श्री पालिका प्रमुख ज्यूहरू,
जनताले तपाईंहरूलाई चुनेर पाँच वर्ष आफ्नो पालिकाको नेतृत्व गर्न पठाएका छन्।
तपाईंहरू स्थानीय निर्वाचनमा उठ्नुको विविध कारण थिए होलान्- नाम/दाम कमाउन, पुर्खाको विरासत थाम्न, आफ्नै दलले टिकट नदिएपछि बागीको रूपमा, सत्ता र शक्तिको केन्द्रमा बस्न, इमानदार भएर काम गर्न, अरूसँगको विरक्ति र असन्तुष्टि पोख्न, आदि। कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि होलान्।
जनताले तपाईंहरूलाई मत दिनुका कारण पनि विविध होलान्- व्यक्ति वा विचार मन परेर, तपाईंहरूले पहिले गरेको काम देखेर, प्रचार शैलीबाट प्रभावित भएर, तपाईंहरूसँग कुनै लाभ लिएकाले, आदि। यसमा पनि कति बाहिर भन्नै नमिल्ने कारणहरू पनि हुन सक्छन्।
जुन सुकै उद्देश्यका लागि भए पनि तपाईंहरूलाई मत दिने, नदिने वा दिन नपाउने सबैको निर्वाचित नेता भइसक्नु भएको छ।
राजनीतिलाई फोहोरी खेल भन्नेहरू धेरै छन्। जसले जे भने पनि बहुमत जनताले चुनेका तपाईंहरू पूरै 'फोहोरी' हुनु हुन्न होला, पूरै खराब हुनु हुन्न होला। मानिसहरूलाई पक्कै पनि केही न केही गुन लाउनुभएको होला। मानिसहरूलाई सुन्दर भविष्यको सपना देखाउनुभएको होला। त्यसमा मानिसहरू विश्वस्त भएर त होला उनीहरूले तपाईंहरूलाई अरू उम्मेदवारभन्दा धेरै मत दिए।
तपाईंहरूको मन भित्र कतै न कतै त होला- पाँच वर्ष गज्जब काम गर्न सकौं। आफ्नो ठाउँलाई उत्कृष्ट बनाउन सकौं।
तपाईंहरू भित्रको त्यही चाहना र सपनाको माझमा बालबालिकाहरू पनि होलान्। आफ्नो पृष्ठभूमि, दल वा आबद्धता जे सुकै भए पनि तपाईंहरूलाई बालबालिकाहरूको माया लाग्छ होला। अन्य ठाउँका बालबालिकाको वास्ता नभए पनि आफ्नो परिवार, छिमेक, टोल र पालिकामा भएका बालबालिकाको माया लाग्छ होला।
वर्षमा दुई सयभन्दा बढी दिन बालबालिकाहरू विद्यालयमा हुन्छन्। विद्यालयको सिकाइले उनीहरूको भविष्य निर्धारण गर्छ। त्यही विद्यालय शिक्षाको नेतृत्व, सञ्चालन र व्यवस्थापन गर्ने स्थानमा तपाईंहरू हुनुहुन्छ।
विद्यालयका बालबालिकाहरू अहिलेका मतदाता होइनन्। अर्को पाँच वर्षमा तपाईंहरूको क्षेत्रमा केही हजार बालबालिकाहरूले मत हाल्न पाउलान्। यी बालबालिकाहरू अहिले आफ्नो स्वार्थ पूरा गरिदिनु पर्यो भन्दै तपाईंहरूको ढोकामा आउँदैनन्। तपाईंको समर्थन वा विरोधमा नारा लाउँदैनन्। कतै 'सोर्स' लाइदिनु पर्यो भन्दै तपाईंलाई पछ्याउँदैनन्।
त्यसैले यी बालबालिकाहरू तपाईंहरूको नजरबाट ओझेल पर्न सक्छन्। ठूला मान्छेहरूको काममा नै तपाईंको समय बित्न सक्छ। अरूले सहजै देख्ने भौतिक पूर्वाधारको विकासमा मात्र तपाईंको ध्यान पुग्न सक्छ।
तर आज हामीले बेवास्ता गर्ने यिनै बालबालिकाहरूले भोलिको समाज बनाउने हुन्। विद्यालयबाट बालबालिकाको सिकाइ उच्च भयो भने उनीहरूले समग्र समाजको भविष्य बनाउने छन्।
