ग्रामीण भेगमा एक आधारभूत स्कुल छ। विद्यालयमा थोरै विद्यार्थी, अपुग दरबन्दी, भत्केका कक्षाकोठा, चुहिने छानो, भाँच्चिएका डेस्क-बेन्च देखिन्छन्। एक दिन त्यहाँ एक नयाँ हेडसर (प्रधानाध्यापक) सरूवा लिएर आए।
स्कुलमा उनको पहिलो साता थियो। वस्तुस्थिति नियाल्दै वरिपरि हेरे। उनको अनुरोधमा शिक्षकहरू र समुदायले भित्ता टाले। भुइँ लिपे। स्याउलाले आँगन बढारे।
हेडसरले दोस्रो सातामा सबै शिक्षकहरूलाई एकादेशको राम्रो र काल्पनिक स्कुलको एउटा चित्र कोर्ने कक्षा लिए। चित्र कोरेपछि हरेकले त्यो आफ्नो काल्पनिक स्कुललाई शब्दमा लेखे।
तेस्रो साताको बैठकमा सबैका काल्पनिक स्कुलका वर्णनलाई समेटेर दुई अनुच्छेद सारांश लेखियो। त्यसैका आधारमा साझा सहमति र स-साना अल्पकालीन कार्ययोजना निर्माण गरिए। त्यही सारांशकै आधारमा दीर्घकालीन नीति तथा योजनाहरू पनि निर्माण गरियो।
तेस्रो महिना सकिँदा विद्यालय व्यवस्थापनमा उल्लेख्य सुधार देखियो। स्वच्छ वातावरण, खुसी विद्यार्थी, अपरिचालित स्रोतहरूको परिचालन र उत्साह बढेको सबैले अनुभव गर्न थाले। त्यो काल्पनिक चित्रका केही झलकहरू देखियो। विद्यार्थीमा शैक्षिक प्रगतिका संकेतहरू आए।
त्यही विद्यालय पाँच वर्षमा हजारभन्दा धेरै विद्यार्थीसहित विशाल भौतिक संरचनामा स्थापित भयो। आज त्यहाँ नियमित पढाइको अलावा विद्यार्थीले कम्प्युटर र विभिन्न व्यावसायिक शिक्षा लिन्छन्। त्यो आज देशकै उदाहरणीय उच्च माध्यमिक विद्यालय छ।
यो दृष्टान्तले एकपल्ट झक्झक्याउँछ। परिवर्तन सम्भव रहेछ।
अधिकांश निजी र सामुदायिक स्कुलमा यथास्थितिको निरन्तरता र साविकको अवस्थालाई नै अन्तिम मान्ने प्रवृत्ति छ। विद्यालयको गन्तव्य परिभाषित गर्नमा नेतृत्व तह उदासीन छ। गन्तव्यहीनताले सबथोक पुस्तौंदेखि उस्तै रहेका विद्यालयहरू सुधार कुर्दै बसेका थकित अनि बूढा देखिन्छन्।
रूपान्तरणको प्रस्थानविन्दु दूरदृष्टि निर्माणबाट सुरू हुन्छ। नेतृत्वले संस्थाको गन्तव्यलाई पहिल्यै किटान गर्छन्। यसमा विद्यालय समुदायको आवश्यकता समेटिएको हुन्छ। यो विषयगत देखिए पनि वाक्यहरू स्पष्ट हुन्छन्।
यसरी परिभाषित दूरदृष्टिसहित गन्तव्य किटान गरेर अघि बढेको स्कुललाई 'भिजन' भएको भनिन्छ। यसले गन्तव्य ताकेर योजना बनाएर अघि बढ्ने मार्ग प्रशस्त गरिदिन्छ। यो विन्दुबाट स्कुल रूपान्तरणको आधारभूत प्रक्रियाहरू सुरू हुन्छन्। भौतिक, यान्त्रिक र कार्यगत पक्षहरूमा परिवर्तन हुन्छन्। संस्था कार्यमूलक बन्छ। लक्ष्यहरू बिस्तारै साकार हुन थाल्छन् र स्कुलले कायापलटको पहिलो जमर्को गर्छ।
