नेटफ्लिक्समा बेलायतको शाही परिवारको जीवनमा आधारित 'द क्राउन' सिरिज हेरिरहेको छु। तेस्रो सिजनको एउटा शृंखला 'मुनडस्ट' अर्थात् 'चन्द्रमाको धूलो' मा टक्क रोकिएको छु।
मलाई यस्तै हुन्छ। एउटा चिज हेर्दा हेर्दै त्योसँग जोडिएको अर्को चिज अगाडि आउँछ र ब्रेक हान्न लगाउँछ। बाइक दौडाइरहेका बेला अगाडिबाट अपर्झट कसैले बाटो काटेको देखेर ब्रेक हानेजस्तै।
राजपरिवारको टिभीमा चन्द्रमामा मानवले पाइला टेकेको क्षणको प्रत्यक्ष प्रसारण बजिरहेको छ।
बेलायतकी रानी एलिजावेथ दोस्रोका श्रीमान प्रिन्स फिलिप चन्द्रमामा मान्छेले पाइला टेकेको उक्त घटनाबाट असाध्यै प्रभावित छन्। आफू स्वयं पनि पाइलट रहेका उनलाई त्यसले साह्रै रोमाञ्चित बनाएको छ। बेलायतको स्थिति विश्व परिदृश्यमा कमजोर भइरहेको समय। अमेरिका र रुस प्राविधिक प्रतिस्पर्धाको चिसो युद्धमा जमिरहेका बेला। बेलायत ओरालो लागेको मृग जस्तो भइरहेका बेला।
उनलाई चन्द्रमाले खेदिरहेको छ। उनको मन जमेको छ।
आफूले केही गर्न नसकिरहेको भान उनलाई भएको छ। आफूमा कुनै 'एडभेन्चर' बाँकी नै नभएजस्तो लागिरहेको छ। चन्द्रमामा पाइला टेक्नु भन्दा ठूलो कुरा कुनै बाँकी नरहेजस्तो गरिरहेका छन्।
उनलाई आफूले टेकेको पाइला कमजोर लागिरहेको छ।
उनको र मेरो उमेर मिल्दैन। तर म उनले भोगेको अवस्था नजिकबाट बुझिरहेको छु।
तपाईंको र मेरो पनि उमेर मिल्दैन होला। तर हाम्रा केही व्यक्तिगत अनुभव छन् जुन ठ्याक्कै मिल्न सक्छन्।
तपाईंलाई पनि आफूले गरेका धेरै कुरा चित्त नबुझिरहेको होला। आफूले गरिरहेको काम र अरूले गरेको काम सम्झिँदा आफ्नो काम साह्रै सानो लागिरहेको होला।
फिलिपका लागि चन्द्रमा ठूलो भइदिएजस्तै।
उनलाई बेलायतकी महारानीको श्रीमान भएर आफूले केही गर्न नसकिरहेको भान भएको छ। टिभीमा पटक पटक देखिने चन्द्रमामा पाइला टेकेका निल आर्मस्ट्रङ र उनका दुईजना साथीको अनुहारले उनलाई आफ्नो अनुहार हेर्न नसक्ने बनाइदिएको छ।
उनी जहाज उडाइरहेका बेला पनि चन्द्रमालाई हेरिरहेका छन्। उनलाई चन्द्रमाले गिज्याइरहेजस्तो लाग्छ।
सन् १९७० र २०२० मा त कति नै अन्तर छ र? म फरक सन्दर्भमा रहेर फिलिपलाई नजिकैबाट बुझिरहेको छु।
फिलिप ती अन्तरिक्षयात्रीलाई प्रत्यक्ष भेट्ने तयारीमा छन्। चन्द्रमाबाट फर्किएपछि विश्व भ्रमणमा निस्किएका उनीहरू बेलायतकी महारानीलाई भेट्न उनको दरबार आउँदै छन्। उनले तीन जनासँग एक्लै भेट्न १५ मिनेट समय मागेका छन्।
समय मागेपछिको प्रेसर कस्तो हुन्छ भन्नु न। अझ आफूले मागेको समय दिएर कोही आफूलाई भेट्न आउँदैछ भने त?