हामीले देखेका छौं- एक राम्रो नेताको लक्षण भनेको आजका आकस्मिक आवश्यकता पूरा गर्दै सुन्दर भविष्यको पूर्वाधार अहिलेदेखि नै तयार गर्नु पनि हो। आजको विद्यालय बनाउनु र बालबालिकालाई गुणस्तरीय शिक्षा दिनु भनेको केही वर्षपछिको समाज पनि बनाउनु हो। आजको विद्यालय जस्तो भयो भोलिको सरकार, सदन, सडक र समाज उस्तै हुनेछ।
आफ्नो कार्यक्षेत्रको विद्यालयहरूलाई उत्कृष्ट बनाउनु भयो भने तपाईंलाई आशीर्वाद र समर्थन हजारौं विद्यार्थी, अभिभावक र शिक्षाको महत्व बुझ्ने हरेक नागरिकले दिनेछन्। आफ्नो पालिका बाहिर पनि तपाईंहरूको चर्चा हुनेछ। तपाईंहरूको अभ्यासबाट अरूले सिक्नेछन्।
अबको पाँच वर्षमा पनि सार्वजनिक शिक्षामा रूपान्तरणको उदाहरण आमआदमी पार्टीले भारतको नयाँ दिल्लीमा गरेको उदाहरणबाट मात्र होइन, हाम्रै पालिकाहरूमा हेर्न पाइयोस्।
केही नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गर्ने घोषणा गरेका छन्। यसको लागि नेपालमा भइरहेका अभ्यास र केही अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्न सकिन्छ। केही विद्यमान संरचनालाई सुदृढ बनाएर र केही संरचना थपेर गर्न सकिन्छ।
हरेक नगरपालिकामा समग्र शिक्षा हेर्ने शिक्षा शाखा छ। त्यस शाखाका कर्मचारीलाई परिचालन गरेर र केही बाह्य जनशक्ति थपेर समग्र रूपान्तरणको काम गर्न सकिन्छ। इच्छाशक्ति हुने हो भने आमूल परिवर्तन ल्याउन सक्ने प्रशस्त ठाउँहरू छन्।
तल उल्लेख गरिएका केही अभ्यास मात्र गर्न सकियो भने पनि पालिकामा शैक्षिक रूपान्तरणका अनगिन्ति सम्भावनाहरू खुल्नेछन्। उल्लिखित अभ्यासहरू कतिपय नेपालमा भइरहेका छन्, कति छिमेकी मुलुक भारत र अन्य केही देशमा भइरहेका छन्। यी अभ्यासबाट सिक्दै पालिकाले आफ्नै मौलिक प्रयोग पनि गर्न सक्छ।
पालिकाको समग्र शैक्षिक स्थिति पत्ता लाउने
शैक्षिक रूपान्तरणको योजना बनाउनुअगाडि आफ्नो पालिकाको समग्र शैक्षिक स्थिति पत्ता लगाउनु आवश्यक छ। त्यसपछि हरेक वर्षको प्राथमिकता छुट्याउन सजिलो हुनेछ।
२०७६ सालमा तुलसीपुर उपमहानगरपालिकाले त्यहाँको समग्र शैक्षिक स्थिति बुझ्न भारतको 'प्रथम' नामक संस्थाले सन् २००५ देखि प्रयोगमा ल्याएको ASER (Annual Status of Education Report) सर्भे गरेको थियो। भारतको सबैभन्दा ठूलो नागरिक सहभागितामा हुने यो सर्वेक्षणले वार्षिक रूपमा विद्यार्थीहरूको आधारभूत सिकाइको भरपर्दो जानकारी दिन्छ। यस सर्वेक्षणमा हरेक विद्यालयको सिकाइ उपलब्धि, भौतिक संरचना, बालबालिकाको सिकाइ उपलब्धिलाई प्रभाव पार्ने कारक तत्वहरू, आदि धेरै पक्षको अध्ययन गरिएको थियो।
तुलसीपुर उपमहानगरपालिकाले गरेजस्तो सर्वेक्षण अरू पालिकाले पनि गर्न सक्छन्। स्थानीय कलेजका विद्यार्थीहरू र केही स्वयंसेवकहरू परिचालन गरेर यस सर्वेक्षण न्यूनतम खर्चमा सकिएको थियो।
