कोरोना भाइरसका दुइ फरक भेरियन्टहरू 'डेल्टा र ओमिक्रोन' बीच जीन समिश्रण हुँदा नयाँ स्वरूपमा 'डेल्टाक्रोन' भाइरसको विकास भएको छ।
केही दिन अगाडि अमेरिकी वैज्ञानिकहरूले अनुसन्धानमार्फत् यसको पुष्टि पनि गरिसकेका छन्।
कोरोना भाइरसको यो नयाँ स्वरूप युरोपका विभिन्न देशहरूमा देखिसकेको छ। हाल वैज्ञानिकहरूले यो स्वरूपलाई टेक्निकल्ली 'डेल्टा र ओमिक्रोन' को रि-कन्भिनेन्ट भाइरस भनेको भएता पनि विश्व स्वास्थ्य संगठनले यो स्वरूपको छुट्टै अधिकारिक नाम दिइसकेको छैन।
धेरैले म्युटेशनको बारेमा सुनिरहेका थिए। तर दुई फरक भाइरसको मिलनबाट उत्पन्न हुनसक्ने नयाँ स्वरूपको सम्भावनाको बारेमा भने शायदैले सोचेका थिए होलान्।
समय-समयमा फ्लुलगायत विभिन्न भाइरसहरू आफ्नै फरक प्रजातिबीच यस्ता 'हाइब्रिड स्वरूप' वा 'रि-कन्भिनेन्ट' को अवस्था पनि देखिँदै आएको छ।
विगतमा कतिपय अनुसन्धानहरूमा समेत संलग्न भएको हुँदा लेखकलाई अस्वाभाविक/अप्रत्याशित भने लागेन। वास्तवमा, तेस्रो लहरको बीचमा 'डेल्टा' र 'ओमिक्रोन' सँगसँगै देखिँदा लेखकले भने यी दुई भेरियन्टहरूको 'हाइब्रिड' स्वरूप देखिन सक्ने आशंका व्यक्त गर्दै आइरहेका थिए।
'हाइब्रिड स्वरूप' वा 'रि-कन्भिनेन्ट' कसरी हुनसक्छ?
दुई फरक कोरोना भाइरसका प्रजातिहरू(स्ट्रेनहरू) एकै व्यक्तिलाई संक्रमण गरेको अवस्थामा भाइरसले आफूलाई संख्यात्मक वृद्धि गर्ने क्रममा स्ट्रेनहरूबीच जीनको आदानप्रदान हुँदा समिश्रण हुँदा 'हाइब्रिड' वा 'रि-कन्भिनेन्ट' भाइरस बन्ने गर्दछ।
नेपालको तेस्रो लहरमा दुई भेरियन्टहरू 'डेल्टा तथा ओमिक्रोन' सँगसँगै व्यापक देखिएको/ फैलिएको थियो।
यस्तो अवस्थामा नेपालमा पनि एकै व्यक्तिलाई दुवै भेरियन्टहरूले संक्रमण नगरेको होला भन्न सकिँदैन।
कोरोनाको तेस्रो लहरमा एक परिचितले आफू भर्खरै संक्रमित भएर निको भएको तर अर्को भेरियन्टले ( 'डेल्टा र ओमिक्रोन' सँगै फैलिएकोले) फेरि संक्रमण गर्ने पो हो कि भनेर सोधेका थिए। तर नेपालमा गरिएका जीन सिक्वेन्सिङका नमूनाहरूमा यी दुई भेरियन्टहरूको को-इन्फेक्सन एकै व्यक्तिमा भएको देखिएन।
'डेल्टाक्रोन' कति संक्रामक कति घातक?
वास्तवमा, हाइब्रिड स्वरूपको 'डेल्टाक्रोन' को बारेमा धेरै जानकारी आइसकेका छैनन्। 'डेल्टाक्रोन' बारेमा केही महिनाअगाडि पनि चर्चा भएको भएता पनि विस्तृत अध्ययन भने आउने क्रम जारी छ।
धेरैमा यो नयाँ भाइरसप्रति जिज्ञासा बढ्दै गएको पनि देखिन्छ।
फरक ढंगले प्रस्तुत/विकसित भएको यो नयाँ भाइरसले अघिल्लो भेरियन्टभन्दा बढी मानवीय क्षति पुर्याएको आजको मितिसम्मको अनुसन्धानले देखिएको छैन र त्यस्तै बढी संक्रामक भए/नभएको पनि पुष्टि भैसकेको छैन।
हाइब्रिड स्वरूपको 'डेल्टाक्रोन' ले विगतमा 'डेल्टा लहर' मा देखिएजस्तो स्वास्थ्य प्रणाली नै ध्वस्त हुने गरी प्रभाव पार्न सक्ने सम्भावना देखिएको छैन। किनभने नेपालले 'डेल्टा' र 'ओमिक्रोन' को दोस्रो र तेस्रो छुट्टाछुटै लहरको सामना गरिसकेको छ भने 'डेल्टा लहर' देखि आजको मितिसम्म आइपुग्दा लाखौंले कोभिड-१९ विरूद्धको खोप पनि लगाइसकेका छन्।
नेपालमा तेस्रो लहरको शिथिलतासँगै परीक्षणको दायरा पनि घट्दै गइरहेको छ। त्यस्तै, संक्रमितको संख्या पछिल्लो केही दिनदेखि दुई अंकमा झरिसकेको छ। तर सञ्चार माध्यममा कोरोना भाइरसको हाइब्रिड स्वरूप 'डेल्टाक्रोन' ले चर्चा पाउने क्रम बढेसँगै मानिसहरूमा पनि जिज्ञासा/चासो बढेको पाइन्छ।
नेपालमा परीक्षण र संक्रमितको संख्या घट्दै गए पनि खोपको लक्ष्य पूरा नभएसम्म कोरोनाको सम्भावित नयाँ स्वरूप छ/छैन वा आगमन भयो/भएन भनेर अर्जुन दृष्टि राख्न भने छोड्नु हुँदैन। यसको लागि जीन सिक्वेन्सिङलाई निरन्तरता दिनुपर्छ। नेपालमा आजको मितिसम्म डेल्टा प्लस ओमिक्रोनको हाइब्रिड भाइरस फेला परिसकेको भने छैन।
अन्तमा, हाइब्रिड स्वरूपमा विकास भएको 'डेल्टाक्रोन' को उदयसँग यो भाइरसप्रति धेरैमा जिज्ञासा/चासो/ प्रश्नहरू उठेको पाइन्छ। तर हालसम्म भएका अनुसन्धानलाई आधार मान्ने हो भने अघिल्लो भेरियन्टहरूभन्दा यो संक्रामक/आक्रामक वा घातक भने देखिएको छैन।
यद्यपि, 'डेल्टाक्रोन' सम्बन्धी विस्तृत तथा थप जानकारी थाहा पाउन अहिले भैरहेको अनुसन्धानको नतिजालाई केही समय भने पर्खनुपर्ने हुन्छ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)