सेतोपाटी पडकास्ट ‘पेरिस्कोप’मा आज हामी साउदी अरेबियाले पैसाको खोलो बगाएर फुटबल खेलाडीहरूलाई आफ्नो लिगमा ल्याउनुका विभिन्न कारण र साउदी लिगको भविष्यलगायत विषयमा कुरा गर्नेछौं।
वर्षौंदेखि रियल मेड्रिड जान आतुर किलियन एम्बाप्पेलाई शुक्रबार पिएसजीले बेच्ने निर्णय गरेको छ। २४ वर्षीय फ्रान्सेली कप्तान एम्बाप्पे र पिएसजीबीच अझै एक वर्षको सम्झौता बाँकी छ।
पिएसजीले सन् २०२४ पछिका लागि गरेको नयाँ सम्झौताको प्रस्तावलाई एम्बाप्पेले अस्वीकार गरिसकेका छन्। यो वर्ष बसेर अर्को वर्ष सित्तैमा रियल मेड्रिड जाने एम्बाप्पेको योजना पिएसजीलाई राम्ररी थाहा छ। त्यसैले उनलाई कि त नयाँ करार गर्ने वा यही सिजन कुनै क्लबमा बेच्ने निर्णय क्लबले सुनाइसकेको छ। एम्बाप्पे अर्को क्लबमा जान नमाने उनलाई फर्स्ट टिममा खेल्न नदिई बेन्चमै राख्ने चेतावनी दिइसकेको छ। त्यही कारण उनलाई पिएसजीको जापान भ्रमणको टोलीमा समावेश गरिएको छैन।
व्यावसायिक फुटबलमा कुनै पनि खेलाडीलाई नयाँ क्लबले किन्न चाहे अहिले करार रहेको क्लबलाई पैसा तिर्नुपर्छ। त्यसपछि बल्ल खेलाडीलाई दिने तलबलगायत सुविधाको कुरा आउँछ।
सन् २०१७ मा १८ वर्षका एम्बाप्पेलाई पिएसजीले किन्दा मोनाकोलाई झन्डै २० करोड डलर तिरेको थियो। पोहोर सालमात्रै रियल मेड्रिडले झन्डै २२ करोड डलर प्रस्ताव गर्दा पनि पिएसजीले उनलाई बेचेको थिएन।
समकालीन विश्व फुटबलका सबैभन्दा अब्बल खेलाडी एम्बाप्पेलाई कुनै पनि हालतमा सित्तैमा जान पिएसजीले दिने छैन।यस्तोमा अरू कुनै पनि क्लबले दिन नसक्ने पैसा साउदी क्लब अल-हिलालले पिएसजीलाई प्रस्ताव गरेको छ।
सन् २०२२ को अन्त्यमा साउदी क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोलाई मेनचेस्टर युनाइटेडबाट वर्षको लगभग २२ करोड डलर दिने गरी किन्यो। गत जुनमा अर्को साउदी क्लब अल-इत्तिहादले अहिलेका बेलोन-डर विजेता करिम बेन्जेमालाई झन्डै त्यस्तै पैसा दिने गरी रियल मेड्रिडबाट भित्र्यायो।
इस्लाम धर्म मान्ने बेन्जेमाले मक्का र मदिना रहेको साउदीमा खेल्ने सम्झौता गरेपछि भने- म मुसलमान हुँ र जहिल्यै मुस्लिम देशमा बस्न चाहन्थें।
धार्मिक आस्था आफ्नो ठाउँमा होला तर बेन्जेमा किन साउदी क्लबमा गए भन्ने कुरा घामजस्तै छर्लङ्ग छ।
लिओनल मेसीलाई पनि वर्षको ५० करोड डलरभन्दा बढी दिने प्रस्ताव गरेको हल्ला चलेको थियो। बेन्जेमा साउदी आउन सहमत भएको केही दिनपछि मेसीले १ अर्ब डलरभन्दा धेरैको साउदी प्रस्ताव लत्याएर अमेरिकी मेजर लिग सकरको इन्टर मायामी क्लबबाट खेल्ने निर्णय गरे।
मेसीलाई ल्याउन नसके पनि साउदी लिगले एङ्गोलो कान्टे, रोबर्टो फर्मिनो, रियाद माहरेजलगायत ठूला खेलाडी किनिसकेको छ। अझै पनि राम्रा खेलाडी किन्न खोजिरहेको छ।
फुटबलमा पैसा खन्याउनुअघि साउदीले गल्फमा पनि ठूलो लगानी गरेको थियो।
राम्रा खेलाडीलाई धेरै नै पैसाको प्रस्ताव गरेर गत वर्ष साउदीले लिभ गल्फ टुर सुरू गर्यो। विगत केही वर्षमा चोटलगायत कारणले खेल खस्किएका तर अहिले पनि गल्फका सबैभन्दा ठूला स्टार टाइगर उड्सलाई झन्डै ८० करोड डलर दिने प्रस्ताव साउदीले गरेको थियो।
