अविरल वर्षाले असार १ गते मेलम्चीको सिरान क्षेत्रमा पर्ने भेमथाङमा पहिरो गयो। त्यसपछि आएका विनाशकारी बाढीका तस्बिर तथा भिडिओ हाम्रा मोबाइल स्क्रिन र समाचारहरूमा छाइरहेकै छन्।
बर्खा अझै बाँकी रहेकाले मेलम्ची र तल्लो तटीय क्षेत्रमा बस्नेहरूको त्रास हटिसकेको छैन। लाङटाङका हिमाली चुचुरादेखि दक्षिणतिर बसेको हेलम्बुका गाउँ-बस्तीमा भेमथाङको जस्तै अर्को पहिरो जाला कि भन्ने त्रास जीवितै छ।
त्यस्तै त्रास मेलम्चीभन्दा पूर्वबाट बग्ने याङ्ग्री र लार्के नदी किनारमा पनि व्याप्त छ। ती नदी इन्द्रवतीमा मिसिन्छन्।
इन्द्रावतीदेखि अझै पारि पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका-३ का अध्यक्ष निमाछिरिङ तामाङका अनुसार असार १ गते याङ्ग्री र लार्केमा पनि भीषण बाढी आएका थिए। यसले याङ्ग्री गाउँका ७ घरसँगै एक नवनिर्मित विद्यालय भवन पनि क्षतिग्रस्त भए।
'कम्तीमा एक जनाको मृत्यु भयो भने अहिले ४०-५० घरधुरी रहेको याङ्ग्री गाउँलाई नै सार्नुपर्ने अवस्था छ,' तामाङले भने, 'बिजुली र इन्टरनेट नभएर गाउँ अन्धकारजस्तै हुन पुगेको छ। बाहिरी दुनियाँसँग सम्पर्क टुटेको छ। मोटर चल्ने पुल बगाएपछि घुमाउरो बाटो भएर गाउँ आउनुपर्ने अवस्था छ। याङ्ग्री गाउँवासीले अहिले ठूलो विपद् भोगिरहेका छन्।'
मेलम्ची बजार काठमाडौंदेखि ४० किलोमिटर उत्तरपूर्वमा पर्छ। त्यहाँबाट मेलम्ची मुहान धेरै टाढा छैन तर याङ्ग्री गाउँ करिब ३० किलोमिटर टाढा पर्छ। याङ्ग्री र लार्के तिनै नदी हुन् जसको पानी भविष्यमा नयाँ-नयाँ सुरुङ बनाएर मेलम्चीको मुहानमा मिसाउने सरकारको योजना छ।
भूकम्पपछिको बज्रपात
एक्कासि आएको बाढीले आफ्ना घर क्षतविक्षत तुल्याइदिएको र आफू जीवन रक्षानिम्ति भाग्नुपरेको भोगाइ मेलम्चीवासीले सायद कहिल्यै बिर्सन सक्ने छैनन्।
त्यो साँझ मेलम्ची र इन्द्रावतीमा मिसिने याङ्ग्री र लार्के नदीको बाढीले सिन्धुपाल्चोकवासीलाई गहिरो चिन्ता र सकसमा पारिदिएको छ। २०७२ को भूकम्पले दिएको पीडा बिर्सिनै लागेका सिन्धुवासी अहिले अर्को बज्रपात सहन बाध्य छन्।
पुलहरू बगाएर मेलम्ची मुहान र काठमाडौंबीच सम्पर्क विच्छेद भएपछि हेलम्बु सेर्माथाङ बस्ने मेरो पुरानो चिनजानका दाइ कान्छा (ह्योल्मो) लामा र उनकी श्रीमती म्हेन्दो लामा पनि निकै चिन्तामा परेका छन्।
मंगलबार साँझ टेलिफोन कुराकानीमा कान्छा लामाले भने, ‘हामीलाई औषधोपचारका लागि काठमाडौं आइरहनुपर्छ। मेलम्ची बजारदेखि माथिको बाटो र पुल बाढीले बगाइदिएपछि काठमाडौं ओहोरदोहोर कसरी गर्ने भन्ने पीर परेको छ।’
यो पनि हेर्नुहोस्:
मेलम्ची र काठमाडौंको नाता
वर्षौंदेखिका हल्ला, चर्चा, नेताका भाषण र समाचारमा सीमित मेलम्चीको पानी काठमाडौंबासीले उपभोग गर्न पाएको केही साता मात्रै बितेको छ। मेलम्चीको पानीसँगै ५० लाख मानिस चहलपहल गर्ने काठमाडौं उपत्यकाका धेरैको एउटा मीठो सपना निकै ढिलो गरी भए पनि साकार हुन पाएको थियो। तर असार १ को मेलम्ची त्रासदीले धेरैलाई झस्काइदिएको छ।
मेलम्ची आयोजनाका अनुसार भीषण बाढीले मेलम्चीको मुहान अम्बाथान पुग्ने पुल बगाइदिएको छ। हेलिकप्टरबाट 'बेली ब्रिज' भनिने फलामे डन्डीहरू जोडेर बनाइने पुल तत्काल जडान गरेर मेलम्चीको मुहान पुग्ने बाटो मर्मत गर्न सम्भव हुने आयोजनाको मत छ। यसका लागि के-के उपकरण चाहिने हो र ती कहिले र कसरी पुर्याउन सकिने हो भन्ने प्रस्ट छैन।
