लक्ष्मी भन्नेबित्तिकै हाम्रो आँखामा एउटा सुन्दर स्त्रीको चित्र आउँछ। पूर्ण शृंगारमा राम्राराम्रा पहिरनमा, गहनागुरियाले झपक्क। चार हात भएकी, एउटामा धनको घडा लिएकी। अर्थात् लक्ष्मी भनेकी धनकी देवी हुन्।
उनलाई खुसी पार्न सकियो भने हामीले धेरै धन पाउँछौं।
साँच्चिकै लक्ष्मी धनकी मात्रै देवी हुन् त? हामीले बुझ्दै नबुझेका, गलत रूपमा बुझेका र बुझ्न बाँकी धेरै कुराहरूमध्ये एउटा यो हो।
पुँजीवादलाई पनि यसैगरी गलत बुझिएको छ। यहाँ लक्ष्मीबारे थोरै र पुँजीवादबारे अलि बढी चर्चा गरिनेछ।
लक्ष्मी भन्नेबित्तिकै सुनका सिक्काले भरिएको घडा लिएकी स्त्रीको चित्र आँखामा आउनु गलत नभए पनि एउटा सीमित बुझाइ हो। लक्ष्मी धनकी मात्रै देवी होइनन्।
शाब्दिक अर्थमा जाने हो भने लक्ष्मी भनेको लक्ष्यमा पुर्याउने हो। लक्ष्मी धनकी मात्रै नभएर रूप, सौभाग्य, उत्पादनशीलता र समृद्धिकी देवी हुन्।
लक्ष्मी धनको आवश्यकता दर्शाउने एक पौराणिक रचना हो। वेदहरूमा मानव जीवनका लागि प्राथमिक आवश्यकताका रुपमा धनलाई प्रस्तुत गरिएका थुप्रै ऋचाहरू (श्लोक) छन्। धेरै जमिन हुने, सुनचाँदी हुने, गाई हुने, पराल हुने मान्छे धनी हो भनिन्थ्यो। वेद रचनाकालमा अर्थात कृषि युगमा यस्ता प्रसंग आउनु अनौठो होइन।
आफ्नो दैनिक व्यवहारको परिवेशअनुसार उनीहरूले धनको परिभाषा गरेका थिए। उति बेला मान्छेले स्वामित्वमा लिने, उपयोग, परिचालन, उपभोग गर्ने भनेको जमिन, बहुमूल्य धातु, पशु र पशु-आहारा मात्रै थियो।
ऋग्वेदमा भौतिक उन्नति, मूल्य, सौदाबाजी र करका प्रसंगहरू आएका छन्।
ऋग्वेदमा यस्तो भनिएको छ- हामी सबैको विविध आशा र योजना छन्। धनका लागि हामी विविध बाटाहरू अपनाउँछौं। हामी हाम्रा चाहनाहरूलाई त्यसरी नै पछ्याउँछौं जसरी गाईहरूले एकपछि अर्कालाई पछ्याइरहेका हुन्छन्। एउटा भ्यागुतोले बाढी पर्खिरहेको हुन्छ, धातुको काम गर्नेले सुनको मुद्रा चाहेको हुन्छ, कालिगढले काम खोजिरहेको हुन्छ, पुरोहितले उपासक खोजिरहेको हुन्छ।
ऋग्वेदमै श्रेष्ठ धन, चेतनायुक्त सामर्थ्य, निरोग, ऐश्वर्य र मधुर वाणीका लागि इन्द्रलाई आह्वान गरिएको छ। यसैगरी अर्को सुक्तमा रूद्रसँग उपभोग्य वस्तु, ऐश्वर्य, खुसी, शक्ति र आध्यात्मिक सुखको माग गरिएको छ।
पछिका वैदिक शास्त्रहरूमा पनि धनको पर्याप्त महिमा गान गरिएको छ। वेद वा उपनिषदमा अमूर्त विचारको रूपमा आएका प्रसंगहरूलाई कथामा ढालेर धेरैभन्दा धेरै मान्छेसम्म पुर्याउने प्रयास महाकाव्य, पुराणहरूमा गरिएको छ।
