कोरोना महामारी फैलिएर निषेधाज्ञाको क्रम सुरू भएपछि वाइफाइ वा मोबाइल डेटा चलाउने नेपाली इन्टरनेट प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ। दूरसञ्चार प्राधिकरणका अनुसार २ करोड ४० लाखभन्दा बढी नेपालीले इन्टरनेट प्रयोग गरिरहेका छन्।
आफ्ना स्मार्टफोन वा ल्यापटपमा टाउको घोप्टाएर निरन्तर सामाजिक सञ्जालमा झुम्मिनेको संख्या बाक्लिएको छ। उनीहरूले मोबाइल स्क्रिन हेरेर बिताउने समय लम्बिन थालेको छ। पाका हजुरबुवा-हजुरआमादेखि बुवा-आमा, काका-काकी अनि आलाकाँचा किशोर-किशोरीदेखि बालबालिकाको मुन्टो मोबाइल स्क्रिनमै एकोहोरो घोप्टिइरहेको दृश्य यतिबेला अतिसामान्य भइसकेको छ। सहरदेखि गाउँगाउँसम्म जताततै।
यसले फेसबुक, ट्वीटर, यु-ट्युब, इन्स्टाग्राम, भाइबर वा ह्वाट्सएप हाम्रो दैनिकीको महत्त्वपूर्ण हिस्सा बनेको छ। तर तपाईंहरूले एउटा कुरा विचार गर्नुभएको छ- पोहोरको निषेधाज्ञापछि एउटा नयाँ सञ्जाललाई धेरैभन्दा धेरै नेपालीले यतिबेला आफ्नो बनाएका छन्?
तपाईंले देख्नुभएकै होला, उक्त सञ्जालमा आफ्नो भिडिओ हाल्न खासगरी नयाँ पुस्ताका युवायुवती खेत-बारी, पाखा-पर्वत, नदी-नाला, ताल-तलैया, सहर-बजार, कौसी-बरन्डा, भान्सा-सयनकक्ष जताततै नाचिरहेका वा नानाभाँती भावभंगीमा अभिनय गरिरहेका छन्।
अब त तपाईंले थाहा पाइहाल्नुभयो, नेपालीहरूले छोटा-छोटा भिडिओ हेरेर समय बिताउने नयाँ सामाजिक सञ्जाल फेला पारेका छन्- टिकटक।
यसको जन्म भएको तीन वर्ष पनि भएको छैन, तर यसले कोरोना कहर सुरू भएपछि नेपालसहित विश्वभरी दिनानुदिन ख्याति कमाइरहेको छ, जसमा खासगरी युवापुस्ता झुम्मिने क्रम तीव्र भइरहेको छ।
टिकटकमा नेपालीको बढ्दो भिड
सन् २०१९ मा टिकटकले ख्याति कमाउन थालेपछि म पनि त्यसमा खाता खोलेर खासगरी जानकारीमूलक तथा हास्यव्यंग्य र मनोरञ्जनप्रधान छोटा भिडिओहरू हेरेर रमाउन थालेँ। त्यही क्रममा एक जना सहकर्मी दाजुको मोबाइलमा पनि टिकटक हालिदिएको थिएँ। उनी त फुर्सद भयो कि टिकटक हेरेर एक्लै खित्का छाडेर हाँस्न र रमाउन थालेका छन्।
ट्वीटर र फेसबुकका अक्षर पढ्दा-पढ्दा आँखा थाकेपछि थोरै हाँस्न म पनि दिनमा कयौंपटक टिकटक खोल्छु र खासगरी ‘ओ-नो-नो-नो’ आवाजसहित आउने हाँसो उठ्दा भिडिओ हेरेर हास्ने गर्छु।
तर हिजोआज टिकटक हेर्दा मलाई हाँसोभन्दा बढी रिस उठ्न थालेको छ। नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर माथि जान थालेपछि कोभिड-१९ महामारी, उपचार र रोग प्रतिरोध गर्ने खोपबारे फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालमा विभिन्न भ्रामक, मिथ्या र झूटा समाचार, टिप्पणी र अन्य सामग्री छ्याप-छ्याप्ती भएका छन्।
ती सामग्रीबारे साउथ एसिया चेक, नेपाल: तथ्यजाँच जस्ता तथ्यजाँच गर्ने वेबसाइटले लेख्दै पाठकहरूलाई सजग तुल्याउने जमर्को गरिरहेकै छन्।