ठूला खेलाडी नगए पनि फिल मिकलसनलगायत मध्यम स्तरका केही खेलाडी लिभ टुर खेल्न गए। अमेरिकाको पिजिए टुरले लिभ टुरका खेलाडीलाई प्रतिबन्ध लगायो र खेलाडीहरूबीच पनि भनाभन भएर तिक्तता सुरू भयो।
पिजिए टुरले अन्तत: झगडा गरिराख्नुभन्दा साउदी पैसा लिने निर्णय गर्यो। गत जुनमा सुलह गरेर संयुक्त टुरमा साउदीले ३ अर्ब डलर लगानी गर्ने गरी पिजिए टुर र लिभ टुरको मर्जर भयो। साउदीले पुरूष टेनिसको एटिपी टुरमा लगानी गर्ने पनि चर्चा चलिरहेको छ।
रोनाल्डोलाई भित्र्याइसकेको, मेसीलाई करोडौं डलर अफर गरेको र अहिले एम्बाप्पेलाई ल्याउन कीर्तिमानी रकम प्रस्ताव गरेको साउदीले पछिल्लो समय फुटबलमा पैसाको खोलो नै बगाइरहेको छ।
फुटबलमा साउदीले यति धेरै पैसा लगानी गर्नुका पछाडि साउदीको शासन, भूराजनीति र महत्वकांक्षा जोडिएको छ। र, यसको केन्द्रमा छन्- युवराज मोहम्मद बिन सलमान अर्थात् एमबिएस।
८७ वर्षीय राजा सलमानका नाममा ३७ वर्षीय छोरा एमबिएसले विगत ६ वर्षदेखि साउदीमा शासन गरिरहेका छन्।
सन् १९३२ मा अबदुलाजिज इब्न साउदले अरब एकीकरण गरेकाले उनको वंश साउदकै नाममा देशको नाम साउदी अरेबिया राखिएको हो।
उनको निधनपछि अहिलेसम्म अबदुलाजिजका छोराहरूले मात्रै गद्दी सम्हालेका छन्। प्राकृतिक मृत्यु, कू वा हत्या गरिए पनि गद्दी नातिमा नसरेर अबदुलाजिजका छोराहरूमै सरिरहेको छ।
सन् १९८२ देखि शासन गरेका फहदको ८४ वर्षको उमेरमा २००५ मा निधन भएपछि राजा बनेका अब्दुल्लाह गद्दीमा बस्दा नै ८१ वर्षका थिए। उनको २०१५ मा निधन भएपछि राजा भएका सलमान पनि सत्ता सम्हाल्दा ८० वर्षका थिए।
यसरी पछिल्ला दशकमा निरन्तर पाका उमेरका शासकले सत्ता चलाइरहेको साउदीमा युवा एमबिएसले युवराजका रूपमा शासन गरिरहेका छन्।
अबदुलाजिजले एकीकरण गर्दा इस्लाम धर्मको जन्मभूमि हुनुबाहेक केही पनि महत्व नभएको मरूभूमिमा सन् १९३८ मा तेल खानी भेटियो। त्यसपछि साउदीको भाग्य फेरियो। विश्वका शक्ति राष्ट्रहरू साउदीसँग सम्बन्ध बढाउन अग्रसर हुन थाले।
सन् १९४५मा स्वेज नहरमाथि एउटा अमेरिकी युद्धपोतमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रयांकलिन डी रूजवेल्ट र अबदुलाजिजले गोप्य रूपमा भेटे।
उक्त भेटमा साउदीको तेलमा अमेरिकी पहुँचको बदलामा साउदीमा हुनसक्ने विदेशी आक्रमणबाट जोगाउने अमेरिकी ग्यारेन्टीको खाका तयार भयो। त्यसपछि तेलको प्रयोग गरेर अमेरिकाले विकास गर्दै गयो भने तेल बेचेर साउदी निरन्तर धनी बन्दै गयो।
तेलको कारण धनी हुँदै गएको साउदीमा राजपरिवार झन् धेरै बिलासी बन्न थाल्यो। अबदुलाजिजका विभिन्न पत्नी र रखेलबाट जन्मेर हुर्केका ३६ छोरामध्ये अहिलेका राजा सलमान २५ औं नम्बरका हुन्। सलमान राजा हुनु नै अचम्म मानिन्छ। सलमानका पनि छैठौं छोरा एमबिएसले साउदीमा शासन गर्ने त झन् कसैले कल्पना गर्न पनि नसक्ने कुरो!
