आफूले चाहेजसरी खोला बगाउने कार्यलाई अंग्रेजीमा 'रिभर ट्रेनिङ' भनिन्छ। यसको शाब्दिक अर्थ 'नदी कज्याउनु' हो।
तर के साँच्चिकै नदी कज्याउन सकिन्छ?
यस विषयका शिक्षकहरू भन्छन्, नदी कज्याउन सकिन्न। आजसम्मका कुनै पनि सभ्यताले नदी कज्याउने कार्यमा खासै सफलता पाएका छैनन्। त्यसैले प्रकृतिलाई कमभन्दा कम प्रभाव पर्ने गरी विकास निर्माण गर्नु नै बुद्धिमत्तापूर्ण हो।
आजभोलि काठमाडौं कपन क्षेत्रको बाटोमा बगेको खोलाका तस्बिर र भिडिओले सामाजिक सञ्जाल भरिएको छ। काठमाडौं उपत्यकाका लागि यो खासै नौलो घटना भने होइन।
जब जब काठमाडौंको बाढी घरभित्र पस्छ, म एउटा अलिक पुरानो प्रसंग सम्झिन्छु।
२०५५ सालको कुरा हो। दिउँसै परेको निस्लोट झरीपछि टुकुचाछेउ घर भएका एक मित्रको फोन आयो, 'टुुकुचा पसेर दोस्रो तल्लासम्मै पानी पुग्यो। दमकल डाक्दा पनि वास्ता गरेन। लौ न केही गर्नुपर्यो।'
मैले एकछिन सोचेँ, दमकल पुगेकै भए पनि त्यसले गर्ने के हो र! पानी सोरेर खोलामै फाल्ने त हो!
पानीको सतह नै माथि आएपछि त्यसलाई तुरून्तै रोक्ने उपाय के होला र!
अत्तालिएका बेला दिमागले पनि काम गर्दैन। मलाई त्यस्तै भयो। तर खोला उर्लिएपछि किनारको बसोबासलाई कसरी दुःख दिँदो रहेछ भनेर हेर्न म इच्छुक भएँ।
म बर्खाकै बीच थापाथलीको टुकुचा पुल पुगेँ।
पुलमुनि लबालब पानी भरिएको थियो। पानी नअटेर माथिमाथिसम्म उफ्रिँदै कालमोचन मन्दिर परिसरमा रहेको पाटीको जगमै हानिरहेको थियो, भित्तामा घन ठोकेजस्तै।
सँगै ब्लुस्टार होटल (अहिले ब्लुस्टार कम्प्लेक्स) का कर्मचारी होटलको ढोकाबाट पानी बाहिर फाल्दै थिए।
म त्यहाँबाट अगाडि बढेँ।
रोटरी क्लबको भवन, जहाँ अहिले ठूलो कम्प्लेस बनिसकेको छ, त्यहाँ कसैको भोज रहेछ। हडबडमा पाहुनाहरू कता पुगे थाहा भएन। खानाका बाटा, प्लेट, न्यापकिन र ट्रेहरू चउरको पानीमा बग्रेल्ती पौडिरहेका थिए।
म अझ अगाडि बढेँ।
बागबजारको टुकुचाछेउ उभिँदा झरनाछेउ उभिएको भान हुन्थ्यो। काठमाडाैं प्लाजाको पार्किङ पानीले भरिएको थियो। पारिपट्टिका घरहरूमा चर्पीको प्वालबाट पसेको खोलाको पानी कम्पाउन्डभित्रसम्म उछिट्टिएको थियो। नारायणहिटी दरबारपछाडि नीलसरस्वती थानतिर ढलबाट फर्केको टुकुचाको पानी फलामको म्यानहोलधरि हुत्याएर फोहोराझैं उफ्रँदै थियो।
समग्रमा २०५५ सालको बर्खामा टुकुचाले ताण्डव देखाएको थियो।
तर यो ताण्डव सहरवासीले एक वर्षमै सर्लक्कै बिर्सिदिए।
अर्को वर्ष बालुवाटारस्थित चिनियाँ दूतावाससँगैको टुकुचा छोपेर सडक निकालिँदै थियो। यसो गर्नुहुँदैन भनेर वडाध्यक्ष लगायत स्थानीय जनतासँग निकै बहस भयो। के गर्न हुने र के गर्न नहुनेबारे तर्क-बितर्क भए। कोही पनि आफ्नो एक इन्ची जग्गा छाड्न तयार थिएनन्। आखिरमा उनीहरूले टुकुचा छोपेर सडक चौडा पारिछाडे।
