सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’ मा आज हामी नेपालको एसिया कपमा पाकिस्तान र भारतसँगको प्रदर्शनको समीक्षा र नेपालले क्रिकेटको स्तर अझ उठाउन के-के गर्नुपर्छलगायत विषयमा चर्चा गर्नेछौं।
भर्खरै नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्यो। नेपाल यसअघि सन् २००२ मा एसिया कपको आठौं संस्करणका लागि पनि छनौट भएको थियो तर भारत-पाकिस्तान तनावले आठौं संस्करण २००२ मा हुन सकेन।
आठौं संस्करण नभइकन फेरि एसिया कपका लागि छनौट चरण खेलाउन नपाइने भनेर क्यानले एसिसीमा अडान नलिएका कारण २००४ मा श्रीलंकामा हुने आठौं संस्करणका लागि फेरि छनौट चरण खेलाइयो। नेपाल त्यसका लागि छनौट हुन सकेन। नेपाली बलरले सचिन तेन्दुल्करलाई बलिङ गर्ने र ब्याट्सम्यानले सोएब अख्तरको बल सामना गर्ने सपना अधुरै रह्यो।
यसपटक पनि फेरि भारत-पाकिस्तान तनावले एसिया कप नहुने हो कि भन्ने डर थियो। तर भारत पाकिस्तान जान नमाने पनि भारतका खेलहरू श्रीलंकामा खेलाउन पाकिस्तान राजी भएपछि २००२ देखि थाती रहेको एसिया कप खेल्ने लक्ष्य यसपालि पूरा भएको छ।
यसपालि नेपाल एसिया कपमा सहभागीमात्र भएन, विश्व क्रिकेटका दुई महारथी पाकिस्तान र भारतसँग प्रतिस्पर्धा नै गर्यो। नेपालले सिनियर पुरूष क्रिकेटमा यो स्तरका टोलीसँग पहिले कहिल्यै पनि खेलेको थिएन।
नेपालले यसअघि सन् २०१४ को टी-२० विश्वकपमा पहिलो चरणमा खेलेको थियो। तर अफगानिस्तान र हङकङलाई हराए पनि घरेलु टोली बंगलादेशसँग फराकिलो अन्तरले पराजित भएपछि नेपाल समान अङक भए पनि खराब नेट रनरेटका कारण सुपर १० चरणमा पुग्न सकेन। अष्ट्रेलिया, भारत र पाकिस्तानसँग खेल्न पाएन।
यसपालि भने नेपालले पाकिस्तान र भारतको पहिलो रोजाइको टिमसँग खेल्यो। एसिया कप सुरू हुँदा एकदिवसीय क्रिकेटमा पाकिस्तान विश्वको पहिलो नम्बरको टिम थियो भने भारत तेस्रो।
नाबालिग बलात्कार आरोपको मुद्दा खेपिरहेका लेगस्पिनर सन्दीप लामिछानेलाई छनौट गरेर क्यानले र विदेशमा गएर खेल्न दिएर अदालतले कृपा गरेकाले धेरै खेलप्रेमी नेपालीलाई खेल हेर्दा आँखा बिझायो। गम्भीर अपराधको मुद्दा खेपिरहेका खेलाडीलाई टिममा नराख्ने अन्तर्राष्ट्रिय खेलकुदको अघोषित परम्परा क्यानले र नेपालको कानूनको पालना अदालतले गरेको भए सुनमा सुगन्ध नै हुने थियो। तर पनि एक जना सन्दीपका कारण एसिया कपमा नेपालको ऐतिहासिक सहभागिता र अपत्यारिलो गरी राम्रो प्रदर्शनको अवमूल्यन गर्नु हुँदैन।
स्कोरकार्ड मात्रै हेर्दा पाकिस्तानले नेपाललाई २३८ रनले र भारतले नेपाललाई १० विकेटले हराएको देखिन्छ। तर दुबै खेल धेरैले सोचेभन्दा नेपालले राम्रो खेलेको थियो।
