सन् २०१६ मा डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिको चुनाव लड्दै थिए। चुनावी अभियान क्रममा उनीबारे एकपछि अर्को काण्ड सार्वजनिक हुँदै गए। तर ती विवादले दिने मिडिया कभरेजलाई ट्रम्पले आफ्नो प्रचारका रूपमा उपयोग गरे। अन्ततः उनले चुनाव जिते र राष्ट्रपति बने।
ती विवादमध्ये एउटा निजी वार्तालापमा उनी आफूले जवान महिलाहरूसित गर्ने व्यवहारको व्याख्या गर्दै भन्छन्- म सुन्दर महिलाहरूतिर स्वतः आकर्षित हुन्छु र तुरून्त चुम्बन गर्न सुरू गर्छु। चुम्बकजस्तै। खाली चुम्बन। म पर्खिन पनि सक्दिनँ। जब तिमी ‘स्टार’ हुन्छौ, उनीहरूले तिमीलाई गर्न दिन्छन्। तिमीले जे पनि गर्न सक्छौ। उनीहरूलाई .... (गुप्तांग) मा समात। तिमी जे पनि गर्न सक्छौ।
धेरैलाई लागेको थियो, त्यसअघि अनेक काण्ड पार गरेका ट्रम्पलाई यो अडियो सार्वजनिक भएपछि गाह्रो पर्नेछ र उनको चुनावी अभियान असफल हुनेछ। देशमा आधा जनसंख्या त महिलाको छ, उनी महिलाबारे यस्तो कुरा गर्छन् भने कसरी उनीहरूको भोट पाएर जित्लान्?
भइदियो उल्टो।
महिलाहरूले पनि ठूलो संख्यामा उनलाई भोट हाले। देशभरको मतसंख्यामा प्रतिस्पर्धी हिलारी क्लिन्टनभन्दा झन्डै २८ लाख मतले पछि परे पनि इलेक्टोरल कलेजको भोटका आधारमा ट्रम्पले चुनाव जिते र अमेरिकाको राष्ट्रपति भए।
प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी महिला मतदातामध्ये ४२ प्रतिशतले ट्रम्पलाई भोट हाले। जबकि त्यसअघिको चुनावमा बाराक ओबामा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रिपब्लिकन मिट रोम्नीलाई ४४ प्रतिशत महिला मतदाताले भोट हालेका थिए।
एमालेका काठमाडौं मेयर उम्मेदवार केशव स्थापित अमेरिकी राजनीतिको यस्तो अंकगणितबारे कति जानकार छन् मलाई थाहा छैन। तर काण्डहरू गर्दै जाने, आलोचकहरूलाई धम्क्याउँदै जाने र आफ्नो गुणगान गरेर छाती पिट्दै जाने ट्रम्पीय प्रवृत्ति उनमा भरपुर देखिएको छ।
महिलासितको व्यवहारबारे आमपुरूष र ‘स्टार’ बीच ट्रम्पले जसरी भेद छुट्याउँछन्, हालै स्थापितले उनीबारे उठेको यौन दुर्व्यवहारको विषय उठाउने पत्रकारलाई उसै गरी भने- समय सयमा एउटा प्रकरण हुन्छ क्या! समय समयमा किन प्रकरण भइराछ? समय समयमा केही इस्यूहरू उठाउँदा, मजत्तिको व्यक्तित्वउपर इस्यू भएन भने केशव स्थापित नै भएन। विवादमा नआउने पनि केशव स्थापित हुन्छ? आइरहनुपर्यो क्या!
