बालबालिकामा 'पुरुष वा महिला' का सबै लक्षण विकास भइसकेका हुँदैनन्। पुरुष वा महिला भनेर छुट्याउने एउटै स्पष्ट लक्षण यौनांग हो।
वयस्क हुदै जाँदा महिला वा पुरुष छुट्याउने अरू लक्षण/चिह्न/संकेत विकास हुँदै जान्छन्। पुरुषको दारीजुँगा आउने, मांसपेशी कडा हुने, स्तन नबढ्ने, रुद्रघन्टी देखिने आदि। महिलाको छाला र शरीर नरम हुने, स्तन बढ्ने, रजस्वला हुने आदि।
अल्पसंख्यक बालबालिकामा भने अलिकति फरक तरिकाले चिह्न वा संकेत विकास हुन्छन्। उनीहरूमा बालिका यौनांग भए पनि हुर्किँदा पुरुषमा हुने संकेत देखा पर्न सक्छन्। त्यस्तै बालक यौनांग भए पनि हुर्किँदा महिलामा हुने चिह्न देखा पर्न सक्छन्। यस्ता व्यक्तिलाई पूर्वीय दर्शनमा तेस्रो लिंगी भनिएको छ।
केही बालबालिका जन्मिँदा स्पष्ट यौनांग नदेखिन पनि सक्छ। महिला-पुरूष प्रस्ट नभएर दुवैथरी यौनांग मिसिएकालाई 'उभय व्यञ्जक' भनिन्छ। कुनै पनि यौनांग नदेखिनेलाई 'पाण्डक' भनिएको छ। आधुनिक भाषामा 'अन्तरलिंगी' भनिन्छ।
तेस्रोलिंगी शब्दलाई लिएर निकै भ्रम छ। यहाँ तेस्रो शब्दले क्रमका आधारमा दर्जा छुट्ट्याउने अर्थ लगाउँदैन। बरू यसले हाम्रा बाहिरी दुई आँखाबाहेक हामीभित्र जुन 'तेस्रो आँखा' हुन्छ भनिन्छ, त्यस्तै तेस्रोको अर्थ लगाउँछ। बालबालिका हुँदा देखिएका यौनांगका विशेषताभन्दा अलग, हुर्किँदै जाँदा विस्तारै देखिँदै जाने, आम महिला र पुरुषभन्दा फरक, विशेष (तेस्रो) लिंगी व्यक्तिहरू पनि छन् भन्ने अर्थमा 'तेस्रोलिंगी' शब्द प्रयोग भएको पाइन्छ।
पूर्वीय दर्शनमा तीन (वा बढी) लैंगिक मानवजातिको अस्तित्व स्वीकार गरिएको छ। पश्चिमा दर्शनमा भने दुईथरी लैंगिक मान्छे मात्र स्वीकारिएको छ। त्यसैले बालक 'पुरुष' भएर हुर्किन सकेन भने 'पारितिर जाऊ' र 'महिला बन' र बालिका 'महिला' भएर हुर्किन नसके 'पुरुष बन' भन्ने बाध्यता रहन्छ। र अन्तमा मान्छेलाई पुरुष वा महिलाकै 'क्याटेगोरी' मा बस्न बाध्य बनाएको पाइन्छ।
पश्चिमा भाषा, संस्कृति, सामाजिक, आर्थिक, राजनैतिक सोचको प्रभाव व्यापक छ विश्वभरी। पश्चिमा सभ्यताबाट आएको सबै कुरा कुनै प्रश्नै नगरी हामी लागू गर्न तयार छौं। तर पूर्वीय सभ्यता, भाषा, संस्कृतिलाई अन्धविश्वास वा अवैज्ञानिक मान्ने प्रवृत्ति बढ्दै गएको छ। 'ट्रान्सजेन्डर' सम्बोधन इज्जत साथ लिने र 'तेस्रोलिंगी' लाई हेय भावले हेर्ने चलन छ हामीकहाँ। तेस्रोलिंगी नराम्रो वा अपमानजनक सम्बोधन विल्कुलै होइन।
समलिंगी भनेको समान लिंगीप्रतिको यौन वा प्रेम आकर्षण हो। महिला भएर महिलाको चाहना राख्ने वा पुरुषले पुरुषको चाहना राख्ने व्यक्तिलाई समलिंगी भनिन्छ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको आजसम्मको अवस्थाः
दुई दशक पार भइसक्यो नेपालको यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो पहिचान र अधिकारका लागि लडेको। केही उल्लेख्य उपलब्धि हासिल पनि गरेको छ। समाजले स्वीकार गर्ने अनुपात पहिलाभन्दा केही बढेको छ। तर सामान्य जीवन बाँच्न मिल्ने वा सक्ने गरी न्यूनतम अधिकार र कानुन छैन।