धन आर्जन गर्नुलाई चार पुरुषार्थमध्येको एक मानिएको छ। अर्थात मान्छे भएर जन्मिएपछि गर्नुपर्ने चार मुख्य काम मध्येको एक अर्थोपार्जन हो भनिएको छ। दुई लोकप्रिय संस्कृत महाकाव्य रामायण, महाभारतहरूमा यस्तै धेरै प्रसंगहरू आउँछन् जसमा धनको महत्ता दर्शाइएको हुन्छ।
महाभारतको शान्ति पर्वमा युद्ध जितिसकेपछि राज्य सञ्चालनमा अरूचि देखाएका युधिष्ठिरलाई अर्जुनले अन्य कुराहरूका अतिरिक्त धनको महत्व दर्शाउँदै राजगद्दीमा बस्न र संन्यासी हुने विचार त्याग्न जोड दिएको वर्णन छ।
अर्जुन भन्छन्, ‘तालिमे हात्तीले अरू जंगली हात्तीलाई पक्रिन मद्दत गरेझैं धनले धन बढाउन मद्दत गर्छ। धार्मिक कार्य, आनन्द, साहस, क्रोध, सिकाइ, सम्मानको भाव सबैथोक धनबाटै सुरू हुन्छ।’
यी प्रसंगहरूबाट के संकेत मिल्छ भने हामीले लक्ष्मीलाई आंशिक रूपमा बुझेजस्तै धनलाई, यसको महत्वलाई कम बुझेर वा गलत बुझेर गलत व्यवहार गरिरहेका छौं।
माथि नै भनिसकेँ, यस्तै खालको बुझाइ पुँजीवादप्रति पनि छ। जसरी लक्ष्मीलाई धनमा सीमित गरिएको छ, त्यसैगरी पुँजीवादलाई पुँजीमा र पुँजीलाई अझ पैसामा सीमित गरेर बुझिएको छ।
बिडम्बना, हामी रातदिन पुँजीवादलाई सरापिरहेका हुन्छौं, धारे हात लगाइरहेका हुन्छौं तर हामी संसारमै सबैभन्दा गरिब छौं। जसलाई पुँजीवादी भनेर सरापिरहेका छौं, संसारमा उनीहरूकै जगजगी छ। उनीहरू धनी छन्, शक्ति सम्पन्न छन्।
उनीहरूका सडक चिल्ला छन्, उनीहरूका भवन अग्ला छन्, उनीहरूसँग धेरै सूचना छ, उनीहरू लामो आयु बाँच्छन्। उनीहरू संसारभर घुम्छन्। उनीहरू संसारभर वस्तु बेच्छन्। संसारभरबाट आफूलाई चाहिएको वस्तु किन्छन्। उनीहरूको भाषा, सीप, प्रविधि, राजनीति, संस्कृति सबै संसारभर बिकाउ छ।
पहिले यो काम उनीहरू सैनिक बलको सहायतामा बलपूर्वक गर्थे। अहिले त्यसको प्रत्यक्ष प्रयोग कम हुन थालेको छ।
यो कसरी भइरहेको छ भन्ने बुझ्ने प्रयास हामीले खासै गरेका छैनौं। हामीले त पुँजीवादलाई प्रथम दृष्टिमै खारेज गरिदिन्छौं। न बिपी कोइरालाले पुँजीवाद राम्रो हो भनेका थिए न पुष्पलाल श्रेष्ठले।
हामीलाई जे जति बुझाइयो, घोकाइयो ती सबैमा पुँजीवाद खराब हो भनियो। पुँजीवाद के हो, कस्तो हो, यसको चरित्र कस्तो हुन्छ भन्दै नभनि एक्कैचोटि खराब हो भनियो।
तपाईं हामीलाई पुँजीवाद खराब हो कि असल हो छुट्याउने अवसर नै दिइएन। एक्कै पटक पुँजीवाद खराब हो भन्ने बुझाइलाई थोपरियो। हामीले कहिल्यै प्रश्न गरेनौं, पुँजीवाद किन खराब हो? कसरी खराब हो?
