बिपी प्रतिष्ठान डुबाउने खेल– ५
धरानस्थित बिपी प्रतिष्ठानमा भइरहेको अर्बौंको घोटालाबारे समाचारहरू आएपछि त्यहाँको नागरिक समाज आन्दोलित छ। नागरिक अभियन्ताहरूले बारम्बार प्रतिष्ठानका पदाधिकारीलाई भेटेर दबावसमेत दिएका छन्।
अहिले प्रतिष्ठानलाई धरासायी बनाएर आफ्नो लगानीको निजी मेडिकल कलेजलगायत निजी अस्पतालहरूको स्वार्थमा काम गरेको तथा खरिद प्रक्रियामा ठूलो हिनामिना गरेको आरोप उपकुलपति ज्ञानेन्द्र गिरीलाई लागेको छ। बाँकी पदाधिकारीहरूले गरेका अनियमिततासम्बन्धी समाचारहरू पनि बारम्बार आइरहेका छन्।
तर सरकारले भ्रष्ट पदाधिकारीलाई कारवाही गरेको छैन। धरानका नौ दलहरूसमेत नागरिक समाजसित मिलेर आवाज उठाउँदा पनि केही भइरहेको छैन। बरू गिरीले उल्टै सुधारका लागि आवाज उठाउने संस्थाका चिकित्सकमाथि कारवाही थालेका छन्।
प्रतिष्ठानमा दण्डहीनता संस्थागत भइसकेको छ। नागरिक समाजले पदाधिकारीहरूसित राखेको अन्तर्क्रिया कार्यक्रममा उपकुलपति गिरीकै अगाडि उनका भाइलाई दस प्रतिशत कमिसन नदिई ठेकेदारहरूको भुक्तानी नहुने गरेको कुरा उठ्यो। गिरीले त्यस्तो संगीन आरोपको खण्डन समेत गरेनन्।
उपकुलपतिका भाइले दस प्रतिशत कमिसन लिने आरोप लगाउनेले कमिसन माग्दै गरेको अडिओ आफूले सुनेको बताएका थिए। उनले आवश्यक परे प्रमाण दिन सक्ने देखिएको छ।
कुनै आपूर्तिकर्ताले फोनमा रेकर्ड गरेको त्यो अडिओबारे प्रतिष्ठानका धेरै जना जानकार छन्। तर रेकर्ड गर्ने व्यक्तिले आफ्नो गोपनीयता भंग हुने डरले त्यसलाई अहिलेसम्म सार्वजनिक गरेका छैनन्। बरू केही व्यक्तिलाई सुनाएका छन्, जसमध्ये अन्तर्क्रियामा कुरा उठाउने व्यक्ति एक हुन्।
संस्थामा उपकुलपति गिरीको कार्य सम्पादन नजिकैबाट हेरिरहेका एक चिकित्सकले मलाई त्यहाँ हुने कमिसन लेनदेनको व्यवहारिक रूपलाई यसरी बयान गरेका छन्- सामान आपूर्ति भएपछि महिनौंसम्म आपूर्तिकर्ता व्यापारीको भुक्तानी रोकिन्छ। ऊ उपकुलपतिलाई भेट्न पुग्छ। उपकुलपतिलाई भेट्नुअगाडि नै उनको कोठाबाहिरका कारिन्दाले आपूर्तिकर्तालाई त्यहीँबाट उनका भाइसित फोन गराइदिन्छन् र कमिसनको मोलमोलाइ हुन्छ।
यता भाइलाई दस प्रतिशत दिन आपूर्तिकर्ता मन्जुर भएपछि बल्ल भित्र उपकुलपति गिरीले चेकमा हस्ताक्षर गर्छन्। कमिसनको कुरा नमिलेसम्म भुक्तानी अरू केही महिनाका लागि रोकिन्छ। अन्ततः आजित भएर व्यापारीले कमिसन बुझाउन तयार हुन्छन् अनि बल्ल भुक्तानी हुन्छ।
यो त भयो भुक्तानीको बेला सबै जसो आपूर्तिकर्तासित हुने व्यवहार। त्यसबाहेक एउटै आपूर्तिकर्ताको एकाधिकार कायम गरेर दोब्बर बढी मूल्यमा उसका सामान किनिदिएपछि उसबाट लिइने विशेष कमिसनको कुरा बेग्लै छ। पहिलो किसिमको कमिसनभन्दा यस खाले कमिसनको मात्रा निकै बढी हुने गरेको प्रतिष्ठानका कर्मचारीहरू बताउँछन्।
मानिसको ज्यान बचाउन किनिने सामानमा यस्तो असंवेदनशीलता चलिरहँदा अस्पतालको हालत कति खराब भयो? त्यसबाट अस्पताल र बिरामीलाई कति आर्थिक क्षति पुगिरहेको छ? बिपी प्रतिष्ठान डुबेका कारण निजीमा पठाइएका बिरामीले बर्सेनि तिनलाई कति रकम तिर्छन्?