परिवारले बेदखल गर्ने, काम नपाउने, डेरा नपाउने, नागरिकता पाउन झन्झट, खुलेर व्यापार-व्यवसाय गर्न गाह्रो, सार्वजनिक रूपमा गाली-बेइज्जतीको शिकार लगायत थुपै समस्या यथावत छन्। यसले यो समुदाय सिमान्तकृत नै छ, आर्थिक अवस्था पनि कमजोर छ।
कानुनी र संवैधानिक अवस्थाः
२०६४ सालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गर्ने विभिन्न संस्था– नीलहिरा समाज, मितिनी, क्रुजएड्स, परिचय समाज लगायत मिलेर यौन अभिमुखीकरण तथा लैंगिक पहिचानको आधारमा हुने भेदभाव प्रतिबन्ध गर्ने कानुन माग गर्दै रिट हालेका थिए।
६ पुस, २०६४ मा सर्वोच्चले समलिंगी विवाहलाई मान्यता दिने कानुन निर्माण र संशोधन गर्न सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो। न्यायाधीश बलराम केसी र पवनकुमार ओझा इजलासको आदेशमा भनिएको छ- कुनै व्यक्तिले स्वअनुभूति अनुसार लैंगिक पहिचान गरेपछि उसको जैविक लिंग के हो, कस्तो यौनसाथी रोज्नुपर्ने हो, कस्तो व्यक्तिसँग विवाह गर्नुपर्ने हो भन्ने निर्धारण अरू व्यक्ति, समाज, राज्य वा कानुनले गरिदिने होइन। यो नितान्त वैयक्तिक आत्मनिर्णयको अधिकारमा पर्छ।
सर्वोच्चले समलिंगी विवाहसम्बन्धी अध्ययन गर्न उच्चस्तरीय समिति बनायो र समितिले भनेअनुसार कानुन निर्माण गर्न सरकारलाई निर्देशन दियो। कविराज पाठकको संयोजकत्वमा बनेको समितिमा हरि फुयाँल, चैतन्य मिश्रलगायत प्रहरी र मानव अधिकार आयोगका प्रतिनिधि पनि थिए। समितिले बृहत् अध्ययन गरी तीन वर्षअगाडि प्रधानमन्त्री कार्यालयलाई बुझाएको प्रतिवेदनमा समलिंगी विवाहलाई मान्यता दिनुपर्ने उल्लेख छ। तर आजसम्म पनि सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सदस्यले बिहे गर्न पाउने गरी कानुन ल्याएको छैन।
हाम्रो संविधान, ०७२ को धारा १२, १८ र ४२ ले यौनिक तथा अल्पसंख्यकको अधिकार सुरक्षित गरेको छ। समानता र पहिचान हकको ग्यारेन्टी गरेको छ। यसविपरीत मुलुकी ऐन संशोधन गर्न ल्याइएको देवानी संहिता २०७४ को विवाहसम्बन्धी व्यवस्थामा छ- पुरुष र महिलाले कुनै उत्सव, समारोह वा अन्य कुनै कार्यबाट एकअर्कालाई पतिपत्नीका रूपमा स्वीकार गरे विवाह भएको मानिने।
यसले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिलाई विवाहको अधिकारबाट बञ्चित राख्छ। त्यस्तै गरी फौजदारीसंहिताले महिला मात्र बलात्कार हुनसक्ने कानुनी अवधारणा राखेको र त्यसैअनुसार अपराध किटान र सजाय व्यवस्था गरेकाले (समलिंगी वा कोही पनि) पुरुष तथा तेस्रो लिंगी बलात्कृत भएमा न्याय पाउने अवस्था छैन।
सर्वोच्चको आदेश र संविधानको मर्म विपरीत यस्ता कानुन नेपालको संसदले कसरी पारित गर्न सक्छ?
अझ अचम्मको कुरा, मानवअधिकारमा काम गर्ने यति धेरै संघसंस्था छन्। यो 'देवानी संहिता २०७४ को विवाह सम्बन्धी व्यवस्था' लगायत अन्य विभेदकारी कानुनविरूद्ध अदालतमा रिट-निवेदन किन हालेका छैनन् कसैले?
