प्रिय शिशिर खनाल दाइ,
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य
काठमाडौं ६।
आजसम्म निर्वाचित सांसदमध्ये तपाईं सबभन्दा नजिकको हुनुहुन्छ। तपाईं आबद्ध राजनीतिक दलसँग मेरो कुनै आबद्धता र संलग्नता छैन। यो पत्र विशुद्ध एक 'भाइ' ले लेखेको तपाईं 'दाइ' लाई सम्बोधित छ।
करिब दस वर्षदेखि तपाईंलाई नजिकबाट चिनेको छु। केही वर्ष तपाईंको नेतृत्वमा रहेर काम गर्ने मौका पाएको थिएँ। तपाईंका जीवनका सुखदुःख, तपाईंका केही शक्ति र कमजोरीहरू थाहा छ। दोहोरो चिनजान भएकाले तपाईंलाई सम्बोधन गर्दै यो पत्र लेख्दैछु। तर यो पत्र हामीले आशा राखेका समग्र जनप्रतिनिधिहरू प्रति पनि सम्बोधित छ।
निर्वाचनमा जीतका लागि तपाईंलाई बधाइ दिनु पर्थ्यो, तर आज खबरदारी पत्र लेख्दै छु।
सार्वजनिक रूपमा यो पत्र लेख्दै छु ताकि तपाईंलाई सदैव आफूलाई साथ दिने र तपाईंप्रति आशा राख्ने मान्छेहरूसँग डर लागोस्। शक्ति र सत्ताले उन्माद नदिओस्। बरू ऊर्जा थपोस्।
सांसदहरूलाई नजिकबाट चिन्ने परिवार, आफन्तहरूलाई पनि लागोस्- देशमा साँच्चै सकारात्मक परिवर्तन चाहने हो भने शक्ति र सत्ताका रहेका आफ्ना मान्छेहरूसँग व्यक्तिगत अपेक्षा नहोस्। बरू अपेक्षा होस् त- नीतिगत सुधारको, निस्पक्षताको, सुशासन र सु-संस्कारको।
तपाईंले देख्नुभएको छ, हामीले तपाईंसँग जस्तै आशा गरेका कैयौं जनप्रतिनिधिहरू देख्यौं। जनताले जसरी हुन्छ उनीहरूलाई साथ दियौं। सत्तामा पुर्यायौं। तर आशाको दियो बालेर उनीहरू आफैं निभ्दै गए। आफूलाई बिगारे।
अनि डर लाग्छ, तपाईं पनि कतै त्यस्तै हुने पो हो कि? आज तपाईंका मतदाता र शुभेच्छुकले तपाईंप्रति राखेको आशा भोलि डगमगाउँछ कि? आजसम्म इमानदार देखेको तपाईं भोलि भ्रष्ट हुने हो कि? आजसम्म विनम्र तपाईंको आवाज भोलि अहंकार र सतही आत्म-प्रशंसाले भरिने हो कि?
अब बिग्रिने छुट तपाईं र तपाईंका पुस्ताका कसैलाई पनि छैन।
तपाईंले अनुभव गरिसक्नुभयो, एक सांसदका रूपमा तपाईंले फरक व्यवहार पाउनु हुनेछ। तपाईं कतै जाँदा अघिपछि भीड बढ्नेछ।
खस्रो कुरा गर्नेहरू तपाईंसँग चिल्लो कुरा गर्न थाल्ने छन्। तपाईंलाई 'माननीय' भन्न थाल्ने छन्। कार्यक्रमहरूमा प्रमुख अतिथिका रूपमा यथेष्ट निम्तोहरू पाउनु हुनेछ। कार्यक्रम उद्घाटन गर्न, शिलान्यास गर्न, रिबन काट्न निम्तोहरू पाउने हुनेछ।
आफ्नो पदको कारणले तपाईंले पाउने 'सम्मान' को घमन्ड नगर्नु होला। अनि आफू वरिपरि आउने मानिसहरूलाई चिन्नु होला।
कोही वास्तविक समस्या बोकेर समाधानको आशा गर्दै आउलान्। कोही तपाईंप्रति आशा राखेर शुभेक्षा प्रकट गर्न आउलान्। कोही तपाईंको चाकरी गर्न आउलान्। कोही तपाईंको माध्यमबाट 'नहुने' कामलाई पनि 'हुने' बनाउन आउलान्।
सत्ताबाहिर हुँदा बेठीक लागेका कुरा सत्तामा पुग्दा ठीक लाग्नेहरू हामीले देखेका छौं। निर्वाचनमा विजय हासिल गरेको एक दिनअगाडिसम्म तपाईंलाई हाम्रो समाज र देश जस्तो लागेको थियो, त्यो कुरा नबिर्सिनु होला। तपाईंले उठान गर्नुभएको मुद्दाहरू नबिर्सिनु होला।
तपाईंले एक दशकदेखि सार्वजनिक शिक्षा सुधारका लागि पहल गर्नुभएको छ। विभिन्न समुदाय र विद्यालयमा जाँदा बालबालिकाहरूको पीडा र दर्दनाक अवस्था देखेर तपाईंको मन पोलेको र रोएको मैले देखेको छु। सांसद भएपछि ती बालबालिकाको अनुहार सम्झेर तपाईंको मन अब अझै धेरै दुखोस्। पहिले एक आम नागरिकका रूपमा तपाईंका आफ्नै सीमितता थिए। अब तपाईंसँग नीतिगत सुधारको पहल गर्ने ठाउँ छ, शक्ति र सत्तामा हुनेहरूलाई आवाज सुनाउने ठाउँ छ।