सलमानकी पहिलो पत्नीबाट जन्मेका सबै ५ छोरा एमबिएसका दाजु हुन्।
द न्युयोर्क टाइम्सका पत्रकार बेन हबर्डले लेखेको एमबिएसको जीवनीअनुसार सत्ताको धेरै बाहिर रहेका सलमानका छैठौं छोरा भए पनि आफ्नी आमाका जेठा छोरा भएकाले एमबिएस सानैदेखि रवाफिला र रिसाहा थिए। तर पनि उनको हैसियत आफ्ना ठूलाबुवाका छोराहरूसामू केही थिएन। सबै अबदुलाजिजका नाति भए पनि सम्पत्ति र शान-शौकतमा तुलनै हुँदैनथ्यो। उनलाई सबैले हेप्थे। जहाजमा रमाइलो गर्न जाँदा उनलाई किनारमा चुरोट किन्न पठाउनेलगायत साना-तिना काम लगाउँथे।
सलमानकी तेस्रो पत्नी अर्थात् एमबिएसकी आमा फिरन्ते आदिवासी मूलकी हुन्। त्यसैले उनलाई फिरन्तेको छोरो भनेर गिज्याउँथे। तन्नेरी साउदहरूको पारिवारिक फोटोमा एमबिएस फ्रेमको छेउतिर हुन्थे।
तर भाग्यले बिस्तारै एमबिएसलाई साउदीको शासनतिर डोहोर्याउँदै ल्यायो। सन् २००० पछि छोटो अन्तरालमै सलमानका दुई छोरा बिते। सलमानका जेठा छोरा फहदको २००१ मा ४६ वर्षको उमेरमा निधन भयो भने अर्को साल ४४ वर्षका अहमत बिते।
सलमान आफैं गद्दीको रोलक्रममा धेरै पछि थिए। अब्दुल्लाह सन् २००५ मा राजा भएपछि उनले युवराज बनाएका उनका भाइ सुल्तानको २०११मा र उनका ठाउँमा युवराज बनाएका नयफको पनि २०१२ मा मृत्यु भयो। त्यसपछि अब्दुल्लाहले सलमानलाई युवराज बनाए।
सत्ताको रोलक्रममा धेरै पछि रहेका रिसाहा एमबिएस किशोर अवस्थामा सिकन्दरबारे धेरै पढ्थे। बुवा सलमान युवराज भएपछि उनले बिस्तारै शक्ति र धन दुबै आर्जन गर्दै गए।
हबर्डले लेखेको जीवनीअनुसार एक पटक उनले मन पराएको जमिन मालिकले बेच्न नमानेपछि एमबिएसले दर्ता गर्ने अधिकारीलाई आफ्नो नाममा जग्गा पास गरिदिन आग्रह गरे। अधिकारीले सो गैरकानूनी काम गर्न नमानेपछि उनले एउटा खाम पठाए। खामको भित्र गोली थियो।
त्यसपछि उनलाई ‘गोलीको बाउ’ भनेर चिन्न थालियो। गोलीको चर्चापछि अब्दुल्लाहले सलमानलाई आफ्नो छोरालाई ठीक ठाउँमा राख्न भनेका थिए।
युवराज सलमानलाई अब्दुल्लाहले रक्षा मन्त्री बनाए पनि एमबिएसलाई मन्त्रालयमा राख्न मानेनन्। सलमानले निरन्तर अनुरोध गरेपछि बल्ल अब्दुल्लाहले एमबिएसलाई बुवाको कार्यालयको निर्देशक बनाउन राजी भए।
सन् २०१५ मा अब्दुल्लाहको निधन भएपछि सलमान राजा बने। तर उनले २०१२ मा मृत्यु भएका उनका दाजु युवराज नयफका छोरा मोहम्मद बिन नयफलाई युवराज घोषणा गरे।
भतिजालाई युवराज घोषणा गरेका सलमानले आफ्ना छोराहरूमध्येबाट भने एमबिएसलाई अघि बढाए। एमबिएसभन्दा जेठा साउदी एयरफोर्सका पूर्वपाइलट सुल्तान र अक्सफोर्डबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका फैसललाई सलमानले महत्वपूर्ण राजकीय जिम्मेवारी दिएनन्।
एमबिएसले कुनै सफल कम्पनी पनि चलाएका थिएनन्, न त उनीसँग सैनिक अनुभव थियो। उनी विदेशमा पढेका पनि थिएनन्। न त अमेरिका वा युरोपमा लामो समय बसेका थिए। तर आफ्नै देशमा बसेकाले उनले देश राम्ररी बुझेका थिए।
हबर्डले लेखेको जीवनीअनुसार सलमानले पनि आफ्ना बुवा अब्दुलाजिजले जस्तै सोचेर एमबिएसलाई अगाडि बढाएका हुन्।
