'मलाई सुनिराख्नुभाछ नि?'
बेलाबेला छुटिरहने हाँसोको फोहराबीच योकी राई घरिघरि कम्प्युटर स्क्रिनमा भेला भएका जनप्रतिनिधिलाई सोधिरहन्छिन्।
ओप्पो ए-३१, रेड्मी नोट-१०, डेल आदि नाम भएका जनप्रतिनिधिहरू यदाकदा कम्प्युटरको भित्तामा अररो भएर अड्किन्छन् र नेट तगडा हुनेबित्तिकै एकअर्काबारे मजाक गर्छन्।
रोल्पाको यो भेगमा इन्टरनेट फितलो छ। कतिपय जनप्रतिनिधि जुममार्फत् योकीहरूसँग स्थानीय सरकारको कामकारबाहीबारे भलाकुसारी गर्न इन्टरनेट खोज्दै टाढाको वडा कार्यालय आएका छन्। कतिपयका लागि मोबाइलमा जुमको एप पनि छोराछोरी, भान्जाभान्जी अनि श्रीमानले हालिदिएका हुन्।
देशलाई कोभिड-१९ को दोस्रो लहरले नछोपेको भए यतिखेर योकी रोल्पाको एउटा विकट गाउँपालिकाको कुनै वडामा जनप्रतिनिधिहरूसित भलाकुसारी गर्न झोलामा खाजा र पानी बोकेर यात्रामा निस्किएकी हुन्थिन्। कोरोना त्रासदीले योकीलाई पनि आफ्ना अन्य सहकर्मीजस्तै वैशाखको आधाउधीमै पालिका छाडेर घरको बाटो तताउनुपर्यो। यतिखेर उनी आफ्ना साथीहरूसित मिलेर अनलाइनमार्फत् जनप्रतिनिधिहरूलाई सघाउने उपाय खोजिरहेकी छन्।
'कस्तो आउनै मन थिएन, यो कोरोनाले गरेर…!'
रोल्पामा छँदाका सम्झनाले फेसबुकको भित्तो रङ्ग्याएकी योकी हाँस्दै भन्छिन्।
उनी तन्नेरी 'मेन्टर' हरूद्वारा स्थानीय सरकारलाई सघाउने एक कार्यक्रमकी सहभागी हुन्। २८ वर्षकी योकीलाई सुरूमा आफूभन्दा दोब्बर-तेब्बर उमेरका राजनीतिज्ञलाई उनीहरूले जिन्दगीभर गरिआएको काममा स्थानीय सरकारबारे खासै नजानेकी आफूले सघाउने भन्दा पत्यार लागेको थिएन। उनी भन्छिन्, 'एक मन त डर लाग्यो, तर अर्को मनले जेलाई त्यागेर हिँडेको थिस्, त्यसैमा आइपुगिस् योकी भनेजस्तो पनि लाग्यो।'
राजनीति – फोहोरी खेल!
सशस्त्र द्वन्द्वको समय थियो। धरान बजारको बसाइ छाडेर योकीका बाबुआमा गाउँ उक्लेका थिए। उनीहरूको घरमा फराकिलो बगैंचा थियो, फूलका गमलाहरू थिए। काँचका गिलास अनि आधुनिक भाँडाकुँडाहरू थिए।
'हामी धनी त थिएनौं तर हाम्रो रहनसहनले होला मान्छेहरू हामीलाई धनी भन्ठान्थे,' योकी सुनाउँछिन्, 'सायद त्यही भएर माओवादीहरूले हाम्रो घर रोजेका थिए।'
दिनदिनैजस्तो साँझ परेपछि एक हुल माओवादीहरू बन्दुक बोकेर योकीको घरमा बास बस्न आइपुग्थे। उनका आमाबाबु चुइँक्क नबोलिकन उनीहरूलाई भात पकाएर दिन्थे, सुत्ने ठाउँ बनाइदिन्थे। एक दिन हुलको बीचमा बसेर बालखा योकीले सोधिन्, 'मावादी भनेको के हो?'
