्षा अधिकारीहरू भारत गएर समकक्षीसँग निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नताबारे कुरा गरेका थिए। ट्रुडोले संसदमा बोल्दै जी २० शिखर सम्मेलनका लागि भारत गएको बेला निज्जरको हत्याको कुरा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्ट र गम्भीरताका साथ उठाएको बताए। भारतले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मोदीले ट्रुडोको उक्त दाबी ‘पूर्ण रूपमा अस्वीकार’ गरेका थिए।
फर्केर हेर्दा जी २० शिखर सम्मेलनका लागि २ साताअघि भारत आएका ट्रुडोको भ्रमण किन न्यानो भएन भन्ने बुझिन्छ। मोदीसँग उनको अप्ठयारो भेट भयो। त्यसपछि अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत विश्वका अन्य नेताहरूले भाग लिएको रात्रिभोजमा उनी अनुपस्थित भए। त्यसमाथि उनको हवाइजहाजमा समस्या आएर उनी दिल्लीको होटलमा थप दुई दिनसम्म बस्नुपर्यो। आफ्नो जहाज लिएर जाने भारतीय प्रस्ताव अस्वीकार गरेर उनी होटलभित्रै बसे।
अहिले भइरहेको क्यानडा-भारत तनावमा दुई वटा कुरा महत्वपूर्ण छन्।
पहिलो, केही प्रमाण नभइकन क्यानडाले यो विषय यसरी उठाउँदैन थियो, ट्रुडोले त्यसरी संसदमा बोल्दैनथे। अहिलेसम्म क्यानडाले आफ्ना प्रमाण सार्वजनिक गरेको छैन। तर भारतलाई नभए पनि छिमेकी अमेरिकालाई यसबारे पक्कै जानकारी गराएको हुनुपर्छ।
दोस्रो, भारतले पाकिस्तान, नेपाललगायत छिमेकी राष्ट्रमा यस्ता हत्या गर्ने-गराउने गरेको भनिए पनि पश्चिमा देशमा यस्तो गरेको अहिलेसम्म खुलेको छैन।
क्यानडा अमेरिकाको छिमेकी र सबैभन्दा नजिकको सम्बन्ध भएको राष्ट्रमात्रै नभएर नेटो सदस्य र फाइभ आइज राष्ट्र पनि हो। फाइभ आइज अष्ट्रेलिया, क्यानडा, न्युजिल्याण्ड, बेलायत र अमेरिकाको गुप्तचर गठबन्धन हो। यी देशहरूले व्यापक रूपमा जासुसीमा सहकार्य गर्छन् र गोप्य सूचनाहरू साटासाट गर्छन्।
यो भारतलाई थाहा नहुने कुरै भएन। फाइभ आइजबाट जोगिएर यस्तो घटना घटाउन असम्भव प्राय: छ भन्ने पनि बुझेको छ। यी सबका बाबजुद् भारतले क्यानडाकै भूमिमा क्यानेडियन नागरिकको हत्या गर्नु आफैंमा आश्चर्यजनक छ। गरेको हो भने, थाहा भए पनि केही बिग्रिदैन भन्ने भारतको आत्मविश्वास हुनुपर्छ।
सन् २०१८ को अक्टोबरमा टर्कीमा रहेको साउदी महावाणिज्य दूतावासमा साउदी एजेन्टले साउदी अरेबियाबाट निष्कासित वासिङ्टन पोस्टका स्तम्भकार जमाल खसोग्जीको हत्या गरेका थिए। उक्त हत्या साउदी युवराज मोहम्मद बिन सलमान अर्थात् एमबिएसको निर्देशनमा भएको भन्दै पश्चिमा र विशेष गरी अमेरिकाका डेमोक्रयाट्सहरूले उनको विरोध गरे। सन् २०२० को राष्ट्रपतीय चुनावअघि डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडेनले त साउदी अरेबियालाई ‘परिया’ मुलुक घोषणा गरे।
तर रूसले युक्रेनमा हमला गरेका कारण तेलको भाउ बढेपछि र साउदी-इरान सम्बन्ध सुधार्न चीनले मध्यस्थता गरेकाले झस्किएको बाइडेन प्रशासन अहिले एमबिएससँग सम्बन्ध सुधार्ने प्रयास गर्न थालेको छ।
