बाल्यकालमा लक्ष्मीप्रसाद देवकोटा रूवाउने अवतारमा देखा परे। उनले कक्षाकोठामा आँशु बगाइदिए।
जब शिक्षकले कक्षा ४ मा 'मुनामदन' को कथा सुनाउनुभयो, केही श्लोक वाचन गर्नुभयो, कक्षाकोठा सुनसान भएको थियो। धेरै सहपाठी रोएका थियौं।
प्राथमिक तहमै देवकोटाको अर्को कविता आयो- नटिप्नू हेर कोपिला, नचुँड्नू पाप लाग्दछ।
त्यति बेला यस्तो लागेको थियो, मानौं देवकोटा हामी बालबालिकासँगै बोलिरहेका छन्। आफैंले विद्यालयको आँगनमा रोपेको र घरको फूलबारीको फूललाई माया गर्न उनी सम्झाइरहेका छन्।
रेडियोको पनि खासै पहुँच नहुने समयमा गाईभैंसी चराउन जाँदा, घाँस काट्न जाँदा, बाटोमा हिँड्दा देवकोटाको कविता गुनगुनाएको याद छ। हामी साथीहरू भाका हालेर मुनामुदनका धेरै श्लोकहरू गाउँथ्यौं। मुनामदनसँगै त्यो समयमा सबैलाई रूवाउने माधव घिमिरेको 'गौरी' पनि हामीबीच प्रिय थियो।
'देवकोटा कुशाग्र बुद्धिका थिए। उनी १० वर्षको उमेरदेखि नै कविता लेख्थे। देवकोटा आफैंमा एक युग हुन्। उनी जस्तो असाधारण मानिस न उनी अगाडि जन्मिए, न भविष्यमा जन्मिनेछन्।'
एक दिन देवकोटाको जीवनी पढाउँदै शिक्षकले यसरी वर्णन गर्नुभयो। त्यो बेलादेखि देवकोटा टाढा भए। यस्तो लाग्थ्यो, उनी फरक प्रकारका मान्छे हुन्। उनको प्रतिभा असाधारण छ।
प्राथमिक तहमा प्रिय र साधारण भएका देवकोटा निम्न-माध्यमिक तहदेखि विशिष्ट लाग्न थाले। झ्याउरे भाकामा हामी बालबालिकाले सजिलै गाउन मिल्ने देवकोटा कठिन लाग्न थाले।
१२ वर्ष लागिसकियो, आफूलाई त देवकोटा जस्तो कविता लेख्न आउँदैन। आफूलाई छन्द आउँदैन। देवकोटाबारे शिक्षकले सुनाएको कथा सुनेर लाग्थ्यो, म कुशाग्र बुद्धिको होइन। आफूले कविता रचेको छैन, आफ्नो कविता पत्रिकामा छापिएको छैन।
शिक्षकले सुनाउनुभयो- देवकोटा साह्रै उदार मनका थिए। तलब आएको दिन उनी मानिसहरूलाई पैसा बाँडेर दिन्थे। कोही सडकमा चिसोले कामेर बसेको देखे भने आफूले लाएको कोट नै दिन्थे। आफूले लाएको जुत्ता, कमिज र पाइजामा समेत दिन्थे। कहिलेकाहीँ त उनी खाली खुट्टा, कट्टु मात्र लाएर घर पुग्थे। कविता लेख्नमा मग्न हुँदा औंलाले चेपेर राखेको चुरोट आफैं सकिएर उनको औंला पोल्थ्यो। उनको औंलामा घाउ हुन्थ्यो। तर पनि देवकोटा कविता लेख्न छाड्दैन थिए।
आफूलाई त आगोको सानो झिल्कोले पनि पोल्छ, मसिनो काँडाले पनि दुख्छ। देवकोटालाई चुरोटको आगोले पोल्दा किन पीडा नभएको होला? सोचेर आचम्म लाग्थ्यो।
कक्षा ८ मा नेपाली विषयको पहिलो पाठ नै देवकोटाको 'प्रश्नोत्तर' कविता थियो। शैक्षिक सत्रको सुरूको दिन एक अतिथि शिक्षक आएर हामीलाई देवकोटाबारे एक किस्सा सुनाउनुभयो।
त्यो किस्सा सत्य हो या होइन, थाहा छैन। फर्केर हेर्दा अहिले राजेश हमालको किस्सा बनाउने चलनजस्तै देवकोटाबारे उनको स्वच्छन्दता र उदारताको किस्सा बनाएको जस्तो लाग्छ।
शिक्षकले सुनाएअनुसार कुनै अन्तराष्ट्रिय कविता सम्मेलनमा नेपाली कविहरू जाने योजना भयो रे। देवकोटाले सुरूमा मानेनन्।र माधव प्रसाद घिमिरेले फकाएपछि जसोतसो माने। जाने दिन माधव घिमिरे देवकोटाको घर गए। देवकोटा थिएनन्।
देवकोटाकी छोरीले भनिन्, 'बुबाले भन्नुभएको बुवा त मर्नु भयो रे!'