योकीका आमाबाबुको मन सिरिंग गर्यो। हुलका 'मावादी'हरू गलल्ल हासेँ। कसैले पनि योकीको प्रश्न उत्तर दिन योग्य ठानेन।
त्यसको केही दिनपछि भाइलाई डोहोर्याएर स्कुल हिँडेकी योकीको बाटो माओवादी र सेनाको भिडन्तबाट लडिरहेका रगताम्य लाशहरूले छेकेको थियो। 'जताततै लाशैलाश थियो,' योकी सम्झिन्छिन्, 'घरमा आउने माओवादीहरू राजनीति राजनीति भन्थे। त्यो देखेपछि मैले कसम खाएँ, यस्तो राजनीति त म मरे पनि गर्दिनँ।'
त्यो घटनाको आज १९ वर्ष भयो। योकीलाई अझै पनि त्यो बाटो हिँड्ने आँट छैन।
त्यसको केही समयपछि योकीका बाबु आफैं जनजाति आन्दोलनमार्फत् राजनीतिमा लागे। आफूले असल मान्ने गरेका बाबु राजनीतिमा लागेपछि योकीको मन पनि फेरियो। उनका बाबु राज्यले उनीहरूजस्ता मानिसलाई कति हेलाहोचो गरेको छ भनेर सुनाउँथे। योकीलाई बाका कुरा सही लाग्थे, जब उनी घरदेखि बाहिर आफूले भोग्नुपरेको व्यवहार सम्झिन्थिन्।
'हामी सबै जना मान्छे नै हो भने हामीलाई चाहिँ किन हेपेको होला?' एकान्तमा योकी आफैंलाई यही प्रश्न सोधिबस्थिन्। त्यसपछि नै हो योकीलाई राजनीति त्यस्तो नराम्रो चिज पनि होइन रहेछ कि त भन्ने लाग्न थालेको।
आफ्ना साथीभाइ किशोरावस्थाको कौतूहलमा अल्झिँदा योकी भने 'पहिचानको राजनीति' बारे आफ्ना अग्रज दाइदिदीहरूसित भलाकुसारीमा डुबेकी हुन्थिन्। तर, दोस्रो जनआन्दोलनसँगै देशको स्थिति फेरियो। यता योकी पनि एसएलसीपछि उच्चशिक्षाका लागि काठमाडौं गइन्। ठीक यहीँनेर उनको जीवनले कोल्टे फेर्यो। उनका साथीहरू उनले राजनीतिको कुरा गर्दा गलल्ल हाँस्थे। 'पोलिटिक्स इज अ डर्टी गेम!' उनीहरू भन्थे।
घरदेखि पर विरानो काठमाडौंमा योकी आउनासाथै कागको हुलमा बकुल्लो भइन्। उनले चाँडै थाहा पाइन्, यहीँ बस्ने हो भने उनले कि त साथीहरूलाई बदल्नुपर्छ कि आफैं बदलिनुपर्छ। आखिर योकीले विवश भएर दोस्रो विकल्प रोजिन्। उनले आफ्नो जिन्दगीबाट राजनीतिलाई पर धकेलेर फेसन र सेलिब्रिटीका गफगाफलाई भित्र्याइन्।
नर सुनार र इन्द्रनाथ मिश्रको राजनीतिप्रतिको दृष्टिकोण पनि योकीको भन्दा खासै फरक छैन भन्दा हुन्छ। हुम्लाको विकट गाउँमा जन्मिएका नरको जिन्दगीलाई माओवादी युद्धले प्रभाव मात्र पारेन, तहसनहस पार्यो।
घरघरबाट एउटा मान्छे लडाकू हुन जानुपर्ने नियम थियो। गाउँमा छ्याप्छ्याप्ती 'जनसरकार' को हैकम चल्थ्यो। नरको परिवार त्रासमा डुबेको थियो। यस्तैमा एक रात १३ वर्षको कलिलै उमेरमा नर घर छाडेर हिँडे। छ दिन हिँडेर, एक दिन गाडी चढेपछि उनी भारत पुगे। त्यहाँ आफन्तीको साथ लागेर केही समय काम गरेपछि उनलाई काठमाडौं आउने मौका जुर्यो। एउटा बालअधिकार क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा उनले फेरि कापीकलम समात्ने अवसर पाए। शान्ति पुनर्स्थापनादेखि अहिलेसम्म पनि उनी मुस्किलले ५-६ पटक मात्र घर गए होलान्।
