केही दिनअघि चीनका वैज्ञानिकहरूले अनुसन्धानको क्रममा कोरोना भाइरस परिवारको अर्को भाइरस ‘नियोकोभ’ मानव समुदायको लागि जोखिम हुनसक्ने नतिजा प्रकाशित गरेका थिए।
‘नियोकोभ’ भाइरसले तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने भनेर विभिन्न अन्तर्राष्ट्रिय मिडियामा उच्च प्राथमिकताका साथ प्रचार भैरहेको देखिन्छ भने नागरिकमा पनि यो भाइरसप्रति चासो ह्वात्तै बढेको देखिन्छ।
कोरोना भाइरसले विश्वलाई सताइरहेको अवस्थामा ‘नियोकोभ’ कोरोना भाइरसको बारेमा प्रकाशित नतिजाले विश्व फेरि तरंगित हुनु स्वाभाविक देखिन्छ। तर के हामी त्रसित हुनुपर्ने अवस्था नै हो त?
वैज्ञानिकहरूको भनाइ अनुसार मानिसमा देखापर्ने ४ मध्ये ३ नयाँ-नयाँ/इमरजिङ संक्रामक रोगहरू पशुपन्छीबाट सर्ने गर्दछ। कोरोना भाइरसहरूको मुख्य स्रोत चमेरोलाई मान्ने गरिन्छ।
‘नियोकोभ’ भाइरस कोरोना भाइरस परिवारअन्तर्गत पर्ने भएकोले यसको स्रोत पनि चमेरोलाई मानिन्छ।
‘नियोकोभ’ भाइरसलाई ‘मर्स-कोभ’ अर्थात् ‘मिडलइष्ट रेस्पिरेटोरी सिन्ड्रोम’ कोरोना भाइरससँग नजिक मानिन्छ। यसैको आधारमा तीनमध्ये एक संक्रमितको मृत्यु हुनसक्ने अनुमान गरिएको हो।
‘मर्स-कोभ’ सन् २०१२ मा साउदी अरबियामा पत्ता लागेको थियो। यो भाइरसमध्ये पूर्व देशहरूमा अझ विशेषत साउदी अरबमा नै बढी केन्द्रित भएको देखिन्छ भने विश्वका अरू देशहरूमा देखिए पनि संक्रमितले मध्य-पूर्व देशमा भ्रमण गरेको इतिहास पाइन्छ।
सन् २०१५ मा दक्षिण कोरियामा फैलिएको 'मर्स-कोभ' भाइरस पनि मध्य-पूर्व देशबाट फर्केकाले त्यहाँ फैलाएको पत्ता लागेको थियो।
‘मर्स-कोभ’ भाइरस संक्रमण भए मुख्यतय ज्वरो, खोकी र श्वास-प्रश्वासमा समस्या आउने हुन्छ भने दीर्घ रोग भएकाहरूमा जटिलता देखिन सक्छ। लक्षणहरू संक्रमण भएको औसतमा पाँच/छ दिनमा देखिने गरेता पनि २ देखि १४ दिनसम्ममा देखिन सक्छ।
सामान्यतय ‘मर्स-कोभ’ तथा अरू चमेरामा पाइने कोरोना भाइरसले संक्रमण गर्दा 'डिपिपिफोर' रेस्पेटरको प्रयोग गर्ने गर्दछ। तर ‘नियोकोभ’ भाइरसले संक्रमण गर्दा चमेराको 'एसिई-२' रेस्पेटरको प्रयोग गरेको पाइएको थियो। यही अब्जरभेसनले नै अनुसन्धानकर्तालाई अचम्मित पारेको र यसैको आधारमा मानिस पनि भाइरसको उच्च जोखिमा हुनसक्ने आकलन गरिएको थियो।
किनभने हाल विश्वमा तहल्का मच्चाइरहेको सार्स-कोभ-२ ले 'एसिई-२' रेस्पेटरको नै प्रयोगको गर्दै आइरहेको छ र ‘नियोकोभ’ भाइरसले पनि यही विधि अपनाएर संक्रमण गर्ने र फैलन सक्ने आशंका अनुसन्धानकर्ताहरूले व्यक्त गरेका हुन्।
चमेराको 'एसिई- २' रेस्पेटरको प्रयोग गरी ‘नियोकोभ’ भाइरसले सहजै संक्रमण गरेको देखिए पनि मानिसमा भने हालको अवस्थामा संक्रमण गर्न सक्ने अवस्था देखिएको छैन।
तर ‘नियोकोभ’ भाइरसमा थप म्युटेसन हुने क्रम जारी रहे भने मानिसमा सहजै संक्रमण गर्न सक्ने प्रयोगशाला परीक्षणबाट प्रमाणित गरेका थिए। यस्तो अवस्थामा सार्स-कोभ-२ र मर्स-कोभविरूद्ध विकास भएको एन्टिबडीले पनि यो भाइरसलाई निष्क्रिय पार्न नसक्ने देखाएको थियो।
विगतदेखि नै कोरोना भाइरसहरू विभिन्न समयमा निरन्तर म्युटेसन भैरहँदा चमेराबाट मानिसमा सर्ने गरेको र तत् पश्चात मानिसबाट मानिसमा फैलने क्षमता विकास गरेको देखिन्छ।
‘नियोकोभ’ भाइरसमा पनि म्युटेसनको क्रम जारी रहँदा मानिसमा सर्न सक्ने आशंका व्यक्त गरिएको हो।
हालकै अवस्थामा ‘नियोकोभ’ भाइरस मानिसको लागि जोखिम देखिँदैन। तर अरू कोरोना भाइरसमा जस्तै म्युटेसनले निरन्तरता पाए भाइरसले मानिसमा जम्प नगर्ला भन्न भने सकिँदैन।
‘मर्स-कोभ’ सँग नजिक मानिएकोले ‘नियोकोभ’ भाइरसको मृत्युदर पनि त्यस्तै हुने अनुमान गरिएको हो। तसर्थ हालको अनुसन्धान मुख्यतय प्रयोगशाला अनुसन्धानमा आधारित रहेकोले आगामी दिनहरूमा भाइरसले आफूलाई कसरी स्वरूपमा/जीनमा परिवर्तन गर्दै जान्छ/जानेछ भनेर वैज्ञानिक जगतले नजिकबाट भने निरन्तर पछ्याउने पर्ने देखिन्छ।
(डाक्टर शेरबहादुर पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्।)