सिकागो विश्वविद्यालयका प्राध्यापक जोन मियर्शेमर पछिल्ला केही महिनादेखि 'भाइरल' छन्। युट्युबमा उनीसितको अन्तर्वार्ताका थुप्रै भिडिओ लोकप्रिय छन्। तीमध्ये केही अन्तर्वार्ता चिनियाँ सरकारी टेलिभिजन सिजिटिएनको युट्युब च्यानलमा छन्।
उनको लोकप्रियताको कारण- हाल युक्रेनमाथि चलिरहेको रूसी अतिक्रमणका लागि पश्चिमा देशहरू र नेटो दोषी हुन् भन्ने उनको तर्क।
युद्धका सुरूआती साताहरूमा उनको तर्क यति व्यापक फैलियो कि 'इकोनोमिस्ट' जस्तो मूलधारको एंग्लो–अमेरिकन पत्रिकाले समेत उनीबाट अतिथि स्तम्भ लेखाएर छपायो। त्यसको शीर्षक नै छ- युक्रेन संकटका लागि किन मूलतः पश्चिम जिम्मेवार छ भन्नेबारे जोन मियर्शेमर।
त्यो स्तम्भमा यो विषयबारे आफ्नो धारणालाई उनले सटिक रूपमा राखेका छन् जसको निचोड लेखको तेस्रो अनुच्छेदको एउटा वाक्यमा छ- पश्चिमा विश्व, त्यसमा पनि खासगरी अमेरिका, २०१४ फेब्रुअरीमा सुरू भएको यो संकटका लागि जिम्मेवार छ।
युक्रेन युद्धबारे विश्व जनमत विभाजित हुँदै गर्दा यस विषयमा पश्चिमा विश्वमा स्थापित भाष्यका धेरै आलोचकहरूले उनलाई उद्धृत गर्ने भएकाले पनि यस विषयमाथि मियर्शेमरको थेसिसबारे विमर्श हुन जरूरी छ।
उनी भन्छन्- सन् २००८ को नेटोको बुकारेस्ट सम्मेलनमा अमेरिकी राष्ट्रपति जर्ज बुशको दबाबमा नेटोले घोषणा गर्यो कि जर्जिया र युक्रेन नेटोको सदस्य बन्ने छन्। रूस त्यसबाट क्रुद्ध भयो र आपत्ति जनायो। अमेरिका र नेटोले त्यसको कुनै सुनुवाइ गरेनन्। उल्टै युक्रेनलाई युरोपेली संघसित नजिक तान्दै गए र अमेरिकापक्षीय लोकतन्त्र बनाउने रणनीति अपनाए।
परिणाम- अमेरिका समर्थित आन्दोलनपछि सन् २०१४ मा रूसपक्षीय राष्ट्रपति भिक्टर यानुकोभिच युक्रेन छाडेर भागे। बदलामा रूसले युक्रेनसित क्राइमिया खोसेर लियो र पूर्वी युक्रेनमा गृहयुद्ध मच्चाइदियो।
सन् २०२१ सम्म आउँदा युक्रेन नेटोको 'डि फ्याक्टो' सदस्य भइसकेको थियो। नेटो सदस्यहरूले धमाधम उसलाई हतियार दिएका मात्रै थिएनन्, २०२१ जुलाइमा अमेरिका र युक्रेनलगायत ३२ देशका जल सैनिकले ब्ल्याक सीमा सैन्य अभ्यास गरेर रूसलाई चिढ्याए।
तबसम्मका घटनाक्रमहरूको प्रतिकारस्वरूप रूसले युक्रेनलाई सैन्यशक्तिले घेर्न थाल्यो र अमेरिकासित युक्रेनलाई नेटोमा नसमेट्ने प्रतिबद्धता लगायतका मागहरू राख्यो। अमेरिकाले त्यसको पनि कुनै सुनुवाइ गरेन। परिणामस्वरूप रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २४ मा युक्रेनमाथिको युद्ध सुरू गरे।
मियर्शेमरले 'इकोनोमिस्ट' को स्तम्भमा नलेखेको तर पश्चिमा विश्वका आलोचकहरूले व्यापक चर्चा गर्ने गरेको अर्को एउटा प्रसंग पनि छ।
