केही वर्षअघि केही एफएम रेडियोहरूमा एउटा सन्देश अर्थात् विज्ञापन बज्थ्यो। सम्भवतः कुनै अन्तर्राष्ट्रिय संस्थाले आर्थिक सहयोग गरेको थियो। त्यो सन्देश यसरी आउँथ्यो–
एक सेवाग्राही व्यक्ति कुनै कामले कुनै एउटा कार्यालयमा पुग्छन्। उनले सम्बन्धित कर्मचारी खोज्छन्। एक महिला कर्मचारीले ती पुरूषलाई चिन्छिन्। पुरूष उनका पूर्वशिक्षक हुन्छन्, सेवानिवृत्त भएका।
सेवाग्राही आफ्नो विद्यार्थी राम्रो कार्यालयको कर्मचारी भएको देखेर खुसी हुन्छन्। ती कर्मचारीले आफू राम्ररी पढ्न र लेख्न जान्ने भएकाले राम्रो रोजगारीको अवसर पाएको बताउँछिन् र आफ्नो दक्षताका लागि शिक्षकलाई धन्यवाद दिन्छिन्।
यति भएपछि मूल सन्देश प्रसारण हुन्छ– छोराछोरीलाई सानैदेखि पढ्न सिकाऔं, शुद्ध उच्चारण गर्न र शुद्ध लेख्न सिकाऔं, घरमा हरेक दिन कम्तीमा दस मिनेट सस्वर पढ्न लगाऔं।
उक्त सन्देशमा ‘पढ्न’ भन्नुको अर्थ कुनै पाठ्यसामग्री शुद्ध र प्रस्ट पढ्न सक्नु भन्ने हो, पठन सिक्नु भन्ने हो। पढाइको महत्व बुझाउने त्यो रेडियो सन्देश प्रसारण हुँदा ऊ आफ्ना हजुरबालाई सम्झिन्थ्यो।
ऊ तीन कक्षासम्मको स्कुले हुँदा हजुरबा उसको पढाइको निगरानी गर्थे। उसलाई आटमा राखेर किताब पढ्न लगाउँथे अनि आफू गाईभैंसीलाई कुँडो पकाउँदै उसले पढेको सुन्थे। उच्चारणमा शंका लाग्यो भने यहाँ आइज भनेर बोलाउँथे र किताब हेरेर सच्याइदिन्थे।
उसले मुश्किलले उचाल्न सक्ने रामायण र महाभारत पनि भाका हालेर पढ्न लगाउँथे।
घरमा कोही पाहुना आएका छन् भने उसलाई बोलाउँथे र किताब पढ्न लगाउँथे अनि फुर्किंदै भन्थे– ल हेर, मेरो नाति कति राम्रो पढ्छ।
ऊ पनि फुर्किन्थ्यो। स्वर बढाउँदै, जिउ हल्लाउँदै पढ्थ्यो।
यसरी नै हजुरबा उसलाई लेख्न पनि लगाउँथे। उसलाई पढाउने शिक्षकहरू गृहकार्यमा प्रायः किताबको पाठ कापीमा सार्ने काम दिन्थे। यस्तो गृहकार्य दिनु सजिलो भएर हो कि खास उद्देश्य हुन्थ्यो, त्यो थाहा भएन तर त्यसरी लेख्न नदिएको दिन हुँदैनथ्यो।
यस्तो गृहकार्यलाई 'राइटिङ' भन्ने चलन थियो। स्कुलबाट फर्केपछि आजकालजस्तो घरमा पढ्ने वा गृहकार्य गर्ने चलन थिएन। घरका ठूलाका पछि लागेर कुनै न कुनै काममा जानु वा खेल्नु, उफ्रिनुमै रात पर्थ्यो।
विक्रमाब्द बीसको दशकका अन्तिमतिरका र तीसको दशकका प्रारम्भिक वर्षहरूको कुरा, बिजुलीबत्तीको त कल्पना पनि थिएन। एकदुईवटा टुकीका भरमा चल्थ्यो, घरका केटाकेटीहरू खायो, सुत्यो।
हजुरबा उसलाई बिहान झिसमिसेमै उठाउँथे, मुख धुन लगाउँथे र लेखपढ गर्न बसाउँथे। आज तेरो राइटिङ के छ भन्थे र लेख्न लगाउँथे। लेखिसकेपछि त्यो हेर्थे र पढ्न लगाउँथे। अक्षर चित्त बुझेन, अक्षर र शब्द प्रस्ट भएन भने फेरि लेख्न लगाउँथे। त्यसपछि जिउ हल्लाउँदै ठूलो स्वरमा पढ्ने काम सुरू हुन्थ्यो।
