विद्यालय कसले चलाउँछ?
प्रश्न अति सामान्य छ। उसको जवाफ पनि सामान्य छ– सरकारले चलाउँछ।
विचार आआफ्नो हो, उसको उत्तर सही नहुन पनि सक्छ। सरकारले विद्यालय चलाउन नीति दिन्छ; ऐन–नियम दिन्छ; विद्यालय भवन दिन्छ; पाठ्यक्रम दिन्छ; पाठ्यपुस्तक दिन्छ; शिक्षक दिन्छ; शिक्षकलाई तलबभत्ता, तालिम, निवृत्तिभरण दिन्छ।
विद्यालय चलाउन सरकारले आवश्यक अन्य भौतिक सुविधाको प्रबन्ध मिलाइदिन्छ। तालुकदार निकायहरू दिन्छ, नियामक अधिकारीहरू दिन्छ।
यिनै आधारहरूमा भनेको विद्यालय सरकारले चलाउँछ भनेर।
सबैभन्दा माथिल्लो तालुकदार निकायका रूपमा नेपाल सरकार अर्थात् संघीय सरकारको शिक्षा मन्त्रालय छ जसले देशभर विद्यालय चलाउन आवश्यक प्रबन्ध मिलाउँछ। जवाफमा भनिएको सरकार यही हो।
सरकार एउटा मात्रै छैन।
संघीय सरकारपछि प्रदेश सरकार र स्थानीय सरकार छन्। यिनले पनि ऐन–नियम बनाउँछन् र आआफ्नो सरहदभित्र कार्यान्वयन गर्छन्, नियमन गर्छन्। विद्यालयको भौतिक र शैक्षिक उन्नयनका लागि काम गर्छन्।
यति भएपछि त विद्यालय सरकारले चलाउँछ भन्नु परिगयो।
संविधान, तीनै तहका सरकारका ऐन–नियम, लगानी र तालुकदारहरू सबैको संयुक्त प्रयासको अन्तिम बिन्दु विद्यालय हो। विद्यालयको दैनिक नियमन प्रधानाध्यापकले गर्छ।
विद्यालयबाट राम्रो नतिजा दिने गरी काम गर्ने जिम्मेवारी प्रधानाध्यापकको हो। प्रधानाध्यापक विद्यालय शिक्षाको आधारभूत कार्यालय प्रमुख हो, विद्यालयको जग हो। प्रधानाध्यापकले कक्षा सञ्चालनको समयसारिणी बनाउँछ। विद्यालयको समग्र शिक्षण–सिकाइ गतिविधि नियमित गराउँछ।
विद्यालय सञ्चालनको आधारभूत पक्ष विद्यार्थी हो। प्रधानाध्यापकले विद्यार्थीहरूको सामूहिक रेखदेख गर्छ। व्यक्तिगत रेखदेख आवश्यक पर्ने विद्यार्थी पहिचान गर्छ। सकेसम्म सबै विद्यार्थीको पारिवारिक र आर्थिक–सामाजिक अवस्थासहितको व्यक्तिगत विवरण आफ्नो जानकारीमा राख्छ।
निकै ठूलो संख्यामा विद्यार्थी रहेको स्कुलको प्रधानाध्यापकले प्रत्येक विद्यार्थीको व्यक्तिगत विवरण जानकारीमा राख्न कठिन हुन सक्छ। यस्तो अवस्थामा सहायक प्रधानाध्यापक र कक्षा शिक्षकबाट सहयोग लिन्छ। आवश्यकताअनुसार विद्यार्थीलाई हौसला दिने र सिकाइका लागि प्रेरित गर्ने काम गर्छ। कोही विद्यार्थी कुनै समस्यामा परेको छ भने समाधानका लागि अधिकतम सहयोग गर्छ।
