यही साउन तेस्रो साता आरम्भको कुरा हो। सामाजिक सञ्जालमा चैते डढेलोको वेगमा फोटोसहित फैलिएको एउटा सन्देशले ऊ छाँगाबाट खसेजस्तो भयो।
मन एक तमासको भयो, अलिकति विचलित पनि भयो। आश्चर्य भयो, आठौं आश्चर्य! डिल्ली गुरागाईं बिते।
असी वर्ष उमेरका थिए। ती बिते त के आश्चर्य भयो! हो, खास कुरा यसमै छ। के आश्चर्य भयो!
विक्रमाब्द बीस दशकको अन्त्यतिर डिल्ली गुरागाईं दुर्गम ताप्लेजुङको आँगेदिमबाट कुम्लाकुटुरा लिएर मोरङको भौँडाहा–इटहरा पुग्दा जंगलक्षेत्रको पातलो बस्तीमा के आकर्षण थियो र! न हिँड्नलाई सुबिस्ताको बाटो, न छोराछोरी पढाउन स्कुल! आजका गाडी, बिजुलीबत्ती, सञ्चार सुविधा, स्वास्थ्य सेवा इत्यादिको त कल्पना पनि थिएन।
चित्त बुझाउने मेलो थियो त केवल जता हिँडे पनि तेर्सो र पेटलाग्दो गरी धानको भात।
यतिले मात्र हुँदैन, छोराछोरी त पढाउनैपर्छ। उनै डिल्लीले पहल गरे। गाउँलेहरू जम्मा गरेर खाँबा बोकाए, बोके। खाडल खनाए, खने। पन्ध्र-बीस जना केटाकेटी र दुई जना शिक्षक राखेर स्कुल सुरू भयो। त्यही हो आजको सरस्वती माध्यमिक विद्यालय। त्यही स्कुल प्राथमिक, निम्न माध्यमिक र माध्यमिक हुँदै विश्वविद्यालयको कक्षा पढाइ हुने भयो।
डिल्ली एक्लैले गरे, यो पनि होइन। उनले पहल गरे, नेतृत्व गरे। श्रम जुटाए। कोही अघि सर्नु पर्थ्यो, उनै सरे।
उर्लाबारी गाउँ पञ्चायतपछि दक्षिणतर्फ थियो राजघाट। राजघाटको वडा नम्बर छ एउटैले तल सिजुवासम्म भेट्थ्यो। उनै डिल्लीको पहलमा वडा नम्बर छ एक्लै इटहरा गाउँ पञ्चायत भयो।
डिल्लीको धेरै प्रयत्न र उनकै अलिकति महत्वाकांक्षाले इटहरा गाउँ पञ्चायत खडा भयो भनेर बुझे पनि हुन्छ।
त्यसपछिका दुई कार्यकाल उनै डिल्ली प्रधानपञ्च चुनिए। दस वर्ष गाउँलेको सेवा गरे। गाउँ बनाए। उनी प्रधानपञ्च नहुने दिन आउँदा गाउँ पञ्चायत फेरिएर गाउँ विकास समिति भयो।
श्रम जुटाए, नगद जुटाए। होली र खोल्साहरूमा पुलपुलेसा बनाए। उजुरीहरू झेल्दै पैनी खनाए। खोलापारिको बजार धाउनुको दुःखमा आफ्नै बजार बसाए। प्रहरी चौकी ल्याएर सुरक्षाको अनुभूति गराए।
उर्लाबारीलाई बीचमा चिरेर पूर्व–पश्चिम मोटर चल्न थालेको थियो। दक्षिणतर्फ करिब पन्ध्र किलोमिटर र त्यसभन्दा तलसम्म जान त सडक भन्नु मात्रै, बयलगाडा गुड्न पनि मुश्किल थियो। त्यही पनि सिधा भए त हुन्थ्यो नि, कतै पूर्व हानिएर त कतै पश्चिम घुमेर नागबेली थियो।
त्यसलाई कच्ची नै सही, सडकजस्तो र अलिक सिधा बनाउन उनै डिल्ली अघि सरे। त्यही बाटोमा हन्डर र ठक्कर त कति हो कति! कतै जग्गावालाको घेराउ त कतै ईर्ष्यालुहरूको आक्रोश।