एक अमेरिकी व्यापारीले छोराहरूलाई पढ्न अमेरिका पठाउन सुझाव दिँदा अब्दुलाजिजले इन्कार गरेका थिए। ‘नेता हुन एउटा पुरूषले आफ्नै देशमा, आफ्नै जनतामाझ शिक्षा हासिल गर्नुपर्छ। र देशवासीको परम्परा र मनोविज्ञानले ओतप्रोत परिवेशमा हुर्कन पर्छ,’ अब्दुलाजिजले भनेका थिए।
बुवाको त्यही कुराबाट प्रभावित भएर होला सलमानले देशमै हुर्किएका एमबिएसलाई रक्षा, अर्थ, धर्म र तेलबारे हेर्ने जिम्मेवारी दिए। महत्वपूर्ण जिम्मेवारी पाएपछि एमबिएस शक्तिशाली हुँदै गए।
२१ जुन २०१७ मा सलमानले पश्चिमाहरूले रूचाएका मोहम्मद बिन नयफलाई हटाएर एमबिएसलाई युवराज बनाए।
द इकोनोमिस्टको सहप्रकाशन १८४३ का अनुसार नयफलाई राजा सलमानले नभएर एमबिएस आफैंले हटाएका थिए।
नयफलाई राजाले भेट्न चाहेका भनेर बोलाइयो। तर सलमानको साटो एमबिएसका सुरक्षाकर्मीहरू उनलाई कुरेर बसेका थिए। उनको हतियार र फोनहरू खोसेर उनलाई युवराजबाट हटाइएको खबर सुनाइयो। उनलाई त्यसपछि सोच्नका लागि एकान्तमा राखियो। ७ घन्टापछि भाइ एमबिएसले चुम्बन गर्दै उनको सहमतिमा युवराजको पद लिएको भिडिओ खिचियो।
त्यसको २ साताअघि नै एमबिएसले संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टको साथ लिएर इरान र अल-कायदालगायत मुस्लिम कट्टरपन्थीसँगको सम्बन्ध देखाएर सानो छिमेकी कतारसँग कूटनीतिक सम्बन्ध तोडेका थिए। युवराज भएपछि त झन कडाइ गरेर नाकाबन्दी लगाए।
उनले २०१६ मै घोषणा गरेको 'साउदी भिजन २०३०' को लागि २०१७ को अक्टोबरमा ‘ड्याभोस इन द डेजर्ट’ भनेर सम्मेलन आयोजना गरे। त्यहाँ विदेशी लगानीकर्ता र विशिष्टहरूका माझ उनले ५०० अर्ब डलरको लागतमा नियोम शहर बनाउने घोषणा गरे। नवीन अर्थ लाग्ने ग्रिक शब्द नियोस र भविष्य जनाउने अरबी शब्द मुस्तकबाल मिलाएर उनले त्यो स्मार्ट सिटीलाई नियोम अथवा 'नवीन भविष्य' नाम दिए।
भिजन २०३०ले तेलमाथिको निर्भरता कम गर्दै तेल निर्यातमा आधारित अर्थतन्त्रलाई बिस्तारै विविधीकरण गर्ने, साउदी अरेबियालाई २०३०सम्म विश्वको टप-१५ अर्थतन्त्र बनाउनेलगायत लक्ष्य लिएको छ।
साउदीभन्दा सानो देश युएईले देशभरि पर्यटनको विकास गरेर र दुबईलाई व्यापारिक केन्द्र बनाएर प्रगति गरेको देखेका एमबिएसले मरूभूमिको बीचमा नियोम शहर बनाउने घोषणा गरेका हुन्। उनले विश्वका उत्कृष्ट प्रतिभालाई नयाँ कुरा र सोच विकास गर्न नियोममा आकर्षण गर्ने घोषणा गरे।
सपना देख्नेहरूको लागि बनाइने त्यो शहर पूर्ण रूपमा सौर्य उर्जाबाट चल्ने, मानिसभन्दा धेरै रोबोटले भरिएको हुने उनको भनाइ छ। धार्मिक अतिवाद नियन्त्रण गर्ने पनि उनले वाचा गरेका छन्।
ड्याभोस इन द डेजर्ट सम्मेलनमा एमबिएसले प्राय: विदेशमै बस्ने साउदी राजपरिवारका सबै सदस्यलाई पनि बोलाएका थिए। सम्मेलन सकिएपछि सम्मेलन भएकै होटलमा एमबिएसले उनीहरूलाई नजरबन्दमा राखे। भ्रष्टाचार गरेर आर्जन कमाएको भन्दै उनीहरूको सम्पत्ति जफत गरे।
यसरी राजपरिवारका लगभग सबै प्रतिस्पर्धीलाई तह लगाएर उनी झन् शक्तिशाली बने। आफन्तलाई कारबाही गरेर उनले आफू सानो हुँदा भोगेको बेइज्जतीको बदला लिएको पनि कतिले मान्छन्।