माधव घिमिरे देवकोटालाई घरमा खोज्न थाले। देवकोटाले तुलसीको मोठमा गाईको गोबरले लिपेर, त्यसमाथि सुतेर माथिबाट गुन्द्री र राडी ओढेका थिए। माधव घिमिरेको करले देवकोटा बल्लबल्ल जान माने।
कविता सम्मेलनको अगाडि केही दिन समय थियो। अरू कविहरू आ-आफ्नो कविता लेख्न व्यस्त थिए। देवकोटालाई भने मतलब थिएन। उनी डुल्दै चुरोट तान्दै बसेका थिए।
सम्मेलन सुरू भयो। सबै कविहरू औपचारिक पोशाकमा हलमा पसे। देवकोटा पनि गए। तर गेटबाट सुरक्षा गार्डले उनलाई जान दिएनन्। देवकोटाले लाएको झुत्रेझाम्रे लुगाको कारणले सुरक्षा गार्डले उनलाई रोके।
नेपालका संयोजन गरेका कविले उनलाई सभामा खोजे तर देखेनन्। उनलाई खोज्न बाहिर निस्किए। देवकोटा बाहिर टहलाउँदै बसेका थिए। देवकोटाको हालत देखेर उनले एउटा कोट-प्यान्ट किनेर लगाइदिए।
कोट-प्यान्ट लाएपछि सुरक्षा गार्डले देवकोटालाई सभा हलमा जान अनुमति दिए। सबै कविको कविता तयार थियो। तर देवकोटाको तयार थिएन। नेपालका संयोजक कविलाई तनाव भयो। देवकोटाको कविता भन्ने पालो आयो। लेखिएको कविता बिनै उनी मन्चमा गए र स्वस्फूर्त कविता सुनाए।
देवकोटाको कविता उत्कृष्ट भयो। सम्मेलनपछि चियापानको समय भयो। देवकोटालाई पनि चिया दिइयो। तर देवकोटाले चिया पिएनन्। मानिसहरू उनलाई हेर्न थाले। उनले नयाँ कोट-प्यान्ट खोलेर चियाको गिलासमा डुबाए।
सबैले छक्क परेर त्यसको कारण सोधे।
देवकोटाले जवाफ दिए, 'म चिया पिउन लायक होइन। यहाँ चिया पिउन लायक त यो कोट-प्यान्ट हो। यो नयाँ लुगाकै कारणले म यहाँ आउन पाएको हुँ। त्यसलै चिया यसैले पिउनु पर्छ।'
शिक्षकले अति नै रमाइलो गरेर यो किस्सा सुनाउनुभएको थियो। त्यही भएर यो किस्साको हरेक विवरण आजसम्म पनि याद छ। सबै साथीहरूले शान्त भएर लठ्ठ पर्दै यो कथा सुनेका थियौं।
कक्षा ९ मा देवकोटाको अर्को निबन्ध आयो- के नेपाल सानो छ?
देवकोटाको यो निबन्ध बुझ्न हम्मेहम्मे थियो। वास्तवमा आफैंले पढ्दा सुरूको वाक्य 'नेपाल- सुन्दर, शान्त, विशाल' बाहेक अरू बुझ्न कठिन थियो। अरू अनुच्छेदले त टाउको दुखाउँथ्यो।
यसको जवाफ लेख्न झन् कठिन।
फेरि शिक्षक भन्नुहुन्थ्यो- एसएलसीमा यस पाठबाट कुनै न कुनै प्रश्न आएको इतिहास छ। पुरानो प्रश्नपत्र हेर्दा हरेक वर्ष विवेचना गर्ने, सप्रसंग व्याख्या गर्ने वा संक्षिप्त जवाफ दिने प्रश्न हुन्थ्यो।
भारी शब्दहरू प्रयोग गरेको देखेर त्यति बेला देवकोटा साह्रै जान्ने लाग्यो।
शिक्षक भन्नुहुन्थ्यो- कति शब्द त देवकोटा आफैं बनाउँथे।
देवकोटाको निबन्ध पढेपछि जवाफलाई सकेसम्म बढी भारी शब्द प्रयोग गरेर लेख्न मन लाग्थ्यो। शब्दकोशमा भएको मध्ये कठिन लाग्ने शब्द टिपिन्थ्यो। कति त देवकोटा जस्तै नयाँ शब्द बनाइन्थ्यो। त्यति बेला लेखेको कतिपय निबन्ध र प्रश्नको जवाफ आज हेर्ने हो भने बुझ्न कठिन हुन्छ।
यसरी विद्यालयमा देवकोटालाई केही रचनाको माध्यमबाट चिनियो। सबै कुरा पढ्दा र सुन्दा लाग्थ्यो, देवकोटा जस्तो प्रतिभाशाली र बहु-आयामिक मानिस अहिलेसम्म जन्मिएकै छैन। उनीजस्तो कवि जन्मिन सम्भव पनि छैन।
आज फर्केर हेर्दा जिज्ञासा लाग्छ, देवकोटालाई किन 'असाधारण' मानिस बनाइदिएको होला? उनका आफ्नै सामर्थ्य र कमजोरीहरू थिए। उनका कतिपय कमजोरीहरूलाई पनि किन 'रोमान्टिसाइज्ड' गरिदिएको होला?