चीनविरूद्धको मोर्चाबन्दीमा भारतको साथको महत्व बुझेर मोदी सरकारले गरेको अल्पसंख्यकको दमन र मानव अधिकार उल्लंघनका घटनामा आँखा चिम्लिँदै बाइडेन भारतसँग पनि नजिकिएका छन्।
भारतले निज्जरको हत्या गरेको हो भने, बाइडेन-एमबिएस सम्बन्धबाट पाठ सिक्दै आफूसँगको सम्बन्ध पनि धेरै महत्वपूर्ण भएकाले अमेरिकाले खासै विरोध नगर्ला भन्ने भारतीय आँकलन हुनुपर्छ।
भारतले क्यानडालाई हेपेर यसरी थाहा हुने गरी हत्या गरेको बुझेर पनि ट्रुडोले आक्रामक रूपमा यो विषय उठाएका हुन सक्छन्। क्यानडाले यो विषयमा अमेरिका र बेलायतसँग पनि गम्भीर छलफल गरिरहेको बताइन्छ।
यो प्रकरणले अमेरिकालाई अप्ठयारो पार्नेछ। अहिलेसम्म यो विषयले चिन्तित भएको र भारतले अनुसन्धानमा सघाओस् भन्नेबाहेक अमेरिकाले केही पनि प्रतिक्रिया दिएको छैन।
अहिलेसम्मको घटनाक्रम हेर्दा अमेरिकाले भारतविरूद्ध केही कडा कदम चाल्छजस्तो पनि देखिन्न।
द न्युयोर्क टाइम्सका अनुसार बुधबारमात्रै संयुक्त राष्ट्रसंघका बैठकहरूमा बाइडेनले निज्जर हत्याको कुरा उठाउनुको साटो साउदी अरेबिया र भारतले नयाँ आर्थिक करिडोर बनाउन लागेको भनेर तारिफ गरेका छन्।
अब गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियास्थित सर्रे शहरको एक गुरुद्वाराको पार्किङमा गोली हानी हत्या गरिएका निज्जर को हुन् भन्नेबारे चर्चा गरौं।
निज्जरको जन्म सन् १९७७ मा भारतको पञ्जाब प्रान्तमा भएको थियो। द हिन्दुका अनुसार उनी १९९७ मा क्यानडा गएका थिए।
द न्यु योर्क टाइम्सका अनुसार उनले क्यानडामा प्लम्बरको रूपमा काम गरे, र त्यहीँ विवाह गरे। उनका दुई छोरा भए। सन् २०२० मा सर्रेको गुरुद्वारामा उनी अध्यक्ष बने।
क्यानडाका अध्यागमन, शरणार्थी र नागरिकतासम्बन्धी मन्त्री मार्क मिलरले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै निज्जरले ३ मार्च २०१५ मा क्यानडाको नागरिकता लिएको पुष्टि गरेका छन्।
सन् २०१६ मा एउटा खुला पत्र लेख्दै निज्जरले घोषणा गरे, ‘म एक शिख राष्ट्रवादी हुँ, जसले शिखहरूको आत्मनिर्णयको अधिकार र भारतले कब्जा गरेको पञ्जाबको भविष्यमा हुने जनमत संग्रहमार्फत् स्वतन्त्रतामा विश्वास गर्दछ र समर्थन गर्दछ।’
भारत भने उनले भारतमा आतंककारी गतिविधि गराउने भूमिका खेलेको आरोप लगाउँथ्यो। भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले २०१८ मा भारतमा ठूलो आतंकवादी हमला गर्ने षड्यन्त्र र योजना बनाएको आरोप निज्जरमाथि लगाएको थियो। उनले भारतको सत्तारूढ दल भाजपाको माउ संस्था राष्ट्रिय स्वयंसेवक संघको भेलामा आक्रमण गर्ने, हिन्दुहरूको ज्यान लिनेलगायत योजना बनाएको भारतक दाबी थियो।
भारत सरकारले सन् २०२० मा निज्जरलाई खालिस्तानी आतंककारी घोषणा गर्यो। आतंकवादी संस्था केटिएफको नाइके भएको दाबी गर्यो। गत वर्ष उनलाई पक्राउ गर्ने सूचना दिनेलाई १० लाख भारूको पुरस्कार घोषणा भयो।
निकै टाढाको मुलुक क्यानडामा बस्ने एक व्यक्तिविरूद्ध भारतले किन यति धेरै स्रोत साधन परिचालन गर्यो त?
