निकै वर्षअघि उसले त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. माधवप्रसाद पोखरेलकृत एउटा निबन्ध पढेको थियो, शीर्षक बिर्सियो। निबन्धमा उनले कक्षामा पढ्न आउने विद्यार्थीका प्रवृत्तिहरूको चर्चा गरेका थिए।
त्यो समय त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मानविकीतर्फका विभागहरूमा लगभग अनियन्त्रित संख्यामा विद्यार्थी भर्ना हुन्थे। भर्ना भएकामध्ये आधाजति आए भने पनि कक्षामा सयको हाराहारीमा विद्यार्थी हुन्थे।
विद्यार्थीहरू अनेक प्रवृत्तिका हुने नै भए। प्राध्यापक पोखरेलका अनुसार पढाइमा रूचि भएको र मैले पढ्नु छ भन्ने भावना भएको विद्यार्थी अगाडितिर बस्छ। धमाधम टिपोट गर्छ। शिक्षकका प्रश्नको जवाफ दिन्छ, प्रश्न गर्छ। कहिलेकाहीँ बहस पनि गर्छ।
दोस्रो थरी विद्यार्थी थोरै पछाडि बस्छ, शिक्षकलाई ध्यानपूर्वक सुन्छ, टिपोट गर्छ तर प्रश्न गर्दैन, प्रश्नको जवाफ दिन पनि अघि सर्दैन। तेस्रो थरी विद्यार्थी अलिक पछाडि बस्छ, खल्तीमा एउटा कापी च्यापेर आएको हुन्छ। कुनै बेला केही टिपोट पनि गर्छ, खासखुस गफ पनि गर्छ। शिक्षकतिर उति ध्यान हुँदैन।
चौथो थरी चाहिँ पछाडि बस्छ। शिक्षकसँग मतलब राख्दैन। हाँस्छ, गफ गर्छ। अरूलाई असर पर्छ कि भन्ने पनि वास्ता गर्दैन। चौथोलाई पनि बिर्साउने माहिर पाँचौं थरीको पनि हुनसक्छ। यो केही बेर कक्षामा बस्छ, बेपर्वाह देखिन्छ र पछाडितिरको ढोकाबाट आफूखुसी बाहिर निस्किन्छ।
यो भयो स्नातकोत्तर तहका विद्यार्थीको कुरा जसलाई म किन यहाँ उपस्थित छु, मैले किन पढ्नुपर्छ, कस्तो नतिजा प्राप्त गर्नुपर्छ, पढाइ पूरा गरिनँ वा नतिजा राम्रो आएन भने के हुन्छ भन्ने थाहा हुन्छ।
यहाँ कुरा गर्न लागेको चाहिँ विद्यालय तहका विद्यार्थीको हो। माध्यमिक तहमा पुगेका विद्यार्थीहरू केही सचेतजस्ता देखिए पनि प्रवृत्तिगत हिसाबले प्राध्यापक पोखरेलले पहिचान गरेअनुसारै मिल्दाजुल्दा देखिन्छन्। प्राध्यापक पोखरेलले लेखेका विद्यार्थीको जस्तो चेतना त हुने भएन नै।
बालबालिकाहरू काँचो माटो मानिन्छन्। काँचो माटोको भन्नुको अर्थ त्यसबाट जे चाह्यो त्यही बनाउन सकिन्छ भन्ने हो। राम्रो मूर्ति, नराम्रो मूर्ति, मट्यांग्रो इत्यादि जे बनाए पनि भयो, डल्लो पारेर फ्याँके पनि भयो, यसै सुक्न दिए पनि भयो, भिजेर झन् गिलो हुँदै बग्न दिए पनि भयो।
यस हिसाबले प्राथमिक र आधारभूत तहको विद्यार्थी काँचो माटो नै हुने भयो। यी विद्यार्थी के बन्ने भन्ने कुरा हुनुभन्दा अघि यिनलाई कस्तो बनाउने भन्ने कुरा प्रमुख हुन्छ भन्ने उसलाई लाग्छ। काँचो माटो आफैं जता पनि बांगिन, थेप्चिन सक्ने भयो। यसलाई खास आकार दिने काम घरपरिवार, समाज, विद्यालय र शिक्षा प्रणालीको हो।
यहाँ विद्यालय भन्नु शिक्षकहरूको समूह हो। शिक्षा प्रणाली भन्नु शिक्षा नीति, पाठ्यक्रम, पाठ्यपुस्तक र शैक्षिक सामग्री, भौतिक सुविधा, दक्ष शिक्षक, शिक्षण विधि र शैली, खासखास जनशक्ति उत्पादनको लक्ष्य इत्यादिको समग्रता हो।
