पछिल्लो घटनाबाट कुरा सुरू गरूँ।
एक, यसै सप्ताहन्ततिर चितवनमा दन्तचिकित्सा शिक्षाकी एक छात्राले आफ्नो जीवन त्यागिन्। त्यस दिन उनी स्नातक चौथो वर्षको परीक्षा लेख्दै थिइन्। कुनै कारणले परीक्षा निरीक्षकले उनलाई परीक्षा कोठाबाट निकाला गरेका थिए। साँझ छात्राले आफ्नो कोठामा आफैंलाई पासो लगाइन्।
थोरै पछाडि फर्कूँ।
निजी स्कुलहरूमा डिआई अर्थात डिसिप्लिन इन्चार्ज नामको एक अमानुषिक प्रवृत्ति हुन्छ। अनुशासनमा राख्ने बहानामा तिनले विद्यार्थीलाई शारीरिक र मानसिक यातना दिन्छन् भन्ने आरोप व्याप्त छ। आरोप पुष्टि हुने खालका घटनाहरू पनि भएका छन्।
केही वर्षअघि काठमाडौंकै एक विद्यालयका एक छात्रले आफ्नो इहलीला समाप्त पारे। आफूले चुरोट पिएको कुरा डिआईले अभिभावकलाई सुनाएको भन्ने थाहा पाएपछि अभिभावकसँग नभेटी ती छात्रले यस्तो विपरीत निर्णय लिएको भन्ने विवरण सार्वजनिक भयो।
भारतमा पनि विद्यार्थीहरूले आफ्नो इहलीला समाप्त पार्ने घटनाहरू हुने गरेका छन्। एक वर्षअघिको कुरा, अनलाइन कक्षामा सहभागी हुन नपाएपछि एक छात्राले जीवन त्यागेको खबर आएको थियो। उनीसँग स्मार्टफोन थिएन।
गत माघमा आएको एक समाचारअनुसार एक वर्षमा बंगलादेशमा ५३२ जना विद्यार्थीले आफैं जीवन त्यागे।
उपर्युक्त केही घटनाहरू दृष्टान्तका लागि पेस गरिएका हुन्।
स्कुल शिक्षकका रूपमा उसका केही स्मरणीय घटनाहरू छन् जो निकै ससानाजस्ता लाग्छन् तर उसको मस्तिष्कमा गहिरो छाप पारेका छन्।
एक दिन ऊ कक्षामा पाठका केही प्रसंगहरू विस्तार गर्दै थियो। यसै क्रममा आमाको कुरा आयो। उसले आमा, आमा हुनुको महत्त्व र मातृस्नेहका बारेमा व्याख्या गर्यो। छात्रछात्रा शान्त भए।
व्याख्या सकिँदै गर्दा कक्षा कोठाको बीचतिर बसेकी एक छात्रा रूँदै गरेको देख्यो। किन रोएकी? प्रश्न स्वाभाविक हुने भयो। छात्रा बोलिन।
सँगै रहेकी साथीले भनी– सर! आमाको कुरा गरेपछि यो दुःखी भई।
सोधीखोजी गर्दा त्यो छात्राकी आमा बितेको दुई-तीन वर्ष भएको थाहा भयो।
उसले छात्रालाई सम्झाई–बुझाई गर्यो। मलाई थाहा भएन, तिमीलाई चोट पुगेकोमा दुःखी छु, क्षमा चाहन्छु भन्यो।
एक छात्र केही दिनदेखि अनुपस्थित थियो। करिब चालीस जनाको कक्षामा त्यो छात्र किन लगातार अनुपस्थित भयो भन्ने उसले वास्ता गरेन। कति दिन अनुपस्थित भएको थियो, त्यो पनि ख्याल गरेन। छात्र धेरै दिनदेखि अनुपस्थित छ भन्ने मात्रै सोच्यो।
ऊ त शिक्षक न हो, अलिक चर्को स्वरमा बोल्यो– यतिका दिन कहाँ गएको? किन स्कुल नआएको?
छात्र मौन रह्यो। अनुहार मलीन देखियो। छेउको साथीले बाबा बितेको हुनाले नआएको कुरा जानकारी गरायो। छात्र अनुपस्थित भएको एक महिना हुनै लागेको रहेछ।
एक दिन एक छात्राले सर, एक छिन यता आउनू न भनेर उसलाई बोलाई।
किन? उसले सोध्यो।
'एउटा कुरा भन्न मन लागेको छ।'
'यहीँ भन न।'
'होइन के, एक्लै भन्छु।'
उसले छात्रालाई प्रधानाध्यापकको खाली कार्यकक्षमा लग्यो।
'ल भन, तिम्रो कुरा के हो।'
'सर! मलाई मर्न मन लागेको छ, बाँच्न मन छैन।'
'किन र! बाँच्न मन नलाग्ने पनि हुन्छ र!'
'मलाई त बाँच्नै मन छैन।'
'धत्! त्यस्तो कुरा सोच्नुहुन्छ? ल भन किन मर्न लाग्छ?'
'सर! मेरा आमाबाबा हुनुहुन्न। म अरूसँग बस्छु। मेरो पढाइ पनि राम्रो छैन। घरमा सधैं गाली गर्छन्।'
'के भनेर गाली गर्छन्?'
'राम्रो पढ्दिनस्, के गरी खान्छेस् भन्छन्।'
छात्रा पढाइमा निकै कमजोर थिई। सधैंजसो मलिन अनुहारमा देखिन्थी। उसले आफ्नो विवेकले भ्याएसम्म सम्झाई–बुझाई गर्यो। नपढेका व्यक्तिले पनि मजाले गरिखाएका छन् भनेर केही उदाहरण दियो।
त्यो छात्रा स्कुल आइरही। उसले बेलामौकामा खबर सोध्ने गर्यो।
केही महिनापछि उसले अलिक लामो कुरा गर्यो।
भनी– सर! तपाईंले सम्झाएपछि मेरो मन बदलियो।
त्यो छात्राले बीचमै स्कुल छाडी। त्यसपछि उसले भेटेको छैन तर सम्झिरहन्छ।
शिक्षकलाई त विद्यार्थी पढाउनु छ। विद्यार्थी अनुशासित हुनुपर्छ, कक्षामा हल्ला हुनु हुँदैन। शिक्षकले भनेअनुसार विद्यार्थीले पढेको र सिकेको हुनुपर्छ। गृहकार्य गरेको हुनुपर्छ। पाठबाट सोधेको प्रश्नको ठिक जवाफ दिएको हुनुपर्छ। परीक्षामा राम्रो अंक ल्याएको हुनुपर्छ।
कुरा ठिकै हो। शिक्षकले ध्यान दिनुपर्ने कुरा यही हो।
शुल्क लिने स्कुलले त्यो पनि उठाउनै पर्छ। परीक्षा त बक्यौता उठाउने अचुक मौका नै मानिन्छ। त्यसैको साधन हो प्रवेशपत्र। यसो गर्नुलाई पनि कसरी अन्याय नै हो भनिहाल्नु र!
यससँगै शिक्षकले आफूलाई केही प्रश्न गर्नुपर्छ र जवाफ खोज्नुपर्छ भन्ने यसको आनुभवात्मक निष्कर्ष छ। कुनै छात्र–छात्राले किन पढाइमा ध्यान दिएको छैन? अनिच्छुक भएर हो? अनिच्छुक नै हो भने पनि किन? पारिवारिक वातावरण कस्तो छ? कतै कुनै मानसिक पीडामा पो छ कि? वा कुनै असामाजिक, गलत बाटोमा पो छ कि?
अनि स्कुल प्रशासनले प्रवेशपत्र रोक्नुअघि केके कुरा कतिपटक सोच्नुपर्ला त!
निश्चय नै शिक्षक विद्यार्थीका सबै समस्याको समाधान होइन। उत्प्रेरणा र शिक्षण–सिकाइमा अभिभावकको भूमिका शिक्षकको भन्दा बढी हुन्छ भन्ने उसको मान्यता छ। उपयुक्त वातावरण भएन भने विद्यार्थीले सिक्न सक्दैन वा सिक्नुपर्ने जति सिक्दैन।
सबै विद्यार्थीले बराबरी सिक्न सक्दैनन्। सबैको क्षमता बराबर हुँदैन। यसै कारणले त मूल्यांकनमा न्यूनतम प्राप्तांक वा न्यूनतम ग्रेड तोकिएको हुन्छ। हाल नेपाल सरकारले विद्यालय शिक्षामा न्यूनतम पैंतीस प्रतिशत अंक तोकेको छ।
शिक्षकले मेरा सबै विद्यार्थी उत्तम गुणस्तरका होऊन्, सके अत्युत्तम नै होऊन् भन्ने सोच्नु र यस्तै परिणामका लागि प्रयत्न गर्नु सराहनीय कुरा हो। प्रिन्सिपल वा प्रधानाध्यापकले पनि यस्तै सोच्ने नै भए। डिआईले सबै विद्यार्थी अनुशासित होऊन् र पढाइमा राम्रो गरून् भन्ने सोच्दा हुन्।
यस्तो सोच्नु र सोहीअनुसार प्रयत्न गर्नुलाई अन्यथा मान्ने कुरै भएन।
यति राम्रो सोचेर तदनुकूल परिणामका लागि प्रयत्न गर्दा नियतमा खोट खोजिहाल्नु पनि उचित हुँदैन।