किनकी निज्जर भारतको एक यस्तो आन्दोलनसँग जोडिएका थिए, जसका कारण बहालवाला भारतीय प्रधानमन्त्रीको हत्या भएको थियो।
पञ्जाबी भाषामा खाल्सा भनेको शिख समुदाय हो। खालिस्तान भनेको शिख समुदायको देश हो।
शिख इतिहासकार र लेखक खुशवन्त सिंहका अनुसार शिख धर्म सुरू गर्ने १५ औं शताब्दीका गुरू नानकले सुरूमा हिन्दु धर्मको सुधारलाई प्रोत्साहित गर्ने उद्देश्य राखेको हुन सक्छन्। तर उनको चर्चा र सन्देश धेरै जनतामा पुगेपछि बेग्लै धर्मको रूप लियो। सिक्नु वा चेलाको पञ्जाबी शब्द शिखबाट सो धर्मको नाम रहेको हो।
सुरूमा शिखलाई हिन्दु धर्मको लडाकु दस्ताको रूपमा लिइन्थ्यो। उनीहरू त्यतिबेला भारतमा शासन गर्ने मुस्लिम मुगलहरूविरूद्ध लडेका थिए। लडाकु परम्पराका कारण गुरूहरूले पुरूष शिखलाई आफ्नो कपाल र दाह्री नकाट्न, कपाल पगडीले छोप्न र सधैँ किरपान (वा छुरा) बोक्न निर्देशन दिए। ‘सिंह’ जनावर जनाउन नाममा ‘सिंह’ जोड्न भने।
भारत स्वतन्त्र हुने बेलामा पाकिस्तान सँगै शिखका लागि बेग्लै देश खालिस्तानको माग पनि गरिएको थियो। तर मुस्लिम जति शिखको जनसंख्या नभएकाले त्यसको सुनुवाइ भएन। सन् १९४७ मा भारत र पाकिस्तानको विभाजन भयो। पञ्जाब प्रान्तको धेरैजसो भाग पाकिस्तानमा पर्यो। पश्चिमका सिचाइँ सुविधा भएका राम्रा खेतीयोग्य जमिन सबै पाकिस्तानमा परे। हिन्दुसँगै शिख पनि मुस्लिम बहुमत भएको पाकिस्तानबाट भारततर्फको पञ्जाबमा आए।
भारतमा भाषाका आधारमा प्रान्तहरू बनाइए पनि पञ्जाबमा पञ्जाबी भाषाले त्यस्तो मान्यता नपाएको भन्दै शिखहरूले विरोध गर्न थाले। शिख र हिन्दुबीचको भाषा विवाद बढ्दै गएपछि सन् १९६६ मा पञ्जाबलाई भाषाको आधारमा हरियान्वी र हिन्दी भाषी राज्य हरियाणा, र मुख्यतया पञ्जाबी-भाषी राज्य पञ्जाबमा विभाजन गरियो। उत्तरका पहाडी जिल्लाहरू हिमाचल प्रदेशमा गाभियो। स्वतन्त्रतापछि योजनाबद्ध रूपमा विकसित चण्डीगढलाई पञ्जाब र हरियाणाको संयक्त राजधानी बनाइयो।
त्यसपछि बिस्तारै पञ्जाबले कृषिसँगै, पश्चिमा र खाडी मुलुक गएका पञ्जाबी कामदारले पठाएको रेमिट्यान्सका कारण आर्थिक प्रगति गर्यो। अरू प्रान्तका हिन्दु पनि बसाइ सरेर आउन थाले। शिखको बाहुल्यता घट्न थाल्यो। त्यसपछि बाहिरबाट आएका हिन्दुले आफ्ना युवालाई प्रभाव पारेर शिख संस्कृति बिग्रिएको गुरूहरूले महशुस गर्न थाले।
सन् १९७० को मध्यतिर आइपुग्दा मुख्य शिख पार्टी अकाली दलले अझ बढी स्वायत्तता माग्दै केन्द्र सरकारले रक्षा र विदेश मामिला अनि सञ्चार र मुद्रामा मात्रै सीमित हुनुपर्ने माग गर्न थाल्यो।
