कुरा स्कुल शिक्षणको।
विक्रमाब्द पचासअघि, ऊ निकै ठूलो र नाम चलेको निजी सरहको एउटा स्कुलमा पढाउँथ्यो। स्कुलको आफ्नै समाज र भूगोल थियो। धेरै जसो विद्यार्थी धनीमानी र सरकारी निकायका उच्च पदस्थहरूका छोराछोरी थिए।
ऊ स्कुल परिसरकै निःशुल्क आवासमा बस्थ्यो। एउटै भवनको अर्को कोठामा बस्ने एक शिक्षक साथीले एक दिन कक्षामा आफूसँग भएको एउटा घटना सुनाए।
एक विद्यार्थीले केही बिराम गरेको थियो। शिक्षकले एक थप्पड हाने। विद्यार्थीको चस्मा खस्यो।
पालो आयो विद्यार्थीको। चस्मा टिप्छस् कि हान्दिऊँ भनेर थर्कायो। तेरो जागिर आजै खोसिदिन्छु भनेर झन् बढी थर्कायो।
शिक्षकले चस्मा टिपेर हातमा दिए।
घटना प्रिन्सिपललाई पनि थाहा भयो तर शिक्षकले मेरै गल्ती हो भनेर विद्यार्थी जोगाए।
धन्य! जागिर खोसिएन।
विक्रमाब्द पचासअगाडिकै कुरा हो। ऊ काठमाडौंको अलिक ग्रामीण भेगको एउटा सामुदायिक विद्यालयमा शिक्षक थियो।
खोइ के बिराममा हो दस कक्षाको एउटा विद्यार्थीलाई प्रधानाध्यापकले सामान्य गाली गरेका थिए होला। प्रधानाध्यापक अत्यन्तै नरम मिजासका थिए। बोलीवचनमा मिठास थियो। छुद्र गाली जान्दैनथे। विद्यार्थी कुट्न हात उठ्दैन थियो।
ठ्याक्कै चार बजेको थियो। त्यस दिन कुनै गडबडी हुन लागेको संकेत पनि मिलेको थियो। छुट्टीको घण्टी लाग्यो। धेरै जसो शिक्षक प्रधानाध्यापकका साथ कार्यालयमा थिए।
त्यो विद्यार्थी हातमा एउटा खुकुरी लिएर सबैलाई काट्छु भन्दै भित्र पस्यो। आतेस भइगयो। भुइँतलाको कोठा थियो। ऊ झ्यालबाट भाग्न खोज्यो तर ताल मिलेन, होसहवास उडेको शरीर त्यहीँ एउटा कुर्सीमा थेचार्यो।
आफ्नो कुर्सीमा बसीबसी प्रधानाध्यापकले नरम स्वरमा भने– ल, पहिले मलाई काट् अनि अरूलाई काट्लास्, मलाई नकाटी अरूलाई छुन पाउँदैनस्।
केटो अलिक हच्कियो।
फेरि भने– हामीलाई काट्नै आएको होस् त बाबु? ल, काट्।
यसो भनेपछि केटो फुत्त निस्केर हिँड्यो।
प्रधानाध्यापक आवेशमा आएका भए! आएनन् किनभने उनी प्रेम जान्दथे। त्यसपछि पनि छात्र स्कुल आयो तर प्रधानाध्यापकले सजायको उपाय गरेनन्। त्यो छात्र पनि शान्त रह्यो।
झन्डै पन्ध्र वर्षपछि, विक्रमाब्द साठीको दशकको कुरा।
दोस्रो–तेस्रो घण्टी हुँदो हो, एक छात्राको खोइ के बिराममा ऊ एक दिन कक्षा कोठामा आवेशमा आयो। एकाएक एक थप्पड हान्यो।
छात्रा रून थाली। एक छिन उसले बेवास्ता गर्यो।
मन किन मान्थ्यो र! छात्रालाई फुल्याउने प्रयास गर्यो। खासमा उसले साह्रो हिर्काएको होइन, गालो दुखेर रोएकी पनि होइन। मन नराम्ररी दुख्यो।
