गत मे ७ मा बेलायतले यो वर्षको पहिलो मंकिपक्स केस पुष्टि गरेको थियो र त्यसयता संक्रमितको संख्या निरन्तर उकालो लागेको देखिन्छ।
युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मे २४ सम्ममा ७७ जनामा संक्रमण पुष्टि भैसकेको छ।
यसरी हेर्दा बेलायतमा हाल औसतमा दैनिक झन्डै ५ जना मंकिपक्स संक्रमित हुने क्रम देखिन्छ।
पहिलो संक्रमित अफ्रिकाबाट फर्केको भएता पनि बाँकी संक्रमितको यकिन स्रोत थाहा हुन भने सकेको छैन। बाँकी विश्वमा पनि यही समयमा मंकिपक्सको लहर देखिँदै जानुले भाइरस मे महिना (पहिलो संक्रमण पुष्टि हुनु भन्दा) अघि नै फैलिरहेको सम्भावनालाई बल दिन्छ। अर्थात् मंकिपक्सको संक्रमण मे महिना अगाडिदेखि नै समुदायमा ‘सुषुप्त’ वा ‘साइलेन्ट’ रूपमा फैलिरहेको अनुमान गर्न सकिन्छ।
सन् १९५८ मा अनुसन्धान गर्न राखिएको बाँदरमा पहिलो पटक मंकीपक्स भाइरस देखिएको थियो भने मानवमा सन् १९७० मा एक कंगोली (कंगो देशमा) ९ वर्षीय बालकमा देखिएको थियो।
हाल पश्चिम तथा मध्य अफ्रिकी देशहरूमा यो भाइरस बेला-बेलामा प्रकोपको रूपमा देखिँदै आइरहेको छ तर आयातित रोगको रूपमा अफ्रिकी देशबाहिर पनि देखिने गरेको पाइन्छ।
पछिल्लो पटक एसियामा सन् २०१९ मा सिंगापुरमा एक नाइजेरियाबाट आएका व्यक्तिमा मंकीपक्स भाइरस पुष्टि भएको थियो। ती व्यक्तिलाई सिंगापुर आइपुगेको दोस्रो दिनमा ज्वरो आउने, जाडो हुने र जिउ दुख्ने जस्ता लक्षणहरू देखिएको थियो। तेस्रो दिनदेखि बिबिरा देखिन सुरू भएको थियो। तर समयमा नै सतर्कता अपनाउँदा सम्पर्कमा आएकाहरूमा भने यो भाइरस फैलन पाएको थिएन।
संक्रमण भएको ५ देखि २१ दिनसम्ममा लक्षणहरू देखिने गर्दछ।
लक्षणहरू दुई चरणमा देखिने गर्दछ।
पहिलोमा, ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, लिम्फ ग्रन्थीहरू सुन्निने आदि लक्षण देखिने गर्दछ।
दोस्रो चरणमा, विशेषत छालाको समस्यासँग सम्बन्धित हुने गर्दछ। सुरूमा मुख भित्र,अनुहार, हात खुट्टा तथा शरीरका अरू भागमा फैलने गर्दछ।
यी बिबिरा तरल पदार्थ/पिपले भरिने, फुट्ने, सुक्ने र झर्ने गर्दछन्।
सामान्यतया, संक्रमण २ देखि ४ हप्तासम्म रहने गर्दछ। तर जटिलता देखिए १० प्रतिशतसम्म संक्रमितको मृत्यु हुने गर्दछ।
पश्चिम अफ्रिकीमा मंकीपक्स भाइरस स्ट्रेनको मृत्युदर भने १ प्रतिशत मात्र छ। हाल अफ्रिका बाहिर फैलँदै गैरहेको भाइरस पनि पश्चिम अफ्रिकी मंकीपक्स भाइरस स्ट्रेन भएकोले पनि हालसम्म संक्रमितको मृत्यु भएको देखिँदैन।
हाल मंकीपक्स फैलिरहेको बारेमा वैज्ञानिकहरूमा अन्यौलता तथा बहसको सिर्जना भएको छ। जसले गर्दा उनीहरूले अध्ययन/अनुसन्धानलाई तीव्रता दिइरहेका छन्।
