सन् १९९६ को एक रात प्राग-आनुवांशिक वैज्ञानिक स्वान्टे पेबो ओछ्यानमा पल्टिइसकेका थिए।
एकाएक फोनको घन्टी बज्यो।
फोन गरेका थिए, मत्थिएज क्रिङ्सले जो म्युनिख विश्वविद्यालयको जीव विज्ञान अध्ययन संस्था (जुलोजिकल इन्स्टिच्युट) मा प्राध्यापक स्वान्टेका विद्यार्थी थिए।
यो त्यतिखेरको कुरा हो, जब १४० वर्षअघि जर्मनीको नियन्डर उपत्यकाबाट ल्याएर बोनस्थित संग्रहालयमा थन्काइएको जीवाष्मको प्रयोगशाला परीक्षण चल्दै थियो। उक्त परीक्षण गर्दै थिए, स्वान्टे पेबो र उनको अनुसन्धान समूहले।
त्यसै दिन दिउँसो मात्रै उक्त जीवाष्मको 'डिएनए सिक्वेन्सिङ' सुरू गरेका क्रिङ्सले मध्यराति आफ्ना गुरू स्वान्टेलाई भने– 'यो त मान्छे होइन!'
डार्विनको बहुचर्चित पुस्तक 'जीवहरूको उत्पत्ति' (On the Origins of Species) प्रकाशित हुनुभन्दा तीन वर्षअघि सन् १८५६ मा नियन्डर उपत्यकाको गुफा भत्काइरहेका ज्यामीले ती अस्थिपञ्जरका जीवाष्म फेला पारेका थिए। सुरूमा ती अस्थिपञ्जर भालुको होला भन्ठानिएको थियो। ज्यामीहरूले त त्यही सम्झेर बेवास्ता गरेका थिए। तर, तुरून्तै यो खबर पुरातत्व क्षेत्रमा काम गरिरहेका वैज्ञानिककहाँ पुग्यो।
त्यसपछि ती अस्थिपञ्जर संकलन गरेर बोन पुर्याइयो। केही वर्षमै ती अस्थिपञ्जर भालुको नभई आधुनिक मानवका पुर्खाको वा सके विलुप्त भइसकेका मानव प्रजातिको भएको पुष्टि भयो।
नियन्डर उपत्यकाबाट प्राप्त भएको र मानव पुर्खाको मानिएकाले नै त्यसलाई 'नियन्डरथल' नाम दिइएको थियो। वैज्ञानिक जगतलाई अनेकन प्रश्न र जिज्ञासाले भरिदिएर उक्त नियन्डरथलको जीवाष्म लामो समयसम्म बोनको संग्रहालयमा थन्कियो।
नियन्डर मानव साँच्चै को थिए? आजको आधुनिक मानव भनिएका हामीसँगको तिनको के सम्बन्ध थियो? उनीहरू कसरी बस्थे र कसरी बाँच्थे? उनीहरू किन र कसरी तीस हजार वर्षअघि यस धर्तीबाट विलुप्त भए?
यिनै जिज्ञासासहित १४० वर्षदेखि जर्मनीको बोन संग्रहालयमा कैद नियन्डर मानवको अस्थिपञ्जरमाथि स्वान्टे पेबोले नयाँ ढंगमा अध्ययन सुरू गरेका थिए। उनले आफ्ना विद्यार्थीहरूलाई पनि यही काममा लगाएका थिए।
त्यो रात जब क्रिङ्सले फोनमा 'यो त मान्छे होइन' भने, निद्राबाट ब्युँझिएका पेबोको शरीर काम्यो। उनी छिप्पिँदो रातमा एउटा ज्याकेट उनेर तत्कालै प्रयोगशालातिर दौडिए।
प्रयोगशालामा क्रिङ्ससँगै युवा पूरातत्वविद् राल्फ स्चमित्ज पनि थिए। राल्फ तिनै थिए, जसले पेबोलाई बोनको संग्रहालयमा रहेको उक्त नियन्डर मानवको अस्थिपञ्जरबाट पाखुराको सानो टुक्रा हड्डी निकालेर परीक्षण गर्ने अनुमति दिएका थिए।
पेबो र उनका सहायकहरूले उक्त हड्डीको टुक्रामा रहेको 'माइटोकन्ड्रिअल डिएनए' (Mitochondrial DNA= mtDNA, अबउप्रान्त यसलाई जनाउन 'एमटिडिएनए' शब्द प्रयोग गरिनेछ) परीक्षण गरेका थिए। एमटिडिएनएलाई 'कोष' को पावरहाउसका रूपमा लिने गरिन्छ। यो आमाबाट सन्तानमा हस्तान्तरित हुँदै आउँछ। एमटिडिएनएको पहिलो पहिचान १९६३ मा मर्गिट नास र सिल्वन नासले गरेका थिए। तर, मानव एमटिडिएनए जिनोम सिक्वेन्सिङको पहिलो विवरण १९८१ मा फ्रेड स्याङगरको समूहले प्रकाशित गरेको थियो। स्वान्टे पेबो र उनको समूहले पनि यही पद्धति प्रयोग गर्दै नियन्डर अस्थिपञ्जरको एमटिडिएनए जिनोम सिक्वेन्स गरिरहेको थियो।
यो परीक्षणबाट जे नतिजा प्राप्त भयो, त्यो नियन्डरथलका हकमा पहिलो घटना थियो। नियन्डरथलको एमटिडिएनए जिनोम सिक्वेन्स गरेर त्यसको सफल नतिजा प्राप्त गर्ने पहिलो समूह उनीहरू नै थिए। विज्ञानमा पहिलो हुनुको ठूलो अर्थ छ। दोस्रो हुनुको पनि अर्थ त छ, तर त्यति मात्रै जति महत्व सबभन्दा अन्तिम हुनेको पनि हुन्छ। उनीहरूले 'पोलिमराइज चेन रियाक्सन' (पिसिआर, जो कोरोनाकालमा कोरोना परीक्षण गर्न अत्यधिक प्रयोग गरियो) प्रविधिको सहायता लिएर एमटिडिएनए जिनोम सिक्वेन्स गरेका थिए र त्यसको पूर्ण विवरण २००७ मा प्रकाशित गरे।
आधुनिक मानवका पुर्खाले कुनै समय आफूभन्दा भिन्न अर्को मानव प्रजातिसँग सम्भोग र सन्तान उत्पादनको काम सम्पन्न गरेको तथ्यले सर्वसाधारण मात्र होइन, आनुवांशिक अध्ययनमा समर्पित वैज्ञानिक जगतमा समेत भयानक हलचल पैदा गर्यो।
त्यो हलचल र त्यसले प्रतिक्रियामा पैदा गरेको अनेकन प्रश्न र जिज्ञासा सम्बोधन गर्न १९९७ यता स्वान्टे पेबो नियन्डरथलको निरन्तर अनुसन्धान र प्राप्त नतिजाको व्याख्यामा समर्पित छन्। त्यही नियन्डरथलप्रति एकोहोरो समर्पण र अनुसन्धानले स्वान्टे पेबोलाई वैज्ञानिक जगतले 'नियन्डरथल म्यान' का रूपमा चिन्ने गरेको छ।
त्यसरी परीक्षण गरिएको नियन्डरथलको माइटोकन्ड्रिअल डिएनए आधुनिक मानवसँग निकट त देखिन्थ्यो तर आधुनिक मानवको भन्दा अलिक फरक थियो। पछिबाट त्यो आधुनिक मानवको नभएर भिन्दै अर्को बुद्धिमान मानव समूहको भएको तथ्य स्थापित भयो।
यही नै त्यो विन्दु थियो, जसले मानव विकास इतिहासमा अज्ञात रहस्यको पोको खोलेर त्यसभित्रका तथ्य बाहिर ल्यायो। आधुनिक मानव भनिने 'होमो स्यापियन्स' र विलुप्त भइसकेका अन्य मानव प्रजातिसँगको अन्तरसम्बन्धबारे तथ्यहरू स्थापित गर्ने प्रक्रियाको आरम्भ मात्र गरेन, त्यसलाई तीव्र नै बनायो।
स्वान्टे पेबो र उनको टिमले अनेकन जिज्ञासा, प्रश्न र कौतूहल बोकेर संसारभर अनेकन प्राचीन नियन्डरथल अस्थिहरूको उत्खनन, संकलन र परीक्षणमा बिनाविश्राम काम गरिरह्यो। त्यसैको परिणामस्वरूप आज हामी आफैंभित्र रहेका अनेकन प्राचीन मानव प्रजाति (आजको दिनमा विलुप्त भइसकेका) को 'ब्लुप्रिन्ट' बारे जानकार हुन पाएका छौं। त्यही विरासतमा प्राप्त 'ब्लुप्रिन्ट' का कारण हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले विभिन्न रोगप्रति जनाउने प्रतिक्रिया र त्यसबाट शरीरलाई जोगाउन अपनाउने सक्रियताबारे जानकारी हासिल गर्न सफल भएका छौं।
मानव समाजलाई आफ्नो खोजमार्फत् यो सफलता प्रदान गर्ने तिनै प्राग-आनुवांशिक वैज्ञानिक स्वान्टे पेबोलाई यस वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार दिइएको छ।
जुन दिन स्वीडिस नागरिक पेबोलाई नोबेल पुरस्कार दिने घोषणा गरियो, उनी जर्मनीस्थित आफ्नो घरमा बिहान लगातार तेस्रो कप चिया पिउँदै थिए।
त्यो अक्टोबर ३ को दिन थियो – बर्लिन पर्खाल ढालेर पूर्वी र पश्चिमी जर्मनीका नाममा विभक्त दुई मुलुक एकीकरण गरिएको दिन।
यो दिन जर्मनी उत्सवमय हुन्छ। नियमित कार्यालय, बजार, पसलहरू बन्द रहन्छन्। रेस्टुरेन्ट, अपेरा, पब, क्याफेहरू गुल्जार हुन्छन्। कति घरमै परिवारसँग रमाउँछन्। पेबो पनि 'होलिडे मुड' मै थिए। उनलाई कार्यालय जानु थिएन। दैनिक हतारोको नियमित सूची थिएन। खाली अघिल्लो रात बास बस्ने गरी आफ्नो सुसारेको घर गएकी छोरीलाई लिन जानु थियो।
उनी चिया सकेर गाडी निकाल्ने र छोरी लिन जाने मनस्थितिका साथ तयार हुँदै थिए।
त्यही बेला टेलिफोनको घन्टी बज्यो। फोन स्वीडेनबाट आएको थियो। स्वीडेनमा उनको थोत्रिँदै गएको गृष्मकालीन घर छ। उनलाई लाग्यो – त्यही गृष्मकालीन घरमा कुनै तलबितलको खबर आयो कि!