अब फेरि टुकुचाले घरघर पसेर दुःख दियो भने त्यहाँका बासिन्दालाई कसैले खुच्चिङ भन्दा उनीहरूले चित्त दुखाउने ठाउँ बाँकी छैन।
बाढी बितण्डाको यो कथा काठमाडौंको मात्र होइन। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हाम्रा यस्तै कथा-व्यथा छन्।
प्राकृतिक प्रकोपको पनि स्तर हुन्छ। कुन हदसम्म थेग्ने र कुन हाम्रो क्षमता बाहिरको हो भनेर सोच्न जरूरी छ। आफ्नो प्राविधिक र आर्थिक क्षमता तथा प्रकोपको स्तर हेरेर भूउपयोग योजनाहरू बनाइन्छन्। सहरीकरणका लागि जिम्मेवार मन्त्रालयहरूले भने यस्ता योजना र मापदण्ड बनाउन र भूउपयोग योजना तयार पारी जोखिम क्षेत्र सीमांकन गर्न दशकौं बितिसक्दा पनि फुर्सद पाएका देखिँदैनन्।
काठमाडौं नै बनाऊँ भनेर गठन गरिएको काठमाडौं उपत्यका विकास प्राधिकरणले पनि यसमा कुनै काम गरेको छैन।
प्राधिकरण स्ववासीका घर भत्काउनलाई मस्सल मुसार्न र अर्बौंको योजना बनाएर लाखौं रोपनीका 'नयाँ सहर' बनाउने योजनामा पलेँटी कसेर दंगदास बसेको छ। विकासका प्राथमिक कार्य गर्ने झन्झट उसलाई बेहोर्नु छैन।
कुनै पनि नदी, खोला वा खोल्साको आफ्नो बहाव क्षेत्र हुन्छ। त्यसको बाढी प्रभाव क्षेत्र (फ्लड प्लेन) वा पानी ढलो हुन्छ। पुरानो काठमाडौं देख्नेहरूलाई याद हुनुपर्छ, बल्खु, चल्खु, वल्खुजस्ता 'खु' प्रत्यय जोडिएका स-साना खोल्साहरूका दायाँबायाँ वैंशका रूखहरू लहलहाएर झुलिरहेका हुन्थे। यी रूखले खुचा वा खोल्साहरू बग्ने सिमाना निर्धारण गर्थे भने त्यसको साँधमा भएका खेतहरू बाढी प्रभाव क्षेत्र थिए।
बागमती, विष्णुमतीजस्ता ठूला नदीहरूको पानी त व्यापक फैलिएर बग्थ्यो। यी खोला र खेतसँग किसानहरूले सम्झौता गरेका हुन्थे- भेलले लगे खोलाको, ओभानो परे किसानको।
नयाँबजार छेउको खुसिबुँ (अर्थात खोलाखेत) यसको राम्रो उदाहरण थियो।
काठमाडौं उपत्यका सहरीकरणले गाँजेयता ढुंगा तारजाली र सिमेन्टको मानवीय रवाफलाई हामीले समयमै सीमाबद्ध गरेनौं। त्यसैले आज आफ्नो आँगनमा धोबीखोला पस्दा दुःखी भएर हारगुहार गर्नेभन्दा कसैले 'खोला मिचेको थिइस् नि' भन्ला भन्ने लोकलाजले मान्छेहरू तैं चुप मै चुपको अवस्थामा पुगेका छन्।
कपनको बाटोमा खोला पस्दा पनि नगरपालिका र सरकारलाई खासै गाली नगर्नुको कारण यही हो।
ती खोला पसेका बस्तीहरूलाई तपाईंहरूले सन् १९९५ को टोपोग्राफिक नक्सामा ठम्याउनुभयो भने अधिकांशमा नागबेली परेका नीला धर्काहरू भेट्नुहुन्छ जसले ती बस्तीमा त्यति बेलासम्म खोला बग्थ्यो भन्ने संकेत गर्छ।