त्यो हो- सोभियत संघ धराशायी हुने बेला अन्तिम सोभियत शासक मिखाइल गोर्बाचोभलाई अमेरिका लगायत पश्चिमा देशहरूका धेरै नेताहरूले नेटोको पूर्वतर्फ विस्तार नगर्ने र रूसको सुरक्षामा आँच आउन नदिने वाचा गरेका थिए।
त्यसका बाबजुद नेटोलाई पूर्वतिर विस्तार गर्दै गएर रूसलाई घेर्दै गएपछि बदलामा युक्रेनमाथि आक्रमण गर्नुको पुटिनसित विकल्प थिएन भन्ने उनीहरूको तर्क हुने गरेको छ।
ससर्ती हेर्दा यी तर्क जायज लाग्छन्। त्यसमा पनि शीतयुद्ध सकिएपछिको भूराजनीतिलाई नियाल्दा यस्ता प्रश्नसमेत उठ्छन्- अमेरिका र युरोपले सोभियत संघ विघटनपछिको विश्वमा शान्ति चाहन्थे भने त नेटोलाई नै विघटन गर्न वा निस्क्रिय राख्न सक्थे। त्यसो गर्दा रूसले सुरक्षित महसुस गर्थ्यो अनि द्वन्द्वको गुञ्जायस नै हुँदैनथ्यो।
यो तर्क अहिले संसारभरको वामवृत्तमा प्रचलित छ। यो तर्कको समस्या के हो भने यसले भूराजनीतिलाई समग्र बहसको केन्द्रविन्दुमा राख्छ। जबकि व्यक्ति, समाज र राष्ट्रको जीवनमा भूराजनीति सबथोक होइन।
अहिलेको विश्वमा कुन विचार वा सैन्यशक्ति हाबी हुनुपर्छ भन्नेमा हामी नेपालीहरूका अनेकथरी विचार हुन सक्छन् र विभिन्न खाले द्वन्द्वमा हाम्रा पक्षधरता फरक हुन सक्छन्। तर हाम्रो जीवनका प्राथमिकताहरूको सूची बनाउने हो भने त्यसको शीर्ष स्थानमा गाँस, बास र कपासका मुद्दा पर्छन्। त्यसपछि स्वतन्त्रता, न्याय र समृद्धिका कुरा। जसले दुई छाकको भोक मेटेर, दुई अक्षर चिनेर अन्तर्राष्ट्रिय राजनीतिबारे केही जानकारी राख्न सक्छ, ऊसित मात्रै भूराजनीतिजस्ता विषयमा चिन्ता लिने वा पक्षधरता देखाउने सुविधा हुन्छ।
अहिले युक्रेनमा जारी युद्धमा यो वा त्यो पक्ष हाबी होस् भन्ने हाम्रो चाहना हुन सक्छ। तर हाम्रो भोक मेट्न वा बोल्न पाउने अधिकारसामु त्यहाँ को हाबी हुन्छ भन्ने गौण कुरा हो।
तर सन् १९९१ पछिको पूर्वी युरोपका समाजहरूबारे विश्लेषण गर्दा मियर्शेमर लगायतका बौद्धिकहरूले यसरी भूराजनीतिको कुरा गर्छन् कि व्यक्तिको खाने, लगाउने मात्र नभई बाँच्ने अधिकारभन्दा माथि भूराजनीति वा महाशक्तिहरूबीचको राजनीति (पावर पोलिटिक्स) होस्।
चेसको खेलमा दुई पक्षले गोटी चालेझैं 'यसले यसो गर्यो, त्यसैले उसले उसो गर्यो, अनि यस्तो भयो' भन्ने सरलीकृत व्याख्या बुझ्न र तर्क गर्न पनि सजिलो हुन्छ। तर त्यसले यथार्थ बंग्याएर यस्तो ठाउँमा पुर्याउँछ जहाँ कुनै पनि अन्तर्राष्ट्रिय घटनाक्रम विभिन्न शक्तिराष्ट्रबीचको खेलमा सीमित हुन्छ। अनि त्यसबाट प्रत्यक्ष प्रभावित हुने ज्युँदा मानिसहरूको अस्तित्वसमेत स्वीकारिँदैन।