उसले दिनभर त्यो छात्रामा ध्यान दिइरह्यो। उदास देखिरह्यो।
उसले घर जाने बेलामा भेटेर माफी माग्यो। छात्राले माफी दिए नदिएको केही संकेत गरिन। कुरा सुनी तर मौन रही।
भोलिपल्ट स्कुल पुग्दासम्म उसको औडाहाले आकाश छोएको थियो। आज के व्यहोर्नुपर्ने हो भन्ने भयको आगो बलेको थियो।
पुग्नासाथ उसले त्यो छात्रालाई खोज्यो। हँसिली र साथीहरूसँग खेलिरहेकी देख्यो। भयको आगो केही मत्थर भयो। कक्षा सुरू हुनुअघि नै छात्रालाई भेट्यो। खबर सोध्यो अनि मलाई माफ दियौ कि दिएनौ भनेर पनि सोध्यो।
दिएँ भनी।
बल्ल उसको औडाहा शान्त भयो, भयको आगो निभ्यो। सुरक्षित महसुस गर्यो।
समयले उसलाई अभिभावक बनायो। छोराछोरी स्कुल पठायो।
बेलामौकामा उसलाई एउटा घटना सम्झना आउँछ।
उसको छोरो एक दिन नाकको टुप्पोतिर कालोनीलो दाग बोकेर घर आयो। के भएको हो भनेर उसले सोधपुछ गर्यो। छोरो बोलेन, डराएजस्तो देखियो।
फकाईफुल्याई गरेपछि साथीले घचेट्दा भित्तामा ठोक्किएको भन्यो। राम्ररी हेर्यो। उसले छोराको कुरा शंका गर्यो। फेरि फकाईफुल्याई गरेपछि भन्न राजी भयो तर स्कुलमा आपत्ति जनाउन नजाने शर्तमा।
कक्षामा कुनै बिराम गरेबापत शिक्षकले चोरऔंला र माझीऔंलाले चेपेर निमोठेका रहेछन्।
उसले स्कुल जानैपर्ने ठहर गर्यो तर छोरालाई कसरी मनाउने!
जसोतसो मनायो र प्रिन्सिपललाई भेट्यो। सुरूमा उनी सामान्य घटना हो भनेर पन्छिन खोजे। उसले आफू पनि शिक्षक हुँ भन्दै नाक निमोठ्ने शिक्षक झिकाउन अड्डी लियो।
विद्यार्थी पाँच कक्षाको, बदमासी गरेकाले सजाय दिएको रे! यस्तो ससानो कुरा लिएर अभिभावक आउने हो भने विद्यार्थी झन् बिग्रन्छ रे!
ऊ गल्ने कुरै थिएन। शिक्षण सिकाइ, बालमनोविज्ञान, बालअधिकार लगायतका कुरा झिक्यो। सार्वजनिक मुद्दा बनाउने चेतावनी दियो। ऊ तर्कमा बलियो भयो।
अन्ततः दुबै जना गले।
बालकमाथि प्रतिशोध नहोस् भनेर पनि चेतावनी दियो।
यसपछि ती प्रिन्सिपलसँग निकै पछिसम्म बलियो सम्बन्ध बनेको थियो।
अर्को एउटा घटना, एक छात्रले परीक्षाको उत्तरपुस्तिकामा अश्लिल मानिने बर्जित शब्दहरू प्रयोग गरेर शिक्षकलाई निकै नराम्रो गालीको एक वाक्य लेखेको थियो।
देखेर ऊ जिल्ल पर्यो। सिकाइमा छात्र निकै कमजोर थियो।
त्यो छात्रले किन त्यस्तो लेख्यो? ऊसँग त्यो छात्रको चित्त नराम्रोसँग कुँडिएको थियो? के कुनै दिन उसले छात्रमाथि जानीनजानी दुर्व्यवहार गरेको थियो?
यस्ता अनेक प्रश्नले उसलाई चिमोटिरह्यो। अहँ, उसले त्यस्तो कुनै घटना सम्झन सकेन। प्रधानाध्यापककोमा उजुरी पुर्याउन साथीहरूको सल्लाह थियो।
उसले केही दिन सोच्यो।
एक दिन उसले त्यो छात्रसँग एक्लै कुरा गर्यो। प्रेमपूर्वक सोधीखोजी गर्यो। छात्रले मैले लेखेको होइन भनेर निकै जिद्दी गर्यो। एक सहपाठीलाई आरोप पनि लगायो।
कुराको फेरोले कस्दै गएपछि गल्यो तर बोलेन, लेखेको हुँ पनि भनेन, आँखाभरि आँसु बनायो। अनुहारमा भयका रेखाहरू प्रष्ट देखिए।
उसले छात्रलाई साँचो कुरा भन्न प्रेरित गर्यो। कसैलाई नसुनाउने र प्रधानाध्यापकसमक्ष उजुरी नगर्ने वाचा गर्यो। आफूले कहिल्यै अन्यथा नलिने र प्रेममा कुनै पनि कमी नहुने वचन दियो।
अन्ततः छात्रले स्वीकार गर्यो र अब कहिल्यै त्यसो नगर्ने वाचा गर्यो। उत्तरपुस्तिकाको त्यो पातो च्यातिदिन आग्रह गर्यो।
च्यात्नु नियमविपरीत हुन्थ्यो। उसले आफ्नो कलम छात्रको हातमा राखिदियो र ल, जे गर्छौ गर भन्यो। छात्रले कोरकार गरेर मसीले पोत्यो।
उसले मिहिनेत गरेस्, राम्रो पढेस्, उच्च शिक्षा हासिल गरेस् भनेर सदिच्छा प्रकट गर्यो अनि गला मिलाएर बिदा गर्यो। छात्र खुसी देखियो।
नेपाली समाजमा एउटा उक्ति छ– लातको भूत बातले मान्दैन।
उसको सन्दर्भमा कुरा पुरानो भए पनि विद्यालय शिक्षणमा यो उक्तिलाई सूक्ति मान्ने शिक्षक अझै पनि भेट्छ।
कुनै सन्दर्भमा सूक्ति नै पनि ठहर्ला तर विद्यालय शिक्षणमा विकृति ऊ यसलाई विकृति मान्छ। विद्यार्थीलाई कुटेर सिकाउने अर्थात् कुटाइ खान्छु भन्ने भएपछि सिक्छ भन्ने धारणा निकै पुरानो हो।
तीन दशकभन्दा अघिको कुरा, उसले नजिकबाट चिनेका दुई जना प्रधानाध्यापक थिए। विद्यार्थी तह लगाउनमा कडा र मिहिनेती भनेर प्रख्यात पनि थिए। एक जनासँग त उसले केही महिना काम पनि गर्यो।
ती दुवै प्रधानाध्यापक ‘लातको भूत बातले मान्दैन’ भन्ने कथनमा विश्वास गर्थे। त्यसै भन्थे पनि। तिनका हातमा हमेसा एउटा भाटो हुन्थ्यो।
त्यही भाटाले विद्यार्थीका पाँसुलामा हान्थे। हातका पञ्जा थाप्न लगाएर सुम्ला बसाउँथे। कतिका ढाडमा पनि सुम्ला उठाइदिन्थे। नपढेको, गृहकार्य नगरेको, कक्षामा हल्ला गरेको, बदमासी गरेको इत्यादि बहानामा बेस्कन कुटाइ खान्थे। यस्ता विद्यार्थीको संख्या सानै हुन्थ्यो तर दोहोरिने पनि तिनै हुन्थे।
आफू कुटिएको कुरा आमाबाबुलाई भन्ने साहस हुने कुरै थिएन। उल्टै घरमा थपिने सम्भावना हुन्थ्यो। ती प्रधानाध्यापकसँग आपत्ति जनाउन आँट हुने अभिभावक हुनु पनि दुर्लभ थियो। त्यो समयबाट आएका कतिपय शिक्षक आजको समय खुकुलो भएकाले पनि शिक्षण सिकाइ प्रभावकारी हुन नसकेको, सिकाइका लागि विद्यार्थी अग्रसर नभएको भन्ने गुनासो गर्छन्।
आजको मानव चेतनामा पनि कुनै शिक्षकले शिक्षण सिकाइमै ‘लातको भूत बातले मान्दैन’ भन्ने कथनलाई सूक्ति मान्छ भने विद्यार्थीले बेलामौकामा गर्ने बदमासीमा त अचुक औषधि मान्ने नै भयो। अनुशासित बनाउन पनि कहिलेकाहीँ कुट्नु आवश्यक ठान्ने भयो।
उसका केही शिक्षक साथीहरू एकपटक बेस्सरी चुटेपछि विद्यार्थी सुध्रेका उदाहरणहरू सगर्व सुनाउँछन्। त्यस दिन नचुटेको भए विद्यार्थी बर्बाद हुनेवाला थियो भन्छन्। ती शिक्षक साथीहरूसँग चुटाइ खाएको कुनै विद्यार्थीले ‘म खत्तम भइसकेको थिएँ, त्यस दिन तपाईंले सातो जाने गरी चुटेपछि म सुध्रेँ' भनेका उदाहारण पनि छन्।
ऊ यी उदारहण सही नै होलान् भनेर शंकाको लाभ दिन्छ र प्रश्न गर्छ– तपाईंले प्रेम गरेर बदमास विद्यार्थी सुधारेको कुनै उदाहरण छ कि?