'जानआउनै आधा महिनाजस्तो लाग्छ…,' उनी भन्छन्, 'तीन-चार वर्षको एकचोटि जस्तोमा जान्छु।'
जतिपटक घर जाँदा पनि उनलाई यथार्थले नराम्रोसँग न्याँक्छ। उनी आफ्ना साथीहरूको जिन्दगी हेर्छन्, जो जबरजस्ती नै सही, ज्यानको बाजी राखेर समानता र न्यायका लागि लड्न बन्दुक भिरेर हिँडेका थिए। 'जुन सामान्य कुरा मैले लडाइँबाट भागेर पाएँ, उनीहरूले लडेर पनि पाएका छैनन्,' उनी भन्छन्।
उनीहरूको र आफ्नो गाउँको हालत देख्दा नरलाई राजनीति भनेको झूटा भाषण र खोक्रा सपनाको चाङजस्तो मात्र लाग्छ, जसमा टेकेर केही बाठाटाठाले बस् आफ्नो दुनो सोझ्याउँछन्। नरलाई लाग्छ, हामी उनीहरूका भर्याङ मात्र हौं।
इन्द्र मिश्र निम्न-माध्यमिकसम्म भारतमै पढेर त्यसपछि आफ्नै देशमा पढाइ पूरा गर्न नेपाल फर्किएका थिए। देशमा मधेस आन्दोलनको सरगर्मी थियो। मान्छेहरू दिनदहाडै पेस्तोल बोकेर हिँड्थे। स्कुलहरू बन्द थिए। सडक आन्दोलित थियो। मान्छेहरू अपहरणमा पर्ने र मारिने सामान्यजस्तै थियो। इन्द्रको कलिलो दिमागले सोच्थ्यो, 'स्कुल बन्द गरेर यिनीहरूले के पाउँछन् होला?' उनलाई लाग्यो, यो राजनीति भन्ने चिज अरूलाई दुःख दिने कुरा मात्रै रहेछ।
जब एसएलसी सकेर उच्चशिक्षाका लागि उनी राजधानी छिरे, काठमाडौंले केही समय उनलाई रनभुल्ल पार्यो। दुई वर्ष उनलाई नेपाली भाषा सिक्न मात्रै लाग्यो। मेकानिकल इञ्जिनियरिङमा स्नातक पढ्न सरकारी कलेज भर्ना भएपछि फेरि एकपटक राजनीति उनको बाटोमा आएर ठोक्कियो।
देश संविधान निर्माणको बहसले रन्किएको थियो। उनी पढ्ने क्याम्पसमा दिनहुँजस्तो धर्नाजुलुस हुन्थ्यो। ढुंगा हानाहान, कुटाकुट, भागाभाग, क्याम्पसमा ताला ठोक्ने कुराहरू सामान्यजस्तै थिए। मूलधारे राजनीतिक दलका भ्रातृ संगठनहरूले क्याम्पसमा भर्ना हुने जुनकुनै विद्यार्थीजस्तै उनलाई पनि तानातान गर्दै थिए। तर, उनलाई विद्यार्थी राजनीतिले आकर्षित गरेन। उनलाई आफू त्यहाँ अटाउँछुजस्तो पनि लागेन। बरू उनलाई मधेसका मुद्दाहरूले तानिरहेका थिए। मधेसी दलहरूले उठाइरहेका मुद्दालाई उनले बुझ्न खोजे, तर उस्तै माग लिएर पनि उनीहरू किन एक भएर उभिन नसकेका होलान् भन्ने प्रश्नले चाहिँ उनलाई हिर्काइरह्यो।
