विश्वमा कोरोनाको ओमिक्रोन भेरियन्टले एकछत्र राज गरेको लगभग एक वर्ष पुग्न लागेको छ।
अघिल्लो भेरियन्टभन्दा लामो समय स्थिर रहन सक्नुमा ओमिक्रोनले आफू अनुकूल निरन्तर काचुली फेर्न वा परिवर्तन गर्न सक्नु नै हो। ओमिक्रोनले 'बिए वान' देखि 'बिए फाइभ' सम्मको भेरियन्टहरू बनाइसकेको छ भने केही समय अगाडि ओमिक्रोनको आफ्नै दुई भेरियन्ट मिलेर XE नामक हाइब्रिड भाइरसको विकास भई फैलिएको समेत थियो।
हाल विश्वमा ओमिक्रोनको 'बिए फोर' र 'बिए फाइभ' उपप्रजाति फैलँदो छ।
छिमेकी देश भारतमा पनि यी दुई ओमिक्रोनका उपप्रजातिहरू मे महिनाको अन्ततिर देखिएको त्यहाँका सञ्चार माध्यमले जनाएका थिए।
नेपालमा केही हप्तादेखि स्थिर रहेको कोरोना संक्रमितको संख्या पछिल्लो समय बढ्ने क्रमसँगै नेपालमा पनि नयाँ भाइरसको आगमन भएको हुनसक्ने अनुमान थियो। त्यो अनुमान केही दिन अगाडि ओमिक्रोनको 'बिए फाइभ' उपप्रजाति पुष्टि भएसँगै सत्य सावित भएको छ।
नेपालमा ओमिक्रोनको 'बिए वान' र 'बिए टु' पछि एकै पटक 'बिए फाइभ' उपप्रजातिले जम्प गरेर आफ्नो उपस्थिति जनाएको हो।
'बिए फाइभ' उपप्रजाति देखिएसँगै हाल मानिसमा बढी जिज्ञासा तर केही त्रास पनि देखिएको छ। विगतमा कोरोनाका विभिन्न लहरको चुनौतीको सामना गर्नु, मानवीय क्षति व्यहोर्नु र लामो समयको लकडाउनको अवस्थाबाट गुज्रिनुले यस्तो त्रास देखिनु स्वाभाविक पनि हो। तर कोरोनालाई दोस्रो वा त्योभन्दा अगाडिको अवस्थालाई हाल वा आगामी दिनमा देखिन सक्ने नयाँ स्वरूपको कोरोना भाइरसलाई एकै दृष्टिले हेर्न हुँदैन।
कोरोनाको दोस्रो लहरभन्दा अगाडि खोपको विकास वा सहज पहुँच नहुनु, केही नागरिकमात्र संक्रमित हुनु (पहिलो संक्रमण जटिल हुनसक्ने) र उपचारमा राम्रो ज्ञान र उपकरणको अभाव हुनुले बढी त्रसित हुनुपर्ने अवस्था थियो र धेरै मानवीय क्षति पनि यसै अवधिमा व्यहोर्नु परेको थियो।
तर हालको अवस्था भनेको सम्भवत धेरै मानिसहरू एक वा सोभन्दा बढी पटक प्राकृतिक रूपमा नै संक्रमित भैसकेको हुनसक्ने, खोपको दुई मात्रा पूर्ण खोप लगाएकाहरू जनसंख्याको झन्डै ७० प्रतिशत पुगिसकेको र बुस्टर डोजको पनि सहज उपलब्धता हुनु र उपचार पद्धतिमा पनि धेरै जानकारी र सुधारहरू भैसकेको अवस्था हो।
दक्षिण अफ्रिकामा 'बिए फोर' र 'बिए फाइभ' ले कोरोनाको नयाँ लहरको सृजना त गर्यो तर मूल ओमिक्रोनको तुलनामा जटिलता /घातकता भने कम देखियो।
हाल अमेरिका तथा युरोपमा 'बिए फोर' र 'बिए फाइभ' ले अघिल्लो पुस्ताको ओमिक्रोन उपप्रजातिलाई तीव्र विस्थापित गर्दै गइरहेको भएता पनि अस्पताल भर्ना हुने वा मृत्यु हुने संख्यामा तुलनात्मक रूपमा बढोत्तरी भएको भने देखिएको छैन।
यो लेख लेख्दै गर्दा नेपालमा ओमिक्रोनको 'बिए फाइभ' उपप्रजाति देखा परिसकेकोले सम्भवत आगामी दिनमा संक्रमितको संख्यामा वृद्धि हुनसक्ने सक्ने भएता पनि त्यसको अनुपातमा अस्पताल भर्ना हुनेको संख्या भने कम हुनसक्ने आकलन गर्न सकिन्छ।
