आमन्त्रित लेख: प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी
एक जना मित्रले मेरो कार्यालय स्टक एक्सचेञ्जमा आएर भने, 'प्रचण्डले बोल्दा सेयर बजार सवा एक खर्ब रूपैयाँ घट्यो रे, साँच्चै हो?'
मैले भनेँ, 'हुन सक्छ। यकिनसाथ भन्न सकिन्न।'
'कसरी हुन सक्छ? देखाउनुस् त।'
म अलमलमा परेँ। सोधेँ, 'कसरी देखाऊँ?'
उनले भने, 'देखाउनुस् न तपाईंको कम्प्युटरमा, प्रचण्डले बोलेको अनि सेयरको मूल्य घटेको, ग्राफ तलमाथि गरेको, रातो–हरियो रंगहरू, अंकहरूको जोडघटाउ, त्यस्तै भिडियो केही हुन्छ होला नि!'
उनको अपेक्षा कुनै सिनेमा हेर्ने रहेछ भन्ने मैले बुझेँ।
मैले भनेँ, 'त्यस्तो कुनै सिनेमा हुँदैन। प्रचण्डको कुराले सबभन्दा पहिला मान्छेको दिमागमा हान्छ। ती मान्छेले मोबाइल, ल्यापटप वा अन्य कुनै डिभाइसको किबोर्डमा हान्छन् अनि यहाँ सेयरको मूल्य घटबढ हुन थाल्छ।'
प्रचण्डले बोलेका कुरा पत्याउनेहरू सेयर किन्न थाल्छन्, नपत्याउनेहरू बेच्न थाल्छन् वा झुक्यानमा परेर उल्टो पनि गर्न सक्छन्। सेयर किन्ने धेरै भए माग बढ्छ, बेच्ने धेरै भए माग घट्छ। माग बढ्यो भने सेयरको मूल्य बढ्छ, माग घट्यो भने मूल्य घट्छ। संसारभरकै सेयर बजार यति सरल आर्थिक नियममा चल्छ तर मान्छेले यसलाई रोमाञ्चक र अलौकिक बनाएका छन्। सेयर बजारबाट रातारात कमाएर अर्बपति बनेको वा पूरै पैसा गुमाएर सडकमा आएको कल्पना गर्न थाल्छन्।
यी दुवै किसिमका अतिकल्पना सेयर बजारमा अपवाद हुन्। सेयर बजारबाट मान्छे अर्बपति हुन सक्छन्, सडकमा आउन सक्छन्। अझै कतिपय त जेल पनि जान्छन्, गएका छन्। तर सेयर बजारको मुख्य कथा यो होइन।
सेयर बजारमा मान्छेले लगानी गर्छन्। निश्चित समयसम्म त्यस्तो लगानी थामेर राख्छन् र उचित लागेको समयमा बिक्री गरेर लाभ प्राप्त गर्छन्। यो पनि सेयर बजारको पूरा कथा चाहिँ होइन। यो लेखको विषय सेयर बजार नभएकाले छोटकरीमा भन्दा राम्रो सुझबुझपूर्ण लगानी गर्नेलाई सेयर बजारले पुरस्कृत गर्छ, अनौठा रोमाञ्च लिएर बजारमा प्रवेश गर्नेलाई दण्डित गर्छ।
उसो भए सेयर बजारको यति सामान्य व्यवहारलाई मान्छेहरू किन 'रोमान्टिसाइज' गर्छन्?