चिरञ्जीवी पाण्डेलाई भने राजनीति फोहोरी खेलजस्तो लागेन। किनकि, उनका शिक्षकले सामाजिक शिक्षा पढाउँदा आफ्ना विद्यार्थीलाई राजनीतिज्ञ बन्न लगाएर देश बनाउने खेल खेलाउँथे। उनलाई ती खेल रमाइला लाग्थे। राजनीतिको शक्तिबारे थोरबहुत उनी स्कुले जीवनदेखि नै चिरपरिचित थिए। तर, राजनीतिक मुद्दाहरूबारे उनको दृष्टिकोण चियापसलका गफ र समाचारका शीर्षकहरूले नै बनेको थियो। खराब राजनीति होइन, राजनीतिज्ञ हुन् र समस्या यो व्यवस्थामा छ भन्न उनले किशोरावस्थामै सिकेका थिए।
जब 'व्यवस्था' परिवर्तन भयो …
सिंगै आठ वर्ष लगाएर जब २०७२ सालमा जनताले नै लेखेको संविधान आयो, मुलुक सदियौंदेखिको केन्द्रीकृत र एकात्मक राज्य व्यवस्था त्यागेर संघीय गणतन्त्रात्मक शासन व्यवस्थामा गयो।
संविधानले योकी, नर अनि इन्द्रहरूले भोग्नुपरेको विभेद र अन्यायका लागि राज्यलाई दोषी ठहर्यायो र तिनको अन्त्य गर्ने जिम्मा पनि राज्यलाई नै लिन लगायो। पन्ध्र वर्षसम्म चुनाव नहुँदा कर्मचारीले एकछत्र राज गरिरहेका स्थानीय निकाय अब स्थानीय सरकार भए। ती कुर्सीहरू जनताले भोट हालेर जिताएका जनप्रतिनिधिहरूले सम्हाले। विकास साझेदारहरूमा नेपालको संघीयतालाई सघाउने दौडधूप चल्यो।
यस्तैमा एउटा कार्यक्रमले नयाँ व्यवस्थालाई सघाउन नयाँ सोच र नयाँ तौरतरिका चाहिन्छ भन्दै विज्ञको ठाउँमा नयाँ पुस्ताका तन्नेरीहरूलाई भर्खरै निर्वाचित जनप्रतिनिधिहरूलाई सघाउने जिम्मा सुम्पियो। यसले योकी, नर, इन्द्र अनि चिरञ्जीवीजस्ता धेरै तन्नेरीलाई एकैठाउँ ल्यायो।
प्रश्न अनि चिन्तनमननको सिलसिलाः
'घोडा चढेर हिँड्नी नि क्या जन्ताको नेता हुन्या हो?'
हुम्लाको एउटा गाउँपालिकामा वडाका जनप्रतिनिधिहरूसित कुराकानी गरेर फर्कँदै गर्दा एक जना गाउँलेले भनेको कुराले चिरञ्जीवी चकित भए।
'त्यहाँका मान्छेहरूको आँट देखेर म दंग परेँ। नयाँ पद्धतिले कमसेकम जनतालाई आफ्ना गुनासा खुलस्त पोख्ने ठाउँ भए पनि दिएको रहेछ,' चिरञ्जीवी भन्छन्, 'उनीहरू जनप्रतिनिधिलाई बाटोमा होस् वा घरैमा रोकेर आफ्ना समस्या भन्न सक्छन्।'
योकी उनको भनाइसँग सहमति जनाउँदै भन्छिन्, 'सानो छँदा मलाई जहिले पनि यो केन्द्र भन्ने कहाँ होला, मलाई चिन्नसम्म नचिनेको, मेरो बारेमा केही थाहा नपाएका मान्छेहरूले मलाई कसरी शासन गर्ने होला भनेर सोचिरहन्थेँ। यी जनप्रतिनिधिहरूलाई पालिकाका एकएक मान्छेबारे थाहा छ। ती मान्छेहरूलाई पनि उनीहरूका जनप्रतिनिधिबारे थाहा छ। त्यसैले पनि उनीहरू जनतादेखि डराउँछन्।'
हुम्लाको दाँजोमा चिरञ्जीवीको मधेस अनुभव अलिक भिन्न रह्यो। उनलाई मधेसका जनता र स्थानीय जनप्रतिनिधि दुवैमा राजनीतिक चेतनाको स्तर अलिक फितलो लाग्यो।
