आकाश खुलेको दिन जब दोलखाको चरीकोटबाट उत्तरतर्फ गौरीशंकर, रोलवालिङ, मेलुंत्से र पूर्वतिरको नुम्बुर हिमाल चाँदी झैं टल्किन्छन्, हिमाली सौन्दर्यका पारखीहरू त्यसै-त्यसै आहा भन्दै रमाउन थाल्छन्। आह्लादित हुन पुग्छन्।
काठमाडौंबाट करिब दुई सय किलोमिटर उत्तर-पूर्वमा उभिएका गौरीशंकर र मेलुंत्से हिमाल राजधानी उपत्यका वरपरका पहाडबाट पनि देखिन्छन्। लाङटाङ, दोर्जे लाक्पा र छोभा-भामरेदेखि पूर्वतिर आकाश छिचोल्दै अटल उभिइरहेका।
ती हिमालबीचको गहिरो खोंचबाट सेतो पानीको छाल बोकेको रोलवालिङ नदी पश्चिम दिशामा बग्छ। पैतालाको बलमा गौरीशंकर क्षेत्र पुग्दा थाहा हुन्छ च्छो रोल्पा हिमताल र दूधकुण्डको पानी बोकेको रोलवालिङ नदी निरन्तर ओरालो यात्रा गर्दै हरपल तामाकोसीमा मिसिन हतारिरहेको हुन्छ।
रोलवालिङदेखि पूर्वतिर चाहिँ महालंगुर हिमश्रृंखलामा रहेका सगरमाथा लगायत शिखर उभिएका छन्।
गौरीशंकर हिमाललाई नै केन्द्रमा राखेर नेपाल देशको समय निर्धारण गरिएको भए पनि निकै कम यात्री रोलवालिङ क्षेत्रमा पुग्छन्।
तुलनात्मक रूपमा पातलो बस्ती रहेको गौरीशंकर क्षेत्रमा हिमाल मुनितिर बौद्धमार्गी तामाङ र शेर्पा समुदायको बसोबास रहेको सिमिगाउँ, बेदिङ र नाँ गाउँ छन्।
मध्य भदौमा हामी चरीकोटबाट सिंगटी पुगेर लामाबगर वरको छेतछेतको बाटो हिँडेर रोलवालिङ किनारमा, हिमालको फेदीमा बसेको बेदिङ गाउँ पुग्दा मानव चहलपहल शून्य थियो।
हिमाली आमा, बासँग भेटः
विद्यालय र गुम्बा कटेर अघि बढेपछि खोला छेउमा घरहरूको लस्कर देखियो। एउटा रित्तो घरको भित्तामा 'रोलवालिङ सगरमाथा आरोही क्लब'को परिचय दिने बोर्ड झुन्ड्याइएको थियो। तर गाउँका सबै काठमाडौं बसाइँ सरेको भान हुने सन्नाटा थियो बेदिङमा।
हामी खाजा घरको खोजीमा निकै बेर भौंतारिन बाध्य भयौं। बेदिङ गाउँको माथिपट्टि एउटा घरमा दुई आमा र एक बा भेटिएपछि भोकको चिन्ता केही हट्यो। तर उनीहरू पनि अझै दुई घन्टा माथि रहेको नाँ गाउँमा रहेको आफ्नो अर्को घर जाने हतारोमा रहेछन्।
हिमाली अभिवादन 'टाशी देलेक' सहित हामीले उनीहरूलाई रोक्यौं:
'हामी भोकाएका छौं, के खान पाइन्छ?'
'हामी यहाँ सामान लिन आएको, खानेकुरा केही पनि छैन।'
'चिया र चिउरा त होला नि?'