शिक्षकलाई कक्षा शान्त चाहिन्छ। कक्षा शान्त हुनै पर्छ नत्र शिक्षण–सिकाइ प्रभावकारी हुँदैन। कक्षा जति तल्लो तहको भयो शान्ति उति नै कठिन हुन्छ। सामान्यतया शान्त हुनुको अर्थ विद्यार्थी चुप लागेर बुस्नु हो, शिक्षकतर्फ ध्यान दिनु हो।
विद्यालय तहको विद्यार्थी स्वभावैले चञ्चले हुन्छ, अस्थिर हुन्छ। कक्षा कोठामा चालीस जना विद्यार्थी छन् भने यिनलाई सम्हालेर पढाउनु–सिकाउनु चानचुने काम होइन। कहिलेकाहीँ त ससाना विद्यार्थीको मुद्दा मिलाउँदैमा आधा समय सकिन्छ।
खेल्दै सिक्दै भन्नु पनि सिक्नलाई खेल्नु हो। सिक्नलाई खेल्ने भएपछि कक्षा त शान्त हुनै पर्ने भयो। कक्षा शान्त बनाउन बालबालिकालाई डर देखाउनुपर्यो। म कुटिन सक्छु भन्ने डर हुनुपर्यो। मनमा डर भएपछि बोल्ने भएन। नबोल्नु भनेको प्रकारान्तरले शिक्षकसँग पनि नबोल्नु हो।
सिकाइको महत्व र भविष्यको आशा देखाएर विद्यार्थी शान्त गराउन शिक्षकसँग खास सिप चाहिन्छ। विद्यालयमा खास किसिमको भौतिक पूर्वाधार पनि चाहिन्छ।
शिक्षकसँग डराएर नबोलेपछि विद्यार्थी–शिक्षक संवाद कमजोर हुने भयो। विद्यार्थीले शिक्षकलाई आफ्नो मनको कुरा नभन्ने भयो। जिज्ञासा नराख्ने भयो, प्रश्न नसोध्ने भयो। यसो भएपछि एक हिसाबले शिक्षकलाई सजिलो हुने भयो।
उसको अनुभव के छ भने विद्यार्थी जति सिक्दै र कुरो बुझ्दै जान्छ मनमा उति नै जिज्ञासा अर्थात् प्रश्न उब्जिँदै जान्छ। कक्षामा कुनै खास पाठ पढाउँदै–सिकाउँदै जाँदा विद्यार्थीको मनमा उत्पन्न हुनुपर्ने प्रश्न के हो भन्ने कुरा शिक्षकलाई थाहा हुन्छ।
ऊ यस्ता प्रश्नको अपेक्षा गर्छ र भन्छ– यति कुरा सिकेपछि, जानेपछि तिम्रो मनमा कुनै प्रश्न उत्पन्न हुनुपर्ने हो, यसमा कुनै प्रश्न छ कि छैन? यहाँ के प्रश्न हुन सक्छ?
पृथ्वी घुम्छ भनेर पढाउँदा विद्यार्थीको मनमा हाम्रो घर किन घुम्दैन, हाम्रो घरको ढोका किन सधैं पूर्वको पूर्वै छ भन्ने प्रश्न उठ्न सक्छ। यहाँ अपेक्षित एउटा प्रश्न पनि यही हो।
यो प्रश्न उठ्नुको अर्थ विद्यार्थी जिज्ञासु हुनु हो, सोध्नु भनेको प्रष्ट हुन खोज्नु हो। यस्तो प्रश्न कल्पना गरेन भने विद्यार्थीले जे जान्नुपर्ने हो त्यो ठ्याक्कै जान्यो वा केही पनि मेसो पाएन भनेर शिक्षकले थाहा पाउनुपर्यो।
यी दुईमध्ये के हो? शिक्षक प्रष्ट हुनुपर्यो। शिक्षकले त्यही प्रश्न सोधेर खास कुरा थाहा पाउन सक्ने भयो।
कहिलेकाहीँ विद्यार्थीले अपेक्षित प्रश्न ठ्याक्कै भन्छ। कहिलेकाहीँ विद्यार्थीले नै सोधेको हुन्छ। मुख्य कुरा कक्षामा यस्तो गतिविधि कति हुन्छ, कति विद्यार्थी यस्तो गतिविधिमा सहभागी हुन्छन् भन्ने हो।
विद्यार्थीलाई के लाग्छ भने शिक्षकले प्रश्न सोधेपछि ठिक ढंगले जवाफ दिनुपर्छ। जवाफ ठिक भएन भने कुनै न कुनै सजाय हुनसक्छ, सजाय नभए पनि साथीका सामुन्ने लज्जित हुँला। मनमा यस्तो लागेपछि जवाफ दिन अग्रसर हुने कुरै भएन। यस्तो विद्यार्थीले प्रश्न त झन् सोध्ने नै भएन।