उनीसँगै एकै पालिकामा काम गर्ने इन्द्र चिरञ्जीवीको कुरामा सही थाप्दै भन्छन्, 'कर्णालीको पालिका र मधेसको पालिकामा काम गर्दा मलाई एउटा कुराले खास रूपमा बिझायो। समस्या मधेस-पहाड दुवैमा छ तर पहाडको समस्या धेरै हदसम्म भौगोलिक हो। मधेसको समस्या मान्छेले सिर्जना गरेको हो। नेतृत्व गर्ने ठाउँमा अझै पनि पुरानो पुस्ताका नेताहरू छन्, जसको सोच र काम गर्ने शैली अझै पनि पञ्चायती पाराकै छ। उनीहरूका लागि राजनीति आफैं उँभो लाग्ने ठाउँ मात्र हो। उनीहरू हाम्रो मतलब पनि गर्दैनन्, हामीसित डराउँदा पनि डराउँदैनन्।'
सिद्धान्ततः संरचना फेरिए पनि आवश्यक पूर्वतयारीको अभावले अझै पनि धेरै जनप्रतिनिधिमा आफ्नो भूमिका र अधिकारलाई लिएर स्पष्टता छैन। उनीहरूको सहायताका लागि बनेका अधिकांश कार्यक्रमहरू पालिका प्रमुख र उपप्रमुख र हदै भए वडा अध्यक्षहरूसम्म मात्र सीमित छन्। वडा तहका जनप्रतिनिधिहरूमा आफ्नो पदलाई लिएर गहिरो निराशा छ। 'चुनाव जितेर त आइयो, किन आइयो आइयो जस्तो लाग्छ,' स्थानीय शासन प्रक्रियामा आफूले खास भूमिका खेल्न नपाउँदा उनीहरू निराशा पोख्छन्।
आरक्षणमार्फत् स्थानीय सरकारको अंग बनेका महिला तथा दलित जनप्रतिनिधिहरू अधिकांशको हैसियत निर्णय भइसकेका कुरामा हस्ताक्षर गर्ने वा ताली पिट्नेसम्ममा सीमित हुन पुगेको छ। विभिन्न प्रदेशका पालिकामा काम गरेकी मेन्टर पूजा पन्त भन्छिन्, 'उहाँहरूलाई कोटा पुर्याउन मात्र एक ठाउँबाट टपक्क टिपेर अर्को ठाउँमा ल्याएर राखिएजस्तो व्यवहार गरिएको छ। मधेसमा त महिला तथा दलित जनप्रतिनिधिहरूको अवस्था झन् खराब छ। हामी गएको भर्खरभर्खर थियो। कार्यपालिकाको बैठकमा चार जना महिला पछाडि बसिरहनुभएको थियो। बैठक सकियो, उहाँहरू चुइँक्क बोल्नुभएन। खाजा खाने बेला पनि आफ्नो खाजा लिएर छुट्टै बसेर खानुभयो। पछि उहाँहरू कार्यपालिका सदस्य हुनुहुँदो रहेछ भनेर थाहा पाएपछि म चकित परेँ।'
यति हुँदाहुँदै क्षमता अभिवृद्धिका कार्यक्रमहरूबाट सबभन्दा टाढा पारिएका यिनै जनप्रतिनिधिहरू छन्। 'वरिष्ठ' तथा 'अग्रज' सेवानिवृत्त विज्ञहरूबाट तालिम तथा औपचारिक कार्यशालाका रूपमा गरिने यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमहरू आफ्नै पनि धेरै सीमितता छन्।
चिरञ्जीवी भन्छन्, 'दुई-चार यस्ता तालिममा हामी पनि बस्यौं। तालिमकर्ताहरू जनप्रतिनिधिले केही जान्दैनन् जस्तो व्यवहार गर्ने। कतिपय जनप्रतिनिधिहरू त राम्ररी पढलेख गर्न नसक्ने पनि हुनुहुन्छ, अब उहाँहरूले पावरप्वाइन्ट स्लाइडमा खचाखच भरिएको जानकारी एकैचोटि कसरी थाप्नुहुन्छ?'