सारा शक्ति आफ्नो हातमा लिएको उन्मादमा उनले नोभेम्बर २०१७ मा छिमेकी लेबनानका प्रधानमन्त्री साद हरिरीलाई भ्रमणमा बोलाए र अपहरण गरे। साउदीले लामो समयदेखि आर्थिक सहायता दिए पनि शत्रु राष्ट्र इरानसँग धेरै नजिक भएको भनेर चिढिएका एमबिएसले हरिरीलाई राजीनामा दिन लगाएर टिभीमा प्रसारण गराए।
युवराजमात्रै भए पनि एमबिएसलाई अब्दुलाजिज पछिका सबैभन्दा शक्तिशाली साउदी शासक मानिन्छ। अमेरिकासँग राम्रो सम्बन्ध भएको कतारलाई नाकाबन्दी लगाउनेलगायत अनेक थोक गर्दा पनि अमेरिकाले उनलाई केही भन्न सकेन। मध्यपूर्वको आफ्नो प्रमुख मित्रराष्ट्रमा लामो समयसम्म शासक हुने एमबिएसको खासै विरोध गरेन। झन् तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ एवं मध्यपूर्वका लागि दूत ज्यारेड कुस्नरसँग एमबिएसको दोस्ती भयो।
सन् २०१८को अक्टोबरमा टर्कीमा रहेको साउदी महावाणिज्य दूतावासमा साउदी एजेन्टले साउदीबाट निष्कासित वासिङ्गटन पोस्टका स्तम्भकार जमाल खसोग्जीको हत्या गरे। उक्त घटनाले संसारभरि चर्चा पायो। एमबिएसकै निर्देशनमा उनको शासनको विरोध गर्ने खसोग्जीको हत्या गरिएको भनेर त्यसपछि भने अमेरिकाले एमबिएसको विरोध गर्यो।
देशभित्र एमबिएसले धेरै सुधारका काम गरेका छन्। उनले साउदी महिलालाई ड्राइभिङ गर्न दिए, परिवारका पुरूष सदस्य साथमा नलिइ एक्लै हिँड्न दिए। र महिलाको बुर्काबाहिर कपाल निस्केको छ कि भनेर जाँचेर डन्डा लाउने धार्मिक प्रहरीको अधिकार खोसे। साउदीमा सिनेमा र सङ्गीतमाथिको प्रतिबन्ध पनि खुलाए।
यत्रो गर्दा पनि पश्चिमा र विशेष गरी अमेरिकाका डेमोक्रयाट्सहरूले खसोग्जीको हत्याका कारण उनको विरोध जारी राखे। सन् २०२० को राष्ट्रपतीय चुनावअघि डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडेनले त साउदी अरेबियालाई ‘परिया’ मुलुक घोषणा गरे।
राष्ट्रपति भएपछि पनि बाइडेनले एमबिएसलाई महत्व दिएनन्। प्रोटोकलअनुसार राष्ट्रपतिले एमबिएसका बुवा राजा सलमानसँग भेट्ने हो भन्दै भेट दिएनन्। फोनमा पनि बोलेनन्।
रूसले २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेपछि तेलको भाउ बढ्यो। त्यसपछि भने साउदीलाई तेल उत्पादन बढाउन लगाए भाउ घट्छ भनेर बाइडेन प्रशासन उनीसँग नजिकिन खोज्यो। गत नोभेम्बरको संसदीय चुनावमा तेलको भाउ धेरै बढेका कारण डेमोक्रयाट्सले हार्ने डरले उनलाई फकाउन बाइडेन स्वयंले झुकेर २०२२ जुलाईमा साउदी अरेबियाको भ्रमण गरे। एमबिएस सँग भेटे। तर पनि एमबिएसले तेलको भाउ घटाउन उत्पादन बढाएनन्।
खसोग्जीको हत्यापछि पश्चिमासँग सम्बन्ध चिसिएकाले ‘स्पोर्टवासिङ’ गरेर आफ्नो र मुलुक दुबैको छवि सुधार्न उनले अहिले खेलमा लगानी गरेको भनिन्छ।
केहीले भने यो लगानी ‘स्पोर्टवासिङ’ नभएको दाबी गरेका छन्। द न्युयोर्क टाइम्सको खेलसम्बन्धी पत्रिका द एथ्लेटिकले विदेशी पर्यटक भित्र्याउन र जनसङ्ख्याको लगभग ७० प्रतिशत हिस्सा ओगट्ने ३० वर्षमुनिका साउदी नागरिकको मनोरञ्जनका लागि एमबिएसले खेलमा लगानी गरेको लेखेको छ। युवाहरूलाई खेलमा रमाउने बानी पर्यो भने धार्मिक कट्टरपन्थमा पनि कम ध्यान दिने एमबिएसको आंकलन हुनसक्छ।
एमबिएसले साउदी लिगमा लगानी गर्न अहिलेकै समय किन रोजे त?
