आमन्त्रित लेख
(सम्पादकीय नोट: हामी समाजमा उठेका महत्वपूर्ण विषयमा प्रबुद्ध व्यक्तिहरूलाई लेख्न आग्रह गर्छौं। यो लेख हामीले श्याम श्रेष्ठसँग कुराकानी गरेर तयार पारेका हौं।)
रूपा सुनारलाई सरस्वती प्रधानले डेरा नदिएको घटना सार्वजनिक भएपछि काठमाडौंको सामाजिक सद्भाव गिजोलिएको छ। सुनारको उजुरीका कारण ५८ वर्षीया प्रधान तीन दिन थुनामा बस्नुपरेकाले नेवारहरू आक्रोशित छन्। यो घटनालाई ‘नेवार भर्सेस दलित’ को मुद्दाका रूपमा हेरिँदैछ, त्यसरी हेरिनु हुँदैन। नेवार समुदाय यो घटनालाई लिएर यति धेरै प्रतिक्रियात्मक हुनु जरूरी पनि छैन।
जातीय छुवाछुतसँग जोडिएको यो घटनालाई हामीले सिंगो नेवार समुदायसँग जोडेर हेर्यौं र सदियौंदेखि विभेदको शिकार रहँदै आएका दलित समुदायप्रति द्वैष साँध्न थाल्यौं भने यसले नेवार समुदायमाथि भइरहेको उत्पीडनका खास मुद्दाहरू नै ओझेल पर्ने खतरा हुन्छ।
जातीय विभेद काठमाडौं उपत्यका मात्र होइन, नेपालभरि छरिएर रहेका करिब ४० लाख दलित समुदायको साझा समस्या हो। संकीर्ण सोच भएका जुनसुकै ‘उपल्लो’ जातिले सदियौंदेखि दलितहरूलाई विभेदपूर्ण व्यवहार गर्दै आएका छन्। यो विभेद विस्तारै कम हुँदै गएको त छ, तर निमिट्यान्न भइसकेको छैन। यसका अवशेष बाँकी छन्। त्यो अवशेष ब्राह्मण, क्षेत्री, नेवार, मधेसी सबै समुदायमा छ। अहिलेको घटना त्यही अवशेषको एउटा झलक मात्र हो।
हामीले यसलाई कुनै समुदाय विशेषमाथिको आक्रमणका रूपमा बुझ्नु हुँदैन। हामीले त बरू कुनै पनि किसिमको जातीय छुवाछुत नगरौं है भनेर आफ्नो समुदायभित्र र समुदायबाहिर समेत जागरण ल्याउनुपर्छ। हाम्रो जोडबल र एकता त्यसतर्फ परिचालित हुनुपर्छ।
छुवाछुतको सुरूआत केही हजार वर्षदेखिबाट भएको हो। नेपालको जनसांख्यिक बनोट हेर्ने हो भने झन्डै ३० प्रतिशत समुदायमा जातीय विभेदले मान्यता पाएको देखिन्छ। नेवार समुदायभित्र पनि सबैले जातपात मान्दैनन्। यसको खास तप्कामा मात्र जातीय वर्गीकरणलाई मान्यता दिइन्छ। नेवार समुदायमा ठूलो हिस्सा बौद्ध धर्मावलम्बीहरूको छ, जसमा जातीय विभेद हुँदैन। जनजातिहरूमा पनि जातीय विभेद छैन। तर, विभेद नभए पनि खस-आर्यहरूबाट सर्दै आएको छुवाछुतको भावना अन्य समुदायमा विस्तारित भएको छ। यो उचित होइन। त्यही भएर यो मुद्दाले पटक–पटक हाम्रो समाजलाई गिजोल्न आउँछ।
यसको पछाडि म तीनवटा कारण देख्छु।
पहिलो, हाम्रो राज्य आफैंले संविधानलाई इमानदारीपूर्वक पालना गरिरहेको छैन। संविधान पालना गरेर जातीय विभाजन पूर्ण रूपमा उन्मूलन गर्न सकेको भए अहिलेको अवस्था आउने नै थिएन। यही घटनामा राज्यको प्रतिनिधित्व गर्ने शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ झन्डावाला गाडी लिएर अभियुक्त छुटाउन प्रहरी कार्यालय जानुभयो। यो एकदमै लाजमर्दो कुरा हो।
राज्यको काम यस्ता सामाजिक घटनामा न्याय दिन उभिने हो। मन्त्री आफैं कुनै एक समुदायको पक्षमा लाग्दा अर्को समुदायलाई आफू सहाराविहीन भएको अनुभूति हुन्छ। कसैले अन्याय गर्दा मसँग राज्य छ भनेर निडर हुनुपर्नेमा जब राज्य नै एउटाको पक्षमा खडा हुन्छ, त्यसले अर्कोलाई राज्यबाट अलग्याइएको महशुस हुन्छ। ऊ आफू बेसहारा भएको ठान्छ।