बाटो बनाउन कतैकतै रूख पनि काट्नु पर्थ्यो। त्यसै बापत वनको मुद्दा खेप्नुपर्यो। युवा जोश थियो, शरीरमा बल थियो, मुटुमा आँट, दिमागमा आफ्नो गाउँको भावी नक्सा। अलिकति महत्वाकांक्षा थियो। आत्मविश्वास थियो। गाउँलेको विश्वास र साथ थियो। पार लगाइछाडे।
त्यही बाटो अहिले चल्तीको सडक भएको छ, उर्लाबारीबाट इटहरा, सौँठा, रंगेली हुँदै विराटनगर जोड्छ। गौंडाहरूमा सहर बस्दा छन्।
ऊ सुन्थ्यो– डिल्ली गुरागाईं धनी छन्, बीस बिघा खेत छ।
हुन पनि त्यस्तै देखिन्थे। त्यो जमानामा काठैकाठले बनेको, जस्ताको छानो भएको बडेमानको घर उनकै थियो। प्रधानपञ्च उनै थिए। गाउँमा मानप्रतिष्ठा उनकै थियो। हरहमेसा उनका अघिपछि आठ-दस जना हुन्थे।
गाउँमा कोही बिरामी पर्यो, उनै हाजिर हुन्थे। हाटमा उनै, घाटमा उनै। चारैतिर उनकै खोजी हुन्थ्यो। गाउँलेहरू डिल्ली छन् त सबथोक छ जस्तो मान्थे। सवारी साधनका नाममा उनका साथमा एउटा साइकल हुन्थ्यो। त्यसकै पाइडल घुमाउँदै गाउँ चहार्थे।
त्यो समय प्रधानपञ्च हुनुको मान चानचुने थिएन। गाउँलेहरू नतमस्तक हुन्थे। प्रधानपञ्चको रवाफ थियो। डिल्ली पनि यस्तैमध्येका थिए, तर अनेकमा एक पनि उनै थिए। त्यसैले त गाउँलेहरूका प्रिय थिए। समर्थक के, विरोधी के, सबैका सम्मानित थिए।
उनको व्यक्तित्वको आभा नै अलग, शरीर र अनुहारको भाषा अलग। उनी मौरीको रानो जस्ता थिए तर घारमा बस्ने होइन, कर्मी रानो। उनका वरिपरि थिए कर्मी मौरीजस्ता गाउँलेहरू। डिल्लीले गाउँलेका लागि बल गरे, गाउँलेले डिल्लीका लागि; ढुंगाको भर माटो, माटाको भर ढुंगो भनेजस्तो।
गाउँलेहरूले डिल्लीको भर नगरेका भए, उनले गाउँलेको भर नगरेका भए थोरै धूर्तहरूले हत्याएको साढे तीस सय बिघा जमिन गाउँलेहरूले कसरी फिर्ता पाउँथे र!
प्रधानमन्त्री थिए सूर्यबहादुर थापा। डिल्लीसँग आँट थियो, गाउँलेहरूको साथ थियो। उनले पीडित गाउँलेको हुलै उठाएर प्रधानमन्त्री थापाका सामु उभ्याइदिए। प्रत्युत्पन्नमतिका थापाले समस्याको जड थाहा पाइहाले। उनकै आदेशमा समस्या समाधान भयो। गाउँलेले भोगचलन गरेको जमिनमा तिनकै स्वामित्व कायम भयो।
राजा वीरेन्द्रको हेलिकप्टर इटहरामा ओह्रालेर आफ्नो पहलमा बनेको मन्दिर दर्शन गराउने आँट डिल्लीले नै गरे। राजालाई आफ्नो गाउँमा पुर्याउन सक्ने डिल्लीको शान झन् चम्किलो भयो।
पञ्चायत ढल्यो। डिल्लीको राजनीतिक शासनसत्ता पनि ढल्यो। पञ्चायती शासन ढल्नुको रापले दुई-चार दिन चर्को ताप दिए पनि उनको आभा ढलेन, व्यक्तित्वको प्रभाव ढलेन। मानमर्यादा ढलेन। उनको राजनीतिक आस्था पनि ढलेन।
राजनीति उनको नसामा बगेको थियो। कलिलै उमेरमा ताप्लेजुङको फुङलिङ गाउँ पञ्चायतका उपप्रधानपञ्च भएका थिए। अर्कोपल्ट आफ्नै प्रधानपञ्चलाई हाँक दिँदै उम्मेदवारी दिए तर पराजित भए।