छिमेकी भारत लगायत विश्वका धेरै देशमा इन्टरनेटमा छ्याप-छ्याप्ती हुन थालेका भ्रामक र गलत सूचनाको सञ्जालबारे पर्दाफास गर्न तथ्यजाँचको अभियान चलेको वर्षौं भइसक्यो। तै पनि सामाजिक सञ्जालहरूमा अपुस्ट, अप्रमाणित, भ्रामक, मिथ्या र झूटा सामग्रीको ओइरो निरन्तर छ, जसले आधुनिक पत्रकारितासामु चुनौती थपिदिएको छ।
एकछिन टिकटककै कुरा।
प्राय: ख्यालठट्टा र नाचगानका भिडिओले भरिने टिकटकमा समेत अचेल कोभिड-१९ र अन्य विषयका थुप्रै गलत सूचना आइरहेको देखेर म चिन्तित हुन थालेको छु। कोभिड-१९ बारे भ्रामक भिडिओहरू हेर्दै गर्दा गत बुधबार बिहानै लमजुङमा गएको भूकम्पपछि ‘अझै ठूला भूकम्प आउँदै छ’ भनेर अप्रमाणित एवं भ्रामक भिडिओ हाल्दै नेपालीहरूलाई तर्साउने क्रम नेपाली प्रयोगकर्ताहरूले नै सुरू गरे।
नेपालको उत्तरी छिमेकी चीनमा टिकटकको जन्म भएको तीन वर्ष पनि भएको छैन, तर टिकटकको विश्वव्यापि उपस्थिति नाटकीय रूपमा बढिसकेको छ। भारतमा प्रतिबन्ध लगाइएको टिकटक नेपालमा भने खुला छ। यसका लाखौं-लाख नेपाली प्रयोगकर्ताहरू प्राय: नयाँ पुस्ताका युवायुवती छन्, जसको टिकटक उपस्थिति दिनप्रतिदिन बाक्लिँदै गइरहेको छ।
डढेलोसरी अफवाह
सामाजिक सञ्जालमार्फत् गलत सूचना र सन्देश डरलाग्दो रूपमा फैलिइरहेको अहिलेको समयमा ती नेपाली नौजवान तथा केटाकेटीहरूले टिकटकमा देखिने अप्रमाणित एवं भ्रमपूर्ण, झूटा सूचना र दुष्प्रचारजन्य सामग्रीलाई सजिलै अन्य सामाजिक सञ्जालमा डढेलोसरी फैलाउन कसले रोक्ने? के उनीहरू सत्य, तथ्यपरक र निष्पक्ष सामग्रीका हकदार होइनन्?
टिकटकमा ठ्याक्कै कति नेपाली छन् त्यो संख्या भेटाउन सहज भएन। तर एउटा कुरा प्रस्ट छ, टिकटकमा नेपालभित्र र बाहिर रहेका लाखौं नेपाली जोडिइसकेका छन्। त्यो क्रम लगातार उकालो लाग्दो छ।
उदाहरणका लागि, टिकटकमा सबभन्दा धेरैले पछ्याएको नेपाली जुम्ल्याहा दिदीबहिनी भनिएका प्रिज्मा र प्रिन्सीलाई ६८ लाख टिकटक प्रयोगकर्ताले पछ्याइसकेका छन्।
अर्का हास्यव्यंगकार महेश पासवानलाई ४३ लाख जनाले पछ्याइसकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीकै प्रमाणित (भेरिफाइड) टिकटक खातालाई झन्डै १ लाख २७ हजार जनाले पछ्याइसकेका छन्।
त्यस्तै, पूर्वयुवराज्ञी हिमानी शाहलाई ८१ हजारभन्दा बढीले पछ्याइसकेका छन् भने उनकी छोरी, पूर्वअधिराजकुमारी पूर्णिका शाहलाई पछ्याउनेहरू झन्डै डेढ लाख छन्।
फेसबुकदेखि टिकटकसम्मको यात्रा
नेपोलियनकार्ट डटकमका अनुसार सन् २००५ मा अमेरिकाको हार्वर्ड विश्वविद्यालमा अध्ययनरत मार्क जकरवर्ग लगायतका विद्यार्थीले जन्माएको फेसबुकको अहिले विश्वमा २ अर्ब ६० करोडभन्दा बढी प्रयोगकर्ता छन्। नेपालमै सन् २०२० मा एक करोडभन्दा बढी फेसबुक प्रयोगकर्ता थिए। त्यो बढ्दो क्रममा छ। अहिले ७० वर्ष उमेर हाराहारीका मेरा आमाबुवा पनि फेसबुकमा आइसक्नुभएको छ।