'ए त्यो त छ, हुन्छ। तर हामीलाई माथि जान हतार छ है, छिटो जानुपर्छ।'
हिमाली शेर्पा लवजको नेपाली भाषा बोल्ने आमाहरूसँग कुरा गर्दै चिउरा र पाउडर दूधमा पानी मिसाएर उमालिएको कफी खाएपछि केही आराम भयो। साथै बेदिङ र नाँ गाउँको नङ-मासुको जस्तो सम्बन्ध पनि थाहा भयो- च्छो रोल्पाको पानी बग्ने रोलवालिङमा बाढी आउने डरले बेदिङवासी बर्खामा माथिको नाँ गाउँ बसाइँ सर्दा रहेछन् जहाँ सबै बेदिङवासीको एउटा-एउटा घर रहेछ। हिउँदमा चिसो बढेपछि फेरि सबै ना गाउँबाट बेदिङ झर्दा रहेछन्।
कीर्तिमानधारी आरोहीहरूकी आमा किन्जुम शेर्पाः
खाजापछि नाँ गाउँको यात्रा हामीले केहीबेर ती आमा र बासँगै गर्यौं। थुप्रै पटक सगरमाथा र अन्य हिमाल चढेका फुर्वा तेन्जिङ शेर्पासँग चिनजान रहेको र उनकै सल्लाहअनुसार हामी च्छो रोल्पा र दूधकुण्ड जान लागेको बताएपछि दुईमध्ये एक आमा निकै खुसी भइन्।
भनिन्, 'फुर्वा तेन्जिङ मेरो छोरा हो। जाउँ मेरै घरमा लज पनि छ, त्यही बस्नु पर्छ।'
हेर्दा निकै सरल देखिने ती आमाको नाम किन्जुम शेर्पा हो। उमेर झन्डै ७०।
उनका ११ सन्तानमध्ये आठ जनाले सगरमाथा र अन्य हिमाल आरोहण गरेर विभिन्न विश्व कीर्तिमान बनाइसकेका रहेछन्। उनका छोराछोरीले सर्वोच्च शिखरका चुचुरा चुम्ने क्रम रोकिएको छैन। केही बचेरा त देश-विदेश यात्रा गरिरहन्छन्। तर किन्जुम रोलवालिङमै खुसी छिन्। उनको जीवन नाँ गाउँमा याक र नाक (पोथी याक) चराएरै बित्दैछ।
एकैछिन आमा किन्जुमका बचेराहरूको चर्चा गरौं:
· गत वसन्त ऋतुको मे १२, २०२१ मा कान्छी छोरी निमा ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेपछि सगरमाथा शिखर चुम्ने उनका सन्तानको संख्या आठ पुग्यो। जुन भर्खरै गिनिज वर्ल्ड रेकर्ड्समा 'सगरमाथा चढ्ने सबभन्दा धेरै (सिब्लिङ्ग्स) दाजुभाइ दिदीबहिनी' को रूपमा अंकित भइसकेको छ।
· त्यसअघि पनि उनका सात सन्तान (पेम्बा ग्याल्जेन, फुर्वा थुन्डु, पेम्बा दोर्जी, दावा दिकी, निमा ग्याल्जेन, फुर्वा तेन्जिङ र फुर्वाथीले) ले पाएको सफलता सन् २०१८ मा गिनिजमा 'सगरमाथा चढ्ने सबभन्दा धेरै (सिब्लिङ्ग्स) दाजुभाइ दिदीबहिनी' मा समेटिएको थियो।
· सन् २०१८ को मे २३ मा उनका चार सन्तान (छोरी दावादिकी र छोराहरू, पेम्बा दोर्जी, फुर्वा तेन्जिङ र फुर्वाथीले)ले एकैपटक सगरमाथा शिखर चुमेर त्यस्तो सफलता हासिल गर्ने पहिलो दाजुभाइ दिदीबहिनीको रुपमा गिनिजमा आफ्नो नाम लेखाइसकेका थिए।
· छ वर्षअघि, फुर्वा तेन्जिङ शेर्पाले २४ वर्षको उमेरमा नौपटक सगरमाथा आरोहण गर्दै कम उमरमा धेरैपटक सगरमाथा आरोहण गरेको कीर्तिमान बनाएका थिए।
· २०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पर्वतारोहण क्षेत्रको पुनरूत्थान अभियानका अतिरिक्त रोलवालिङ गाउँमा स्वास्थ्यचौकी तथा च्छो रोल्पा र टाशीलाप्चा पास क्षेत्रमा सुरक्षित पदमार्ग तथा आश्रयस्थल निर्माणमा सक्रिया फुर्वा तेन्जिङले सन् २०१७ मा नेपाल सरकारबाट राष्ट्रिय युवा पुरस्कार समेत पाएका थिए।
बचेराले गुँड छोडेपछि…