यही सोचेर हच्किँदै फोन उठाएका पेबोले जे सुने, उनी सन्न भए।
त्यो खबर थियो, यस वर्ष फिजियोलोजी अर्थात् चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार उनैलाई दिने घोषणाको।
उनका लागि त्यो दोहोरो खुसीको क्षण थियो – उनले जर्मन एकीकरण दिवसकै दिन नोबेल पुरस्कारको खबर पाएका थिए।
'म्याक्स प्लांक इन्स्टिच्युट फर इवोलुसनरी एन्थ्रोपोलोजी' मा २५ वर्षदेखि निर्देशक, अनुसन्धाता र प्राध्यापकका रूपमा कार्यरत पेबोले आफू कार्यरत संस्थालाई मानव विकासक्रमको ऐतिहासिक रूपरेखाबारे अध्ययन–अनुसन्धान गर्ने विश्वकै नामी संस्था बनाउन सफल भएका थिए। नोबेल पुरस्कारको खबर सुनेपछि उनलाई जर्मनी एकीकरण दिवसको 'मुड' मा सडकमा कल्याङमल्याङ गरिरहेका मानिसको हुलमा मिसिएर चिच्याउँदै 'सेलिब्रट' गर्न मन लाग्यो।
तर उनी रोकिए।
उनको घरमा नोबेल पुरस्कार भित्रिएको यो पहिलोपटक थिएन। एउटै परिवारको दोस्रो पुस्तामा नोबेल पुरस्कार भित्र्याउने उनी आठौं व्यक्ति थिए। मेडिसिनमै दोस्रो पुस्तामा एउटै घरमा नोबेल भित्र्याउने भने उनी सम्भवतः पहिलो हुन्।
सन् १९८२ को फिजियोलोजी अर्थात् मेडिसिनतर्फ नोबेल पुरस्कार साझेदारी गरेका उनका पिता सुने वर्गस्ट्रोमले कुनै समय उनीसँग भनेका थिए, 'नोबेल पुरस्कार पाउनेहरू पनि सामान्य मानिस नै हुन्। छुट्टै मानिस हुँ भन्ने अतिरिक्त अभिनयको जरूरत छैन।'
आमासँगको सानिध्यमा हुर्किएका पेबोको पितासँग दुरी थियो। तर जति दुरी भए पनि 'बायोकेमिस्ट' पिताले बिताएको साधारण जीवनबारे उनी अन्जान थिएनन्। आफ्नो बुवाको त्यही व्यवहार सम्झेर पेबो सम्हालिए।
त्यही बेला नोबेल प्रकाशनका एडम स्मिथले उनलाई टेलिफोन गरे। उनले फोनमै अन्तर्वार्ता दिए। अनि गाडी निकाले र छोरी लिन निस्किए।
बाँकी संसार आफ्नै सुरमा थियो। पेबोले नोबेल पाएकै कारण संसारमा कुनै तलबितल मच्चिएको थिएन।
तलबितल त पेबो र उनको टिमले गरेको अभूतपूर्व अनुसन्धानबाट निस्किएको निष्कर्षले विश्वभरका समाजमा व्याप्त परम्परागत चेतना र बुझाइका भाष्यहरूमा पारेकै थियो। त्यो पनि पटकपटक।
प्राचीन जीवाष्महरूको आनुवांशिक अध्ययनबाट पेबोले जे तथ्य बाहिर निकाले, त्यस्ता जीवाष्ममा रहेका डिएनए अध्ययन गर्ने जुन विधि उनले विकास गरे, त्यसले सिंगो आनुवांशिक अनुसन्धानमा सामेल वैज्ञानिक जगतमा मात्र हाइभोल्टेज तरंग पैदा गरेन, मानव जातिको इतिहासको परम्परागत भाष्यमाथि नै बुल्डोजर चलाइदियो।
त्यसैले त भनिन्छ – मानव विकासक्रमको इतिहास अनेकन व्यक्तिले लेखे, स्वान्टे पेबो भने त्यस्ता वैज्ञानिक हुन्, जसले मानव विकासक्रमको इतिहास पुनर्लेखन गरे (Peter Forbes - Neanderthal Man: In Search of Lost Genomes -Review, The Guardian, Feb 24, 2014)।
करिब नौ लाख डलरको चिकित्साशास्त्र नोबेल पुरस्कार स्वान्टे पेबोलाई दिने निर्णय सार्वजनिक गर्दै जारी विज्ञप्तिमा भनिएको छ – पुरस्कार उनको खोजमूलक प्राप्तिका लागि, जसले विलुप्त मानव प्रजातिको आनुवांशिक अध्ययन गरेर मानव विकासक्रमसँग त्यसको सम्बन्ध जोड्न सफलता प्राप्त गरेको छ।
पेबोको वैज्ञानिक अनुसन्धानले नयाँ वैज्ञानिक विषय 'पलियोजेनोमिक्स' को उदय गराएको छ। यो विधा भौतिक विज्ञानभन्दा केही भिन्न छ। यही पलियोजेनोमिक्समार्फत् उनले नियन्डरथलको डिएनएको अज्ञात तथ्य सार्वजनिक गरे। चालीस हजार वर्षभन्दा पुराना नियन्डरथलको हड्डीबाट कसरी डिएनए निकाल्ने र विश्लेषण गर्ने भन्ने पद्धति निर्धारण गरे।
पुराना अस्थिपञ्जरमा रहेका प्राचीन डिएनए समयक्रममा अनेकन बाहिरी प्रभावले क्षतविक्षत भएको हुनसक्छ। यसले जीवाणुहरूको डिएनए मात्रै संक्रमित भएको हुँदैन, उत्खनन र संकलन क्रममा त्यस्ता जीवाष्ममा रहेका डिएनए सजिलै दूषित पनि हुने गर्छ। पेबोले प्राचीन जीवाष्ममा पर्ने यस्ता बाहिरी संक्रमणका बाबजुद प्राचीन डिएनए निकालेर विश्लेषण गर्ने जुन पलियोजेनोमिक्स पद्धति विकास गरे, त्यो अद्धितीय मानिन्छ। त्यसले मानव प्रजाति र मानव इतिहासको पहिचान र बुझाइमा योगदान गरेको छ।
नोबेल एकेडेमीले डिसेम्बर १० मा पुरस्कार हस्तान्तरण गर्नु तीन दिनअघि स्वीडेनस्थित नोबेल फाउन्डेसनको हलमा आफ्नो प्रवचन दिँदै पेबोले भनेका छन् – नियन्डरथलको आनुवंशिताको उत्तराधिकार ग्रहण गरेकाहरूमा गर्भ तुहिने समस्या बढी देखिएको छ भने एचआइभीको संक्रमण दर कम देखिएको छ।
प्राज्ञिक यात्रा
पेबोकी आमा रसायनशास्त्री करिन पेबो तत्कालीन सोभियत संघबाट भागेर आएकी शरणार्थी थिइन्। विवाहिता करिनको सुने वर्गस्ट्रोमसँग प्रेम भयो। सुने पनि विवाहित थिए।
१९७५ मा विद्यालय तहको अध्ययन सकेर १९७६ मा उनी रक्षा दलमा भर्ना भए। सुरूमा उनी मानविकीका विद्यार्थी थिए। पछि विज्ञानको इतिहासतर्फ लहसिँदै मेडिकल विद्यार्थीका रूपमा आफ्नो करिअर अघि बढाए।
स्वीडेनको उप्प्सलामा लामो समय प्राध्यापन गरेका पेबोले त्यहीँबाट विद्यावारिधी गरे र अनुसन्धाताका रूपमा काम गरे। उनले पोस्ट-डक्टरल अनुसन्धाताका रूपमा स्वीट्जरल्यान्ड, अमेरिकामा पनि काम गरे भने जनरल बायोलोजीको प्राध्यापकका रूपमा जर्मनीमा काम गरे।
स्नातकदेखि नै प्राचीन डिएनएको अध्ययनमा लागेका उनी आजसम्म त्यही क्षेत्रमा क्रियाशील छन्। यही क्षेत्रमा उनले चार दशकभन्दा बढी समय निखारेका छन्। सन् १९९७ देखि म्याक्स प्लांक इन्स्टिच्युट फर इवोलुसनरी एन्थ्रोपोलोजीको जेनेटिक्स विभागको निर्देशकका रूपमा कार्यरत उनी आज पनि सोही पदमा त्यही संस्थामा कार्यरत छन्। जापानको ओक्नीहवा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजीमा पढाउँछन् पनि।
इजिप्टिसियन मम्मीको डिएनएबाट अनुसन्धान यात्रा आरम्भ गरेका पेबो आज प्राचीन मानव पुर्खाका डिएनएहरूको गहन अनुसन्धानमा समर्पित छन्।
उनले प्राज्ञिक पथमा मात्र आफ्ना अभिभावकको बाटो पछ्याएनन्, उनको व्यक्तिगत जीवनले पनि आश्चर्यजनक तवरले बाआमाकै बाटो समात्यो। उनले आफूलाई द्वियौनिक (बाइसेक्सुअल) का रूपमा प्रस्तुत गरेका छन्। आफू लामो समय एक पुरूष वैज्ञानिकसँग समलिंगी सम्बन्धमा रहेको उनले उल्लेख गरेका छन्। स्वीडेनमा रहँदा उनी एक पुरूष समलिंगी अधिकारकर्मीका रूपमा पनि क्रियाशील रहे।
पछि उनको भेट भयो, एक महिला बारबरासँग। उनी बारबराको प्रेममा परे र यौन सम्बन्ध पनि राखे। जेनेटिक्स पढिरहेकी बारबरासँगको निकटताका कारण अमेरिकाको काम छाडेर सहायक प्राध्यापकका रूपमा काम गर्न जर्मनीको म्युनिख पुगे। म्युनिख पुगेपछि पो थाहा पाए– बारबरा त अर्का वैज्ञानिकसँग पनि 'अफेअर'मा रहिछन्। पछि बारबराले तिनै वैज्ञानिकसँग विवाह गरिन्।
बारबरालाई भुल्न पेबो अमेरिकाको वर्क्ले फर्किए।
पछि १९९० मा उनी फेरि जर्मनी फर्किए – म्युनिखमा आफ्नो द्वियौनिकतालाई कसरी लिइने हो र कस्तो व्यावहार गरिने हो भन्ने संशय र निरूत्साह बोकेर।
म्युनिखमा उनको प्रेम भयो, एउटै प्रयोगशालामा कार्यरत सहकर्मी मार्ककी पत्नी र दुई सन्तानकी आमा लिन्डासँग। त्यो पनि थिएटरमा सिनेमा हेर्न जाँदा अन्जानवश दुई जनाको कुर्कुच्चा जुधेपछि सुरू भएको सम्बन्ध झांगिएर।
भएको के थियो भने, कुर्कुच्चा जुधेपछि लिन्डाले पेबोको हात समातेकी थिइन्। सिनेमा सकिएपछि लिन्डाले घर फर्किनुको साटो पेबोसँग 'आउटिङ' जान अनुरोध गरिन्। त्यसपछि विकसित सम्बन्ध नलुकाउन र मार्कलाई सब कुरा खुलस्त भन्न पेबोले लिन्डालाई सुझाव दिए।
नयाँ घटनाक्रम सुनेर सुरूमा उत्तेजित मार्कले व्यावसायिक सम्बन्धमा घरायसी झगडाको छिटा पर्न दिएनन्। यही क्रममा पेबो र लिन्डाको सन्तानको जन्म भएपछि लिन्डाले मार्कसँग सम्बन्ध विच्छेद गरिन्। २००८ मा उनीहरूले बिहे गरे। मार्कले पनि अर्की महिलासँग विवाह गरे। मार्कको आर्थिक जीवन सजिलो होस् भनेर पेबोले उच्च राशिको शोधवृत्ति प्राप्त गर्न मद्दत गरे (Tobitha Powledge – ‘Neanderthal Man’- Nobel Prize winner Svante Pӓӓbo revolutionized anthropology, GLP, Oct 5, 2022)।
पेबोले भनेका छन्– 'मेरा बाले अपनाएको दोहोरो जीवनको प्रभाव ममा धेरै नै परेको छ। बाको दोहोरो परिवार थियो। लामो समयसम्म एक परिवारलाई अर्को परिवारको अस्तित्वबारे अनभिज्ञ राख्न उनले सकेको कोसिस गरे। त्यो समय संसार आजको जस्तो सूचना प्रविधिबाट चलायमान पनि थिएन। मैले भने जोसँग जस्तो सम्बन्ध राखे पनि खुलस्त हुने कोसिस गरेँ। लुकाउनपर्ने रहस्यमय र गोप्य घटनाले भरिएको जीवनमा विश्वास राखिनँ (Svante Pӓӓbo - Neanderthal Man: In Search of Lost Genomes, 2014)।'
यसरी पेबोलाई व्यक्तिगत र प्राज्ञिक दुवैखाले जीवनमा बाआमाको पदचापको पूनरावृत्तिको संयोग जोडिएको देखिन्छ।
जिज्ञासा र प्रश्नले डोर्याएको बाटो
किशोरकालमा पेबोमा पुरातत्वप्रति गहिरो आकर्षण थियो, जब उनकी रसायनशास्त्री आमाले उनलाई तेह्र वर्षे उमेरमा इजिप्ट लगेकी थिइन्। पछि उनी पुरातत्वबाट चिकित्सातिरको बाटोमा लहसिए आफ्ना नोबेल पुरस्कार विजेता जीव–रसायनशास्त्री पिता सुने बर्गेस्ट्रोनबाट प्रेरित भएर (Gruber Foundation – Svante Pӓӓbo)।
हुर्किँदै गर्दा पेबोको मनमा अनन्त प्रश्नहरूको गुजुल्टो थियो। उनी ती जिज्ञासा र प्रश्नले भरिएको मन लिएर भौंतारिएका थिए। उनले २००६ मा स्मेथिसियन म्यागेजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्– 'म जिज्ञासाबाट परिचालित थिएँ। प्रश्नहरूबाट अभिप्रेरित थिएँ। हामी कहाँबाट आयौं। हाम्रो इतिहासमा त्यस्ता के परिघटना मञ्चित भए, जसले हामीलाई आज जे छौं त्यो बनायो?'