घरेलु मैदानमा खेल्दै गरेको विश्वको नम्बर १ टिम पाकिस्तानले नेपालसँग २८ औं ओभरमा १२८ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो। विश्वको सबैभन्दा बलियो टिमले नेपाललाई बलियो लक्ष्य पनि दिन नसक्ला कि जस्तो देखिन्थ्यो। त्यसपछि आएका इफ्तिकार अहमद र एकदिवसीय क्रिकेटमा विश्वका नम्बर १ ब्याट्सम्यान बाबर आजमले सम्हालिएर खेल्दै पाकिस्तानलाई उकासे। दुबैले शतक हानेपछि जितका लागि नेपालसामू ३४३ रनको विशाल चुनौती खडा गरे।
विश्वका सबैभन्दा खतरनाक फास्ट बलर भएको पाकिस्तानले दोस्रो ओभर नसकिँदै नेपालका माथिल्ला ३ ब्याट्सम्यानलाई पवेलियन फर्कायो। तर ३ विकेट झरेपछि बढुवा भएर आएका अलराउन्डर सोमपाल कामीले पाकिस्तानी फास्ट बलरको आत्मविश्वासका साथ सामना गरे। उनको ब्याटिङ एसोसियट राष्ट्रका तल्लो क्रमका ब्याट्सम्यान जस्तो नभएर टेस्ट राष्ट्रका प्रमुख ब्याट्सम्यानको जस्तो देखिन्थ्यो।
क्रिकेटमा जतिसुकै राम्रो ब्याट्सम्यान पनि कुनै पनि बेला आउट हुनसक्छ। झन् ब्याटिङ गर्न आउनेबित्तिकै आउट हुने खतरा अझ धेरै हुन्छ। तर आउट नहुन्जेल कसैले कस्तो खेल्छ र केहीबेर खेलेर‘सेट’ भइसकेपछि कति रन बनाउँछ भन्ने कुराले ब्याट्सम्यानको स्तर निर्धारण गर्छ।
त्यसदिन सोमपालले साहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफजस्ता उत्कृष्ट फास्टबलरका बलमा आउट नै नहोलान् कि जस्तो गरेर खेले। नेपालले पाकिस्तानको सामना गरेको २ दिनपछि भारत-पाकिस्तानको खेल भयो। भारत-पाक खेलमा भारतका उदयीमान ब्याट्सम्यान शुभमन गिलले भन्दा धेरै राम्ररी सोमपालले पाकिस्तानी फास्टबलरको सामना गरेका थिए।
नेपाल फर्केपछि सोमपालले सेतोपाटीसँग अफ्रिदीले फालेका कति बल त आफूले देख्दै नदेखेको र पिच भएर दायाँहाते ब्याट्सम्यानका लागि भित्र आउने बल धेरै गाह्रो भएको भनेका छन्। उनी ‘मोडेस्ट’ भएर त्यसो भनेका हुन्। भर्खर ब्याटिङ गर्न आएको दायाँहाते ब्याट्सम्यानले अफ्रिदीले फालेको मुभ भइरहेको बल जति राम्ररी खेल्न सकिन्छ, त्यति सोमपालले खेले।
त्यो दिन रौफ अफ्रिदीभन्दा अझ राम्रो लयमा थिए। रौफको रफ्तार अफ्रिदीको भन्दा धेरै छ र उनले नेपालसँग अफ्रिदीले भन्दा राम्रो बल फाले। केही बल १५० किलोमिटर प्रतिघन्टाभन्दा धेरै तेज फालेका रौफले त्यो दिन सोमपाललाई एउटा यस्तो बल फालेका थिए जुन क्रिकेट इतिहासकै कुनै पनि दायाँहाते ब्याट्सम्यानले सायद खेल्न सक्दैनथ्यो। खेल्न त के छुनै सक्दैनथ्यो! छोएर आउट हुन पनि सक्दैनथ्यो। नेपालको इनिङ्को १३ औं र रौफको दोस्रो ओभरको पाँचौं बलपछि सोमपालले छक्क पर्दै त्यो बल कसरी खेल्ने भन्ने जस्तो हाउभाउ देखाएका थिए।
क्रिकेटमा राम्रो ब्याट्सम्यानलाई आउट पार्न फास्टबलरले अफस्टम्पभन्दा बाहिर जाने बल फाल्नु पर्छ भनिन्छ। त्यस्तो बाहिर गइरहेको राम्रो बल छोएर राम्रो खेलिरहेको ब्याट्सम्यान आउट भयो भने कमेन्टेटरले त्यो बल छुन सक्नु नै ठूलो कुरा हो भन्छन्।
