नेपालका अधिकांश समुदायमा कात्तिक कृष्ण औंसीका अवसरमा खेलिने देउसी-भैलो प्रख्यात छ।
तपाईंहरूमध्ये कतिलाई थाहा छ कि छैन, कर्णालीको जुम्ला क्षेत्रमा भने पुस कृष्ण औंसीदेखि पाँच दिनसम्म भैलो खेल्ने चलन छ।
स्थानीय जनश्रुतिका अनुसार जुम्ली भैलो प्रचलनबारे अनेक प्रसंग छन् जसले यसको मौलिकता र विशिष्टता उजागर गर्छ। बाह्य संस्कृतिको प्रभावले यस्ता मौलिक संस्कृति विस्तारै ओझेल पर्दै र हराउँदै गएका छन्।
पाठ्यक्रममा नराखिनु, सञ्चारमाध्यमले प्राथमिकता नदिनु, प्राज्ञिक र बौद्धिक अनुसन्धान र चर्चा नहुनु तथा व्यवसायिकतासँग नजोडिनुजस्ता कारणले इतिहासमा कर्णाली क्षेत्रतिर फस्टाएका मौलिक गतिविधि लोपोन्मुख छन्।
त्यस्तै गतिविधिमध्ये जुम्ली भैलोका केही विशिष्टताबारे यहाँ लेखेको छु।
प्रायः नेपालीले तिहारमा खेल्ने भैलोका बेलामा पर्ने कात्तिक कृष्ण औंसीका दिन अर्थात् दीपावलीको दिन गाईपूजा हुन्छ। जुम्लातिर पुस कृष्ण औंसीको दिनलाई भट्ट्या औंसी पनि भनिन्छ। त्यो दिन गाईगोरुलाई भटमास पकाएर दिन्छन्। नुन दिन्छन्। कागलाई पनि खानेकुरा दिन्छन्।
अन्त कात्तिक शुक्ल द्वितीयाको दिन भाइतिहार मनाइन्छ। जुम्लामा खेलिने भैलोताका पुस शुक्ल द्वितीयाको दिन चेल्यातिहार पर्छ अर्थात् आमाले छोरालाई टीका र सगुन दिएर मनाउँछन्।
यो जुम्ली भैलोलाई नानीभैली (सानो भैलो) र ठूलीभैली (ठूलो भैलो) भनेर दुईपटक खेलिन्छ।
नानीभैली मंसिर शुक्ल पूर्णिमाको एकदिन साँझपख महिलाहरूले आफ्नो गाउँमा मात्र खेल्छन्।
ठूलीभैली पुस कृष्ण औंसीदेखि पुस शुक्ल पञ्चमीका दिनसम्म खेलिन्छ। यो भैलो भने सबै उमेर समूहका महिला तथा पुरुष मिलेर गाउँगाउँ डुल्दै खेलिन्छ। अन्तिम दिन खेल्ने भैलोलाई छाडभैली भनिन्छ।
जुम्ली भैलो पुकार्ने र भट्याउने तरिका, भाका, गेडा र लय पनि अन्तको भन्दा विशिष्ट हुन्छ।
नानीभैलीमा भैला गाउनेले 'आई पुनी बार...भैलो' भनेर पुकार्छन्।
औंसीबाट सुरू हुने ठूलीभैलीमा 'आउँसीकै बार...भैलो' भन्दै सुरू गर्छन्।
महिला-पुरुष, वयस्क-युवा र बालबालिकासमेतले खेल्ने गरेको भैलो पुकार्ने सन्दर्भहरूमा बस्तीअनुसार केही फरकपन भेटिन सक्छ। प्रायः भनिने केही गेडाहरू यस्ता हुन्छन्।
आउँसीका बार...भैलो!
दरमुद बार...भैलो!
दराम्या खोली...भैलो!
बाँसैकी झोली...भैलो!
बाँसैकी विर्ता...भैलो!
आर्या न तार्या ...भैलो!
पिपलु डाल्या ...भैलो!
पिपलु पाती...भैलो!
रायकी छाती...भैलो!
राय जमाउनु...भैलो!
बाखरी खानु...भैलो!
भैलेरै चेला...भैलो!
भैलेरा आया...भैलो!
ऋतु जनाया...भैलो!
ऋतुकी मार्या...भैलो!
हाम्री खेल्नी चार्या...भैलो!
चार्या पैचार्या...भैलो!
भैलाका रात्री...भैलो!
चौथमी छेडो...भैलो!
पच्यामी घोडो ...भैलो!
घोडा घोडाउली...भैलो!
छेडो छेडाउली...भैलो!
आकाश शीला...भैलो!
पाताल जडा...भैलो!
भैलै सुहाला...भैलो!
भैलो गयो दाङ...भैलो!
अरु क्यै नमाग...भैलो!
मोहर पैसा माग...भैलो!
ताई तल जाउला ...भैलो!
छ्याई छ्याई गनौला...भैलो!