कर्णालीमा कार्यरत अर्की मेन्टर रक्षा भट्टचन थप्छिन्, 'आफू अपहेलित हुनुपर्ला, मान्छे हाँस्लान् भन्ने डरले धेरै महिला प्रतिनिधिहरू कतिपय ठाउँमा चाहेर पनि बोल्नुहुन्न। नजानेको-नबुझेको कुरा सबैका सामुन्ने सोध्नुहुन्न। उहाँहरूलाई साँच्चिकै सहयोग गर्ने हो भने त हामी उहाँहरू भएकै ठाउँमा जानुपर्छ, उहाँहरूप्रति समानुभूति राखेर आफ्ना समस्या र असुरक्षा खुलेर राख्ने सुरक्षित ठाउँ दिनुपर्छ। विज्ञहरूले दिन र घन्टाको हिसाबमा गर्ने कार्यक्रमले यसो गर्न सक्दैनन्।'
चिरञ्जीवीलाई भने आरक्षण सिटबाट महिला, दलित तथा अल्पसंख्यक समुदायका जनप्रतिनिधिहरू चुनावमा उठाउँदा राजनीतिक दलहरूले पनि घात गरेका छन् झैं लाग्छ। उनी सोध्छन्, 'यी समुदायबाटै राजनीतिक रूपमा बढी सचेत र सक्रिय व्यक्तिहरू छँदाछँदै राजनीतिमा कुनै चाख नभएका, नबोल्ने, प्रश्न नगर्ने खालका मान्छे किन छानिन्छ?'
नरलाई अर्थपूर्ण समावेशिता अझै पनि टाढाको सपनाझैं लाग्छ। तीन वर्षअघि उनी आफ्नै ठाउँका स्थानीय सरकारलाई सघाउने भनेर मेन्टरका रूपमा हुम्ला गएका थिए। त्यहाँ पनि उनले छुवाछुतको शिकार हुनुपर्यो।
'यदि महिला तथा दलितहरू आज राजनीतिक निर्णय गर्ने ठाउँमा छन् भने कोटाको कारणले मात्र छन्। त्यति हुँदाहुँदै स्रोतसाधनको निर्णय त वर्षौंदेखि दबदबा भएकाले नै गरिरहेका छन्। अरूहरूलाई दर्शक मात्र बनाइएको छ। कतिसम्म भने, एक्लै जाँदा आफ्ना कुरा नसुनिने हुनाले कतिपय दलित जनप्रतिनिधिहरू मसित आएर लौन तपाईं पनि हामीसित बैठकसम्म हिँडिदिनुपर्यो भन्ने गरेका उदाहरणसमेत छन्,' नर थप्छन्, 'तर पनि परिवर्तनका लागि कमसेकम वातावरण मात्र भए पनि बनेको छ। सबभन्दा ठूलो कुरा उनीहरू त्यहाँसम्म पुगेका छन् र राज्यको स्रोतमा उनीहरूको पनि समान हक र हिस्सा छ भन्ने बुझेका छन्। अबको चुनौती भनेको त्यो स्रोतको बाँडफाँटसम्बन्धी निर्णय कसरी सही ढंगले गर्न उनीहरूलाई सघाउने भन्ने हो।'
सशस्त्र युद्धको उद्गमस्थल रोल्पाजस्तो ठाउँमा पनि देखिने-नदेखिने छुवाछुत व्याप्त देखेर गम खाएकी योकी यी सबको पछाडि निर्णय प्रक्रियामा समस्या देख्छिन्।
'कुनै पनि विषयमा निर्णय गर्नुअघि राम्रोसँग छलफल नै हुँदैन। समस्या राम्ररी नकेलाई हचुवाको भरमा बजेट छुट्याइन्छ। महिला, दलित आदिका नाममा छुट्याइने बजेट हेर्दा त के सोचेर यस्ता कार्यक्रम ल्याइएको होला भनेर अचम्म लाग्छ। तपाईं आफैं भन्नुस् न, एकदिने अचार बनाउने तालिम, महिला दिवसमा र्याली निकाल्नेजस्ता नाममा बजेट छुट्याएर महिलाको जीवनस्तरमा कस्तोखाले परिवर्तन आउला?'