उसको ठहर के छ भने बहुधा विद्यार्थी जिज्ञासु नै हुन्छ, मनमा अनेक प्रश्नहरू हुन्छन्। प्रश्न पाठसँग सम्बन्धित वा असम्बन्धित जे पनि हुन सक्छ। तिनको उमेर नै जिज्ञासाको हो।
विद्यार्थीले प्रश्न सोध्न खास वातावरण अपेक्षा गरेको हुँदो रहेछ– यो प्रश्न सोधेबापत म हुस्सु, बुद्धु नठहरिऊँ, त्यति पनि नजानेको भनेर गाली नखाऊँ। यति कुरा पक्का भएपछि प्रश्न पक्का सोध्छ। उसको अनुभव यस्तै छ।
शिक्षकले सोधेको प्रश्नको उत्तर दिनमा पनि विद्यार्थीको अपेक्षा यस्तै हुँदो रहेछ।
ऊ विद्यार्थीलाई प्रश्न सोध्न प्रेरित गर्छ। कहिलेकाहीँ विद्यार्थीलाई उत्तर लेख्न होइन प्रश्न लेखेर ल्याउन गृहकार्य दिन्छ। कुनै खास पाठबाट प्रश्न लेख्न अर्थात् प्रश्न बनाउन उत्तर लेख्नजस्तै गरी पाठ पढ्नुपर्ने हुन्छ। पाठ नपढी न उत्तर फेला पर्छ, न प्रश्न।
पाठ राम्ररी नपढेको र विषयको सम्यक ज्ञान नभएको शिक्षकले राम्रो प्रश्न बनाउन सक्दैन र उत्तरपुस्तिका सम्यक ढंंगले परीक्षण गर्न पनि सक्दैन भन्ने उसको मान्यता छ। यो मान्यता उसको अनुभवको कसीमा खारिएर बनेको हो।
ऊ विद्यार्थीलाई भन्छ– जति जानेका छौ त्यति नै भन, लेख; जसरी जानेका छौ त्यसरी नै भन, लेख; तिमीले भन्न–लेख्न नजाने बापत आकाश खस्ने छैन, पहिरो जाने छैन, भुँइचालो पनि आउने छैन।
प्रश्नको हकमा पनि यही हो, तिम्रो मनमा भएको प्रश्न सोध, जे सोध्न मन लागेको छ त्यो सोध।
यसो भन्नु विद्यार्थीभित्रको संकोच वा सम्भावित सजायको डर भगाउने प्रयास हो। शिक्षकसँग निःसंकोच संवाद गरोस्, प्रश्न गरोस् भन्ने हो। शिक्षक र विद्यार्थीका बीचको संवादले सिकाइ प्रभावकारी हुन्छ भन्ने उसको निष्कर्ष छ।
माध्यमिक तहमा विद्यार्थीलाई प्रेरित गर्न सम्भव भए पनि प्राथमिक तहमा निकै कठिन हुन्छ। यी विद्यार्थीसँग अनेक जिसाज्ञा हुन्छन् तर प्रश्न हुँदैन। प्रश्न गर्न सक्ने नै हुँदैन। यिनलाई क्रमशः प्रश्नतर्फ डोहोर्याउन सकिन्छ, यिनको मनबाट संकोच मेटाउन सकिन्छ भन्ने उसलाई विश्वास छ।
उसका एक जना अग्रज शिक्षक भन्थे– कक्षामा 'पिन ड्रप साइलेन्स' गतिलो कुरा होइन। पिन ड्रप साइलेन्स अर्थात् पिन खसेको पनि सुनिने गरी शान्त, यस्तो अवस्था कि त्रासमा हुन्छ कि शोकमा। कक्षाकोठामा त संवाद हुन्छ, छलफल हुन्छ अर्थात् सिकाइका निमित्त विद्यार्थी–शिक्षक संवाद, सहपाठी संवाद र यस्तै किसिमको छलफल हुन्छ।
यसो भएपछि पिन खसेको आवाज सुनिने भएन।
यस्तैमा कहिलेकाहीँ विद्यार्थी भन्छ– सर हल्ला भयो, मिस हल्ला भयो। हल्ला गर्नेलाई गालामा हान्नू न, लठ्ठीले हान्नू न, कन्सिरी तान्नू न, घुँडा टेकाउनू न, कुखुरो बनाउनू न, बाहिर निकाल्नू न।
विद्यार्थीले सजायका यी तरिका शिक्षकबाटै सिकेको हो, घरबाट पनि अलिकति सिकेको हुन सक्छ।
फलाना सर कस्तो कडा हुनुहुन्छ, फलाना मिसले त गाला चड्काउनु हुन्छ। तपाईंलाई सबैले हेप्छन्, अलिक कडा हुनू न!
