अधिकांश विद्यालयहरूमा शिक्षक र विद्यार्थीहरूका लागि छुट्टाछुट्टै शौचालय हुन्छ। शिक्षकहरूको शौचालय प्रायः सफा हुन्छ। यसको सरसफाइमा विद्यालय प्रशासनले बढी ध्यान दिन्छ। यहाँ पानीको व्यवस्था हुन्छ। अनि ताल्चा ठोकिएको हुन्छ।
विद्यार्थीहरूको शौचालय भने डुङ्डुङ्ती गनाउने हुन्छ। कति ठाउँमा त कहालीलाग्दो नै हुन्छ। वर्षौंदेखि सफा नभएर दिसा-पिसाब कट्कटिएको फोहोर शौचालय प्रयोग गर्नुको पीडा नेपालमा धेरै विद्यार्थीहरूले भोग्नु पर्छ।
तर, पाँचखाल नगरपालिकाको एउटा विद्यालयमा फरक दृश्य छ। यस नगरपालिकाको श्रीराम माध्यमिक विद्यालयमा शिक्षक र विद्यार्थीहरू एउटै शौचालय प्रयोग गर्छन्।
अधिकांश ठाउँभन्दा फरक अभ्यास गर्नुको कारण बताउँदै प्रधानाध्यापक राजमान तामाङ भन्छन्, 'एउटै शौचालय प्रयोग गर्दा शिक्षकहरू विद्यार्थीलाई सरसफाइ गर्न प्रोत्साहन गर्ने रहेछन्। विद्यार्थीहरू पनि सम्मानित महसुस गर्ने र सतर्क हुने रहेछन्। सरसफाइ गर्न जिम्मेवार विद्यालयका सहायकले पनि आवश्यक ध्यान दिने रहेछन्।'
यो शौचालयको कुरा धेरैलाई सामान्य लाग्न सक्छ। तर, हाम्रो समाज र विद्यालयमा भविष्यका कर्णधार भनिने विद्यार्थीहरू आज कसरी तयार र दीक्षित भइरहेका छन् भन्ने यसले स्पष्ट देखाउँछ।
एक त शौचालयमाथि विद्यालय प्रशासनले ध्यान नदिँदा विद्यार्थीहरू मर्कामा पर्छन्। शौचालयमा पानी र स्यानिटरी प्याड फ्याल्ने व्यवस्था नहुँदा कैयौं छात्राहरूले महिनावारीका बेला विद्यालय उपस्थित हुन नसक्ने धेरै घटनाहरू छन्।
अर्को कुरा, शौचालय जस्तो आधारभूत कुराको सवालमा विद्यालयले शिक्षक र विद्यार्थीलाई फरक व्यवहार गर्दा विद्यार्थीहरूले के सिकिरहेका हुन्छन्?
शौचालयजस्तो स्वास्थ्यसँग जोडिएको संवेदनशील कुरालाई बेवास्ता गर्ने विद्यालय र शिक्षकहरूबाट कस्तो सिकाइको अपेक्षा गर्ने?
विद्यालयलाई एक व्यवसाय मान्ने हो भने पनि विद्यार्थीहरू त ग्राहक हुन्। विद्यार्थीहरू नहुने हो भने विद्यालय चल्दैन। शिक्षकहरूको जीविकोपार्जन हुँदैन। निजीमा सोझै अभिभावकहरूले शुल्क बुझाउँछन्। सार्वजनिकमा सरकारले पैसा दिन्छ। केही शीर्षकहरूमा अभिभावकसँग पनि शुल्क उठाउँछन्।
ग्राहक भगवान हुन् भन्दै अन्य क्षेत्रमा त ग्राहकलाई सम्मानजनक व्यवहार गर्ने केही प्रयासहरू भएको हुन्छ। तर विद्यालयमा यत्ति पनि भएको हुँदैन। विद्यार्थीहरूमाथि निरंकुश शासकले शासितमाथि गर्ने जस्तो व्यवहार गरिएको हुन्छ।
तर विद्यार्थीहरू ग्राहक मात्र पनि होइनन्। भविष्यका लागि तयार गर्ने भनेर विद्यालयले विद्यार्थीहरूको जिम्मा लिएको हुन्छ। अभिभावकहरूले आफ्ना सन्तान सुम्पिएका हुन्छन्। विद्यार्थीहरूको बाल्यकालदेखि किशोरावस्था प्रायः विद्यालयमा नै बित्छ।
पाठ्यक्रमले तोकेको ज्ञान, सीप र अभिवृद्धि त छँदै छ, विद्यालय लोकतन्त्र सिक्ने र सिकाउने महत्वपूर्ण ठाउँ पनि हो। समानता, भ्रातृत्व, सहिष्णुता, जवाफदेहिता, सहभागिता, आदि लोकतन्त्रका आधारहरूको अनुभव र अभ्यास विद्यालयमा हुन सक्यो भने मात्र हाम्रो लोकतन्त्र दीगो हुन्छ।
यसका लागि विद्यालयमा सानो-सानो लाग्ने केही अभ्यासहरू गर्नै पर्छ।