अकाली दलको प्रभाव कम गर्न युवा जर्नेल सिंह भिन्ड्रावालेलाई तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी र उनका राजनीतिक उत्तराधिकारी मानिएका कान्छा छोरा सञ्जय गान्धीले प्रयोग गरेको मानिन्छ। त्यो काम पञ्जाबका तत्कालीन मुख्यमन्त्री ज्ञानी जैल सिंहले गरे। ज्ञानी जैल सिंह पछि इन्दिराको केन्द्रीय क्याबिनेटमा गृहमन्त्री र राष्ट्रपतिसमेत भए।
लोकप्रियता बढ्न थालेपछि भिन्ड्रावालेले शिखहरूलाई भारतमा दास बनाइएको भन्दै झन् भड्किलो कुरा गर्न थाले।
सन् १९६९ को विधान सभा चुनावमा हारेपछि १९७१ मा बेलायत गएर बस्न थालेका पञ्जाबका पूर्वअर्थमन्त्री जगजित सिंह चौहानले विदेश जानेबित्तिकै पृथकतावादी कुरा गर्न थालेका थिए। शिखको छुट्टै देश खालिस्तान बनाउनु पर्ने उनको माग थियो। उनलाई पाकिस्तानले पनि सहयोग गर्यो। बेलायत, क्यानडालगायत मुलुकमा रहेका शिखले पनि खालिस्तान आन्दोलनलाई समर्थन गर्न थाले।
चौहान देशबाहिर थिए। कट्टरपन्थी कुरा गर्ने युवा भिन्ड्रावाले शिखहरूमाझ लोकप्रिय बने। सन् १९७८मा शिखको अर्को पन्थसँगको हिंसात्मक भीडन्तको नेतृत्व गरेपछि त उनी परम्परावादी शिखको मुख्य नेता बने। भीडन्तका कारण उनले हतियार बोक्ने दस्ता बनाए।
उता चौहानले १९८० मा आफूलाई खालिस्तानको राष्ट्रपति नै घोषणा गरे। तर पञ्जाबमा भने आफैंले स्वतन्त्र खालिस्तानको माग कहिल्यै नगरेका भिन्ड्रावाले खालिस्तानी आन्दोलनको अनुहार बने।
भिन्ड्रावालेको समूह बिस्तारै हिंसात्मक बन्दै गयो। इन्दिरासँग खटपट भएपछि सेनाबाट निकालिएका मेजर जनरल सबेग सिंहले उनको सशस्त्र दस्तालाई तालिम दिन थाले। उग्रवादी भिन्ड्रावालेलाई गिरफ्तार गर्नुपर्ने माग देशभरि उठ्न थाल्यो। गिरफ्तारीबाट बच्न उनी १९८२ मा शिखहरूको सबैभन्दा पवित्र तीर्थस्थल अमृतसरको स्वर्ण मन्दिरमा बस्न थाले। सबेग सिंहले स्वर्ण मन्दिरलाई अभेद्य सैन्य किल्लाजस्तै बनाए। स्वर्ण मन्दिर भित्रका संरचनामा भारी हतियार बोकेका लडाकुले पहरा दिए।
स्वर्ण मन्दिरलाई बलियो किल्ला बनाउन चीन र पाकिस्तानले उनीहरूलाई हतियार दिएको आरोप भारतले लगायो। भिन्ड्रावालेसँग वार्ता असफल भएपछि जुन १९८४ मा उनी र उनका लडाकुलाई स्वर्ण मन्दिरबाट निकाल्न प्रधानमन्त्री इन्दिरा गान्धीले सेना पठाएर अपरेसन ब्लु स्टार सुरू गरिन्। त्यसमा खटाइएका ६ जनरलमध्ये ४ जना शिख नै थिए।