माइलो सन्तान छोरा फुर्वा थुन्डु सन् २००६ मा पुमोरी हिमालमा हिमपहिरोमा बिलाएपछि आमा किन्जुमको परिवारले ठूलो बज्रपात सहनु पर्यो। हुर्किएपछि बचेराहरूले चराको गुँड छाडेर गएजस्तै किन्जुमका दसै सन्तान अहिले उनीबाट टाढा छन्। त्यसपछि चारचोटि सगरमाथाका साथै अन्य अग्ला हिमाल चढेका जेठो छोरा पेम्बा ग्याल्जेनले हिमाल आरोहण नै छाडिदिए।
तर अरू रोकिएका छैनन्। अधिकांशले राजधानी काठमाडौंलाई कर्मथलो बनाएका छन्। यदाकदा आफ्नो जन्मभूमि रोलवालिङ उपत्यका फर्किन्छन्। जेठा पेम्बा ग्याल्जेन नुम्बुर हिमाल ट्रेक नामक साहसिक यात्रा कम्पनी चलाउँछन्। उनले कोरोना कहरबीच नाँ गाउँमा अहिले नयाँ होटल बनाएका छन्।
सातौं सन्तान फुर्वा तेन्जिङले आफ्नो पेसा-व्यवसायमा गजब गरेका छन्। सगरमाथाको शिखर मात्रै १४ चोटि चुमिसकेका उनी काठमाडौंमा ड्रिमर्स डेस्टिनेसन नामक आरोहण कम्पनी चलाउँछन्। उनले नाँ गाउँमा होटल बनाएका छन्, जसको रेखदेख आमा किन्जुमले गर्दै आएकी छन्। तल बेदिङ गाउँमा पनि नयाँ होटल बनाएका छन्। समाजसेवा र पर्यटन विकासमा पनि उनी उत्तिकै सक्रिय छन्।
उनकी तेस्री सन्तान पासाङ फुटी शेर्पा हिउँचितुवा भनिने स्वर्गीय पर्वतारोही आङरिता शेर्पाकी बुहारी हुन् जो हाल अमेरिकाको क्यालिफोर्नियामा छिन्।
याक र नाकको गतिलो साथः
छोराछोरी सहर पसेर आफ्नै काममा व्यस्त भए पनि किन्जुमलाई गाउँ छोड्न मन छैन। उनलाई आफ्ना छोराछोरीले पर्वतारोहण क्षेत्रमा विश्व कीर्तिमान कायम गरेकामा गर्व छ, तर घमन्ड छैन। उनलाई यति थाहा छ कि आफ्ना छोराछोरी काममा व्यस्त छन् र राम्रो गरिरहेका छन्। उनी भने ना गाउँका खर्क र पाखामा दर्जनौं याक र नाक स्याहार्दै पुरानो हिमाली दिनचर्यामै रमाएकी छन्।
जस्तो कि हामीलाई भेटेको दिन।
आमा किन्जुम हामीभन्दा निकै छिटो हिँडेर बेदिङबाट नाँ गाउँ पुगिन्। नाँ गाउँको प्रवेशद्वारका रूपमा रहेको बौद्ध मन्त्र अंकित शीला नजिकै, भेलबाढी आएको खहरे नजिकै भेटिइन्। याक र नाकको बथानलाई गोरेटोदेखि अलि माथि रहेको गोठतिर धपाउँदै थिइन्।
हामी पुगेको साँझ बाल्टिनमा केही दूध दुहेर ल्याएपछि उनले भनिन्, 'अहिले छ वटा नाकले थोरैथोरै दूध दिन्छन्। तिनीहरू गोठमा छन्। बाच्छाहरू पनि गोठमा छन्। दूध नदिने नाकहरू चाहिँ याकसँगै बाहिरै चरनमै छोडेको छ।'
हामी तीन पदयात्रीलाई खुवाउने र पिलाउने आँट गरेकी आमा किन्जुमलाई पकाउने फुर्सद चाहिँ नहुने। जुन बेला पनि नाक र तिनका कलिला बाच्छाकै चिन्ता।
नाँ गाउँमा भदौमा पनि जाडो हुने। त्यसैले हामी उनको भान्साघरमा रहेको धुवाँरहित चुलो वरपर झुम्मियौं र आफैं आलु उसिन्न थाल्यौं। उसिन्न राखेको आलु चुलोमा पाक्दै थियो। हाम्रो आग्रहअनुसार आमा किन्जुमले रातिको खाना बनाउन सँगैको घरमा बस्ने आफ्नो जेठा छोरा पेम्बा ग्याल्जेन र उनकी श्रीमतीलाई अनुरोध गरिन्।
खाना कुर्दै गर्दा दुब्ला, पातला एवं फूर्तिला पेम्बा ग्याल्जेन आइपुगे। आफ्ना जिन्दगीका तीता तथा मीठा भोगाइ सुनाउन थाले। उनले सन् २००५ अघि नै सगरमाथा चारपटक र धौलागिरि र चोयुको सफल आरोहण गरिसकेका रहेछन्। सन् १९९६, मे महिनामा सगरमाथामा मौसम बिग्रिएर रब हल र स्कट फिसरसहित कैयौं विश्व विख्यात पर्वतारोहीको ज्यान जाने गरी भएको दुर्घटनाका बेला उनी त्यहीँ आसपास रहेछन्।
कसरी बाँच्न सफल भए होलान् उनी?