कस्ले दिया भनौला ...भैलो!
ठूलाघर दिया भनौला...भैलो!
नामै चलाउला...भैलो!
नामैकी माया...भैलो!
हाम्री खेल्नी चार्या ...भैलो!
चार्या पैचास्या...भैलो!
दुवाजन जेलिया ...भैलो!
पाथाजन भरिया...भैलो!
पिप्ल जन गाज्या ...भैलो!
द्यार जन बाड्या...भैलो!
लाख वर्ष बाँच्या...भैलो!
घार मौरा आइजाउन्...भैलो!
ल्हास घोडा भइजाउन्...भैलो!
अन्न भैलो दिन्यालाई...भैलो!
अनिकाल नपरोस् ...भैलो!
मोहरपैसा दिन्यालाई ...भैलो!
दाल्द डेरा नगरोस् ...भैलो!
जुम्लाक्षेत्रमा अर्को प्रकारले पुकारिने भैलो पनि प्रचलनमा छ। यसमा खस साम्राज्यकालीन प्रमुख स्थान, दरा गाउँठाउँ डुल्दै भैलो हिँडेको कथा वर्णन हुन्छ। सामान्यतया समुदायका जानकार वयस्क पुरुषले यो भैलो खेल्छन्।
कतैकतै भैलोको यो इतिहास वर्णन सकेर त्यसपछि माथि उल्लिखित भैलो खेल्ने पनि गरिन्छ। तर यसरी खेल्दा निकै समय लाग्ने भएकाले उति चलनमा छैन। मुगु हुम्ला, कालिकोट, बाजुरातिर भैलोजस्तै भुवो खेलिन्छ। त्यसमा प्रयोग गरिने सन्दर्भ र प्रस्तुति कतिपय भैलोसँग मिल्दोजुल्दो हुन्छ।
भैलो र भुवो दुबैको उत्पत्तिस्थल कैलाश मानसरोवर मानिन्छ। त्यसैले 'काँ र जन्म्यो भैलो? मानसरोवर कविलास!' वा 'या भैलो कहाँ उठ्यो? मानसरोवर उठ्यो' भन्दै पुकार्न सुरू हुन्छ।
क्रमशः कैलाश दर्शन, ताक्लाकोट, खोचरनाथ, हिल्सा, यारी, मुचु, यालबाङ गुम्बा, सिमकोट, सोरुगल्बा, लालीपिउस, गम दरा, करान दरा, रिप, दुल्ली, बाम, घुच्ची, बोता, हाटसिंजा, बिराट, लामाथाडा, नराकोट, रारापातल, सुनारगाउँ, बाबिरा, लाम्रा दियार, श्रीदुस्का, जुम्ला चौघान, तिब्रिकोट, पानसय दरा, रकाल दरा, बाह्रबिस दरा, दुल्लु दैलेख, पञ्चकोशी, सुर्खेत, दाङदेउखुरी आदि हुँदै नेपालसम्म पुग्छ।
भैलो पुगेको हरेक ठाउँमा त्यहाँको प्रमुख विशेषता भएका वस्तु, स्थान, कीर्ति आदि 'खान्कीस्वरुप पाएको' वर्णन गर्दै भैलो पुकारिन्छ। छोटो उदाहरण यस्तो छ।
काँ र जुन्म्यो भैलो, मानसरौर कविलास।
सरवरका भैलाले, क्यौ क्यौ खान्की पायो?
सरवरका भैलाले तीर्थ नुवाई आयो।
त्यैं र देखि भैलो, ताउलाखार आयो
ताउलाखार भैलाले, सुनै खान्की पायो
त्यैं र देखि भैलो, खोचेरनाथ आयो
खोचरनाथ भैलाले, मूर्ति खान्की पायो...
यसैगरी क्रमशः ठाउँअनुसार कतै राज्य, कतै जिम्मुवाली, कतै अड्डा, कतै सरसामान, फलफूल, लेकपाटन, बाजघोडा, पूजापालो, खेतबारी, वस्तुभाउ, खानी, थानथडी, बासओडार, दराखोला आदि पायो भनिन्छ।
सातौं, भैलोको सुरूआत कसले गरे वा कसको पालामा भयो भन्ने प्रसंग पनि रोचक छन्। प्रायः सबैतिरका भैलोमा 'हामी उसै आयाका हैनौं, बलिराजाले पठाया' भनिन्छ।
वास्तवमा ती बलिराजा को थिए भन्नेमा मत्यैक्यता छैन।
कसैले पौराणिककालका दानवीर बलिराजा (हिरण्यकश्यपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र) ले वामन अवतारमा आएका विष्णुले तीनपाउ जमिन माग्दा पहिलो पाउले स्वर्ग, दोस्रो पाउले धर्ति ढाकेपछि अब तेस्रो पाउ राख्ने ठाउँ 'देऊ शिरै' भनेर माग्दा पाताल भासिए। उनैलाई यमपञ्चकको पाँच दिन मर्त्यलोक आउन पाउने गरी अनुमति दिएपछि 'देउसिरे' खेल्ने चलन बस्यो भनेका छन्।
कसैले यसो भन्छन्- मगरहरूका राजा बलिहाङको सपनामा कात्तिक औंसीमा मृत्यु हुनसक्ने भविष्यवाणी आयो। उनलाई बचाउन प्रजाहरूले यो रात उज्यालो गरेर मृत्यु टार्न देउसी खेल्न थाले।
तर जुम्लामा खेलिने भैलोमा आउने बलिराजाको प्रसंग भने बेग्लै छ। यताको भैलो पुकार्दा सुरूआती चरणमा बलिराजाको प्रसंग यसरी आउँछ।
जब रवि जान्या छन् , गुरु धनु राशमा
शुभकार्य कै नहुन्या, यै पुस मासमा
रितिथिति थाम्नाकन भैलो चलाया
बलिराजाले भैलेरा सरोवर पठाया
सरोवर पुगिकन भैलो खेल्या भैलेरा
नुहाईकन कविलास घुम्या तीनफेरा..