स्थापितको ‘मजत्तिको व्यक्तित्व’ र ट्रम्पको ‘मजस्तो स्टार’ उस्तै प्रवृत्तिका उपज हुन्। ट्रम्पले राष्ट्रपति बनेपछि निरन्तर महिलाहरूलाई होच्याइरहे, अपमान गरिरहे। पत्रकार महिलाहरूलाई पत्रकार सम्मेलनमै दुर्व्यवहार गरे। सिंगो 'मिटू' अभियानलाई मजाकमा उडाउन खोजे। घातक यौन दुर्व्यवहारको आरोप लागेका व्यक्तिलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरे। महिला र अल्पसंख्यक अधिकारको कुरा गर्नेलाई ‘वोक’ नामले गाली गर्ने अमेरिकी कन्जर्भेटिभहरूको नेतृत्व नै गरे।
यता स्थापितले पनि आफूमाथि आरोप लगाउनेहरूलाई पागलदेखि भ्रष्टसम्म भन्न भ्याइसकेका छन्।
बिहीबार एउटा कलेजमा भएको मेयर उम्मेदवारहरूबीचको बहस कार्यक्रममा त ट्रम्पीय हिंस्रक पितृसत्ताका अरू धेरै छटाहरू एकसाथ भेटिन्छन्। त्यो कार्यक्रमको केही मिनेट लामो भिडिओमा स्थापितले के के गर्छन् त?
एक, अर्की महिला उम्मेदवारले शालीनतापूर्वक महिलामाथि सभ्य भएर बोल्नुपर्छ भन्दै गर्दा स्थापित उनका कुरा काट्दै जुरूक्क उठ्छन् र छाती तन्काउँदै गर्जन्छन्- महिला असभ्य भएर चिथोर्ने, म यस्तो बस्ने?
दुई, उनी थप्छन्- महिलाहरूले जबर्जस्ती बलात्कार गर्न पाउने, सार्वजनिक बलात्कार गर्न पाउने एलिगेसन लायो भने यो बैनीलाई खराब भन्न पाइँदैन?
तीन, उनले बारम्बार आफूले यौन दुर्व्यववहार गरेको प्रमाण खै भनेर सोध्छन् र आफूमाथि प्रश्न गर्ने महिलालाई धम्क्याउँदै भन्छन्- यो बहिनीले प्रोस्टिच्युसन (वेश्यावृत्ति) गर्छ भनेर मैले छपाउने?
चार, उनले तिनै महिलालाई भन्छन्ः यू आर अ नाइस लेडी तर यो थुतुनो ठिक छैन तपाईंको।
पाँच, उनी आयोजकदेखि प्यानलका अरू सहभागीहरूसित समेत निरन्तर जंगिइरहन्छन्। आयोजकले उनलाई थम्थम्याउन खोज्दै गर्दा सिंगो कार्यक्रम तमासामा बदलिइसकेको हुन्छ।
त्यो भिडिओको छैठौं तथा मेरा लागि सबभन्दा अर्थपूर्ण हिस्सा- दर्शकदीर्घामा रहेका स्थापितका समर्थकहरूले उनीमाथि प्रश्न गर्ने महिलालाई र्याखर्याख्ती पार्दै उनको बचाउ गर्छन्। यति मात्र होइन, स्थापितले छाती तन्काएर महिलाहरूलाई लल्कार्दा दर्शकदीर्घामा डोनाल्ड ट्रम्पका र्यालीहरूमा जस्तै जबर्जस्त हुटिङ हुन्छ र तालीको गड्गडाहट सुनिन्छ।
सुन्नुहोस् यो भिडिओमाः
लगत्तै स्थापितको बचाउ गर्दै एमाले अध्यक्ष केपी ओली पत्रकारहरूसित भन्छन्- महिलामाथि हुने यौन दुव्यर्वहारविरूद्ध कोही बोल्छ भने एमाले नै बोल्छ।
त्यो भाषण क्रममा उनले महिलाहरूको ‘अस्मिता’ भन्ने शब्द कम्तीमा पाँचपल्ट प्रयोग गर्छन्। उनी भन्छन्- कसैले महिला अस्मितामाथि, महिला अस्मितालाई अवमूल्यन गर्न, होच्याउन वा त्यसको बेवास्ता गर्न वा त्यसमाथि खेलवाड गर्न पाउँदैन, नेकपा एमालेको यो नीति हो।