तर प्रयोग गर्न निकै सजिलो र प्राय: मनोरञ्जनप्रधान भएकाले हुनसक्छ, अहिले टिकटक नेपालमा फेसबुककै जस्तो लोकप्रियता हासिल गर्ने बाटोमा लागिसकेको छ। सर्सर्ती हेर्दा टिकटकलाई लाखौं लाख नेपालीले आफ्नो बनाइसकेका छन्, वा आफ्नो बनाउने क्रम जारी छ।
अझै चाखलाग्दो पक्ष यस्तो छ। टिकटकमा हिजोआज सामान्य पेसामा लागेका नेपाली मात्र होइन, नेता वा अभिनेता तथा अभिनेत्री मात्र होइन, गायक तथा गायिका मात्र होइन, हास्यकलाकार मात्र होइन, डाक्टर, नर्स, शिक्षक, ज्योतिष, आध्यात्मिक गुरु, पाककलाविद्, शिक्षक, वकिलहरू पनि देखिन थालेका छन्। नेपालमा टिकटक अहिले त्यो ‘जो पनि चढ्ने साझा बस’ जस्तै भएको छ।
सँगसँगै यो कोरोना कहरमा घरेलु उपचार तथा प्राकृतिक उपचार विधि सिकाउने वैद्य वा कविराजसमेत भाइरल हुन थालेका छन्। कतिपयले कोरोना भाइरस संक्रमित बिरामीलाई समेत फाइदा पुग्ने दाबी गरिएका औषधोपचार विधि समेटिएका भिडिओ टिकटकमा राखिरहेका छन् र ती धेरथोर भाइरल पनि भइरहेका छन्।
उदाहरणका लागि, झन्डै एक लाख २६ हजारले पछ्याइरहेकी ‘गीत’ नामक सक्रिय टिकटकरले विभिन्न घरेलु औषधोपचार विधिबारे जानकारी दिने गरेकी छन्।
टिकटकमा #Covid19Nepal राखेर खोजी गर्नुभयो भने तपाईंले जानकारीमूलकसँगै भ्रामक एवं गलत सूचना पनि प्रशस्तै पाउन सक्नुहुन्छ।
त्यहाँ तपाईंले ५२ हजारले पछ्याइरहेकी स्वास्थ्यविद् सुशीलाका कोभिडसम्बन्धी भिडिओसँगै १० हजारले पछ्याइरहेको वरिष्ठ टेलिभिजन पत्रकार विजयकुमार पाण्डेको दिशानिर्देश प्लसलगायत भिडिओ देख्न सक्नुहुन्छ।
यति हुँदाहुँदै टिकटकमा #Covid19Nepal खोजी गर्दा भेटिने सबै भिडिओमा समेटिएका जानकारी तपाईंले आँखा चिम्लिएर पछ्याउन नमिल्ने खालका छन्। अधिकांश जानकारी तथ्यपरक र वैज्ञानिक सोधखोजका नतिजामा आधारित छैनन्।
टिकटकको ख्याति
टिकटक चिनियाँ कम्पनी बाइट डान्सले सन् २०१६ मा खोलेको चिनियाँ सञ्जाल दाउयिनको अन्तर्राष्ट्रिय स्वरूप हो। यसको जन्म सन् २०१७ मा भयो। सन् २०१८ मा अर्को चिनियाँ सञ्जाल म्युजिकल्ली र टिकटक एक भएपछि टिकटकको विश्व भ्रमण सुरू भयो र यो संसारैभरि लोकप्रिय हुन थाल्यो। १५ देखि ६० सेकेन्ड लामा र नरोकिने ‘लूप’ भइराख्ने भिडिओका कारण टिकटक सहज र लोकप्रिय भएको हुन सक्छ।
औंला चलाएको भरमा ती भिडिओ डाउनलोड गर्न वा ह्वाट्सएप, इन्स्टाग्राम, ट्विटर वा फेसबुकमा सहजै सेयर गर्न सकिन्छ।
सन् २०२० को ट्रान्सपरेन्सी प्रतिवेदनअनुसार विश्वभर टिकटकका ७० करोड प्रयोगकर्ता छन्। तीमध्ये एक करोड अमेरिकामा छन्। चारमध्ये एक ब्रिटिसले हरेक महिना टिकटक चलाउँछन् भने नर्वेलीहरूले दैनिक औसत ७४ मिनेट टिकटकका भिडिओ हेर्छन्। चार्ली डमेलियो नामक किशोरीलाई झन्डै १ करोड १६ लाख प्रयोगकर्ताले पछ्याइरहेका छन्।