'बिए फोर' भन्दा 'बिए फाइभ' उपप्रजाति तीव्र गतिमा फैलन सक्ने क्षमता भएको अनुसन्धानहरूले देखाउँदै गर्दा नेपालमा पुनः संक्रमितहरूको लहर देखिन सक्ने सम्भावना देखिन्छ।
'बिए फाइभ' उपप्रजातिले सजिलै पुनः संक्रमित गर्न सक्ने (प्राकृतिक रूपमा संक्रमित भएका वा खोप लगाइसकेका) क्षमता भएको पुष्टि भैसकेको छ। ओमिक्रोनको नयाँ उपप्रजाति 'बिए फाइभ' को लक्षण मूल ओमिक्रोनको भन्दा खासै फरक नभएको उपचारमा संग्लग्न चिकित्सकहरूको भनाइ छ। ओमिक्रोनको लक्षणहरू अघिल्लो कोरोनाको भेरियन्टभन्दा कम घातक देखिएको थियो।
ओमिक्रोनको उपप्रजातिलाई लक्षणको आधारमा एक अर्कासँग छुट्याउन लगभग असम्भव प्राय: हुन्छ। तर पिसिआर विधिबाट एकभन्दा बढी जीन पत्ता लगाउने भएकोले 'बिए फाइभ' भए/नभएको अनुमान भने गर्न सकिन्छ।
'बिए वान' ओमिक्रोन नदेखिएको ठाउँमा एस जीन नेगेटिभ भएका कोरोना भाइरस देखिए त्यो 'बिए फाइभ' उपप्रजाति हुनसक्ने छ। किनभने 'बिए फाइभ' उपप्रजाति पनि बिए वान जस्तै एस जीन टार्गेट फेलर ओमिक्रोन भएको अध्ययनले पुष्टि गरेको छ। तर 'बिए फोर' पनि एस जीन टार्गेट फेलर ओमिक्रोन भएकोले नेपालमा 'बिए फोर' देखापर्यो भने 'बिए फाइभ' सँग पिसिआर प्रविधिबाट छुट्याउन सम्भव भने देखिँदैन।
'बिए फाइभ' उपप्रजातिलाई हालसम्मकै कोरोना भाइरसमध्ये सबभन्दा बढी संक्रामक अर्थात् छिटो फैलन सक्नेको श्रेणीमा राखेको छ।
ओमिक्रोनका उपप्रजातिमध्येमा पनि यो पछिल्लो पुस्ताको 'बिए फाइभ' उपप्रजातिलाई सबभन्दा बढी संक्रामक मानिएको छ। तर यसको फैलावटको क्षमता भने दैनिकी/जीवनशैलीमा आधारित हुने गर्छ। जस्तै: ओमिक्रोन भेरियन्टलाई अघिल्लो भेरियन्टभन्दा तीव्र गतिमा फैलने क्षमता भएको मानिएको छ।
यसको मुख्य कारण भनेको ओमिक्रोन भेरियन्टको लक्षण कम घातक हुनु अर्थात् अझ प्रष्ट भन्नुपर्दा घाँटी दुख्ने तथा रूघाका सामान्य लक्षण देखिनु नै थियो। फलस्वरूप जनस्वास्थ्यका मापदण्ड इमानदारीपूर्वक पालना गरिएन भने संक्रमितहरूले पनि आइसोलेसन बस्नमा इमानदारिता नदेखाउनाले यसको फैलने क्रमले तीव्रता पाएको देखिन्छ।
हाल पहिलेभन्दा धेरैले खोप लगाइसकेको र एकभन्दा बढी पटक संक्रमित भैसकेको अवस्थाले गर्दा लक्षणहरू कडा हुने सम्भावना कम भएको वा हुने देखिन्छ। यसर्थ धेरैले जनस्वास्थ्यका मापदण्डहरूलाई इमानदारिताका साथ पालना गर्ने सम्भावना पनि कम हुनेछ र नतिजा स्वरूप संक्रमण समुदायमा छिटो स्थापित हुनेछ। तर ओमिक्रोनभन्दा अघिल्लो भेरियन्टहरूमा सर्वसाधारणहरू तुलनात्मक रूपमा बढी जनस्वास्थ्यका मापदण्डहरूप्रति संवेदनशील भने देखिन्थे।
अन्तमा, विश्वमा ओमिक्रोनको 'बिए फोर' र 'बिए फाइभ' उपप्रजातिले अघिल्लो पुस्ताका उपप्रजातिलाई तीव्र गतिमा विस्थापित गर्दै गइरहेको अवस्थामा नेपालमा पनि 'बिए फाइभ' कोरोनाले चौथो लहरको उचाइ बढाउन मदत गर्न सक्ने सम्भावना देखिन्छ। तर खुसीको समाचार भने यसले विगतमा देखिएका ओमिक्रोन पुस्ताका उपप्रजातिभन्दा बढी अस्पताल भर्ना गराउन सक्ने क्षमता भएको वा घातकता भने देखिएको छैन।
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)