करिब तीन दशकयता त्यहाँ खोला मिचेर बस्ती बसाल्नमा उत्तरतिर बुढानिलकण्ठ बस्ने सम्भ्रान्तदेखि दक्षिणमा नख्खु मिचेर अस्पताल चलाउने धनाढ्यहरू, पश्चिममा बल्खु पुर्ने जग्गा व्यवसायीदेखि पूर्वमा हनुमन्ते बेच्ने राजनीतिज्ञसम्म पर्छन्।
त्यसैले चक्रपथमा धोबीखोला पुल नाघेपछिको अस्पताल किन खोलातिर पस्यो वा बानेश्वरमा बागमती पुल नाघेपछिको स्कुल किन खोलातिर छिर्यो भनेर प्रश्न गर्ने हो भने यसमा हेर्नेहरूकै दृष्टिदोष साबित हुन्छ।
यी त खोला मिच्ने प्रतिनिधि पात्र मात्र हुन्। दुई-तीन दशकयताको कथा भएकाले तपाईं त्यहाँका पुराना बासिन्दालाई कुन जग्गा दलालले कुन सिडिओको संरक्षणमा र कुन राजनीतिज्ञको छत्रछायामा खोला मिच्ने दुष्कर्म गरे भनेर सोध्नुस्, उनीहरूले नामै किटेर बताइदिने छन्। तर प्रधानमन्त्री क्वार्टर भएको बालुवाटारको जग्गा नै बेच्ने र बेचिने देशमा सायद यी कथा कम रोमाञ्चक हुन सक्छन्।
काठमाडौं उपत्यकाका थुप्रै खोला-खोल्सी यसरी नै मासिएका छन्, मासिँदै गइरहेका छन्। तिनको पानीढल क्षेत्र (क्याचमेन्ट) र अत्यधिक पर्ने पानीको नापोबिना यी स-साना खोला-खोल्सीको बहाव हिसाब गर्न सकिन्न।
यही कमजोरी बुझेर टोल सुधार समिति र वडा कार्यालयहरूले खोला-खोल्सीलाई ह्युमपाइपको ढलमा गाडिदिएका छन्।
कथा यतिमै टुंगिदैन।
यसपालि फेरि कोसी नदीले पश्चिमी तटबन्ध काट्यो। कोसी कटानको यो कथा पनि नयाँ होइन। कोसी बाँध नै प्रकोपको दुःख दक्षिणबाट उत्तर सार्न बनाइएको हो। यो प्रकोप अझ माथि सार्न कोसी उच्चबाँधका तानाबाना बुनिँदैछन्।
समस्या अरूतिर सार्नु कसैको धुर्त्याइँ होला। तर समस्याबाट नचेत्नु हाम्रै मुर्खता हो।
यो कथा नेपालको मात्र पनि होइन। फरक यति हो, हाम्रो व्यथा गहिरो छ, किनकि हामी डरलाग्दो भौगोलिक धरातल भएको कलिलो भूगर्भमा बस्छौं। यो प्रसंग बुझ्न जर्मनीको एउटा उदाहरण उपयुक्त होला।
लेक कन्स्टान्सबाट सुरू हुने युरोपको ठूलोमध्ये एक नदी हो, राइन। यो नदी फ्रान्स हुँदै जर्मनी छिर्छ र अन्तमा नेदरल्यान्ड्स हुँदै उत्तरी एट्लान्टिक सागरमा मिसिन्छ।
राइन नदीको बाढी क्षेत्रभन्दा अलिक माथि युरोपको नामी कार्लश्रुह विश्वविद्यालय छ जसको भित्तामा थुप्रै विद्यावारिधि डिग्रीले सजिएका नामहरूको सूची छ। त्यसैमध्ये एउटा नाम हो, प्राध्यापक जेजी टुल्ला।
प्राध्यापक टुल्लाले नागबेली बगेको राइन नदीलाई बीसौं शताब्दीको सुरूतिर यस्तरी कज्याए, नदी गहिरो हुँदा पानीजहाज चलाउन मिल्यो भने त्यो वेग उपयोगबाट प्राप्त हुने बिजुली र नदी उकासको लाखौं हेक्टर जमिन त फोसा भइगए।
अहिले जर्मनीको जल यातायातको जीवनरेखा बनेको उनको यस कृतिका लागि कार्लश्रुहको सडक पनि उनकै नाममा नामाकरण गरिएको छ। तर यो उपलब्धिले जर्मनहरूलाई धेरै समय खुसी पार्न सकेन।