भेट्नुभन्दा पहिला उनी निकै मिहेनत गरेर प्रश्न तयार पार्दैछन्। नर्भस हुँदै त्यसलाई दोहोर्याएर पढ्दैछन्। आफूले सबभन्दा धेरै आइडियलाइज गरेको मान्छे भेट्न उनी आतुर र नर्भस भएको कुरा उनको अनुहारमा देखिएको छ।
उनको अनुहारमा पनि म आफूलाई भेटिरहेको छु।
अर्को मान्छेमा आफूलाई भेटेपछि को रोकिँदैन? म ल्यापटपको स्पेस-बार थिच्छु। बजिरहेको सिरिजको शृंखला रोकिन्छ। म आफ्नै हात छाम्छु। मेरो हातमा पसिना आएको छ।
उनको हातमा पनि पसिना आयो होला। त्यसलाई उनले लपेटेर लुगामा पुछे होला।
मलाई आफूले असाध्यै धेरै मन पराएकालाई भेट्दा यस्तै हुन्छ। चिनेकालाई मात्र होइन, नचिनेकालाई भेट्दा पनि त्यस्तै हुन्छ। आफू जस्तै काम गरिरहेका सफल मान्छेलाई भेट्दा। आफूभन्दा फरक काम गरिरहेका सफल मान्छेलाई भेट्दा। सबैलाई भेट्दा यस्तै हुन्छ।
उमेर नमिले पनि यस्ता धेरै चिज त सजिलै मिल्ने भन्या। यसरी हुने चिजको कुनै उमेर हुँदैन क्यार।
स्पेस-बार फेरि थिच्छु। शृंखला फेरि बज्न थाल्छ। फिलिप बैठक कोठामा पर्खिरहेका निल आर्मस्ट्रङ र साथीहरूलाई भेट्न जाँदैछन्। उनीहरूलाई भेट्न जाँदै गर्दा उनलाई लड्छु लड्छु हुँदै होला। बोल्नै सक्दिनँ जस्तो हुँदै होला। एक गिलास पानी पिउन पाए हुन्थ्यो पनि हुँदै होला।
यो बोली पनि चाहिने बेलामा जहिल्यै धस्किन खोज्ने भन्या।
मलाई पनि यस्तै हुन्छ। आफूलाई असाध्यै प्रभाव पारेका मान्छेको अगाडि आफूलाई तुलना गर्न थालेँ भने सानो महसुस गर्छु। उनीहरू मात्र ठूलोठूलो र आफू मात्र सानोसानो लाग्छु। आफूले लेखेका तमाम चिजको कुनै मूल्य नभएजस्तो लाग्छ। कुनै प्रश्न सोध्न सक्दिनँ। लामो कुराकानी गर्न सक्दिनँ। प्रसंग निकाल्न सक्दिनँ।
बोली भित्रभित्रै कसिन थाल्छ। घाँटीमा आफैं अड्किन थाल्छ।
म उनीहरूबारे सोचेरै खुम्चिन्छु। त्यसरी खुम्चिएर फेरि सपक्क हुन लामो समय लाग्छ।
उनीहरूलाई मैले सोधेका कुराले के फरक पार्छ र जस्तो लाग्छ। त्यसैले चुपचाप बस्छु। तर चुपचाप किन बसेँ भनेर फेरि खुम्चिन्छु।
तपाईंलाई यस्तो हुन्छ कि हुँदैन?
फिलिप बैठक कोठामा छिर्छन्। नर्भस हुँदै बोल्न सुरू गर्छन्। आफू पनि पाइलट भएको बताउँछन्।
खै त उनले बोल्दै गर्दा आँखा जुधाएका? नर्भस भएपछि आँखा चाहिँ जसको पनि झुक्ने है। सिधा हेरे पनि अनुहारमा नर्भस भएको देखिइहाल्ने।
उनलाई भेट्न पर्दा निल र साथीहरू पनि उत्तिकै नर्भस छन्। फिलिप आउनुभन्दा पहिलाको सिनमा उनीहरू दरवारको सिलिङमा पोतिएको विशाल पेन्टिङ हेरेर छक्क परिरहेका थिए। त्यो कुरा सिरिज हेर्दै गरेको मलाई पो थाहा छ त। त्यो सिनमा नभएका फिलिपलाई के थाहा?
म उनको ठाउँमा आफू भएको कल्पना गर्छु। म जोसँग डराइरहेको हुन्छु उनीहरू पनि मसँग डराइरहेका हुँदा हुन्। म जोसँग आफूलाई तुलना गरेर कमजोर महसुस गर्छु, उनीहरूलाई पनि यस्तै भइरहेको होला। हामी दुवै उत्तिकै नर्भस भइरहेका हुँदा हौं। तर म देख्दिनँ। किनकि त्यो अर्को सिन हो। म आफ्नो सिनमा मात्र सीमित भइसक्छु। टाढाबाट हेर्नेले देखेर मलाई त्यो कुरा सुनाइदिन खोज्दा हुन्। तर सुनाउने अवसर नपाउँदा हुन्।
थाहा भएका धेरै कुरा सुनाउने अवसर मिल्दैन। थाहा भएका कुरा सुनाउने गरी नजिक हुने अवसर सजिलो गरी पाइँदैन।
हामीले आफूलाई नजिकबाट देखेका हुँदैनौं। हामीलाई आफू भइरहेको ठाउँ बाहेक अन्त भएको कुराले खासै फरक पार्दैन। अरूले आफूलाई छेलिरहेको जस्तो लाग्छ। तर त्यो छेल्ने कुरा अरू होइन, आफ्नै सोच हुन्छ।
कहिलेकाहीँ साह्रै नजिकबाट आफूलाई हेर्नु र सोच्नु पनि फरक अनुभव हो क्यार!
