केही समयअघि मैले एक जना मानिस भेटेको थिएँ, दुइटा विषयमा स्नातकोत्तर गरेका। तर उनलाई राष्ट्रिय परिचयपत्र, पासपोर्ट वा सवारीचालक अनुमतिपत्रको अनलाइन फारम भर्नै सकस भयो। उनीसँग एउटा औपचारिक पत्र लेख्ने खुबी समेत थिएन।
अर्को पनि त्यस्तै अनुभव छ।
व्यवस्थापनमा स्नातक पढेका अर्का मानिसले वासलात के हो भन्ने राम्ररी बुझेका रहेनछन्।
यी दुई व्यक्ति प्रतिनिधि पात्र हुन्। हाम्रा हजारौं 'डिग्री-होल्डर' हरूको अवस्था यस्तै छ। स्नातक वा स्नातकोत्तर तहलाई उच्च शिक्षा भनिन्छ। तर यति धेरै पढेका धैरै मानिसहरूलाई आधारभूत कुरा थाहा हुँदैन।
ती पढेलेखेका व्यक्तिहरू किन त्यति कमजोर? किताबका ठेली पढेर परीक्षामा उत्तीर्ण भएर आएका विद्यार्थीहरूको ज्ञान कसरी यस्तो भयो? कमजोरी कसको हो— विद्यार्थी स्वयंको? डिग्री दिने विश्वविद्यालयको? वा समग्र शिक्षा प्रणालीको?
म विगत २५ वर्षदेखि शिक्षण पेसामा छु। शिक्षक भएर विद्यालय तहदेखि क्याम्पससम्म अध्यापनका क्रममा एउटा शैक्षिक चित्रमाला नै देखेको छु। अध्यापकका रङहरू, विद्यार्थीका शैलीहरू र शिक्षा नीतिका तरंगहरू, यी सबै नियाल्दा एउटा मात्र निचोड आउँछ— हामीले शिक्षाको गाम्भिर्यता बुझेनौं।
यो मेरो मात्रै अनुभव पक्कै होइन। भर्खर पढाउन थालेका वा वर्षौं शिक्षा क्षेत्रमै काम गरेका धेरैलाई यो क्षेत्रमा परेको गाँठो देखेर दिक्क लाग्दो हो। शिक्षाको गाम्भिर्यता बुझेर कसरी अगाडि बढ्ने भन्ने अलमल भइरहेको होला।
त्यसैले मैले यहाँ मेरो अढाई दशकको अनुभवले सिकेका केही विषयहरू उल्लेख गरेको छु। हाम्रो शिक्षाको अवस्था र यसलाई कसरी सुधार्न सकिन्छ भन्नेबारे केही सुझाएको छु। आशा छ, शिक्षा क्षेत्रमा काम गरिरहेकाले यो लेखबाट केही लाभ लिन सक्नेछन्। यो पढेर कतिपयले आफ्ना अनुभव र आफूलाई लागेको लेख्नेछन्। त्यस्तो बहसले हामी सबैलाई मद्दत पुग्छ। हामी सबै मिलेर शिक्षा सुधारमा एउटा भने पनि इँटा थप्न सक्नेछौं।
हाम्रो शिक्षाको अवस्था जस्तो छ, त्यो विद्यार्थीको कारणले होइन। हामीले सिकाउनै जानेनौं। जो विद्यार्थी स्वउत्प्रेरित थिए, ती स्वतः अघि बढे। अरू धेरै पनि होनहार थिए तर उनीहरूलाई सिकाइको खाँचो थियो। त्यो बाटो देखाइदिने भरपर्दो शिक्षक वा मार्गदर्शक नहुँदा उनीहरू ओझेल परेका छन्।
विद्यार्थीको सोच र ज्ञान बर्सेनिजसो बदलिरहन्छ। तीव्र गतिले परिवर्तन भइरहेको समाजमा उनीहरू बदलिरहेका हुन्छन्। उनीहरूको सिकाइ शैलीदेखि सोच्ने तरिका फरक हुँदै जान्छ। सिकाउनुपर्ने कुराहरू पनि अलग हुँदै जान्छन्।
हाम्रो शिक्षा प्रणाली भने जस्ताको तस्तै छ। परिष्कृत हुन सकेको छैन। विषयवस्तुमा नयाँपन छैन। पाठ्यक्रमको विकास गति अति सुस्त छ। दाइदिदी पुस्ताले जे पढे, भाइबहिनी लगभग उही कुरा र त्यही शैलीमै पढिरहेका छन्।
