त्यो दिन खोइ किन हो, साइरन नै बजेन, बन्दुक पड्केन, ठोकठोक चार नम्बर भनेको पनि सुनिएन।
बेलुका छ बजे रोल कल गर्दा वीरेन्द्र अंकलले 'आमा बिरामी हुनुहुन्छ सर, घर जान दुई दिन बिदा चाहिएको छ' भन्दा कमान्डरले देश मर्ने बेलामा परिवारको कुरा नगर भन्नुभएको थियो। गस्ती जाने बखतमा 'यहाँ देशको छ चिन्ता तँ आमाआमा भन्छस्' भनेर जिस्क्याउँदै थिए पुलिसहरू। तरुनीको फन्दामा परेकालाई आमाको चिन्ता कस्तो हुन्छ कसरी अड्कल काट्थिस् र भन्दै वीरेन्द्र अंकलले व्यंग्य गर्नु भएथ्यो।
कारागारका पुलिसहरूमध्ये वीरेन्द्र अंकल सबैभन्दा प्यारो हुनुहुन्थ्यो। हामी टिप्पु, डन्डिबियो, चुंगी खेल्थ्यौं उहाँसँग। हामीसँग जानीजानी खेलमा हारिदिनुहुन्थ्यो। जानेरै हार्नुभएको रहेछ भन्ने त पछि मात्र थाहा पाएँ। त्यो बेला त अंकललाई खेल्नै आउँदैनजस्तो लाग्थ्यो, आफू खुब जान्नेजस्तो लाग्थ्यो।
बेलुकी पाँच बजिसक्दा पनि साइरन बजेन! बेन्चमाथि चढेर मैले साइरन बज्ने घर हेरेँ। हरियो रङको, लम्बाइ धेरै भएको घर थियो, जसलाई हामी रेल घर भन्थ्यौं। केही पड्किँदा त्यही घरबाट साइरनको आवाज आउँथ्यो।
म बेन्चबाट चढ्दै, ओर्लिँदै 'साइरन किन बजेन' भनेर त्यही घर हेर्दै थिएँ। दाइ सलाइको काँटी प्लास्टिकले बेर्दै थियो। सलाइका काँटी एकै ठाउमा बेरेर ढुंगाले हान्दा बन्दुकको जस्तो आवाज आउँथ्यो।
बेस्सरी जे पड्के पनि हामी बन्दुक भन्थ्यौं। फ्रुटी खाइसकेर डिब्बा फुकेर खुट्टाले पड्काउँथ्यौं र त्यसलाई पनि बन्दुक भन्थ्यौं। यस्ता चिज पड्किँदा साइरन बज्दैन भन्ने थाहा थियो। बिस्तारै पड्केर रेल घरसम्म नसुनिएको होला भन्ने लाग्थ्यो। मैले मेरो दाइलाई 'अलि मस्तै काँटी बेर न' भनेँ। दाइले अर्को एक डिब्बा सलाईको काँटी बेर्यो अनि ढुंगाले हान्यो, च्याट्ट गरेको आवाज आयो।
साइरन बज्छ कि भनेर मेरो ध्यान रेलघरमा थियो। आवाज रेलघरसम्म पुगेन, साइरन बजेन। मैले निन्याउरो अनुहार पार्दै सोधेँ, 'दाइ, आज किन साइरन बज्या छैन के?'
दाइले 'मलाई के था तो' भन्यो।
अब कसलाई सोधौं भयो।
एक पटक आफैं साइरन बजाउन कोसिस गर्छु भनेर जुक्ति लगाएँ। आँगनको ठूलो ढुंगो सकीनसकी उठाएर ढुंगासँगै जुधाएँ। त्यो आवाज त मैले पनि राम्ररी सुनिनँ, रेलघरले कसरी सुनोस्!
मलाई त कहिलेकाहीँ हजुरआमा बोल्दा साइरन बज्छजस्तो लाग्थ्यो। हजुरआमालाई ठूलो स्वरमा बोल्न लगाउँछु भन्ने सोचे। हजुरआमा खाइलाग्दी हुनु हुन्थ्यो। साइरनजत्तिकै तिखो आवाजमा बोल्नु हुन्थ्यो। त्यो बेला गोलमोल चाउचाउ खुब खान्थ्यौं। गोलमोल चाउचाउको खोलबाहिरको मान्छेको चित्र र हजुरआमा उस्तै लाग्थ्यो, दुबै मोटा।
हजुरआमाको छेउमा गएर 'ए गोलमोल बड्डी' भनेर भागेँ। हजुरआमा त मैले सोचेको भन्दा ठूलो आवाजले कराउनु भयो। त्यो पनि रेलघरले सुनेन। साइरन बजेन। च्याट्ट, प्याट्ट, बुडुम्म, गुटुटु गरी आउने आवाजबीचको फरक नै थाहा थिएन।
ठूलो आवाजमा जे पनि बज्छ वा पडकिन्छ अनि साइरन बज्छ भन्ने लाग्थ्यो। दाइ र मेरो झगडा परेर रुँदा आमा 'ऐलि साइरन बज्छ हट् था पाउछिस्' भन्नु हुन्थ्यो। अब साइरन बजाउने अन्तिम उपाय यही थियो। आफैं घ्वाँघ्वाँ रुने! रुन त रुने तर घरमा अरूले सोधेपछि के भन्ने! किन रोएँ भन्ने!