अपरेसनमा ३६ वर्षीय भिन्ड्रावाले, सबेग सिंहसहित सयौं लडाकु मारिए। ठ्याक्कै कति जना मारिए भन्ने यकिन नभए पनि मन्दिर दर्शन गर्न गएका धेरै भक्त र सयौं भारतीय सैनिक पनि मारिएको मानिन्छ।
अपरेसनपछि पवित्र स्वर्ण मन्दिरमा सेना पठाएर बिटुल्याएको ठान्दै सारा शिख समुदाय सरकारसँग क्रुद्ध भयो। खालिस्तानी आन्दोलनले झन् धेरै जनसमर्थन प्राप्त गर्यो।
अपरेसन सकिएको पाँच महिना पनि नबित्दै ३१ अक्टोबर १९८४ मा प्रधानमन्त्री निवास भित्रै हिँड्दै गर्दा प्रधानमन्त्री इन्दिरा गान्धीलाई उनका दुई शिख अंगरक्षकले गोली हाने। उनको मृत्यु भयो।
त्यसपछि दिल्ली र देशका अरू भागमा शिखविरोधी दंगा भड्कियो। केही दिनमै हजारौं शिखको निर्मम हत्या गरियो।
यसबाट भारतमा र विदेशमा रहेका शिखहरू झनै रिसाए। तर बल प्रयोग गरेर भारतले बिस्तारै खालिस्तानी आन्दोलन मत्थर पार्यो। सन् १९९० सम्म आइपुग्दा त पूरै नियन्त्रण भइसकेको थियो। अहिले पनि बेग्लै देश खालिस्तान बनाउन पर्छ भन्नेको संख्या पञ्जाबमा धेरै न्यून छ।
खालिस्तानी आन्दोलन विदेशमा, विशेष गरी क्यानडामा भने जीवितै छ। भारत सरकारको विरोधका बावजुद् खालिस्तानको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गर्नु गैरकानुनी नभएको भन्दै क्यानडाले बन्देज गर्दैन।
भारत-क्यानडाको सम्बन्ध बिग्रिने अर्को एक मुख्य कारण पनि छ।
अपरेसन बलु स्टार र इन्दिराको हत्यापछि भएको दंगाको बदला लिन क्यानडामा रहेका खालिस्तानी विद्रोहीहरूले एयर इन्डियाको बोइङ जहाजमा बम बिस्फोट गराएका थिए। मन्ट्रियलबाट लन्डन हुँदै दिल्ली गइरहेको फ्लाइट १८२ आयरल्यान्ड नजिकै एटलान्टिक महासागरमा २३ जुन १९८५ का दिन बिस्फोट हुँदा त्यसमा सवार सबै ३२९ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा २६८ जना क्यानेडियन, २७ बेलायती र चालक दलका २२ भारतीय थिए। क्यानेडियन पनि प्राय: सबै भारतीय मूलका थिए।
सोही दिन खालिस्तानीहरूले एयर इन्डियाको टोकियोबाट बैंकक जाने फ्लाइट ३०१ मा पनि एकै समय बिस्फोट गराउने योजना बनाएका थिए। तर टाइम बममा गलत समय हाल्दा सुटकेसमा रहेको बम टोकियो विमानस्थलमै बिस्फोट भयो र जहाज जोगियो। विमानस्थलमा ब्यागेज ह्यान्डलिङ गर्ने २ जनाको भने मृत्यु भयो।
भारतले आतंककारी हमला हुन सक्ने खतराबारे अवगत गराए पनि क्यानडाले ध्यान नदिएको भनेर आरोप लगायो। क्यानडा आफैंले गरेको छानबिनले पनि सुरक्षामा लापरबाही भएको र बारम्बारको सूचनालाई बेवास्ता गरिएको स्वीकारेको छ।