यो भाषणपछाडिको मनोविज्ञान के देखिन्छ भने, महिलाको ‘अस्मिता’ लाई पुरूषले अवमूल्यन गर्न, होच्याउन, बेवास्ता गर्न वा खेलवाड गर्न सक्छ, त्यसो गर्न नदिने एमालेको नीति पनि छ। तर त्यो अस्मितालाई महिलाले परिभाषित गर्नसमेत सक्दैनन्। समानता वा अधिकारको माग गरेर उनीहरूले ‘ट्याउँट्याउँ’ त झन् गर्नै हुँदैन।
महिलाले आफैं आफूलाई परिभाषित गर्न, अभिव्यक्त गर्न वा आफ्नो ‘एजेन्सी’ विकास गर्न खोज्छन् भने पनि त्यसको एउटा सीमा छ- त्यसले एमालेका उम्मेदवारमाथि प्रश्न उठाउनुभएन।
यदि कसैले त्यस्तो प्रश्न उठायो भने ऊ पागल हुन्छ, असभ्य हुन्छ, उसको थुतुनो ठिक हुँदैन।
यस्तै रणनीति प्रयोग गरेर अमेरिकामा डोनाल्ड ट्रम्प एउटा कार्यकालका लागि सफल पनि भए। यौन दुर्व्यवहारका आरोपी अमेरिकाको सर्वोच्च अदालतको न्यायाधीश पनि बने।
अर्कातिर मिटू अभियानले धेरै क्षेत्रका शीर्ष स्थानमा रहेका पुरूषहरूलाई पद र प्रतिष्ठाबाट विमुख बनाइदियो। हार्वे वेन्स्टेइनजस्ता कुख्यात अपराधी न्यायालयबाटै दण्डित भए। अमेरिकाबाट सुरू भएको अभियानले संसारका अरू धेरै देशहरूमा यौन दुर्व्यवहारका पीडितहरूलाई आवाज दियो। धेरै पीडकहरू नांगिए र एक्लिए।
तीमध्ये अधिकांश दुर्व्यवहार र बलात्कारहरूसमेत वर्षौंदेखि दशकौंअगाडि भएका थिए। स्वभावतः तिनका कुनै प्रत्यक्ष प्रमाणहरू थिएनन्। त्यसैले धेरै आरोपको न्यायालयमा परीक्षण हुन पाएन। तर पनि राजनीतिक पार्टीदेखि विश्वविद्यालय, सिनेमा उत्पादक र प्रकाशन गृहहरूसम्मले ती आरोपलाई गम्भीरतापूर्वक लिए र पदमुक्त गरे। धेरै आरोपीहरूले आफैं पद पनि छाडे।
नेपालमा भने स्थापितले मात्रै आफ्नो बचाउ गरेनन्, उनको प्यानलकी उपमेयर उम्मेदवार सुनिता डंगोलले स्थापितको बचाउ गर्न आरोप लगाउने महिलाहरूतिर प्रश्न सोझाउँदै भनेकी छन्- मिटूको कुरा गर्नलाई चुनाव नै कुर्नुपर्दैन। केशव स्थापितजी मन्त्री हुँदाखेरि मात्रै यो कुरा किन आउने गर्छ?
मिटू आन्दोलनका दौरान विश्वव्यापी रूपमा स्थापित एउटा मान्यता के हो भने एकाध आरोपहरू फर्जी हुन सक्ने अवस्थामा पनि औसत स्वस्थ मानिसले आफूमाथि यौन हिंसा नभई त्यस्तो आरोप लगाउँदैन। यसै पनि पितृसत्तात्मक समाज महिलाविरूद्ध यसरी ढल्केको छ, हिंसाको प्रमाण हुँदासमेत धेरैजसो महिला त्यसलाई सार्वजनिक गर्न र न्याय खोज्न सक्ने अवस्थामा हुँदैनन्। त्यस्तो अवस्थामा कुनै महिलाले हिंसा वा दुर्व्यवहारमा नपरी आरोप लगाउने सम्भावना असाध्यै झिनो हुन्छ।
त्यसमाथि जब एकभन्दा बढी महिलाले कुनै एक पुरूषलाई त्यस्तो आरोप लगाउँछन्, त्यस्तो आरोपको विश्वसनीयता ह्वात्तै बढेर जान्छ।
जब त्यसरी बहुआरोप सामना गरिरहेको पुरूष खुला साँढेझैं डुक्रेर छाती पिट्दै पितृसत्ताको तुष ओकल्छ र उसका समर्थकहरूले ट्रम्पका समर्थकहरूले झैं आँखा चिम्लेर ताली पिट्छन्, तपाईं आफ्नै विवेक प्रयोग गर्न सक्नुहुन्छ, को पीडक र को पीडित भनेर।