छैन किनभने या त प्रेम गरेर सुधारेको छैन, प्रेमको प्रयास गरेकै छैन वा गरेकै भए पनि स्मरणमा राखेको छैन। किन पनि यसो भएको हो भने विद्यार्थीलाई प्रेम गर्ने अभ्यास नै कहिल्यै गरेको छैन। ऊ विद्यालय तहको विद्यार्थीलाई कुटाइ अर्थात यस प्रकारको सजायले होइन, प्रेमले सुधार्न सकिन्छ, सुधार्नुपर्छ भन्ने विश्वास गर्छ।
यसमा ऊसँग आफ्नो अनुभवका केही उदाहरण पनि छन्।
उसको व्यावहारिक अनुभव के छ भने आजको समयमा विद्यार्थीअनुकूल शिक्षण, बालअधिकार, बालमनोविज्ञानको ख्याल लगायतका कारण विद्यार्थीलाई सिकाउने, तह लगाउने वा अनुशासित बनाउने नाममा कुट्ने प्रवृत्तिमा अवश्य केही कमी आएको छ।
शिक्षक मात्रै होइन, कतिपय अभिभावक पनि छोराछोरी कुटेर तह लगाउने तरिकामा विश्वास गर्छन्। बदमास भएको, घरमा कसैलाई नटेरेको, पढ्न मन नगरेको इत्यादि कारण जनाएर बेसकन कुटिदिनू भन्ने अभिभावकहरू पनि उसले भेटेको छ।
विद्यार्थी पनि कुटिन अभ्यस्त छ। तिनका अग्रजहरू कुटिए। घरमा आमाबाबुबाट कुटिए, स्कुल गएकाहरू शिक्षकबाट कुटिए। अनि कुटेर तह लगाउनुपर्छ भन्ने पारिवारिक र सामाजिक परिवेशमा हुर्के।
कक्षामा कुनै विद्यार्थी त कुटाइको अपेक्षा समेत गरेर बसेको हुन्छ। कुटाइ नखाने भएपछि त के भो र भन्ने मानसिकतामा हुन्छ।
माध्यमिक तहको विद्यार्थी सामान्यतः वर्षभरिमा स्कुलमा सरकार दिनको छ घण्टाका दरले करिब दुई सय दिन बिताउँछ। बाँकी समय ऊ आफ्ना आमाबाबु वा अभिभावककै समिपमा हुन्छ, तिनकै निगरानीमा हुन्छ। कोही पनि आमाबाबुलाई, स्कुलमै सही, आफ्ना छोराछोरी कुटिएको राम्रो लाग्दैन। चित्त दुख्छ।
उमेरगत हिसाबले पनि माध्यमिक तहको विद्यार्थी अलिक बढी चन्चले हुन सक्छ। कहिलेकाहीँ अनपेक्षित गतिविधि गर्न सक्छ। स्कुलको कुनै नियम वा अनुशासन भंग गर्न पनि सक्छ। सिकाइमा ध्यान नदिन सक्छ। कुनै त अलिक उदण्ड नै पनि हुन सक्छ। तैपनि प्रेमले नसुध्रिने त कहाँ होला र!
यस्तो विद्यार्थीमा सुधार ल्याउन आवश्यक पर्छ तर त्यसको उपाय कुटाइ अर्थात यस्तो सजाय हुँदै होइन। फगत अभ्यासको आवश्यकता छ। परीक्षणको आवश्यकता छ। शिक्षण सिकाइका आधुनिक सिद्धान्त र प्रविधिसँगै दैनिक व्यवहारमा कुशलताको आवश्यकता छ।
यसमा ऊ दृढ छ।
विद्यार्थी पनि प्रश्न गर्ने सक्ने भएको छ। आफूले कुटाइ खानुको कारण सोध्न सक्ने भएको छ। आजको शिक्षकले कारण सोध्न प्रेरित गर्नुपर्छ।
ओशोका अनुसार परम्परागत शिक्षण सिकाइ विद्यार्थी शून्य छ, शिक्षकले बाहिरबाट दिमागमा पसाइदिनुपर्छ, समस्या छ र त्यसको समाधान दिनुपर्छ मान्यतामा आधारित छ। उसको विचारमा यही मान्यताका कारण कुटेरै वा कुटाइको भय देखाएर सिकाउने परम्परा विकास भयो। यस्तो परम्परा सामान्य मानियो।
ओशो भन्छन्– विद्यार्थीभित्र केही छ, शिक्षकले बाहिर निकाल्नुपर्छ। शिक्षकले समाधान दिने होइन प्रश्न दिनुपर्छ।
विद्यार्थी भूत होइन, ऊ बातले मान्छ, प्रेमले सुध्रिन्छ।
(गोविन्द लुइँटेलका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)