करिब दुई वर्ष स्कुलमा पढाए पनि, थोरै दिन सरकारी जागिरे पनि भए। उनीभित्रको राजनीतिको रगत इटहरामा झन् गाढा भयो। खासमा डिल्ली राजनीतिकभन्दा बढी सामाजिक व्यक्ति थिए। बहुजन हिताय सामाजिक कर्म उनको ध्येय थियो, राजनीति त्यसको साधन।
डिल्ली राष्ट्रिय पञ्चायतको सदस्य पदमा मोरङ जिल्लाबाट उम्मेदवार पनि भएका थिए, तर पराजित भए। मानिसहरू भन्थे– राष्ट्रिय पञ्चायतको चुनाव लडेर डिल्लीले सम्पत्ति सके।
सम्पत्ति सके होला, तर उनीप्रति गाउँलेहरूको विश्वास र भरोसा सकिएन। उनको आत्मविश्वास पनि सकिएन।
केही वर्षपछि मानिसहरू भन्न थाले– सम्पत्ति भनेको त हातको मैला रहेछ! कहिले पखालिने त कहिले जम्मा हुने। डिल्लीले जति गुमाए त्योभन्दा कयौं गुणा बढी कमाए।
कसरी कमाए? रातारात पैसा कमाउन उनीसँग जादुको छडी थिएन, राजनीतिक सत्ता थिएन। व्यापार–व्यवसाय थिएन। थियो त केवल समयको वहाव बुझ्ने चातुर्य, जोखिम लिने आँट।
बहुदलीय व्यवस्था पुनर्स्थापनपछिको खुकुलो आर्थिक–सामाजिक वातावरणबाट लाभ लिन सके। दुनियाँलाई थाहा छ, घडेरीका नाममा जमिनको भाउ कहाँबाट कहाँ पुग्यो!
कमाएको केही अंश समाजमा फर्काए। गुरागाईं वंश प्रतिष्ठानका लागि घर बनाइदिए। सबै सदस्यमा अपांगता भएको एक परिवारका लागि पनि घर बनाइदिए। सामुन्नेमा आएर दुःख बिसाउनेलाई सकेको मद्दत गरे।
पन्ध्र वर्षपछि फेरि उनको स्तरको सत्ता फर्क्यो। राजाको टीकाले नै सही; जिल्ला विकास समिति, मोरङका सभापति भए।
राजाको टीका थाप्ने उनी एक्ला थिएनन्, देशभर अनेक थिए। उनीभित्र राजाप्रतिको आस्था एकरति डगमगाएको थिएन। एक वर्षको नयाँ शासनमा पनि उनले आफ्नो आधारभूमिको भरपूर सम्झना गरे। जिल्ला विकास समितिको सभापतिले आफ्नो गाउँका लागि जति गर्न सक्थ्यो, त्यति त गरेरै छाडे।
समयको हावाले कसलाई छुँदैन र! अरूसरह डिल्लीको परिवारलाई पनि छोयो। नेपाली समाजमा आमाबाबुले छोराछोरी विकसित मुलुकमा छन् भनेर सुनाउनु र सुन्नु गौरवको कुरा भएको छ। सहरको मात्रै के कुरा, गाउँगाउँमा पनि आमसंवादको विषय भएको छ।
‘छोरो कहाँ छ?’
‘कोलोर्याडो।’
‘अनि छोरी नि?’
‘छोरी लन्डन।’
‘अर्को छोरो?’
‘ऊ सिड्नीमा छ।’
नातिनातिना उतै हुने भइगए। आमाबाबुले नेपाली भाषा सिकाउन प्रयास त गरेका छन्, तर राम्ररी बोल्न सक्दैनन्।
‘यता घरमा कोको हुनुहुन्छ त?’
‘को हुनु र! दुई जना बुढाबुढी त हो।’
‘उमेर कति भयो।’
‘म असी लागेँ। बुढी मभन्दा पाँच वर्ष कान्छी छे।’
‘यो उमेरमा दुई जना बुढाबुढी मात्रै त गाह्रो हुन्छ होला नि!’
‘भएर के गर्नु! यस्तै चलेको छ। बुढी थला परे बुढाले स्याहार्ने, बुढो थला परे बुढीले। जमाना यस्तै आयो। दुवै जना ओछ्यान पर्या दिन छोराबुहारीले थाहा पाऊलान् नि!’