ASER का अलावा यस्तो जानकारी प्राप्त गर्ने अन्य अध्ययन पनि सकिन्छ। यस्तो अध्ययनले दिएको तथ्यांकको आधारमा पालिकाको प्राथमिकता, सहयोग बढी चाहिने विद्यालय, आदि छनोट गर्न सजिलो हुन्छ।
(तुलसीपुर उपमहानगरपालिकाको सर्वेक्षणको लिंक- ASER Report Tulsipur.pdf (tulsipurmun.gov.np)
विद्यार्थी र मुख्य सरोकारवालाहरूलाई रूपान्तरण योजनामा सहभागी गराउने
कुनै पनि योजना बनाउनुअगाडि विद्यार्थीहरूको अनुभव सुन्नै पर्छ। हरेक योजना उनीहरूको अनुभव, वास्तविकता, आवश्यकता र सपनाबाट निर्देशित हुनु पर्छ। त्यस्तै अन्य विभिन्न पक्षको पनि सहभागिता सुनिश्चित गर्नु पर्छ- बालबालिकाहरूलाई जन्माउने/हुर्काउने अभिभावक, विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापक, शिक्षण सिकाइ क्रियाकलाप सन्चालन गर्ने शिक्षक, बालबालिका सम्बन्धी अध्ययन गर्ने अध्येताहरू, आदि।
यसबाट पालिकाले तय गर्ने कुनै पनि योजना आफ्नो परिवेश सुहाउँदो हुनेछ। परिवेश मिल्ने योजना मात्र सम्पूर्ण सरोवारकालाहरूको सहभागितामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकिन्छ।
प्रधानाध्यापकको नेतृत्व र व्यवस्थापकीय क्षमता सुदृढ बनाउने
नियत सफा भएका क्षमतावान प्रधानाध्यापकहरूले आफ्नै पहलमा विद्यालय सुधार गरेका यथेष्ट उदाहरण छन्। विद्यालयको समग्र उन्नतिका लागि विद्यालयको नेतृत्व र व्यवस्थापनको महत्वपूर्ण भूमिका हुन्छ। सकारात्मक सोच भएका उप्रेरित शिक्षकहरू पनि विद्यालयको नेतृत्व राम्रो भएन भने काम गर्न सक्दैनन्।
यसका लागि प्रधानाध्यापकको नेतृत्व र व्यवस्थापकीय क्षमता सुदृढ बनाउनै पर्छ। पालिकाले आफ्नो पहलमा निम्न बमोजिम केही प्रयासहरू गर्न सक्छ-
- प्रधानाध्यापकलाई निरन्तर नेतृत्व र व्यवस्थापनको प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ। उनीहरूको काममा निरन्तर सहयोग र 'मेन्टरिङ' को व्यवस्था गर्ने संरचना बनाउन सकिन्छ
- विद्यालयको भौतिक पूर्वाधार र 'लजिस्टिक्स' हेर्नका लागि छुट्टै व्यक्तिको व्यवस्था गर्न सकिन्छ। विद्यालयमा केही समस्या पर्नेबित्तिकै समाधान गर्ने संरचना बनाउन सकिन्छ।
- आफ्नै पालिकाभित्रका प्रधानाध्यापकहरूबीच सिकाइ आदानप्रदान र समस्या समाधानको लागि नियमित सत्र आयोजना गर्न सकिन्छ। यस्तो सत्र सबै तहका प्रधानाध्यापकबीच सँगसँगै वा प्राथमिक, आधारभूत र माध्यमिक तहको फरक फरक समयमा गर्न सकिन्छ।
- प्रधानाध्यापकलाई शिक्षण सिकाइको अवलोकन, पृष्ठपोषण तथा शिक्षकहरूलाई सहयोग गर्ने भूमिकाको रूपमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ।