यति हुँदाहुँदै पनि बाल र किशोर वयका विद्यार्थीहरूको संवेग पहिल्याउन सक्नुपर्छ। यसमा चुकेकै कारणले दुःखद् परिणाम देखापर्ने गरेको हो।
शिक्षक वा स्कुल प्रशासनले अनुशासनका नाममा, पढाइ सुधार्ने धुनमा एकोहोरिएर हतारमा वा आवेगमा कदम चाल्दा निकै हानिकारक परिणामहरू देखापर्ने गरेका छन्।
स्कुल शिक्षामा विद्यार्थीअनुकूल व्यवहार र शिक्षण–सिकाइ क्रियाकलापबारे अनेक सिद्धान्त र प्रयोगहरू छन्। नेपालको परिप्रेक्ष्यमा सिद्धान्त सिद्धान्तमै सीमित छ र प्रयोग प्रयोगबाट सिद्ध गर्ने अभ्यासको अभाव छ।
आजको युगले बालबालिका र किशोरकिशोरीको चेतनास्तरमा अनपेक्षित बढोत्तरी गरेको छ। आजको शिक्षक पाठ्यक्रम र पाठ्यपुस्तकमा मात्रै विद्यार्थीभन्दा अगाडि छ, बाँकी सबैमा विद्यार्थी अगाडि छ।
ओशोले भनेका छन्– शिक्षक विद्यार्थीभन्दा एक घण्टामात्रै अगाडि छ। शिक्षक एक घण्टाअघि तयारी गर्छ, फरक यति नै हो।
भनिन्छ– परीक्षाको विद्यार्थी शिक्षकभन्दा उम्दा हुन्छ किनभने शिक्षकले एक–दुई पाठको तयारी गरेको हुन्छ, परीक्षार्थीले सिंगो पाठ्यक्रम र पाठको।
विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार एक वर्षमा विश्वभरमा कम्तीमा सात लाख ३० हजार मानिसले आफ्नो इहलीला आफैं समाप्त पार्छन्। यसमध्ये झन्डै ८० प्रतिशत मानिस न्यून तथा मध्यम आय भएका मुलुकका हुन्छन्।
नेपाल यस्तै मुलुकहरूमध्ये एक हो।
उमेरका आधारमा १५ देखि २९ वर्ष उमेर समूहका किशोर–युवा उच्च जोखिममा छन्।
संसारमा वर्षभरिमा हुने कुल मृत्युका अनेक करणहरूमध्ये पन्ध्रौं कारण आफ्नो जीवन आफैं समाप्त गर्नु वा आत्महत्या हो। यसमा पनि १५ देखि २९ वर्ष उमेर समूहका मानिसको मृत्युका अनेक कारणहरूमध्ये आत्महत्या चौथो कारण हो।
नेपाल प्रहरीका अनुसार नेपालमा वर्षभरिमा छ हजारभन्दा बढी मानिसले आफ्नो इहलीला आफैं समाप्त पार्छन्। पछिल्ला तीन वर्षमा २० हजार २२३ जनाले यसो गरे। यो संख्या वर्षमा छ हजार ७४१ र दैनिक कम्तीमा १८ जना अर्थात दुई दिनमा ३७ जना हो।
यस्तो घटना नभएको परिवारका लागि पीडाको अनुभूति हुने कुरै भएन। राज्यले त संख्या हिसाब गर्छ, प्रतिशत हेर्छ।
नेपालको करिब तीन करोड जनसंख्यामा आत्महत्याबाट हुने मृत्यु ०.०२२ मात्रै हो। जुन परिवारमा घटना भयो त्यहाँ त शतप्रतिशत नै भयो नि! अनि समाजमा हुने असरको हिसाब राख्ने को होला!
मृत्युको यस्तो घटनाबाट परिवारजनमा पर्ने मासिक पीडा, तनाव र दीर्घकालीन असरको हिसाब कसले राख्ने!
मृत्युको यो कारण नेपालमा हुने कुल मृत्युका अनेक कारणमध्ये कतिऔं होला! वर्षभरिमा कति स्कुले छात्रछात्राले आफ्नो इहलीला आफैं समाप्त गर्दा हुन्!
शिक्षा प्रशासन, प्रिन्सिपल–प्रधानाध्यापक, डिआई र प्रिय शिक्षक साथी!
नेपालमा आफ्नो इहलीला आफैं समाप्त पार्ने छात्रछात्राको संख्यामध्ये कति प्रतिशतमा हामी कारण बनेका हौंला!
एकपटक यसरी सोचौं त– किन मृत्यु रोजेको होला मेरो विद्यार्थीले?