केही दशकदेखि बाढीको पीडा मात्र होइन, जर्मनीको नामुद सहर कोलोन लगायत बस्तीहरू यसको दुःखान्त भोग्दै छन्। अहिले कोलोन सहर राइन नदीको बाढीको सतहभन्दा एक मिटर तल परेको छ। राइन नदी कज्याउन साँघुरो पारिएपछि पानीले पिँध खोतल्दै तल्लो क्षेत्रको आफ्नै पिँधमा बालुवा थुपार्दै लग्यो। यसले कोलोन लगायत सहरहरू नदी प्रकोपका भागी बनेका छन्।
जर्मनीका विद्वानहरूले यो प्रकोपसँग जुध्ने उपायहरू नखोजेका होइनन्। तर थुप्रै प्रयोग र प्रयास असफल भएपछि आजित भएर जर्मन सरकार खोलाको जमिन खोलालाई नै फिर्ता दिने निर्णयमा पुगेको छ। राइन नदीका दुवै किनारमा ठूल्ठूला कृत्रिम तलाउ बनाइएका छन्। ती तलाउमा बर्खाको पानी जम्मा हुन्छ र नदी अलिक सुस्ताएपछि त्यो पानी फेरि नदीमै छाडिन्छ।
अत्याधुनिक प्रविधि, संयन्त्र र मानिसहरूको बाह्रै महिना लगातार सतर्कता माग गर्ने यस्तो कार्यका लागि कति अनुसन्धान र कति स्रोतसाधन खर्च गर्नुपर्यो होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ। यो प्रयासलाई राइन नदीका छालहरूले कत्तिको चित्त बुझाउने हो, त्यो चाहिँ हेर्न बाँकी छ।
यस्ता कथा चीनको ह्वांगहोदेखि इजिप्टको नाइलसम्म छन्। कोशी कटान पनि नेपालले भोग्नुपरेको त्यस्तै कथा हो।
त्यसैले नेपालका नदीनाला चलाउँदा ज्यादै संवेदनशील हुनुपर्छ। यस्तो निर्णय गर्दा विषयवस्तुको ज्ञान भएका विद्वानहरूको गम्भीर छलफलबाट निस्केको निचोडमा राष्ट्रिय बहस हुनु जरूरी छ। यो चेत कोसी, कर्णालीदेखि टुकुचा र बल्खुसम्मै हुनुपर्छ।
हामीले अझै नदीको प्रकोपबाट चेतेका छैनौं। बागमती सभ्यता बचाउने जिम्मा दिन स्थापित अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमतीमाथि आफ्नो अधिकार जमाएका थुप्रै उदाहरण छन्।
बागमतीको बहाव क्षेत्रमा सडक बनाएपछि अहिले यो संस्था नदी खुम्च्याएर कज्याउने धन्दामा व्यस्त भएको छ। उपत्यकामा हुने मालपोत कारोबारको निश्चित कर असुलेर बागमती सभ्यता बचाउने जिम्मेवारी पाएको यो संस्थाका काम झट्ट देख्दा लोभलाग्दा छन्। किनारमा धमाधम ढुंगाका पर्खाल बनाइएका छन्। बगैंचा भन्दै टाइल बिछ्याइएको बाटो बनाइएको छ भने केही वर्ष नबित्दै एकमाथि अर्को फलामका बार-पर्खाल लगाइएका छन्।
यहाँको सभ्यता नदी खुम्च्याएर, गहिर्याएर, छोपेर, ढाकेर सफल हुन्छ भन्ने ज्ञान सभ्यता निर्माण गर्ने हाम्रा पुर्खाले सिकाएका होइनन्। वेगवान पानीका अगाडि ढुंगा र सिमेन्टका पर्खाल र फलामका बार धेरैपल्ट निरीह साबित भइसकेको क्षण बागमतीले नै भोगेको छ।
नदीको बहाव क्षेत्र कति हुनुपर्ने हो र कति कायम गरिएको छ भन्ने आधारभूत ज्ञान राजनीतिक 'पुरस्कार' पाएर एकाध महिनाका लागि संस्थाको नेतृत्वमा खटिएर आउने अधिकारीहरूलाई छैन। यो उनीहरूको चासोको विषयसमेत बनेको पाइँदैन। यसको पछिल्लो उदाहरण बागमती र मनहरा नदीको संगम शंखमूललाई लिन सकिन्छ।