विद्यार्थीहरूलाई अर्थपूर्ण ज्ञान र सीप सिकाइनुपर्ने हो। हाम्रा विद्यार्थीले पाइरहेको सैद्धान्तिक ज्ञान र व्यवहारमा तादाम्यता हुन सकेको छैन। संरचना र कार्यप्रणाली समयअनुकूल हुने गरी परिवर्तन भएका क्षेत्रले छोटो समयमा ठूलो प्रगति गर्छन्। शिक्षण अनुसन्धानहरूले आज धेरै नयाँ उपयोगी र व्यावहारिक सिद्धान्त दिएका छन्। थोरै समयमा धेरै कुरा सिक्न र सिकाउने विधि निर्माण गरेका छन्।
पठनपाठनको शैलीमा आमूल परिवर्तनको अर्थ साविकको हाम्रा सही मूल्य, मान्यता, संस्कार परिवर्तन होइन। तिनको जगेर्ना गर्दै शिक्षण, सिकाइ र मूल्यांकन जस्ता पक्षहरूको परिमार्जन गर्नु हो।
परम्परागत प्रणालीमा हरेक विषयहरू छुट्टाछुट्टै पढाइन्छ र शिक्षालाई रेखीय प्रक्रिया मानिन्छ। अहिले हरेक विषय एकआपसमा सम्बद्ध छन् भन्ने अवधारणा छ र त्यसैअनुसार पठनपाठन सञ्चालन गर्ने चलन छ। मूल विषयको 'थिम' लाई केन्द्रमा राखेर विद्यार्थीले सिक्नुपर्छ भन्ने प्रगतिशील शिक्षाको आधार हो। ज्ञान छुट्टाछुट्टै होइन, यो एउटै ढिक्कामा निर्मित हुनुपर्छ भन्ने मान्यता हो।
परम्परागत शिक्षण पद्धति विद्यार्थीको काम सूचना हासिल गर्नु हो भन्ने कुरामा केन्द्रित हुन्छ। शिक्षक ज्ञानको स्रोत अनि सबै ज्ञान विद्यार्थीलाई उसैले दिनुपर्छ र विद्यार्थीले शिक्षकले दिएको ज्ञान सम्झिए पुग्छ भन्ने मान्यतामा हामी चल्दै आयौं। यस किसिमको सिकाइलाई अब परिवर्तन गर्नुपर्ने बेला आइसकेको छ।
विद्यार्थीले हासिल गरेको ज्ञान व्यवहारमा प्रयोग गर्नसक्ने बनाउनुपर्छ। आलोचनात्मक सोचसहितको शिक्षित जनशक्ति तयार गर्नुपर्छ। के कुरामा विचार गर्ने भन्ने नभइ, कसरी विचार गर्ने भन्ने कुराले कक्षाकोठामा प्राथमिकता पाउनुपर्छ। विषयवस्तुलाई आलोचनात्मक ढंगले सोच्न र ज्ञानलाई अर्थपूर्ण ढंगले प्रयोग गर्न सक्ने बनाउनुपर्छ।
सूचना मात्र बटुलेका विद्यार्थीहरूले आलोचनात्मक सोच विकास भएकाहरूसँग प्रतिस्पर्धा गर्न सक्दैनन्। यहाँबाट डिग्री हासिल गरेको विद्यार्थीमा सुयोग्यता पुगेको देखिँदैन। डिग्री छ तर बौद्धिक क्षमता कम छ। हामी अरूभन्दा पछि परेका छौं।
अहिलेको शिक्षा पद्धतिलाई समयानुकूल बनाउन सकियो भने मात्र बदलिरहेको संसारसँग हाम्रो लय मिल्नेछ।
शिक्षाको काम विद्यार्थीले प्राप्त गरेको सूचना र ज्ञानको उपयोग गर्न सिकाउने हो। शिक्षामा प्राथमिकतासाथ राख्नुपर्ने पक्ष पनि यही नै हो। शिक्षालाई समयानुकूल बनाउन अब विद्यालयहरूले पठनपाठनको विद्यमान प्रणालीमा परिवर्तन ल्याउनुपर्छ।
विद्यालय शिक्षामा परिवर्तन गर्नुपर्ने पक्ष तीन वटा छन्।
पहिलो– शिक्षणको सांस्कृतिक रूपान्तरण, प्रगतिशीलता र नवीकरण।
दोस्रो– आधारभूत तहदेखि नै विद्यार्थीको सामाजिक बौद्धिक क्षमताको विकास।
तेस्रो– उच्च शिक्षाका लागि विद्यार्थीलाई तयार गराउने।
परिवर्तन कसरी आउँछ त?