यस्ता अनन्त प्रश्नको समाधानको खोजीका लागि आफूले पढेको चिकित्साशास्त्रलाई प्राचीन डिएनए अध्ययनको क्षेत्रमा समर्पित गरे पेबोले।
त्यही एकोहोरो समर्पण र खोजले उनलाई जीवनमा यति सम्मान, पुरस्कार र तक्मा दिलायो, ती सबै छातीमा टाँस्ने हो भने सबै तक्मालाई ठाउँ पुर्याउन पाँचवटा भौतिक छाती भएको स्वान्टे पेबो नै चाहिन्छ भन्ने किस्सा चल्ने गरेको छ। किङ्ग मेडल स्वीडेन, ग्रुबर जेनेटिक्स प्राइज अमेरिका, प्रिनसेस अफ अस्ट्रिया अवार्ड फर साइन्टिस्ट एन्ड रिसर्चर, अनररी डक्टर फर यले युनिभर्सिटी लगायत अनगिन्ती पुरस्कारको शृंखला नोबेल पुरस्कारमा आइपुगेको छ। उनलाई अनररी डक्टरेट उपाधि दिनेमा युरोप र अमेरिकाका विश्वविद्यालय मात्रै छैनन्, वकिनामा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी पनि छ जहाँ उनी पछिल्लो समय भिजिटिङ प्रोफेसरका रूपमा प्राध्यापन गर्छन्।
उनी ह्युमन इभोलुसन, जिनोम रिसर्च, मोलिक्युलर फाइलोजेनेटिक्स एन्ड इभोलुसन जस्ता जर्नलका सम्पादक पनि बने। प्रख्यात जर्नल जीनको सल्लाहकार रहे। 'सेल' जस्तो सुप्रसिद्ध जर्नलको सम्पादकीय बोर्डमा अझै पनि उनी सामेल छन्। सेल बायोलोजी र हिस्टोलोजी विषयमा प्राध्यापन गर्न विश्वभरका विश्वविद्यालयमा धाइरहन्छन्।
उनी सन् २००७ मा टाइम म्यागेजिनको विश्वका सय प्रभावशाली व्यक्तिको सूचीमा वैज्ञानिक/विचारकका रूपमा समाविष्ट छन्। सूचीमा सामेल गर्दै टाइमले लेखेको छ– पेबोले मानिस र नियन्डरथलबीचको आनुवांशिक सम्बन्धबारे पत्ता लगाएर सिंगो वैज्ञानिक जगतमा हलचल ल्याइदिए। पेबो तिनै वैज्ञानिक हुन् जसले चिम्पाञ्जी र मानिसको डिएनए भिन्नताबारे पनि उजागर गरे।
पेबोले आजका हामी मानव कहाँबाट आयौं, विलुप्त भइसकेका अन्य मानव प्रजातिसँग हामी मानवको सम्बन्ध के छ भन्ने विषयमा गहिरो र लामो अध्ययन गरिरहे। सन् २०१० मा उनी नियन्डरथलको जिनोम सिक्वेन्सिङ गर्न सफल भए। पहिले अज्ञात रहेको तर आज विलुप्त भइसकेको मानव प्रजाति डेनिसोवन आजभन्दा २८ हजार वर्षअघिसम्म उपस्थित थियो भन्ने पत्ता लगाउन सफल मात्रै भएनन्, त्यसको जीन नियन्डरथल र होमो स्यापियन्स (आजका हामी मानिस) मा प्रवाह भएको पनि पत्ता लगाए।
यसरी प्रवाह भएको प्राचीन तर भिन्न (विलुप्त) मानव प्रजातिको 'जीन' ले आजका दिनमा हामीमा पारेको शारीरिक (आन्तरिक प्रतिरक्षा प्रणालीको विकास या त्यसमा पारेको उलटफेर) प्रभाव नै उनलाई चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार हात पार्ने कडी बन्यो।
नोबेल पाएपछि प्रसिद्ध विज्ञान जर्नल 'नेचर' ले गरेको अन्तर्वार्तामा पेबोले भनेका छन्– नियन्डरथलको माइटोकन्ड्रिअल जिनोमबाट डिएनए सिक्वेन्सिङ गर्न सफल हुनु नै जीवनको सबभन्दा भव्य र आनन्ददायी परिघटना थियो।
साइबेरियाको अल्टाईमा आधुनिक मानव र डेनिसोवन एकसाथ एकैस्थानमा बसेको तथ्य सार्वजनिक गर्ने वैज्ञानिक उनै पेबो थिए। उनी त्यति मात्रैमा रोकिएका होइनन्। त्यहाँबाट प्राप्त अतिप्राचीन जीवाष्मको अध्ययनबाट नियन्डरथल र डेनिसोवनबिच यौन सम्बन्ध राख्ने पहिलो पुस्ताका दुई भिन्न मानव प्रजातिबारे जानकारी पनि उनैले सार्वजनिक गरेका हुन्।
मानव विकासक्रमको अध्ययनका लागि जीवाष्म विज्ञान र पुरातत्व अति महत्वपूर्ण माध्यमहरू हुन् भन्ने आफ्नो धारणालाई उनले आफ्ना कामहरूमार्फत् प्रमाणित गरे।
डेनिसोवन, नियन्डरथल र होमो स्यापियन्सबीच शारीरिक सम्बन्ध कायम भएर सन्तान उत्पादन भयो। यो प्रक्रियामा अविच्छिन्न तवरले हस्तान्तरित जीनले होमो स्यापियन्समा नयाँ–नयाँ रोगसँग लड्न सक्ने प्रतिरोधी प्रणाली विकास गरेको पनि पेबोको अनुसन्धानको निचोड छ। यस्ता तथ्यलाई उनले शोधपत्रमार्फत् (Analysis of human accelerated DNA regions using archaic hominin Genomes, PLoS One, 2012) सार्वजनिक गरिसकेका छन्।
होमो स्यापियन्सले आफ्नो समूहभन्दा बाहिरको अर्कै मानव प्रजातिसँग शारीरिक सम्बन्ध राखेर सन्तान उत्पादन गरेको सनसनीपूर्ण तथ्य पेबोले डेविड रेख लगायत प्राग-आनुवांशिक अध्येताहरूसँग मिलेर The Date of interbreeding between neanderthals and modern humans (PLoS Genetics, 2012) मा प्रकाशित गरेका थिए। होमो स्यापियन्स र नियन्डरथल वा होमो स्यापियन्स र डेनिसोवनबीच मात्र होइन, नियन्डरथल र डेनिसोवनबीच पनि शारीरिक सम्बन्ध रहेको र सन्तान उत्पादन भएको अनुसन्धानपत्र The Genome of the offspring of a Neanderthal mother and a Denisovan father (Nature, 2018) शीर्षकमा प्रकाशित छ।
नियन्डरथलको डिएनएका कारण आधुनिक मानवको स्टिम सेलमा परेको प्रभावबारे उनीसहितका वैज्ञानिकहरूको चर्चित लेख Human Steam Cell Resources Are an Inroad to Neanderthal DNA Functions (STEM CELL REPORTS, 2020 शीर्षकमा प्रकाशित छ। यस्ता ३५० भन्दा बढी अनुसन्धानमूलक आलेखहरू चर्चित विज्ञान जर्नलहरूमा प्रकाशित गरेका छन् पेबोले। यसले 'जीन', मानव विकासक्रम, डिएनए अध्ययन र डिएनए अध्ययनको प्रविधिका क्षेत्रमा रचनात्मक हलचल मात्र पैदा गरेको छैन, महत्वपूर्ण योगदान समेत दिएको छ।
'नियन्डरथल म्यान' को नियन्डरथल खोजयात्रा
सन् २००६ मा स्वान्टे पेबो र उनको टिमले 'नियन्डरथल जिनोम प्रोजेक्ट' सुरू गर्यो। म्याक्स प्लांक इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजी, ४५४ लाइफ साइन्सेस, इन्स्टिच्युट अफ क्वाटरनरी पलियोन्टोलोजी एन्ड जिनोम, क्रोएसियन एकेडेमी अफ साइन्सेस एन्ड आर्टको एकीकृत आर्थिक भरथेगमा भएको शोधका निष्कर्षहरू समयक्रममा पेबो र उनीसामेल अनुसन्धान समूहमार्फत् बाहिर आयो। पेबोले तिनै खोजहरूको निष्कर्षका लागि चिकित्साशास्त्रतर्फ पुरस्कार प्राप्त गरे।
स्वान्टे पेबो प्राचीन आनुवांशिक अध्ययनकर्ताको क्षेत्रमा मात्र होइन, सिंगो वैज्ञानिक जगतमा 'नियन्डरथल म्यान' का नामले परिचित छन्। नियन्डरथल नामक मानव प्रजातिमाथि समर्पित भएर निरन्तर काम गरिहेका उनी सबभन्दा प्रमुख वैज्ञानिक हुन्।
साइबेरियाको अल्टाईमा चलिरहेको शृंखलाबद्ध उत्खनन, त्यसका अस्थिहरूमाथिको निरन्तर अनुसन्धान र त्यसमार्फत नियन्डरथल र अरू मानव प्रजातिका साथै आज मौजुद होमो स्यापियन्सबीचको सम्बन्ध स्थापित गर्ने, त्यसले आजका मानवमा पारेको प्रभावबारे अध्ययन गर्ने र निष्कर्ष निकाल्ने काम पनि उनकै अगुवाइमा भएको छ।
नियन्डरथलको कुरा गरेपछि कुनै पनि सर्तमा नछुट्ने र सबभन्दा पहिले सम्झिने नाम उनैको हो। आधुनिक मानवको भन्दा केही मात्रामा ठूलो मस्तिष्क रहेको नियन्डरथल निकै जिज्ञासु र रचनात्मक रहेको पेबो, हिगम र रेख लगायत अग्रणी वैज्ञानिकहरूको मत छ। आफूलाई आजको स्थानमा ल्याएको पनि मानव जातिको इतिहास र यसको विकासक्रमको यात्राबारे अनेकन प्रश्न र जिज्ञासाले नै हो भनेर उनले आफ्नो पुस्तक 'नियन्डरथल म्यान- इन सर्च अफ लस्ट जिनोम' मा उल्लेख गरेका छन्। उनको व्यक्तिगत जीवन र खोजमा आधारित संस्मरणात्मक उक्त पुस्तक २०१३ मा प्रकाशित भएको थियो।
