चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट बीचको नारायणी नदीको नारायणगढतर्फको ६४० मिटर लामो किनारामा अहिले धमाधम निर्माण कार्य जारी छ।
नारायणी नदी व्यवस्थापन आयोजनाले 'सी बीच' (समुद्री किनार) मोडलका नाममा त्यस्तो कंक्रिटको संरचना बनाउन थालेपछि त्यसका कारण गैंडाकोट क्षेत्र डुबान र कटानमा पर्ने भनेर विरोध भयो। गैंडाकोटवासीले संघर्ष समिति नै बनाएर आन्दोलन समेत गरे।
यही चैत २४ गते आयोजनाका अधिकारीहरू गैंडाकोट पुगेर त्यहाँका जनप्रतिनिधि र संघर्ष समितिसित वार्ता गरे। वार्ता यस्तो सहमतिमा टुंगियो।
सहमतिको पहिलो बुँदा भन्छ— गैंडाकोट नगरपालिका वडा नम्बर १ र २ को बोटे टोल र ब्रिटिस क्याम्प संरक्षणका लागि एक हप्ताभित्र उपभोक्ता समिति मार्फत नदी किनार संरक्षण कार्य अगाडि बढाउने निर्णय गरियो।
सहमति पढेपछि त्यसको अर्थ के हो भनेर बैठकका सहभागीहरूलाई मैले सोधेँ।
उनीहरूले भने— त्यसको अर्थ आइतबार (चैत २६ गते) नै उपभोक्ता समितिका तर्फबाट ठेक्का लगाएर नारायणीको सानो भँगालोको छेउमा रहेको तार जाली र ढुंगाको संरचनालाई २०० मिटर बढाएर भँगालो मूल नदीको मुखमा मिसिने ठाउँसम्म पुर्याउने।
त्यो ठाउँको तस्बिर यस्तो छः
यसबाट सिधा पारि ठोक्किने ठाउँमा नारायणगढतर्फ बनिरहेको कंक्रिटको संरचना, जसमा बर्खाको पानी ठोक्किएर फर्किँदा गैंडाकोट डुब्ने डर छ, अहिले मुख्य विवादको विषय हो। गैंडाकोटतर्फ अब हुने यो निर्माणले त्यस्तो डुबान रोक्ला त? त्यो बुझ्न यो नक्सा हेरौंः
यो तस्बिरको कालो र नीलो रेखाहरूले क्रमशः नदीको मूल र सानो भँगालोले कसरी हाल नारायणगढतर्फ बनिरहेको कंक्रिटको संरचना (रातो) मा ठोक्किएर गैंडाकोटतिर क्षति पुर्याउन सक्छन् भन्ने देखाउँछ। माथिको सहमतिअनुसार गैंडाकोटतर्फ बन्ने भनेको जाली र ढुंगाको संरचना (हरियो) ले नदीको त्यस खालको धारलाई छेक्ने त अवस्थै छैन। बरू उल्टै नदीको सानो भँगालो साँघुरो हुँदा नीलो रेखाले देखाएको जस्तो धार झन् तीव्र हुने देखिन्छ।
यस्तो सहमतिमा आयोजनाले कसरी गैंडाकोटवासीलाई मनाउन सक्यो भन्ने मैले अझै बुझ्न सकेको छैन। बरू यो लेख लेख्ने दिनमै स्थलगत अध्ययन गर्दा के देखियो भने नदीको नारायणगढतर्फ पहिल्यैदेखि चार खण्डमा मजबुत कृत्रिम तटबन्ध छ।
तीमध्ये यो तस्बिरमा १ लेखिएको जोरकुसुम पार्कको छेउमा छापिएका ढुंगा हुन्। २ भनेको पार्कदेखि नारायणी लिफ्ट सिँचाइ आयोजनाको कंक्रिटको संरचना (३) को पल्लो छेउसम्मको अग्लो भित्तामा लगाइएको तार जाली र ढुंगाको संरचना हो। ४ भनेको सिँचाइ आयोजनाको छेउबाट बजारको किनारै किनार लगाइएको कंक्रिटको अग्ला सिँढीसहितको तटबन्ध हो।
अहिले नारायणगढतर्फको कंक्रिट संरचना पूरा भएमा अब दुवैतर्फ नदीका अवरोधहरूको अवस्था कस्तो हुनेछ भनेर जान्न अब यो तस्बिर हेरौंः
यसमा कालो रेखाले जोर कुसुम पार्क र त्योसँग जोडिएको तार–ढुंगाको तटबन्ध (माथिको तस्बिरमा १ र २) देखाउँछ। रातोले नारायणी लिफ्ट सिँचाइ आयोजनाको पर्खाल, नीलोले त्योसँग जोडिएको कंक्रिटको सिँढीसहितको तटबन्ध र पहेँलो रेखाले नदी तटका घरहरुको बेसमेन्टमा बनेको अवरोधलाई देखाउँछ।
यसमा सेतो रेखाले देखाइएको निर्माणाधीन संरचनाले छेउको तटबन्धभन्दा कम उचाइमा रहेर नदीलाई साँघुरो बनाउनेछ।
नदीको नारायणगढतर्फ नदीलाई यतिको अवरोध हुँदा पारिपट्टि के छ त?