राजनीतिले मात्र होइन हाम्रा विश्वविद्यालय, अरू प्राज्ञिक कर्म गर्ने निकाय र मिडियाले पनि पुँजीवादलाई आम जनतामाझ सकारात्मक रूपमा प्रस्तुत गर्दै गरेनन्। राज्य सञ्चालित विश्वविद्यालय पुँजीवादको पक्षधर हुने कुरा भएन। राजनीतिले सिर्जना गरेको पुँजीवाद विरोधी गलत भाष्यलाई स्थापित गर्न मिडिया सहयोगी बन्यो।
पुँजीवाद भनेको पुँजीको मात्र कुरा होइन। अझ पैसाको मात्रै कुरा त हुँदै होइन भनेर हामीले कहिल्यै सुन्न वा पढ्न पाएनौं।
पुँजीवादले व्यक्तिगत स्वतन्त्रतालाई जोड दिन्छ। एउटा सामान्य मानसिक अवस्थाको मान्छेसँग आफ्ना लागि के राम्रो हो–के राम्रो होइन भनेर छुट्याउने विवेक हुन्छ भन्ने मान्यता राख्छ। अर्काको विवेकमा चल्ने मान्छे स्वतन्त्र हुन सक्दैन, दास हुन्छ।
व्यक्तिहरूबीच आपसी हितलाई अधिकतम गर्ने अन्तक्रियाको अभिव्यक्ति स्वतन्त्र आर्थिक कारोबारमा हुन्छ। आफू ठगिइरहेको छु भन्ने कसैलाई लाग्छ भने त्यस्तो कारोबारमा सहभागी बन्न उसलाई कसैले करकाप गर्दैन। स्वतन्त्र पुँजीवादी समाजमा भौतिक बलप्रयोग टाढाको कुरा हो।
एउटा स्वतन्त्र मान्छेले आफ्नो लाभ अधिकतम हुने अवस्थामा मात्रै कारोबार गर्छ। यस्तो कारोबार आर्थिक, सामाजिक वा सांस्कृतिक जुनसुकै हुन सक्छ। तर पुँजीवादलाई प्रायः आर्थिक कारोबारमा जोड्ने गरिन्छ।
यो गलत हो।
पुँजीवादलाई अत्यन्तै साँघुरो अर्थमा हामीलाई बुझाइएको छ। हो, उपलब्ध आर्थिक स्रोतबाट अधिकतम लाभ हासिल गर्ने कुरालाई पुँजीवादले मार्गप्रशस्त गर्छ। तर पुँजीवाद त्यतिमै सीमित रहँदैन।
पहिले पुँजीवादलाई पर्याप्त उत्पादन गर्न नसक्ने प्रणाली भनेर आलोचना गरियो।
जब ऐतिहासिक तथ्यहरूले यसलाई गलत प्रमाणित गर्यो तब आलोचकहरू पुँजीवादलाई खण्डन गर्ने अरू कुनै तर्क नपाएपछि भन्छन्- हामीले भौतिक उन्नतिको मात्रै कुरा उठाएको होइन!
तर सबै खाले उन्नतिका लागि भौतिक उन्नति पहिलो र अनिवार्य शर्त हुन्छ भन्ने बिर्सिन्छन्।
उनीहरूले उठाएको प्रश्न जायज हो। मान्छेको सन्तुष्टि भौतिक आवश्यकताहरूमा मात्र सीमित हुँदैन। तर आधारभूत भौतिक आवश्यकताको पूर्ति नभइ अन्य किसिमका आवश्यकता पूर्ति गर्न सकिँदैन। र, भौतिक आवश्यकता पूर्तिका लागि उनीहरूले जस्तो विकल्प सुझाउँछन्, त्यो उपयुक्त विकल्प होइन। त्यो स्वतन्त्र हुन चाहने मान्छेको नैसर्गिक स्वभावविरूद्ध छ।
सरकारले आफ्नो सामान्य विवेक प्रयोग गर्न सक्ने हरेक बालिग नागरिकलाई छनौटको स्वतन्त्रता दिनुपर्छ। त्यस्तो छनोटबाट प्राप्त हुने लाभ र हानीको भोक्ता त्यो स्वतन्त्र नागरिक हुन्छ। सरकारको एक मात्र कर्तव्य छनौट गर्न पाउने व्यक्तिको त्यो स्वतन्त्रताको रक्षा हो।