- राम्रो गरिरहेका प्रधानाध्यापकहरूको अनुभवमा एउटा कुरा समान देखिन्छ। उनीहरू सिक्नका लागि असल अभ्यास गरिरहेका धेरै ठाउँमा पुग्छन्। धेरै मानिसहरूसँग भेटेर सल्लाह माग्छन्। आफैं नगर्ने प्रधानाध्यापकलाई समेत समेट्ने गरी उत्कृष्ट अभ्यास गरिरहेको नेपालभित्र र बाहिरका विद्यालयहरूमा भ्रमण गराउन सकिन्छ। अथवा, प्रविधिको माध्यमबाट उत्कृष्ट विद्यालयहरूसँग जोडेर 'भर्चुअल टुर' गराउन सकिन्छ।
- सुरूमै प्रधानाध्यापकलाई सुदृढ पार्न नसकिने अवस्थामा विद्यालयको व्यवस्थापनमा काम गरिरहेका संस्थाहरू वा समुदायका व्यवस्थापन र नेतृत्व क्षमता भएका युवाको अस्थायी सहयोग लिन सकिन्छ।
ललितपुरको महालक्ष्मी नगरपालिकास्थित भानोदय आधारभूत विद्यालय करिब पाँच वर्षअगाडि अर्को स्कुलमा गाभिने अवस्थामा थियो। त्यति बेला एक स्थानीय युवाले व्यवस्थापन सम्हाले र केही समयपछाडि 'कोल्याबोरेटिभ स्कुल्स नेटवर्क' नामक संस्थासँग व्यवस्थापनमा सहकार्य गरेपछि हाल विद्यालयको कायापलट भएको छ। डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकास्थित याङ्जेर गुम्बा आधारभूत विद्यालयले व्यवस्थापनमा 'हिमालयन डेभलपमेन्ट इनिसिएटिभ' सँग सहकार्य गरेपछि विद्यालयको शैक्षिक स्थिति सुधार भएको छ।
शिक्षकको ज्ञान, सीप र भूमिका सुदृढ बनाउने
शिक्षण सिकाइको क्षेत्रमा प्रयोग हुने एक प्रसिद्ध मोडल छ- एकेडेमिक इम्प्याक्ट मोडल।
यो मोडलका अनुसार शिक्षकको सोच, विश्वास र मनस्थितिले उसको कार्य र व्यवहार निर्धारण गर्छ। शिक्षकको कार्य र व्यवहारबाट विद्यार्थीहरूको सोच र मनस्थिति निर्धारण हुन्छ। विद्यार्थीको सोच र मनस्थितिले उनीहरूको व्यवहार र कार्य निर्धारण हुन्छ। अन्ततः विद्यार्थीहरूको समग्र शैक्षिक उपलब्धि निर्धारण हुन्छ।
यसको अर्थ यो हो, शिक्षकले आफू, विद्यार्थी र शिक्षण सिकाइबारे सोच्ने कुराले उसको समग्र व्यवहार र काम तय गर्छ।
शिक्षकको भर्ना संघीय सरकारको मातहत रहेकाले यसमा पालिकाको भूमिका रहँदैन। तर शिक्षकलाई नियमित रूपमा अपग्रेड गर्ने र प्रभावकारी बनाउने काम पालिकाले गर्न सक्छ।
यसका लागि केही उपायहरू निम्नानुसार हुन सक्छन्ः
- विद्यार्थी र शिक्षकको अनुपात मिलाउन नगरपालिका क्षेत्रभित्र दरबन्दी मिलान गर्न सकिन्छ। दरबन्दी मिलानपछि पनि शिक्षक अपुग रहेको ठाउँमा स्थानीय स्तरबाट योग्य शिक्षकको भर्ना गर्न सकिन्छ। 'निजी स्रोत' मा हुने भर्नालाई व्यवस्थित र गुणस्तरीय बनाउन सकिन्छ।
- पालिकाको रणनीतिक प्राथमिकताका आधारमा शिक्षकहरूलाई स्थानीय, राष्ट्रिय वा अन्तराष्ट्रिय तहमा प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ।
- पालिकामा हुने शिक्षा शाखालाई 'अनुगमन' र प्रशासनिक कामको भूमिकाबाट माथि उठाएर शिक्षकहरूका लागि नियमित सहयोग गर्ने संयन्त्रका रूपमा विकास गर्न सकिन्छ। यसबाट शिक्षकहरूले शिक्षण सिकाइसम्बन्धी कुनै समस्या पर्नेबित्तिकै सहयोग पाउन सक्नेछन्।