धन्न असार १ गते नै मेलम्चीको झन्डै २७ किलोमिटर लामो सुरुङमा पानी पस्ने ढोका बन्द गरेर ठाउँ-ठाउँबाट सुरुङभित्र रहेको पानी बाहिर निकाल्न थालिएको थियो। यसले बाढी र हिलोको लेदो सुरुङभित्र पस्न पाएन। तै पनि मेलम्चीको मुहानमा जमेको लेदोको पहाड पन्छाउन सजिलो छैन।
आयोजनाका इन्जिनियर तथा अधिकारीहरू भने मेलम्चीको पानी फेरि केही महिनाभित्रै काठमाडौं ल्याउन सकिनेमा आशावादी नै छन्। उनीहरू भन्दैछन्, 'अब नेपाली सेनाको सहयोगमा युद्धस्तरमै काम हुनुपर्छ, अनि मात्र केही महिनापछि मेलम्चीको पानी काठमाडौं पुर्याउन सकिएला।'
विपद्ले जन्माएका प्रश्न?
मेलम्चीको सुरुङ दुई महिनाका लागि बन्द गरिनुअघि मेलम्चीबाट दैनिक करिब १७ करोड लिटर पानी काठमाडौं झर्न थालिसकेको थियो। भविष्यमा याङ्ग्री र लार्केबाट पनि त्यति-त्यति नै परिमाण गरी जम्मा ५१ करोड लिटर पानी काठमाडौं खाल्डो झार्ने सरकारको दीर्घकालीन योजना छ।
तर के भविष्यमा फेरि असार १ को जस्तो विपद् दोहोरिन सक्ने जोखिमबारे कसैले विचार गरेको छ? के तीव्र जनसंख्या वृद्धि भइरहेको काठमाडौं उपत्यकावासीको पिउने पानीको एक मात्र विकल्प मेलम्ची, यङ्ग्री र लार्के नदी मात्रै हुन्?
याङ्ग्री र लार्केको पानीलाई थप सुरुङ मार्ग बनाएर मेलम्चीको मुहानमा सोझ्याउन सरकारी अधिकारीहरूले दाताहरूसँग ऋणको जोहो गर्न वार्ता गर्दै आएका छन्। मेलम्ची, याङ्ग्री र लार्केको पानी काठमाडौं झार्न जम्माजम्मी ८० करोड अमेरिकी डलर खर्च हुने अनुमान छ।
दिगो विकासबारे जानकार तथा वातावरण विज्ञहरूले भने नितान्त फरक भूगोलमा रहेको अर्कै उपत्यकाबाट बग्ने मेलम्ची नदीको पानी सुरुङमार्फत् अर्कै उपत्यकामा लैजानु दीर्घकालीन हितमा नहुने भन्दै आएका छन्। उनीहरूका विचारमा मेलम्चीको विकल्प काठमाडौं उपत्यकाभित्रै छ।
उपत्यका वरिपरिका पहाडका फेदीहरूमा बर्खाको पानी संकलन हुन सक्ने जलाशयहरू निर्माण गर्न सकिने विज्ञ बताउँछन्। यसले उपत्यकाको सौन्दर्य मात्र बढाउँदैन, उपत्यकावासीको तिर्खा सजिलै मेटिदिन्छ। बचेखुचेका खेतबारीमा सिँचाइ गर्न सकिन्छ र बढी भएको पानीले उपत्यकाभित्रका नदीनालामा बाह्रैमास प्रशस्त पानी बगाउन सकिन्छ।
काठमाडौंसहित नेपालका थुप्रै पहाडी उपत्यका र समथर भू-भागमा हरेक बर्खा याममा अत्यधिक वर्षा हुने गर्छ। वातावरणविद् रोशनराज श्रेष्ठको शोधअनुसार काठमाडौं उपत्यकामा मात्रै वर्षमा १,९०० मिलिमिटरसम्म पानी पर्छ, जुन विश्वका धेरै स्थानको तुलनामा दुई गुना बढी हो।
काठमाडौं उपत्यकामा बर्खेपानी संकलनको सम्भावनासम्बन्धी एक शोधपत्रमा श्रेष्ठले लेखेका छन्, '६४० वर्गकिमी क्षेत्रफल रहेको उपत्यकामा वर्षमा १.२ अर्ब क्युबिक मिटर अर्थात् प्रतिदिन ३३५ करोड लिटरको दरले पानी बर्सिने गर्छ। त्यो काठमाडौं उपत्यकाको अहिलेको पानीको माग (दैनिक झन्डै ५० करोड लिटर) भन्दा १२ गुना बढी हो।'
एकैछिन तपाईं-हामी कल्पना गरौं त- त्यत्रो धेरै वर्षाको पानीलाई उपत्यकाको घर-घर, टोल-टोलमा संकलन गरेर राख्न सके परिदृश्य कस्तो होला? अझ पहाडका फेद-फेदमा कुलेखानीजस्तै जलाशयहरू भइदिए कस्तो होला?