यस्तो स्वतन्त्रतामा कुनै पनि पक्षबाट हस्तक्षेप हुनु हुँदैन। लैगिंकता, वर्ण, जातीयता, नैतिकता, धार्मिक आस्थाका आधारमा नागरिक समान हुन्छन्। बलपूर्वक कसैलाई (कुनै व्यक्ति वा समूहलाई) यो वा त्यो रोज्न भनिँदैन।
निश्चित खाना खाने, निश्चित लुगा लगाउने, निश्चित भाषा बोल्ने, निश्चित मन्दिर, मस्जिद, चर्च वा गुम्बामा जाने, निश्चित गित गाउने, निश्चित नाच नाच्ने गरी समाजको फौजीकरण गरिँदैन।
उल्लिखित राजनीतिक, सामाजिक, सांस्कृतिक वातावरणमा आदर्शतम पुँजीवादी व्यवस्था सञ्चालन हुन्छ। पुँजीवादको कुनै लक्ष्य वा गन्तव्य हुँदैन। यो बहुआयामिक र गतिशील यात्रा हो। कसैले तिमीलाई म यहाँबाट त्यहाँ पुर्याउँछु भन्दैन। तिमी आफ्नो लक्ष्य वा गन्तव्य तय गर्न सक्षम छौ, अगाडि बढ भन्छ। पुँजीवादी समाजमा स्वतन्त्र नागरिक प्रतिस्पर्धा, समन्वय र सहकार्य गर्छन्। अहिंसा पुँजीवादको अभिन्न आदर्श हो। व्यक्तिलाई भौतिक वा मानसिक रूपमा आक्रमण गरिँदैन।
‘म पहिला हुने’ भन्ने व्यक्तिको नैसर्गिक चाहनामा वैध/अवैध तगारो हालिँदैन। स्वतन्त्र समाजमा पहिलो हुन खोज्ने मान्छेले अरूको त्यस्तै चाहनालाई बुझेको हुन्छ र त्यसलाई सम्मान गर्छ। म कुनै पनि पेसा-व्यवसायको आधारमा सानो वा ठूलो हुँदिन। मेरा अगाडि उभिने सबै मान्छेको नैतिक धरातल समान हुन्छ।
‘मलाई पहिलो बनाइदेऊ’ भन्ने कुनै नायकको खोजी स्वतन्त्र समाजमा गरिँदैन। कुनै पनि मुक्तिदाताको कल्पना पुँजीवादले गर्दैन। मान्छे स्वभावैले उद्यमशील प्राणी हो। मान्छे अनेक तरहले आफूलाई आकर्षणको केन्द्र बनाउन चाहन्छ। यो आकर्षणको केन्द्र बन्न चाहने उद्यमलाई पुँजीवादले खुला रंगमञ्च प्रदान गर्छ। यो रंगमञ्च कुनै शक्तिशाली सामन्तको मौजा हुँदैन। कुनै राजनीतिकर्मी, प्रशासक, बुद्धिजीवी वा व्यापारीको बपौती हुँदैन। सफलताको शिखरमा पुगेको हरेक मान्छे विस्थापित हुने जोखिम पुँजीवादमा हुन्छ।
यस्तो विस्थापनसँग डराउने लोभी मान्छे पुँजीवादको विरोधमा हुन्छन्। अभाव, अनिश्चय र अस्थिरता यो जगतका कटुसत्य हुन्। यिनलाई व्यवस्थापन गर्न सकिन्छ, न्यूनीकरण गर्न सकिन्छ। यसको व्यवस्थापन गर्ने उपलब्ध अर्थराजनीतिक प्रणालीमध्येमा उत्कृष्ट पुँजीवाद हो।
उहिले प्राण रक्षाका लागि निरन्तर खाद्यवस्तु जुटाउने संघर्ष गरिरहने अन्य पशुसरह निरिह मान्छेले अहिले जीवनलाई उन्नत बनाउने धेरै उपाय पत्ता लगाएको छ, धेरै पत्ता लगाउन बाँकी छ। त्यस्तो उपाय पत्ता लगाउने मान्छे राजनीतिकर्मी, प्रशासक, बुद्धिजीवी मात्रै होइन किसान, मजदुर, डाक्टर, इञ्जिनियर, व्यापारी लगायतका पेसाकर्मी हुन्।