- शिक्षण सिकाइसम्बन्धी अनलाइन कोर्सहरू लिनका लागि शिक्षकहरूलाई प्रोत्साहित गर्न सकिन्छ। यसबाट उनीहरू दैनिक शिक्षण सिकाइको अनुभव गर्दै आफ्नै विद्यालयबाट पनि कोर्स गर्न सक्नेछन् र आफूलाई 'अपग्रेड' गर्न सक्नेछन्।
- शिक्षण सिकाइ तथा विद्यालयको विविध पक्षमा उत्कृष्टता प्रदर्शन गर्ने शिक्षकहरूलाई पुरस्कृत गर्न सकिन्छ। उनीहरूलाई 'मेन्टर' शिक्षकका रूपमा नियुक्त गरेर आफ्नो र अन्य विद्यालयको केही शिक्षकलाई सहयोग गर्ने व्यवस्था मिलाउन सकिन्छ।
- भौगोलिक रूपमा नजिक रहेका विद्यालयका शिक्षकहरूको समूह बनाएर नियमित रूपमा भेला गर्न सकिन्छ। यस भेलामा उनीहरूले तहगत, विषयगत वा समष्टिगत रूपमा आफ्ना अनुभव साटासाट गर्दै आफ्नो समस्याहरूको समाधान आपसी छलफलबाट निकाल्न सक्छन्।
- निश्चित समयावधिमा पालिकाका सम्पूर्ण शिक्षकहरूको भेला आयोजना गरेर सिकाइ साटासाट गर्न सकिन्छ। यसमा हरेक विद्यालयको उपलब्धि र चुनौतीहरू साटासाट गर्न सकिन्छ।
- विशेष आवश्यकता भएका शिक्षकहरूलाई सोहीअनुसार प्रशिक्षणमा सहभागी गराउन सकिन्छ।
- शिक्षकहरूको तयारी र विकासका लागि केही संस्थाहरूको प्रयासबाट सिक्न सकिन्छ।
'टिच फर नेपाल' ले आफ्ना शिक्षकहरूलाई शिक्षणलाई नेतृत्वसँग जोडेर प्रशिक्षण गर्छ। विरलै शिक्षाको पृष्ठभूमिबाट आउने शिक्षकहरूलाई टिच फर नेपालले विभिन्न चरणमा तयारी र विकास गर्छ- ६ हप्ताको आवासीय पूर्वसेवा प्रशिक्षण, शिक्षकको कक्षामा महिनामा कम्तीमा एक पटक 'कोच' को अवलोकन र सहयोग, करिब एक महिनामा भौगोलिक रूपमा नजिक रहेका शिक्षकहरूको भेला, ३-३ महिनामा सबै शिक्षकहरूको भेला, संघर्ष गरिरहेका शिक्षकलाई विशेष सहयोग, आदि।
सिन्धुपाल्चोकको विभिन्न पालिकाहरूमा कार्यरत 'हेलम्बु एजुकेसन लाइभ्लीउड पार्टनरसिप' (हेल्प), सोलुखुम्बुमा कार्यरत 'क्लासरूम इन द क्लाउड्स' आदि संस्थाहरूले पनि शिक्षकहरूलाई ऊर्जा दिने र उत्प्रेरित गर्ने महत्वपूर्ण अभ्यास गरेका छन्।
आवश्यक भौतिक पूर्वाधार तयार गर्ने
धेरै प्रधानाध्यापकहरूलाई एउटा आरोप लाग्ने गरेको छ- भौतिक संरचना बनाउने काम मात्र भयो, शैक्षिक सुधारमा ध्यान गएन।
हुन पनि हो, कतिपय स्कुल गएर हेर्ने हो भने, भवनहरू आकर्षक र ठूला देखिन्छन्। तर ती ठूला भवनहरूमा विद्यार्थीहरूलाई सजिलो बनाउने कुरामा ध्यान दिइएको पाइँदैन। भवन ठूलो भए पनि विद्यार्थीहरू बस्ने बेन्च साँघुरो हुन्छ। शुद्ध खानेपानीको व्यवस्था हुँदैन। शौचालयमा पानी हुँदैन। बिग्रेको धारो वर्षौंदेखि बनेकै हुँदैन। बालबालिकाहरूलाई उफ्रिन र खेल्ने ठाउँ हुँदैन।
यसका लागि पालिकाबाट केही पहलहरू गर्न सकिन्छः