पहिलो कुरा, शिक्षक र विद्यार्थीबीच दशकौंबाट बन्दै आएको खाडल मेट्नै पर्छ।
विद्यार्थीहरूको सिकाइका लागि शिक्षा सम्बन्धी अध्येताहरू भन्छन्- शिक्षक विद्यार्थीको साथीजस्तो हुनू, तर साथी चाहिँ नहुनू।
विद्यालय आउनुमा शिक्षक र विद्यार्थीको उद्देश्य फरक छ। पक्कै पनि सिकाइका लागि शिक्षक र विद्यार्थीबीच केही दुरी हुनै पर्छ।
विद्यालयले शिक्षक र विद्यार्थीका लागि असमान व्यवहार भने गर्न पाउँदैन। जिम्मेवारी र उद्देश्यको कारणले केही व्यवस्था फरक चाहिँ हुन सक्छ। तर शौचालय, खानेपानी, प्राथमिक उपचार जस्ता आधारभूत कुराहरूको समान व्यवस्था हुनु पर्छ।
धेरै ठाउँ यस्तो दृश्य देखिन्छ- टन्टलापुर घाम लागेका बेला विद्यार्थीहरू 'मर्निङ एसेम्ब्ली' मा पसिनाले निथ्रुक्क भएर उभिरहेका हुन्छन्। हिउँदमा तपतप शीत खसेको बेला कठ्यांग्रिँदै 'गोडाफाट /सतर्क' गरिरहेका हुन्छन्।
शिक्षकहरू चाहिँ चौरभन्दा केही अग्लो छाया आउने वा ओत लाग्ने ठाउँमा गमक्क परेर विद्यार्थीहरूलाई हेरिरहेका हुन्छन्। यस्तो बेला शिक्षकहरूले विद्यार्थीजस्तै घाम वा चिसोमा उभिने आँट गर्नु पर्छ। यसबाट विद्यार्थीहरूले शिक्षकको व्यवहार पक्कै पनि महसुस गर्छन्। शिक्षकहरूलाई पनि विद्यार्थीहरूको वास्तविक अनुभव थाहा हुन्छ।
विद्यार्थीहरूकै अनुभवमा शिक्षकहरू सामेल भएमा कर्मकान्डको रूपमा रहेका कति क्रियाकलापहरू परिमार्जन हुन सक्छन्। शीत वा पसिनाले निथ्रुक्क भएर झन् थकित बनाउने मौसममा 'मर्निङ एसेम्ब्ली' कक्षाकोठा भित्रै हुन सक्छ।
अर्को कुरा, सम्भव भएसम्म विद्यार्थीहरूलाई प्रभाव पार्ने हरेक सवालमा उनीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ।
बालबालिकाहरूले जब जिज्ञासु भएर प्रश्न गर्छन्, हामीलाई जवाफ दिन वा जवाफ खोज्ने बाटो देखाइदिन झन्झट लाग्छ। घर वा समाजका कति सवालहरूमा जब उनीहरूले आफ्नो विचार राख्छन्, हामी 'केटाकेटी भएर धेरै बोल्नु हुँदैन' भन्दै उपदेश दिन्छौं। उनीहरूको विचारलाई अपरिपक्व मानिदिन्छौं।
जब उनीहरू पनि वयस्क हुन्छन्, हामीले जे गर्यौं, त्यही दोहोर्याउँछन्। आफूभन्दा 'तल्लो' तह र 'कमजोर' हरूको कुरा सुन्दैनन्।
आज हरेक क्षेत्रमा त्यही भइरहेको छ। नीति निर्माणमा भुइँ तहका नागरिकहरूको खासै सहभागिता हुँदैन। जनता र समुदायको आवश्यकताभन्दा पनि नेतृत्वको स्वार्थ, सपना र लहडमा नीति र योजनाहरू बन्छन्।
यसलाई तोड्ने एउटा तरिका हो, विद्यार्थीहरूलाई सानै उमेरदेखि विभिन्न नीति र योजनाको निर्माणमा सहभागी गराउने। उनीहरूको कुरा सुन्ने र उनीहरूको कुराले पनि महत्वपूर्ण अर्थ राख्छ भनेर देखाउने।
केही वर्षअगाडि मैले काम गर्ने विद्यालयमा एउटा अभ्यास भएको थियो। हामीले बाल-संसद बनाएका थियौं। विभिन्न कक्षाले आफ्ना प्रतिनिधिहरू चुनेर संसदमा पठाएको थियो। अनि त्यस संसदले विद्यालयमा विद्यार्थी र शिक्षकहरूका लागि निर्देशिका बनाएको थियो।
उनीहरूले आफ्ना लागि बनाएका केही नियम यस्ता थिए- विद्यालय समयमा आउने। ठूलो कक्षाका विद्यार्थीहरूले सानो कक्षाका विद्यार्थीहरूलाई घरमा सिकाउने र सफा हुन सहयोग गर्ने। कुनै शिक्षक अनुपस्थित भएको घन्टीमा सम्बन्धित पाठबारे छलफल गर्ने, आदि।