विश्व परिवेशः
विश्वका करिब ७० देशले (वयस्कबीचको) समलिंगी सम्बन्धलाई धेरै-थोरै कानुनन् अपराध मानेका छन्। यीमध्ये सबैले पुरुष समलिंगी सम्बन्धलाई अपराध मानेका छन् भने ३८ देशले महिला समलिंगी सम्बन्धलाई पनि अपराध मानेका छन्। कम्तीमा ९ देशले तेस्रोलिंगीको लैंगिक प्रस्तुतिलाई समेत अपराध मानेका छन्। दक्षिणी सुडानमा पुलिंगीले महिलाको भेष धारण गर्नुलाई मात्र अपराधी मानेको छ, स्त्रीलिंगीले पुरुष भेष गर्नु अपराध मान्दैन।
मलावीमा लामो कपाल पाले वा नक्कली लामो कपाल लगाएमा अपराध मानिन्छ। टोंगामा पनि सार्वजनिक ठाउँमा पुलिंगीले महिलाको भेष गरे वा आफूलाई महिला रूपमा प्रस्तुत गरे अपराध मानिन्छ। नेपाल, भारत, भुटान, जापानसहितका बाँकी देशले समलिंगी सम्बन्ध र तेस्रोलिंगीलाई कानुनन् अपराध मानेका छैनन्।
अपराध मान्नेभन्दा नमान्ने देश नै बढी छन्।
समलिंगी विवाहलाई कानुनन् अनुमति दिने पहिलो देश नेदरल्यान्ड्स हो, सन् २००१ देखि। आजसम्म करिब ३० देशले समलिंगी विवाहलाई कानुनन् मान्यता दिएका छन्। नेपालको सर्वोच्च अदालतले २०६४ सालको फैसलामै सरकारलाई कमिटी बनाएर अध्ययन गरी समलिंगी विवाहको कानुन बनाउनु भनेको थियो। कमिटीले अध्ययन गरेर 'वैवाहिक-समानता' हुने गरी कानुन बनाउन सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको करिव ८-९ वर्ष भइसक्यो। सरकारले यस विषयमा काम अघि बढाएकै छैन।
सामाजिक सांस्कृतिक अवस्थाः
वैवाहिक-संस्था 'पित्तृसत्तात्मक सामाजिक प्रणाली' को आधार हो। किनकी पितृसत्ता टिकाइ राख्न पुरुषलाई पुत्र-वंश आवश्यक हुन्छ। सन्तान उत्पादनका लागि महिलाको आवश्यकता अपरिहार्य भएकाले वैवाहिक संस्था खडा गर्यो र महिलालाई पारिवारिक र सामाजिक हिस्सा बनायो।
तर समलिंगी सम्बन्धबाट सन्तान उत्पादन नहुने, वंश-निरन्तरता नपाउने भएकाले समलिंगी सम्बन्धलाई पित्तृसत्ताले स्वीकार गर्न मान्दैन। त्यसैले आज विश्वमा जति पनि स्थापित पित्तृसत्ताका पक्षपोषण गर्ने, धार्मिक सम्प्रदाय छन् तिनले समलिंगी सम्बन्धलाई या त अस्वीकार गरेका छन् या सिमान्तकृत।
सिमान्तकृत हुँदाहुँदै पनि स्थानीय चाडपर्व तथा जात्रामा तेस्रोलिंगी वा पुरुषले महिला भएर भाग लिने चलन पुरानो हो नेपालमा। मारूनी, गाईजात्रा, रोपाइँजात्रामा पुरुषले महिला भेष गर्ने वा तेस्रोलिंगी सहभागी हुने, तराईका नटुवा, मधेशका हिजडाहरू चाडपर्वमा भाग लिने वा रत्यौलीमा केही महिला पुरुष भेषमा प्रस्तुत हुने चलन निकै पुरानो हो। त्यसकारण समलिंगी, तेस्रोलिंगी समुदायको अस्तित्व नेपाली समाजले स्वीकार गेरको छ। तर मूलधारमा आउन दिएको छैन।
धर्म-ग्रन्थहरूले के भन्छन्?
