हाल नेपालमा ओमिक्रोनको सब-भेरियन्ट (बिए.२) ले व्यापकता पाइरहेको अवस्थामा बर्ड फ्लु भित्रिएको छ। यो उच्च घातक मानिने 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरस हो। यो भाइरस विराटनगर हुँदै पछिल्लो समय चितवनका कुखुरा फार्ममा देखापरेको छ र यो थप फैलिएर काठमाडौंसम्म नआउला भन्न सकिँदैन।
कोरोना र बर्ड फ्लु फरक भाइरस भएता पनि सुरूआती लक्षण तथा जटिलतामा भने धेरै समानता पाइन्छ।
ओमिक्रोनले आफूलाई बढी 'कमन कोल्ड'सँग मिल्दोजुल्दो लक्षण लिएर आएको देखिन्छ भने अघिल्लो भेरियन्टहरू फ्लु भाइरससँग मिल्दोजुल्दो देखिएका थिए। लक्षणहरू कोरोनासँग मिल्दोजुल्दो हुने हुँदा बर्ड फ्लु फैलिएको क्षेत्रमा संक्रमण पहिचान गर्दा यो भाइरसलाई पनि समावेश गर्दा न्याय संगत हुनेछ।
यद्यपि यस्तो सोच/बहसप्रति विश्वको ध्यान हाल आकृष्ट भैसकेको अवस्था भने छैन।
सन् १९९७ मा पहिलो पटक हङकङमा संक्रमित कुखुराबाट 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरस सिधै मानिसमा सरेको र केही संक्रमितहरूको समेत मृत्यु भएको थियो। तत् पश्चात् कम्तीमा पनि यो भाइरस ५० देशमा फैलिसकेको छ भने दक्षिण एसियामा भारत तथा बंगलादेशमा हरेक वर्षजसो देखापर्ने गरेको पाइन्छ।
नेपालमा सन् २०१९ मा पहिलो पटक यो भाइरसको कारणले २१ वर्षीय युवकको मृत्यु भएको थियो। यो मानवीय क्षति नेपालमा 'एच फाइभ एन वान' बर्ड फ्लु देखिएको १० वर्षपछि थियो।
हाल 'एच फाइभ एन वान' बर्ड फ्लु देखिँदै/फैलिँदै गर्दा सन् २०१९ को घटनाको सम्झना गराउँदछ। त्यसो भए के सन् २०१९ फर्किएला?
बर्ड फ्लु अथवा एभियन इन्फ्लुएन्जा पंक्षीमा देखिने भाइरस हो। तर समय-समयमा भाइरसमा हुने म्युटेसन/स्वरूप परिवर्तनले गर्दा मानिसमा जम्प गर्न सक्ने क्षमता विकास गर्न सक्छ। वास्तवमा, मानिसमा देखिने ७० प्रतिशतभन्दा बढी संक्रामक रोगहरूको स्रोत नै पशु-पंक्षीलाई मानिन्छ। हाल विश्वमा महामारीको रूपमा दु:ख दिइरहेको कोरोना भाइरसको स्रोत पनि चमेरोलाई मानिन्छ।
कतिपय संक्रामक रोगहरू पशुपंक्षीको प्रत्यक्ष सम्पर्क हुनेहरूलाई मात्र देखिँदै आइरहेको छ भने कतिपय संक्रामक रोगहरू पशु-पंक्षीबाट मानिसमा सरेपछि फेरि मानिसबाट मानिसमा सहजै सर्न सक्ने क्षमताका हुन्छन्।
हाल उच्च घातक मानिने 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरस पंक्षीको प्रत्यक्ष सम्पर्क हुनेहरूलाई मात्र संक्रमण गरेको देखिएको भएता पनि कोरोना भाइरसजस्तो मानिसबाट मानिसमा सहजै सर्ने गरेको भने छैन।
सन् २०१९ मा 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरसको कारणले मृत्यु भएका युवकको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्दा कसैमा पनि यो भाइरस सरेको पाइएन।
तर संक्रमित पंक्षीको सम्पर्कमा आएकाहरूमा संक्रमण सर्न सक्ने भएकोले जोखिम समूहले विशेष सतर्कता भने अपनाउनुपर्ने हुन्छ।
जोखिम समूहमा पहिलो पंक्तिमा भने कृषक नै पर्ने गर्दछ। तर पंक्षीको प्रत्यक्ष सम्पर्कमा हुने पंक्षी ढुवानी कर्ता, बिक्री गर्ने/बिक्री स्थलमा पुग्ने तथा बधशालामा काम गर्नेहरू पनि उत्तिकै जोखिममा पर्ने गर्दछन्।