उसका हजुरबा पढालेखा थिएनन्। आफ्नै मिहिनेतले केही पढ्न सिकेका थिए। टुकीको गाजल र तीतेपातीबाट बनाएको मसीमा बाँसका झिक्राको कलमले बाँसकै खपटामा लेख्न सिकेका थिए।
हजुरबा पुरेत थिए, संस्कृत भाषामा लेखिएका कर्मकाण्डका केही पुस्तक पढ्थे। नेपाली भाषाका रामायण र महाभारत पाठ गर्थे।
आजकालका धेरै आमाबाबु र हजुरबाआमा पढालेखा छन्। धेरै पढेका छैनन् भने पनि साक्षर छन्, पढ्न जान्ने छन्। तिनका छोराछोरी र नातिनातिना चाहिँ पठनमा कमजोर बन्दै गएको उसको अनुभूति छ।
आजकाल रेडियो र टेलिभिजनमा नेपाली भाषामा बोल्ने र समाचार पढ्ने धेरै युवाहरूको उच्चारण टिठलाग्दो छ। दुनियाँलाई समाचार सुनाउँछ तर ‘ऐन’ लाई ‘एन’ उच्चारण गर्छ। ‘उद्योग’ भन्न जान्दैन, ‘उधोग’ वा ‘उध्योग’ भन्छ किनभने ‘द्य’ अक्षर चिनेकै छैन।
‘कृ’ भन्नुपर्नेमा ‘किर्’ सुनिन्छ। ‘प्राकृतिक’ लाई ‘प्रकृतिक’ पढेको पनि सुनिन्छ। ‘प्र’ सुनिनुपर्नेमा ‘पर्’ सुनिन्छ।
संयुक्त अक्षरको बनोट र उच्चारणको ज्ञान नभएका यस्ता उदाहरण धेरै छन्। यसो भएपछि ‘ऋ’ र ‘रि’ को फरक थाहा हुने कुरै भएन, ‘कृ’ र ‘द्य’ चिन्ने कुरै भएन।
नेपालका विद्यालयहरूमा मुख्य रूपमा नेपाली र अंग्रेजी गरेर दुईवटा भाषा चल्छन्। अंग्रजीमा ए देखि जेड सम्म पढ्न र लेख्न जानेपछि विद्यार्थीले ‘ए पी पी एल ई एप्पल’ जान्दछ। अंग्रेजी अक्षरमा जान्नुपर्ने ठूलो र सानो अक्षर अर्थात् ‘क्यापिटल र स्मल लेटर’ हो, अक्षर उही हो।
नेपाली भाषामा स्वर वर्णका ‘अ आ... अः’ कम्तीमा १३ अक्षर र ‘क ख... ज्ञ’ ३६ वटा अक्षर जानेर मात्र पुग्दैन। त्यसपछि बाह्रखरी, संयुक्त अक्षर, आधा अक्षर, हलन्त, चन्द्रबिन्दु, शिरबिन्दु जानेपछि मात्रै विद्यार्थी ‘स्याउ’ लेख्न जान्ने हुन्छ, ‘जाँदिन’ र ‘जाँदिनँ’ को भेद थाहा पाउन सक्ने हुन्छ। ‘अंश’ र ‘अंक’ शुद्ध पढ्न सक्ने हुन्छ। ‘हुन’ र ‘हुन्’ को भेद थाहा पाउँछ।
यसो विचार गरौं त, श्यामकृष्ण र स्वस्तिका नाम भएका छात्रछात्रा आफ्नो नाम लेख्न जान्ने हुँदासम्ममा अंग्रेजीका छात्रछात्राले कतिवटा नाम लेख्न जानेका हुँदा हुन्!
अथवा तिनै छात्रछात्राले आफ्नो नाम अंग्रेजी र नेपालीमध्ये कुनमा पहिले लेख्न सिक्दा हुन्!
इकार, ईकार, उकार, ऊकार, ओकार, औकार लगायतका बर्तनीको कुरा अलग्गै छ। ‘ब’ र ‘व’ अनि ‘श ष स’ को लेख्य प्रयोग र उच्चारणमा त बहस नै चल्दै आएको छ। शिरबिन्दुको प्रयोगमा पनि सिद्धान्त र सुविधाबीच बहस छँदैछ।
केही वर्षअघि एक दिन नेपाली शब्दकोशमा कुनै शब्द खोज्ने क्रममा उसले एक शिक्षक साथीलाई सोध्यो– ‘क ख...’ को अन्तिम अक्षर ज्ञ हो तर शब्दकोश किन ह अक्षरमा टुंगिन्छ?