त्यसैले मियर्शेमर लगायतका भूराजनीति–केन्द्रित बौद्धिकहरूले गर्ने अन्तर्राष्ट्रिय राजनीतिको चेसजस्तो चित्रण छाडेर १९९० को दशकमा पूर्वी युरोपका समाजहरूको अवस्थालाई वैकल्पिक लेन्सबाट हेरौं। 'द एटलान्टिक' मा यही मार्च ३१ मा प्रकाशित विख्यात लेखक एन एप्पलबमको 'देयर इज नो लिबरल वर्ल्ड अर्डर' लेखबाट त्यस्तो दृष्टिकोण साभार गरौं।
सोभियत संघ विघटनपछिको रूस सिद्धान्ततः लोकतन्त्रको दिशामा जाँदै थियो। तर रूसी गणतन्त्रका पहिला राष्ट्रपति बोरिस यल्तसिनको पहिलो कार्यकालदेखि नै अनुदार लोकतन्त्रका लक्षण देखिन थालेका थिए। यल्तसिन र उनी वरिपरिका मानिसहरूले सोभियत संघबाट बनेका राज्यहरूमध्ये रूस विशेष वा 'बराबरमध्येको पहिलो' भएको दाबी गर्न थालेका थिए। रूसको वरिपरि उसको प्रभावक्षेत्र वा 'स्फेयर अफ इन्फ्लुएन्स' को अवधारणा विकसित हुँदै थियो।
१९९२ मेमा रूस, आर्मेनिया, कजाकास्तान, किर्गिजिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान मिलेर 'कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सिएसटिओ)' नामक सैन्य गठबन्धन बनाएसँगै पूर्वी युरोपमा रूसी प्रभावक्षेत्रको अवधारणा अघि बढिसकेको थियो।
यो पृष्ठभूमिमा सन् १९९४ मा जर्मनीको एउटा कार्यक्रममा तत्कालीन इस्टोनियाका राष्ट्रपति लेन्नार्ट मेरिले पश्चिमा देशका नेताहरूलाई सम्बोधन गर्दै भनेका थिए- पश्चिमा विश्वले रूसी नेतृत्वलाई प्रष्ट पारिदिनुपर्छ कि अर्को साम्राज्यवादी विस्तारको कुनै सम्भावना छैन।
बोल्शेभिक क्रान्तिपछि सोभियत संघ इस्टोनिया लगायत पूर्वी युरोपतिर फैलिनुलाई सोभियत शासकहरूले त्यहाँका मानिसहरूको मुक्ति भन्थे। तर त्यहाँका मानिसहरूले त्यो विस्तारलाई साम्राज्यवाद भन्थे। रोमानिया, पोल्यान्ड, लात्भिया र इस्टोनियाजस्ता देशहरूले सोभियत संघको अन्तलाई साम्राज्यवादविरूद्ध आफ्नो संघर्षको जितका रूपमा लिन्थे।
यसरी सोभियत संघ टुक्रिएर बनेका नयाँ देशहरूमध्ये केही विघटित 'वार्सा प्याक्ट' को नयाँ रूप सिएसटिओअन्तर्गत रूसी सुरक्षा छातामा बस्न तयार थिए भने अरू धेरै पश्चिमाहरूको सुरक्षा छाता नेटोमा प्रवेश गर्न आतुर थिए।
मियर्शेमर लगायतका बौद्धिकहरूको तर्क मान्ने हो भने सोभियत संघ विघटनपछि स्वतन्त्र भएका सबै देशले धमाधम सिएसटिओमा छिरेर रूसको सैन्य सर्वोच्चता स्वीकारेका भए अहिले युक्रेनमा भइरहेजस्तो द्वन्द्वको गुञ्जायस नै रहने थिएन। नेटो विस्तार सम्भवै हुने थिएन।
यसो भनिरहँदा एउटा प्रश्न उठ्छ- सोभियत संघ विघटन बेला पश्चिमा देशहरूले नेटो विस्तार नगर्ने गरी गोर्बाचोभलाई दिएको वाचा ठूलो कि नवनिर्मित सार्वभौम देशका नागरिकहरूको छनोट ठूलो?