सोमपाललाई रौफले फालेको त्यो तेज गतिको बलचाहिँ छुनै नसक्ने गरी राम्रो थियो। त्योबाहेक अरू सबै बल सोमपालले विश्वासका साथ सहजै खेले। आरिफ शेखसँग चौथो विकेटका लागि ५९ रनको साझेदारी गरे। त्यो साझेदारीका दौरान आरिफले २६ रन बनाए पनि उनी नियन्त्रणमा देखिन्नथे। सोमपाल भने पूर्ण नियन्त्रणमा देखिन्थे। रौफलाई हटेर खेल्न खोज्दा आरिफ बोल्ड आउट भएपछि रौफको अर्को ओभरमा सोमपालले फेरि अर्को राम्रो बलको सामना गर्नुपर्यो। यो बलचाहिँ अघि चर्चा गरेजस्तो छुनै नसक्ने नभएर राम्रो ब्याटिङ गरिरहेकोले छुन सक्ने थियो। र राम्रो खेलिरहेका सोमपाल २८ रनको निजी स्कोरमा विकेटकिपर मोहम्मद रिजवानको राम्रो क्याचमा आउट भए। उनी आउट भएपछि अरू २२ रनमात्रै जोडेर नेपाल १०४ रनमा अलआउट भयो।
यसरी नेपाल २३८ रनको विशाल अन्तरले पराजित भयो। तर पनि बलिङ गर्दा सुरूको ३५ ओभर र ब्याटिङ गर्दा सोमपाल र आरिफ क्रिजमा भएको बेला नेपाल हाँसको बथानमा बकुल्लाजस्तो देखिन्नथ्यो। बराबरीको स्तरमा खेल्ने टोलीजस्तो देखिन्थ्यो। सोमपाल त अझ टेस्ट खेल्ने राष्ट्रको माथिल्लो क्रमको ब्याट्सम्यानजस्ता देखिन्थे।
एसिया कपको आफ्नो दोस्रो खेलमा भारतविरूद्ध नेपालले झनै राम्रो खेल्यो। पाकिस्तानसँग अफ्रिदीको लेगस्टम्प बाहिर गइरहेको वाइडबलमा प्रहार गर्न खोज्दा आउट भएका आक्रामक ओपनर कुशल भुर्तेलले भारतीय फास्ट बलरमाथि धावा बोले। सुरूमा केही क्याच छुटेर जोगिए पनि भुर्तेल र आशिफ शेखको ओपनिङ जोडीले पछि राम्रो खेल्यो। पहिलो विकेटका लागि उनीहरूले १० ओभर नसकिँदै ६५ रन जोडे।
पाकिस्तान सँगको आफ्नो पहिलो खेल वर्षाका कारण रद्द भएपछि नेपालसँग हारे प्रतियोगिताबाट बाहिरिने खतरा भएको भारत भुर्तेलको आक्रामक ब्याटिङले तिलमिलाएको थियो। भुर्तेलले २५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३८ रन बनाए।
आशिफले धैर्यतापूर्वक खेल्दै अर्धशतक बनाए पनि अरू ब्याट्सम्यानले उनलाई साथ दिन नसके पछि नेपालले भारतसँग ठूलो स्कोर बनाउन सकेन।
दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले सातौं विकेटका लागि साझेदारी गर्दै नेपालको पारी सम्हाले। मध्यक्रमको असफलताका बावजुद् नेपालको स्कोर २५० पारि पुर्याउने आशा जगाए। उनीहरूले आक्रामक सट मात्रै खेलेनन्, छिटो-छिटो दौडिएर पनि धेरै रन जोडे। सेतोपाटीसँग सोमपालले भनेअनुसार उनीहरूको फूर्ति देखेर आफैं पनि धेरै फिट र फूर्तिला भारतीय स्टार खेलाडी विराट कोहली पनि छक्क परे। 'अबे क्या खाते हो तुम लोग, इतना दौड रहे हो यार’ भने।
वर्षाको कारण खेल रोकिएर फेरि सुरू भएपछि ऐरी २९ रन बनाएर आउट भए पनि दुई जनाले ५० रनको साझेदारी गरिसकेका थिए।