जवाफ आएन। अरू केही शिक्षकलाई पनि थाहा भएन।
उसले 'थाहा हुनुपर्ने हो, नहुनु राम्रो भएन, शिक्षक हुनुका नाताले विषादको कुरा हो' भन्यो।
नेपाली शब्दकोश किन ह अक्षरमा टुंगिन्छ भन्ने थाहा नभएको व्यक्तिले शब्दकोशमा क्षेत्र, ज्ञान, त्रिशूलजस्ता शब्द फेला पार्ने कुरै भएन।
यसो भनेर सबै शिक्षकलाई एउटै घानमा हालेको होइन तर नेपालका विद्यालयमा एक जना शिक्षक पनि शब्दकोशसम्बन्धी उक्त प्रश्नको जवाफ थाहा नहुने हुनु हुँदैन भन्ने उसको मान्यता हो।
उसका एक शिक्षक साथीले एक दिन कुरैकुरामा भने– हाम्रा शिक्षकहरूको मानसिकता अनौठो छ, एकपटक स्थायी भएपछि जीवनको लक्ष्य पूरा भयो, जीवनभरका लागि पढाइ सकियो। पढ्ने भनेको बढीमा आफूले पढाउने पाठ्यपुस्तक हो।
उसले केही शिक्षकको नाम लियो र तिनीहरूको प्राज्ञिकताको चर्चा गर्यो। विद्यालय शिक्षक भएर पनि विद्यावारिधि गरेका दृष्टान्त दियो। शिक्षकले लेखेका अनुसन्धानात्मक र साहित्यिक पुस्तकको नाम लियो। विद्यालय तहकै शिक्षकले पाठ्यपुस्तक लेखेको कुरा पनि गर्यो।
ती साथीले उसको कुरा माने तर अपवाद वा नगन्य मात्रै हो भन्ने जिकिर गरे।
मानौं, देशभरका सामुदायिक भनिने सरकारी र संस्थागत भनिने निजी विद्यालयमा दुई लाख शिक्षक छन् भने तिमीले भनेजस्ता कति छन् र मैले भनेजस्ता कति छन् भनेर प्रश्न गरे।
प्रश्न साँच्चै गम्भीर थियो।
तथ्य र यथार्थ के हो भने कोही पनि व्यक्ति आफ्नो विषयको सबै कुरा जानेर शिक्षक भएको हुँदैन। शिक्षक भएपछि सबै कुरा जानेको हुनुपर्छ भन्नु त झन् मुर्ख्याइँ नै हो। शिक्षक पनि प्रकारान्तरले विद्यार्थी नै हो, निरन्तर सिकाइको प्रक्रियामा हुन्छ।
यो तथ्य स्वीकार गर्नु र निरन्तर सिकाइबाट अघि बढ्नु शिक्षक हुनुको मुख्य गुण हो। यो गुण नभएको शिक्षक असल शिक्षक हुन सक्दैन। यो उसको दृढ मान्यता हो।
बितेको सात दशकमा नेपालको विद्यालय शिक्षामा पाठ्यक्रम र शिक्षण–सिकाइ प्रक्रियामा धेरै परिमार्जन भएको छ। शिक्षण–सिकाइका व्यावहारिक पक्षहरूमा व्यापक सुधार भएको छ। विद्यार्थीलाई ‘दिने’ पद्धतिबाट ‘खोज्न लगाउने’ पद्धतिमा फड्को मारेको छ। ‘घोकन्ती विद्या’ पुरानो भएर ‘सिर्जनशील सिकाइ’ मा विकसित भएको छ। मूल्यांकन पद्धतिमा व्यापक परिमार्जन र सुधार भएको छ। प्रश्नको उत्तरमा सिर्जना खोज्ने पद्धति परिष्कृत त व्यावहारिक मानिएको छ।
यसमा पाठ्यक्रम र शिक्षण–सिकाइका अध्येता र नीति निर्माताहरूको योगदान छ।
यो योगदानलाई व्यवहारमा रूपान्तरण गर्ने र परिणाम दिने काम शिक्षकको हो। यति गहन जिम्मेवारी लिएको शिक्षक समयानुकूल अध्ययनशील हुनै पर्छ।
यो किन पनि अत्यावश्यक भएको छ भने आजको विद्यार्थीले गुरूकुल प्रणालीबाट कयौं कोश टाढाको दुरी तय गरिसकेको छ। किताबबाट शिक्षकले सिकाउने कुरामा पछाडि भए पनि विद्यार्थीको सिकाइको दायरा धेरै फराकिलो भएको छ।