नेपाल लगायत विश्वभरका धेरैजसो वामपन्थी र भूराजनीतिवादीहरू भन्छन्- गोर्बाचोभलाई दिएको वाचा ठूलो।
त्यो तर्क गर्नेहरूले आफूलाई त्यो बेलाका रोमानियाली वा इस्टोनियाली नागरिकको ठाउँमा उभ्याएर हेर्न सकेका छैनन्।
सोभियत संघको विघटनपछि केही हदसम्म अव्यवस्था, अस्थिरता र अन्योलबाट नगुज्रने कुनै पनि नवनिर्मित देशहरू थिएनन्। तर जुन देशले आफूलाई युरोप र पश्चिमा देशहरूसित नजिक बनाउन प्रयास गरे र लोकतन्त्रलाई संस्थागत गरे, तिनले आर्थिक समृद्धि र न्यायोचित विकासको बाटो पनि समाते।
रोमानियाको उदाहरण लिँदा, सन् १९८९ मा त्यहाँका राष्ट्रपति तथा रोमानियाली कम्युनिस्ट पार्टीका महासचिव निकोलाइ चाउचेस्कुविरूद्धको प्रदर्शनपछि उनलाई सेनाले अपदस्थ गर्यो र लगत्तै श्रीमतीसहित मृत्युदण्ड दियो। सिंगो देश अस्तव्यस्त भयो।
तर एकाध वर्षमा रोमानिया सम्हालियो र लोकतन्त्र संस्थागत भयो।
अर्कोतिर रूसको प्रभावक्षेत्रमा रहेका देशहरूमध्ये कजाकस्तानमा नुर्सुल्तान नजर्बाएभले झन्डै २९ वर्ष फलामे हातले शासन गरे भने उज्बेकिस्तानमा इस्लाम कारिमोभले साढे २६ वर्ष शासन गरे। ताजिकिस्तानमा आज पनि इमामोली रहमोनको शासन जारी छ जुन सन् १९९४ मा सुरू भएको थियो। बेलारूसका अलेक्जान्डर लुकासेन्को पनि १९९४ देखि नै अहिलेसम्म राष्ट्रपति छन्। रूसमा भ्लादिमिर पुटिन सन् १९९९ देखि शासनमा छन् र २०३६ सम्म आफू पदमा रहन सक्ने गरी संविधान संशोधन गराएका छन्।
यसरी पूर्वी युरोप र पश्चिम एसियाका देशहरूले दुइटा बाटो समाउँदै जाँदा युरोपको जस्तो लोकतन्त्रतिर लहसिनेहरूले रूसबाट निरन्तर हस्तक्षेप वा अतिक्रमणको भय महसुस गरिरहे। किनभने रूसले आफ्नो प्रभावक्षेत्र विस्तारलाई बिस्तारै आफ्नो अधिकार ठान्दै गयो। भ्लादिमिर पुटिनको शासनमा रूसी अर्थतन्त्र र सैन्यशक्ति सबल हुँदै गएसँगै त्यो जोखिम टड्कारो हुँदै गयो।
एन एप्पलबम एटलान्टिक पत्रिकाको लेखमा तर्क गर्छिन्- पश्चिमा विश्वले बिर्सिसक्न लागेका पूर्वी युरोपका देशहरूले फेरि फर्कन सक्ने रूसी साम्राज्यबाट तर्सेर बडो मुश्किलले उनीहरूको ध्यान ताने र आफूलाई नेटोको सुरक्षा छाताभित्र छिराउन सफल भए।