यो पुस्तकले आधुनिक मानव र नियन्डरथल, डेनिसोवनको अन्तरसम्बन्धबारे विस्तृत विवरण दिनुका साथै पेबोको व्यक्तिगत जीवनको पहेली पनि खुला तवरले पाठक समक्ष राखेको छ।
मानव इतिहासको पुनर्लेखन
लुका कवाली–एस्फोर्जाले जेनेटिक्स अध्ययनको जग आरम्भ गरेको मानिन्छ। त्यही जगबाट बनेको गहन अनुसन्धानको यो क्षेत्रलाई समृद्ध बनाउने अनेकन वैज्ञानिकको सूचीमा स्वान्टे पेबो पर्छन्, जसले जेनेटिक्सको परम्परागत अध्ययनलाई पलियोजेनेटिक्सको अध्ययन गर्ने सूत्रमा ढाले। नयाँ प्रविधि विकास गरे। अध्ययनको नयाँ सूत्रलाई आकार दिए र स्थापित गरे। उनी नै त्यस्ता एकल वैज्ञानिक हुन् जसले पलियो जेनोमिक्स (Paleo genomics) स्थापित गरे (Leonid Schneider - Svante Pӓӓbo : Nobel diseases before Nobel Prize, oct 4, 2022, For Better Science)।
पेबोबारे अर्का विख्यात आनुवांशिक वैज्ञानिक डेविड रेख (हार्वड विश्वविद्यालय, हार्वड मेडिकल स्कुलका प्राध्यापक/हार्वडस्थित रेख जेनोमिक प्रयोगशालाका निर्देशक) ले उल्लेख गरेका छन्– 'समग्र आनुवांशिक क्षेत्रमा प्राचीन डिएनए अध्ययन गर्ने जति पनि मुख्य प्रविधि विकास भएको छ, यो क्रान्तिको मुख्य काम स्वान्टे पेबो र म्याक्स प्लांकका उनका अनुसन्धान सहकर्मीहरूबाटै भएको हो। उनैले विकास गरेको प्रविधि र सूत्रहरूमा टेकेर अतिप्राचीन र तोडमरोड भइसकेका जीवाष्ममा रहेका अतिन्यून डिएनएको अध्ययन सम्भव भएको छ। मानव जातिभित्रका पुरातन मानव प्रजाति नियन्डरथल र डेनिसोवनको अध्ययन उनैले गरेका हुन् र उनैले विकसित गरेको प्रविधिका कारण सम्भव भएको हो (Reich-Who We Are and How We Got Here)।'
म्याक्स प्लांक इन्स्टिच्युट स्थापनाकै दिन पेबो निर्देशकका रूपमा जोडिएका थिए। म्याक्स प्लांक सोसाइटीले पहिले नै अनुसन्धानको जुन काममा हात हालेको थियो, त्यसमा सामेलहरूको निस्क्रियताले धक्का खाइसकेको थियो। म्याक्स प्लांकको जेनेटिक डिर्पाटमेन्टमा पेबोले आफ्नो रूचि, दक्षता र ज्ञानलाई यसरी समर्पित गरे, परिणाममा आज म्याक्स प्लांक मानव विकासक्रम, प्राचीन डिएनए अध्ययन क्षेत्रमा विश्वकै सर्वाधिक प्रतिष्ठित, अग्रणी संस्थाका रूपमा स्थापित मात्रै छैन, त्यहीँ गरेको अध्ययन, अनुसन्धानले पेबोलाई नोबेल पुरस्कार पनि दिलाएको छ।
पेबो तिनै व्यक्ति थिए जसले रेखलाई आफ्नै प्रयोगशाला खोल्न मद्दत गरेका थिए। सन् २०१३ मा पेबोको मद्दत लिएर हार्वर्डमा स्थापित रेखको प्राचीन डिएनए अध्ययन (यो क्षेत्रमा अमेरिकाको पहिलो प्रयोगशाला) गर्ने प्रयोगशलाले आनुवांशिक अध्ययनको पैमानामा क्रान्तिकारी छलाङ मात्र मारेको छैन, आनुवांशिक परीक्षणलाई अकल्पनीय तवरले सस्तो (यद्यपि यो अझैं निकै महँगो छ) बनाइदिएको छ।
आफ्ना सहकर्मी अप्लाइड म्याथम्याटिसिएन निक पट्रेसनसँग मिलेर रेखले आनुवांशिक अनुसन्धान, परीक्षण र विश्लेषणको द्रुत पद्धति स्थापित गरेका छन्। त्यसले २०१३ यता उनको प्रयोगशालाले गरेको प्राचीन डिएनए परीक्षणको संख्या त्यसअघि भएका र बाँकी प्रयोगशालाले गरेको परीक्षणभन्दा कयौं गुणा बढी छ।
नियन्डर उपत्यकामा भेटिएको हाम्रो 'आफन्त'
सुरूमा बेल्जियमबाट १८२९ मा उत्खनन गरिएको जीवाष्म निकै लामो समयसम्म सग्लो परिचयबाट वञ्चित भइरहेको थियो। पछि १८५६ मा जर्मनीको नियन्डर उपत्यकाबाट ४० हजार वर्ष पुरानो जीवाष्म उत्खनन गरियो। उक्त अतिप्राचीन जीवाष्मको डिएनए परीक्षण गर्दा त्यसको जिनोम होमो स्यापियन्सको जिनोमभन्दा फरक पाइयो। यो आधुनिक मानवभन्दा भिन्नै प्रजातिको भएको प्रस्ट भयो। नियन्डर उपत्यकामा प्राप्त भएकाले जीवाष्मको नाम होमो नियन्डरथलेन्सिस राखियो। पछि गरिएको डिएनए परीक्षणबाट पहिले बेल्जियममा प्राप्त जीवाष्म पनि नियन्डरथलकै भएको प्रमाणित भयो।
नियन्डरथलको जीवाष्म जर्मनीका अतिरिक्त दक्षिणपूर्वी एसियाबाट पनि प्राप्त भएको छ। यसको मष्तिस्कको आकार १२०० सी.सी. देखि १७५० सी.सी. सम्म र औसतमा १४५० सी.सी. रहेको पाइएको छ। यो होमो स्यापियन्स अर्थात् आधुनिक मानिसको भन्दा बढी हो।
आनुवांशिक अध्येता डेविड रेखले नियन्डरथलको पुर्खा र आधुनिक मानवको पुर्खा एकअर्काबाट आनुवांशिक तवरले विभाजित भएको ७ लाख ७० हजार वर्षदेखि ५ लाख ५० हजार वर्षबीचको समय भएको उल्लेख गरेको पाइन्छ (David Reich –Who We Are and How We Got Here : Ancient DNA and the New Science of the Human Past (Oxford University Press, 2018)।
टम हिगमले डेनिसोवन र नियन्डरथल करिब ४ लाख २० हजार वर्षपहिले एकापसबाट अलग भएको उनीहरूको जीनमा अन्तर्निहित समानता र प्राप्त पुराना अवशेषको अध्ययन आधारमा अनुमान गरिएको उल्लेख गरेका छन् (Tom Higham – The World Before Us, How Science is Revealing a New Story of Our Human Origins, 2021)।
स्वान्टे पेबोसहित अन्य वैज्ञानिकले आधुनिक मानव र नियन्डरथलको पुर्खा करिब ८ लाख वर्षअघिसम्म एउटै भएको उल्लेख गरेका छन्। उनका अनुसार करिब ७७०–५५० हजार वर्षअघितिर नियन्डरथल-डेनिसोवन र आधुनिक मानवको पुर्खाहरूको जनसंख्याको हाँगो एकअर्काबाट पृथकीकरणको बाटोतिर लाग्यो। नियन्डरथल र डेनिसोवनका पुर्खाले ४७०–३८० हजार वर्षअघिको समयमा पृथकीकरणको बाटो समाते। (Svante Pӓӓbo, David Reich, Richard E. Green – Genetic history of an archaic hominin group from Denisova cave in Siberia, Nature, 2010)।
नियन्डरथलसँग बढी निकट देखिएको प्राचीन मानव प्रजाति डेनिसोवन, जसको जनसंख्यासँग पनि आजको मानिसका विगतका पुर्खाको अन्तरसम्बन्ध जोडिएको पाइएको छ (Pӓӓbo and Meyer – A High Coverage Genome Sequence from an Archaic Denisovan individual, Nature, 2012)। तथ्याकंहरूले आजका मलानेसियन्सहरूको जिनोममा डेनिसोवनले ४ देखि ६ प्रतिशतसम्म आनुवांशिक योगदान गरेको देखाएको छ।
नियन्डरथलले आजका अफ्रिकी उपसहारावासी जनसंख्यामा भन्दा युरोसियाको जनसंख्यामा बढी आनुवांशिक विविधताहरू साझेदारी गरेको पेबोको अध्ययनले देखाएको छ। नियन्डरथलले आधुनिक मानवमा मात्र होइन, आधुनिक मानवले नियन्डरथलमा पनि आनुवांशिक योगदान गरेको पाइएको छ (Kuhlwilm et.al – Ancient Gene flow from early modern humans into Eastern Neanderthals, Nature, 2016)।
अध्ययनले देखाएअनुसार ५४ हजारदेखि ५० हजार वर्षअघि नै डेनिसोवनबाट होमो स्यापियन्समा पपुवा न्यूगिनी र मिलानेसियामा जीन प्रवाहित भइसकेको पेबोको अध्ययनले देखाएको छ। एक दशकअघिसम्म प्राग मानवशास्त्री-नृवंशशास्त्रीहरू आधुनिक मानव र नियन्डरथल या डेनिसोवन या अन्य प्रजातिका मानव समूहबीचको अन्तर प्रजनन सम्बन्ध या आपसी यौन सम्बन्धबाट सन्तान उत्पादन भएको कल्पना नै गर्थेनन्, विश्वास त दोस्रो कुरा भयो। तर, यताका दिनमा प्राप्त आनुवांशिक प्रमाण, आनुवांशिक अध्ययन क्षेत्रमा भएको उथलपुथलकारी विकासले आजको आधुनिक मानवमा ८ प्रतिशतसम्म डिएनए आजको दिनमा लोप भइसकेका अन्य मानव प्रजाति (डेनिसोवन, नियन्डरथल, हविट्स लगायत) बाट आएको तथ्य अब स्थापित भइसकेको छ।