प्रधानाध्यापकले विद्यार्थीसँग सामूहिक छलफल गर्छ। शिक्षण–सिकाइ गतिविधिबारे उनीहरूको धारणा सुन्छ। शिक्षकबारे अनुभव सुन्छ। कुनै गुनासो भए त्यसको निवारण गर्छ। विद्यार्थीको सामूहिक आग्रहको सम्मान गर्छ र तदनुकूल कदम चाल्छ।
विद्यालयका लागि अर्को महत्त्वको पक्ष हो अभिभावक। प्रधानाध्यापकले तालिकाबद्ध भएर अभिभावकहरूसँग सामूहिक र व्यक्तिगत भेट–छलफल गर्छ। सामूहिक भेटमा विद्यालयप्रति उनीहरूको धारणा सुन्छ, आवश्यकताअनुसार सुझाव लिन्छ। व्यक्तिगत भेटमा ती अभिभावकसँग सम्बद्ध विद्यार्थीको शिक्षण–सिकाइ र अन्य आवश्यक विषयमा छलफल गर्छ। सुझाव दिन्छ, सुझाव लिन्छ।
अर्को महत्त्वको पक्ष हो शिक्षक। प्रधानाध्यापकले शिक्षकहरूमा सामूहिकताको भावना सिर्जना गर्छ। एउटै उद्देश्य र लक्ष्यमा अघि बढेका एउटै डुंगाका यात्री, एउटै परिवारका सदस्यका रूपमा शिक्षकहरूको नेतृत्व गर्छ। आफू नाविक बन्छ, घरमूली बन्छ र तदनुकूल जिम्मेवारी निर्वाह गर्छ, कर्तव्य पूरा गर्छ। शिक्षकहरूलाई समयसारिणीमा प्रतिबद्ध बनाउँछ। शिक्षण–सिकाइ गतिविधिको निरीक्षण र निगरानी गर्छ। शिक्षकलाई आवश्यक सुझाव दिन्छ। शिक्षकका गुनासा सुन्छ र निवारणको पहल गर्छ।
प्रधानाध्यापकले विद्यालयको शैक्षिक, भौतिक, आर्थिक अवस्था व्यवस्थित गर्न सबै किसिमको पहल गर्छ। विद्यालयको वार्षिक बजेट बनाउँछ। समुदायका अंगहरूसँग समन्वय गर्छ र विद्यालयको हितमा परिचालन गर्छ। समुदायबाट सहयोगीहरू पहिचान गरेर आवश्यक सहयोग जुटाउँछ। सरकारी बजेटका अतिरिक्त सहयोगी गैरसरकारी संस्थाहरू खोजी गर्छ, सहयोग जुटाउँछ।
प्रधानाध्यापकले विद्यालय व्यवस्थित सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका माध्यमबाट पनि सहयोग जुटाउँछ। विद्यालय व्यवस्थापन समितिमा स्थानीय समुदायकै व्यक्तिहरू रहन्छन्। विद्यालय स्थानीय समुदायसँग सोझो सम्बन्ध भएको सार्वजनिक संस्था हो। विद्यालयको शैक्षिक गतिविधि सुदृढ बनाउन समुदायको चासो र सहभागिता महत्त्वपूर्ण हुन्छ। विद्यालय व्यवस्थापन समितिमार्फत तथा त्यही समुदायको सदस्य हुनुको नाता र प्रधानाध्यापकको हैसियतबाट समुदाय परिचालनको पहल गर्छ।