शिक्षकहरूले बनाएको नियम पालना गर्न धौ-धौ पर्ने उनीहरूले आफूले बनाएको नियम मज्जासँग पालना गरेका थिए। पालना नगर्ने सहपाठीहरूलाई सम्झाउँथे। आफ्नो कक्षाको भित्तामा 'हाम्रो विद्यालयको संविधान' भनेर टाँसेका थिए।
उनीहरूले शिक्षक र अरू कर्मचारीका लागि यस्तो नियम बनाएका थिए- जाँडरक्सी खाएर विद्यालय आउन नपाउने। समयमै कक्षाकोठामा आउने। विद्यार्थीहरूले मेहनत गरेर लेखेको गृहकार्य मेहनत गरेर परीक्षण गर्ने। विद्यार्थी सँगसँगै राष्ट्रगान गाउने, आदि।
विद्यालयमा जस्ताको छानो थियो। एउटा वर्ष बर्खा विदाको बेला झरी परेन, बिदा सकिएपछि सुरू भयो।
पानी परेका बेला कक्षामा राम्रोसँग आवाज सुनिँदैन थियो। धेरै दिन कक्षा डिस्टर्ब भयो। पाठ सार्न लाउने वा अभ्यास गर्न लाउने मात्र गरिरहेको थिएँ। कुनै उपाय आइरहेको थिएन।
अरू सहकर्मीसँग कुरा गर्दा पनि नयाँ विचार आएन। ख्यालख्यालमा एकदिन विद्यार्थीहरूलाई केही उपाय सोचौं न भनेँ।
उनीहरू आइडिया निकाल्न थाले- अर्को वर्षदेखि मौसमको समाचार हेरेर झरी परेपछि मात्र बर्खे बिदा दिने। पानी परुन्जेल विद्यालय पूरै बन्द गर्ने। अरू बिदालाई कटौती गर्ने, आदि।
धेरै उपायहरूका बीचमा तत्काललाई काम लाग्ने एउटा उपाय निस्कियो- झरीले केही आवाज नसुनिएका बेला शिक्षकले चार्ली च्याप्लिन जस्तो मौन अभिनय गरेर सिकाउने।
यसपछि अन्य विभिन्न समस्या परेका बेला पनि उनीहरूलाई समाधान सोध्न थालेँ। उनीहरूको आइडिया र कल्पनाशीलता सुनेर म चकित हुन्थेँ। त्यसपछि महसुस भयो, शिक्षण सिकाइ सम्बन्धी सबभन्दा जान्ने 'विज्ञहरू' विद्यार्थी नै हुन्।
जुन कुरा उनीहरूले देखेका/भोगेका थिएनन्, त्यसमा उनीहरूलाई सोच्न गाह्रो हुन्थ्यो।
एउटा परीक्षामा उनीहरू सबैको अंक कम आयो।
'कसरी सिकाउँदा ठीक होला,' उनीहरूलाई सोधेँ।
उनीहरूले भनेँ, 'सर ! हामीलाई पिटेर पढाउनु न। तपाईंले नपिटेर हामी मात्तिएको हो।'
मलाई साह्रै नराम्रो लाग्यो। १२/१३ वर्षका केटाकेटीहरू मायामा होइन, बाँसको लट्ठीमा विश्वास गरिरहेका थिए।
हो, विद्यार्थीहरूलाई सबै थाहा नहुने रहेछ। उनीहरूलाई नयाँनयाँ कुराको जानकारी दिनु शिक्षक र विद्यालयको दायित्व हो।
तर थाहा नभएकै विषयमा पनि विद्यार्थीहरू आफ्नो विचार राख्न सक्छन्। आफ्नो अनुभव सुनाउन सक्छन्। शिक्षक र विद्यालयले त्यहीँबाट उपाय खोज्नु पर्ने रहेछ।
समग्र शिक्षाको रूपान्तरण र लोकतन्त्र सुदृढ बनाउन बालबालिकालाई पनि वयस्क सरह सम्मानजनक व्यवहार गर्ने प्रणाली बनाउनै पर्छ।
अनि शिक्षाका हरेक सवालहरूमा विद्यार्थीहरूबाट सुन्नै पर्छ- विद्यालय कस्तो हुने? शिक्षकले कसरी पढाउने? प्रधानाध्यापकले के-के गर्ने? शिक्षामन्त्रीले के गर्ने? कस्तो नीति नियम बनाउने? विद्यालयमा अभिभावकलाई कसरी जोड्ने?
(लेखक विजयमणि पौडेल किङ्स कलेजका सामुदायिक केन्द्र प्रमुख र टिच फर नेपालमा पूर्व प्रज्ञार्थी हुन्।)
ट्विटरः @mani_bijaya
(विजयमणि पौडेलका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)