- कक्षाकोठा अपुग वा साँघुरो भएका स्कुलहरूमा नयाँ कक्षाहरू थप गर्न सकिन्छ। कक्षामा विद्यार्थीहरू बस्ने डेस्क-बेन्च आरामदायी बनाउन सकिन्छ। कक्षामा उज्यालो र हावा राम्रोसँग बहने बनाउन सकिन्छ।
- फुंग उडेको विद्यालयलाई बालबालिकालाई रमाइलो लाग्ने गरी साजसज्जा गर्न सकिन्छ। स्कुलको भौतिक वातावरण यस्तो होस् कि बालबालिकालाई आऊँ आऊँ लागोस्।
- पुस्तकालय नभएका स्कुलमा पुस्तकालय निर्माण गरेर किताबहरू राख्न सकिन्छ। पुस्तकालय भएका विद्यालयमा किताब थप्न सकिन्छ।
- हरेक स्कुलमा सबै तहका विद्यार्थीलाई हुने गरी इनडोर र आउटडोर खेल व्यवस्था गर्न सोही अनुसारका संरचना बनाउन सकिन्छ।
- जग्गा कम भएको विद्यालयलाई उद्यान, करेसाबारी र खेल मैदानका लागि विभिन्न निकायसँगको समन्वयमा जग्गा उपलब्ध गराउन सकिन्छ।
- विद्यालयका हरेक संरचना बालबालिका र फरक क्षमता भएका विद्यार्थी र शिक्षकलाई सहज हुने हिसाबले बनाउन सकिन्छ।
- लामो दूरी हिँड्नु पर्ने बालबालिकाहरूका लागि यातायातको साधनको व्यवस्था गर्न सकिन्छ।
विद्यालय व्यवस्थापन समितिको भूमिका चुस्त बनाउने
विद्यालय व्यवस्थापन समितिमा अभिभावकहरूसँगै शिक्षासँग सरोकार राख्ने समुदायका अन्य व्यक्तिहरू पनि सहभागी गराउन सकिन्छ। यस समितिलाई आफ्नो काम, कर्तव्य र अधिकार बुझाउन सकियो भने स्कुलको व्यवस्थापन र अभिभावकसँगको सम्बन्धमा आमूल परिवर्तन ल्याउन सकिन्छ।
यसका लागि विद्यालय व्यवस्थापन समितिलाई आफ्नो काम गर्न आवश्यक सीपका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिन्छ। त्यस्तै सिकाइ आदानप्रदान तथा समस्याहरूको सामूहिक समाधानका लागि पालिकाभित्रका विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको निश्चित समयमा भेला आयोजना गर्न सकिन्छ।
अभिभावक र समुदायसँग सहकार्य गर्ने
अभिभावक शिक्षाका महत्वपूर्ण पक्ष हुन्। बालबालिकाको समग्र हुर्काइ अभिभावकहरूको पृष्ठभूमि, ज्ञान र सीपमा निर्भर गर्छ। त्यस्तै समुदायले पनि बालबालिकालाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हुर्काएको हुन्छ। समुदायसँग भएको ज्ञान, प्रविधि र संस्कृति बालबालिकाको लागि ज्ञानका स्रोत पनि हुन्।
अभिभावक र समुदायसँग विभिन्न तरिकाबाट सहकार्य गर्न सकिन्छः
- अभिभावकलाई आफ्ना सन्तानको सिकाइसम्बन्धी जानकार र सचेत बनाउने कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ।
- विभिन्न उमेर समूहका बालबालिकाका अभिभावकहरूलाई 'बालबालिकाको हुर्काइ तथा पालनपोषण' सम्बन्धी प्रशिक्षणको व्यवस्था गर्न सकिन्छ।
- अभिभावक र समुदायका अन्य सदस्यहरूका सीप र ज्ञानलाई विद्यालयहरूमा सिकाउने व्यवस्था मिलाउन सकिन्छ।
- समुदायमा रहेका विभिन्न संघसंस्था तथा अनौपचारिक समूहसँग स्कुलहरूको सम्बन्ध बिस्तार गरेर संघसंस्था/समूहको कार्यक्षेत्र अनुसार विद्यार्थीहरूलाई सिकाइको 'एक्सपोजर' उपलब्ध गराउन सकिन्छ।