परिवर्तन परिष्कृत र दृढनिश्चचयी सामाजिक मनोवृत्ति (माइन्ड सेट) बाट आउँछ।
समाजको तल्लो तहदेखि सबभन्दा माथिको राजनीतिक नेतृत्वसम्मको 'माइन्ड सेट' मा आउने परिवर्तनले नै सही दिशा प्रदान गर्छ। यो नै पहिलो र अपरिहार्य खुड्किलो हो। राजनीति सामाजिक-शैक्षिक परिवर्तनको मियो हो।
शिक्षाको यो अवस्थामा समयानुकूल परिवर्तन ल्याउनुको विकल्प छैन भन्नेमा शैक्षिक सरोकार राख्नेहरू राजी हुनुपर्छ। नीति निर्माताले तदनुरूप नीति बनाइदिनुपर्छ। पूर्व प्राथमिक तहमा पढाउने शिक्षकदेखि अभिभावकसम्ममा हामीले अभ्यास गरिरहेको प्रणाली सुधार गर्नुपर्छ भन्ने कुराको अनुभूति हुनुपर्छ।
दोस्रो हो दूरदृष्टि।
राष्ट्रले एउटा प्रगतिशील शैक्षिक दूरदृष्टि बनाउनुपर्छ।
उदाहरणका लागि पाँच वर्षमा यतिवटा यस्ता किसिमका व्यावसायिक स्कुल बनाउने भन्ने। प्राज्ञिक रूपमा चुनौती खेपेका विद्यार्थीलाई यो विकल्प दिने भनेर प्रस्ट हुने। सबै पक्षलाई समेटेर बनाएको 'भिजन' का आधारमा अल्पकालीन र दीर्घकालीन नीति निर्माण गरिनुपर्छ। विद्यालय समुदायले पनि आफ्नो माइन्ड सेटमा परिवर्तन गर्ने, उच्च नेतृत्वले त्यो भिजन र त्यसअनुसार रेखांकन गरिएका योजनाका साथ विद्यालयहरूलाई समर्थन गर्दै अगाडि बढाउनुपर्छ।
तेस्रो शिक्षाको गुणस्तर हो।
यो वास्तवमा पूर्वप्राथमिक तहदेखि नै सुरू हुन्छ। आधारभूत तहको कार्यक्रम विद्यालय शिक्षामा अति संवेदनशील र रचनात्मक हुन्छ। यो बेला विद्यार्थीमा विशेष 'लिटरेसी स्किल' अर्थात् साक्षरता कौशल विकास गर्नुपर्ने हुन्छ। साक्षरताको अर्थ अक्षर चिनेर कनिकुथि पढ्ने होइन। यो भनेको त बोल्न सक्ने, तर्क राखेर विचार गर्न सक्ने, विचार लेख्न सक्ने र अर्काको विचार सुन्न सक्ने सीप तथा आलोचनात्मक चेतना हुनु हो।
साक्षरताभित्र भाषाको सबै आधारभूत सीप पर्छन्। विद्यालयको एउटा प्रमुख सफलता भनेको शिक्षाले दिने लिटरेसी स्किल नै हो। सक्षम नागरिक बनाउन रचनात्मक उमेरमै विद्यार्थीमा यो दक्षता र सीप विकास हुनै पर्छ, विकल्प छैन।
कक्षा आठसम्मको अवधिमा प्रभावकारी रूपमा शिक्षित गर्न सकियो र विद्यार्थीहरूमा सामाजिक बौद्धिक क्षमताको विकास गरियो भने ती भविष्यमा सफल हुने सम्भावना धेरै हुन्छ। यो अध्ययन तथा अनुसन्धानले पुष्टि गरेको कुरा हो।
अहिलेसम्म हाम्रो शिक्षा तथ्य संकलनमा मात्र सीमित छ। अब ती संकलनलाई उपल्लो तहको वैचारिक सीपले प्रयोग गर्ने क्षमता कसरी विकास गर्ने भन्नेमा केन्द्रित भएमा गुणस्तर उकास्नुपर्छ।