इस्लाममा 'हराम' भनिएको छः
इस्लाममा सम-लैंगिकतालाई हराम (पाप) मानिएको छ। कुरानअनुसार समलैंगिकता एउटा अपराध हो। महिला समलैंगिक सम्बन्धलाई लिएर इस्लामिक धार्मिक ग्रन्थमा त्यति धेरै टीकाटिप्पणी छैन। हदीसमा कहीँ-कहीँ उल्लेख पाइन्छ। एउटा हदीसमा लेखिएअनुसार 'यदि कुनै महिला समलैंगिक कृत्यमा लिप्त भएको पाइए उसलाई सजाय दिनुपर्छ। किनकी समलैंगिकता पाप हो।'
संसारमाका इस्लामिक देशहरूमा समलिंगीका लागि निकै कडा सजाय छ। खाडी र अफ्रिकाका धेरै मुस्लिम देशमा समलैंगिकताका लागि फाँसी दिनेसम्म सजाय प्रावधान छ।
अन्तरलिंगी र तेस्रोलिंगीबारे भने इस्लाम धर्म ग्रन्थ मौन छ। उनीहरूलाई सामाजिक स्तरमा दायराको किनारमा रहनुपर्ने गरी स्वीकार गरिएको पाइन्छ। पाकिस्तानमा ख्वाजासराइ, भारतमा हिजडा समुदाय सामाजिक रूपमा किनारमा रहनेगरी स्वीकारिएका छन्। तर उनीहरूलाई परिवारका साथ वा समाजमा हेलमेल हुन बन्चित गरिएको छ। नाच-गान, 'बधाइ माग्ने' र वेश्यावृत्ति गरेर जीवन गुजारा गर्नुपर्ने बाध्यता छ।
ईसाई धर्मः
ईसाई धर्मका विभिन्न पंथहरूमा समलिंगीलाई लिएर अलग-अलग मान्यता छन्। रोमन क्याथोलिक चर्चका अनुसार समलैंगिकता एक अप्राकृतिक सोच हो। समलिंगीलाई पापी भनिएको छ।
बाइबलमा सोडोम सहरको उल्लेख छ जसलाई 'प्रभु-परमेश्वर' आफैंले ध्वंश गरेका छन्। कथाअनुसार जब सोडोम सहरमा पाप बढ्न थाल्यो तब परमेश्वरले जाँच गर्न केही देवदूत पठाए। तर त्यहाँका पुरुषले ती देवदूतसँग समलैंगिक सम्बन्ध बनाउन खोजे। परमेश्वर क्रोधित भएर पूरै सोडोम सहर ध्वस्त पारिदिए।
ईसाई अनुयायीहरू यो कहानीमा पूरा विश्वास गर्छन्। यही कथाको प्रभाव स्वरूप बेलायत लगायत कयौं ईसाई देश र तिनका उपनिवेश देश (जस्तै भारत) मा कानुन बन्दा समलिंगी सम्बन्धलाई गैरकानुनी बनाए। त्यस्तो कानुनलाई आजसम्म पनि सोडोमी कानुन भनिन्छ।
तर अर्थोडक्स् चर्चले केही दशकयता समलैंगिकतालाई स्विकारेको पाइन्छ। अर्थोडक्स् चर्चले भनेको छ- समलिंगी सम्बन्ध समलिंगीका लागि सास फेर्ने अक्सिजनजस्तै हो। यदि उनीहरूलाई एकअर्काबाट अलग गरिदियो भने उनीहरूको मानसिक स्वास्थ्यमा विपरीत प्रभाव पर्न सक्छ।
प्रोटेस्टेन्ट चर्च पनि समलैंगिकतालाई लिएर उदारता देखिएको छ। समलैंगिक विवाहलाई अन्य विवाहजस्तै चर्चमा गर्न पाउने अनुमति दिएको छ।
बौद्ध धर्मः
बौद्ध धर्ममा गृहस्थहरूका लागि पञ्चशीललाई प्रमुख मानिएको छ। तेस्रो शीलमा भनिएको छ- कुनै पनि व्यक्तिले यौन मिथ्याचार गर्नु हुँदैन।
तर समलैंगिकता वा विपरीत लैंगिकता आफैंमा यौन मिथ्याचार हो वा होइन भनेर चर्चा गरिएको छैन। सामान्यतया गृहस्थ व्यक्तिले एक मानिससँग मात्र यौन सम्बन्ध राख्छ भने त्यसलाई यौन मिथ्याचार मानिँदैन। भिक्षु र भिक्षुनीले भने सबै प्रकारका यौन क्रियाकलापबाट टाढै राख्नुपर्छ आफूलाई। ताइवान विश्वमा पहिलो 'बौद्ध' देश हो जसले समलिंगी विवाहलाई मान्यता दिएको छ, सन् २०१९ देखि।