रुने एक मात्र सजिलो उपाए दाइसँग झगडा गर्ने थियो। आफ्नै सुरमा खेलिरहेको दाइसँग झगडा गर्न मैले उसको सिसाकलम भाँचिदिएँ।
'किन भाँच्द्याहोस्' भनेर दाइले पिट्यो।
मलाई दुखेकै थिएन तर घ्वाँघ्वाँ रोएँ। अझै पनि साइरन बजेन। रोएको आवाज तल्लो तालको ढिकी बोटसम्म पुगेछ। रोएको सुनेर आमा आउनुभयो र 'किन रोवा होस् बहिनीलाई' भनेर दाइलाई पिट्नुभयो।
त्यसपछि दाइ पनि रोयो। दाइको र मेरो रुवाइले आवाज ठूलो भयो। त्यति बेलै कतातिर हो बन्दुक पड्केको आवाज आयो। रेलघरले आवाज सुन्यो, साइरन बज्यो। घरका सबै भागाभाग गर्दै ढोका लगाएर खाटमुनि पस्यौं। सबैको अनुहारमा त्रास देखियो तर म खुसी थिएँ।
रुँदा पनि साइरन बज्ने रहेछ भन्ने त्यही दिन पत्ता लगाएँ। त्यो दिन पनि बन्दुक पड्केरै साइरन बजेको भन्ने कुरामा मलाई विश्वास गर्नु नै थिएन। आफैंले गर्दा साइरन बज्छ भन्ने सोच्दा पनि शक्तिशाली लाग्थ्यो। म त्यति बेला रोएरै शक्तिशाली बन्न चाहेँ।
बन्दुक पड्केपछि खाटमुनि लुक्दा खेल खेलेजस्तै मज्जा लाग्थ्यो। मध्यरातमा बारीतिर एम्बुस पड्केपछि घर थर्किन्थ्यो। घर थरर कामेपछि उडेको माटोको बासना क्या मिठो हुन्थ्यो! राति छ बजेपछि कर्फ्यु सुरू हुन्थ्यो। घरबाट अलि पर थियो चर्पी। कोपरा र बाल्टी कर्फ्यु लागेपछिका चर्पी बन्थे।
कारागारसँगै ढुंगाको छानाले छाएको घर, घरमा चिया सधैं एक कप बढी पकाउँथ्यौं। घरको छेउमा फलामको अग्लो टावर थियो, जसको नाम थियो हाइ पोइन्ट। त्यहाँ जुन पुलिसको ड्युटी परे पनि हामी चिया दिन्थ्यौं।
प्रहरीको ड्युटी सात घन्टामा फेरिन्थ्यो। पुलिससँग एक थान थ्री नट थ्री राइफल र दूरबिन हुन्थ्यो। सबै पुलिसले गोलीले उनेको बेल्ट लगाउथेँ, त्यसलाई बिन्दुली भन्थे। बिन्दुलीले टपक्क कम्मर बाँधेका हुन्थे। खासमा उनीहरूलाई बिन्दुलीले बाँधेको हुन्थ्यो।
बारुद सकिएपछि बचेको भागको गोली टिपेर माला लगाउने चलन थियो। त्यो माला 'छोरी मान्छेले लगाउनु हुँदैन' भन्ने सुनेकी थिएँ। यसै कारणले गोलीको माला लगाउने रहर पूरा भएन।
दाइ त्यही टावरमा चढेर चिया पुर्याउँथ्यो अनि दूरबिनले मलाई हेर्दै जिस्काउँथ्यो। जति जिस्क्याए पनि म कहिल्यै त्यो टावरमा चढ्न सकिनँ। टावरबाट दूरबिनले बेला बेलामा हेरिरहन्थे पुलिसहरू। खोलाको किनारतिर हिँडेका, कति निर्दोषले शंकाकै भरमा गोली खाए। तीमध्ये कति मेरा आफ्नै थिए, कति मेरा साथीका आफ्ना थिए। विचरा भन्नु सिवाय अरू विकल्प थिएन। एउटा सानो गोलीले मान्छे कसरी लड्छ भनेरै अचम्म पर्थेँ म।
हमला गर्दा बिजुलीका पोलहरू जलिरहे। पोल जल्दा हामीले पाउने शिक्षा पनि खरानी भयो। जसोतसो गरी खरानी उड्न दिइएन। कीरा, फट्यांग्रा जसरी जनता मारिए। जनता भनेका त्यति बेला निमुखा र सर्वहारा मात्रै थिए।