नियन्डरथलभन्दा अलि पहिलेको तर नियन्डरथलभन्दा झन्डै सात हजार वर्ष पछिसम्म (२८ हजार वर्ष पुरानो) को जीवाष्म पाइएको मानव जातिको अर्को प्रजाति डेनिसोवन होमिनिनको अस्थि अवशेष रूसको अल्टाईस्थित डेनिसोवन गुफाबाट प्राप्त भएको छ। डेनिसोवनको जीवाष्म युरोपका अलावा दक्षिणपूर्वी एसियाका विभिन्न स्थानमा पनि पाइएको छ। आजको मानव जो ७० हजार वर्षअघि अफ्रिकाबाट बाहिर आएका थिए, उनीहरूमा नियन्डरथल र डेनिसोवन दुवैको डिएनएको उपस्थिति रहेको पाइएको छ।
म्याक्स प्लांकको ल्याबमा मच्चिएको 'डेनिसोवनको चित्कार'
रूस, चीन, मंगोलिया र काजकिस्तानको सिमानाको अल्टाई गुफामा अठारौं शताब्दीको आखिरीतिर डेनिस नामका भिक्षु थुप्रै वर्ष बसेका थिए। उनै बौद्ध भिक्षु डेनिस बसेको गुफा हुनाले उक्त गुफाको नाम डेनिसोवा राखिएको थियो। तर, त्यो गुफामा बस्ने पहिलो व्यक्ति उनी थिएनन्। उनी मानव प्रजातिले छाडेको पुरातात्विक अवशेषहरूमाथि बसेका थिए।
सन् २००८ मा गरिएको नियन्डरथलका अस्थिहरूको उत्खनन क्रममा फेला परेका अनगिन्ती जीवाष्महरू स–साना पोकामा अलग अलग राखेर विश्वविख्यात प्रयोगशालाहरूमा परीक्षणका लागि लगिएको थियो। त्यस्ता जीवाष्मका 'मास्टरपिस'हरू रूसी वैज्ञानिकहरूकैमा परीक्षणका लागि राख्ने मापदण्ड कडाइसाथ पछ्याइएको थियो। त्यसका प्रतिलिपि वा अरू टुक्राहरू तुलनात्मक र विश्वसनीय परीक्षणको मापदण्ड पूरा गर्न अन्य प्रयोगशालामा लगिन्थ्यो।
यसरी अल्टाई गुफाको विस्तृत उत्खननपछि त्यहाँबाट प्राप्त जीवाष्मको पोकोमा एउटा अत्यन्तै सानो हड्डीको टुक्रो (सात बाई पाँच एमएमको टुक्रो) स्वान्टे पेबोको जर्मनीस्थित म्याक्स प्लांकको प्रयोगशालामा आइपुगेको थियो। आइपुगेको थियो भन्दा पनि ल्याइएको थियो। किनकि पेबो आफैं उक्त उत्खननमा सामेल थिए।
परीक्षण क्रममा त्यो सानो टुक्रा जीवाष्म ४० हजार वर्ष पुरानो रहेको पत्ता लाग्यो। प्रयोगशालामा नियमित परीक्षणहरू चलिरहन्थे। साइबेरियाको अल्टाईस्थित डेनिसोवा गुफाबाट आएको अन्य जीवाष्मको पनि परीक्षण चलिरहेकै थियो।
यही सिलसिलामा पेबो म्याक्स प्लांकको प्रयोगशालाभन्दा केही दुरीमा आयोजित 'ल्याब्रेटरी कन्फ्रेन्स' मा बोल्दै थिए। उनलाई प्रयोगशालामा कार्यरत युवा पोस्ट–डक्टरल वैज्ञानिक जोहान्नेस क्रउजले फोन गरे।
क्रउजले पेबोलाई भने– 'उभिँदै फोनमा बोलिरहनुभएको छ भने मेरो सुझाव छ, तपाईं कहीँ आड लिएर बस्नुस्। किनकि म तपाईंलाई एउटा साँच्चै नै विष्फोटक खबर सुनाउँदै छु। सिमोनी फू र मैले हाम्रो प्रयोगशालामा गरिरहेको अनुसन्धानले साइबेरियाबाट ल्याइएको त्यो सानो हड्डीको टुक्राको 'एमटिडिएन' आजसम्मको वैज्ञानिक अध्ययनको दायराभित्र आएका मानव प्रजातिसँग मेल खाएन। म्याक्स प्लांकको प्रयोगशालाभित्र एउटा भिन्नै मानव प्रजातिको जिनोम सिक्वेन्सिङ भइरहेकोमा कुनै सन्देह छैन।'
सुनेर पेबो सन्न भए। उत्तिकै उत्तेजित र उत्साहित पनि।
यसअघि कहिल्यै खोजको दायराभित्र नआएको नयाँ प्रजातिको मानव अस्तित्वको ब्लुप्रिन्ट आफ्नो प्रयोगशालाभित्र परीक्षण भइरहेको खबरले उनलाई उत्तेजित र उत्साहित नबनाउनुपर्ने कारणै थिएन। विज्ञानको जगतमा यो एउटा अभूतपूर्व र असाधारण संयोग थियो।
पेबो प्रयोगशाला फर्किए। रिपोर्टहरू हेरे। जेनेटिक सिक्वेन्सिङका सबै सिक्वेन्स हेरे। त्यो उत्खनन, अनुसन्धान र परीक्षण चलिरहेको नियन्डरथलको जीवाष्म (फोसिल) थिएन। लेइप्जिगस्थित म्याक्स प्लांकको प्रयोगशाला एकसाथ चर्को चित्कारले गुञ्जियो। त्यो चित्कार थियो– नयाँ मानव प्रजाति डेनिसोवनको उद्घोषको चित्कार। नयाँ मानव प्रजातिको उद्घोषणमा खुसीले रमाएका पेबो, क्रउज, फूसहित म्याक्स प्लांकको जेनेटिक प्रयोगशालामा कार्यरत टिमको चित्कार।
अतिसानो सात बाई पाँच एमएमको जीवाष्ममा बदलिएको अतिप्राचीन हड्डीको टुक्राले अन्ततः मानव प्रजातिको एउटा भिन्नै पुरानो सदस्यको रहस्योद्घाटन गर्दा मानव समाजको विकासक्रममा निरन्तर खोज, अनुसन्धान, परीक्षण गरिरहेको वैज्ञानिकहरूको समूहले आफ्नो प्रयोगशाला कक्ष खुसीको चित्कारले गुञ्जाउनु उचितै पनि थियो। वैज्ञानिक जगतमा यस्तो बिरलै हुन्छ, जसलाई एउटा अलग्गै प्रजातिको मानवको रहस्योद्घाटन गर्ने अवसर प्राप्त होस्।
जेनेटिक प्रयोगशालामा गरिएको परीक्षणमा उक्त जीवाष्म नियन्डरथल र होमो स्यापियन्सको जिनोमसँग मेल नखाएपछि पेबोले आरम्भमा त्यसलाई होमो इरेक्टसको जीवाष्म हुनसक्ने ठाने। विज्ञान जगतलाई त्यस बखतसम्म भिन्दै मानव प्रजाति डेनिसोवनबारे कुनै जानकारी थिएन। त्यसबारे जानकारी नरहेकैले पेबोले प्रसिद्ध जर्नल 'नेचर' मा २०१० मा 'The Complete mtDNA genome of an Unknown Hominin from Southern Siberia' शीर्षकमा अन्य सहकर्मी अनुसन्धाताहरूसँग मिलेर शोधपत्र प्रकाशित गरेका थिए।
पछिबाट पेबोको अनुसन्धानले उक्त जीवाष्मको डिएनए अन्य परिचित मानव प्रजाति होमो इरेक्टस, होमो नियन्डरथलेन्सिस, होमो स्यापियन्सको भन्दा भिन्न रहेको प्रमाणित गर्यो। अन्य परिचित मानव प्रजातिसँग पनि यसको जिनोमले मिलाप कायम गर्न सकेन।
यससम्बन्धी रिपोर्ट २०१० को 'नेचर' मा प्रकाशित भएपछि त्यसले वैज्ञानिक जगतमा सनसनी मच्चायो। त्यसरी परीक्षण गरिएको भिन्दै प्रजातिको जीवाष्मको अलग नाम राखिएको थिएन। जसलाई त्यसबखत पेबो र अनुसन्धाताहरूले एक्स–वुमन (X-Women) को परिचय दिएका थिए। किनकि उक्त अस्थि १३.५ वर्षकी महिलाको थियो। पछि डेनिसोवा गुफाबाट प्राप्त भएकाले उक्त अज्ञात प्रजातिको जीवाष्मलाई डेनिसोवनका रूपमा परिचय दिएको थियो पेबो र उनको समूहले।
अल्टाईको डेनिसोवामा थप उत्खननहरू भए। थप अस्थिहरू विश्वका अनेकन पलियोजेनेटिक प्रयोगशालाहरूमा पुगे। पेबोले त्यसरी प्राप्त भएका तर तोडमरोड अवस्थामा रहेका प्राचीन अस्थिहरू र त्यस्ता प्राचीन अस्थिमा रहेका अतिन्यून डिएनएहरूको अध्ययन गर्न त्यस्ता प्राचीन जीवाष्मबाट न्यूक्लिअर डिएनए प्राप्त गर्ने (यो न्यूक्लिअर डिएनए अध्ययन गर्ने प्रविधि भने उनले आविष्कार गरेको होइन) र त्यसको अध्ययन गर्ने पद्धति विकास गरे।
पछिबाट यो अध्ययन, अनुसन्धानमा अर्का हार्वड मेडिकल स्कूल/होवार्ड ह्यूग्स मेडिसिन इन्स्टिच्युटका प्राध्यापक डेविड रेख, हार्वडस्थित रेख जेनेटिक प्रयोगशालाका निर्देशक निक पट्रसन (यी दुवै पेबोसँग नियन्डरथल जिनोम प्रोजेक्टमा जोडिएर काम गरिरहेकै थिए) जस्ता विश्वविख्यात पलियोजेनेटिसिस्टहरू जोडिए।
यही समूहमा मिसिए अक्सफोर्ड विश्वविद्यालयका पुरातत्वका प्राध्यापक एवं अक्सफोर्ड रेडियो कार्बन एस्सीलरेटर युनिटका निर्देशक विश्वविख्यात रेडियो कार्बनडेटिङ विज्ञ टम हिगम पनि।
यसरी निरन्तर चलिरहेको पेबोसहितका प्राग-आनुवांशिक वैज्ञानिकहरूको अनुसन्धानले कसरी हामो स्यापियन्ससँग नियन्डरथल र डेनिसोवनको आनुवांशिक सम्बन्ध रहेको थियो भन्ने तथ्यहरू एमटिडिएनए र 'न्यूक्लिअर डिएनए' को अध्ययनमार्फत बाहिर ल्यायो।
समयक्रममा भएको डेनिसोवन–नियन्डरथल, नियन्डरथल–होमो स्यापियन्स, डेनिसोवन–होमो स्यापियन्स लगायतका मानव प्रजातिबीच भएको आपसी यौन समागम र सन्तान उत्पादनको प्रक्रियाले आजको होमो स्यापियन्स (अफ्रिकन ओरिजिनल पपुलेसनमा बाहेक) आनुवांशिक तवरले विशुद्ध होमो स्यापियन्स मात्रै छैन। बरू यसले आफूभित्रै नियन्डरथल, डेनिसोवन लगायत अन्य प्रजातिका जीन पनि बोकिरहेको छ।