एकअर्काको मनमा भएको नर्भस अनुभव सकिएपछिको कुराकानी त्यसैले त सहज हुन्छ। आफ्नो मिल्ने साथीलाई सम्झिनुहोस् न। उनीहरूसँग बोल्दा त हातमा पसिना आउँदैन त। तर सबै नजिकका साथी पनि त हुँदैनन्।
फिलिप उनीहरूलाई प्रश्न सोध्न थाल्छन्। आफूले के उपलब्धि प्राप्त गरेँ भन्ने मूल्यांकन गर्न थाल्ने समय आएको कुरा बताउँदै निक्कै गहिरो गरी भूमिका बाँधेर सोध्छन्, 'चन्द्रमामा पाइला टेकेपछिको सोचाइ कस्तो थियो?'
जति गहिरो भूमिका उति असहज प्रश्न। असहज प्रश्न सोधेपछिको असहजता पनि उस्तै।
सोधेपछि पनि उनलाई के जवाफ आउँछ भन्ने पर्खाइ हुन्छ। म यतिबेला पनि उनको मनको कुरा महसुस गर्छु। उनलाई प्रश्न गतिलो भएन कि जस्तो लागेको होला। यसको जवाफ छोटो दिए भने मैले फेरि के प्रश्न सोध्छु भन्ने लागेको होला। अझ सोधिसकेपछि 'तोइट, मैले अझै गतिलो गरी सोध्न सक्थेँ नि' जस्तो पनि लागेको होला।
कसैले बोल्न लगाएको ठाउँमा बोलिसकेपछि फर्किएर यस्तो बोलेको भए हुन्थ्यो लागेको जस्तो। कसैलाई सोधिसकेर फर्किएपछि यस्तो सोधेको भए हुन्थ्यो लागेको जस्तो। कसैलाई केही भनेर फर्किएपछि यस्तो भनेको भए हुन्थ्यो जस्तो लाग्छ।
आर्मस्ट्रङ भन्छन्, 'मिसन सफल भएकामा ठूलो राहत भएको थियो। एकदमै गज्जब दृश्य देखेका थियौं।'
चन्द्रमामा पाइला टेकेर फर्किएका निल पनि नर्भस छन्। उनका साथीहरू पनि। उनीहरूलाई लन्डनको चिसोले समातेको छ। मलाई फिलिपको कानमा गएर यो कुरा भनिदिऊँ कि जस्तो लाग्छ। 'एइ फिलिप उनीहरू पनि नर्भस छन्। तिमीहरू फरक फरक उपलब्धिले सँगै बसेका छौ। सानो महसुस किन गरेको?'
यो मैले पो देखेको छु। त्यसको बीचमा हुने फिलिपलाई के थाहा? एउटै सिनमा भएर पनि आफूलाई कहाँ बुझ्न सकिने रहेछ त?