सोमपालले फेरि पनि उत्कृष्ट ब्याटिङ गरे र नेपालको स्कोर २०० रन माथि पुर्याए। पाकिस्तानसँग जस्तै विकेटकिपर इसान किसनको उत्कृष्ट क्याचको शिकार हुनुअघि उनले ४८ रन बनाए। नेपालको स्कोर २२८ पुर्याए।
उनी आठौं विकेटको रूपमा नेपालको स्कोर २२८ हुँदा आउट भएपछि नेपाल पूरा ५० ओभर पनि नखेली २३० मै अल आउट भयो।
दिन-रातको सो खेलमा भारतले ब्याटिङ गर्ने साँझको समयमा फेरि पानी पर्यो र राति धेरै बेरसम्म भारी वर्षा भयो। अन्त्यमा भारतका लागि २३ ओभरमात्रै खेल्न सम्भव देखिएपछि डिएलएस मेथडका अनुसार १४५ रनको लक्ष्य दिइयो।
वर्षापछि खेल सुरू हुँदा नेपाललाई घाटा भयो। भिजेको मैदानमा छोएपछि बल चिप्लो भएर नेपाली फास्ट बलर र स्पिनरले राम्ररी बलिङ गर्न सकेनन्। तर भिजेकै बलले पनि करण केसीले भारतीय कप्तान रोहित शर्मालाई उतकृष्ट पहिलो ओभर फ्याँके।
पाकिस्तानसँग खेल्दा अफ्रिदीको बलमा बोल्ड आउट भएका रोहितलाई करणको त्यो ओभर खेल्न त्यस्तै गाह्रो भयो।
बायाँहाते स्पिनर ललित राजवंशीले पनि कसिलो बलिङ गरे। भारतलाई नेपालले गाह्रो पार्ला कि जस्तो देखियो। सन्दीप लामिछानेको बलमा रोहितले स्विप सट प्रहार गर्दा गुल्सन झा बाउण्ड्री रेखा छेउमै रहेको भए छक्का नभएर क्याच हुन्थ्यो।
रोहित १६ रनमै आउट हुन्थे। भारत फेरि पनि दबाबमा पर्न सक्थ्यो। तर गुल्सन झा वरै रहेकाले त्यो सट छक्का भयो। र नेपालले सुरूमै विकेट लिने मौका गुमायो।
बिस्तारै रोहित र गिलले आफ्नो अनुभव प्रयोग गर्दै भारतलाई विजयतर्फ डोहोर्याए। भारत १० विकेटले विजयी भयो। भिजेको चिप्लो बलले बलिङ गरे पनि र कसैलाई आउट पार्न नसके पनि भारतले खेल जित्न २१औं ओभरसम्म खेल्नु पर्यो।
लक्ष्य पछ्याउँदा विकेटको हिसाबले जितको मापन गरिन्छ र १० विकेटको जितलाई सबैभन्दा ठूलो जित मानिन्छ। तर पनि नेपाल र भारतको त्यो खेल एकतर्फी थिएन। भारतीय खेलाडीकै अनुहारमा पनि खेल सजिलो नभएको झल्किन्थ्यो।
नेपालले ब्याटिङ गर्दाको पहिलो १० ओभरमा त भारत पुरै दबाबमा देखिन्थ्यो। भारतले ब्याटिङ गर्दा पनि भिजेको बलले समेत नेपालले राम्रै बलिङ गर्यो।
यसरी नेपालले भारतसँग गर्विलो प्रदर्शन गर्यो। खेलमा कमेन्ट्री गरिरहेका भारत-पाकिस्तानलगायत देशका पूर्वखेलाडीले नेपालको खेलको मुक्तकण्ठले प्रशंसा गरे।
नेपाली खेलाडी आफ्नो बुतामा भारत र पाकिस्तानसँग खेल्न सक्ने भए। अब अर्को लेभलमा पुगेर साँचो अर्थमा उनीहरूसँग प्रतिस्पर्धा गर्न र हराउन खेल प्रशासक र राज्यले मिहेनत गर्नुपर्छ। नेपालले राम्रो खेलेको बेला जस लिन र लोकरिझ्याइँका लागि सामाजिक सञ्जालमा पोस्ट गरेर झारा टार्ने छुट अब सरकारलाई छैन। क्रिकेटमा यत्तिको प्रतिभा र जनतामाझ समर्थन भएको नेपाललाई चाँडै नै टेस्ट राष्ट्र बनाउने लक्ष्य लिएर सरकार अघि बढ्नुपर्छ। यसमा निजी क्षेत्रले पनि साथ दिनुपर्छ।
हाम्रोमा अरू खेलको जस्तै क्रिकेटको पनि भौतिक पूर्वाधार राम्रो छैन। खेलाडीलाई वर्षभरि खेलेर आफ्नो खेललाई अझ परिष्कृत गर्न घरेलु प्रतियोगिता छैनन् र जीवन निर्वाहका लागि आर्थिक चिन्ता नलिई निर्धक्क खेल्न सक्ने वातावरण पनि छैन।
नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्व कहिल्यै पनि सक्षम रहेन। क्रिकेट खेल र खेलाडीका लागि राम्ररी कहिल्यै सोचेन। क्यान नेतृत्वमा पुग्नु कि त धनाढ्यका लागि आलङ्कारिक मानको पद भयो कि त भ्रष्टाचार गर्ने र विदेश घुम्ने माध्यमका रूपमा रह्यो। क्यान अधिकांश समय आन्तरिक कलह र राजनीतिमै रूमलियो। राम्रो व्यवस्थापन गरेर यति लोकप्रिय खेलबाट खेल विकासका लागि स्रोत व्यवस्थापन गर्नुको साटो आइसिसीबाट पाउने अनुदानको पनि क्यानले सदुपयोग गर्न सकेन।
त्यसैले अब सबैभन्दा पहिले क्यान नेतृत्वले राम्ररी काम गर्नुपर्छ र स्थानीय स्रोत जुटाएर घरेलु क्रिकेट प्रतियोगितालाई बलियो बनाउँदै निरन्तरता दिनुपर्छ।
घरेलु प्रतियोगितासँगै छिमेकी भारतको क्रिकेट बोर्डसँग पनि सहयोग लिनुपर्छ।
भारतमा विश्व क्रिकेट अर्थतन्त्रको झन्डै आधा आय आर्जन हुन्छ। आइसिसी विश्वकप नभएका वर्षमा त यो हिस्सा ५० प्रतिशतभन्दा धेरै हुन्छ भनिन्छ। इंगल्याण्ड र अष्ट्रेलियाबाहेक अरू कुनै पनि देशका क्रिकेट बोर्डले आफैं कमाइ गर्न सक्दैनन् र उनीहरू आइसिसीबाट पाउने कमाइको हिस्सा र भारत आफ्नो देशमा खेल्न आउँदाको कमाइमा निर्भर हुन्छन्।
तीन ठूला अर्थतन्त्र अमेरिका, चीन र जापानले मिलेर विश्व अर्थतन्त्रमा जति हिस्सा ओगट्छन् लगभग त्यति नै हिस्सा क्रिकेट अर्थतन्त्रमा भारत एक्लैको छ।
आय बढेसँगै भारतले घरेलु क्रिकेट संरचना र प्रतियोगितामा व्यापक लगानी गरेको छ। नेपालले छिमेकी भारतको त्यही व्यापक लगानीको फाइदा लिन सक्नुपर्छ।
भारतविरूद्ध नेपालको खेल सकिनेबित्तिकै भारतका पूर्वटेस्ट ओपनर आकाश चोपडाले सामाजिक सञ्जालमा लेखे-
भारतले नेपाली क्रिकेटलाई गोद लिनुपर्छ र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाललाई माथिल्लो स्तरमा पुर्याउनुलाई आफ्नो जिम्मेवारी बनाउनुपर्छ। उनीहरूलाई भारतको घरेलु संरचनामा समावेश गर्नुहोस् (मलाई याद छ भारत-एले वेस्ट इण्डिजमा पुरै प्रथम श्रेणी सिजन खेलेको)। नेपालमा क्रिकेटप्रतिको पागलपन अतुलनीय छ... र उनीहरूसँग सम्भावना पनि छ।
चोपडाले भनेजस्तै नेपालले क्रिकेटमा विकास गर्न भारतसँग सहयोग लिनुपर्छ। ३ वा त्योभन्दा धेरै दिनसम्म खेलिने प्रथम श्रेणी क्रिकेट नखेली नेपालले क्रिकेटमा अर्को छलाङ हान्न सक्दैन। ५ दिन खेलिने टेस्ट खेल्ने हैसियत त पाउनै सक्दैन।
त्यसैले नेपालले भारतको घरेलु प्रथम श्रेणी प्रतियोगितामा सहभागी जनाउन पहल गर्नुपर्छ। अहिलेसम्म कहिल्यै पनि क्यानले यस्तो पहल गरेको थाहा छैन। एसिया कपमा नेपालको प्रदर्शनपछि नेपाली टोली रणजी ट्रफीको इलिट ग्रुपमा नभए पनि प्लेट ग्रुपमा प्रतिस्पर्धा गर्नसक्छ भन्ने देखिएको छ। नेपालका हालका क्रिकेट प्रशिक्षक मोन्टी देसाई भारतीय हुन् र उनले यसमा सेतुको काम गर्न सक्छन्।
उनले आफैं पहल गरेर नेपाली खेलाडीहरूलाई भारतसँगको खेलपछि भारतीय ड्रेसिङ रूममा लगेर अनौपचारिक परिचय गराए। छिमेकी दशका खेलाडीको सम्बन्धमा हार्दिकता थपे। सानैदेखि भारतीय स्टारहरूलाई टेलिभिजनमा हेर्दै क्रिकेट खेलेका नेपाली खेलाडीको हौसला झनै बढाए। क्यानले उनको भारतीय बोर्डसँगको सम्बन्ध प्रयोग गर्दै नेपाललाई भारतमा घरेलु क्रिकेट खेलाउन पहल गर्नसक्छ।
देसाई र क्यानको पहलले मात्रै नभए सरकारी स्तरबाट सिधै भारत सरकारसँग कुरा गरेर यसको व्यवस्था गर्नुपर्छ।
टिमको नाम नेपाल नराखी अरू नै केही राखेर भए पनि नेपालका राष्ट्रिय खेलाडीलाई रणजी ट्रफीमा खेलाउनुपर्छ। सँगसँगै भारतको घरेलु एकदिवसीय र टी-२० प्रतियोगितामा पनि सहभागिता गराउनुपर्छ।
अफ्रिकी मुलुक जिम्बाब्वे छिमेकी दक्षिण अफ्रिकाको घरेलु क्रिकेटमा खेलेर नै बलियो भएको थियो। बलियो हुँदा टिमले नखेले पनि जिम्बाब्वेका खेलाडी दक्षिण अफ्रिकाको घरेलु टोलीबाट खेल्ने गर्थे।
रोबर्ट मुगावे सरकारको तानाशाही शासन र क्रिकेटमा समेत हस्तक्षेपका कारण गोरा खेलाडीहरू २००३ पछि पलायन भएर जिम्बाब्वे बिस्तारै कमजोर हुन थाल्यो। केही वर्ष टेस्टसमेत खेलेन। केही समयपछि फेरि दक्षिण अफ्रिकाले जिम्बाब्वेलाई आफ्नो घरेलु प्रतियोगितामा खेलाउन थाल्यो।
क्यानले पनि नेपालमा घरेलु प्रतियोगिता बलियो नबनुन्जेल भारतमा खेल्ने व्यवस्था मिलाउनुपर्छ। नेपालमा घरेलु क्रिकेट खेलाएर खेलाडीको संख्या बढाउनुपर्छ र उत्कृष्ट खेलाडीहरूलाई भारतीय प्रतियोगितामा खेलाएर राष्ट्रिय टोली बलियो पार्नुपर्छ।
आकाश चोपडाले भनेजस्तै नेपालले भारतीय ए टोलीसँग पनि खेल्नुपर्छ। आफूभन्दा राम्रा खेलाडीसँग निरन्तर नखेली नेपाली खेलाडीको स्तर खासै सुध्रिँदैन। उमेर समूहका प्रतियोगितामा नेपाली खेलाडीले टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न सक्छन्। कति पटक त विभिन्न प्रतियोगितामा हराएका पनि छन्।
नेपाली खेलाडीले १-२ वर्ष उमेर घटाएर खेले पनि उमेर धेरै भएर मात्रै नेपालले उमेर समूहमा राम्रो खेलेको होइन। उमेर समूहमा नेपाल र टेस्ट राष्ट्रका खेलाडीको स्तरमा खासै ठूलो फरक हुन्न। नेपालले उमेर समूहकै खेलाडीलाई सिनियर टिममा खेल्ने मौका छिट्टै दिने भएकाले पनि तुलनात्मक रूपमा नेपालका उमेर समूहका खेलाडीको अनुभव राम्रो भएकाले उनीहरू लगभग टेस्ट राष्ट्रका खेलाडीको स्तरमै खेल्न सक्छन्। त्यसपछि उनीहरूले खेल्ने घरेलु प्रतियोगिताको स्तरको भिन्नताले नै नेपाली खेलाडी पछि पर्ने हुन्।