विद्यालयमा खेल खेल्दा विपिन माओवादी बन्छु भन्दै पेन्सिल हिलोमा गोब्दै मोसोजस्तै बनाएर अनुहार लिप्थ्यो। सिँगान पुछ्ने रुमाल निकालेर टाउकोमा बाँध्थ्यो। इरेजरलाई बम बनाउँथ्यो। युवराज टाइले भिमलको सिप्कानो बेरेर काँधमा झुन्ड्याएर राइफल बनाउँथ्यो। दुइटा जुत्ताको तुना कम्मरमा बाँधेर जबर्जस्ती केके अड्काउँथ्यो अनि यो मेरो 'बिन्दुली' भन्थ्यो।
माधव कापीको पाना च्यातेर थुकले जमाउँदै टोपी बनाउँथ्यो अनि डेस्कबाट हामफाल्दै म शेरबहादुर अंकल हुँ भन्थ्यो। शेरबहादुर अंकल शाही सेना हुनुहुन्थ्यो। माधवको घर शाही सेनाको व्यारेकनजिकै थियो। कसैले उसको टिफिन खाइदियो भने रुँदै 'शेरु अंकललाई भन्दिन्छु' भन्थ्यो। हामी फेरि डराएर आफ्नो भागको टिफिन पनि दिन्थ्यौं। खेल खेल्दा म आमाको चरित्रमा हुन्थेँ। विपिन र युवराज, माधवलाई खाना बनाएर खुवाउँथे। म उनीहरूलाई कति धेरै माया गर्थेँ तर जहिले पनि खेल सकिँदा उनीहरू मलाई मारेर भाग्थे।
ब्याट्री सकिने डरले रेडियो पनि लोभ गरीगरी सुन्नु हुन्थ्यो हजुरबुबा। डर ब्याट्री सकिन्छ भन्ने मात्रै थिएन, रेडियोमा के बज्छ भन्ने पनि थियो। कति पटक त समाचार सुन्दासुन्दै हजुरबुबा खाँदै गरेको गाँस निल्न सक्नु हुन्नथ्यो। कति दिन हजुरआमाले खाना पकाउने अगेनो बल्दैन थियो।
रोल्पा निस्पट्ट अँध्यारो थियो। एउटा घरबाट अनिवार्य एक सदस्य जंगल पसेर हतियार बोक्नु पर्ने भन्ने सूचना पाउनुभएछ आमाले। अब घरबाट पक्कै आमा जानु होला भन्ने त्रास भयो। आमासँगै पछि लागेर म पनि जान्छु भनेर मनमनै योजना बनाएकी थिएँ।
त्यही ताका लिवाङ कारागारका कैदीहरू सुरुङ खनेर जेलबाट भागेका थिए। सुरुङ कसरी खन्छन् भन्ने थाहा नपाउनेले कैदी कसरी बन्छन् भन्ने के बुझे हुँला! त्यसरी कैदीहरू भागेपछि लिवाङको वातावरण असहज थियो।
बसको यात्रा गर्दा गन्तव्यमा नपुग्दै एम्बुसमा परेर मरिन्छ कि भन्ने त्रास हुन्थ्यो। अझ माओवादीले खरो स्वरमा गाडी रोकेर बन्दुक तेर्स्याउँदै सबै प्यासेन्जरलाई 'हात माथि' भन्दै झोला हेर्थे। पाट्टिएर हात तल पार्न साथ गोली ठोकिदिन्थे।
स्कुलको पिटीमा ह्यान्डस्-अप गर्दा त्यही बसको चित्र आँखामा घुम्थ्यो। पिटी खेलाउने गुरुलाई पनि म माओवादी नै सोच्थेँ। मलाई ती गुरु देख्दै डर लाग्थ्यो। म जस्तै कतिले गुरुलाई क्रूर देखे होलान्।
रोल्पाले दस वर्षे जनयुद्धमा अत्याचार, शोषण र विनाशबाहेक खासै केही पाएन। वर्गीय र सामाजिक अन्तर्विरोध नेपाली समाजमा यथावत् छ।
अचेल यी सडक, गल्ली र चोकचोकका पर्खालहरूमा चुनाव चिह्न अंकित आश्वासनका बुँदा बोकेर उम्मेदवारहरू टाँसिएका छन्। चर्को स्वरमा घन्किरहेका चुनावी घोषणा मध्यरातमा फेरी लगाउँदै आउने जोगीले भेटीका लागि देखाउने भय जस्तै लाग्छन्। जोगी भेटीका लागि भय जगाउँछ, नेता भोटका लागि आश्वासन दिन्छ। हामी जोगीलाई विश्वास गर्छौं र भेटी दिन्छौं। नेतालाई विश्वास गर्छौं भोट दिन्छौं तर हामीलाई थाहा छ यी दुवै भ्रम र कपोलकल्पित मात्रै कुरा हुन् तै पनि पनि हामी रमाउँछौं।