अहिले बागमती र मनहरा नदीको दोभानमा तेस्रो पुल बन्दैछ। स्वाभाविकै हो, पुल बनाउँदा नदीको चौडाइ जति साँघुरो पार्न सक्यो, त्यति सस्तो पर्छ। एकै ठाउँमा तीन-तीनवटा पुल किन चाहियो भन्ने प्रश्नको उत्तर नखोेज्ने हो भने पनि यसरी तीन ठाउँमा खुम्च्याइएको नदीमा २०५० सालको जस्तो बाढी आउँदा 'ब्याक वाटर फ्लो' (पानी फर्केर जाने) भएर बागमती र मनहरा किनारमा के हविगत ल्याउँछ भन्ने बुझ्न कम्प्युटर मोडलिङ गरेर हेरे हुन्थ्यो।
सिमेन्ट, बालुवा र डन्डी नै विकास हो भन्ने पत्रु ज्ञानले सुसज्जित निर्माणकर्ताहरूले अहिलेकै अवस्थामा पनि नदीको बहाव क्षेत्र बढाउन सकिन्छ भन्ने बुझ्न सकेको देखिन्न। उदाहरणका लागि, बागमती किनारमा लगाइएको ढुंगाको पर्खाल आधा होचो बनाएर सडक र नदीबीचको भागको उचाइ घटाउने हो भने नदीमा धेरै पानी बग्दा ठूलो क्षेत्र ओगट्न पाउँथ्यो र बहावको क्षति कम गर्न सकिन्थ्यो।
अहिलेको अग्लो पर्खालले पानी थुनिँदा वेगवान बनेको पानीले त्यही पर्खालको जग खोतल्दै पूर्वाधारको आयु छोट्याउने निश्चित छ।
हामीले पछाडि फर्केर नदी कज्याउने मानवीय 'पुरूषार्थ' ले निम्त्याएको विनाशलाई बुझ्ने हो भने यो सर्कसमा कज्याइएको बाघभन्दा खतरनाक हुन्छ भन्ने थाहा हुन्छ। बरू बाघ त चाबुकको डरले भनेजस्तो नाचिदेला, तर रिस उठेको बेला कज्याइएको बाघले त मान्छेलाई छोड्दैन भने यो त नदी हो।
धरानका मेयर हर्क साम्पाङले 'खोला नखोतलौैं न' भन्दा पाखुरा सुर्कनेहरूले र पूर्वराष्ट्रपति रामवरण यादवले 'चुरे दोहन रोकौं न' भन्दा नाक र गाला खुम्च्याउनेहरूले यो देशलाई माया गर्दैनन् भन्दा अतिशयोक्ति हुँदैन।
यहाँ नदीलाई पूर्ण प्राकृतिक रूपमै छाड्नुपर्छ भन्न खोजिएको होइन। यति मात्र भन्न खोजेको हो, नदी र प्रकृतिसँग काम गर्दा प्रतिस्पर्धा र सहकार्यबीच सन्तुलन कायम गर्नुपर्छ। यसका लागि नदीलाई बुझ्न र उसका आवश्यकता र सीमा मनन गर्न जरूरी छ।
आजसम्म आइपुग्दा विज्ञानले थुप्रै सफल परीक्षणहरू गरिसकेको छ। ती ज्ञान एकत्रित गरेर हाम्रो सन्दर्भमा कसरी लागू गर्ने भनेर सोच्नु जरूरी छ। यसका लागि निर्देशित अध्ययन, अनुसन्धान गर्नुपर्छ र त्यसमा घोत्लिनुपर्छ। आज दोब्बर, भोलि चौब्बर गर्नेे जग्गा व्यवसायी, आठ-दस महिनाका लागि खटिएर आउने कर्मचारी र मकै बारीमा ओर्लिएको बाँदरजस्तो अवसर टिप्न हतार भएका राजनीतिक नेतृत्वले यसो गर्न सक्ने कुरा भएन।
यसपालिको बर्खा सकिँदैछ। अब हामी अर्को सालको प्रकोपको कथा टिप्न आराम गरौं।
(लेखक भूमिगत जलस्रोत तथा काठमाडौं सम्पदा विशेषज्ञ हुन्।)
यो पनि हेर्नुहोस्: