काठमाडौं, कोटेश्वरको ट्राफिक प्रहरीले सरकारी बिदाको दिन शनिबार राति सरकारी नम्बर प्लेटको गाडी सडकमा देखेर आफ्नो जिम्मेवारीअनुसार रोकेर सोधपुछ गरेपछि काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने धम्की दिए। त्यो दिन सरकारी गाडीमा उनकी श्रीमती सवार रहिछन्।
ट्राफिक प्रहरीले जिम्मेवारी निर्वाह गरेको घटना चालक वा मेयरपत्नीले व्याख्या गरेका आधारमा मेयर आक्रोशित भए। उनले आफूलाई रोक्ने सकेनन्। उप्रान्त महानगरको गाडी रोकिए सिंहदरबार जलाउने धम्की दिएर फेसबुक स्टाटस लेखे। चौतर्फी विरोध भएपछि अर्को दिन विज्ञप्ति जारी गरे।
विज्ञप्तिको असर कस्तोसम्म पर्यो भने बिदाको दिन गुडेको सरकारी गाडी दुई मिनेटभन्दा कम रोकेर सोधपुछ गर्ने ट्राफिक प्रहरी सईकी आमा आफैं मेयरका घरमा पुगिन्। आफ्नो छोराको अपमान हुने गरी आरोप नलगाउन उनले अनुरोध गरेको भन्ने समाचार आयो।
ती सईका बाबु सशस्त्र प्रहरीका पूर्वडिएसपी रहेछन्। मेयरले छोरामाथि अनेक आरोप लगाएपछि आएका प्रतिक्रियाले उनी तनावमा परेछन्। आमा पनि तनावमा पर्ने भइहालिन्।
पदमा बहाल रहेका अधिकारीहरूका लागि सरकारले दिएको सुविधा तिनका परिवारका सदस्य, खासगरी म्याडमहरूले प्रयोग गर्ने पनि कुनै काइदा त हुँदो हो। सायद त्यसै अन्तर्गत ट्राफिक प्रहरीले सोधपुछ गरे अनि मेयरकी श्रीमती भन्ने थाहा पाएपछि ड्राइभरलाई बिदाको दिन सरकारी गाडी चलाउँदा अनुमतिपत्र बोक्ने गर्नू भनेर छाडिदिए।
यस्तो अवस्थामा कर्तव्यपरायण ती राष्ट्रसेवक सईको मनमा केके गुज्रियो होला!
यही समय मलाई एक जना पुराना प्रहरी अधिकारीले सुनाएको घटना सम्झना भएको छ। साढे चार दशकअघि नेपाल प्रहरीका तत्कालीन आइजिपीकी श्रीमती सवार गाडीका सन्दर्भमा एक इन्स्पेक्टरले नराम्रो खप्की खानुपरेको रहेछ।
त्यस बखत नक्सालमा नेपाल प्रहरीका आइजिपीको सरकारी निवास बनेको रहेनछ। निवास जाउलाखेलमा रहेछ। प्रत्येक बिहान प्रहरी प्रधान कार्यालय, जाहेरी शाखाका एक जना इन्स्पेक्टर आइजिपी निवासमा पुगेर रातभरिको कुरा जाहेर गर्नुपर्दो रहेछ।
यसरी आउजाउ गर्न ती इन्स्पेक्टरले एउटा सरकारी जिप पाएका रहेछन्। एक बिहान इन्स्पेक्टर फर्किने बेलामा आइजिपीले आफ्नी श्रीमती (म्याडम) लाई सानेपासम्म पुर्याइदिनू भनेछन्।
आइजिपीकी श्रीमती र निवासका एक जना सई गाडीमा चढेछन्। आदेशअनुसार म्याडमलाई पुर्याएर इन्स्पेक्टर अफिसतिर लागेछन्। सदाझैं भोलिपल्ट बिहानै ती इन्स्पेक्टर जाहेरीका लागि पुगे।
देख्नासाथ आइजिपी कड्किएछन्– एइ इन्स्पेक्टर! यो तेरो निजी गाडी हो र हिजो म्याडमलाई बाटोमै छाडेर गइस्?