कारण–प्रभाव होला, तुलना होला, संश्लेषण–विश्लेषण जस्ता अनेक बौद्धिक अभ्यासहरूलाई कक्षाकोठामै व्यवहारमा ल्याउन सकिन्छ।
अहिलेसम्म विद्यार्थीहरूले थोरबहुत सूचना त लिए होलान्, तर त्यसको प्रयोग कसरी गर्ने वा ती कसरी उपयोगी हुन्छन् भन्नेतिर हामीले नलैजानु नै उनीहरूको बाधा बनेको छ। यो समस्या शिक्षणको उत्तम अभ्यासबाट न्यूनीकरण हुन्छ र यसले गुणस्तरमा योगदान गर्छ।
सुयोग्यताका लागि विद्यार्थीहरूलाई स्कुल तहमै कसरी विचार गर्ने भन्ने कुराको सीप, खुबी र दक्षता सिकाउनुपर्छ। त्यो नै पाठ्यक्रमको एक मुख्य दार्शनिक आधार बनाएर व्यवहारमा अनुवाद गरे फड्को सजिलै मारिन्छ। स्कुल तहको पाठ्यक्रमले नै उनीहरूको बौद्धिक क्षमताको त्यति जग विकास गरिदिन सक्नुपर्छ।
त्यसपछि विभिन्न विषयगत सीप र ज्ञान विकास गर्न कडा बौद्धिक परिश्रम गर्ने वातावरण तयार गर्नुपर्छ। त्यस्तो ज्ञान सान्दर्भिक पनि हुनुपर्छ। विद्यार्थीहरूलाई उमेरअनुसार उचित, उसले अर्थपूर्ण रूपमा लिन सक्ने र आन्तरिकीकरण समेत गर्न सक्ने सूचना दिएमा गुणस्तरको लक्ष्य प्राप्त हुन्छ।
हाम्रो पाठ्यक्रम गतिशील पनि हुनुपर्छ। यसले शिक्षामा समय सापेक्षता ल्याउँछ।
कुनै पनि विद्यार्थीले नजानेका कुरा सोध्न डराउने वा सोध्दा उपहासको पात्र बनिन्छ कि भन्ने अनुभूति हुने वातावरण कक्षाकोठाबाट निर्मूल हुनुपर्छ। विद्यार्थी र शिक्षकबीच उच्चवेगमा सञ्चार हुनुपर्छ। शिक्षकसँग विद्यार्थीले सबै कुरा निर्धक्क खोल्न सक्ने वातावरण हुनुपर्छ।
कक्षाकोठामा प्रजातान्त्रिक अभ्यास हुँदा विद्यार्थीले आफ्ना विचार खुलस्त राख्छन्। शिक्षक र विद्यार्थीबीच आफ्नो भूमिका र जिम्मेवारीको बोध हुन्छ। पारस्परिकताको आधारमा शिक्षण प्रभावकारी र गुणस्तरीय हुन्छ। भयरहित वातावरणमा पठनपाठन गराउँदा विद्यार्थीको आत्मसम्मान र विश्वास बढ्छ। उनीहरूको उपलब्धिमा प्रत्यक्ष प्रभाव पार्छ। उत्प्रेरणा सकारात्मक हुँदा विद्यार्थीको विकास पनि तीव्र हुन्छ।
निश्चय नै हाम्रो शिक्षा पद्धति कमजोर छ। कमजोरीका बाबजुद त्यहीभित्र केही सबल पक्ष हुन्छन्। सबै खत्तमै छ नभनेर त्यहाँका बलिया पक्ष पहिचान गर्दै सबलीकरण गर्दा प्रगतिको बाटो खुल्छ। सकारात्मक तागतकै आधारमा शैक्षिक कार्यक्रम कार्यान्वयन गरे केही वर्षभित्रै शिक्षामा गुणात्मक परिवर्तन आउँछ।
यस्तो परिवर्तन हुँदै गएपछि हाम्रा विद्यार्थीहरूको बुझाइ सैद्धान्तिक मात्र नभई व्यावहारिक र समयसापेक्ष हुनेछ। ती विद्यार्थी नै देश र समाजका परिवर्तनका वाहक बन्नेछन्।