गुगल नक्सामा देखिएझैं त्यहाँ सिसौको ससानो तर गज्जबको जंगल छ। नदीको गैंडाकोटतर्फको कटान रोक्न त्यो प्राकृतिक र हरित तटबन्ध कति प्रभावकारी छ भने, बीसौं वर्षदेखि गैंडाकोटमा बसेर नदीको अध्ययन गरिरहेका व्यक्तिका अनुसार चित्रमा हरियो तीरले देखाइएको बिन्दुमा त्यही जंगलले नदीलाई चितवनपट्टि धकेलेको हो। त्यसैका कारण अहिले पनि हरेक वर्षायाममा नदीको पानी देवघाटतर्फ जाने बाटोको छेउसम्म पुग्छ।
रूखले कटान रोकेर सिर्जना गर्ने भद्र अवरोधका कारण त वर्षौंको समयमा त्यत्रो फरक पर्न सक्दो रहेछ। नदी नै साँघुरो हुने गरी रातारात जस्तै, कुनै अध्ययनबिना एक किनारमा साविकको तटबन्धमाथि थप कंक्रिटको नयाँ संरचना बनाएपछि त्यसको परिणाम के होला?
यसै डुबानमा पर्ने गरेको पुलनजिकै गैंडाकोट तर्फको होचो जमिनमा रहेको बोटे टोल लगायतका बस्तीहरूको आउँदो वर्षायाममा के हुने होला?
डुबानको तह उत्तिकै भए पनि वारिको नयाँ कंक्रिट र पारीको भँगालो साँघुरो बनाउने तटबन्धका कारण धार तीव्र भएर घरहरू भत्काइदियो भने के गर्ने?
होइन, असामान्य बाढी आएर यही कंक्रिटको नयाँ संरचनाका कारण गैंडाकोटको उच्च भूभागसमेत तहसनहस हुने अवस्था आयो भने के गर्ने होला?
जीवन–मरणका यस्ता प्रश्नहरूका अगाडि बर्खासम्म यताको निर्माण रोक्नुपर्छ भन्ने त सामान्य माग हो। त्यसपछिको हिउँदमा व्यापक अध्ययन र विमर्शपछि पनि आयोजना त अघि बढ्न सक्दो हो। गैंडाकोटवासीलाई यसरी गुमराहमा पारेर रातारात विकास गर्ने हतारो किन भएको होला भरतपुर महानगरलाई?
भरतपुर महानगरको यस्तो विकासे मोडलले मलाई एउटा लोककथाको सम्झना गराउँछ जहाँ घरका भाइहरुले खरानी बेचेर धनी हुने लोभमा घर जलाएका थिए। सम्झिने हो भने नदी मानिस र उसको सिंगो सभ्यताका लागि घरजस्तै हो। नसम्झिने हो भने त्यो रातारात ढलान गरेर विकासको काम देखाउने र भयावह विनाश निम्त्याउने माध्यम पनि हो।
तर गैंडाकोटवासीले भने यति याद गरून्— न्यायको लडाइँ ज्युँदो छँदै, तागत छँदै, आफ्नो हात माथि पर्दैखेरि लड्नुपर्छ। जब कंक्रिटको संरचना बनिसक्छ, डुबान र धनजनको क्षति भइसक्छ, तबसम्म धेरै ढिलो भइसकेको हुनेछ।
यो पनिः नारायणीको बालुवामा ४ अर्बः विकासका नाममा आत्मघात!
यो पनिः यत्रो विनाश हुँदा पनि कोही किन नबोलेका?
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)