प्रधानाध्यापकले विद्यालयको भौतिक सुविधा व्यवस्थित गराउँछ। मर्मतसम्भार गराउँछ, नयाँ निर्माण गराउँछ। विद्यालयको सम्पत्ति संरक्षण गर्छ। विद्यालयको आर्थिक हिसाब अद्यावधिक र पारदर्शी राख्छ।
समग्रमा प्रधानाध्यापक विद्यालयको पहिलो अभिभावक हो। यस नाताले सबैभन्दा बढी जिम्मेवार व्यक्ति पनि प्रधानाध्यापक नै हो। विद्यालयको संरचना एउटा परिवारजस्तै हुन्छ। प्रधानाध्यापक, शिक्षकहरू र विद्यार्थीहरू एकै घरपरिवारका सदस्य हुन्। प्रधानाध्यापक पनि शिक्षक हो। प्रत्येक शिक्षकका लागि विद्यार्थीहरू छोराछोरीसरह हुन्। आआमाबाबुले छोराछोरीलाई गरेसरह मायाप्रेम गर्छन्।
आमाबाबुले सधैं आफ्ना छोराछोरीको हित र उन्नति चाहन्छन्। छोराछोरी गतिला होऊन्, सुनाम होओस्, हामीभन्दा धेरै जान्ने–बुझ्नो होऊन्, खुसी–सुखी रहून् भन्ने कामना गर्छन्। यसकै लागि प्रार्थाना गर्छन्। आफ्नो जीवन छोराछोरीमै समर्पित गर्छन्।
मानव समाजमा एउटाको प्रगतिमा अर्कालाई इर्ष्या हुन्छ। इर्ष्या मानिसको संवेगात्मक अवस्था हो यसकारण इर्ष्या हुनु स्वाभाविक पनि हो। परिवारमा आमाबाबुले छोराछोरीको इर्ष्या गर्दैनन्।
आमाबाबु र छोराछोरी जस्तै इर्ष्याविहीन सम्बन्ध हुन्छ शिक्षक र विद्यार्थीका बीचमा। शिक्षक सधैं आफ्ना विद्यार्थीको हित र उन्नति चाहन्छ। विद्यार्थीले बढीभन्दा बढी सिकोस्, उत्कृष्ट नतिजा हासिल गरोस्, मभन्दा उत्कृष्ट शिक्षक बन्न सकोस्, उच्च सरकारी ओहोदामा पुगोस्, मन्त्री–प्रधानमन्त्री बनोस्, राष्ट्रसेवक बनोस्, लेखक–साहित्यकार बनोस्, उद्योगपति बनोस्! यस्तै अनेक कामना गर्छ।
समग्रमा शिक्षकले आफ्नो विद्यार्थी असल नागरिक बनोस् र आफ्नो ठाउँबाट देशको उन्नतिमा योगदान गरोस् भन्ने चाहन्छ।
शिक्षकलाई विद्यार्थीको उन्नतिमा औधी खुसी लाग्छ। आमाबाबुले भविष्यमा आफ्ना छोराछोरीबाट के अपेक्षा गर्छन्? यो एक प्रश्नका अनेक जवाफ हुन सक्छन्। यहाँ यसको जवाफ खोज्नु उसको उद्देश्य होइन।
एउटा शिक्षकले आफूले पढाएको विद्यार्थीबाट व्यक्तिगत रूपमा के अपेक्षा गर्छ?
भेट भएका बखत बढीमा एक नमस्कार त हो!