किनकि हाम्रा राजनीतिकर्मीहरूले, खासगरी कम्युनिस्ट नेताहरूले हरेक चिजलाई रोमान्टिसाइज गर्न सिकाएका छन्। उनीहरूले लेखेर, बोलेर मान्छेको दिमागमा एउटा निश्चित खालको परिकल्पना विकास गरिदिएका छन्। प्रचण्ड तिनैमध्ये एक महत्वपूर्ण पात्र हुन्।
आजको मितिसम्म तपाईं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई माया गर्न सक्नुहुन्छ, घृणा गर्न सक्नुहुन्छ तर बेवास्ता गर्न सक्नुहुन्न। वर्तमान गठबन्धन सरकारको एक साझेदार दलका प्रमुख तथा दसवर्षे हिंसात्मक राजनीतिक अभियानको नेतृत्वकर्ता भएकाले प्रचण्डले भन्ने र गर्ने कुराले हामी धेरैको दैनिक जीवनमा ठूलो प्रभाव पार्छ।
माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा पेस गरिएको '२१औं शताब्दीमा समाजवादको नेपाली बाटो' नाम दिइएको ४५ पृष्ठ लामो दस्तावेजमा यस्ता धेरै कुरा छन् जुन हामीलाई मन पर्दैनन्। तर एउटा राजनीतिक समूहले त्यसलाई पत्याइदिँदा हामी त्यसबाट निष्प्रभावित रहन सक्दैनौं।
दस्तावेजमा नयाँ विचार दुर्लभ छ। अघिल्ला ३० पेजमा कुनै पनि नयाँ कुरा छैन, विगतका गन्थन धेरै छन्। बरालिएको त्यो दस्तावेजमा वर्तमान विश्वका केही घटनाक्रम विश्लेषण गर्दै केही निष्कर्ष निकाल्न खोजिएजस्तो देखिन्छ तर उनले संकलन गरेका तथ्य र तथ्यांक गलत छन्। उनले अपर्याप्त, अशुद्ध, असामयिक र असान्दर्भिक सूचनाहरूका आधारमा निष्कर्ष निकालेका छन्।
प्रचण्डको अनुसन्धान टोली कमजोर देखिन्छ। मूलप्रवाहको राजनीति गर्छु भन्ने दलले अनुसन्धानमा जोड दिनुपर्छ, सूचनाहरू अद्यावधिक गरिरहनुपर्छ, आफ्ना वरपर के भइरहेको छ थाहा पाइरहनुपर्छ। प्रचण्डको दस्तावेजले त्यस्तो संकेत गर्दैन।
प्रचण्डले आफ्नो प्रतिवेदनमा उही वैज्ञानिक समाजवादको रटान लगाएका छन्। मार्क्स, लेनिन र माओको गाथा गाएका छन्। शब्दमै सही अदृश्य शत्रुहरू नवउदारवाद, साम्राज्यवाद, विस्तारवाद, दक्षिणपन्थ, लोकप्रियतावादको दोहोलो काडेका छन्। विश्व बैंक, मुद्रा कोष र विश्व व्यापार संगठनलाई व्यर्थमा गाली पनि गरेका छन्। साम्राज्यवादलाई देखाएर त्रासको खेती गर्न उनी पछि पर्दैनन्।
तर प्रचण्डले बुझेको वा बुझाउन खोजेको विश्व बैंक, मुद्रा कोष, विश्व व्यापार संगठन बदलिएका छन्। प्रचण्डले त्यसको भेउ पाएका छैनन्। कम्तीमा उनको आफ्नै दस्तावेजले त्यस्तै संकेत गर्छ।
प्रचण्डले भन्ने गरेजस्तो खुला बजारलाई यी संगठनहरूले पनि रूचाउँदैनन्। उनीहरू पनि कुनै नियमनकारी निकायबाट बजारलाई नियन्त्रण गर्नैपर्छ भन्ने सार्वजनिक नीतिको वकालत गर्छन्। कति नियन्त्रण र नियमन भन्ने मात्रामा मात्रै प्रचण्ड र ती संस्थाको कुरा नमिल्न सक्छ।
विश्व बैंक, मुद्रा कोष वा विश्व व्यापार संगठनले झन्डै ८० वर्षे अनुभवका आधारमा बजार र सरकारको दायरा छुट्याउन सक्लान् तर प्रचण्डले सक्दैनन्।
प्रचण्डले भन्ने गरेका विश्वयुद्ध र अन्तर्राष्ट्रिय क्रान्तिका साक्षी ती संस्थाहरू पनि हुन्। दोस्रो विश्वयुद्धले क्षतिग्रस्त मानव समुदायको उत्थान कसरी गर्न सकिन्छ भनेर नै ती संस्था अस्तित्वमा आएका हुन्। प्रचण्ड लगायत वामपन्थीहरूले भन्ने गरेजस्तो नकारात्मक उद्देश्य लिएर विश्व संस्थाहरू गठन हुन सक्दैनन्। यसको मतलब ती संस्थाले सिफारिस गरेका हरेक नीति र कार्यक्रम सही थिए भन्ने होइन।