मानिसहरू ‘ग्लोबल भिलिज’ भन्छन्। नेपालबाट न्यूयोर्क, लन्डन पानीको पँधेरो भो भन्छन्। मोबाइल फोन र ट्याबमा ‘भिडियो कल’ गर्दा त साँच्चै हो कि जस्तो लाग्छ।
घरबाट छोराछोरी हिँडेपछि तिनको खबर पाउन महिनादिन कुर्नुपर्ने, हल्काराको बाटो हेर्नुपर्ने जमानाका आमाबाबुलाई भिडियो कलले पानीपँधेरोको झल्को दिने नै भयो। झल्को पनि के भन्नु! भ्रम दिने भयो।
छोराछोरीको जल्दोबल्दो उमेर छ। म त सधैं यस्तै रहने हुँ भन्ने अनौठो भ्रम छ।
त्यो बिरानो ठाउँमा आपत् परेका दिन मालिकले एक वचनमै बिदा दिनुपर्यो। साथमा पैसो हुनुपर्यो। चाहिएकै दिनको टिकट पाउनुपर्यो। दस-पन्ध्र घन्टाको ट्रान्जिट पार लाउँदै काठमाडौं आइपुग्नुपर्यो। यता फेरि कुन ठाउँ हो! सात समुद्रपारिदेखिको कुरा पो त! भन्नु मात्रै पानीको पँधरो!
अस्पतालको बेडमा कसले माड खुवाउँछ! अन्तिम क्षणमा तुलसीको मोठ अगाडि राखेर चमचले तुलसीजल मुखमा राखिदिँदै श्रीमद्भगवद्गीता कसले सुनाउँछ!
न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः।
अजो नित्यः शाश्वतोऽयं पुराणो
न हन्यते हन्यमाने शरीरे।। (२/२०)
देखी जानेको कुरा, चिन्ता नगर्नू भनेर कसैले दिने सुझावले पनि काम नगर्ने दिन आउने रहेछ। आफ्नै मनले पनि नमान्दो हो।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुह्यति ।। (२/१३)
केको चिन्ता भनेर यसरी श्लोक पढ्नुजति सजिलो छैन जिन्दगी। आफ्नै आँगन परदेश भएका दिन स्याहारसुसार गर्ने, एक गाँस तातो खान दिने र एक मुठी पानी छेउमा राखिदिने मान्छे नभई हुँदैन। मनको कुरा सुनिदिने कोही भए हुन्थ्यो भन्ने लाग्दो हो। नभए उराठलाग्दो ऐकान्तिकले निसास्सिने गरी छोप्दो हो।
दिसापिसाबको ठेगान हुन छाडेका दिन ‘धीरस्तत्र न मुह्यति’ भनेर मात्रै पनि नहुँदो हो। मरेका भोलिपल्ट दुई दिन भन्न जति सजिलो कहाँ छ र दुई दिन बनाउन!
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।। (२/२३)
शस्त्रले छिनाउँदैन, आगोले जलाउँदैन, पानीले गलाउँदैन, वायुले सुकाउँदैन भनेर विश्वास गरे पनि शरीर नजलाई वा माटोमा नमिलाई हुँदैन। जो आत्मा ‘नित्य’ र ‘न हन्यते’ भनिएको छ, कसले पो देखेको छ र! विश्वास न हो।
आखिर मानव जीवनमा विश्वास नै ठूलो कुरा रहेछ! विश्वासमै अडेको छ व्यक्ति, परिवार, समाज, देश–राष्ट्र र विश्व; आत्मीयता र मायाप्रेम पनि।
मानिसको मन न हो, त्यसले कति बेला के सोच्छ! थामिराखेको विश्वास न हो, कति बेला डगमगाउँछ के थाहा!
बीस वर्षअघि, विक्रमाब्द साठीको ठ्याक्कै आरम्भको समय, भोलि बिहानै विद्यार्थी भिसाका लागि छोरो नेपालस्थित अमेरिकी काउन्सलर अफिस जाने तयारीमा छ। डिल्ली गुरागाईंले राति अबेरसम्म छोरालाई अर्तीउपदेश गरे।
बाबुको मन हो, छोराले केही नबिगरोस्, त्यो विदेशीका सामुन्ने केही नबिराओस्, भिसा पाओस्। अन्तर्वार्तामा केके सोध्ला, कस्तो जवाफ दिनुपर्ला, आफूले थाहा पाएसम्मका कुरा सिकाए।
अरू छोरा उतै छन्। यही एउटा बाँकी हो, यसलाई पनि पठाउन पाए ढुक्क हुन्थ्यो! डिल्लीले यस्तै ठाने हुनन्।
तीन दशक अघिसम्म दुर्गम गाउँबाट छोराछोरी काठमाडौं गएर पढ्नु र जागिर–व्यवसाय गर्नु आमाबाबुका लागि सामाजिक प्रतिष्ठाको कुरा थियो। समयको वहाव ज्यामितीय गतिमा तीव्र भयो। काठमाडौंले एक्काइसौं शताब्दीका नेपाली युवाको प्रतिष्ठा धान्न सकेन। आजका युवाहरू न्यूयोर्क, लन्डन, टोरन्टो, सिड्नी, टोक्यो इत्यादिलाई पानीको पँधेरो देख्न थाले।
छोराछोरी कहाँ छन् भन्दा अमेरिका र युरोपका देशको नाम लिनुमा आमाबाबुलाई गौरवबोध हुन थाल्यो। समयले ल्याएको हो। कसलाई छोएको छैन र गौरवबोधको यो आत्मरतिले!