२००६ मा श्रीलंकामा भएको अन्डर-१९ विश्वकपमा कनिष्क चौगाईं र २००८ मा मलेसियामा भएको संस्करणमा पारस खड्का टेस्ट राष्ट्रका खेलाडीभन्दा धेरै पछि थिएनन्।
२००८ मा म नेपाली टोलीसँग मलेसिया गएको थिएँ। त्यो प्रतियोगितामा नेपालले स्टिभन स्मिथ, फिलिप ह्युज्स, जस हेजलउड, जेम्स फल्कनर र जेम्स प्याटिन्सन सम्मिलित अष्ट्रेलिया र दिनेश चन्दिमल, लहिरु थिरामने, कुसल परेरा अनि थिसारा परेरालगायत खेलाडी सम्मिलित श्रीलंकासँग खेलेको थियो।
ती खेलमा नेपालले हारे पनि राम्ररी प्रतिस्पर्धा गरेको थियो। श्रीलंकासँग त जित्लाजस्तो गरी खेलेको थियो। बलिङ गर्दा धेरै क्याच छोडेपछि श्रीलंकाले ४ विकेट गुमाएर ५८ रनमात्र जोडेको स्थितिबाट २३६ बनाएको थियो। र पनि नेपाल ३० ओभरसम्म त्यो लक्ष्य पछ्याउलाजस्तै गरी खेलेको थियो। नेपालसँगको खेल हेर्न आएका श्रीलंकाका तत्कालीन क्रिकेट बोर्ड प्रमुख अर्जुन रणतुङ्गा र श्रीलंकाका अन्डर-१९ कोच अरविन्दा डि सिल्भा त्यतिन्जेलसम्म खेल हार्ला कि भनेर तनावमा देखिन्थे।
विराट कोहलीले कप्तानी गरेको भारतले कप उचालेको त्यो प्रतियोगितामा नेपाल प्लेट फाइनलमा वेस्ट इण्डिजसँग पराजित भएको थियो। प्लेट फाइनल अघिसम्म नेपालका कप्तान पारस खड्का मेन अफ द सिरिजका लागि दौडमा थिए। फाइनलमा उनले राम्रो प्रदर्शन गर्न नसकेपछि न्युजिल्याण्डका टिम साउथी प्रतियोगिताका उत्कृष्ट खेलाडी भएका थिए।
नेपालमा घरेलु क्रिकेटको स्तर राम्रो नभएको र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि कमजोर खेलाडीसँग खेल्ने भएकाले कोहली, स्मिथको तुलनामा पारसजस्ता नेपाली खेलाडी धेरै पछि परेका हुन्।
हाम्रो अहिलेको राष्ट्रिय टोलीमा धेरै खेलाडी २०-२२ वर्ष वा अझ कम उमेरका छन्। कम उमेरका भएकाले खेल कौशल सिकेर पछि अझ राम्रो खेलाडी बन्ने सम्भावना झन् धेरै बोकेका छन्। उनीहरूले भारतमा घरेलु क्रिकेट खेल्न पाउने हो भने झन्डै भारतीय राष्ट्रिय टोलीमा चयन हुने खेलाडीको स्तरमा खेल्न सक्ने हुने छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालबारे कुरा गर्दा जहिल्यै पनि रोटी-बेटीको सम्बन्धबारे कुरा गर्छन्। यसमा क्रिकेटको सम्बन्ध पनि जोडिनु पर्छ। यसो भयो भने नयाँ संविधान जारी भएपछि नाकाबन्दी लगाएर नेपालमा उनले बढाएको भारत विरोधी माहोल धेरै हदसम्म सुध्रन सक्छ। मोदीले पहिलो पटक प्रधानमन्त्री बन्नेबित्तिकै नेबरहुड फर्स्टको नीति घोषणा गरेका थिए। नाकाबन्दीको कारण नेपालका हकमा काम नगरेको उनको त्यो नीति क्रिकेटका कारण सार्थक हुनसक्छ।