जैन धर्मः
जैन धर्ममा साधू-साधवीले कुनै पनि किसिमको यौन सम्बन्ध राख्नु हुँदैन, पूरा ब्रह्मचर्य पालन गर्नु भनिएको छ। आम धर्मावलम्बीहरूले यौन-सम्बन्ध राख्न पाउँछन् तर त्यो भनेको सन्तान उत्पादनका लागि मात्र हुनुपर्छ। सन्तान उत्पादन नहुने गरी, मनोरञ्जनका लागि पतिपत्नीको यौन सम्बन्ध पनि अनुचित हुन जान्छ। यस्तो कर्मले पाप हुन्छ, पतन हुन्छ भनिएको छ।
यसरी जैन धर्मले समलैंगिक सम्बन्धलाई स्वीकार गर्दैन किनकी यस सम्बन्धबाट सन्तान हुँदैन।
शिख धर्मः
शिख धर्मग्रन्थमा समलैंकिताबारे कुनै लिखित मान्यता छैन, कुनै उल्लेख गरिएको छैन।
हिन्दु धर्मः
हिन्दु धर्म समलिंगी र अझ बढी तेस्रोलिंगीका लागि तुलनात्मक रूपमा उदार छ। ऋगवेदमा समलैंगिकता 'विकृति' भनिएको छ। विकृतिको अर्थ हिजोआज नकारात्मक भएको छ जबकि पुरानो जमानामा प्रकृतिलाई 'कारण' र विकृतिलाई 'कार्य' मानिन्थ्यो। 'सांख्य शास्त्र'मा प्रकृति विज र विकृतिलाई अंकुर हो भनेर उदाहरण दिइएको छ। अर्थात् प्रकृतिका कारण 'भित्रैबाट परिवर्तन हुने क्रिया' विकृति हो। ऋगवेदमा समलैंगिक विषयमा चर्चा 'विकृति: एवम प्रकृति:' शीर्षकमा गरिएको छ। प्राचीन भारतीय उपमहाद्वीपमा समाजका सबै प्रकारका विविधतालाई संस्कृति, कला र साहित्यहरूमा समाहित गरिएको छ।
मोहिनीः
पौराणिक कथा (अग्नि पुराण ३.१२, महाभारतमा पनि यो कथा आएको छ) का अनुसार समुद्रमन्थन बेला जब देवता र असुरहरूमा अमृतलाई लिएर झगडा हुन्छ, तब देवताहरूलाई डर लाग्छ- कतै असुरहरू अमृत खाएर अमर हुने त होइनन्?
उनीहरू भगवान विष्णुकहाँ जान्छन् र प्रार्थना गर्छन्- असुरहरूलाई रोक्नुपर्यो।
तब भगवान विष्णुले मोहिनी अवतार लिएर सबै असुरलाई मोहित पारी देवतालाई मात्र अमृत पान गराउन सफल हुन्छिन्।
हरिहरः
अर्को पौराणिक कथाअनुसार भस्मासुर राक्षसले अर्काको टाउकोमा हात राखे त्यो व्यक्ति भस्म हुने वरदान भगवान शिवबाट पाएको थियो। भस्मासुरले यो शक्तिबाट देवी-देवतालाई नै भस्म पार्न थाल्यो र शिवमाथि पनि जाइलाग्यो।
शिव डरले भाग्दै विष्णुकहाँ गए र सहायता मागे। विष्णुले एउटा सुन्दर स्त्री रूप धारण गरे। भस्मासुरलाई आकर्षित गरे र भने, 'मैलेजस्तै नृत्य गर्न सके मसँग विवाह गर्न पाउँछौ।'
नृत्यमा भस्मासुरले विष्णुको नक्कल गर्न थाल्यो। उचित मौका हेरेर विष्णुले आफ्नो हात आफ्नो शीरमा राखे, भस्मासुरले पनि त्यही गर्यो। भस्मासुर आफ्नै वरदानको शक्तिले आफैं भस्म भयो।
यसपछि शिव पनि विष्णुको मोहिनी रूपमा मोहित भए। विष्णु र शिवको समागमबाट 'अयप्पा' को जन्म हुन्छ जसको दक्षिण भारतमा आज पनि पूजा हुन्छ। विष्णु र शिवको यो मिलनलाई 'हरिहर भगवान' भनिन्छ र अयप्पालाई 'हरिहर-पुत्र'।