उसलाई पढाउने प्रधानाध्यापक र शिक्षकहरू कक्षामा भन्थे– तिमीहरू त पार भएर गइहाल्ने हौ, तिमीहरूसँग हाम्रो के नै आशा हुन्छ र! कतै भेट हुँदा नमस्कार गर्छौ कि, सञ्चो–बिसञ्चो सोध्छौ कि भन्नेसम्म न हो।
आज ऊ आफ्ना विद्यार्थीहरूलाई यसै भन्छ।
उसलाई लाग्छ– हरेक पुस्ताका शिक्षकले यसै भने, पुस्तौंसम्म यसै भन्नेछन्।
हो, यही पवित्र परिवारको अभिभावक हो प्रधानाध्यापक। यस अर्थमा खासमा विद्यालय प्रधानाध्यापकले नै चलाउँछ। साढे तीन दशक विद्यालय शिक्षणमा बिताएको शिक्षकका नाताले उसको अनुभव यही हो। साँच्चै, विद्यालय प्रधानाध्यापकले नै चलाउँछ। उसको विश्वास पनि यही हो।
उसले यति धेरै चर्चा गरेर, घरमूली भनेर, अभिभावक भनेर प्रधानाध्यापकले गर्ने नेतृत्वको महत्ताको बयान गरेको हो। शिक्षकको अवमूल्यन गरेको होइन, प्रधानाध्यापक विद्यालयको नेता हो भनेको। ऊ यो मान्छ, प्रधानाध्यापक एक्लैले चलाउने होइन। यसमा शिक्षकहरू हुन्छन्, उनीहरू प्रधानाध्यापकसँगै हुन्छन्। प्रधानाध्यापक सारथि हो, शिक्षकहरू योद्धा हुन्। योद्धा नभए सारथि एक्लैले केही गर्ने होइन। योद्धालाई हौसला दिने चाहिँ सारथिले नै हो।
विद्यालय हरेक व्यक्तिमा शिक्षा र ज्ञानको ज्योति बाल्ने र देशका लागि आवश्यक जनशक्ति उत्पादन गर्ने प्रारम्भिक थलो हो। देशको जनशक्ति उच्च निष्ठायुक्त, सिपयुक्त र दक्ष हुनुपर्छ। यसको जग बसाउने विद्यालयले नै हो। ज्ञातव्य छ, जग बलियो भयो भने मात्रै त्यसमाथिको संरचना बलियो हुन्छ।
शिक्षकहरूका बीचमा चर्चा हुन्छ, छलफल हुन्छ। चर्चाका शीर्षकहरू हुन्छन्– फलानो स्कुल कसरी राम्रो भयो? कुन स्कुल खत्तम भयो? भौतिक सुविधा राम्रो भएर पनि फलानो स्कुल किन बर्बाद भयो? भौतिक सुविधा राम्रो नभएर पनि फलानो स्कुल कसरी राम्रो भयो? इत्यादि।
कारणको केन्द्रमा प्रधानाध्यापक नै हुन्छ। पूर्ण निष्ठाका साथ आफ्नो अधिकार प्रयोग र कर्तव्य पालना गरेको प्रधानाध्यापकले नेतृत्व गरेको स्कुल शिक्षण–सिकाइमा अब्बल सावित हुने गरेको छ। नतिजाहरूले यही तथ्य उजागर गरेका छन्।
उच्च नेतृत्व कौशल भएको; व्यवहार कुशल; आफ्नो अधिकार, कर्तव्य र उत्तरदायित्वप्रति सचेत; पेसाप्रति निष्ठायुक्त र उच्च निर्णय क्षमता भएको प्रधानाध्यापकले मात्रै विद्यालय परिवारको कुशल नेतृत्व गरेर विद्यालयलाई उत्कृष्ट बनाएको छ।
नेतृत्वकुशल प्रधानाध्यापकमा हुने अर्को गुण हो पारदर्शिता। आजको युग पारदर्शिताको हो। पारदर्शिताले सुशासन कायम गराउँछ। विद्यालय सुशासनयुक्त भयो भने विद्यार्थीले पनि सुशासन सिक्छन्, देशका लागि भविष्यका कर्णाधार बन्छन्। प्रधानाध्यापकले विद्यर्थीहरूलाई सुशासनका तत्वहरू सिकाउने प्रारम्भिक थलो बनाउन सक्छ।