बलिराजाको पालामा भैलो सुरू भएको प्रसंगलाई कसैले उति बेला दिल्लीका मुसलमान शासक तैमुरलुङसँगको लडाइँसँग पनि जोडेका छन्। बलिराजाको फौजले तैमुरलुङको फौजलाई अघि बढ्न नदिएपछि उनीहरूबीच सम्झौता भयो र उनीहरूले मीत लगाए। अनि मीतलाई घर फर्काउन आफ्नो राज्यभरबाट खर्च उठाउन लगाए। त्यसैले 'हामी उसै आयाका हैनौं, बलिराजाले पठाया' भन्ने गरिन्छ भन्ने पनि मत छ।
यही सन्दर्भमा उति चर्चामा नआएको र पुराना अध्येता र लेखकहरूले पनि उल्लेख नगरेको प्रसंग जुम्ला बोतागाउँका मानिसहरूले 'धाउँशीला' गीतमा वर्णन गर्ने गरेको पाइन्छ।
गत हप्ता खस-साम्राज्यकालीन दरबार रहेको भन्ने विश्वास गरिएको सिंजा लामाथाडामा कर्णाली प्रदेश सरकारमा पहिलो गैरसरकारी विधेयकको रूपमा दर्ता भएको 'सिंजा सभ्यता विकास र संरक्षण विधेयक २०७८' माथि रायसुझाव संकलन गर्ने कार्यक्रम थियो।
त्यसमा प्रस्तुत गरिएका केही सांस्कृतिक झाँकीहरूमध्ये बोतागाउँका मानिसहरूले धाउँशीला र भैलो देखाएका थिए। (त्यसैका अंशहरू समेटिएको भिडिओ हेनुहोस्।)
जसअनुसार उहिले सिंजाको खसराज्य र तिब्बतको खारीराज्य बीच ताक्लाखार (ताउलाखार) आसपास धेरैदिनसम्म भीषण लडाइँ भयो। अन्ततः खस सेनाले युद्ध त जिते तर उनीहरू विजयपछि राजधानी सिंजा फर्किने बाटो खर्च, रासनसामल बाँकी थिएन। त्यसैले उनीहरूलाई बाटोमा पर्ने गाउँबस्तीमा विजय सन्देश फैलाउँदै भैलो माग्ने उर्दी भयो। यसरी भैलो माग्ने चलन सुरू भयो।
जुम्ली भाषामा धउँशनु, धुँस्नु, धँउस्याउनुको को अर्थ कुनै जीव, प्राणी वा वस्तुलाई घोच्नु, कुट्नु, बजाउनु, पिट्नु वा गोद्नु भन्ने बुझिन्छ। लडाइको गाथा भन्ने गीत धउँशीला सायद यसै शब्दको व्युत्पति हुनसक्छ। अनि देउसिरे पनि यसरी नै रूपान्तरण हुँदै फैलिएको पनि हुनसक्छ। यसबारे भाषा संस्कृति र समाज विज्ञहरूले थप पहिल्याउन सक्लान्।
ऐतिहासिक सिंजाभेगको माथिल्लो कुनामा रारा जाने बाटैमा पर्ने बोतागाउँमा जीवित रहेको धउँशीलालाई सांकेतीकरण अभियानमार्फत उजागर गरेको यो प्रयासले कर्णालीका सयौं गाउँबस्तीमा लुकेर बसेका सयौं मौलिक संस्कृति पक्षहरू अवसर पाउँदा प्रष्फुटन हुनसक्ने सम्भावनालाई बाटो देखाएको छ।
(लेखक माधव चौलागाईं कर्णाली प्रदेश, जुम्ला, तातोपानी गाउँपालिका, लाम्रागाउँका बासिन्दा हुन्।)
माधव चौलागाईंका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्ः