यस्तै कथा गंगा (नदी) लाई स्वर्गबाट धरतीमा ल्याउन तपस्या गर्ने भागिरथको पनि छ। उनको जन्म दुई माताको मिलनबाट भएको हो। गुह्येश्वरी मन्दिरको मूल ढकामा तेस्रोलिंगीको चित्र अंकित छ। पाटन, काठमाडौं, भक्तपुर लगायत अधिकांश पुराना मन्दिरका टुँडालमा विपरीत लिंगीसँगै समलिंगी यौन आकृति थुप्रै कुँदिएका छन्। भारतको कोणार्क, जगन्ननाथ पुरी र खुजराहोमा पनि समलैंगिक सम्बन्ध दर्शाउने मूर्ति प्रशस्तै भेटिन्छन्।
यसले देखाउँछ, प्राचीनकालमा सबैखाले लैंगिकता र काम- वासना स्विकारिएको थियो। समाज यति सहिष्णु र खुला विचारको थियो, तेस्रोलिंगी र समलिंगी प्रेम सम्बन्धका मूर्ति स्वतन्त्र रूपले बनाउन पाउने मात्र होइन, यिनीहरूलाई मन्दिरको मुख्य हिस्सा पनि बनाइएको थियो।
वैदिक संस्कृत भाषामा दोहोरो सर्वनाम पनि छ (नेपाली भाषामा पनि छ), एकवचन र बहुवचनबाहेकको दुईवचन। यो जोडीको संकेत मान हो। धर्म शास्त्रहरूमा मित्र, मीत, मितिनी, बन्धु, सखा, सखी आदिलाई 'सामान्य साथी' भन्दा निकै घनिष्ठ र गहिरो सम्बन्ध मानिन्छ र सम्मान गरिन्छ। देवी-देवतालाई प्रायः जोडीमा देखाइएको छ। तर जोडी जहिल्यै विपरीत लिंगी नै हुनुपर्छ भन्ने छैन।
ऋगवेदमा इन्द्र सधैं अग्नि वा सोमाका साथ देखा पर्छन्, तीनै जना पुरुष हुन्। मित्र (सूर्यदेवको अर्को नाम) जहिल्यै पनि वरुणसँगै देखा पर्छन् (दुवै पुरुष हुन्)। कथाअनुसार मित्र र वरुण दुवैले एकपटक अप्सरा उर्वशीलाई देखेर उत्तेजनामा आएर एउटै भाँडोमा वीर्य स्खलन गर्छन्। ऋषि अगस्त्य र वशिष्ठको जन्म हुन्छ।
मन्दिर, पूजा र चाडपर्वमा पनि कहिलेकाहीँ देवीको जोडी (नान्दा र सुनन्दा, चामुन्डा र चोटिला, तारा र तारिणी, ज्येष्ठा र कनिष्ठा, गंगा र गौरी) देख्न सकिन्छ। देवी तन्त्रमा यस्तो लक्ष्मीको आह्वान गरिन्छ जसले विष्णुको मोहिनी रूपलाई मात्र मन पराउँछिन्। विपरीत लिंगी यौनसम्बन्ध मात्र मन्दिरमा अभिव्यक्ति हुनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण थिएन।
हिन्दु पौराणिक कथाले विविधता स्वीकार मात्र गरेको छैन, महत्वपूर्ण पनि मानेको छ। मेनका जस्ता अप्सराले बच्चा जन्म दिएर वनमा छाड्छिन्। कन्व जस्ता एकल पुरुषले हुर्काउँछन् बच्चालाई। यो विपरीत लिंगी परिवारको चित्रण त पक्कै होइन। जटिलाजस्ता महिलाका धेरै पति थिए। भृंगी ऋषिले शक्ति (देवी) लाई अस्वीकार गर्छन्। शिवको मात्र पूजा गर्न रूचाउँछन्। योगिनीहरूले पति राख्न मान्थेनन्, महिला समूहमा बस्थे। नाथ-जोगीहरू पत्नी राख्दैनन् र पुरुष समूहमा बस्छन्।
सबैका लागि ठाउँ हुनुपर्छ। त्यो ठाउँ विभेद र अन्यायमा आधारित होइन, समावेशी र न्यायमा आधारित हुनुपर्यो। धर्ममा आधारित हुनुपर्यो- करुणा, पारस्परिक हित र सामाजिक दायित्व।
अब समय आइसक्यो, सरकारले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिले रुचाएकै व्यक्तिसँग कानुनीरूपमा सम्बन्ध स्थापित गरी आफ्नो घरबार तथा परिवार सुरू गर्न पाउने अधिकार सुनिश्चित गर्नुपर्छ।