अथाह जग्गा-जमिन र सम्पत्ति जोड्न मरिहत्ते गर्ने वर्तमान नेपाली समाजको चरित्रसँग मिल्दोजुल्दो वर्णन रूसी लेखक लियो तोल्सतोयको एउटा पुरानो कथामा पाइन्छ।
'हाउ मच ल्यान्ड डज अ म्यान निड' शीर्षकको उक्त रूसी कथा मैले सानैमा पढेको थिएँ।
त्यो कथा रूसको एउटा गाउँमा बस्ने पाहोम नामका व्यक्तिको जीवनमा केन्द्रित छ। उनी हाँसीखुसी जीवन बिताइरहेका एक सामान्य किसान हुन्। एकदिन उनकी श्रीमतीका दिदीबहिनीबीच सहरको बसाइ र गाउँको किसानी जीवनमध्ये कुन सुखी भन्नेबारे छलफल चल्छ। त्यो छलफल सुनेर पाहोमलाई आफूसँग धेरै जग्गा भएको भए जीवन अलि सहज हुन्थ्यो कि भन्ने लाग्छ र उनी जग्गा-जमिन जोड्ने सपना देख्न थाल्छन्।
यही सोचअनुसार उनको प्रगति पनि हुँदै जान्छ। तर जति प्रगति हुँदै जान्छ, जग्गा-जमिन बढाउने उनको तिर्सना झन् झन् झ्यागिँदै जान्छ।
एक साँझ एक जना पाहुनाले उनलाई अलि टाढाको विशाल मैदानी भूभागमा एक हजार रूबल (रूसी मुद्रा) मा भनेजति जग्गा पाइने कुरा सुनाउँछन्। यो सुनेर उनी तीन दिनको यात्रा तय गरी त्यो ठाउँमा पुग्छन्।
त्यहाँ खेतीपाती गर्न नजान्ने तथा घोडा, गाई र भेडापालन गरेर जीवन निर्वाह गर्ने फिरन्ते बक्सीर समुदायको बसोबास छ। बक्सीरहरू पाहोमलाई चिज र भेडाको मासु खुवाएर स्वागत गर्छन्। पाहोमले पनि उनलाई सहरबाट लगेका उपहार दिन्छन् र उनीहरूको बस्तीमा आफ्नो निम्ति जग्गा-जमिन दिन अनुरोध गर्छन्।
बक्सीर समुदायका मुखियाले सूर्योदयदेखि सूर्यास्तसम्म हिँडेर जति ठूलो जमिनको घेरा बनाउन सक्यो, ती सबै जमिन पाहोमलाई नै दिने कबुल गर्छन्। तर त्यसको बदलामा एक हजार रूबल तिर्नुपर्ने र घाम अस्ताउँदासम्म सुरूआती विन्दुमा फर्किसक्नुपर्ने सर्त सुनाउँछन्।
पाहोम राजी हुन्छन्।
उनी भोलिपल्ट बिहानदेखि बेलुकीसम्म लगातार हिँडेको हिँड्यै गर्छन्। कहिल्यै खेतीपाती नभएको अत्यन्त उर्वर घाँसे मैदानमा पाहोम ठाउँठाउँमा कोदालोले चपरीको चिनो राख्दै धमाधम अघि बढ्दै जान्छन्। उनलाई भोक र तिर्खाको कुनै परवाह हुँदैन। आधा दिनपछि उनी एउटा छायामा बसेर साथमा लगेको रोटी र पानी खान्छन्। उनलाई निद्रा लाग्न खोज्छ तर फेरि भुसुक्क निदाइएला भनेर उनी फेरि उठेर हिँड्न थाल्छन्। केही बेरपछि उनी हिँड्न सजिलो होस् भनेर जुत्ताधरि फुकाल्छन्।
हिँड्दा हिँड्दा घाम निकै तल पुगेपछि उनी अझ बढी जग्गा ओगट्ने लोभमा दौडिन थाल्छन्। गोडाले राम्ररी साथ नदिए पनि उनी सकी-नसकी दौडिन्छन्।
पर ढिस्कोमाथि बक्सीरहरू दुवै हात उचालेर 'घाम डुब्न लागिसक्यो, छिटो दौड' भनेर चिच्याएको उनी सुन्छन्।