त्यत्रा मान्छेको मृत्यु र अर्को जहाजमा पनि बिस्फोट गराउने योजना बनाएको त्यो प्रकरणमा मुख्य अभियुक्तहरूलाई कारबाही नगरेको आरोप भारतले क्यानडालाई लगाउँछ। सो घटनामा क्यानडाको अदालतले २००५ मा जम्मा एक जनालाई मात्रै जेल सजाय दियो। घटना रोक्नमा मात्रै नभएर न्याय सम्पादनमा पनि क्यानडाले जिम्मेवारी बहन नगरेको महशुस भारतले अहिले पनि गर्छ।
यसरी पहिलेदेखि क्यानडासँग खालिस्तानीको कारण चिसो सम्बन्ध ट्रुडो प्रधानमन्त्री भएपछि झनै बिग्रिएको छ।
भारतबाहिर शिखको सबैभन्दा ठूलो जनसंख्या क्यानडामा छ। २०२१ को जनगणनाअनुसार क्यानडाको ३ करोड साढे ८२ लाख जनसंख्यामध्ये ७ लाख ७० हजार शिख छन्। जनसंख्याको २.१ प्रतिशतमात्रै भए पनि शिखहरू क्यानडामा प्रभावशाली छन्। उनीहरूले ब्लकमा भोट गर्छन् र धेरैजसो ट्रुडोको लिबरल पार्टीमा आवद्ध छन्। उनको अल्पमतको सरकारलाई समर्थन गरेको तेस्रो ठूलो दल न्यु डेमोक्रेटिक पार्टीका प्रमुख जगमित सिंह पनि शिख हुन्।
ट्रुडोले शिख नेता र भोटरलाई रिझाएर राखेका छन्। खालिस्तानी झन्डा भएका कार्यक्रममा समेत प्रधानमन्त्रीका रूपमा सरिक हुने ट्रुडोसँग भारत खुसी छैन।
भारतीय विदेश मन्त्री एस जयशंकरले केही महिनाअघि मात्रै क्यानडाले खालिस्तानी मामिलामा गरेको व्यवहारबाट भारत चिन्तित भएको भन्दै क्यानडा भोट बैंक राजनीतिबाट सञ्चालित भएको आरोप लगाएका थिए।
अहिले पनि ट्रुडोले आगामी चुनावलाई ध्यानमा राखेर निज्जरको हत्यामा भारतीय सरकारका एजेन्टको हात रहेको बताएको भारतीयहरू दाबी गर्छन्।
ट्रुडोका बुवा तथा पूर्वप्रधानमन्त्री पियर ट्रुडोसँग पनि भारतको राम्रो सम्बन्ध थिएन। एयर इन्डियाको फ्लाइट १८२ मा बम बिस्फोटका मुख्य योजनाकार मानिएका तल्विन्दर परमारलाई घटनाअघि सन् १९८२ मा सुपुर्दगी गर्ने भारतको अनुरोध पिता ट्रुडोले अस्वीकार गरेका थिए। परमारलाई भारतीय प्रहरीहरूको हत्याको आरोप भारतले लगाएको थियो। इकोनोमिक टाइम्सका अनुसार ट्रुडोले त्यतिबेला भारतले महारानी एलिजावेथ द्वितीयलाई हेड अफ स्टेट नभएर हेड अफ कमनवेल्थ मात्रै मान्ने भएकाले सुपुर्दगी गर्न मिल्दैन भनेका थिए।
छोरा ट्रुडोको पालासम्म आइपुग्दा भारत धेरै विकसित र शक्तिशाली भइसकेको छ। शिख मनमोहन सिंहले सन् १९९१ देखि सुरू गरेको आर्थिक उदारीकरणले त्यसको जग राखेको हो। उनको नीति कार्यन्वयन गर्न अर्का शिख मोन्टेक सिंह आहलुवालियाले अर्थ सचिवको हैसियतमा साथ दिएका थिए।