विश्व बैंक र मुद्रा कोषमा अमेरिका र युरोपले धेरै पैसा लगानी गरे अनि आफ्नो नेतृत्वमा लिए। स्वाभाविक हो, आर्थिक उद्देश्य बोकेका संस्थामा धेरै लगानी गर्नेले नेतृत्व लिन्छ र आफ्नो अनुकूल सञ्चालन गर्न खोज्छ। त्यसैले ती संस्थाहरूले अमेरिकी र युरोपेलीहरूलाई मनपर्ने खालको, उनीहरूले सही ठानेको अर्थराजनीतिक कार्यक्रमहरू अघि बढाए।
तर उनीहरूले सिफारिस गरेका, कार्यान्वयनमा ल्याउन जोड दिएका सबै कार्यक्रम पुँजीवादी थिए, साम्राज्यवादी थिए भन्ने होइन। सबै कार्यक्रमले निरन्तरता पाए भन्ने पनि होइन। नकारात्मक नतिजाहरू हात लागेपछि उनीहरूले सिफारिस गर्ने कार्यक्रमको स्वरुप नबदिलएको पनि होइन।
विश्व बैंक, मुद्रा कोष र विश्व व्यापार संगठनले कहिल्यै निःसर्त, सर्वकालीक र सर्वव्यापी खुला बजारको वकालत गरेनन्। अमेरिका, बेलायत, जापान वा अरू धनी मुलुकहरू हामीलाई बुझाइएको जस्तो पुँजीवादी मुलुक होइनन्। उनीहरूले विश्व बैंक र मुद्रा कोषलाई सिफारिस गर्न सुझाउने (दबाब दिने) सबै कार्यक्रम वास्तवमा पुँजीवादी पनि हुँदैनन्।
पुँजीवादले कहिल्यै बजार प्रवेश, मूल्य नियन्त्रण, लाइसेन्स, संरक्षणवाद, एकाधिकारी सिद्धान्तमा आधारित कार्यक्रमहरू सिफारिस गर्दैन। तर यी संस्थाले सिफारिस गर्ने कतिपय कार्यक्रम पुँजीवादी मान्यतामा आधारित हुँदैनन्।
पुँजीवादीहरू बजारले गर्न सक्ने काममा सरकारले हात हाल्न हुँदैन भन्छन्। तर विश्व बैंकले नेपालमै पनि यस्ता कार्यक्रम सञ्चालन गर्यो र गरिरहेको छ जुन पुँजीवादले निर्दिष्ट गरेको बाटोभन्दा फरक छ। यसको सबभन्दा ज्वलन्त उदाहरण लघुवित्त कार्यक्रम हो। बंगलादेशमा सफल भएपछि मोहम्मद युनुसको गरिबलक्षित वित्तीय कार्यक्रम 'ग्रामीण बैंक' को नक्कल धेरैतिर गरियो। विश्व बैंकले धेरै मुलुकलाई यो कार्यक्रम सिफारिस गर्यो, आर्थिक सहायता पनि दियो। युनुसले नोबेल पुरस्कारै पाए।
नेपालमा गैरसरकारी संस्थाहरूले ग्रामीण बैंक ढाँचाको लघुवित्त कार्यक्रम पहिल्यैदेखि सञ्चालनमा ल्याएका थिए। ती कार्यक्रम क्रमिक रूपमा विस्तार हुँदै थिए। त्यसै क्रममा सरकारले एक कदम अघि बढेर तत्कालीन पाँचै विकास क्षेत्रमा ग्रामीण विकास बैंक खोल्ने घोषणा गर्यो र ढिलोचाँडो खोलियो पनि।
माथिबाट थोपरिएका ती बैंक जति चाँडो खुले, त्यति नै चाँडो बन्द भए। सरकार, निजी क्षेत्र र दाताको पैसा गुम्यो। गरिब लाभान्वित हुने कुरा कथा भयो। अहिले पाँचवटा ग्रामीण बैंकलाई एउटै बनाएर सञ्चालनमा ल्याइएको छ। तर निजी क्षेत्रबाट सञ्चालित लघुवित्त संस्थाहरू विस्तारित छन्, निरन्तर नाफा कमाइरहेका छन्, आर्थिक गतिविधिलाई टेवा पुर्याइरहेका छन्, तिनका सेयरधनीहरू खुसी छन्।
यो एउटा उदाहरण हो, पुँजीवादी भनिएका संस्थाहरूले सिफारिस गर्ने असफल कार्यक्रमको जुन पुँजीवादी आदर्शसँग मेल खाँदैन। पुँजीवादले चिजहरूको प्राकृतिक विकासमा विश्वास गर्छ, चामत्कारिक विकासमा होइन। त्यसैले प्रचण्डले बुझाउन खोजेजस्तो आर्थिक परिवेश, संस्थाहरू, मुलुकहरू, पात्रहरू र उपायहरू अहिले अस्तित्वमा छैनन्। लक्षित समुदायलाई रोमाञ्चित तुल्याइरहन प्रचण्डले पुरानै कथा हालेका छन्।