आफ्नो उपाय, वस्तु तथा सेवालाई ठूलो समुदायमा स्वीकार्य बनाउन मान्छेले एकअर्कासँग प्रतिस्पर्धा, समन्वय र सहकार्य गरिरहेको हुन्छ। एकअर्कासँग गरिने प्रतिस्पर्धा, समन्वय र सहकार्य गर्न स्वीकार्य विधि हुन्छ। निजी सम्पत्तिको अधिकार, नाफा उद्देश्य जायज हुन्छन्। यिनैले मान्छेलाई उत्पादनशील बनाउँछन्। समाजमा सिर्जना तथा परिवर्तनको वाहक राज्य पक्ष भएका उदाहरण थोरै छन्। प्रायः राज्ययन्त्र परिवर्तनको विपक्षमा हुन्छ, यथास्थितिको पक्षमा हुन्छ।
यथास्थितिवादी राज्ययन्त्र तथा सरकारलाई जति धेरै भूमिका दिइन्छ परिवर्तनको गति त्यति कम हुन्छ। समाज गरिब छ भने धनी हुन समय लाग्छ। अन्यायी भए अन्यायी नै रहिरहने सम्भावना बढी हुन्छ। त्यसैले यथास्थितिवादी चरित्रको सरकारको भूमिकालाई सीमित गर्दै, उद्यमशील नागरिकको भूमिकालाई विस्तार गर्नुपर्छ। निर्णय तल्लो तहमा हुनुपर्छ। खेतबारीमा, कलकारखानामा, गाउँटोलमा, समुदायमा निर्णय हुनुपर्छ। निर्णयबाट प्रभावित (लाभ/हानि) हुनेहरू निर्णयकर्ता हुनुपर्छ।
छोटकरीमा भन्दा हाम्रो आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक विकासमा सहयोगी हुन सक्ने पुँजीवादी प्रणालीलाई गलत बुझाइएको छ। बुझ्नेले पनि आंशिक रूपमा बुझेका छन्।
जसरी लक्ष्मीलाई धनकी देवी भनेर आंशिक रूपमा बुझिएको छ, त्यसैगरी पुँजीवादलाई पुँजीको पछि भाग्ने मान्छेहरुले रूचाउने प्रणालीको रूपमा बुझाइएको छ।
पुँजीवादीहरू धनको मात्रै उपासक होइनन्। पुँजीवादीले लक्ष्मीको मात्रै आराधना गर्दैनन्। यदि त्यसो गर्छन् भन्ने मान्ने हो भने अर्को कुरा के पनि मान्नुपर्छ भने उनीहरूले धन भनेर धेरै कुरालाई बुझेका हुन्छन्। भौतिक प्राप्ति मात्र होइन। घरजग्गा, मोटरगाडी, सुनचाँदी, हिराजवाहरात जस्ता दृश्यमान वस्तुहरूलाई मात्र उनीहरूले धन मानेका हुँदैनन्। मान्छेलाई सुखसुविधा, आनन्द प्रदान गर्ने तमाम चिजहरू भौतिक वा अभौतिक सम्पत्तिलाई धन भन्ने बुझेका हुन्छन्। ज्ञान, रूप, सीप, सम्बन्ध, कलाजस्ता कैयौं अमूर्त सम्पत्तिहरू हामीसँग हुन्छन्, जसबाट आनन्दित हुन्छौं।
हामीलाई बाँच्नका लागि खानै पर्छ। तर मान्छेलाई खाएर-लाएर मात्रै हुँदैन। उसलाई सामाजिक प्रतिष्ठा चाहिन्छ। प्रतिष्ठित हुन चाहने एउटा असल मान्छेले अरूका हितमा काम गरेर प्रशंसा बटुल्न खोज्छ। यो बुर्जुआ नैतिकता हो। मानव समाजमा जसले वृहत्तर मानव समाजको हितमा दिगो काम गर्छ उसको प्रशंसा दीर्घकालसम्म भइरहन्छ।
तसर्थ, हाम्रा चाडपर्व, संस्कृति, परम्परा आदिलाई ठीक ढंगले बुझ्यौं र तदनुरुप व्यवहार गर्यौं भने लाभान्वित हामी नै हुनेछौ। पुँजीवादप्रति बिनासित्ती वैरभाव नराख्ने हो भने पनि फाइदा हामीलाई नै हुन्छ। यसलाई ध्यानमा राखेर सार्वजनिक नीति तर्जुमा र कार्यान्वयन गर्दा नेपाल र नेपालीको हित हुन्छ।
ट्विटरः @muraharip
(मुराहरि पराजुलीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)