इन्स्पेक्टर अक्क न बक्क परेछन्। कुराको भेउ पाएपछि म्याडमले भनेकै ठाउँमा पुर्याएको हुँ भनेर प्रष्टीकरण दिएछन्। यसपछि आइजिपी यसरी कड्केछन् कि इन्स्पेक्टर केही बोल्न सकेनन्। त्यही बेला उनको आँखा आइजिपीका पछाडि उभिएर मुस्कुराएको सईमाथि परेछ।
इस्पेक्टरले आइजिपी आगो हुनुको कारण थाहा पाइहाले। त्यसको केही दिनअघि आइजिपी निवासका ती सईले आग्रह गरेको कुनै काम प्रक्रियाले मिल्दैन भनेर ती इन्स्पेक्टरले रोकिदिएका रहेछन्।
आइजिपीकी श्रीमती पुग्नुपर्ने ठाउँ गल्लीमा थोरै भित्र रहेछ, घुमेर पुगिने तर अलिक धेरै घुम्नुपर्ने। म्याडमले नै किन धेरै घुम्नु, मलाई यहीँ रोकिदिनू भनेकी रहिछन्।
आदेशअनुसारै गरेको काममा पनि अर्कोले कुरा लगाएका भरमा अपमानजनक गाली खाएपछि निराश भएका ती इन्स्पेक्टरले कानुन शाखाका ब्याचमेट इन्स्पेक्टरलाई घटना सुनाएछन्। अपमानित भएर बस्नुको साटो राजीनामा दिने भएँ भनेर निर्णय सुनाएछन्।
ब्याचमेट इन्स्पेक्टरले जागिर छोड्नु उचित होइन भनेर सम्झाए तर निराश इन्स्पेक्टरको मन मानेन। ढिपी नछाडेपछि कानुन शाखाका ब्याचमेटले एउटा पौराणिक कथा सुनाएछन्–
एक दिन भगवान विष्णुको बाहन गरूडलाई महादेवको दर्शनमा जान मन लागेछ। अनुमति लिएर गरूड कैलाश पर्वत पुग्दा महादेव मस्त निद्रामा रहेछन्। गरूडले निद्राका महादेवलाई साष्टांग दण्डवत गरेछन्। महादेव त निद्रामा थिए, उनको घाँटीमा रहेको सर्पले फँणा उठाएर गरूडलाई 'तथास्तु भनेछ।
गरूडले हात जोडेछ तर मनमनै भनेछ– अहिले भगवानको घाँटीमा छस्, त्यहाँबाट तल ओर्लेपछि थाहा पाऊलास्!
गरूडले त त्यो सर्पलाई आहार बनाउन सक्थ्यो।
यति कथा सुनेपछि निराश इन्स्पेक्टरको घैंटामा घाम लागेछ र राजीनामा दिने निर्णय तुरुन्तै रद्द भएछ। ती इन्स्पेक्टर डिआइजी भएर सेवा निवृत्त भए।
केही वर्षअघि उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना) का प्रमुख रहेका तत्कालीन एक एसएसपीले एउटा घटना सुनाएका थिए।
एक दिन बहुदलकालकै एक जना पूर्वमन्त्री आफ्नी श्रीमतीसहित गाडीमा सवार थिए। ट्राफिक नियम पालन नगरेकोमा सडकका ट्राफिक प्रहरीले नियमअनुसार चेतनामूलक ट्राफिक कक्षा लिनुपर्छ भनेर आफ्नो निर्णय सुनाएछन्।
ती पूर्वमन्त्री मलाई चिनेको छ भनेर कराउँदै आपत्ति जनाउन बग्गीखाना पुगेछन्। कार्यालयका हाकिमले नियमअनुसार कक्षा लिन आग्रह गरेछन् तर ती पूर्वमन्त्री त बग्गीखाना नै थर्किने गरी कराएछन्। हल्ला मच्चिएपछि कक्षा लिन आएकाहरूको भिड लागेछ।
पूर्वमन्त्री श्रीमानको व्यवहारले श्रीमतीलाई अप्ठ्यारो लागेछ र सम्झाइछन्। अन्ततः ती पूर्वमन्त्री ट्राफिक प्रहरीको कक्षामा बस्न सहमत भएछन्।
ती एसएसपी एआइजी भएर सेवा निवृत्त भए। ती पूर्वमन्त्री हाल प्रतिनिधि सभाका सदस्य छन्।