- पालिकाका जन्मिएका, हुर्किएका र हाल पालिकाबाहिर रहेका व्यक्तिहरूलाई विद्यालयसँग जोड्न सकिन्छ। उनीहरूलाई विद्यार्थीहरूको सिकाइ तथा आर्थिक सहयोगको लागि आग्रह गर्न सकिन्छ।
बाह्य समुदायसँग सहकार्य गर्ने
पालिकामा शैक्षिक रूपान्तरणका लागि बाह्य समुदायका व्यक्तिहरूको पनि महत्वपूर्ण सहभागिता हुन सक्छ। यसका लागि पालिकाले केही प्रयासहरू गर्न सक्छः
- विद्यालयमा शिक्षण सिकाइसम्बन्धी आवश्यकताको पहिचान गरी अस्थायी रूपमा सो परिपूर्ति गर्न स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उल्लेख्य काम गरिरहेका व्यक्तिहरूलाई स्वयंसेवकका रूपमा काम गर्न आह्वान गर्न सकिन्छ।
- स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा उल्लेख्य काम गरेका विभिन्न व्यक्तिहरूलाई विद्यार्थीहरूलाई 'मेन्टरिङ' गर्न आह्वान गर्न सकिन्छ।
- इन्टरनेटको माध्यमबाट नेपाल र नेपालबाहिरका विभिन्न क्षेत्रका मानिसहरूलाई करिअर एक्सपोजर र सिकाइका लागि विद्यालयमा जोड्न सकिन्छ।
- प्रधानाध्यापक तथा शिक्षकको तयारी र विकासमा कार्यरत विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्न सकिन्छ।
- शिक्षामा उत्कृष्ट अभ्यास गरिरहेका अन्य पालिकासँग पनि सहकार्य गर्न सकिन्छ।
शैक्षिक अभ्यास
शिक्षाका उद्देश्यहरू पूरा गर्न, शिक्षालाई समसामयिक, माटो सुहाउँदो र सीपसँग जोड्न विभिन्न अभ्यास गर्न सकिन्छः
- शिशु कक्षामा भर्ना भएदेखि नै बालबालिकाहरूलाई शारीरिक, मानसिक र सामाजिक रूपमा स्वस्थ रहन स्कुलमा सचेतना तथा अभ्यास गराउने वातावरण सिर्जना गर्न सकिन्छ।
- अहिले धेरै पालिकाहरूले 'स्थानीय पाठ्यक्रम' लागू गरेका छन्। लागू भएका ठाउँमा स्थानीय तीर्थस्थल, जनसांख्यिकी र संस्कृति मात्र होइन, स्थानीय ज्ञान, प्रविधि र व्यक्तिहरूको कथा समेट्न सकिन्छ।
- यौन हिंसा तथा दुर्व्यवहारसम्बन्धी सचेतनाका लागि निरन्तर कार्यक्रमहरू गर्न सकिन्छ।
- बालबालिकाहरूलाई विभिन्न परिस्थितिमा उपयोगी हुने आत्मरक्षाको प्रशिक्षण उपलब्ध गराउन सकिन्छ।
- पर्यावरणको माया तथा संरक्षणका लागि बाल्यकालदेखि नै सचेतना र अभ्यास गराउने वातावरण सिर्जना गर्न सकिन्छ।
- बालबालिकाहरूलाई प्रविधिमा साक्षर बनाउँदै इन्टरनेट र सामाजिक सञ्जालको समुचित प्रयोगबारे सचेतना फैलाउने कार्यक्रम गर्न सकिन्छ।
- बाल्यकालदेखि नै उद्यमशील सोच र व्यवहार विकास र प्रवर्द्धनका लागि विविध कार्यक्रम सञ्चालन गर्न सकिन्छ।
शैक्षिक व्यवस्थापन सुदृढ बनाउने
पालिकाको समग्र शैक्षिक कार्यक्रमको व्यवस्थापनका लागि केही अभ्यासहरू गर्न सकिन्छः
- पालिकामा शिक्षासम्बन्धी अध्ययन, अनुसन्धान र प्रयोगका लागि एक 'अनुसन्धान इकाई' बनाउन सकिन्छ। यस इकाईले पालिकाको वस्तुस्थिति विश्लेषण गर्दै शिक्षण सिकाइसम्बन्धी विभिन्न विधि, क्रियाकलाप, आदि सिफारिस गर्नेछ।