आज हलोको ठाउँ ट्याक्टरले लियो; दाइँ हुँदैन, हार्भेस्टर लाग्छ। कुनै समय मधेसको घरमा साइकल हुनु सामाजिक प्रतिष्ठाको कुरा थियो, आज मोटरसाइकलले इज्जत धान्न मुश्किल परिसक्यो।
बीस वर्षपछि उसलाई त्यो रात झल्झली भयो, जब डिल्लीले कुनै पूर्वसूचना बेगर अनायासै आफ्नो जिन्दगीविरूद्ध विद्रोह गरे।
आखिर केले प्रेरित गर्यो डिल्ली गुरागाईंलाई! के हो आफ्नै जिन्दगीसँग त्यति भयानक विद्रोह गर्ने प्रेरणाको बिज!
उसले हास्यव्यंग्य निबन्धका प्रसिद्ध लेखक भैरव अर्यालको घटना सम्झ्यो। नयाँ पुस्ताका आलोक नेम्वाङ र यम बुद्धलाई सम्झ्यो। सम्झना हुने यस्ता नाम धेरै छन्। विश्व इतिहासमा, देशविदेशमा, गाउँठाउँमा, चिनजानमा, निकटस्थमा अनेक छन्; नेता छन्, राजनीतिज्ञ छन्, कूटनीतिज्ञ छन्। साहित्यकार, कलाकार, कर्मचारी, व्यवसायी सबैतिरका छन्।
उन्नाइसौं शताब्दीका अमेरिकी कूटनीतिज्ञ तथा राजनीतिज्ञ रोबर्ट अडम्स जुनियर वा न्यूयोर्कका मेयर ज्याकोब हस्लिङ होऊन् कि बीसौं शताब्दीका अमेरिकी वकिल तथा राजनीतिज्ञ फिलिप विल्की वा बीसौं शताब्दीकै प्रसिद्ध लेखक अर्नेस्ट हेमिङवे र भर्जिनिया उल्फ नै किन नहून्!
बीसौं शताब्दीको मध्यतिरका जापानी फिजिसियन कुनिहिको हासिदा र एक्काइसौं शताब्दीको आरम्भका जापानी राजनीतिज्ञ युनिको मियाके, अनेक नामहरू छन् जसले आफ्नो जिन्दगीसँग भयानक विद्रोह गरे।
गुमनाम विद्रोही झन् कति होलान्!
छिमेकी हुनुका नाताले, केही पारिवारिक साइनोले डिल्लीसँग उसको आत्मीयता थियो। कहिलेकाहीँका भेट दिल खोलेर बात मार्ने अनौपचारिकताको तहमा पुग्थ्यो।
आफ्नै पहलमा खोलेको स्कुलमा विद्यालय सहयोग समितिको, विद्यालय सञ्चालक समितिको हुँदै विद्यालय व्यवस्थापनको अध्यक्षसम्म आइपुग्दाका अनेक अनुभवहरू उनले सुनाउने कुरा हुन्थे।
कुन हेडमास्टर कहाँबाट कसरी ल्याएँ, कुन शिक्षक सरूवा गरेर ल्याउन कति हन्डर खानु पर्यो, विद्यालय भवन बनाउने स्रोत कसरी जुट्यो; डिल्ली यस्तै शीर्षकमा आफ्ना अनुभवका पोका फुकाउँथे।
कुन शिक्षकलाई कुन बिमाखमा कसरी जोगाएँ, कुनलाई कुन बिमाखमा कस्तो सजाय दिलाएँ, गाउँको कुन बदमासलाई कसरी तह लगाएँ; फुर्सद अनुसार गफका थप शीर्षक यी हुन्थे।
राजघाटबाट छुट्टिएर इटहरा गाउँ पञ्चायत कसरी बन्यो, प्रधानपञ्च हुँदा केके काम भयो, राजघाट र सिजुवासँग कस्तो प्रतिस्पर्धा चल्थ्यो; यी शीर्षकमा एक छिन कुरा नगरे त्यस दिनको भेट खल्लो हुन्थ्यो।