निश्चित समयमा परिवर्तनका विन्दुमा पुग्नुपर्ने योजनासहितको दूरदृष्टिको निर्माणपछि त्यस अवधिका उपलब्धि प्रक्षेपण गर्न सकिन्छ। कार्यसूची निर्माण, वित्तीय र प्राज्ञिक स्रोत व्यवस्थापन, समुदायको सहभागिता तथा विद्यार्थीका आवश्यकताहरू सम्बोधन गर्ने रणनीति निर्माण सहज हुन्छ।
विद्यालयले आफ्नो आवश्यकता के हो, कर्मचारी कस्ता हुनुपर्यो, कस्तो प्रविधि आवश्यक पर्छ, अभ्यासका कुन पक्षलाई प्रयोग गरेमा रूपान्तरित हुन सकिन्छ भनेर गहनताका साथ सोच्न सक्ने क्षमता आउँछ।
अर्काको अभ्यास ठीक मानेर नक्कल गरे सफल भइन्छ भन्ने धारणा सही नहुन सक्छ। नेतृत्वले त्यो आफ्नो विद्यालयमा कत्तिको सान्दर्भिक छ भन्ने कुराको खोजी गर्नुपर्छ। सन्दर्भ छाडेर अघि लाग्न खोज्दा भिजनको अपेक्षित परिणाम आउँदैन। विभिन्न 'मोडालिटी' हेरेर त्यसबाट आफ्नो नवीनता के हुन सक्छ त्यो निर्क्यौल भने गर्न सकिन्छ।
यसपछि बल्ल रूपान्तरणका प्रक्रियाहरू सुरू हुन्छन्। ती बहुआयामिक छन्। यसमा विधिशास्त्रीय रूपान्तरण, विद्यार्थी स्वायत्तता, सांस्कृतिक परिवर्तन, शिक्षक सशक्तीकरण र भौतिक रूपान्तरण प्रमुख हुन्।
विधिशास्त्रीय रूपान्तरण (पेडागोजिकल ट्रान्सफर्मेसन) ले विद्यार्थीलाई नै उनीहरूको सिकाइ र अनुभवको जिम्मेवारी दिने प्रणालीगत व्यवस्था गरेपछि स्कुलको शैक्षिक वातावरणमा प्रत्यक्ष महसुस हुने कम्पन ल्याउँछ र सबैलाई रूपान्तरणको दिशातर्फ संरेखित गराउँछ।
कुन कुरा सिकाउने हो भनेर लक्ष्य तय भइसकेपछि अनुदेशको प्रक्रिया निर्दिष्ट बाटोमा अघि बढ्न थाल्छ।
स्कुलमा सिर्जना गरिएको वातावरणले विद्यार्थीमा आफ्नो सिकाइको उत्तरदायित्व लिने स्वभाव विकास गर्छ। कडा बौद्धिक परिश्रम गर्न उनीहरू उत्प्रेरित हुन्छन्। विद्यार्थीले सिकाइ प्रवाहको रूपमा अनुभव गर्छन्।
बुझाउने, बुझ्ने गति उच्च हुन्छ। थोरै समयमा धेरै कुरा सिक्ने अथवा सिकाइको गति सुधार्ने किसिमको वातावरणबाट प्राप्त हुने उपलब्धि विद्यालय रूपान्तरणको एउटा कडी बन्न जान्छ।
विद्यार्थीले सिकाइको स्वायत्तता पाउँछन्। शिक्षकले अनुदेशमार्फत दिशानिर्देश गराइदिन्छन्। यस क्रममा विद्यार्थीले उपल्लो तहको विचारको सीप विकास गर्छन्। त्यसले उनीहरूको सिकाइमा थप प्रवाह ल्याउँछ। विद्यालय रूपान्तरणमा यो एक कोशेढुंगा बन्छ।
विद्यार्थी केन्द्रित विधिशास्त्रको प्रयोगले विद्यार्थीमा तुरून्त असल प्रभाव पार्छ। विद्यार्थीले आफ्नो जिम्मेवारी आफैंले लिन्छन्, उनीहरूको पढाइको लक्ष्य यो हो र त्यहाँसम्म पुग्नुपर्छ भन्ने कुरा स्वतः बुझ्छन्। प्रश्न के हो र यो ज्ञानको कुन भागसँग सम्बन्धित छ भन्ने कुरा अन्वेषण गरेर पत्ता लगाउँछन्। विद्यालयले सहजीकरण गरिदिए पुग्छ।
रूपान्तरणको अर्को कडी स्कुलको सांस्कृतिक संरचनामा परिवर्तन हो। यसले वैचारिक मान्यतालाई परिष्कृत गर्दै लैजान्छ। परम्परागत शिक्षण संस्कृतिमा परिवर्तन नगरी प्रगतिशीलताको नक्कल गर्दा विरोधाभाष हुन्छ। पारम्परिक संरचनामा नयाँ विधिशास्त्र मात्र मिसायौं भने परिणाम अपेक्षित हुँदैन। त्यो न पारम्परिक हुन्छ, न प्रगतिशील।
विद्यालयको सांस्कृतिक परिवर्तनमा सबै विद्यालय, समुदाय र सरोकारवाला मानसिक रूपमा राजी भई नवीन संस्कृतिमा ढल्नुपर्छ भनेर प्रक्रियागत काम थाल्नुपर्छ। यस परिवर्तनले विद्यार्थी केन्द्रित मूल्य-मान्यता तयार हुन्छ। अनि मात्रै प्रगतिशील विधिशास्त्रका रणनीतिलाई सरलसँग प्रवेश गराउन सकिन्छ।
सांस्कृतिक परिवर्तनका महत्त्वपूर्ण पक्षहरू शिक्षक विद्यार्थी बीचको सहकार्य र विद्यार्थीलाई कुन रूपमा हेरिएको छ भन्ने पनि हो। विद्यार्थीलाई सिकारूको दृष्टिकोणबाट नहेरी उनीहरू संज्ञानात्मक रूपमा सक्षम व्यक्ति हुन् भन्ने विश्वासका साथ अन्तर्क्रिया गर्दा विद्यार्थीहरूले आफूलाई उचित महत्त्व दिएको अनुभूति गर्छन्। पहिलो ठाउँ पाउँछन्।
मूल्यांकनको संस्कृति तत्पश्चात उत्कर्षतर्फ जान्छ। कसरी सिकायो भने उपलब्धि अब्बल स्तरमा पुग्छ भन्ने कुरो पत्ता लगाउन आवश्यक पर्ने तथ्यांकको लागि निर्माणात्मक मूल्यांकन सुरु हुन्छन् ।
निर्माणात्मक मूल्यांकनलाई शिक्षणसँग समानान्तर गरिन्छ। तथ्यांकका आधारमा विद्यार्थीलाई यति उपलब्धि प्राप्त हुन बाँकी छ भन्ने कुरा निर्क्यौल गरी शिक्षणका योजना बन्छन् र शिक्षण रणनीतिमा विभेद पनि ल्याइन्छ।
मूल्यांकन र शिक्षणका पक्ष एउटै सिक्काको दुई पाटाको रूपमा स्थापित हुन्छन्। मूल्यांकन र सिकाइको प्रक्रियागत विलय हुन्छ र यी एक अर्काका परिपूरक बन्छन्। योगात्मक मूल्यांकनको संस्कृति छाडेर उत्कर्षका लागि मूल्यांकन हुनु नै शैक्षिक उत्कर्षतातर्फ उन्मुख हुनु हो।