राज्यको काम समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्ने हो। एउटा समुदायविरूद्ध अर्कोको पक्षपोषण गर्ने होइन। शिक्षामन्त्री श्रेष्ठको व्यवहारले कुनै पनि हालतमा सामाजिक सद्भाव कायम गर्दैन, उल्टो सामाजिक द्वैषलाई मलजल गर्छ।
दोस्रो कारण हो, नागरिकमा रहेको कमजोर जातीय चेतना र सबै जातजाति बराबर हुन् भन्ने भावनाको अभाव।
मैले माथि उल्लेख गरेजस्तो जातीय विभेद गर्नुहुँदैन भन्ने चेतना पछिल्लो समय बढ्दै गएको छ, तर निमिट्यान्न भइसकेको छैन। यो भावनाले हाम्रो एउटा पुस्ताको मस्तिष्कमा भित्रैसम्म जरो गाडेको छ। हामीले त्यो सोचमा परिवर्तन ल्याउनुछ। यो लामो प्रक्रिया पक्कै हो। यसको निम्ति समय पनि पक्कै लाग्छ। तर, त्यसो भन्दैमा हामीले हात बाँधेर बस्ने चाहिँ होइन।
समाज परिवर्तन गर्न भूमिका खेल्नु जातीय विभेद अस्वीकार गर्छौं भन्ने हामी सबैको कर्तव्य हो। यो कर्तव्यबाट मुख मोड्नु भनेको हामी आफैंले कुनै न कुनै रूपमा जातीय विभेदलाई प्रश्रय दिनु हो।
अहिलेको घटनासँग जोडेर भन्ने हो भने, घरबेटी सरस्वती प्रधानले जे गर्नुभयो, त्यो उहाँको दिलदिमागमा अघिल्लो पुस्ताले हालिदिएको छुवाछुतको संस्कारका कारण उत्पन्न भएको हो। उहाँको आफ्नै व्यक्तिगत उत्पत्ति होइन। त्यस्तै, नेवार समुदायका घरबेटीले मात्र यस्तो गरिरहेका छन् भन्ने पनि होइन। यो समस्या अन्य समुदायका घरबेटीमा पनि छ। त्यसको दोष हाम्रो पुरातन सोच र पुरातन रिवाजको हो, जसले जातीय विभेदको बीउ रोप्यो। तर, यदि हामीले रूपा सुनारमाथि जे भयो, त्यो छुवाछुत हो भनेर बुझ्न सकेनौं, यो विभेदलाई समाजबाट निमिट्यान्न पार्न सकेनौं र अझै यसलाई बढावा दिँदै गयौं भने हामी सबै यसका भागीदार हुनेछौं। यसले हाम्रो आगामी पुस्तालाई नै जातीय विभेदको खाडलमा स्वाहा पार्नेछ।
यहाँ म शैक्षिक जागरणको कमी पनि देख्छु। समतामूलक चेतना विकास गर्ने भनेको शिक्षाले हो। हाम्रो शिक्षा जागरणमुखी र मानवतामुखी छैन। हाम्रो शिक्षाले सदियौं पुरानो रीतलाई निरन्तरता दिइरहेको छ। हामीलाई यथास्थितिमा रमाउन सिकाइरहेको छ। यस्तो शिक्षाले मानवतामुखी, जागरूक र समतामूलक समाज निर्माण गर्दैन। हामीलाई कुनै पनि किसिमको सामाजिक विभेद अन्त्य गर्नुपर्छ भनेर पनि सिकाउँदैन र हामी थाहै नपाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा जातीय विभेदलाई बढावा दिँदै जान्छौं।
तेस्रो कारण, समाज बदल्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने राजनीतिक दलहरूले आफ्नो भूमिका नखेल्दा यो स्थिति उत्पन्न भएको हो।
अहिलेको घटनामा केही सामुदायिक संघ–संस्थाहरू पनि विभेदको पक्षमा बोलिरहेका छन्। समतामूलक समाज निर्माणमा हस्तक्षेप गर्नुपर्ने संस्थाहरूले नै जब विभेदको पक्षमा वकालत गर्छन् भने हामीले समाज परिवर्तनको आशा कसरी गर्ने?
नागरिक अगुवा र बुद्धिजीवीहरू पनि यस्तो संवेदनशील विषयमा हात नहालुँ भनेर मौन बस्ने होइन। जब–जब समाजमा खटपट उत्पन्न हुन्छ, द्वैष र विभाजनले जरो गाड्छ, तब समाजलाई उज्यालो बाटो देखाउनु नै नागरिक अगुवा र बुद्धिजीवीहरूको कर्तव्य हो। उनीहरू नै आफ्नो हात जल्ने डरले आगोबाट टाढा बसे भने आगो निभाउने कसले?
त्यसैले, अहिलेको समयमा नागरिक अगुवा र बुद्धिजीवीहरूले अझै व्यापक रूपले समाजमा चेतना फैलाउने काम गर्नुपर्छ। दुई कित्तामा विभाजित समाजलाई एकठाउँ ल्याउन हामी सबैको समन्वयकारी हस्तक्षेप जरूरी छ।
यो घटनाले हामी सबैको आँखा उघार्नुपर्छ भन्ने मलाई लाग्छ। यसले नेपालमा मानवीय समानता कायम गर्न अझै धेरै काम बाँकी छ भन्ने संकेत गर्छ। जातीय विभेद अन्त्य गर्दै सामाजिक सद्भाव मजबुत बनाउन धेरै काम गर्न बाँकी छ भन्ने संकेत पनि गर्छ।
अब हामी नेवार र दलित समुदायको साझा चासोबारे चर्चा गरौं।
नेवार समुदायले दलितप्रति र दलित समुदायले नेवारप्रति रिसराग राख्नु दुवैका लागि प्रत्युत्पादक हो। यी दुवै उत्पीडित र सीमान्तकृत समुदाय हुन्। दुवै समुदायलाई लामो समयदेखि शोषण र उत्पीडन गर्दै आएको पक्ष एउटै छ। त्यो हो, राज्य।
काठमाडौं उपत्यकाका हामी नेवारहरू सधैं राज्यले हामीलाई किनारा पार्यो, राज्यको उत्पीडनकै कारण हामी पछि पर्यौं भन्छौं। राज्यकै कारण हाम्रो भाषा, हाम्रो भेष, हाम्रो संस्कृति, सभ्यता र हाम्रो भूमिसमेत खोसियो भन्छौं। यो सत्य पनि हो। देशभरिका सबै जनजाति र मधेसीहरू सदियौंदेखि राज्यबाट यस्तै उत्पीडनको शिकार हुँदै आएका छन्।
तर, आफूमाथि भएको अन्यायको कुरा गर्दा हामीले के भुल्नु हुँदैन भने, हामीमध्ये पनि सबभन्दा उत्पीडित भनेका दलित हुन्। यदि हामी राज्यबाट पिल्सिएका छौं भने दलितहरू त राज्यबाट मात्र होइन, अन्य समुदायबाट पनि बराबर पिल्सिएका छन्। हामी सबै मिलेर उनीहरूलाई कहिले मानसिक र कहिले भौतिक थिचोमिचो गर्दै आएका छौं। सबै मिलेर उनीहरूलाई पिँधमा पुर्याएका छौं। त्यही पिँधमा पुर्याइएको वर्गसँग द्वैष राखेर के हाम्रो मुद्दा सम्बोधन होला? के हाम्रो समुदायको उत्थान सम्भव होला?