उनी अन्तिम लक्ष्यको चिनो भेट्टाउन सारा बल लगाएर दौडिन्छन्। तर त्यो अन्तिम चिनो लगाएको ठाउँ पुग्ने बेलासम्म उनका गोडाहरूले साथ दिँदैनन् र उनी डङरङ्ग ढल्छन्। उनी लड्दा उनका हातले चाहिँ त्यो सुरूको चिनो भेट्टाउँछ।
पाहोमका नोकर दौडिँदै आएर उनलाई उठाउन खोज्छन् तर उनी हलचल गर्दैनन्। उनको मुखबाट रगत बगिरहेको हुन्छ।
बढीभन्दा बढी जग्गा समेट्ने लोभमा दिनभरि हिँडेका पाहोमको आखिरमा एक टुक्रा जमिनमा प्राण जान्छ।
उनको शव पुर्न त्यहीँ जमिनमा खाल्डो खनिन्छ। टाउकोदेखि खुट्टासम्म पुर्न जम्मा ६ फिट जग्गा भए पुग्छ।
विश्वप्रसिद्ध यो रूसी कथाले मान्छेको मनमा जागृत हुने लोभको वीभत्स रूप झल्काउँछ जुन कुनै न कुनै रूपमा हाम्रो समाजमा पनि व्याप्त छ। भौतिक सम्पत्ति आर्जन गर्ने लोभलालचले हामीलाई मानवीय मूल्य-मान्यताभन्दा टाढा धकेलिरहेको छ। हाम्रो हृदय कठोर बनाइरहेको छ। हाम्रा भावनाहरू मर्दै गइरहेका छन्। खासगरी बढ्दो आधुनिक समाजले हामीलाई हरेक कुराको भौतिक नापतौल गर्ने बनाएको छ।
समाजको यो कुरूप यथार्थ कुनै न कुनै रूपमा बुवाको चित्रमार्फत् अभिव्यक्त गर्न पाए हुन्थ्यो भन्ने मलाई धेरै समयदेखि लागिरहेको थियो।
धेरैलाई थाहा होला, मेरो बुवा हरिप्रसाद शर्मा र मबीच चित्रकारितामा सहकार्य हुन्छ। म आफू चित्रकार त होइन तर पिताजीले बनाउने चित्रको निम्ति विषयवस्तु छनौटदेखि त्यसलाई चाहिने सन्दर्भ सामग्री जुटाउने काममा मैले सहयोग गर्दै आएको छु। चित्र जीवन्त बनाउन हामी पूरै परिवार त्यसमा संलग्न हुन्छौं। बुवालाई आफ्ना पात्रको हाउभाउ क्यानभासमा उतार्न सहज होस् भनेर म, मेरी पत्नी र छोराहरूसमेत अभिनय गरेर देखाउँछौं।
रूसी लेखक लियो तोल्सतोयको कथामा आधारित यो चित्र पनि बुवाले मेरै आग्रहमा बनाउनुभएको हो।
कुनै पनि चित्रकारले प्रख्यात साहित्यकारको रचनामा आधारित चित्र बनाउनु निकै पुरानो चलन हो। नेपालमा पनि चित्रकार चन्द्रमान मास्केले कवि चित्तधर हृदयको काव्यरचना 'सुगत सौरभ' मा आधारित भएर रेखाचित्रहरू बनाउनुभएको छ। त्यस्तै कलाकार लैनसिंह बाङ्देलले लक्ष्मीप्रसाद देवकोटाको 'मुनामदन' काव्यमा आधारित केही चित्र बनाउनुभएको छ। बुवाले पनि यस्तै किसिमको अभ्यास गर्नुहोस् भन्ने मेरो चाहना थियो।
मैले सबभन्दा पहिला बुवालाई आफ्नो इच्छा सुनाएँ। उहाँ राजी भएपछि लियो तोल्सतोयको त्यो कथा फेरि पढेँ।
बुवाको निम्ति पनि कथा नौलो थिएन। उहाँले धेरै वर्षअघि पढ्नुभएको थियो तर त्यसको सम्झना धुमिल भइसकेको थियो। मैले कथाका सबै विवरण बुवालाई फेरि पढेर सुनाएँ। त्यो समयको रूसी गाउँ कस्तो थियो होला, त्यहाँका मान्छे कस्ता पोसाक लगाउँदा होलान्, त्यहाँको भूगोल कस्तो होला लगायत विभिन्न विषयमा मैले आफ्नो तर्फबाट अध्ययन गरेँ। विभिन्न स्रोत र सन्दर्भ-सामग्री खोतलेर त्यसमा फेला परेका रूसी जनजीवन झल्किने तस्बिरहरू मैले बुवालाई देखाएँ।
यो चित्रकलामा विभिन्न भावभंगीमाका मानिस छन्। धेरैजसो मानिस पाहोमको अप्रत्यासित मृत्युमा दुखी देखिन्छन्। केही वृद्धहरू 'हे ईश्वर, तिम्रो यो कस्तो लीला!' भन्ने भावमा देखिन्छन्। कोही भने 'यिनका परिवारको के हाल होला!' भनेजस्तो भावमा छन्।
केही व्यक्ति भने आफू फिरन्ते जीवन बिताउने भएर होला, पाहोमलाई व्यक्तिगत जग्गा-जमिनको किन त्यत्रो मोह होला भनेर छक्क मान्दै हाँसिरहेका देखिन्छन्।
यी सबै व्यक्तिको हाउभाउ र भावभंगीमा झल्काउन विगतमा जस्तै हामी परिवारका सबै सदस्यले बुवालाई अभिनय गरेर देखाएका थियौं। बुवा पनि त्यति बेलाका रूसी फिरन्ते पशुपालक बक्सीरहरूको पहिरन, जीवनशैली र त्यो घटनाको परिवेशको कल्पनामा तल्लीन हुनुभयो।
चित्रकलाको एउटा मानसचित्र तयार भएपछि मैले बुवालाई सँगै राखेर फेरि कथावाचन गरेँ, ताकि उहाँले बनाउने चित्रमा कुनै कमी-कमजोरी नहोस्। कथाका पात्रहरूको अभिनय गरेर तिनीहरूको अभिनयचित्र पनि बुवालाई उपलब्ध गराएँ। पाहोम दौडिँदा दौडिँदै कसरी भुक्लुक्क रगत छादेर मरे होलान् भन्ने दृश्य परिकल्पना गरेर लडेको अभिनय गरेँ। त्यसमा वरिपरि झुम्मिएका विभिन्न पात्रको कस्तो कस्तो मनस्थिति र हाउभाउ थियो होला भन्ने परिकल्पना गरेर तिनको पनि अभिनय गरेँ र त्यसको फोटो बुवालाई उपलब्ध गराएँ।
निकै दिन लगाएर बक्सीरहरूजस्तै जीवनशैली अपनाउने फिरन्ते जातिहरूको अनुहारको आकृति, जनावरका छालाको लामो कोट, छालाकै टोपी र जुत्ताका पुराना फोटाहरू संकलन गरेँ। चित्रकलाका लागि समथर मैदान, घोडाहरू चरेको, घाम अस्ताउँदै गरेको आकाशको परिवेशअनुसारको पृष्ठभूमि भएका चित्र पनि संकलन गरेँ।
ती सम्पूर्ण सामग्री बुवालाई देखाएपछि उहाँले केही दिनसम्म त्यसका पेन्सिल स्केचहरू निर्माण गर्नुभयो। स्केच तयार भएपछि त्यसमा थप परिमार्जन गर्दै उहाँले चित्रको अन्तिम रूप तयार पार्नुभयो।
यसरी सात समुद्रपारिका लेखकको कालजयी कथामा आधारित चित्रकला तयार भयो। यो तैलचित्रको लम्बाइ ५६ इन्च र चौडाइ ३१ इन्च छ।
बुवाले ८४ वर्ष उमेरमा बनाउनुभएको त्यही चित्र आज उहाँको ८५औं जन्मदिनका अवसरमा सेतोपाटीको यही लेखमार्फत् हामी सार्वजनिक गरेर बुवालाई शुभकामना दिन चाहन्छौं।