विद्यालयमा जीवनीहरू बालबालिकालाई विभिन्न कारणले पढाइन्छ- जीवनका विभिन्न आयामबारे परिचित गराउन, विभिन्न पेसा र व्यवसायबारे जानकारी गराउन, विभिन्न क्षेत्रमा उल्लेख्य काम गरेका व्यक्तिहरूको अनुभव र प्रयासबाट प्रेरणा दिन।
बाल्यकालमा आफूलाई लाग्थ्यो, किताबमा पढाइने विभिन्न व्यक्ति जस्तो बन्न सम्भव नै छैन। उनीहरू आफूभन्दा धेरै टाढा छन्। उनीहरू 'आदर्श' छन्। उनीहरू धेरै नेपाली र भारतीय सिनेमाको नायक जस्तै सर्वगुणले सम्पन्न छन्। उनीहरू जे गर्न पनि सक्छन्। आफूसँग केही नभए पनि अरूलाई सहयोग गर्न सक्न्छन्। अनन्त पीडा खप्न सक्छन्!
उमेर बढ्दै जाँदा जब ती व्यक्तिहरूबारे अझै धेरै थाहा भयो, अनि लाग्न थाल्यो- उनीहरू 'असाधारण' होइन, साधारण मानिस नै रहेछन्। उनीहरूका पनि कैयौं कमजोरीहरू छन्।
देवकोटाबारे पनि लाग्न थाल्यो, उनको कतिपय लेखाइ व्यवस्थित छैन। औंलालाई चुरोटको ठुटोले पोलेको कथा सत्य हो भने, उनमा 'माइन्डफुलनेस' छैन। उनको कतिपय लेखाइ बुझ्न हम्मे हम्मे हुन्छ। उनीलाई 'स्वस्फूर्त' लेख्न सक्ने र आफूले एकपटक लेखेपछि फर्केर नहेर्ने लेखकको रूपमा हामीलाई चिनाइयो। तर एकपटक लेखेको कुरामा देवकोटाले फेरि हेरेर आफैंले सम्पादन गर्न सकेको भए उनका कतिपय लेखहरू बोधगम्य र अझै शक्तिशाली बन्थे कि?
पक्कै पनि देवकोटाको एक पहिचान छ। नेपाली साहित्यमा उनको महत्त्वपूर्ण योगदान छ। देशमा प्रजातन्त्र आउनुअगाडि नै लेखिएको मुनामदनमा 'मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन' भन्ने तागत राख्नुले उनको चेतनाको उचाइ स्पष्ट हुन्छ। 'यात्री', 'पागल' जस्ता कविताहरूले सायद धेरैलाई हल्लाएको छ।
देवकोटा एक पात्र मात्र हुन्, हामीले बालबालिकालाई पढाउने र सुनाउने जीवनीहरूमा व्यक्तिहरूका 'आदर्श' कुरा र उनीहरूको प्रतिभा मात्र देखाएका छौं। यसले बालबालिकाहरूलाई उक्त व्यक्तिबाट झन् टाढा बनाउँछ। उक्त व्यक्तिसँग आफूलाई तुलना गर्दै आत्मबल घट्ने सम्भावना रहन्छ।
गुण र दोषसहित कुनै पनि व्यक्तिको पूर्ण जीवन देखाउन सक्यो भने बल्ल उक्त जीवन बालबालिकाले आफूसँग जोड्न सक्छन्। प्रतिभा मात्र होइन, उनीहरूले गरेको मेहनत र प्रयास देखाउन सक्यो भने त्यसबाट उत्प्रेरित हुन सक्छन्। अरूको प्रतिभाबाट सिक्न सकिँदैन, झन् हिनताबोध गराउँछ। बरू मेहनत र प्रयासबाट सिक्न सकिन्छ।
शिक्षक वा किताब आफैंले कुनै व्यक्तिको गुण दोष भनिदिनु आवश्यक छैन। बरू कुनै व्यक्तिको जीवन बालबालिकासामु स्पष्टसँग राखेर बालबालिकालाई नै सोध्न सकिन्छ- यी व्यक्तिको सामर्थ्य केके देख्यौ? यी व्यक्तिको ठाउँमा तिमी भए केके कुरामा सुधार गर्थ्यौ होला? यी व्यक्तिसँग आफूलाई कसरी नजिक पायौ? यी व्यक्ति तिमीभन्दा के कुरामा फरक छन्?
आज देवकोटाको जन्म जयन्ती।
देवकोटाको जीवनी पनि हामीले पूर्ण रूपमा कक्षाकोठामा सिकाउन सकौं। देवकोटालाई 'असाधारण महामानव' को रूपमा होइन साधारण मानिसको रूपमा प्रस्तुत गर्न सकौं। उनको जीवनबाट सिक्ने र सिकाउन मिल्ने कुरा अथाह छन्। ती सबैबाट बालबालिकालाई उत्प्रेरित गर्न सकौं।
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)