विद्यार्थीहरू कहिलेकाहीँ उसलाई यसो भन्छन्।
हल्ला नियन्त्रण गर्न तर्साउनुपर्छ। शिक्षकका लागि सबैभन्दा उत्तम विकल्प यही हो। शिक्षक तर्साउने काममा अभ्यस्त छ, विद्यार्थी तर्सिन अभ्यस्त छन्। जोसँग विद्यार्थी डराउँदैन त्यो के शिक्षक! ऊ बहुधा यस्तै धारणा व्याप्त देख्छ, शिक्षक र विद्यार्थी दुबैमा, कहिलेकाहीँ अभिभावकमा पनि।
फलाना सर वा मिसको कक्षामा त हल्ला हुन्छ भन्ने सूचना प्रधानाध्यापकसम्म पुग्छ। यस्तो सूचना उनका लागि प्रिय हुने भएन। प्रधानाध्यापकलाई कक्षा शान्त हुनुपर्छ, शिक्षकले राम्ररी पढाउनुपर्छ भन्ने थाहा छ तर कस्तो हल्ला कति हुन्छ, किन हुन्छ भन्ने थाहा छैन।
थाहा हुने पद्धति नै छैन किनभने जे पद्धति छ त्यसले प्रधानाध्यापकलाई विधिले भन्दा बढी तजबिजले चल्ने बनाएको छ।
भारतीय दार्शनिक ओशोले एउटा कथा भनेका छन्–
कुनै एउटा सहरमा धेरै वटा चर्च थिए। तीमध्ये एउटा मुख्य चर्च थियो। मुख्य चर्चका मुख्य पादरी वर्षमा एकपटक सहरका सबै चर्चको भ्रमणमा जाने चलन थियो। मुख्य पादरी चर्चमा आएका बखत स्वागतमा घण्टीहरू बजाउने चलन थियो।
एकपटक एउटा चर्चमा घण्टीको आवाज सुनिएन। भ्रमणमा आएका मुख्य पादरी छक्क परे अनि सोधे– आज यहाँ घण्टी किन बजेन?
जवाफमा सानो चर्चका पादरीले भने– यसका हजार कारण छन्।
मुख्य पादरी छक्क परे, हजार कारण! अनि सोधे– तीमध्ये एउटा कारण के हो?
'कारण के हो भने यो चर्चमा घण्टी नै छैन।'
मुख्य पादरीले भने– भो, पुग्यो, बाँकी नौ सय उनान्सय कारण भन्नु परेन।
कथा सकियो। ऊ यो आलेख यही कथाको प्रसंगबाट बिट मार्छ।
हाम्रो शिक्षण–सिकाइ प्रक्रिया कमजोर हुनका वा प्रभावकारी नहुनका अनेक कारणहरू हुन सक्छन्, हजार वा अझ बढी पनि।
कारण शिक्षा नीति हो कि, पाठ्यक्रम हो कि वा पाठ्यपुस्तक र शैक्षिक सामग्री? कमजोर भौतिक सुविधा कारण हो कि! शिक्षा प्रशासक, शिक्षक, शिक्षण विधि र शैली इत्यादि कुन चाहिँ मुख्य कारण हो? अभिभावक र विद्यार्थी हुर्केको समाज पनि कारण हो कि!
शिक्षक, अध्येता, शिक्षाविद्, शिक्षा प्रशासक, नीतिनिर्माता इत्यादि सबैले मुख्य एउटा कारण थाहा पाउनु जरूरी छ, उल्लिखित प्रश्नको सिधा जवाफ हुन जरूरी छ भन्ने उसलाई लागेको छ। त्यही कारणको खोजीमा ऊ पनि छ।
खासमा ऊ हजार कारणमध्ये शिक्षक कति हो, उसको जिम्मेवारी र उत्तरदायित्व कति हो भन्ने जान्न चाहन्छ किनभने ऊ एक शिक्षक हो।
अनि ऊ यो पनि जान्न चाहन्छ, उक्त कुरा शिक्षक आफैंले थाहा जान्नुपर्ने हो कि कोही कसैले जानकारीको बाटो देखाइदिनुपर्ने पनि हो। खासमा घण्टी बजाउने कसले हो, ककसले हो?
ऊ जवाफको खोजीमा छ।