अराजनीतिक केही पनि छैनः
काठमाडौंको सुविधासम्पन्न परिवारमा जन्मेकी मेलिसा श्रेष्ठ विदेशमा पढिन्। मेन्टरका रूपमा कर्णालीमा जाने भन्दा उनका बाबुआमाले पटक्कै मानेका थिएनन्। तर उनलाई आफ्नो सीमित घेराबाट बाहिर निस्कनु थियो।
कर्णालीमा बसेर उनले राजधानीमा आक्कलझुक्कल टिभी र पत्रपत्रिकामा मात्र देखिरहने गरेको आफ्नै देशको अर्को मुहार देखिन्। आफूले काठमाडौंमा आफ्नो अधिकारका रूपमा लिएको सामान्य सुविधाका लागि त्यहाँका मान्छेले गरेको संघर्ष आफ्नै आँखाले देखिन्।
'हामीले व्यक्तिगत ठानेका सामान्य कुरासमेत कसरी राजनीतिक रहेछन् भन्ने मैले यहीँ आएर बुझेँ,' मेलिसा हाँस्दै थप्छिन्, 'बाबामामुले फिर्ता बोलाउनुहोला भन्ने डरले म फेसबुकमा राम्राराम्रा फोटा मात्र राख्थेँ। उहाँहरूलाई अझै पनि म त्यसो गर्थेँ भन्ने थाहा छैन।'
केटाकेटी छँदा इन्द्र आफ्नो गाउँको हालत देखेर सधैं सोच्ने गर्थे– विकास भनेको भौतिक पूर्वाधार हो। उनको गाउँका सडकहरू बर्सेनि कालोपत्रे गरिनुको सट्टा 'माटोपत्रे' गरिन्थे, जसलाई हरसाल आउने बाढीले स्वाट्टै बगाएर जस्ताको तस्तै पारिदिन्थ्यो। मेन्टरका रूपमा फरक भूगोल र सामाजिक परिवेशमा काम गरिसकेपछि अहिले इन्द्रलाई आफूले सेवा प्रवाह र सामाजिक विकासको महत्त्वलाई कम आँकेको रहेछु भन्ने लाग्छ।
'जतिसुकै प्राविधिक कुरा भए पनि राजनीतिक प्रक्रियामार्फत् जानुपर्छ भने त्यो राजनीतिक निर्णय हुँदो रहेछ। यो राजनीतिले नछुने कुनै पनि कुरा रहेनछ। राजनीति भनेको भेनचित्रको युनिभर्सल सेटजस्तो रहेछ र अरू सबै विषय यसभित्रका सबसेटहरू रहेछन्,' उनी भन्छन्।
स्थानीय जनप्रतिनिधिसित नजिकै रहेर, उनीहरूका संघर्ष र सफलता अनि निराशा र सन्तुष्टिका व्यक्तिगत कथाहरू सुनेर उनीहरूको भूमिकालाई प्रभावकारी रूपमा वहन गर्न सघाउँदै गर्दा इन्द्र र उनका साथीहरूले राजनीतिलाई पहिलेजस्तो दर्शकका रूपमा बाहिरबाट नभई कर्ताका रूपमा भित्रैबाट नियाल्ने मौका पाएका छन्। यसले उनीहरूलाई मुलुकले अपनाएको पद्धति र प्रक्रियाहरूलाई गहिरोसँग जाँच्ने, भुइँका यथार्थहरूलाई बुझ्ने र सबभन्दा बढी कुनै पनि कुरालाई बाहिरी आवरणमा मात्र नलिन प्रेरित गरेको छ।
'यहाँको अवस्था हामीले काठमाडौंमा बसेर टिभी र पत्रपत्रिकामा हेर्नेभन्दा निकै फरक छ,' समावेशिताको मुद्दालाई गहिरो चाखका साथ हेरिरहेकी रक्षा भन्छिन्, 'यसले तपाईंलाई जनप्रतिनिधिहरूप्रति समानुभूति राख्ने बनाउँछ। समानुभूतिबाट मात्र हामी उनीहरूलाई सघाउन सक्छौं।'
कतिपय मेन्टरहरूले आफूले स्थानीय सरकारसँग काम गर्दा पाएको ज्ञान र दृष्टिकोणलाई जागिरभन्दा पर गएर पनि प्रयोग गर्ने गरेका छन्। गत वर्ष कोभिडले गाउँमै थुनिएका बेला चिरञ्जीवी र इन्द्र लगायत साथीहरूले आफ्नै पालिकाका जनप्रतिनिधिहरूलाई आफूले सकेको सघाउने प्रयास गरे। यसले उनीहरूलाई सचेत र जिम्मेवार नागरिक बन्न पनि हौस्याएको छ।
हामी कस्तो भोलिलाई कुरिरहेका छौं?