हामीले कार्यक्रमहरू धेरैजसो बढी कृषक केन्द्रित भएको पाएता पनि जोखिममा पर्ने अरू समूहलाई तालिम/कार्यक्रम भने गरेको पाइँदैन।
उनीहरूमा लक्षण मिल्दोजुल्दो देखिए कहाँ/कसरी सम्पर्क गर्ने भन्ने ज्ञान हुँदैन। चिकित्सकहरूमा बर्ड फ्लु निदान गर्ने कि नगर्ने र गर्ने भए कहाँ पठाउने भन्ने जानकारी भएको देखिँदैन।
हाल शंकास्पद पंक्षीहरूको मात्र बर्ड फ्लु परीक्षण गर्दै आइरहेको छ। सन् २०१९ मा नै रूघाखोकीका लक्षणसहित हरेक दिन कुखुरा मर्न थालेपछि आफूहरूमा पनि फ्लु जस्तो लक्षण देखिएपछि उपचारका लागि केही घरका सदस्य लेखकको सम्पर्कमा आएका थिए। तर नेपालमा त्यस्ता शंकास्पद बर्ड फ्लु संक्रमित मानिस देखिए कहाँ पठाउने भन्ने स्पष्ट नहुँदा लेखकले लक्षणको आधारमा उपचार गर्नु परेको थियो।
आजको मितिसम्म पनि मानिसमा बर्ड फ्लु पहिचानको बारेमा नीति स्पष्ट भने छैन। हाल कोरोना भाइरस पहिचानको लागि सरकारी तथा निजी गरी दर्जनौं प्रयोगशालाहरू खुलिसकेका छन्। बर्ड फ्लु 'एच फाइभ एन वान' भाइरस पनि पिसिआर प्रविधिबाट नै पहिचान गर्न सकिने भएकोले ती प्रयोगशाला बर्ड फ्लु भाइरस पहिचान गर्न प्रयोग गर्न सकिनेछ।
'एच फाइभ एन वान' भाइरसको मृत्युदर उच्च भएकोले यसलाई ‘हाइल्ली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् उच्च घातक पंक्षीजन्य इन्फ्लुएन्जा भन्ने गरिन्छ।यसको मृत्युदर लगभग ६० प्रतिशत हुने गर्दछ।
यो भाइरस मरेको वा ज्युँदो संक्रमित पंक्षीबाट सर्ने गर्दछ। तसर्थ आफूले पालेका कुखुरा/हाँस अथवा तपाईंको घर वरिपरि अचानक धेरै पंक्षीहरूको मरे तुरून्त सम्बन्धित निकायलाई खबर गर्नुपर्छ।
सन् २०१९ मा नै कम्तीमा ३५० कागको मृत्यु 'एच फाइभ एन वान' बर्ड फ्लुको कारणले नै भएको थियो।
नेपालमा 'एच फाइभ एन वान' बर्ड फ्लुको कारणले मृत्यु भएका युवकमा ज्वरोखोकी लागेर अस्पताल भर्ना भई उपचारको क्रममा मृत्यु भएको थियो। उच्च ज्वरो, खोकी, घाँटी दुख्ने, शरीरका मांसपेशीका दुख्ने, आलस्य हुने आदिजस्ता बर्ड फ्लुका मुख्य लक्षण हुन्। कसै कसैलाई पेट दुख्ने, पखाला लाग्ने, छाती दुख्ने पनि हुनसक्दछ।जटिलता तीव्र भए स्वासप्रस्वासमा समस्या, निमोनिया, तथा स्नायु प्रणालीमा समेत समस्या देखिने गर्दछ।
सन् २०१९ मै कृषकमा शंकास्पद बर्ड फ्लु संक्रमण, घरेलु (कुखुरा) तथा बाहिरी (काग)पंक्षीहरूमा 'एच फाइभ एन वान' भाइरस पुष्टि तथा 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरसले एक युवकको मृत्यु भएको थियो।
हाल फेरि उच्च घातक मानिने 'एच फाइभ एन वान' बर्ड फ्लु भाइरसले आफ्नो उपस्थिति जनाउँदै गर्दा सन् २०१९ नफर्कियोस् भन्नको लागि अहिलेदेखि नै बर्ड फ्लुविरूद्ध विशेष सतर्कता अपनाउन तथा कार्यक्रम गर्न जरूरी हुन्छ।
सम्बन्धित निकायले पनि बर्ड फ्लु भाइरसका लक्षण देखिएकाहरूको (विशेषत पंक्षीसँग प्रत्यक्ष सम्पर्कमा हुनेहरू)का लागि समयमा नै पहिचान, उपचार तथा परामर्शको लागि सहज व्यवस्था/ध्यान दिन जरूरी हुनेछ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)