चार जना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधि सभा विघटन असंवैधानिक हो भनेर शुक्रबार विज्ञप्ति निकाल्नु भयो। सामान्य अवस्थामा अदालतमा विचाराधीन मुद्दामा यसरी पूर्वप्रधानन्यायाधीशहरू बोल्नु हुन्थेन होला। तर एकातिर प्रधानमन्त्री ओलीले बारम्बार अदालतबाट संसद पुनर्स्थापना हुँदैन भनिरहेको र अर्कातिर इजलास गठनमा नै सुरूदेखि मानिसहरूले संशय व्यक्त गरिरहेकाले उहाँहरू बाध्य भएर बोल्नु भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले भने उल्टै शनिबार पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्चलाई धम्क्याउन लागेको तर्क गर्दै त्यसो नगर्न चेतावनी दिनुभयो।
प्रधानमन्त्रीको भनाइ र पछिल्ला केही दिनमा देखिएका राजनीतिक घटनाक्रमबारे मैले शनिबार राति साढे ९ बजे ट्वीट गरेँ- कस्तो समय आयो! पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो!
आधा घन्टापछि उक्त ट्वीटकोमुनि प्रधानमन्त्री ओली प्रमुख सल्लाहकार विष्णु रिमालको कमेन्ट आयो। उहाँले लेख्नुभएको थियो- सीमामा बस्नुस् रवीन्द्र जी! तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यति चाहिँ भनूँ- मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीका साइबर सेनाले त बेलाबेलामा हमला गरिरहन्थे। त्यसलाई मैले सामान्य रूपमै लिने गरेको थिएँ। प्रधानमन्त्रीका प्रमुख सल्लाहकारबाटै त्यो स्तरमा धम्की आएपछि भने मलाई अचम्म लाग्यो।
यो पनि पढ्नुस्ः प्रधानमन्त्री ओलीका सल्लाहकारले रवीन्द्र मिश्रलाई भने- सीमामा बस्नुस्
रिमालजीले रवीन्द्र मिश्रलाई मात्र दिएको धम्की होइन यो। अहिलेका नेपाली शासकले आमनागरिक हेर्ने दृष्टिकोण हो। उहाँले टिप्पणी ममाथि गरेको भए पनि यसले उहाँहरूको शासन शैली र उहाँहरूले लिन खोजेको बाटोलाई उजागर गर्छ।
यसको अन्तर्यमा जाँदा तीन वटा पक्ष देखिन्छन्।
पहिलो, राजनीतिज्ञहरूले सिर्जना गरेको राजनीतिको विद्रुप रूप। हामीले समाजका विविध पक्षलाई र राजनीति गर्नै नहुने राज्यका महत्वपूर्ण अंगहरूलाई यसरी राजनीतिकरण गरिदियौं कि त्यसले सम्पूर्ण समाजलाई नै खान थालेको छ, विकृत बनाएको छ।
उदाहरणका लागि सर्वोच्च अदालतमा राजनीतिक भागबन्डाको चलन स्थापित नगरिदिएको भए सर्वोच्च अदालतबाट गलत निर्णय आउँछ कि भनेर अहिले कसैले पनि चिन्ता गर्नुपर्दैन थियो। सर्वोच्च अदालत छँदै छ नि न्याय दिने भन्ने कुरामा सबै ढुक्क हुन सक्थे।
तर आफूलाई अनुकूल हुँदा सर्वोच्च अदालतमा पनि राजनीतिक भागबन्डा गरियो। अरूलाई खाने बाघले आफूलाई खाने डर भयो।
त्यसैगरी हामीले अख्तियारलगायतका संवैधानिक आयोगहरूमा भागबन्डा गर्यौं। कर्मचारीतन्त्र, प्रहरीमा भागबन्डा गर्यौं। विश्वविद्यालय, विद्यालय, बार एसोसिएसन, संवैधानिक परिषद्, राजदूत नियुक्ति सबै भागबन्डामै गर्यौं। आफूलाई अनुकूल हुन्छ भनेर पद्दति र सुशासनलाई बिगार्नु हुँदैन। त्यो बिगार्यौं भने राजनीति कहिले पनि स्थिर हुँदैन। र यस्तै किसिम घटना विविध स्वरूपमा दोहोरिरहन्छन्।
दोस्रो, आममतदाताले अनुमोदन गरेको राजनीतिको विद्रुप रूप। अहिले प्रधानमन्त्री तथानाम बोल्नुहुन्छ। पररर ताली पिट्नेको कमी हुँदैन। देशका प्रधानमन्त्रीले अदालतले निर्णय गर्नुभन्दा अगाडि भ्रष्टाचारको व्यापक आरोप लागेको व्यक्तिलाई सदाचारी घोषणा गरिदिनुभयो। संसद विघटन आमजनता र विशिष्ट व्यक्तित्वहरूले असंवैधानिक भन्दाखेरि धम्क्याउनु हुन्छ तर आफूचाहिँ अदालतले संसद पुनर्स्थापित गर्न सक्दैन भन्नुहुन्छ। यति काण्ड, ओम्नी काण्ड, बालुवाटार काण्ड गर्नेहरूको नेतृत्व गर्ने प्रधानमन्त्रीले आमसभा गर्दा हजारौंको उपस्थिति हुन्छ।