छिमेकी राष्ट्र कतारमा गत वर्ष भएको विश्वकपका खेल हेर्न एमबिएस फिफा प्रमुख जियान्नी इन्फान्टोनोसँगै बसेको देखिन्थ्यो। आफूभन्दा निकै सानो छिमेकीले त्यति भव्यतापूर्वक विश्वकप आयोजना गरेको देखेर उनमा पनि सके २०३० मै नभए २०३४ मा साउदीमा विश्वकप आयोजना गर्ने आकाङ्क्षा बढेको बताइन्छ।
२०२२ को विश्वकप सकिएलगत्तै अल नसरले रोनाल्डोलाई त्यत्रो धेरै पैसा दिने गरी अनुबन्ध गर्यो। एमबिएसको भिजन २०३० सँगै मिल्ने गरी २०३० को फिफा विश्वकपका लागि इजिप्ट र ग्रिससँग मिलेर साउदी अरेबियाले दाबी गर्ने चर्चा छ। २०२२ को विश्वकप कतारले आयोजना गरेका कारण २०३०को विश्वकप एसियन राष्ट्रले दाबी गर्न नपाउने भएकाले इजिप्ट र ग्रीससँग मिलेर दाबी गर्न खोजेको हो।
२०३० को विश्वकपको आयोजक २०२४ मा छनौट हुनेछ। अहिलेसम्म अर्जेन्टिनाले १०० वर्षअघि १९३० मा पहिलो विश्वकप आयोजना गरेको उरूग्वेसँग मिलेर, पोर्चुगल र स्पेनले मिलेर, र इंगल्यान्डले गरेको दाबीलाई बलियो मानिएको छ।
अर्जेन्टिना र उरूग्वेसँगै अरू दक्षिण अमेरिकी राष्ट्र पाराग्वे र चिली पनि जोडिएका छन्।
मेसी साउदी क्लबमा नजानुको कारण ठ्याक्कै खुलेको छैन। अर्जेन्टिनाले पनि दाबी गरेको विश्वकप आयोजनाको लागि साउदीले आफ्नो नाम प्रयोग गर्न सक्ने ठानेर उनी साउदी नगएको हुनसक्ने कतिले औंल्याएका छन्।
अर्कोतर्फ, २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि तेलको भाउ बढेर साउदीलाई सोच्दै नसोचेको ‘वाइण्डफल गेन’ हात परेको छ। रूसी आक्रमणलगत्तै कच्चा तेलको मूल्य बढेर १२० डलर प्रतिब्यारलसम्म पुग्यो।
साउदी सरकारको स्वामित्वमा रहेको तेल कम्पनी अराम्कोले मार्चमा सार्वजनिक गरेको विवरणअनुसार पछिल्ला १२ महिनामा उसको नाफा ४६ प्रतिशतले बढेर १६१ अर्ब डलर पुगेको छ। यसरी ठूलो मात्रामा नसोचेको आम्दानी भएकाले पनि साउदी अरेबियाले अहिले निर्धक्क फुटबलमा पैसा खन्याइरहेको हुनसक्छ।
कतिले साउदीले अहिले फुटबलमा गरिरहेको लगानीलाई सन् २०१६-१७ ताकाको चाइनिज सुपर लिगमा भएको लगानीसँग तुलना गरेका छन्। त्यतिबेला चीनका क्लबहरूले एकदमै धेरै पैसा दिएर विदेशी खेलाडीहरू किनेका थिए। ब्राजिलको राष्ट्रिय टिमबाट खेलिरहेका २५ वर्षका अस्करलाई २०१६ डिसेम्बर २३ मा सांघाई एसआइपिजीले चेल्सीबाट ६ करोड पाउन्डमा किनेको थियो। त्योभन्दा पनि मुख्य कुरा उनलाई वर्षको २ करोड ५० लाख डलरभन्दा बढी दिनेगरी अनुबन्ध गरिएको थियो। क्लबबाट त्योभन्दा धेरै तलब त्यतिबेला मेसी, रोनाल्डो र नेइमारबाहेक कसैले पनि पाउँदैनथे।
त्यसको एक साता पनि नबित्दै डिसेम्बर २९ मा सांघाई सेन्हुवाले खेल जीवनको उत्तरार्धमा रहेका अर्जेन्टिनाका कार्लोस टेभेजलाई वर्षको ४ करोड १० लाख डलर तलब दिने गरी किन्यो। त्योसँगै उनी विश्वको सबैभन्दा धेरै तलब पाउने फुटबल खेलाडी बने।
चीनको आर्थिक र सामरिक शक्ति सुहाउँदो फुटबल शक्ति बनाउने फुटबलप्रेमी राष्ट्रपति सी चिनफिङको चाहनास्वरूप अरू पनि थुप्रै खेलाडी आकर्षक तलब पाएर चीन गए। तर अस्करबाहेक खेल जीवनको उत्कर्षमा रहेको कोही पनि राम्रा खेलाडी चीन गएनन्।