आजभन्दा २० वर्षअघि नै काठमाडौं वरिपरिका पहाडमा मकवानपुरको कुलेखानीजस्तै बर्खाको पानी जम्मा गर्ने साना र ठूला सरोवर बनाउन सकिने सम्भावनाबारे चर्चा भएको थियो। वर्षामा झर्ने त्यति धेरै पानीको केही हिस्सा मात्रै पनि बचाएर राख्न सके सुख्खा याममा पानीको हाहाकार रोक्न सकिने कुरा विज्ञहरूले वर्षौंदेखि दोहोर्याइरहेका छन्।
तर असार, साउन र भदौमा नेपालमा बर्सिने धेरै पानी यहाँका नदीनालाको पानीजस्तै सदुपयोग हुन सकिरहेको छैन। पानी संकलन गर्ने पूर्वाधार नबनाइएकाले सबै बगेर खेर जाने गर्छ। अझ भनौं, त्यो पानीले नेपालको तराई र भारतको बिहार तथा उत्तर प्रदेशमा समेत डुबानमा पार्ने गर्छ।
उपत्यकाभित्र भवन निर्माणको वृद्धिसँगै ढुंगा र सिमेन्टले जमिन छोप्ने क्रम पनि तीव्र भएको छ। यसले बर्खाको पानी जमिनमुनि सोसिन पाइरहेको छैन। भूमिगत जलभण्डारको पुनर्भरण हुन सकिरहेको छैन। पानीको सतह पाताल भासिने क्रम जारी छ।
यसरी बर्खाको पानी जम्मा गरेर प्रयोगमा ल्याउने चलन अरू देशमा छ।
सिंगापुरको चांगी विमानस्थलमा शौचालय फ्लस गर्न र टर्मिनल भवन चिस्याउन हरेक महिना झन्डै ६४ हजार टन बर्खेपानी प्रयोग गर्ने गरिएको छ। दक्षिण अस्ट्रेलियामा पनि ४२ प्रतिशत जनसंख्याले बर्खेपानी पिउने गरेको वातावरणविद् श्रेष्ठले इसिमोडद्वारा सन् २००९ प्रकाशित एक शोधपत्रमा उल्लेख गरेका छन्।
जलाशय योजना
ढिलै भए पनि केही काम चाहिँ सुरू भएको छ। शिवपुरीको धापमा अहिले बर्खाको पानी जम्मा गर्न ठूलो सरोवर निर्माण गर्ने काम धमाधम चलिरहेको छ।
बागमतीको शाखा नदी स्यालमतीमा पनि यस्तै काम चलिरहेको छ। भक्तपुरको महादेवखोला, ललितपुरको ठोस्ने र मकवानपुरको सिस्नेरीमा पनि त्यस्तै जलाशय बनाउने योजना अघि सारिएको छ। तर यस्ता विकल्प हुँदाहुँदै याङ्ग्री र लार्के पनि अब मेलम्ची मुहानमा सोझिने दिशामा गइसकेका छन्।
मेलम्चीमा आएको बाढी विस्तारै शान्त हुँदैछ। इन्द्रावतीमा आएको बाढी पनि क्रमश: घट्दैछ। बाढीले डुबाएको मेलम्ची फेरि उठ्न संघर्ष गर्दैछ। तर यो असार, साउन वा भदौमा मेलम्ची, इन्द्रावती वा अझै पूर्वको भोटेकोसीमा फेरि अर्को ठूलो विपद् नआउला भनेर कसैले भन्न सक्दैन।
बाढी आए पनि नआए पनि, साहित्यकार रमेश विकलले लेखेजस्तै, मेलम्ची, याङ्ग्री र लार्के मिसिने इन्द्रवती अविरल बगिरहन्छ, भविष्यमा पनि बगिनै रहनेछ।
नेपाल भूकम्प, बाढी र पहिरोजस्ता विपद्को उच्च जोखिममा रहेको देश हो। मेलम्ची बाढीले त्यो फेरि सम्झाइदिएको छ। त्यसैले अहिलेको यक्ष प्रश्न यही हो- के मेलम्ची-याङ्ग्री-लार्केको पानी काठमाडौं उपत्यकाभित्र दीर्घकालसम्म अविरल बगिरहला?