निर्वाचनको अभियानमा तपाईंले आफ्नो मतदातासँग गरेका हरेक वाचा र प्रतिबद्धता टिपेर राख्नु होला। आफूले बोलेको हरेक शब्दको जिम्मा आफैंले लिनु होला।
तपाईंसँग काम गरेका मानिसहरूसँग गएर तपाईंबारे सोध्ने हो भने प्रायः सबैले तपाईंलाई 'इमानदार' र 'जवाफदेही' भन्छन्। सयौं युवालाई इमानदारिता र जवाफदेहिताको पाठ आफैंले मोडल गर्दै र सिकाउँदै आएको देखेको छु।
सांसदको रूपमा इमानदारिता र जवाफदेहिता तपाईंका प्राथमिक शर्त बनून्। नानाभाँती बोल्दै आफैंले बोलेका कुराप्रति जवाफदेही नहुने छुट तपाईंलाई छैन।
तपाईंको नेतृत्वमा रहेर काम गर्दा देखेको तपाईंको अर्को सामर्थ्य हो- तपाईं भुइँसम्म पुग्नु हुन्थ्यो। तपाईंले आफू र आफ्ना सहकर्मीबीच दूरी राख्नु भएन। आफ्नो समस्या समाधानका लागि तपाईंका सहकर्मी तपाईंलाई सहजै फोन वा मेसेज गर्न सक्थे। छिट्टै नै तपाईं त्यसको 'रेस्पोन्स' दिनु हुन्थ्यो।
तपाईंको यो स्वभाव र प्रतिबद्धता आफ्नो निर्वाचन क्षेत्रमा पनि लागू होस्। जनताहरूको कुरा आफैंले सुन्नु होला। जनता र तपाईंबीच कुनै पर्खाल र 'फिल्टर' नहोस्। जनताले भोग्ने समस्याको समाधानमा अकर्मण्यता होइन, तपाईंको सक्रियता देख्न पाइयोस्।
हामीले शक्तिमा हुनेहरूले सेतोलाई कालो भन्दा सही थाप्नेहरू देखेका छौं। आफ्नो स्वार्थ मिल्नेले जे भन्दा पनि ताली बजाउने र भजन गाउनेहरू देखेका छौं। फरक गुट वा दलले सही कुरा गरे पनि विरोध गर्नेहरू देखेका छौं। तपाईंलाई अनुरोध छ, जोसुकैले भनोस्- ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्न नहिचकिचाउनु होला।
आफू आबद्ध दलको प्रमुखसँग जस्तोसुकै परिस्थितिमा पनि सत्यलाई सत्य भन्ने आँट राख्नु होला। अरू दलले गरेको राम्रो कामलाई पनि प्रशंसा गर्ने सु-संस्कारको थालनी गर्नु होला।
एक-दुई दिनका लागि मात्र लोक रिझ्याउने मात्र काम नगर्नु होला। सञ्चारकर्मी राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा तपाईंले भन्नुभएको थियो- आजको संसद बुख्याचाजस्तो भएको छ।
तपाईं भने आफ्नो दलको र नेताको बुख्याचा मात्र नहुनु होला।
हामी कल्पना गर्छौं- चलचित्रको जस्तै कोही नायक हाम्रो समाजमा आओस्। उसले जादुमन्तर लाएर सबै समस्याको एकैपटक समाधान गरोस्। ऊ सर्वगुणले सम्पन्न होस्।
तर वास्तविक जीवनमा त्यस्तो हुँदैन। हरेक मानिसका आफ्ना सामर्थ्य र कमजोरीहरू हुन्छन्। गुण र अवगुणहरू हुन्छन्। यो तपाईंले राम्रोसँग बुझ्नु भएको छ। यही बुझेर तपाईंले आफू मात्र 'नायक' हुने भन्दा पनि सामूहिक नेतृत्वको अभ्यास गरेको देखेको छु। सांसदका रूपमा पनि यो पहल जारी राख्नु होला। व्यक्ति हावी हुनेभन्दा पनि दिगो र बलियो संरचना र संस्था बनाउने प्रयत्न गर्नु होला।
म आशा गर्छु, तपाईंको नेतृत्वमा काम गरेको थिएँ भनेर भन्न कहिल्यै लाज र घिन नलागोस्। कहिल्यै पश्चाताप नहोस्। अबको एक वर्ष वा पाँच वर्षपछि यही पत्र हेर्दा तपाईंप्रति श्रद्धा र प्रेम अझै बढेर आओस्।
तपाईंको नेतृत्वमा हुर्किएका सयौं युवाहरूले गर्वका साथ भन्न सकौं- आफ्नो कर्तव्य शत प्रतिशत निर्वाह गरेको काठमाडौं क्षेत्र नम्बर ६ को त्यो सांसद हाम्रो 'शिशिर दाइ' हो!
पाँच वर्षपछि तपाईं आफ्नो निर्वाचन क्षेत्रका जनताका लागि पनि टाढाको नेता होइन- आफ्नै दाइ, भाइ, छोरा, साथी बन्न सक्नुहोस्।
शुभकामना सांसद दाइ!
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)