अर्थात इस्टोनिया र पोल्यान्डजस्ता देशहरूको नेटो प्रवेश भूराजनीतिवादीहरूका आँखामा रूसप्रति पश्चिमा विश्वको धोका थियो भने ती देशमा दिनरात खटेर भविष्य बनाउन लागेका नागरिकहरूका लागि स्वतन्त्रता र समृद्धिको माध्यम थियो, रूसको दादागिरीबाट बच्ने उपाय थियो। अनि बेलारूस वा कजाकस्तानभन्दा फरक युरोपको जस्तो लोकतान्त्रिक बाटो समाउन पनि उनीहरूले पश्चिमा देशहरूको क्लबमा आफ्नो प्रवेशलाई अनिवार्य मानेका थिए।
सन् २००० को दशकमा युक्रेनले पनि त्यही गर्न खोज्यो जुन धेरै पूर्वी युरोपेली देशहरूले अघिल्लो दशकमा गरेका थिए- लोकतन्त्रलाई संस्थागत गरेर युरोपसित नजिकिँदै जाने।
युक्रेनमाथिको अहिलेको रूसी अतिक्रमणपछि धेरै युक्रेनीहरू पछि फर्केर याद गर्छन्- रूसको छेउकै अवस्थिति र गहिरो भाषिक तथा सांस्कृतिक सम्बन्धका कारण आमयुक्रेनीहरूका लागि त्यति बेला रूससितको वैमनस्यता र नेटोको सदस्यता कल्पना र इच्छा दुवैको दायरा बाहिरका कुरा थिए। रूससित मित्रवत सम्बन्ध राखेरै लोकतन्त्रलाई अघि बढाउने उनीहरूको इच्छा थियो। (रूसले युक्रेनमा आक्रमण गरेको अर्को दिन सुरू भएर अहिलेसम्म निरन्तर चौबीसै घन्टा चलिरहेको एउटा क्लबहाउस रूममा पूर्वी युरोपका सबै देश लगायत संसारभरका मानिसहरू जोडिएका छन्। त्यसमा धेरै युक्रेनीहरूले बारम्बार यस्तो भाव व्यक्त गरेका छन्।)
तर सन् २००४ को राष्ट्रपतीय चुनावमा रूसपक्षीय मानिने भिक्टर यानुकोभिचलाई जिताउन व्यापक धाँधली भएको आरोपसँगै त्यहाँ ठूलो विद्रोह भयो। ओरेन्ज रिभोलुसन भनिने त्यो आन्दोलन सर्वोच्च अदालतको आदेशमा पुनः निर्वाचन भएपछि मात्रै टुंगियो। नयाँ चुनावमा यानुकोभिचका प्रतिन्द्वन्द्वी भिक्टर युस्चेन्को विजयी भए। तर उनको कार्यकालभरि रूसले युक्रेनलाई गर्ने ग्यास आपूर्तिसम्बन्धी विवाद भइरह्यो र सन् २००९ मा रूसले केही समयका लागि ग्यास आपूर्ति रोकेर युक्रेनदेखि रोमानिया, हंगेरी र बुल्गेरियाजस्ता देशसम्म ऊर्जा संकट सिर्जना गर्यो।
भूराजनीतिवादीहरू भन्छन्- अमेरिकाले २००४ मा युक्रेनमा सडक विद्रोह चर्काएर रूसपक्षीय उम्मेदवारलाई चुनावमा हराइदियो। तर सन् २०१० को चुनावमा उनै भिक्टर यानुकोभिच युक्रेनमा फेरि राष्ट्रपतिमा चुनिए। २००८ को नेटोको बुकारेस्ट सम्मेलनपछि समेत युक्रेनीहरूका लागि रोजीरोटी र चुलिँदो भ्रष्टाचार नै मुख्य मुद्दा थिए। नेटोसितको सम्बन्ध वा सदस्यताको विषय युक्रेनका लागि कुनै मुद्दा नै थिएन।