मानिसको भन्दा ठूलो मस्तिष्क भएको र जिज्ञासा र प्रश्नले भरिएको नियन्डरथलले आधुनिक मानवमा आनुवांशिक उत्तराधिकार मात्र होइन, आफूले समयक्रममा सिकेको वा संकलन गरेको ज्ञान र चेतनाको उत्तराधिकारसमेत हस्तान्तरण गरेको पाइन्छ। कतिसम्म भने, नियन्डरथलले ढुंगे हतियारको कारखाना नै निर्माण गरेको थियो। करिब ७२ हजार वर्षअघि नियन्डरथलले सिरियाको उम्-एल-त्लेल (Umm-el-T lel) मा विटुमिनका साना गोलाहरू ओसारेको पाइएको छ। नियन्डरथलले रक पेन्टिङ र अमूर्त चित्र बनाएको पनि पाइएको छ। उसो त मानव वंशले २५ लाख वर्ष पहिल्यै ढुंगे हतियार प्रयोगमा ल्याइसकेको थियो (Jared Diamond – Guns, Germs and Steels : The Fates of Human Societies,1999)।
आधुनिक मानव र नियन्डरथलबीचको प्रेम र यौन
आधुनिक मानव भनिने होमो स्यापियन्स तीन लाख पच्चीस हजार वर्षजति अघि अफ्रिकामा देखापरेको पाइन्छ। हालै कतारमा सम्पन्न विश्वकप फुटबलमा चामत्कारिक प्रदर्शन गरेको मोरक्कोको जेबेल इरहौदमा आजसम्मकै सबभन्दा पुरानो जीवाष्म प्राप्त भएको छ, होमो स्यापियन्स (आधुनिक मानव) को। उक्त जीवाष्म तीन लाख पच्चीस हजार (३१५+–३४ हजार) वर्ष पुरानो रहेको पाइएको छ।
यसको (होमो स्यापियन्स) चिनिएको सबभन्दा नजिकको नातेदार नियन्डरथल अफ्रिकाबाट बाहिरिएर चार लाखदेखि तीस हजार वर्षअघिसम्म युरोप, पश्चिम एसियामा विस्तारित भयो। मोरक्को हुँदै अफ्रिकामा विस्तारित होमो स्यापियन्स अनेकन शृंखलामा अफ्रिकाबाट बाहिरियो। तर अफ्रिका निष्क्रमणका अघिल्ला शृंखलामा बाहिरिएका आधुनिक मानवले आफ्नो 'ब्लुप्रिन्ट' नयॉ पुस्तामा हस्तान्तरित गर्दै अफ्रिकाबाहिर जोगाउन सकेन। अनेकन प्राकृतिक, प्राविधिक, भौतिक परिस्थितिको प्रतिकूलताले त्यसरी अफ्रिकाबाट आएकाहरूको सन्तान–दरसन्तानको अस्तित्व अफ्रिकाबाहिर टिकिरहन सकेन।
लगभग सत्तरी हजार वर्षजतिअघि (५५+–८५ हजार) अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको आधुनिक मानव (यही हुलमा अफ्रिकाबाट निस्किएको आधुनिक मानवको मात्रै आज मौजुद जनसंख्यामा 'ब्लुप्रिन्ट' रहेको पाइन्छ) एसिया आइपुग्यो। उनीहरूले हालको एसिया आइपुगेर पहिलो पदचाप कोरेको भूमि सम्भवत: साउदी, कतार नै थियो।
यसपटकको विश्वकपमा मोरक्कोबाट कतार आएर इतिहास कायम गरेको मोरक्कन फुटबल टिमको प्रदर्शन हेरिरहँदा मेरो मनमा अफ्रिकाबाट निर्णायक आप्रवासनमा निस्किएको आधुनिक मानव समूहले कतार आइपुगेर आफ्नो पाइतालाको ऐतिहासिक डोब लगाएको कल्पना वेगले दौडिरहेको थियो। मोरक्कोमा पहिलोपटक देखापरेर त्यहाँबाट विस्तारित भएर आप्रवासनको दक्षिणी मार्ग पछ्याउँदै साउदी, कतार आइपुगेको आधुनिक मानवको इतिहास पढेको हरकोहीको मनमा मोरक्कोबाट आएर कतारमा विश्वको ध्यान तान्दै फुटबलमा इतिहास कायम गरेको मोरक्कन टिमले मन खिच्नु स्वाभाविक पनि हो।
तिनै होमो स्यापियन्स पहिलोपटक करिब २ लाख २० हजार वर्षपहिले अफ्रिकाबाट निस्किएर एसिया हुँदै युरोप, अस्ट्रेलिया र अमेरिकी भूमिमा मानव जनसंख्याको आबादी भर्न फिँजारियो। होमो स्यापियन्स अफ्रिकाबाट निस्किएर बाँकी संसारको यात्रामा निस्कनुभन्दा धेरै पहिले यही मानव वंशकै होमो इरेक्टस अफ्रिकाबाट निस्किएर बाहिरी दुनियाँमा प्रवेश गर्ने पहिलो मानव प्रजाति बनिसकेको थियो। यसको अवशेष एसिया, युरोप र अफ्रिकामा पाइएको छ। एसियाको हालको चीनमा पेकिंग मानव भनेर चिनिने मानव प्रजाति यही होमो इरेक्टस थियो।
आधुनिक मानिस एकाएक आजको स्वरूपमा पैदा भएको होइन। न यो अन्य प्रजातिको क्रमिक विकासको बाटो पार नगरी काल्पनिक लोक (युटोपिया) बाट एकाएक प्रादुर्भाव भएको बिल्कुल नयाँ र भिन्न प्रजाति हो। यसको अवस्था यसअघिका मानव प्रजातिभन्दा भिन्न छ। भिन्न नभए यसलाई फरक प्रजातिका रूपमा उल्लेख गर्नुपर्ने आवश्यकतै हुन्थेन। यसको सोच्ने तरिका, चेतनाको अवस्था, मस्तिष्कको आकार (आधुनिक मानव मस्तिष्कको आकार १२०० देखि १४०० क्युबिक सेन्टिमिटर छ) र शरीरको बनावट पृथक छ।
आधुनिक मानवले आफ्नो विकासक्रममा यसअघिका मानव वंशको आनुवंशिता मात्र होइन, क्रमिक विकासको पनि उत्तराधिकार ग्रहण गरिरहेको छ। निरन्तरताको आनुवंशिता मात्र होइन, परस्पर सम्भोगबाट सन्तान उत्पादन प्रक्रियामा सामेल भएर आधुनिक मानवले आफ्नो समयमा मौजुद अन्य मानव प्रजातिबाट प्राप्त सेक्स क्रोमोजोमहरूको समेत उत्तराधिकार ग्रहण गरेको छ।
आजभन्दा ३० हजार वर्ष अघिसम्म पृथ्वीमा पाँच वा सोभन्दा बढी भिन्न मानव प्रजातिहरू थिए। होमो इरेक्टस, नियन्डरथल, डेनिसोवन, होब्बिट्स, होमो लुजोनेन्सिस, होमो स्यापियन्स प्रस्ट चिनिएकै र तिनको उपस्थितिको प्रमाण पाइएकै प्रजाति भए। युरोप, लेवान्त, मध्य/पूर्वी एसिया र अल्टाई पर्वतमालामा नियन्डरथल। युरोसिया, दक्षिणपूर्वी एसिया, दक्षिण एसियामा डेनिसोवन, इन्डोनेसियामा होब्बिट्स (होमो फ्लोरोसियन्सिस) र फिलिपिन्सको लुजोन्समा भेटिएको होमो लुजोनेन्सिस।
आधुनिक मानवले विकासक्रमको सवा तीन लाख वर्षबीचको समयमा आफ्नै जाति अर्थात् होमो स्यापियन्सकै गणभित्र मात्र होइन, यो बाहिरको अन्य मानव प्रजातिसँग पनि संसर्ग गरेको र सन्तान उत्पादन गरेको प्रसंग संकेतमा माथि उल्लेख गरियो। सन् २०१० सम्म आधुनिक मानवले आफ्नो प्रजातिभन्दा बाहिरको अर्को प्रजातिसँग समेत यौन समागम गरेर सन्तान जन्माएको कुरा कल्पनाभन्दा बाहिरको मानिन्थ्यो।
सन् २०१० यता भने विकासवादी नृविज्ञानको खोज र आनुवांशिक अध्ययनमा लागेका वैज्ञानिकहरूले प्रमाणित गरिदिएका छन्, आधुनिक मानव अर्थात् होमो स्यापियन्स र होमो नियन्डरथलेन्सिस, डेनिसोवन होमिनिनबीच यौन समागम भएर सन्तान उत्पादन भएको छ।
निरन्तरको आनुवांशिक परीक्षणबाट प्राप्त तथ्यका आधारमा यस्तो विवरण सार्वजनिक गर्ने वैज्ञानिक 'म्याक्स प्लाङ्क इन्स्टिच्युट फर इभोलुसनरी एन्थ्रोपोलोजीका उनै स्वान्टे पेबो र उनको समूहमा कार्यरत वैज्ञानिकहरू थिए। प्राग-आनुवांशिक वैज्ञानिक पेबो र उनको टिमले यो विवरण सार्वजनिक गरेका बेला वैज्ञानिक दुनियाँमै हलचल मच्चिएको थियो। पेबो र टिमले गरेको अनुसन्धानको निचोडमा आजको गैरअफ्रिकी होमो स्यापियन्सहरू सबैमा करिब १ देखि ४ प्रतिशत नियन्डरथलको जीन पाइएको छ। नियन्डरथल र आधुनिक मानवबीचको सम्मिश्रण ५४ हजारदेखि ४९ हजार वर्षबीचमा भएको पेबोको अध्ययनले देखाएको छ।
२०१३ पछि मानव विकासक्रमको अध्ययनमा अर्को सनसनीपूर्ण नतिजाले स्थान पायो। नियन्डरथलको आनुवांशिक उत्तराधिकार आधुनिक मानवले ग्रहण गरिरहेको नतिजाले हलचल मच्चाएको खोजकर्ता र अन्वेषकहरूलाई आधुनिक मानवले डेनिसोवनसँग समेत यौन समागम गरेको र सन्तान उत्पादन गरेको विवरणले उसैगरी चकित बनायो। यो आश्चर्यजनक खोज परिणाम पनि उनै स्वान्टे पेबोको थियो।