'म त दुई दिनसम्म टेन्टमा बसेर वरपर रहेका अलपत्र पर्वतारोहीलाई बचाएर, पानी खाएर बाँचे। दुई दिनपछि मौसम सफा भएपछि टेन्ट उठाएर सुरक्षित भएर तल झरेँ र बाच्न सफल भएँ।'
आफ्ना भाइबहिनीले शिखरहरूमा पाएको सफलताको कुरा गर्दा उनको छाती गर्वले फुल्थ्यो। तर सन् २००६ मा माइलो भाइ फुर्वा थुन्डु पुमोरीको हिमपहिरोमा बिलाएको घटना स्मरण गर्दा पेम्बा ग्याल्जेन आँखा अचानक रसाए। भान्साको माझमा रहेको चुलोमा आगो तापिरहेकी आमा किन्जुमका पनि।
रोलवालिङको पीडाः
त्यसपछि हामी दु:खभन्दा पनि सुखका कुरा गर्न थाल्यौं। रोलवालिङमा पर्यटनसँगै सामाजिक विकासको सम्भावनाको कुरा गर्न थाल्यौं। दुई दिनअघि तल सिमी गाउँमा सानो अस्पताल भवन बनाउन मानिसहरूले श्रमदान गरिरहेको देखिएको थियो। रोलवालिङमा स्वास्थ्य सुविधा नहुनु सबभन्दा ठूलो पीडाको विषय रहेको पेम्बाग्याल्जेनले सुनाए—
'यहाँ एउटा सिटामोल किन्न औषधि पसल छैन। कोही बिरामी भयो कि लाखौं खर्च गरेर हेलिकप्टर बोलाइ काठमाडौं लैजानुपर्ने अवस्था छ। अस्ति मात्रै मेरो घर बनाउने एक जना कामदार बिरामी भएपछि हेलि बोलाउनु पर्यो।'
सफल पर्यटन व्यवसायी भएकाले आपत पर्दा हेली बोलाउन पेम्बा ग्याल्जेनसँग केही पैसा छ। तर सबै रोलवालिङवासीको त्यस्तो सामर्थ्य होला र?
फूर्तिला फुर्वा तेन्जिङ (सातौं सन्तान)
फुर्वा तेन्जिङलाई रोलवालिङको माया अलि धेरै नै लाग्छ। त्यसैले हुनुपर्छ गौरीशंकरमुनिको आफ्नो गाउँ विकासमा उनी कम्मर कसेर लाग्ने गरेको।
भन्छन्, 'म वर्षको दुईपटक गाउँ जान्छु र आमालाई सघाउँछु। हाम्रो पहलमा गाउँमा बनेको स्वास्थ्यचौकी हेरविचार र टाशीलाप्चा क्षेत्रमा सुरक्षित पदयात्राका लागि बिवाक भनिने आश्रयस्थल निर्माण र सामाजिक विकास र पर्यटन प्रवर्द्धनको काममा खटिएको छु।'
रोलवालिङ क्षेत्रमा साहसिक पदयात्रा र पर्यटनको प्रचुर सम्भावना छ। ताप्लेजुङदेखि दार्चुलासम्म तन्किएको ग्रेटर हिमालयन ट्रेलको मध्यभागतिर पर्ने रोलवालिङदेखि पूर्व टाशीलाप्चा पासपारि खुम्बु क्षेत्र पर्छ भने पश्चिमतिर जुगल हिमाल र लाङटाङ पर्छ। तर ती भाग छिचोल्न आउने पर्यटकलाई सन् २०२० यता कोरोना महामारीले रोकिदिएको छ।
आमा किन्जुमलाई नाँ गाउँ औधि प्यारोः
पर्यटन ठप्प भएपछि आमा किन्जुम र उनका छोराछोरीको कमाइ पनि ठप्प हुन पुगेको छ। तर महामारी नियन्त्रणमा आउने र पूरै नेपाल र रोलवालिङमा पनि पर्यटकीय गतिविधि बढ्ने कुरामा पेम्बा ग्याल्जेन आशावादी छन्।