यो अवस्थामा सन् २०१२ मार्चमा युक्रेन र युरोपेली देशहरूबीच 'युरोपियन युनियन–युक्रेन एसोसिएसन अग्रिमेन्ट' तयार भयो। युक्रेन युरोपमा सहज व्यापार गर्न र लगानी भित्र्याउन चाहन्थ्यो। युरोप युक्रेनबाट अन्न र ग्यास आपूर्तिमा सहजता र स्थिरता चाहन्थ्यो। दुई दशकभन्दा बढी लामो प्रयासबाट अन्तिम चरणमा पुगेको युरोपसित हुने सम्झौता रूसपक्षीय भनिने यानुकोभिचको पालामा टुंगोमा पुग्नुले स्वाभाविक रूपमा युक्रेन कसरी दुवै पक्षबाट लाभ लिन प्रयासरत थियो भन्ने देखाउँछ।
तर रूसी दबाबमा अन्तिम क्षणमा गएर सन् २०१४ मा यानुकोभिच त्यो सम्झौताबाट पछि हटे। युक्रेनीहरूको युरोपजस्तै समृद्ध समाज बन्ने सपनामा धक्का लागेपछि उनीहरू प्रदर्शनका लागि सडकमा उत्रे। २००४ मा त्यस्तै शान्तिपूर्ण विद्रोहबाट सफलता हात पारेका उनीहरू यसपटक पनि त्यो इतिहास दोहोर्याउन चाहन्थे।
यसपटक पछि हट्ने मुडमा नरहेका राष्ट्रपति यानुकोभिचको पुलिसले २०१४ फेब्रुअरी १८–२० मा सय जना निहत्था नागरिकहरूको हत्या गरेपछि सिंगो युक्रेन ध्रुवीकृत भयो। पूर्वी युक्रेनका रूसीभाषीहरूमध्ये धेरै अझै पनि युरोपभन्दा रूससित नजिक हुन चाहन्थे। तर पनि देशको सुरक्षा फौजले आफ्नै नागरिकलाई त्यति ठूलो संख्यामा मारेपछि बहुसंख्यक युक्रेनीहरू यानुकोभिच र उनलाई समर्थन गर्ने रूससित आगो भए। लाखौं सडकमा उत्रे र राजधानी किभलगायतका सहरहरू ठप्प पारे।
अन्ततः विद्रोह नथामिएपछि यानुकोभिच भागेर रूस पुगे।
युक्रेनीहरू भन्छन्- तबसम्म पनि नेटोको सदस्यता युक्रेनी जनजीवनको 'राडार' मा कतै थिएन। यानुकोभिच भागेपछि बनेको अन्तरिम सरकारले सार्वजनिक रूपमै भनेको थियो- युक्रेनको नेटोमा जोडिने कुनै योजना छैन।
तर जब रूसले क्राइमियालाई आफूमा गाभ्यो र पूर्वी युक्रेनमा भीषण गृहयुद्ध सुरू गरायो, युक्रेनीहरूले पहिलोपल्ट सार्वभौम नागरिकका रूपमा आफ्नो अस्तित्वमाथि संकट आएको महसुस गरे। युक्रेनको सिंगो जलसेना रहेको क्राइमियाको सेभास्तोपोल रूसको कब्जामा पुगेसँगै रातारात युक्रेन जलसेनाविहीन बनेको थियो। क्राइमिया गुमेसँगै ब्ल्याक सीको आधाजसो कोस्टलाइन गुमाएको युक्रेनको ओडेसा मात्रै कब्जा गर्ने हो भने रूसले अब युक्रेनलाई सहजै भूपरिवेष्ठित देशमा बदलिदिन सक्थ्यो।
यसरी रूसले घेराबन्दी गर्दै गएपछि नेटोमा गएर मात्रै रूसबाट सुरक्षित हुन सकिन्छ भन्ने भावनाले युक्रेनमा जरो गाड्दै गयो।
यो पृष्ठभूमिपछि अब फेरि मियर्शेमरका तर्कतिर फर्कौं।