मलेसियाली, अस्ट्रेलियन आदिवासी, तिब्बतियन, दक्षिण एसियालीहरूमा ३ देखि ६ प्रतिशत डेनिसोवन जीन पाइन्छ। यसरी यो जैविक उत्तराधिकारका कारण ती सबै मानव समूहलाई आधुनिक मानवको पूर्वज मानिएको छ। उसो त पूर्वज भन्नुभन्दा मानव विकासक्रमका रक्त सम्बन्धका भाइबहिनी, भतिजाभतिजी भनिनु उपयुक्त हुने देखिन्छ (Tony Joseph – Early Indians : The Story Of Our Ancestors and Where We Came From (Juggernaut Books, 2018)।
आधुनिक मानवको शरीरमा मात्रै आजको दिनमा विलुप्त भएको डेनिसोवन, नियन्डरथलजस्ता प्रजातिको आनुवांशिता मिश्रण भएर रहेको होइन, डेनिसोवनको जीवाष्ममा समेत आधुनिक मानव र नियन्डरथलको डिएनए मिश्रण भएको पाइएको पेबोको प्रचाीन डिएनए अनुसन्धानको निष्कर्ष छ।
पहिले युरोपियनहरूमा मात्रै नियन्डरथलको डिएनए रहेको शास्त्रीय धारणा थियो। युरोपेली अनुसन्धाताहरूले युरोपेली जनसंख्याका पूर्वजका रूपमा नियन्डरथललाई औंल्याउने गर्थे। अर्थात् युरोपेली जनसंख्यालाई नियन्डरथलका सन्ततिका रूपमा चिनाउने ढोल निकै लामो समयसम्म बजायो युरोपले, जबसम्म स्वान्टे पेबोको अध्ययनले तथ्यहरूको जमिनमा उभिएर त्यसलाई आत्मरतिका रूपमा प्रमाणित गरेन।
पेबोको अध्ययनले युरोपेलीहरूले भन्दा दक्षिणपूर्वी र पूर्वी एसियालीहरूले बढी मात्रामा नियन्डरथलको डिएनएको विरासत बोकिरहेको पाइएको प्रमाणित गरेको छ। दक्षिण तथा दक्षिणपूर्वी एसियालीहरूमा ५० प्रतिशतसम्म नियन्डरथल डिएनएको उत्तराधिकार रहेको र १६ प्रतिशत युरोपेली जनसंख्यामा मात्रै नियन्डरथल डिएनए रहेको पाइएको छ।
डेनिसोवनको जीन युरो-एसियाली, दक्षिणपूर्वी एसियाली, दक्षिण एसियालीमा पाइएको छ। तिब्बतको गन्सुस्थित सिएट्टीको वैशिया कार्स्ट गुफामा १ लाख ६० हजार वर्ष पुरानो डेनिसोवनको जीवाष्म प्राप्त भएको छ। डेनिसोवनबाट प्राप्त भएको इपिएएस-१ जीनका कारण तिब्बतियन पठार र आसपासका हिमाली क्षेत्रमा बसोबास गर्नेहरूले त्यहाँ बसेर सहजै श्वासप्रश्वास गर्न सकेको जानकारी उनै पेबोको अनुसन्धानमार्फत् प्राप्त भएको छ।
नियन्डरथलको जीनले विभिन्न संक्रमणसम्बन्धित प्रतिरक्षा क्षमतालाई प्रभावित पारेको छ। यस अतिरिक्त नियन्डरथल डिएनएले आजको मानवको आनुवांशितामा गहिरो प्रभाव छाडेको र त्यसको समेत योगमा साँचो अर्थमा हामीलाई आधुनिक मानवको परिभाषाभित्र पर्ने योग्यता प्राप्त भएको पेबोको अध्ययनको निचोड छ (Ken Doyle – Neanderthal DNA and Modern Humans, Promega Connections, oct 20, 2022)।
अन्य मानव प्रजातिबाट प्राप्त जीनको असर
यी भिन्न प्रजातिका मानव समूहबीच भएको जीन आदानप्रदानले आजका आधुनिक मानवको प्रतिरक्षा प्रणालीमा पारेकोे महत्वपूर्ण प्रभावबारे पनि पेबोको अनुसन्धानले उजागर गरेको छ।
सन् २०२० मा पेबो र उनका सहकर्मी हुगो जेबर्गले गरेको अनुसन्धानले नियन्डरथलबाट बढी मात्रामा जेनेटिक उत्तराधिकार ग्रहण गरेका समूहमा कोभिड १९ को गम्भीर संक्रमणको मात्रा बढी देखिएको छ। प्रसिद्ध विज्ञान जर्नल 'नेचर' मा शोधपत्र प्रकाशित गर्दै पेबो र जेबर्गले उल्लेख गरेका छन् – विश्वभर महामारी मच्चाएको जटिल कोरोनाभाइरसको कारकका रूपमा नियन्डरथलबाट आधुनिक मानवमा आएको जीनको पनि भूमिका देखिन्छ। क्रोमोजोम ३ मा सक्रिय रहेको ५० केबीको जीन सेग्मेन्ट (जसले ६ वटा जीन वहन गरिरहेको हुन्छ) ले कोरोनाभाइरसले समातेको व्यक्तिको श्वासप्रश्वास प्रणाली विफल बनाई बिरामीमा गम्भीर अवस्था पैदा गरेको र मानवीय क्षतिको अवस्था सिर्जना भएको पाइएको छ।
यही जीन फ्याक्टरका कारण श्वासप्रश्वासको गम्भीर समस्या पैदा भएको र कोभिडका संक्रमितहरूको चाप अस्पतालमा परेको पनि पेबो र जेबर्गको अध्ययनले सार्वजनिक गरेको छ।
पेबोलाई नोबेल: आश्चर्यको उत्कर्ष
धेरै विज्ञ तथा जानकारहरूलाई पेबोको कार्यले नोबेल दिलाउला भन्नेमा संशय थियो। किनकि धेरैलाई पेबोको कार्य नोबेल पुरस्कारको दायराभित्र पर्थेन भन्ने नै लाग्थ्यो। तर उनको खोजले कसरी अनेकन प्रजातिका मानव पुर्खाहरूबाट प्राप्त जीनले आजको मानिसको स्वास्थ्यमा प्रभाव पारिरहेको छ र योगदान गरिरहेको छ भन्ने जानकारी दिएको छ। उक्त जानकारीले आजका मानवमा पैदा भइरहेका रोगहरूबारे ज्ञानको नयाँ ढोका खोलेको छ भन्ने नृवंशशास्त्री जोन ह्वाकले गरेको टिप्पणीले पेबोले किन मेडिसिनतर्फको नोबेल पाए भन्ने जिज्ञासा शान्त पार्छ।
आधारहीन जात व्यवस्था र रक्तशुद्धता
ग्रिसको मनि प्रायद्वीपको पिलोपोलेसबाट सन् १९७० मा उत्खनन गरिएको र सन् २०१९ मा पुन: अध्ययन गरिएको जीवाष्म २ लाख १० हजार वर्ष पुरानो रहेको पाइएको छ। त्यहीँबाट अर्को १ लाख ७० हजार वर्ष पुरानो जीवाष्म पनि प्राप्त भएको छ। ती दुई भिन्नाभिन्नै प्रजातिका मानवको जीवाष्म भएको प्रमाणित भएको छ। पहिलो आधुनिक मानवको र दोस्रो निण्डरथलको। यसरी एकै स्थानमा भिन्न समयकालमा दुई मानव प्रजातिको उपस्थिति रहेको पाइएको छ।
निर्णायक बसाइसराइ प्रक्रियाअन्तर्गत करिब ७० हजार वर्षअघि आधुनिक मानव अफ्रिकाबाट बाहिर निस्केर मध्यएसिया/मध्यपूर्व आइपुग्यो र त्यहाँबाट बाँकी संसारभर फैलियो। युरेसियाको विशाल क्षेत्र (अरबी मैदान, मध्य/पूर्वी एसिया र युरोप) मा दसौं हजार वर्षसम्म नियन्डरथल र आधुनिक मानव भनिने होमो स्यापियन्स एकसाथ सम्पर्क, सम्बन्धमा रहे। त्यो लगातारको सम्पर्कले उनीहरूबीच यौन समागमसम्मको सम्बन्ध विकास गर्यो।
होमो स्यापियन्स र नियन्डरथलसँगको यौन समागमबाट सन्तान उत्पादन भयो। ४५ हजार वर्षअघि आधुनिक मानवले पूर्वी एसियामा आएर डेनिसोवन र हबिट्ससँगको यौन समागबाट सन्तान उत्पादन गरे। आरम्भिक 'अफ्रिकन ओरिजिनल पपुलेसन' बाहेक आजको होमो स्यापियन्सले १ देखि ४ प्रतिशतसम्म नियन्डरथलको आनुवांशिक उत्तराधिकार बोकिरहेको छ भन्ने तथ्य स्वान्टे पेबोको अध्ययनले देखाएको छ। यसरी आजको अफ्रिकाबाहिरका आदिवासी होमो स्यापियन्सहरू शुद्ध होमो स्यापियन्स होइनन्। कमसेकम होमो स्यापियन्स, नियन्डरथल, डेनिसोवनहरूका मिश्रण हुन्।
इन्डोनेसिया र फिलिपिन्सका होमो स्यापियन्सहरू हब्बिट्स र होमो लुजोनेन्सिसका मिश्रण हुन् भने कतिपयले चिनियाँ, कोरियाली र जापानी जनसंख्यालाई होमो स्यापियन्स र होमो इरेक्टसबीचको यौन समागमबाट निर्माण भएको ठिमाहा जनसंख्याका रूपमा समेत उल्लेख गर्ने गरेको पाइन्छ (Harari, ibid)।
अफ्रिकाबाट बाहिरिएको प्रारम्भिक आप्रवासीहरूको समूहले दुईवटा मार्ग समातेर एसिया आइपुगेको अध्येताहरूले उल्लेख गरेको पाइन्छ। अफ्रिकाबाट इजिप्ट हुँदै लेवान्तको मार्ग, जसलाई अफ्रिकाबाट बहिर्गमित आधुनिक मानवले सोझ्याएको एसियातिरको उत्तरी मार्ग भनिन्छ। यही उत्तरी बाटो समात्दै आधुनिक मानवले अरबी प्रायद्वीपसम्मको बाटो नाप्यो र मध्य एसिया आइपुग्यो।
अर्को अफ्रिकाबाट एसिया ताक्दै अघि बढ्ने इरिट्रिया– बब एल–मण्डेब हुँदै यमन, साउदी अरेबिया छिर्ने दक्षिणको मार्ग। बब एल–मण्डेबले यमन र इथियोपियालाई जोड्छ पनि। दक्षिणी मार्गबाट आउँदा रेड सीको समुद्री मार्ग पार गरेर आउनुपर्थ्यो। यस क्रममा हजारौं हजार वर्षमा गरिएको एसिया छिर्ने प्रयासका क्रममा मानव पुर्खाको विशाल संख्याले जीवनाहुति दिएको थियो, यो मार्गको रेखाचित्र कोर्न। हुनसक्छ प्रतिकूल मौसम, खाद्यान्न समस्या, बाटोको जटिलतासँग जुध्न नसकेर या त्यसका बाबजुद एसिया छिर्ने क्रममा शक्तिशाली भूकम्पमा परेर मानिसको हजारौं हजार या लाखौं लाख संख्याले यही मार्गबाट अघि बढ्दै बल एल–मण्डेब पार गर्ने क्रममा जीवन निखारेको थियो।