हामीले नेवार र दलित समुदायलाई दाँजेर हेर्यौं भने नेवारहरू आर्थिक रूपले पछाडि परेका छैनन्। गरिबी हाम्रो समस्या होइन। शिक्षा पनि हाम्रो समस्या होइन। समग्र रूपमा नेवारहरू शिक्षित नै छन्। नेवार समुदायको समस्या भनेको राज्यले गरेको सांस्कृतिक र भाषिक उत्पीडन हो।
नेवार भाषा संसारकै एक उन्नत भाषा हो। हाम्रो आफ्नै शब्दकोश छ। हाम्रो भाषामा लय छ, भावभंगिमा छ, तुक्काहरू छन्। तर, राज्यले हाम्रो भाषालाई वर्षौंदेखि दपेट्दै आएको छ। हामीलाई आफ्नै भाषामा सरकारी कामकाज गर्ने, आफ्नै भाषामा पढ्ने–लेख्ने र आफ्नै भाषाको साहित्य प्रवर्द्धन गर्ने अधिकार छैन।
त्यस्तै, नेवार संस्कृति संसारकै एक समृद्ध संस्कृतिमा गनिन्छ। तर, पछिल्लो समय हाम्रो संस्कृति राज्यका भेदभावपूर्ण नीतिहरूको शिकार हुँदै आएको छ। राज्यले थोपरेका एकल भाषिक र एकल सांस्कृतिक विशेषाधिकार नै नेवार समुदायको उत्पीडनका कारण हुन्।
दलित समुदाय भने आर्थिक र शैक्षिक रूपले मात्र पिछडिएका छैनन्, उनीहरूलाई त मानवीय मूल्य–मान्यताकै दृष्टिले पछाडि पारिएको छ। राज्य मात्र होइन, उत्पीडित भनिएका समुदायहरूले पनि उनीहरूलाई उत्पीडनमा पारेका छन्।
हाम्रो समाजले दलितहरूलाई सबभन्दा तल्लो वर्गमा राखेको छ। कुकुर, बिरालोलाई बरू हामी घरमा प्रवेश दिन्छौं, भान्छामै राखेर खुवाउँछौं, तर दलितहरूको प्रवेश निषेध छ। उनीहरू समाजको निम्ति कुकुर–बिरालोजति पनि स्वीकार्य छैनन्। दलितहरूले भोग्दै आएको यो उत्पीडन राज्यले सिर्जना गरेको एकल जातीय विशेषाधिकारको उपज हो।
भन्नुको मतलब, नेवार होस् कि दलित, दुवै समुदायलाई थिचोमिचो गर्ने राज्य नै हो। यदि दुवै राज्यबाट पीडित समुदाय हुन् भने, हामी आफैं एकअर्कासँग सिँगौरी खेल्दा कसलाई फाइदा होला?
जवाफ सरल छ। हामी एकअर्कासँग जुध्दा हामीमाथि उत्पीडन गर्दै आएको राज्यलाई नै ‘खास्सा’ (राम्रो) हुन्छ। उसलाई हामी दुवै समुदायमाथि थप थिचोमिचो गर्न बाटो खुल्छ। ऊ दुवै समुदायलाई भिडाएर कहिले एउटामाथि थिचोमिचो गर्छ, कहिले अर्कोमाथि। यसको मार दीर्घकालसम्म हामी र हाम्रा सन्ततिले झेल्नुपर्ने छ।
यी दुवै समुदायको साझा शत्रु यस्ता उत्पीडन र थिचोमिचोलाई बढावा दिने प्रवृत्ति पनि हो, जसलाई हामी ‘ब्राह्मणवाद’ भन्छौं। ब्राह्मणवाद भनेको ब्राह्मण जाति–विशेष होइन। यो भनेको उत्पीडन, छुवाछुत र वर्गीय विभेद स्वीकार गर्ने विचार हो। यो विचारले एकल भाषिक विशेषाधिकार, एकल सांस्कृतिक विशेषाधिकार र एकल जातीय विशेषाधिकारलाई बढावा दिन्छ।
त्यसैले, आजको आवश्यकता सुनारहरू प्रधानसँग लड्ने होइन, प्रधानहरू सुनारसँग लड्ने होइन। हामी सबै नेवार, दलित, मधेसी र जनजाति आपसमा सहकार्य गर्दै हामीमाथि उत्पीडन गर्ने राज्यसँग लड्ने हो, ब्राह्मणवादसँग लड्ने हो।
संविधानले यो देशलाई बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक भनेको छ। संविधानको यो मर्मलाई व्यवहारमा स्थापित गर्न हामी सबै एक भएर लड्ने हो। हामी आपसमै लड्दा हाम्रो लडाइँ कमजोर हुनेछ, जसबाट फेरि पनि राज्यलाई नै फाइदा पुग्छ, जसले हामीमाथि अन्याय गर्दै आयो।
अहिले जे भइरहेको छ, त्यसलाई बन्द गरौं। हामी आक्रोशित हुनुपर्ने मुद्दा अर्कै छ। मूल मुद्दाबाट बाटो नबिराऔं।
(श्याम श्रेष्ठ लेखक तथा नागरिक आन्दोलनका अगुवा हुन्। उनी संविधानसभाका सभासद पनि हुन्।)