यो मेरो आक्रोश त्यति बेलादेखिको हो जति बेला म महसुस गर्थेँ तर भन्न सक्दिनँ थिएँ, भन्न जान्दिन थिएँ। अब म दुवै गर्न जान्दछु। मुख्य कुरा म प्रश्न गर्न सक्ने भएकी छु। उत्तर दिनेलाई त्यो बेला पनि हिनताबोध हुँदैन थियो, अहिले पनि हुँदैन भन्ने पनि बुझ्छु।
ऊ बेला हजुरआमा खै केके प्रसंगमा भन्नुहुन्थ्यो, 'अरूको के दोष, आफ्नै खुन खराब भए।'
अहिले जब चुनाव आउँछ तब मलाई हजुरआमाले कहेको स्मरण हुन्छ। उनीहरूले उडन्ते आश्वासन सुनाइरहे, हामीले ताली बजाइरह्यौं।
हाम्रो तालीले हौसिएका उनीहरू झनै हौसिएर हैसियतभन्दा माथिका घोषणा गर्न थाले। उनीहरू बोल्दै गए, हामी सधैं पहिलो पल्ट सुनेजसरी उत्सुक भइरह्यौं। हाम्रा हत्केला तालिमप्राप्त भइसके, पूरा कुरा नसुनी ताली बजाउँछौँ। केही नसोचेरै, नबुझेरै, नसुनेरै बजेका हाम्रा हातका तालीले हाम्रै सपनाको धज्जी उडाउँछन्।
हामी आफ्नै ठाउँमा कुनै कसुरबिना सजाय भोग्दै छौं। थाहै नपाई हामी किनिन्छौं र बेचिन्छौं। उनीहरू हामीलाई पछार्छन्, हामी आफैं लडेको ठान्छौं। उनीहरू हामीलाई धोका दिन्छन्, हामी आफैं विश्वास गर्न चुकेको बुझ्छौं। यो सिलसिला कहिलेसम्म?
उनीहरू भन्छन्– भ्यु टावर हेर्नुहोस्।
म भन्छु– हाम्रो भ्यु बुझ्नुहोस्। उनीहरूले हाम्रो घाउमा मलमपट्टी गर्नुको साटो हामीलाई एनेस्थेसिया दिए। हाम्रो भ्यु बुझ्नुको साटा आफ्नो मात्रै सुनाइरहे।
हुँदै नभएको विकास र समृद्धि, खै म कसरी देखूँ! मेरा आँखाले सुत्केरी हुँदा प्रसव पीडा सहन नसकेकी काकीले अस्पताल देख्नै नपाई संसार छाडेको देख्छ। त्यही पल्लो घरका काका बेपत्ता भएर मानसिक सन्तुलन गुमाएकी बज्यै देख्छ। छिमेकी दाइ दोहोरो भिडन्तमा परेर लागेको गोलीले दिएको घाउ देख्छ। मेरी बहिनीले किताब पढ्न नपाएर आमासँग गरेको झगडा देख्छ तर विकासको 'मापक भ्यु टावर' मान्नेहरूले किन यही दृश्य देख्दैनन्?
उनीहरू किन सम्झिँदैनन्, त्यो रवाफमा कति निर्दोषका घर उजाडिए? कतिका सपना कहिल्यै नजोडिने गरी छुट्टिए? चाडवाड, उल्लास नदेखेरै दशकौं लडाइँमै खर्चिएका मनमा कस्तो डढेलो बल्दो हो? द्वन्द्वले दुखेका मनहरू केले चित्त बुझाउँदा हुन्?
द्वन्द्वकालमा दस वर्ष 'बी फर बल' सिक्ने बेलामा 'बी फर बम' बुझेको हाम्रो मस्तिष्कले अझै पनि 'पी फर पिस' होइन 'पी फर पावर' र 'डब्लु फर वार' नै बुझ्दो रहेछ।
बुलेटले राम्रो मान्छे मारेको मैले देखेकी छु। आउने पुस्ताले ब्यालेटबाट योग्य मान्छे छान्न सकोस्। आउने पुस्ताले मजस्तै 'ए फर एम्बुस', 'बी फर बम' नसम्झियोस्। बरु 'एल' फर लोएल लिडर' सम्झियोस्!
(क्रान्तिशिखा धितालका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)
ट्विटरः @krantishikha