सडकमा खटिएका प्रहरीहरूले अनेक थरीका समस्या भोग्नुपर्ने हुन्छ। सडकमा बहादुरी देखाउनेमा राजनीतिक प्राणीसँगै राष्ट्रसेवकहरू पनि भेटिन्छन्।
करिब दुई दशकअघिको एउटा घटना सम्झिन्छु।
म जिल्ला प्रहरी कार्यालय, लमजुङमा थिएँ। सशस्त्र द्वन्द्व उत्कर्षमा थियो। प्रहरीले ठाउँठाउँमा आकस्मिक जाँच गर्थ्यो।
लमजुङ सदरमुकाम बेसिसहर प्रवेश गर्ने नाकामा जाँच हुँदै थियो। बस र चारपांग्रे गाडीका यात्रुहरूलाई ओरालेर, मोटरसाइकलमा हुनेलाई हेल्मेट खोल्न लगाएर सोधखोज गरिन्थ्यो।
जाँच चल्दै गर्दा दुई जना सवार एउटा मोटरसाइकलमा चालकले हेल्मेट खोले तर पछाडि बसेकाले खोल्ने मानेनन्। ती यात्रुले ड्युटीका प्रहरी जवानलाई ठूलो स्वरमा हप्काउन खोजेपछि ती एक जवान रिपोर्ट गर्न आए।
कुरा बुझ्दा, ती यात्रु केही परको रेस्टुरेन्टमा रमाइलो गरेर आएका रहेछन् र नेपाली सेनाका क्याप्टेन रहेछन्। प्रहरी जवानले अडान लिएपछि उनले हेल्मेट खोले। हामीले उनलाई चिन्यौं तर यसरी बबाल गरे कि सेनाको क्याप्टेको जाँच गर्ने तिमीहरू को हौ भनेर थर्काए।
त्यो द्वन्द्वकालमा सैनिकका सामुन्ने प्रहरी निरीह थिए।
अर्को एउटा घटना सम्झिन्छु।
२०५१ सालको मध्यावधि निर्वाचनको धपेडीमा म मोरङको निर्वाचन क्षेत्र नम्बर सातमा सुरक्षा कमान्डर थिएँ। भारतसँगको सीमानजिक मझारे भन्ने गाउँमा भारतीय नम्बर प्लेटका १०–१२ वटा गाडीको लस्कर देख्यौं। गस्तीको प्रहरीले सोधपुछ गर्दा चालकले एक उम्मेदवारको नाम लिए।
उम्मेदवार राप्रपाका थिए, पूर्वमन्त्री थिए। मैले ती उम्मेदवार पूर्वमन्त्रीलाई भेटेर भारतीय गाडी प्रयोगको अनुमति भए–नभएको सोधेँ। उनी त आफ्ना कार्यकर्ताको भिड उत्तेजित बनाउँदै कराए– ओ इन्स्पेक्टर साहब! गिरिजा चढेको हेलिकप्टर चेक गरेर देखाउनुस्, हेलिकप्टर चेक नगरी मेरा गाडी छुनुभयो भने भिडन्त हुन्छ!
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए।
प्रहरी टोली आफ्नो कर्तव्य पूरा गरेर अघि बढ्यो। टोली आफ्नो कार्यालय नपुग्दै ती उम्मेदवार पूर्वमन्त्रीले प्रहरीले अभद्र व्यवहार गरेको भनेर मुख्य निर्वाचन अधिकृत रहेका तत्कालीन पुनरावेदन अदालतका न्यायाधीशसमक्ष उजुरी गरिसकेछन्। मुख्य निर्वाचन अधिकृतले मभन्दा माथिका अफिसरसँग सोधपुछ गरिसकेछन्।
ती मुख्य निर्वाचन अधिकृत सर्वोच्च अदालतबाट सेवा निवृत्त भए। ती उम्मेदवारले चुनाव हारे तर पछि अर्कै परिस्थितिमा उपप्रधानमन्त्रीसम्म भए।
प्रहरीले आफ्नो कर्तव्य पूरा गर्दा बेलाबखत समस्या र अनेक आरोप आइपर्छ। प्रहरीका लागि बोलिदिने पनि कोही हुँदैन। प्रहरीलाई नै दोषी देखाउने प्रयास हुन्छ।
काठमाडौं महानगरका मेयरले सडकमा कर्तव्य निर्वाह गरेको प्रहरीलाई दोषी देखाएर सिंहदरबार जलाउने धम्की दिँदा गृहमन्त्री मौन बसे। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गरेर 'प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिबद्ध छ' भनेर सचेत गरायो।