- शिक्षा शाखालाई मूलतः प्रशासन/व्यवस्थापन र शैक्षिक पक्ष हेर्ने गरी तयार गर्न सकिन्छ। प्रशासन/व्यवस्थापन उपशाखाबाट पालिकाभित्रको समग्र शिक्षा प्रशासन र व्यवस्थापनको काम गर्न सकिन्छ। शैक्षिक उपशाखाबाट शैक्षिक पक्षमा केन्द्रित भएर काम गर्न सकिन्छ।
- पालिका क्षेत्रभित्रका उदाहरणीय अभ्यासहरूको एकै ठाउँमा संग्रह र सबैको पहुँचमा राख्न वेबपोर्टल सुरू गर्न सकिन्छ।
विद्यार्थीहरूको विद्यालयमा अपनत्व महसुस गराउने
बालबालिकाहरू विद्यालयका सेवाग्राहीहरू हुन्। विद्यालयमा उनीहरूको पहुँच सहज हुनु पर्छ र विद्यालयका गतिविधिहरूमा सहभागिता हुनु पर्छ। बालबालिकाहरूले स्कुलमा गर्ने अनुभव नै स्कुलको सफलता वा असफलताको परीक्षा हो। यसको लागि केही प्रयासहरू गर्न सकिन्छः
- आवश्यकता भएका बालबालिकालाई पूर्ण छात्रवृत्ति व्यवस्था गरिनु पर्छ।
- औसत भन्दा कम सिकाइ उपलब्धि प्रदर्शन गरिरहेका विद्यार्थीहरूका लागि विद्यालयमा उपचारात्मक कक्षाहरूको व्यवस्था गर्न सकिन्छ।
- बाल क्लब गठन नहुने विद्यालयमा पनि बाल क्लब गठन गरिनु पर्छ। गठनका लागि नियमित निर्वाचनको सुनिश्चितता गरिनु पर्छ।
- विद्यालयको सुदृढीकरणमा बाल क्लबको भूमिकालाई चुस्त बनाउन सकिन्छ। बाल क्लबलाई विद्यार्थी र समुदाय/शिक्षक जोड्ने कडीका रूपमा तयार गर्ने र सोहीअनुरूप सहभागी गराउनु पर्छ। यसका लागि बाल क्लबको क्षमता विकास गर्न प्रशिक्षणहरू सञ्चालन गरिनु पर्छ।
कसरी गर्ने?
यहाँ उल्लिखित कतिपय कुराहरू प्रधानाध्यापक र शिक्षकहरूले नै गर्न सक्छन्। अब्बल अभ्यास गरिरहेका स्कुलहरूलाई प्रोत्साहित गरे हुन्छ। संघर्षरत स्कुलहरूलाई प्राथमिकतामा राखेर काम गर्न सकिन्छ। कति विद्यालयलाई हौसला र स्याब्बासी चाहिएको छ। कतिलाई अत्यधिक सहयोग चाहिएको छ।
यस्ता कार्यक्रम कति अहिलेकै स्रोतमा गर्न सकिन्छ, कति बाहिर स्रोत खोज्नु पर्छ। कति स्रोत आफ्नै ठाउँबाट जम्मा गर्न सकिएला। कति प्रदेश सरकार र संघीय सरकारलाई विश्वस्त बनाएर पाउन सकिएला। कति शिक्षालाई माया गर्ने र मनकारी मानिसहरूको सहयोग लिएर जम्मा गर्न सकिएला। नियत सफा राखेर विश्वसनीय योजना प्रस्तुत गर्दा सहयोग गर्नेहरू पक्कै पनि भेटिन्छन्।
शैक्षिक रूपान्तरणको अर्को महत्त्वपूर्ण पाटो काम गर्ने व्यक्तिहरूको समूह पनि हो। योजना कार्यान्वयन गर्न आफ्नो राजनीतिक स्वार्थभन्दा माथि उठेर दक्ष र कामप्रति लगाव भएका मानिसको समूह बनाउनै पर्छ। हरेक वर्षको प्राथमिकता छुट्याउन सकेमा ५ वर्षमा उल्लेख्य काम हुन सक्छ।
(लेखक किङ्स कलेज, काठमाडौंका सामुदायिक केन्द्र प्रमुख हुन्।)
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)