जनावरबाट मानिसमा सर्ने र पछि मानिसबाट मानिसमा सर्ने गर्दछ। मानिसबाट मानिसमा संक्रमितको थुकको छिटा नाक, मुख, आँखा तथा खुला छालामार्फत् सर्ने गर्दछ भने संक्रमितले प्रयोग गरेका कपडाबाट पनि सर्ने गर्दछ।
तर हालको लहर फैलनमा अधिकांशमा यी दुवै तरिका (जनावरबाट मानिसमा र मानिसबाट मानिसमा) भने प्रष्ट देखिँदैन। तर पुरूष-पुरूषबीचको शारीरिक सम्पर्कबाट संक्रमण फैलँदै गैरहेको अनुमान भने गरिएको छ जुन स्थापित तरिका भने होइन।
यद्यपि नाइजेरियाका वैज्ञानिकहरूले सन् २०१७ मा नै शारीरिक सम्पर्कबाट मंकीपक्स फैलने गरेको अनुमान भने गरेका थिए।
हालै विश्व प्रसिद्ध मेडिकल जर्नल ‘द ल्यान्सेट इन्फेकसिओस दिजिजेस’ मा प्रकाशित लेखमा संक्रमितका शरीरमा बिबिरा निको भैसकेको लामो समयपछि पनि घाँटी (थ्रोट स्वाब) बाट लिएको नमूनाको पिसिआर पोजिटिभ देखिएको थियो। त्यसैले गर्दा कतिपय संक्रमित तीन हप्ताभन्दा बढी अस्पताल बस्नु परेको थियो। यद्यपि यो सक्रिय भाइरस थियो/थिएन भन्ने उल्लेख गरिएको भने छैनन। किनभने कोभिड-१९ मा पनि लामो समयसम्म पिसिआर पोजिटिभ देखिने गरेको भएता पनि दश दिनपछि भाइरस सक्रिय नहुने देखिएको थियो।
हाल विश्वको कम्तीमा पनि १८ देशमा मंकीपक्स भाइरस पुगिसकेको छ। संक्रमितबाट नै एक देशबाट अर्को देशमा भाइरस फैलने गर्दछ।
छिमेकी देश भारतले पनि विदेशबाट आएका यात्रुहरूमा निगरानी बढाएको भनेका छन्।
नेपालसँग हाल विगतमा भन्दा धेरै देशहरूसँग हवाई सम्पर्क बढेको र यात्रुको संख्या पनि बर्सेनि बढ्दो देखिएकोले सजकता भने अपनाउनु पर्दछ।
‘मंकीपक्स’भाइरस फैलिएको देशबाट आएका भए २१ दिन क्वारेन्टिनमा बसे संक्रमण भित्रिन पाउँदैन।
यदि २१ दिनभित्र मंकीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिए तुरून्त स्वास्थ्यकर्मी अथवा सम्बन्धित निकायमा सम्पर्क गर्नुपर्छ। तर सम्पर्क कहाँ गर्ने भन्ने बारेमा सम्बन्धित निकायले सार्वजिनक गरिदिनु भने पर्छ।
मंकीपक्स भाइरस एकपछि अर्को देशमा एकै समयतिर फैलँदै गर्दा पुष्टि भएको समयअघि देखि नै यो भाइरस फैलिरहेको थियो भनेर अनुमान गर्न सकिन्छ। यो भाइरसको फैलने सम्भवत: नयाँ तरिकाको बारेमा भने यकिन हुन सकेको छैन। फैलने तरिका स्पष्ट नभएसम्म नियन्त्रण गर्न सहज पनि हुनेछैन।
तपाईं मंकीपक्स फैलिरहेको देशबाट आउनु भएको हो र २१ दिनभित्र शरीरमा अस्वाभाविक बिबिरा देखिएको छ? त्यो मंकीपक्स संक्रमण पनि हुनसक्छ है!
(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)