यो ठूलो जोखिम हो। यो कथाले प्रचण्डको लक्षित समुदायलाई कहिलेसम्म बाँधिराख्न सक्ला? कथाले दर्शक, स्रोता तान्न छाडेको दिन सबै खाले पेसा व्यवसाय बन्द हुन्छन्। प्रचण्डको राजनीतिक कर्ममा पनि त्यही लागू हुन्छ। उनको कथामा श्रमको महिमागान गरिएको छ, पुँजीलाई हेयभावले हेरिएको छ। उद्योग, कलकारखाना, कृषिलाई रोमान्टिसाइज गरिएको छ।
अघिल्लो सरकारमा कृषिमन्त्री भएपछि घनश्याम भुसालले रोमाञ्चक कृषि कार्यक्रम घोषणा गरेका थिए। पुराना असफल कृषि कार्यक्रमलाई नै नयाँ कलेवरमा आकर्षक शब्दहरूमा प्रस्तुत गरेका थिए। भुसालले कृषिलाई सफल बनाउन किसानको नाफा सुनिश्चित हुनुपर्छ भन्ने सही निष्कर्ष निकालेका थिए। तर त्यस्तो नाफाको ग्यारेन्टी सरकारले गर्छ भन्ने गलत आश्वासन दिएका थिए। यहाँ नाफा शब्दलाई घृणा गर्ने कम्युनिस्ट राजनीतिकर्मीले त्यसलाई वैधानिकता दिनु नै ठूलो उपलब्धि हो।
नेपाली कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाले पनि कृषिलाई रोमान्टिसाइज गरेका थिए। बिपीको कृषिलाई सुन्नेबित्तिकै मान्छेको दिमागमा किसान, एकहल गोरू, पर्याप्त दूध, योजना आयोगको भित्तामा किसानको तस्बिर आउँछ।
बरू श्री ३ मोहनशमसेरका छोरा विजयशमसेरले बनाएको आर्थिक योजनामा कृषिको वस्तुगत विश्लेषण गरिएको थियो। उनले कृषिलाई मात्र जोड दिने हो भने नेपालबाट कंगाली हट्दैन, उद्योगधन्दा, व्यापार व्यवसायबाट आर्थिक उन्नति गर्न सकिन्छ भन्ने ठानेका थिए।
प्रचण्डले अझै पनि हाम्रो आर्थिक उन्नतिको प्रमुख आधार कृषिलाई नै देख्नु गलत हो। अर्को कुरा, भौतिक श्रमप्रतिको ओठेभक्तिले समाजलाई उन्नतिशील बनाउँदैन। उत्पादनको साधनमाथि स्वामित्व नभएको, श्रम मात्रै गर्ने वर्ग सर्वहारा हो भन्नु गलत हो। पुँजीको स्वामित्व निश्चित मान्छेमा मात्रै सीमित हुन्छ, निजी सम्पत्तिको उन्मूलन गर्नुपर्छ भन्ने भाष्य गलत हो।
समाजलाई भौतिक श्रम गर्ने सर्वहारा र पुँजीपति वर्गमा सपाट विभाजन गर्न सकिँदैन। सम्पत्ति भौतिक मात्रै हुँदैन, अभौतिक पनि हुन्छ। दृश्य वा मूर्त मात्रै हुँदैन, अदृश्य वा अमूर्त पनि हुन्छ। यस किसिमका विविध सम्पत्ति समाजमा फैलिएर रहेको हुन्छ। ती सम्पत्तिलाई मानवीय उपयोगमा ल्याउन सक्ने ज्ञान, उपाय र जाँगर भएको जुनसुकै व्यक्ति त्यस्ता सम्पत्तिको मालिक हुन सक्छन्।
प्रचण्डको दस्तावेजमा समेटिएका धनीहरूको सूचीमा भएका व्यक्तिको सफलताका कथालाई उधिन्ने हो भने उनीहरूले केही न केही यो समाजलाई दिएको र आफू पनि पुरस्कृत भएको भेटिन्छ। जेफ बेजस, मार्क जुकरवर्ग, ल्यारी पेज, सेर्गेइ ब्रिन कुनै सरकारी मौजा पाएर धनी भएका होइनन्।
तर यस्ता कुरालाई प्रचण्ड मान्दैनन्। बरू उनी भूमण्डलीकृत वित्तीय एकाधिकार पुँजीवादको कथा हाल्छन्। यो कथा उही मेरो साथीले कम्प्युटरमा हेर्न खोजेको सिनेमाजस्तो प्रतीत हुन्छ।
मैले बुझेअनुसार प्रचण्डका शब्दलाई चलचित्रमा उतार्ने हो भने धनी मुलुकमा एकथरी मान्छे बस्छन् जोसँग भ्याकुम क्लिनरजस्तो एउटा यन्त्र छ, जसले तेस्रो विश्वका सबै मान्छेको खल्तीबाट पैसा थुतेर लैजान्छ। त्यो पैसासँगै उनीहरूको खुसी, मानवीय मर्यादा, उन्नतिको आकांक्षा खोसिएर जान्छ।
म आशा गर्छु, मैले प्रचण्डको कथा गलत बुझेको छु।