हेलिकप्टर लिएर छोराहरू रोलवालिङ आउँदा पनि आमा किन्जुमलाई हेलि चढेर काठमाडौं जान मन लाग्दैन। उनलाई गाउँ निकै प्यारो लाग्छ। साथै सहर पसेका आफ्ना छोराले गाउँमा पनि होटल बनाएको देखेर उनी निकै खुसी छन्।
हिमपर्वत मुनितिरको जीवनयापनका क्रममा किन्जुमले हिजोआज धेरथोर सुख पाउन थालेकी होलिन्, तर हिमालमा भएका दुर्घटनाका कारण उनले चोट पनि पाएकी छन्। रोगव्याधका कारण सन् २००५ मा आफ्ना श्रीमान बितेलगत्तै वसन्त ऋतु त फर्किएर आयो। तर त्यही बेला सन् २००६ मा उनका छोरा फुर्वा थुन्डुको हिमाल आरोहण क्रममा ज्यान गयो।
उनकी पाँचौं सन्तान दावा दिकीले भूकम्पका बेला सगरमाथा आधार शिविरमा गएको हिमपहिरोमा आफ्ना पति गुमाइन्।
उज्यालोतर्फ ध्यान दिँदा अँध्यारो स्वत: छायामा परेजस्तै अहिले आमा किन्जुमले आफ्ना जीवनका पीडा बिस्तारै भुल्दै गएकी छन्।
गौरीशंकरका देवता र याक, नाकको साथः
उनका दसौं सन्तान, छोरा सोनाम पेम्बा शेर्पा काठमाडौंको कपन गुम्बाका एक बौद्ध भिक्षु हुन्। रोलवालिङ क्षेत्रमा कुनै पनि जनावरको मारकाट निषेध छ। धर्मले त्यही सिकाएको छ। आमा किन्जुम पनि आफ्नो गाउँ, देश, परिवारजन र मानवजातिको सुख-शान्तिका लागि हरेक साँझ बिहान बुद्ध भगवान, गुरु रिम्पोचे, ताराजस्ता देवी देवताको पूजा, उपासना गर्छिन्।
बिहान र साँझ उनी नाकको दूध दुहुन गोठमा जान्छिन्। दिउँसो खानपिनपछि तिनै याक र नाकलाई नजिकैका हरिया खर्कमा चराउन लैजान्छिन्। साँझ फेरि तिनलाई गोठमा फिर्ता ल्याउँछिन्। अनि साँझ फेरि दूध दुहुन जान्छिन्।
घरमा बचेखुचेको दूध दही मोही र खानेकुरा नाकका भर्खरैका बाच्छालाई खुवाउन फेरि गोठमै लैजान्छिन्। ११ सन्तान हुर्काइसकेकी आमा किन्जुम हिजो आज सात दुहुना नाक र तिनका सात बाच्छा याक हुर्काउन व्यस्त छिन्।
भन्छिन्, 'दूध नदिने नाक र याक गरी बीस वटा जति त बाहिर खर्कमै चरेर बस्छन्।'
दोस्रो साँझ म उनको गोठभित्र हेर्न गएलगत्तै नाकका भर्खरका बाच्छा, साना याक निकै डराए। ती त उफ्रिन पो थाले।
किन्जुम तिनलाई मोही र दाना खुवाउँदै थिइन्। साँझ भान्सामा फर्कएपछि मलाई नाकको दूध र घिउ चाख्न मन लाग्यो। निकै बाक्लो र स्वादिलो लाग्यो।
भान्सामा नाकको दूधबाट निकालिएको घिउका सिसीहरू थिए।
आमा किन्जुमले भनिन्, 'वर्षमा १२-१४ माना घिउ निस्किन्छ। बेचेर कमाउन त पुग्दैन। तर मेरा सबै छोरा र छोरीहरूलाई दिन पुगेको छ।'