चीन सरकारले लिगका लागि केही नीतिगत सुविधा र कर छुट दिएको थियो। तर विदेशी खेलाडीले त्यसलाई टेभेजकै शब्दमा भन्ने हो भने ‘छुट्टी बिताएको’ जस्तो सोचेकाले चीनका खेलाडीको विकासमा समेत बाधा पुगेको महसुस गरेर सरकारले बिस्तारै सुविधाहरू कटौती गर्यो। हरेक क्लबले अनुबन्ध गर्नसक्ने र मैदानमा उतार्न पाउने विदेशी खेलाडीको कोटा पनि घटायो। विदेशी खेलाडी ल्याउँदा कर लगायो। त्यसले लिगलाई झन् अप्ठ्यारो पार्यो।
सन् २०१९ को अन्त्यमा चीनबाट सुरू भएको कोभिड र त्यसबाट जोगिन चीनले अपनाएको कडा सुरक्षा नीतिले चिनियाँ लिगलाई धरासायी बनायो। मैदानमा दर्शक राख्न सरकारले प्रतिबन्ध लगाएकाले क्लबहरूको आम्दानी घट्यो भने कोभिडका कारण आर्थिक सङ्कटमा रहेका प्रायोजकलाई पनि पैसा दिन अप्ठ्यारो भयो।
चीन सरकारले २०२१ को सिजनदेखि लागु हुने गरी ल्याएको क्लबको नामको डिकर्पोराइजेसनको नीतिपछि क्लबहरूले नामका पछाडि कर्पोरेट कम्पनीको नाम झुन्ड्याउन नपाउने भए। त्यसपछि नामका लागि प्रायोजन गरिरहेका कम्पनीले समेत हात झिके। सन् २०२३ को सुरूमा चाइनिज सुपर लिगसँग सम्बन्धित भ्रष्टाचारका घटनाहरू सार्वजनिक भएपछि त लिगको हालत लथालिंग छ।
अहिले साउदीले फुटबलमा गरिरहेको लगानीलाई कतिपयले महत्वकांक्षी लक्ष्य बोकेर चीनले सात वर्षअघि फुटबलमा गरेको लगानीसँग तुलना गरेका छन्। साउदी लिगको हालत पनि केही वर्षपछि अहिलेको चाइनिज सुपर लिगजस्तै हुन सक्ने उनीहरूको शंका छ।
यस्तो शंकामा सबै विश्लेषकहरू एकमत भने छैनन्। कतिपय विश्लेषकले साउदी र चीनबीच धेरै फरक देखाउँदै चीनको जस्तो हालत साउदी लिगको नहुने दाबी गरेका छन्।
चीन र साउदीबीच सबैभन्दा ठूलो फरक चीन सरकारले फुटबलमा लगानीका लागि सहजीकरण मात्रै गरेको थियो भने साउदीले सरकारी ढुकुटीबाटै पैसा दिएको छ।
चिनियाँ राष्ट्रपति सीले विदेशी खेलाडीसँग खेल्दा चीनका खेलाडी पनि राम्रा हुन्छन् भनेर नै लगानी बढाउन निर्देशन दिएका थिए। तर जसरी अनाब-सनाब पैसा दिइयो त्यसबाट सी स्वयं पनि खुसी थिएनन्। विदेशी खेलाडीले पनि गम्भीरताका साथ खेल्नुको साटो रमाइलो गर्ने र ‘तलबी विदा’ जस्तो मानेकाले चीनका खेलाडीलाई खासै फाइदा भएन। खेलाडीले नै महत्व नदिएर खेलेकाले होला दर्शक पनि धेरै आएनन्। विदेशी खेलाडी ल्याउने नाममा पुँजी पलायन भयो भन्ने ठानेर सरकारले चाइनिज सुपर लिगमा धेरै नियन्त्रण गरेको बताइन्छ।
साउदी लिगमा भने एमबिएस स्वयंको निर्देशनमा सरकारी लगानी भएको छ र उनी सत्तामा रहुन्जेल र कम्तीमा पनि सन् २०३० सम्म सरकारी लगानी कायम हुने विश्वास छ।
अर्को कुरा, सन् २००२ मा जापान र दक्षिण कोरिया आयोजकका रूपमा स्वत: छनौट भएका बेलाबाहेक चीन अहिलेसम्म विश्वकपमा कहिल्यै पनि छनौट भएको छैन तर साउदी भने पछिल्ला संस्करणहरूमा लगातारजस्तो छनौट भइरहेको छ।
कतारमा विश्वकपमा अर्जेन्टिनालाई समूह चरणमा हराएर साउदीले सनसनी मच्चाएको थियो।
साउदीका क्लबहरू पनि एसियन च्याम्पियन्स लिगमा चीनका क्लबभन्दा सफल छन्। चिनियाँको तुलनामा साउदी अरेबियनहरू बढी फुटबलप्रेमी भएकाले साउदी लिगलाई दर्शक आकर्षण गर्न समस्या नहुने विश्लेषकहरू औंल्याउँछन्।
उसो भए साउदी लिग कति सफल होला त?