प्रहरीले कतिसम्म मार खेप्नुपर्छ भने थप केही दृष्टान्तहरू उहाँ उल्लेख गर्छु।
राजाको सक्रिय शासनकाल थियो, २०६२ सालको आन्दोलन चलिरहेको थियो। राजाको विदेश सवारी थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजालाई बिदाइ गरिसकेपछि तत्कालीन युवराजको फिर्ती सवारी थियो।
नयाँ बानेश्वर चोकमा आन्दोलनकारी विद्यार्थी संगठनहरूको विरोध कार्यक्रम थियो। युवराजको सवारी देखेर नाराजुलुस भयो। सवारी सकुशल दरबार भित्रियो।
भोलिपल्ट युवराज प्रहरी प्रधान कार्यालय पुगेर काठमाडौं प्रहरीका प्रमुख रहेका एसपी र आइजिपमाथि खनिए। राम्रो सुरक्षा प्रबन्ध गर्न नसकेको उनको आरोप थियो।
राजनीतिक आन्दोलन चलिरहेका बेला विद्यार्थीहरूले बाटोमा लगाएको नारालाई सामान्य ठानिदिएको भए पनि हुन्थ्यो। अहिले विचार गर्दा जननिर्वाचित मेयर नै सानो कुरामा सिंहदरबारमै आगो लगाउने धम्की दिन सक्छन् त राजाको प्रत्यक्ष शासनका युवराजले केमात्रै गर्न सक्दैन थिए र!
उनै युवराज शाहज्यादा रहेका बखत आफैंले मध्यरातमा मदिराको नशाका सुरमा पुतली सडकमा गाडी नराम्ररी ठोक्काएर दुर्घटना गराए। प्रहरीले चालकलाई उद्धार गरेर ट्राफिक कार्यालयमा लग्यो। प्रहरीले नचिनुन्जेल चुपचाप बसेका चालकलाई कार्यालय प्रमुख रहेका एसपीले चिने।
शाहज्यादा भनेर चिनेपछि सलाम गरे। तब त शाहज्यादामा दरबारको भूत सवार भइहाल्यो। उद्धार गरेर ल्याउने ट्राफिक प्रहरीमाथि हातपात गरे। मध्यरातमा भएको त्यति ठूलो दुर्घटनाबाट उद्धार गरेको चालकले कुटाइ खाए। आखिर ती प्रहरी फुत्त निस्केर हिँडे।
मेयरकी श्रीमती सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर सोधपुछ गर्दा प्रहरीमाथि भएको प्रहारले मनमा केही प्रश्न उठेका छन्–
राजतन्त्रकालमा राजा र राजपरिवारका सदस्यहरू चढेका गाडीबाट प्रहरी झस्किनुपर्थ्यो। अहिले गणतन्त्रमा जनप्रतिनिधिका परिवारका सदस्य सवार गाडी देखेर झस्किनुपर्ने भयो।
शासनसत्ता जुनसुकै भए पनि ड्युटीमा रहेको प्रहरीको अवस्था उही रह्यो।
सडकमा ड्युटीमा रहेका प्रहरीहरूमाथि यस प्रकारको प्रहार हुने हो भने तिनको मनोबलमा पर्नसक्ने असरको क्षति कसले बेहोर्नु पर्ला? यस्तो प्रहार गर्नेमाथि कुन कानुनअन्तर्गत कस्तो कारबाही होला? क्षतिपूर्ति कसरी होला?
प्रहरी कर्मचारीले अन्याय गरेमा, ज्यादती गरेमा प्रश्न उठाउने ठाउँ छ, प्रश्न उठाउनुपर्छ। त्यस्तो प्रहरी कर्मचारीमाथि कारबाही चलाउने निकायमा नपुगी धैर्य गुमाएर प्रहरीको मनोबल गिराउनु र आत्मसम्मानमा चोट पुग्ने गरी दुर्व्यवहार गर्नु सर्वथा निन्दनीय काम हो। कम्तीमा जनप्रतिनिधिहरू संयमित भइदिऊन्।
(श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलि कन्स्टेबुलरीका सल्लाहकार छन्।)
शिवजी श्रेष्ठका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्