त्यसैले बल एल–मण्डेबलाई 'आँशुको द्वार' पनि भन्ने गरिन्छ। यसलाई मानव जातिको दुखान्तको एउटा साक्षी मानिन्छ। सचेतनाको प्रतिक मानिन्छ।
अफ्रिकाबाट ७० हजार वर्षअघिको निर्णायक बसाइसराइको क्रममा निस्किएका आधुनिक मानवका लागि साउदी अरेबिया नै त्यस्तो पहिलो स्थान हो, जहाँ सम्भवतः आधुनिक मानवको नियन्डरथलसँग पहिलो भेट भयो। आपसमा समागम भयो। आनुवांशिक मार्ग (चिह्न) छाड्दै अघि बढ्यो (Tony Joseph, ibid)।
भिन्न कालखण्डमा भिन्न मार्गहरू पछ्याउँदै होमो स्यापियन्सको भिन्न समूह आजभन्दा लगभग ४८ हजार वर्षअघि आजको दक्षिण एसियाली भूगोलमा आइपुग्यो। आज जति पनि आधुनिक मानव (होमो स्यापियन्स) का समूहहरू दक्षिण एसियामा मौजुद छन्, ती सबै करिब सत्तरी हजार वर्षअघि अफ्रिकाबाट भएको निर्णायक आप्रवासनका क्रममा निस्किएको मानव समूहका उत्तराधिकारी हुन्।
यहाँ आएपछि उनीहरूबीच अनेकनपटक रक्तमिश्रण भयो। आधुनिक मानव दक्षिण एसिया आइपुग्नुअघि नै आधुनिक मानवको नियन्डरथल र डेनिसोवनसँग रक्तमिश्रण भइसकेको थियो। जति समूह दक्षिण एसिया आइपुगेका थिए, उनीहरू विशुद्ध आधुनिक मानव मात्रै थिएनन्, आनुवांशिक रूपमा। तत्कालीन भारतीय उपमहाद्वीप आइपुगेपछि त अनेकन समूहबीच अनेकनपटक रक्तमिश्रण (सेक्स क्रोमोजोमको मिश्रण) चलिरह्यो। यहाँको भूगोलमा आज मौजुद जनसंख्यामध्ये सबभन्दा कम रक्तमिश्रण रहेको समूह अण्डमानका ओन्ज, सेन्टिनेल लगायत केही नगन्य समूह मात्र छन्। लगभग तीस हजार वर्षअघि अण्डमान पुगेका उनीहरूमा अन्य समूहको थप रक्तमिश्रण हुन नपाएको आनुवांशिक अध्ययनहरूले देखाएको छ।
दक्षिण एसियाली समाजमा व्याप्त 'चोखो रगत' को भाष्यमा आधारित जात प्रथालाई स्वान्टे पेबोको खोज, अनुसन्धानबाट प्राप्त तथ्य सिरानी हालेर हेर्दा आधारहीन र मनचिन्ते सामाजिक कुप्रथाका रूपमा नंग्याइदिन्छ। किनकि यहाँको विशालतम जनसंख्याले आफूमा डेनिसोवन र नियन्डरथलसँग मिसिएको डिएनए बोकिबसेको छ। आनुवांशिक वैज्ञानिक डेविड रेख र निक पट्रसनले गरेको दक्षिण एसियाली (खासगरि भारतीय) जनसंख्याको आनुवांशिक अध्ययनले यहाँको समाजमा रहेको 'शुद्ध रगत' र 'बिटुलो रगत' को भाष्यमा टिकेको जातव्यवस्था मनचिन्ते र सामाजिक मनोरोगका रूपमा संक्रमित भएको किटान गर्न सकिन्छ।
आधुनिक मानव अफ्रिकाबाट निस्किएर एसिया आइवरी यहाँबाट बाँकी विश्वमा फैलिने क्रममा अनेकनपटक आन्तरिक बसाइसराइ चलिरह्यो। त्यसको परिणाममा अलग भूगोलका मानिसहरू अनेकनपटक एकापसमा मिसमास हुने क्रम पनि निरन्तर जारी रह्यो। त्यो मिसावट अलग अलग व्यक्तिहरूको सग्लो सम्मिलनका स्तरमा मात्रै सीमित रहेन। तिनीहरूबीच आपसी प्रणय सम्बन्ध कायम भयो। यौन सम्बन्धको परिणाममा सन्तान उत्पादन पनि जारी रह्यो। यो एकपटक होइन, हजारौं वर्षसम्म निरन्तर जारी रह्यो। यसले एकापसमा आनुवांशिक उत्तराधिकार साटफेर र मिसावट चलिरह्यो।
कुनै पनि भौगोलिक एकाईको या जातीय भनिने समूहको जनसंख्यामा रहेको आनुवंशिता उक्त भूगोलको मात्रै या उक्त जातीय समूहको घेराभित्रको मात्रै विशुद्ध र सग्लो आनुवंशिताका रूपमा रहन सकेन। आज हामी जातीय हिसाबमा शुद्धता र छुवाछुतको व्यवहार गर्नेहरू तिनै छौं जो आनुवांशिक हिसाबमा तिनै छुवाछुत गरिएका, आफूभन्दा अशुद्ध भनिएका, तल्लो जातका भनिएका समूहको समेत आनुवांशिता घालमेल भएको शरीर बोकेर उभिएका छौं।
हामी पानीमा, भोजनमा, मन्दिरमा, धारामा, बिहेवारीमा, शरीरको बाहिरी कायामा छोइछितो बारिरहेका छौं तर शरीरभित्र भने तिनै छोइछितो गरिएका समेतको आनुवांशिता बोकेर। यो आनुवांशिता एकापसमा सम्मिश्रण हुने भनेको निकट विगत या दूर अतीतको समयकालमा अनेकनपटकका यौन समागमले भएको सन्तान उत्पादन क्रममा एकापसमा हस्तान्तरण गरिएको सेक्स क्रोमोजोमको परिणाम हो।
हामी आफैंले बोकेको या आफ्नो शरीरमा घालमेल भएको तिनै समूहको डिएनए ग्रहण गरेर तिनै मानिसमाथि छुवाछुत र भेदभाव गरिरहेका छौं भने योभन्दा हास्यास्पद के हुन सक्ला!
माथि नै उल्लेख गरिसकियो, आजको होमो स्यापियन्स आफैंमा विशुद्ध होमो स्यापियन्स मात्रै छैन। उदाहरणका लागि, होमो स्यापियन्स र नियन्डरथल या डेनिसोवन भनेको बाख्रा (होमो स्यापियन्स), मृग (नियन्डरथल) र भेडा (डेनिसोसवन) जस्ता भिन्न प्रजाति र तिनको आपसी आनुवांशिक मिश्रण जस्तो हो।
चरनका लागि खर्क झरेको बाख्रासँग जंगलबाट निस्किएको मृगको एकाएक जम्काभेट भयो। पहिलो भेटमा आफूले कहिल्यै नदेखेको, नचिनेको तर आफूजस्तै जस्तै बाख्रा देखेर मृग कुलेलाम ठोक्यो। अर्को दिन फेरि भेट भयो। कान ठाडा पार्दै टङ्चिएर परैबाट बाख्राको हुललाई हेर्यो। अर्को दिन अलि नजिक आयो। पछि हुलमा मिसिएर सँगै चर्न थाल्यो। अलिक लामो समय संगत गरेपछि झ्याम्मियो। सके बाख्रा र मृग प्रेममा परे। सम्भोग भयो। सन्तान उत्पादन भयो बाख्राबाट।
त्यस्तैगरी सम्बन्ध भयो लेकबाट खर्क झरेका भेडासँग पनि बाख्राको। मृग र भेडा पनि उसैगरि भेटिए। सम्बन्ध विस्तार गरे। सन्तान उत्पादन गरे। बाख्राका सन्तान–दरसन्तानमा मृग र भेडाको डिएनए सरेर आयो। बाख्रा र मृग, बाख्रा र भेडा, मृग र भेडाबीचको सम्भोगबाट सन्तान उत्पादन भएजस्तै आधुनिक मानव भनिने होमो स्यापियन्सको पनि त्यही तवरले नियन्डरथल र डेनिसोवनसँग सम्बन्ध भयो। सन्तान उत्पादन भयो। पचास हजार वर्षजति अघि त्यसरी भएको सम्भोगबाट जन्मिएका आधुनिक मानवका सन्तानहरू कालान्तरमा संसारभर फिजिए। धेरैजसो दक्षिण/दक्षिणपूर्वी एसिया, युरेसियामा विस्तारित भए। तिब्बतियन पठार आसपासका अग्ला उचाइमा जनसंख्या विस्तार गरेर बसे। त्यतै रत्तिए।
यसरी होमो स्यापियन्स भनिने मानव प्रजातिमा आफ्नो समूहभन्दा बाहिरको समेत 'रक्तमिश्रण' छ भनेपछि यो कति 'विशुद्ध' छ भन्ने तथ्य उसै पनि प्रस्ट भइहाल्छ।
त्यसमाथि अफ्रिका निष्क्रमणपछि विभिन्न शृंखलामा दक्षिण एसिया आइपुगेको जनसंख्यामा अनेकानेक पटक अनेकन समूहबीचको अन्तरसंर्सगबाट अनेकन पटक 'रक्तमिश्रण' भएको छ। सबभन्दा 'शुद्ध' दाबी गरिएको समूहमा सबभन्दा 'अछुत' भनी घृणा गरिएकाहरूको 'रक्तमिश्रण' (आनुवांशिक मिश्रण) भएको छ। सबभन्दा पुरानो 'आदिवासी' भनेर दाबी गरिएकाहरूमा सबभन्दा नयाँ 'आप्रवासी' भनिएकाहरूको 'रक्तमिश्रण' भएको छ।
यो डिएनए मिश्रणले 'छुत–अछुत', 'पवित्र–अपवित्र', 'शुद्ध–अशुद्ध' जस्ता मान्यता निर्माण गरेर बसेको जात व्यवस्थाको वास्तविक जमिन देखाइदिन्छ। 'ब्राह्मण', 'दलित' जस्ता जातव्यवस्थाका पदावलीहरू समाजका शासकवर्गले आफ्नो स्वार्थ रक्षा गर्न धारिलो हुने गरी उध्याएर म्यानमा हालिराखेको जाली तरवारबाहेक केही होइन भन्ने प्रस्टिन्छ।
यो खोज र तथ्यका लागि पनि पेबोहितका अन्वेषक, वैज्ञानिकहरूलाई दक्षिण एसियाली समाजका तर्फबाट अभिवादन।