उनको भाष्यमा संसारमा शक्तिराष्ट्र र तिनको स्वार्थको तानातान मात्रै छ। उता नेटो, इयु र अमेरिका छन्, यता रूस छ, बीचमा युक्रेन छ। युक्रेन दुई शक्तिबीचको तानातानको वस्तु मात्रै बनेको छ। उसको आफ्नो 'एजेन्सी' शून्य छ। युरोप चाहन्छ, व्यापार सम्झौता हुन्छ। अमेरिका चाहन्छ, आन्दोलन र विद्रोह हुन्छ।
मियर्शेमरको भूराजनीतिक व्याख्यामा युक्रेनीहरू त झन् कतै छँदै छैनन्। तिनको छनोट, तिनका सपना, इच्छा र उत्कण्ठा कतै छैनन्। २०१४ को युरोमैदान विद्रोहमा सय जना युक्रेनी मारिए वा कमिला, उनको व्याख्यालाई केही फरक पर्दैन।
तर वास्तविक संसार उनको भूराजनीतिक व्याख्याभन्दा निकै फरक छ। 'हेभन्ली हन्ड्रेड' भनिने सय जना युरोमैदान सहिदहरूको सम्झना आज युक्रेनी राष्ट्रियताको सबभन्दा शक्तिशाली मियो बनेको छ।
युक्रेनीहरू भन्छन्- उनीहरूका लागि यो युद्धमा रूस दोषी कि नेटो भन्ने प्रश्न नै वाहियात हो। १९९१ मा स्वतन्त्र भएयता २०१४ सम्म उनीहरूले रूससित मित्रवत सम्बन्ध राखेर अघि बढ्न कोशिस गरेकै हुन्। तर रूसले आफ्नो भूभाग नै खोसेर लिएपछि अब त्यो सम्भावना रहेन। सम्बन्ध जस्तो भए पनि युक्रेनमाथि हमला गर्ने रूसको अधिकार थिएन। तर उसले गर्यो। युक्रेनीहरूसित त्यसको प्रतिकार गर्नुको विकल्प थिएन, गर्दै छन्।
अस्तित्वको यो युद्धमा नेटोलगायत ज-जसले सहयोग गर्छन्, त्यो हामीले लिनु स्वाभाविक हो। तर त्यसले पुटिनको यो युद्धलाई नेटो–रूस युद्ध बनाउँदैन, यस्तो तर्क गर्छन् युक्रेनीहरू।
अन्तमा भूराजनीतिवादीहरूले अस्तित्व नै अस्वीकार गर्ने गरेका पूर्वी युरोप र पश्चिम एसियाका करोडौं मानिसका जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेका माथि उल्लिखित केही पात्रहरूको अहिलेको अवस्था हेरौं।
२०१४ मा सय जना नागरिक मारेर प्रदर्शन दबाउने प्रयास असफल भएपछि युक्रेनबाट भागेका भिक्टर यानुकोभिच अहिलेको युक्रेन युद्ध सुरू भएलगत्तै बेलारूस गएर किभ उड्ने तयारीमा थिए। एकाध दिनमा युक्रेन कब्जा गरिसकेपछि उनको नेतृत्वमा आफू अनुकूलको सरकार स्थापित गर्ने पुटिनको योजना थियो।
कजाकास्तानका तानाशाह नजर्बाएभका उत्तराधिकारी कासिम–जोमार्ट तोकाएभको सरकारविरूद्ध केही समयअगाडि त्यहाँ सडकमा विरोध प्रदर्शन भयो। तोकाएभले तत्काल सेना लगाएर त्यो प्रदर्शनलाई कुल्चेनन् मात्रै, सिएसटिओको छाताअन्तर्गत रूसी सेना बोलाएर प्रदर्शनकारीमाथि दमनका लागि उतारे।