बुझ्ने भए मैले यही कुरा बुझिहाल्थेँ नि। मलाई देखेर कोही अर्कोलाई पनि त्यस्तै भनूँ भनूँ लागेको होला। उसले भन्न सकिहाल्थ्यो नि।
फिलिपलाई उत्तर चित्त बुझेन। उनले दृश्य देखेको कुरा सुन्न खोजेका होनन्। उनी हाम्रो विश्वलाई हेर्ने दृष्टिकोण र अवलोकनमा केही फरक पर्यो कि भन्नेबारे सुन्न खोज्दै थिए। उनीहरूले चन्द्रमाबाट देखेको पृथ्वीको बाहिरी स्वरूप बाहेकको फरक पाटो सुन्न खोज्दै थिए।
तर तीनै जना अन्तरिक्षयात्रीले त्यसबारे धेरै बोल्न सकेनन्। उनीहरू प्राविधिक रूपमा मिसन एकदमै जटिल भएको सुनाउँदै गए। आफ्नो पूरै ध्यान केवल प्राविधिक कुरामा सीमित भएको बताउँदै गए। त्योबाहेक अरू कुरा सोच्ने ठाउँ र समय नै थिएन। कतै हेर्ने समय पनि थिएन।
बाहिरबाट देखिएको रकेट र भित्रको रकेटमा कति फरक छ। हामी अक्सर रकेट देखेर मात्र आफूलाई कमजोर बनाउँछौं। धेरै मान्छे भित्रको रकेटसम्म पुग्दै पुग्दैनौं।
यहाँनिर फिलिप आफूले सोचेजस्तो मान्छे उनीहरू नभएको महसुस गर्दै छन्। आफूले सोचेजस्तो आफू नभएको जस्तो पनि त उनलाई उनीहरूकै कारणले लागेको थियो।
यतिबेला फिलिप रानी एलिजावेथ दोस्रोलाई दिउँसोको भेटबारे सुनाउँदै छन्। भगवान जस्तो सोचेका मान्छे त केवल प्राविधिक भएको र उनीहरूमा उनले सोचेजस्तो कल्पनाशक्ति नभएकामा दुखी हुँदैछन्।
'उनीहरूमा जे गुण थियो, त्यो अन्तरिक्षयात्री हुनका लागि योग्य थियो। उनीहरू त्यसको लागि विश्वासयोग्य थिए,' रानी उनलाई सम्झाउँदै छिन्।
त्यही त। यही कुरा त हामी अरूलाई हेरेका बेला सोच्दैनौं नि है? उनीहरू जे हुन् त्यही मात्र रहन दिए त आफू पनि खुम्चिनु पर्दैन थियो। हामी उनीहरूलाई आफ्नो तुलना गर्नै नसक्ने भर्सन बनाउँछौं र पछ्याउँछौं।
फिलिप उनीहरूलाई व्यक्तिगत रूपमा भेट्दा आफूले बनाएको इमेज भत्किएकामा दुखी छन्। कति मान्छेलाई व्यक्तिगत रूपमा भेटेकामा म पनि दुखी छु।
तर त्यो दुःखले उनलाई अर्को कुरा पनि सिकाएको छ- सबै थोक उनले सोचेजस्तो हुँदैन। आफूसँग भएको सबै थोक कमजोर र कमसल हुँदैन। सबैले रूचाएको कुरा मात्र पनि सबै थोक होइन। उनको अस्तित्व केही नभएको होइन।
उनलाई त्यसो लागेको कुराले मलाई पनि सहज बनाउँछ। उनलाई स्क्रिनमा हेर्दै गर्दा र उनको अनुभूतिलाई आफ्नो अनुभूतिसँग मिसाउँदै गर्दा अघि सुरूमा घच्च अड्काउने चिज खुकुलिँदै गएजस्तो लाग्छ। अगाडि बाटो काटिरहेको मान्छे गइसकेर फेरि बाइक स्टार्ट गरेजस्तो लाग्छ।
बाटोमा मान्छेले बाटो काटिदिन सक्छन्। कसैलाई हतार हुन्छ, हुइँकिएर जितेर जान सक्छन्। उसलाई देखेर रोकिनु र फेरि सुरू गर्नु त यात्रा हो। उनीहरूलाई जान दिएर सहयोग गर्नु त यात्रा हो।
उसँग ठोक्किए त यात्रा जे पनि हुन सक्छ।
मलाई बाइकको गतिका कारण आएको हावाले बिस्तारै छोएजस्तो लाग्छ। हावामा अक्षर लेखिएको त हुँदैन। तर मलाई अक्षर उड्दै उड्दै मतिरै आइरहेजस्तो लाग्छ।
भनिरहेजस्तो लाग्छ:
'तिमी पनि त आफैंमा विशेष छौ। अरूसँग तुलना किन गर्छौ? उसको यात्रा र तिम्रो यात्रा अलग हो। उसको भोगाइ र तिम्रो भोगाइ अलग हो। उसको विधा र तिम्रो विधा अलग हो। उसको पेसा र तिम्रो पेसा अलग हो।
तिमी सबैभन्दा अलग हौ। तिमी अरूभन्दा अलग हौ। जे-जे तिमी अरू जस्तै हौ, त्यो तिम्रो मित्रता हो। जे-जे तिमी अरूका लागि अरूजस्तो हुन सक्छौ, त्यो तिम्रो सम्बन्ध हो।
जे-जेले तिमीलाई अप्ठ्यारो पार्छ, त्यो तिम्रो शत्रु हो।
तिमी एउटा कुरालाई मात्र एउटा बन्न नदेऊ।
तिमी आएपछि बनेको हो तिम्रो सपना,
तिमी सपनाका लागि बनिदेऊ।
तिमी आफू नै भइदेऊ।
तिमी बस् रहिदेऊ।
स्वीकारिदेऊ।
हाँसिदेऊ।
हुन्न?'
ट्विटर: @SurajWritesNP
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्