प्रतिष्ठानका साथीहरूलाई मैले यी प्रश्न सोधी पठाएको थिएँ।
मैले पठाएको टेबलमा दर्जन जति मेसिन बिगारेर वा कुनै तरिकाले सेवा अवरुद्ध हुँदा भएको त्यस्तो क्षतिबारे उनीहरूले भरेर पठाएका छन्। तीमध्ये ६ वटा त्यस्ता सेवाको मोटामोटी हिसाबकिताब यस्तो छः
अर्थात् प्रतिष्ठानका यी छ थरी सेवा अवरुद्ध भएका कारण मात्रै संस्थालाई वार्षिक २६ करोडभन्दा बढी क्षति भइरहेको छ। अनि विद्यार्थीको सिकाइ त्यही अनुपातमा प्रभावित भइरहेको छ। विभिन्न मेसिन काम नगरेर थन्किरहँदा तिनको मर्मतका लागि भनेर बर्सेनि निकास हुने करोडौं रूपैयाँको हिसाब बेग्लै छ।
अर्कोतिर तिनै सेवाका लागि निजी अस्पताल जान बाध्य बिरामीले ५६ करोडभन्दा बढी खर्च गर्न बाध्य हुँदै छन्।
बिरामीले सबभन्दा बढी दुःख पाउने र ठगिने गरेका प्रयोगशाला र फार्मेसीका सेवा यहाँ उल्लेख गरिएका छैनन् किनकि सयौं परीक्षण र औषधिमा बिरामीमाथि हुने ठगीको हिसाब यति सजिलै निस्किँदैन। तर यी सेवासहित फार्मेसी र ल्याब राम्रोसित चलाउने हो भने संस्थाले सहजै वार्षिक एक अर्ब हाराहारी थप आम्दानी गर्न सक्छ। त्यो पनि बिरामीलाई सुपथ मूल्यमा ती सेवा दिएर।
माथिको टेबलकै अनुपात मान्ने हो भने अहिलेको अवस्थामा अस्पतालले दिन सक्ने सबै सेवा उपलब्ध नगराइएकै कारण बिरामीले बर्सेनि दुई अर्बभन्दा बढी रूपैयाँ निजी अस्पतालमा खर्च गर्ने गरेका छन्। त्यो खर्च गर्ने सबैजसो बिरामी सेवाका लागि बिपी प्रतिष्ठान पुगेपछि त्यहाँबाट निजीमा पठाइन्छन्। अर्थात् बिपी प्रतिष्ठानबाट बाहिर पठाइने विभिन्न परीक्षण र उपचारको अर्थतन्त्र बर्सेनि दुई अर्बभन्दा ठूलो छ।
त्यसरी प्रतिष्ठानबाट पठाइएका बिरामीबाट लाभ लिने अस्पतालमध्ये एउटा विराट मेडिकल कलेज हो। ज्ञानेन्द्र गिरीले उपकुलपति भएर प्रतिष्ठानमा आउनुभन्दा अघिल्लो दिनसम्म त्यहीँ काम गर्थे।
अर्को त्यस्तो अस्पताल हो नोबेल मेडिकल कलेजको टिचिङ अस्पताल। त्यसका मालिकले उक्त कलेजका साविक सञ्चालकलाई अपहरण गरेर त्यो सम्पत्ति हत्याएको आरोप छ। डाक्टरको नक्कली सर्टिफिकेट बनाएका कारण लामै समय छानबिनमा परेर फरार भएका उनी हालै काठमाडौं मेडिकल कलेजका आधाभन्दा बढी सेयर किनेको भनेर समाचारमा आएका थिए।
त्यस्तो लाभ लिने तेस्रो संस्था बिएन्डसी अस्पताल हो जसअन्तर्गतको क्यान्सर अस्पतालका निर्देशक नै बिपी प्रतिष्ठानका डाक्टर हुन्। नियमविपरीत बिएन्डसीमा कार्यरत उनले अहिले बिपी प्रतिष्ठानबाट तलब खाइरहेका छन् जबकि प्रतिष्ठानको उनको विभागमा उपचार सेवा नै अवरुद्ध छ।
यी तीनै अस्पतालका सञ्चालक राज्य संस्थापन र मुख्य राजनीतिक दलका नेताहरूसित नजिक छन्। यो अवस्थामा राजनीतिक पार्टीहरूले बिपी प्रतिष्ठान डुबाएर आफ्ना मानिसका निजी अस्पताल पोसेका हुन् वा ती पार्टीका नेताहरूको प्रत्यक्ष लगानी नै ती संस्थामा छ भन्ने कुरा अबको खोजको विषय हो।
भाग १- बिएन्डसीको स्वार्थमा डुबाइँदै बिपी प्रतिष्ठान!
भाग २- सरकारी अस्पताल डुबाएर नेताले के पाउँछन्?
भाग ३- बिपी प्रतिष्ठान टाटः घाटा ७ अर्ब, बेरूजु १ अर्ब
भाग ४- भ्रष्टाचारले ज्यान लिने, अख्तियार रमिता हेर्ने