शिक्षक सशक्तीकरण अति नै महत्त्वपूर्ण पक्ष हो। यसका लागि शिक्षकलाई व्यावसायिक प्रशिक्षण अपरिहार्य छ। यसमा विशेषतः शैक्षिक नवीनताको परिचय गराउँदै विद्यार्थीलाई अगाडि बढाइन्छ। कडा बौद्धिक परिश्रम गर्न लगाइन्छ। उनीहरूको बौद्धिक, सामाजिक र भावनात्मक विकास गर्ने दिशातर्फ शिक्षक अभिमुखीकरण गराइन्छ। शिक्षकले शिक्षण प्रक्रिया र विधिको प्रयोगमा स्वतन्त्रता पाउँछन्। मैले यो काम गराएँ भने विद्यार्थीलाई उपलब्धि हासिल हुन्छ भन्ने कुराको निर्णय स्वयं शिक्षकले गर्छन्।
विद्यार्थीलाई पारस्परिकताका आधारमा सम्बन्ध कायम गर्नुपर्ने र प्रजातान्त्रिक वातावरण सिर्जना हुने भन्ने कुरा शिक्षकले बुझ्छन्। शिक्षक र विद्यार्थीबीचको शक्ति विभेद विस्तारै कमजोर हुँदै जान्छ। शिक्षक अझ सशक्त र प्रभावशाली बन्छन्। यसबाहेक शिक्षकलाई सहकार्य गर्ने वातावरण सिर्जना गरिएमा रूपान्तरणमा खुब बल पुग्छ।
शिक्षकहरूबीच कसले राम्रो पढाउने भनेर प्रतिस्पर्धा गराउने वातावरण उपयुक्त नभएको अनुसन्धानले देखाएको छ। त्यसैले एकअर्कालाई सबलीकरण र सहयोग गर्ने हो। यसले सहकार्यको संस्कृति बन्छ। अर्को विषयलाई मेरो विषयले सहयोग गर्न सक्छ र मेरोले अर्कोलाई भन्ने मान्यता जब व्यवहारमा आउँछ र आपसी प्रतिस्पर्धा कमजोर बन्छ त्यसले सहकार्यको विकास गर्दै शैक्षिक रूपान्तरणमा विशिष्ट भूमिका खेल्छ।
सुधारका जति कदम चाले पनि रूपान्तरणको प्रभाव विद्यार्थीको उपलब्धिमा आउनैपर्छ। अन्यथा रूपान्तरणको औचित्य रहँदैन। त्यसैले विद्यालयले आफ्नो दूरदृष्टि निर्माण गर्दा विद्यार्थीलाई नै केन्द्रमा राखेर उपयुक्त कार्ययोजना तयार गर्नुपर्छ।
ती कार्ययोजना तयार भइसकेपछि नेतृत्व तहले स्कुल रूपान्तरण भएको छ कि छैन भनेर तथ्यांक राख्ने प्रणालीगत आधार निर्माण गर्नुपर्छ। विद्यालय रूपान्तरण प्रक्रियामा आज हामी यहाँ छौं, यति वर्षमा यो विन्दुमा पुगिन्छ भनेर विशिष्टिकृत योजना निर्माण गरी तिनको निरन्तर कार्यान्वयन गर्नुपर्छ।
स्कुलमा सिर्जना भएको उपलब्धिको वातावरणलाई अझ राम्रो बनाउँदै, विद्यार्थीले गरेका हासिल परिणाममा देखाउन सकियो भने मात्र रूपान्तरण भएको मानिन्छ।
रूपान्तरणको प्रक्रिया एउटा निश्चित अवधि मात्र नभएर एक चक्रदेखि अर्कोमा निरन्तर चलिरहन्छ। त्यसो गरिएन भने स्कुल फेरि खस्किन सक्ने सम्भावना हुन्छ। एउटा स्तरमा आइसकेका स्कुलहरूमा रूपान्तरणको निरन्तरता रोकिँदा खस्केका उदाहरण धेरै छन्। अतः यसलाई अविरल प्रक्रियाका रूपमा बुझ्नुपर्छ।
रूपान्तरण सम्भव छ, परिवर्तन अवश्य हुन्छ!
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)