कतिले साउदी लिगले असीमित पैसाका कारण युरोपियन लिगहरूलाई नै ओझेलमा पार्छ कि भने पनि साउदी सरकारको लक्ष्य साउदी लिगलाई विश्वका १० उत्कृष्ट लिगमध्ये एक बनाउने छ। द एथ्लेटिकका अनुसार रोनाल्डो आएपछि यो लिगको वरीयता चार स्थान सुधार भएर ५० मा आए पनि तत्काललाई टप ३० मा आउन नै चुनौती हुनेछ। तुलनाका लागि २२औं स्थानमा रहेको जापानको जे-लिग अहिले एसियाको सबैभन्दा बलियो लिग हो।
अर्को सिजनदेखि एसियन च्याम्पियन्स लिगले विदेशी खेलाडीको कोटा ४ बाट बढाएर ६ पुर्याएकाले साउदी लिगलाई केही सजिलो हुने भए पनि टप-३०मा आउन नै साउदीले ठूलो संख्यामा राम्रा घरेलु खेलाडी उत्पादन गर्नुपर्नेछ।
साउदी क्लबहरू एसियन च्याम्पियन्स लिगमा सफल भए पनि रियादको अल हिलाल र जेद्दाको अल इत्तिहादबाहेक अरू क्लब खासै सफल छैनन्।
विश्वभरि अहिले अब्बल फुटबल खेलाडीको पहिलो सपना युरोपियन च्याम्पियन्स लिग खेल्नु हुन्छ। साउदी लिग जति नै सफल भए पनि राम्रा खेलाडी च्याम्पियन्स लिग खेल्न नपाउने गरी साउदी अरेबिया जाने छैनन्। साउदी लिगमात्रै सफल भएर एसियन च्याम्पियन्स लिग युरोपियन च्याम्पियन्स लिगको स्तरको हुँदैन। त्यसका लागि अरू एसियन लिग पनि बलियो हुनुपर्छ। साउदी लिगले युरोपियन च्याम्पियन्स लिग खेल्ने इच्छा देखाए, र युइएफएले माने पनि युरोपियन च्याम्पियन्स लिगमा धेरै स्थान मिल्ने छैन।
त्यसैले साउदी लिग विश्वको उत्कृष्ट लिग हुने सम्भावना लगभग शून्यजस्तै छ।
सुरूमा लिगको प्रवर्द्धन गर्न र विश्वको ध्यान खिच्नलाई साउदी सरकारले अहिले चार वटा क्लबमा लगानी गरेको छ। केही वर्षपछि अरू चार क्लबमा पनि त्यसरी नै लगानी गर्ने योजना छ।
अहिले रोनाल्डो, बेन्जेमा, कान्टे लगायतलाई एकदमै धेरै पैसा दिए पनि केही वर्ष पछि अरू ४ क्लबका लागि पनि अहिलेको जस्तो सबैलाई प्रिमियर लिगले दिनेभन्दा कैयौं गुणा धेरै पैसा दिइराख्न सम्भव पनि हुने छैन। त्यसको अर्को पक्ष भनेको केही वर्षपछि यति धेरै पैसा कमाउने अवसर नहुन पनि सक्छ भनेर खेल जीवनको उचाइमा रहेका केही अरू राम्रा खेलाडी पनि साउदी लिगमा अहिले जाने सम्भावना भने रहन्छ।