उज्बेकिस्तानका तानाशाह इस्लाम कारामोभ लाखौं उज्बेकहरूलाई बँधुवा मजदुरका रूपमा सरकारी कपासका फाँटहरूमा जबर्जस्ती काममा लदाएका कारण बदनाम थिए। २०१६ मा उनी मृत्युका कारण राष्ट्रपतिबाट हटेपछि उनका उत्तराधिकारीले बल्ल त्यहाँ जबर्जस्ती श्रमको व्यवस्था हटाएका छन्।
२०२० सेप्टेम्बरमा भएको चुनावमा बेलारूसी तानाशाह अलेक्जान्डर लुकासेन्को हारेको मानिन्छ। चुनावअगाडि उनले प्रतिपक्षी उम्मेदवारलाई थुनेपछि उनकी श्रीमती चुनाव लडेकी थिइन्। चुनावको नतिजा लुकासेन्कोकै पक्षमा आएपछि मतगणनामा व्यापक घोटाला भएको भनेर बेलारूसभर महिनौंसम्म लाखौं मानिसहरूले अभूतपूर्व सडक प्रदर्शनहरू गरे। तर त्यहाँ पनि भ्लादिमिर पुटिनको कूटनीतिक र सैन्य सहयोग लिएर अन्ततः लुकासेन्कोले प्रदर्शन दबाए।
रूसले जुन बेला युक्रेनमा थपना गर्न भिक्टर यानुकोभिचलाई बेलारूसमा तयार गर्दै थियो, युक्रेनीहरूले उनमा लुकाशेन्को, नजर्बाएभ र कारिमोभहरूको अनुहार देखिरहेका थिए। उनीहरू त्यस्तो नेतृत्वअन्तर्गत आफ्नो भविष्य कल्पना गर्नसमेत चाहँदैनथे।
बेलारूस वा कजाकस्तानभन्दा फरक किसिमको समाज बनाउने उनीहरूको इच्छा यति बलियो थियो कि आफ्नोभन्दा दसौं गुणा ठूलो, बीसौं गुणा बलियो मानिएको र रासायनिकदेखि आणविक अस्त्रसम्मले सुसज्जित रूसी सैन्यबललाई घरमा बनाइएको बियरका बोतलको बम हानेर प्रतिकार गर्न तयार भए।
मियर्शेमरहरू के बिर्सन्छन् भने युक्रेनजस्तो देश चेसको बोर्ड होइन जहाँका गोटीहरूलाई दुई जना खेलाडीले सारेको भरमा खेलको नतिजा निस्कोस्।
त्यसैले उनीहरू भन्छन्- पश्चिमा देशहरूले पुटिनको भावनालाई सम्मान नगरेर यो युद्ध निम्याए अनि ज्याभलिन र स्टिंगर मिसाइल दिएर यो युद्ध चर्काइरहेका छन्।
तर म भन्छु- पुटिनले युक्रेनलाई बेलारूसको बाटोमा हिँडाउन यो युद्ध निम्त्याए अनि युक्रेनीहरूले स्वतन्त्र र न्याप्रेमी मानिस हुनुको मर्यादा बचाउन उनको प्रतिकार गरिरहेका छन् र युद्ध लम्बिइरहेको छ। स्वतन्त्र भएर आफ्नो भविष्य आफैं कोर्ने युक्रेनीहरूको लालसालाई पश्चिमाहरूले दिएका ज्याभलिन, स्टिंगर वा स्वीचब्लेडहरूले सघाउन सक्छन्। तर युक्रेनीहरूको स्वतन्त्रता संग्राममा उनीहरूको न्यायचेत नै सबभन्दा ठूलो हतियार हो।
(जीवन क्षेत्रीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)