अति भ्रष्ट भनी चिनिएको नेताले भ्रष्टाचारकै विरूद्धमा जनप्रदर्शनको आह्वान गर्दा हजारौंको उपस्थिति हुन्छ। तर 'काठमाडौं गयो भने न्याय पाइन्छ' भनेर काठमाडौं आएर चिसो रात बिताइरहेका र मरिरहेका उखु किसानलाई साथ दिन उभिऔं न उनीहरूसँगै भन्दा केही दर्जनमात्रै त्यहाँ उपस्थित हुन्छ। यसले के देखाउँछ भने राजनीतिको विद्रुप रूपलाई आममतदाताको ठूलो हिस्सा जानीनजानी बारम्बार अनुमोदन गरिरहेका छन्।
तेस्रो र महत्वपूर्ण पक्ष आममतदातामै निहित राजनीतिको यो चरित्रलाई परिवर्तन गर्न सक्ने शक्ति हो। किनभने अधिनायकवादी शासनमा अधिनायक सर्वशक्तिमान हुन्छ र उसलाई परिवर्तन गर्न कठिन हुन्छ, लोकतान्त्रिक शासन व्यवस्थामा मतदाता सर्वशक्तिमान हुन्छन् र मतदाताले राजनीतिको स्वरूप परिवर्तन गर्न सक्छन्।
त्यसै कारणले गर्दा दशकौंदेखि हामीले भोग्दै आएको विकृत, भ्रष्ट, दोहनकारी र पीडादायी र अझ अधिनायकवादतर्फ उन्मुख देखिएको राजनीति परिवर्तन गर्न सक्ने शक्ति आम जनतामा निहीत छ।
त्यसैले अहिले जुन धम्कीपूर्ण, असंवैधानिक र राष्ट्रघाती र तानाशाही राजनीतिक प्रवृत्ति बढेको देखिएको छ। त्यसलाई रोक्ने हो भने अब त्यस्ता राजनीतिका प्रमुख पात्रहरूलाई जनताले बहिष्कार गर्नुपर्छ।
प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने घटनाले देशलाई अनिश्चततामा फसाएको छ। त्यसपछि भएका घटनाले त झन् चिन्तित हुनु पर्ने अवस्था देखाएको छ।
धनगढीमा प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा 'निर्मला पन्तका बलात्कारी खै' लेखिएको टिसर्ट लगाउनेलाई प्रहरीले पक्रियो। हामीले हाम्रो संविधान लोकतान्त्रिक छ भन्ने मान्ने हो भने संवैधानिक दायराभित्र गरिने कुनै पनि गतिविधिमाथि सरकारले धावा बोल्न सक्दैन।
त्यसो गर्नु अनुदार लोकतन्त्र हो। अनुदार लोकतन्त्रमा चुनाव त हुन्छ तर अभ्यासमा अधिनायकवाद हावी हुन्छ।
अहिले प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम अधिनायकवादी प्रवृत्तिको संकेत हो। व्यक्तिगत पार्टीगत लाभको लागि संविधानविरूद्धको कुनै कदमलाई औचित्य दर्शाउन प्रयास नगरौं।
जस्तो कि अहिले नेपाली कांग्रेसका सभापतिलगायत कैयौं नेताहरू र अन्य कैयौं पार्टी पक्षधर नागरिकहरू पार्टीलाई फाइदा हुन्छ भनेर लोकतन्त्रमा चुनाव त फेस गर्नै पर्छ नि भनिरहेका छन्।
त्यसो भन्ने नेता तथा नागरिकलाई म भन्न चाहन्छु- उसो भए त तपाईंहरूले राजा ज्ञानेन्द्रले गर्छु भनेको चुनावमा पनि भाग लिएको भए भइहाल्थ्यो। लोकतन्त्रको जग नै खलबलिने गरेर संविधानमाथि प्रहार हुँदा व्यक्तिगत र पार्टीगत स्वार्थका लागि संविधान कुल्चने प्रयासको औचित्य दर्शाउने काम नगरौं।
प्रधानमन्त्री प्रमुख सल्लाहकारले मलाई सीमामा बस्नुस् भन्नुभयो। प्रधानमन्त्री र राष्ट्रपति संविधान, ऐन कानुनले तोकेको सीमा र मर्यादाभित्र बसिदिएको भए ओलीको शासनकाल सुशासन, सम्वृद्धिका दृष्टिकोणबाट इतिहासमै उल्लेख्य हुन सक्थ्यो। किनभने झन्डै दुई तिहाइको जनमत प्राप्त सरकार थियो। सय वर्षको इतिहासमा शक्तिशाली सरकार थियो।
तर त्यति हुँदाहुँदै पनि उहाँहरू जनताको आँखामा अन्त्यत भ्रष्ट र असक्षम, कुसंस्कारग्रस्त, व्यक्तिगत र पार्टीगत स्वार्थमा लिप्तमा र देशको स्वाभिमानमाथि नै घात गर्ने चरित्रको देखिनुभयो।
अहिले उहाँहरूले जुन शैली अपनाइरहनु भएको छ, त्यसलाई हामीले सामान्य रूपमा लियौं भने लोकतन्त्रका लागि घातक हुन सक्छ। यस्तो विन्दुमा नपुगौं कि यो घातक छ भन्ने महशुस गर्नुभन्दा पहिला नै अवस्था सम्हाल्न नसक्ने तहमा पुगिसकेको होस्।
यो घटनालाई हामीले तात्कालिक एउटा घटनाका रूपमा मात्र हेर्यौं भने हामी एक किसिमको राजनीतिक प्रवृत्तिबाट कहिल्यै पनि पार पाउन सक्ने छैनौं, यस्ता घटना दोहोरिरहने छन्। (कुराकानीमा आधारित)