कोरोना संक्रमितको संख्या भयावह बन्दै गएपछि बेलायतले सन् २०२० को नोभेम्बरमा दोस्रो पटक लकडाउन गरेको थियो।
लकडाउनपश्चात् संक्रमण व्यापक देखिएका ठाउँमा संक्रमित संख्या विस्तारै त घट्यो तर सोही समयमा 'केन्ट' भन्ने ठाउँमा संक्रमण अचम्म तरिकाले बढ्यो।
केन्ट काउन्टीबाट संक्रमण विस्तारै बेलायतको अन्य ठाउँमा पनि फैलिँदै गयो। पछि 'जिनोमिक सिक्वेन्सिङ' गर्दा अत्यधिक म्युटेन भएको नयाँ भेरियन्ट भाइरस भएको पत्ता लाग्यो। जसलाई अहिले 'यूके भेरियन्ट' अर्थात 'B.1.1.7' को नामले चिनिन्छ।
केन्ट भन्ने ठाउँमा सुरूमा देखिएकाले यो भेरियन्टलाई 'केन्ट भेरियन्ट' पनि भनिने गरिन्छ।
सेप्टेम्बर अन्तिमतिर देखापरेको यो नयाँ भेरियन्ट डिसेम्बरको मध्यसम्म आइपुग्दा लन्डन सहरमा भेटिएका संक्रमितमध्ये दुईतिहाइमा देखापरिसकेको थियो।
'यूके भेरियन्ट' अघिल्लो भेरियन्टभन्दा तीव्र गतिमा फैलिनसक्ने वैज्ञानिकहरूको अनुसन्धानले देखाएको थियो। जसका कारण विश्व नै तरंगित बनेको थियो।
'यूके भेरियन्ट' फैलिन थालेपछि नेपाललगायत विश्वका विभिन्न देशहरूले तत्काल बेलायत आवतजावतमा प्रतिबन्धको घोषणा गर्यो। तर पनि नेपालमा बेलायतबाट आएकामा 'यूके भेरियन्ट' को भाइरस देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत माघ ५ गते विज्ञप्तिमार्फत् जानकारी गरायो। त्यो नै 'यूके भेरियन्ट' पहिले भित्रिएको आधिकारिक पुष्टि हो।
सामान्यतया पिसिआर परीक्षणमा 'एस जीन' सँगै अन्य दुइटा जीन पनि हेर्ने गरिन्छ। यदि 'एस जीन' बाहेक अरू दुइटा जीनमात्र देखिए 'यूके भेरियन्ट' को कोरोनाभाइरस रहेको शंका गरिन्छ।
नेपालमा पनि बेलायतबाट फर्केका संक्रमितहरूको नमूनाको पिसिआर परीक्षण गर्दा 'एस जीन' नदेखिएपछि जिनोमिक सिक्वेन्सिङ गर्दा 'यूके भेरियन्ट' रहेको पुष्टि भयो।
'यूके भेरियन्ट' अघिल्लो भेरियन्टभन्दा ४३ देखि ९० प्रतिशतसम्म तीव्र गतिमा फैलिनसक्ने यूके, अमेरिकी तथा बेल्जियमका अनुसन्धानकर्ताहरूले विश्वप्रसिद्ध 'साइन्स जर्नल' मा प्रकाशित गरेका थिए।
बेलायतमा पनि यो भेरियन्ट अघिल्लो भेरियन्टलाई छोटो समयमा प्रतिस्थापन गरेकोबाट पनि यसको तीव्रताको अड्कल गर्न सकिन्छ।
भारतमा पनि केही सातायता कोरोना संक्रमितको ग्राफ उकालो लाग्ने क्रम तीव्र छ। त्यहाँ पनि संक्रमितमध्ये ९५ प्रतिशतमा 'यूके भेरियन्ट' नै रहेको देखिएको छ।
भारतमा 'यूके भरियन्ट' फैलिँदै जाँदा नेपालमा पनि भारतबाट आउनेमा 'यूके भेरियन्ट' को जोखिम बढ्दै गएको छ।
हुन त नेपालमा 'यूके भेरियन्ट' पुष्टि भएको लगभग तीन महिना पुग्न लाग्दा पनि यसको अवस्थाको बारेमा आधिकारिक जानकारी सार्वजनिक भएको देखिँदैन।
तर पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गइरहँदा संक्रमितमा 'एस जीन' नेगेटिभ देखिएको भन्ने कुरा आइरहेको छ। यसले नेपालमा पनि 'यूके भेरियन्ट' फैलिँदै गइरहेको संकेत गर्छ।
तर 'एस जीन' नेगेटिभ देखिँदैमा 'यूके भेरियन्ट' नै हुन्छ भन्ने छैन। त्यसैले त्यसको यकिन गर्न जिनोमिक सिक्वेन्सिङ आवश्यक पर्छ। तर भाइरसमा देखिएको म्युटेसन अनुसार रिएजेन्ट अत्यावधिक गरेर पिसिआरबाटै पनि 'यूके भेरियन्ट' पत्ता लगाउन सकिन्छ।
हालै 'जेचर जर्नल' मा 'यूके भरियन्ट' अघिल्लो भेरियन्टभन्दा बढी घातक भएको नतिजा प्रकाशित भएको छ।
अनुसन्धानकर्ताहरूले पनि नयाँ भेरियन्ट पहिलेको भन्दा ६१ प्रतिशत बढी घातक भएको नतिजा निकालेका थिए।
हाल कोरोनाको मृत्युदरलाई रोक्ने एक मात्र निर्विकल्प उपाय भनेको खोप नै हो। तर भाइरसको निरन्तर आफ्नो स्वरूपमा परिवर्तन गरिराख्ने हुँदा त्यसले खोपको प्रभावकारितालाई पनि चुनौती दिनसक्ने छ।
हालै अक्सफर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले उनीहरूले विकास गरेका खोप 'यूके भेरियन्ट' विरूद्ध प्रभावकारी नै देखिएको भनेका छन्। जुन हाम्रो लागि पनि शुभ खबर हो। किनभने नेपालमा पहिलो चरणमा लगाएको कोभिसिल्ड खोप पनि अक्सफर्ड विश्वविद्यालय तथा एक्स्ट्रजेनकाले नै विकास गरी भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो।
अन्तमा केही दिनयता स्वास्थ्य मन्त्रालयले 'एस जीन' नदेखिएका संक्रमितहरू बढ्दै गइरहेको भन्ने जानकारी दिएको छ। अर्थात 'यूके भेरियन्ट' का संक्रमित नेपालमा पनि बढ्दै गइरहेको हुनसक्ने प्रबल सम्भावना देखिन्छ।
'यूके भेरियन्ट' नेपालमा पनि फैलिँदै गए र मानिसहरूले जनस्वास्थ्यका मापदण्ड पालना गर्न अटेर गरे केही समयभित्रै यसले अघिल्लो भेरियन्टलाई प्रतिस्थापन गर्नेछ।
हाल समुदायमा ठूलो संख्याले खोप लगाइनसकेको अवस्थामा 'यूके भेरियन्ट' ले तीव्रता पाए पहिलो लहरमा देखिएझैं मानवीय क्षति फेरि नदोहोरियला भन्न सकिँदैन। तसर्थ सचेत, सतर्कता र जनस्वास्थ्यका मापदण्ड अपनाऔं।
(पुन क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर हुन्।)