नयाँ संविधानले ल्याएको उत्साह र दिएको आशाका बाबजुद देशको राजनीतिक भविष्य कहाली लाग्ने गरी धूमिल भइरहेका बेला यी युवाहरू आशाका किरण हुन्। एउटा त्यस्तो आशा, जसले रुढीवादलाई चुनौती दिने, आफ्ना हेराइ र बुझाइका घेराहरूलाई फराकिलो बनाउन नडराउने र कुनै पनि कुरालाई समग्रतामा हेर्न प्रयास गर्ने पुस्ताको उदय हुँदै गरेको संकेत गर्छ।
एउटा त्यस्तो पुस्ता, जसले विगतका अन्यायहरूलाई सच्याउने धृष्टता राख्छ र प्रक्रियामा पनि उति नै विश्वास गर्छ, जति प्रतिफलमा गर्छ।
तर यिनै युवा हाम्रो मुलुकमा युवाहरूमाथि लगानी कति कम छ भन्ने कुराका पनि प्रमाण हुन्। राजनीति फोहोरी खेल हो भनेर जन्मजातैजस्तो सिकेर आउने युवाहरूलाई हामी राजनीतिसित कति गहिरो गरी जोडिएका छौं भन्ने सिकाइँदैन। भत्काउने अस्त्रका रूपमा मात्र बुझिएको राजनीतिलाई बनाउने मन्त्र पनि यही हो भनेर बुझाउने कसरत भएको छैन। पाका वरिष्ठ नेताहरूको झोला नभिरिकनै, उनीहरूका हर गलत र हास्यास्पद कदमको लाजै पचाएर बचाउमा नउत्रिएरै पनि इच्छुक युवाहरूलाई राजनीति बुझ्ने अवसर उपलब्ध गराउने प्रयास हुन सकेको छैन।
आज पनि मुलुकका युवाहरूको ठूलो जमात राजनीतिलाई घिनलाग्दो खेल भनेर पन्छाउँछ, राजनीतिक घटनाक्रमसित नेताहरूलाई गाली गर्नबाहेक चासो राख्दैन, देशका हरेक समस्याका लागि राजनीतिज्ञलाई दोषी देख्छ र यो फोहोर सफा गर्नुभन्दा देश छोड्नुमा नै आफ्नो भलाइ देख्छ।
अधिकांश किशोरकिशोरीको राजनीतिक चेतना स्तर 'यो सतीले सरापेको देशमा केही हुँदैन', 'यी सब नेताहरूलाई टुँडिखेलमा झुन्ड्याउनुपर्छ वा गोली ठोकेर मार्नुपर्छ' र 'यो देश पशुपतिनाथले जोगाको हो' भन्दा माथि जान सकेको छैन। राजनीतिप्रति चासो लिएर विद्यार्थी राजनीतिबाट मूलधारे राजनीतिमै प्रवेश गरेका कार्यकर्ताहरूको आलोचनात्मक चेत संरक्षणमुखी र भनसुनको राजनीतिक संस्कारले लगभग मारिसकेको छ।
यस्तो अवस्थामा यी अपवाद युवाहरूको सिकाइ र अनुभव भने हौस्याउने खालको छ। उनीहरू अब परिवर्तनलाई अवलोकनकर्ताका रूपमा मात्र हेर्ने होइन, आफैं परिवर्तनलाई हाँक्ने सोचमा छन्।
२०७४ को स्थानीय चुनावमै उठ्ने मनस्थिति बनाएका इन्द्रले भविष्यमा त्यो सम्भावनालाई नकारिसकेका छैनन्।
नरलाई आफ्नो सिंगो गाउँमा आफू स्नातकोत्तर गरेको दोस्रो व्यक्ति हुँदासमेत पालिका प्रमुखको पदमा गाउँलेहरूले एउटा दलितलाई जिताउलान् भन्नेमा भर त छैन, तर उनले हिम्मत हारिसकेका छैनन्।
योकीलाई 'उप' को पदमा खुम्च्याइएका ९३ प्रतिशत महिला उपप्रमुखहरूका नाममा एकमुष्ट बदला लिन मन छ। उनलाई पनि नरको जस्तै मान्छेले पत्याउलान् र भन्ने डर नभएको होइन, तर उनी भन्छिन्, 'हामीले नगरे कसले गर्ने?'
(तस्बिरहरू सबै कार्यक्रमका मेन्टरहरूले खिचेका हुन्।)