मुखले भनेर मात्रै हुन्न; सीपले, चेतनाले, ज्ञान र विवेकले मात्रै आजको विद्यार्थी भोलिको कुशल कर्णाधार बन्छ। देशलाई चाहिएको कुशल कर्णाधार हो जसले भोलिको देशको बेडा पार लगाऊन्। राजनीतिको, शिक्षाको, विकासको, अर्थतन्त्रको, उद्योगको, अन्तर्राष्ट्रिय सम्बन्धको र समग्रमा सिंगो देशको बेडा हाँक्न आआफ्नो क्षेत्रका कुशल नाविक बन्न सकून्।
यसरी प्रधानाध्यापकले देशको उन्नत भविष्यका लागि जनशक्ति उत्पादनको जग बनाउने कामको नेतृत्व गरेको हुन्छ भन्ने ऊ मान्छ। यस अर्थमा प्रधानाध्यापक पद होइन, प्रधानाध्यापक हुनु भनेको हाकिम हुनु होइन, देश निर्माणको आधारभूत तहमा जिम्मेवारी निर्वाह गर्नु हो।
यति गहन जिम्मेवारीको सारथि छनोट प्रक्रिया कम महत्त्वको हुँदैन। राजनीतिक व्यक्तिहरू शिक्षक राजनीतिक कार्यकर्ता भए, सरकारी विद्यालयको गुणस्तर खत्तम भयो भन्छन्। प्रधानाध्यापक र शिक्षकहरू विद्यालयमा राजनीतिक हस्तक्षेप भयो भन्छन्। शिक्षकहरू राजनीतिक चेतनायुक्त व्यक्ति हुन्, राजनीतिक व्यक्ति होइनन्। तहतहका तालुकदारहरूले यति कुरा ठम्याउन सके भने शिक्षक राजनीतिक कार्यकर्ता भए भनेर दोष पन्छाउनु पर्ने छैन। विद्यालयमा राजनीतिक हस्तक्षेप भयो भनेर गुनासो गर्नु पनि पर्दैन।
यस्तो सारथिलाई आफ्नो जिम्मेवारीको रथ हाँक्न र बेडा उठाउन सरकारले कस्तो तालिम दिएको छ र कति प्रोत्साहित गरेको छ भन्ने कुरा सबैभन्दा बढी महत्त्वको हुन्छ। कुनै शिक्षक प्रधानाध्यापक नियुक्त हुँदैमा स्वतः सक्षम हुँदैन। सक्षमता विकास गर्न र प्रधानाध्याकलाई साँच्चै दक्ष बनाउन तहतहका सरकार र तिनका निकायहरूले कति लगानी गरेका छन्? यो प्रश्न तिनैलाई जो विद्यालय शिक्षाका तालुकदार हुन् र आफूलाई आधिकारिक तालुकदार ठान्छन्।
प्रधानाध्यापक सकुशल आफ्नो गन्तव्यमा पुग्नुपर्छ। विद्यालयको रथ ठिक ढंगले हाँक्न सकेको अवस्थामा मात्रै योद्धाहरूले लक्ष्य भेदन गर्न सक्छन्। मूल नाविकले समुद्रको उतार–चढाव थाहा पाउन सके मात्रै बेडा पार लाग्न सक्छ। यसर्थ, प्रधानाध्यापक निष्ठाको पथबाट रौं बराबर मात्रै विचलित भयो भने पनि विद्यालयको रथ पल्टिन्छ, बेडा डुब्छ।
यति ख्याल गर्ने चाहिँ प्रधानाध्यापकले नै हो।
ऐन-नियम र राष्ट्रिय नीतिको परिधिमा विद्यालयभित्र प्रधानाध्यापक नै सर्वोपरि हो। सर्वोपरि हुनुको अर्थ दायित्वबोध गर्नु र उत्तरदायित्व ग्रहण गर्नु हो। प्रधानाध्यापक हुनुको प्राथमिक गुण यही हो हो। शिक्षकहरूको साथ प्रधानाध्यापक विद्यार्थीहरूको भविष्य निर्माता हो।
आज स्कुलमा पढ्दै गरेको विद्यार्थी भविष्यको राजनीतिक नेता हो; डाक्टर, इन्जिनियर, पाइलट, लेखक–साहित्यकार, पत्रकार, कलाकार इत्यादि अनेक हो। समग्रमा देशले अपेक्षा गरेको असल नागरिक हो। प्रधानाध्यापक यिनको बेडा लिएर अघि बढेको नाविक हो, यिनको रथ हाँकेर अघि बढेको सारथि हो।
त्यसैले त उसले प्रधानाध्यापक सर्वोपरि हो भनेक हो।
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)