टिकटकको ख्यातिबाट लोभिएका कयौं ठूला सञ्चारमाध्यमले टिकटकमा खाता खोलेर आफ्ना डिजिटल समाचार सामग्री प्रयोगकर्ताको ठूलो जमातमाझ पुग्ने जमर्को गरिरहेका छन्। अहिले कोभिडविरुद्धको लडाइँमा होमिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र ४३ वर्षीय फ्रान्सेली राष्ट्रपति इम्मानुअल माक्रोंले समेत टिकटक खाता खोलिसकेका छन्।
वासिङ्टन-बेइजिङ व्यापारिक तनाव चुलिएपछि अमेरिकामा टिकटक प्रतिबन्धित छ। गत वर्ष गलवानमा भारत-चीन सैन्य द्वन्द्व चर्किएपछि दिल्लीले पनि भारतमा टिकटक निषेध गरिदिएको छ। तर त्यहाँका कयौं चलाख प्रयोगकर्ताहरूले भिपिएन वा टारजस्ता विभिन्न प्राविधिक छिद्र प्रयोग गर्दै घुमाउरो बाटोबाट टिकटक चलाउन छाडेका छैनन्।
भ्रम तथा झूट फैलाएको आरोप
नेपालका ठूला ठानिएका सञ्चारमाध्यमलाई समेत आचारसंहिताविपरीत अफवाह, भ्रम वा झूट फैलाएको आरोप लाग्ने गरेको छ भने सामाजिक सञ्जालहरूमाथि त्यो आरोप नलाग्ने कुरै भएन।
सुशिक्षित जमातको संख्या तुलनात्मक रूपमा कम भएको नेपालजस्तो देशमा सामाजिक सञ्जालमा फैलिने सत्य वा झूटा सूचनालाई के प्रयोगकर्ताले सहजै छुट्याउन सक्लान्?
मिडियाकै कुरा गरौं।
नेपाली सञ्चारमाध्यमका विभिन्न पाटाबारे निगरानी गर्ने गरेको बताउने मिडियाकुराकानी डटकमका अनुसार निषेधाज्ञापछि मात्रै 'भ्रमपूर्ण तथा अफवाहपूर्ण सामग्री प्रकाशन वा प्रसारण गर्दै पत्रकार आचारसंहिता उल्लंघन गरेको' भन्दै ६० भन्दा बढी उजुरी परिसकेका छन्। त्यसमाथि सरोकारवालाहरूलाई पत्राचार गरिसकिएको भनिएको छ।
तर सामाजिक सञ्जालमा भ्रामक र गलत सूचनाको बाढी अविरल भइरहँदा म प्राय: एउटा पुरानो अंग्रेजी भनाइ स्मरण गरिरहन्छु – ‘सत्यले जुत्ता लगाउँदै गर्दा झूटले आधा संसार घुमिसकेको हुन्छ।’
त्यसैले होला, सायद मैले सडकमा भेटिने मानिसहरूसँगको कुराकानी क्रममा धेरैले फेसबुक वा टिकटकमा आएका सूचना सामग्रीलाई सहजै पत्याउने गरेको पाएको छु। धेरै मानिसले सामाजिक सञ्जालमा आएका सूचना वा सन्देश वा तस्बिर तथा भिडिओ सत्य ठान्ने गरेकैले हुनुपर्छ, कयौं असत्य र भ्रामक सूचना वा पुनर्निर्मित तस्बिर वा भिडिओ हामीले सोचेभन्दा पहिले नै भाइरल भइसक्छन्।
मनोरञ्जक, वीभत्स वा अतिरञ्जित वा अश्लील देखिएकै कारण समाजिक सञ्जालको भिडले बिना-कुनै-आशंका वा संकोच त्यस्ता सामग्री रुचाइदिने, पत्याइदिने र त्यसपछि अझै भाइरल बनाइदिने गरेको तपाईं-हामीले थाहा पाएकै छौं।
यस्तो बेला फेसबुक, टिकटक, इन्टाग्राम र ट्विटरजस्ता माध्यममा आउने भ्रामक र झूटाजस्ता लाग्ने सूचनालाई पाठक वा दर्शकले विश्वास गर्ने कि नगर्ने?
भ्रान्तिको उपचार के?
सामाजिक सञ्जाल मिथ्या एवं भ्रामक सूचनाले भरिएका छन् भने हामीले सही सूचना वा समाचार कहाँबाट पाउने?