मौका अनुसार बाटो, पैनी, पुलपुलेसाको कुरा हुने नै भयो।
डिल्लीसँग उसका आफ्नै अनुभवहरू पनि छन्। स्कुलको विद्यार्थी छँदा ऊ निर्दलीय पञ्चायती व्यवस्था विरोधी थियो। ऊ छ–सात कक्षामा पढ्दा राजा वीरेन्द्रले ‘सुधारसहितको पञ्चायती प्रजातन्त्र’ कि ‘बहुदलीय शासन व्यवस्था’ भनेर जनमत संग्रह घोषणा गरेका थिए। ऊ घरबाट भागीभागीकन बहुदलवादीका सभामा पुग्थ्यो।
त्यही जनमत संग्रहले उसमा राजनीतिक चेतनाको दियो बालेको थियो। ऊ बहुदलीय व्यवस्थाको पक्षपाती भएको थियो। निर्दलीय पञ्चायती व्यवस्थालाई राजाको निरंकुश शासन भन्थ्यो, यसै भन्नेहरूसँग संगत र संगठन गर्थ्यो।
ऊ दस कक्षाको विद्यार्थी थियो। त्यही वर्षको तिहारमा ऊसमेत संलग्न विद्यार्थी संगठनले देउसी खेल्ने भयो। देउसे टोलीमा ऊ सामेल नहुने कुरै भएन। मादल, गिटार, बाँसुरी, झ्यालीसहित देउसी खेलिने भयो। देउसी टोली प्रधानपञ्चका पक्षमा हुने कुरै थिएन, देउसी खेल्न प्रधानपञ्चकहाँ नजाने कुरा पनि थिएन, त्यसमाथि उनै प्रधानपञ्च विद्यालय सञ्चालक समितिका अध्यक्ष थिए।
साँझको देउसी प्रधानपञ्चका घरमा, खाना पनि त्यहीँ; त्यसैअनुसार खबर भयो। प्रधानपञ्चले आफ्नो स्कुलको देउसी टोलीको भव्य स्वागत गरे। हाँसीखुसी गफ गरे। खाना बनाउन दालचामल, नुनतेल, तरकारी, भाँडाकुँडा, दाउरा सबै उपलब्ध गराए।
तरकारी थोरै होलाजस्तो भयो, मुलाको साग पनि मिसाउनु पर्ने भयो। साथीहरू मूलाको सागको विरोधी निस्के।
प्रधानपञ्च अघि सरेर भने– भाइबहिनीहरू आफूलाई कम्निस्ट भन्छौ, तरकारीमा मुलाको साग नखाने भन्छौ, यस्तो चालले जनताको सेवा कसरी गर्छौ? संघर्षशील कम्निस्टले जे जुर्यो त्यसमा चित्त बुझाउनु पर्छ।
हाँसो मच्चियो, तरकारीमा मुलाको साग मिसाइयो। देउसी खेलियो।
आमादिदीबहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर...
बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ...
नउठी भएन आमा र दिदीबहिनी हो, के छ र बाँच्ने आधार कम्मरै नकसे...
कोइको छोरा हवाईजहाज हरर कोइको छोरा पसिना तरर हाम्रो नेपालमा...
हेर है पूर्व उज्यालो भो, इतिहास पल्टाउने बेला भो...
श्रीखण्ड घोटी चन्दन चुँडाउनै पर्छ बन्धन...
आशिष दिनुअघिको अन्तिम गीत थियो–
हामी जित्ने छौं एक दिन, हामी जित्ने छौं...
विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा प्रधानपञ्च डिल्ली गुरागाईंले देउसी टोलीको चित्त बुझाए, टोलीनेतासँग हात मिलाए। खुसीले बिदा गरे।
भोलिपल्ट अन्तिम रातको देउसी सकेर टोलीका सदस्यहरू बक्राधारका तीन-चारवटा घरमा माछा सुताइमा मस्त थिए। झिसमिसेमै प्रहरीले घेरा हालेछ। सुइँको पाउनेहरू केही भागे। केहीलाई घरका मान्छेले लुकाउन सके। ऊसहित केही चाहिँ समातिए।
ऊ पहिलोपटक पक्राउ परेको थियो। तीन घन्टा हिँडाएर प्रहरीले रंगेली प्रहरी थाना पुर्यायो। भोकतिर्खाले लखतरान भएका देउसेले बेलुका भुजा र चिउरा खान पाए। ल, तिमीहरू यही कोठामा सुत्नू भनेर सिमेन्टीको खाली भुइँ देखाएर दुई जना प्रहरी बिदा भए।
यत्तिकैमा बिहान हुने भयो भनेको त किन हुन्थ्यो! केही बेरमा चार-पाँच जना प्रहरी आएर सात जना देउसेलाई भकुर्न थाले। यो कुनाबाट लात्तीले हानेर ऊ कुनामा पुर्याए, ऊ कुनाबाट यो कुनामा। लातले, हातले, लाठाले निर्मम पिटाइ गरे।
भोलि मध्य दिन हुँदा उसले केही गाउँलेहरूका साथ प्रहरी थानामा आफ्ना काइँला काकालाई देख्यो। काका उसका सर (शिक्षक) पनि थिए। प्रहरीका हाकिमसँग तिनीहरूको केके कुरा भयो। प्रहरीले देउसे टोलीलाई रिहा गर्ने भएछ।
झमक्क साँझ परेपछि प्रहरीले थुनुवा कोठाबाट देउसे केटाहरूलाई बाहिर निकाल्यो। खोइ, केके लेखेको एउटै कागजमा सबैलाई सही गर्न अह्रायो।
उसले प्रहरीलाई शासक भनेर चिनेको थियो र शासकका सामु झुक्नु हुँदैन भन्ने प्रशिक्षण पाएको थियो।
उसले भन्यो– कागज नपढी सही गर्दिंनँ।
प्रहरी हाकिमले भने– पढ्नु पर्दैन, हामी छुट्यौं भन्ने मात्रै लेखेको छ।
उसले सही गर्दिनँ भनेर अडान लियो।
प्रहरी हाकिमले सोधे– जेल जान्छौ त भाइ?
उसले निर्धक्क जवाफ दियो– जान्छु।
काका बोले– अनि एसएलसी परीक्षा दिँदैनस्?
ऊ झल्याँस्स भयो। औसतभन्दा केही राम्रो विद्यार्थी थियो। आम्मै! परीक्षा त छोड्नै हुँदैन। जसरी पनि दिनै पर्छ। आउने माघमा एसएलसी परीक्षा हुनेवाला थियो।
उसको स्वर मलिन भयो, भन्यो– परीक्षा त दिन्छु।
प्रहरी हाकिम फेरि बोले– त्यसो भए केही नहेरी सही गर, जेलमा बसेर परीक्षा दिन पाउँदैनौ।
उसले त्यसै गर्यो। प्रहरी हाकिमले परीक्षाको सफलताको शुभकामना दिए र भने– राजाको विरोध नगर्नू, व्यवस्था पल्टाउँछु नभन्नू, आफ्नो भविष्य सुधार्नू।
ती हाकिम सायद प्रहरी निरीक्षक (इन्स्पेक्टर) थिए। सायद ती पनि उसलाई छुटाउनै चाहन्थे।
ऊ केही बोलेन। प्रहरी थुनाबाट मुक्त भएकोमा र एसएलसी परीक्षा दिन अवरोध नभएकोमा ढुक्क भयो। त्यो रात मारवाडी होटलमा दालभात खाएर मारवाडीकै अतिथि गृहमा बित्यो।
मान्छेहरू भन्थे– तिमीहरूलाई डिल्लीले थुनाएका हुन्, उनैले छुटाएका हुन्।
होला पनि तर उसले कहिल्यै विश्वास गरेन। छुल्याहा अरू नै थिए जो घर घेर्न लाठीमुंग्रीसहित प्रहरीहरूका साथ थिए।
पञ्चायती व्यवस्था विरोधी स्कुलेको द्वन्द्व हुनु गाउँमा पञ्चहरूसँगै थियो। डिल्लीसँग उसको द्वन्द्व हुनु स्वाभाविक थियो।
उसका बुबालाई छोरो डिल्लीको विरोधी हो भन्ने थाहा थियो। त्यसमा बुबालाई चित्त बुझेको थिएन। एक दिन बुबाले भनेको उसको स्मरणमा ताजै छ– अरू जे गरे पनि डिल्लीको विरोध गरेर नहिँडेस् है छोरा!