मनमोहन सिंह २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री भए। शिख कार्यकारी प्रमुख नै भइसकेकाले शिख समुदाय पहिलेजस्तो अहिले हेपिएको महशुस गर्दैन। उनीहरू र हिन्दीभाषीहरू अहिले धेरै घुलमिल पनि भइसकेका छन्।
तैपनि भारत खालिस्तानी मामलाबारे सजग छ। गत अप्रिलमा खलिस्तानी अभियन्ता र वारिस पञ्जाब दे अर्थात् पञ्जाबका सन्तति समूहका नेता अमृतपाल सिंहलाई भारतले पक्राउ गर्यो। उनलाई अहिले असमको जेलमा राखिएको छ।
कुनै पनि देश पृथकतावादीदेखि सशंकित हुन्छ। आत्मनिर्णयको अधिकार जनतामा निहीत हुन्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता भए पनि पश्चिमा देशले पनि आफ्ना हकमा त्यसलाई मान्दैनन्। शान्तिपूर्ण तरिकाले गरिए पनि र आन्दोलनमा व्यापक जनसमर्थन भए पनि देश टुक्र्याउन कसैले नि मान्दैन। १ अक्टोबर २०१७ मा स्वतन्त्रताको लागि भएको जनमतसंग्रहमा क्याटेलोनियाका ९२ प्रतिशत जनताले मत दिए पनि सो प्रान्तलाई स्पेनले टुक्रिन दिएन। जनमत संग्रह गराउने नेताहरूलाई गिरफ्तार गरेर देशद्रोहको मुद्दा चलायो। कतिपय क्याटेलोनियन नेता भागेर अझै पनि निर्वासनमा छन्।
क्यानडाको फ्रेन्चभाषी क्युबेक राज्यमा पनि पृथकतावादी समस्या छ। तत्कालीन फ्रेन्च राष्ट्रपति चार्ल डि गौलले १९६७ मा क्युबेक आएका बेला फ्रेन्च भाषामा ‘स्वतन्त्र क्युबेक- जिन्दावाद’ भनेर नारा लगाएपछि क्यानडासँग फ्रान्सको सम्बन्ध पनि चिसिएको थियो। त्यतिबेला क्यानडाका न्याय मन्त्री रहेका पियर ट्रुडोले उनको अभिव्यक्तिको कडा निन्दा गरेका थिए। पछि क्युबेक स्वतन्त्रताको आन्दोलन हिंसात्मक भएपछि क्यानडाले पनि बल प्रयोग गरेर दमन गरेको थियो।
क्यानडाजस्तै भारत पनि पृथकतावादी खतराप्रति सचेत छ।
पञ्जाबमा खालिस्तानप्रति जनसमर्थन न्यून भए पनि दु:खद् र त्रासदीपूर्ण विगतका कारण भारत संवेदनशील छ।
त्यही भएर क्यानडामा खालिस्तानीहरूलाई नियन्त्रणको माग खुलेर उठाउँछ। उठाइरहनेछ। यो प्रकरण जसरी अन्त्य भए पनि बलियो भारतको सुरक्षा चासोलाई सम्बोधन नगरी क्यानडालाई सुखै छैन।
भारतले आरोप लगाएजस्तो यो घटनाले ट्रुडोलाई फाइदा हुन्छ कि हुँदैन हेर्न बाँकी नै छ। तर सात समुन्द्रपारि क्यानडामा गएर खालिस्तानी ‘आतंककारी’लाई मारेको आरोप लगाएर उनले भारतीय निर्वाचनको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने धेरै फाइदा पुर्याएका छन्।