सञ्चारविज्ञहरूले भन्ने गरेका छन्- फेसबुक वा टिकटकजस्ता सञ्जाल सही सूचनाको स्रोत होइनन्, त्यसैले सामाजिक सञ्जाललाई आफ्नो समाचार र सूचनाको स्रोत बनाउनु हुँदैन। तपाईंलाई सत्य समाचार वा सूचना थाहा पाउने इच्छा छ भने आफूले विश्वास गर्ने सञ्चारमाध्यम नै खोलेर हेर्ने, सुन्ने वा पढ्ने बानी बसाउनुपर्छ।
उनीहरूको भनाइमा सामाजिक सञ्जालमा देखिने सामग्री पत्याइहाल्नु हुँदैन। देखिएका तस्बिर र सूचनाको उद्गम पत्ता लगाउँदै तथ्य जाँच गर्न आफैं अग्रसर हुनुपर्छ र चनाखो हुनुपर्छ। तर ‘इन्टरनेटमा केही प्रकाशन वा अपलोड गर्नुअघि दुईपल्ट मात्र होइन चारपल्ट सोच्नू’ भन्ने विज्ञ सुझाव निकै कम मानिसले मात्र मनन गरेको पाइन्छ।
त्यसो भए फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालमा शंका लाग्ने वा भ्रामक सूचना वा समाचार सामग्री भेटिए के गर्ने?
सामाजिक सञ्जालमा आपत्तिजनक, अश्लील, हिंसालाई बढावा दिने वा जातजातिबीचको सुखद सम्बन्धमा खलल पुग्ने खालका सामग्री भेटिए के गर्ने?
शंका लाग्ने वा भ्रामक समाचार सामग्री भेटिएमा के गर्ने?
सामाजिक सञ्जालमा मिथ्या र गलत सूचनाको छ्याप-छ्याप्ती आइरहेका छन् भने त्यसको उपचार पनि सम्भव छ। फेसबुक, टिकटकजस्ता सञ्जालमा हामीले कुनै असत्य, भ्रामक, मिथ्या दुष्प्रचारजस्तो लाग्ने सूचना सामग्री देख्यौं भने, वा बालबालिका वा कुनै व्यक्ति, समुदाय, जातजातिको सुरक्षा वा सुसम्बन्धमा खलल पुग्ने सामग्री देख्यौं भने त्यो सामग्रीको माथि वा तल देखिने ‘रिपोर्ट’ बटन थिचेर उजुरी गरिहाल्नुपर्छ।
अनलाइन अपराधको सिकार जो पनि हुन सक्छ। बढ्दो ख्यातिसँगै आफ्ना प्लेटफर्महरूमा धेरै भ्रान्ति फैलाइन थालेपछि फेसबुक, ट्वीटर, इन्स्टाग्राम र टिकटकका व्यवस्थापनले त्यस्ता सामग्री हटाउने क्रम बढाएको बताइरहेका छन्।
उदाहरणका लागि, सन् २०२० को पहिलो ६ महिना अवधिमा मात्र टिकटकको सामुदायिक निर्देशिका अवज्ञा गरेको पाइएका १० करोडमध्ये ४५ लाख बढी (अपलोड गरिएका भिडिओको एक प्रतिशतभन्दा कम) भिडिओ हटाइएको टिकटकको प्रतिवेदनमा उल्लेख छ।
कोभिड-१९ को विश्वव्याधि सुरू भएपछि अनलाइन र समाजिक सञ्जालमा असत्य, भ्रामक एवं मिथ्या सामग्रीको बाढी आउन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत मिथ्या सूचनाविरुद्ध सन् २०२० को जुनमा एउटा मिडिया अभियान नै थाल्यो।
कोरोना भाइरसका थरीथरी प्रकार देखापरिरहेका बेला त्यो अभियान अझै सान्दर्भिक छ।
कोभिड-१९ को रोकथाम, उपचार र खोपबारे अगाडि सारिएका भ्रामक सूचनाहरूबारे डब्लुएचओले एउटा सूची नै तयार पार्दै आममानिसलाई विभिन्न सञ्जालमार्फत् समाजमा फैलाइएका भ्रमबारे अनलाइन उजुरी गर्न आग्रह गरिसकेको छ। लसुन, बाफ आदिको प्रयोगबाट फाइदा पुग्ने-नपुग्नेबारे उसले आफ्नो वेबसाइटमा प्रस्ट पारेको छ।