विरोध किन नगर्नु नि! ऊ बहुदलवादी थियो, डिल्ली निर्दलीय पञ्चायतवादी। पञ्चायतको अन्तिम स्थानीय निर्वाचनमा उसले डिल्लीका विरूद्ध भाषण गर्यो। अर्का उम्मेदवारलाई प्रधानपञ्च बनाउन भोट मागेर हिँड्यो। आखिर जित डिल्लीकै भयो।
एसएलसी उत्तीर्ण गरेपछि पढाइका लागि गाउँ छाडेको ऊ सधैं गाउँबाहिरै भयो। चालीस वर्ष बितिगयो, आजपर्यन्त ऊ आफ्नो गाउँका लागि पाहुनाजस्तो छ। डिल्ली कहिल्यै पाहुना भएनन्।
देशविदेश घुमेबाहेक गाउँकै भए, गाउँलेका भरोसा भए। ठूलो सहरमा घरघडेरी जोडे तर गाउँ बिर्सेनन्, गाउँलेलाई माया गर्न छाडेनन्। आफूप्रतिको विश्वास टुट्न दिएनन्। राजनीतिक सत्तामा रहे वा नरहे पनि गाउँका सदावहार नेता भए। आफ्नै घाटबाट पञ्चमहाभूतमा विलीन भए।
उनलाई निकटबाट जान्नेहरू भन्छन्– सामाजिक हितमा सक्रिय रहनु समकालीनहरूमा उनको अद्वितीय गुण थियो। हँसिला थिए। मानिसहरूलाई आफ्नो कुरा मनाउने वाककला थियो। मिलनसारिता अब्बल थियो।
तिनै जान्नेहरू यसो पनि भन्छन्– हक्की थिए, आफूलाई चित्त नबुझेको कुरामा ‘भइगो’ भन्ने स्वभाव थिएन। हठ पनि गर्थे। यही स्वभावका कारण कहिलेकहीँ कडा मिजासका देखिन्थे।
मानिस सर्वगुणसम्पन्न हुने त एकादेशको कथामा मात्रै हो।
मान्छे एक्लै त के हो र! मान्छेको अस्तित्व भनेको आखिर परिवार र समाज न हो, त्यसपछि देश र राष्ट्र। उहिले सन्तानले डाँडाकाँडा ढाक्थे, अहिले युरोप–अमेरिका ढाक्छन्। ढाकेर के गर्नु! हजुरबाआमाको एक्लोपनमा के पाक्दो हो! तिनको दिल र दिमागमा के हुन्डरी मच्चिँदो हो! बुझ्ने कोही नभएपछि...!
गाउँ र गाउँलेप्रतिको यति ठूलो प्रेम डिल्लीले कसरी बिर्सन सके? छिनभरमै बिर्सन सके कि धेरै दिन, धेरै महिना वा केही वर्ष लगाए? बिर्सन लगाउने बिज के थियो? के उनका निकटस्थहरूले र परिवारजनले त्यो बिज अंकुराउँदै गरेको थाहा पाएनन्? झ्यांगिसक्दा पनि देखेनन्? त्यो झ्याङले छोप्नुअघि बाहिर निकाल्न कुनै प्रयत्न गरेनन्?
उसका मनमा यस्ता अनेक प्रश्न झुत्ती खलेका खेल्यै छन्। कति वृद्ध आमाबाबु डिल्लीको नियतिको दिशामा होलान्!
जीवनको सफलता के, असफलता के, उन्नति के अवन्नति के! बुढापाकाले आमाबाबुको मन छोराछोरीमाथि, छोराछोरीको मन ढुंगामूढामाथि भनेर त्यसै किन भनेका हुन्थे!
ऊ सोचमग्न छ, आखिर कता जाँदै छ हाम्रो सभ्यता र संस्कृति!
अजम्मरी कोही पनि छैन। पूर्वीय दर्शनले शरीर अनित्य छ, आत्मा नित्य छ भन्छ, पुनर्जन्ममा विश्वास गर्छ। साँच्चै हो भने डिल्ली फेरि पनि इटहराकै भएर जन्मियून्।
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि।। (२/२७)
आज डिल्लीको तेह्रौं दिनको पुण्यतिथि हो। उनको दिवंगत आत्माले अनन्त शान्ति पाओस्! यो भूतलमा आफ्नै जिन्दगीसँग यति भयानक विद्रोह गर्नेमा डिल्ली अन्तिम बाबु बनून्! बैकुण्ठमा उनका सबै पूर्वज र शुभचिन्तकहरूसँग मिलन होओस्! उनको आभा झन् चम्कियोस्!
हार्दिक श्रद्धासुमन!