विद्यार्थीको यो क्षमता पहिचान गरेर अघि लैजाने काम शिक्षकको हो।
उसले केही दिनअघि एक दैनिक पत्रिकामा ‘पढाउनेले पढौं’ शीर्षकको एक लेख पढेको थियो। त्यो लेख शिक्षकले पढ्नुपर्छ र राम्ररी पढाउन वा सिकाउन पढ्न आवश्यक छ भनेर शिक्षकलाई अध्ययनशील हुन प्रेरक थियो।
उसका साथी भन्छन्– सहरका केही र स्वभावैले पढ्ने खालका केहीबाहेक विद्यालय शिक्षकहरू पढ्दैनन्। यस्ता शिक्षकको ज्ञानको दायरा तिनहरूले स्कुल–कलेजमा पढेको र जानेको सम्म मात्रै हो।
साँच्चै यस्तो अवस्थामा त शिक्षण सिकाइ कर्मकाण्डमा सीमित रहन्छ। विद्यार्थी तिनै शिक्षक बराबर वा अझ कम हुन्छ, अघि जान सक्दैन। जान्छ भने आफ्नै लगनले जान्छ, शिक्षकको योगदान हुँदैन।
ऊ आफ्ना विद्यार्थीहरूलाई भन्छ– नपढेको कुरा लेख्न जानिँदैन। शुद्ध पढ्न जानेको छैन भने शुद्ध लेख्न जानिँदैन। यस्तो अवस्थामा श्रुतिलेखन हुने कुरै भएन। शुद्ध लेख्न पठन शुद्ध हुनै पर्छ।
पठन शुद्ध हुन विद्यार्थीले सबै अक्षर राम्ररी चिनेको र शुद्ध उच्चारण गर्न जानेको हुनुपर्छ। यसमा शिक्षकको भूमिका प्राथमिक र प्रमुख हुनुपर्छ। विद्यार्थीको घरमा यसअनुसार सिकाउने अग्रज नहुन सक्छ। विद्यार्थीको सिकाइको अधिक भाग स्कुलमै हुन्छ।
विद्यालयमा पठनसिप र भाषाको कुरा आउँदा भाषा विषयको शिक्षक बढी जिम्मेवार र उत्तरदायी ठानिन्छ। अरू शिक्षक यसमा उदासीन रहन्छन्। भाषा विषयबाहेक अन्यमा भाषाको सिप आवश्यक ठानिँदैन।
उसको विचारमा मुख्य गल्ती नै यहीँनेर भएको छ। प्रत्येक शिक्षकले पठन सिकाउने हो भने विद्यार्थीको पठन क्षमता अभिवृद्धि हुन्छ। जिभ्रो राम्ररी फड्कारिन्छ। पठनमा र कथनमा शुद्धीकरण बढ्दै जान्छ।
आफ्नो सिप तिखार्ने मुख्य जिम्मेवारी शिक्षकको आफ्नै हो। अर्को मुख्य जिम्मेवारी राज्यको हो। राज्यले तालिमको प्रबन्ध गरेको छ, शिक्षण सिप सिकाउने कार्यक्रम निरन्तर चलाएको छ तर व्यवहारमा कति रूपान्तरण भयो भन्ने अनुगमन छैन।
आफ्नो पेसा र जिम्मेवारीअनुसार र समयानुकूल दक्षता हासिल गर्ने पहिलो जिम्मेवारी शिक्षककै हो। निजी प्रयास पर्याप्त नहुने अवस्थामा राज्यको जिम्मेवारी हुनुपर्छ।
उसलाई के लाग्छ भने नेपाली समाजमा ‘म एउटाले गरेर के हुन्छ र’ वा ‘म एउटाले नगरेर के हुन्छ र’ भन्ने मानसिकता व्याप्त छ। यसै कारणले विकृति र विसंगति बढ्दो छ। शिक्षामा होओस् कि स्वास्थ्यमा, न्यायमा होओस् कि कर्मचारीतन्त्रमा वा राजनीतिमा, व्यापारमा न खेतीमा।
प्रत्येक ‘म’ व्यक्तिले ‘म गर्छु’ वा ‘म गर्दिनँ’ भनेर प्रतिबद्धता गर्नु र त्यसैअनुसार काम गर्ने हो भने हाम्रो नेपाल कस्तो हुने थियो होला!
शिक्षक साथी! शिक्षक ‘म’ आफ्नो सेवा अवधिमा हिजोभन्दा आज, आजभन्दा भोलि र भोलिभन्दा पर्सि झन् झन् दक्ष हुने बाटोमा छु?
हामी सबै एक छिन शान्त भएर सोचौं र उक्त प्रश्नको उत्तर खोजौं त!