पूर्व संकेत
क) पानी पार्ने खालका बादलले आकासको धेरै भाग ढाकेका र मलिन सूर्य बास बस्ने बेलामा पुग्न लागेको। काठमाडौंमा हवाईजहाजलाई राति ओह्राल्ने कुनै व्यवस्था नभएको। क्याप्टेन रन्धवाले हवाईजहाज लान सकिँदैन भनिदिए हुन्थ्यो भन्ने सबैको विचार थियो। जवाफमा क्याप्टेनले ‘सरकारबाट जे हुकुम हुन्छ त्यही गर्ने' भनिदिए। ‘सरकार’ बाट हाँस्दै 'जाने' भन्ने हुकुम भयो। आपद् परेको बेला तीव्र गतिले सुपारी चपाउने बानी रहेका उपप्रधानमन्त्री सुवर्णजी जहाजभित्र तीव्र गतिले सुपारी चपाउँदै हुनुहुन्थ्यो। सबैको अनुहारको परिवर्तन हेर्न लायक थियो। राजा महेन्द्र भने उस्तै शान्त थिए, केही नभएजस्तो (थापा, विश्ववन्धु – महेन्द्र स्मृति ग्रन्थ, पृ २७५)।
ख) दुई-तीन कविको मात्र कविता बाँकी थियो होला, श्री ५ महेन्द्र विनापूर्वसूचना, अप्रत्यासित रूपमा सम्मेलनको हलभित्र सवारी भएको हामीले देख्यौं। कविता सुन्न आएको हुकुम भएर त्यही साधारण मेचमा राज भयो (तिवारी, भीमनिधि –महेन्द्र स्मृति ग्रन्थ, पृ १२९)।
बाहिर शान्त देखिएर अरूलाई जानकारी नदिई आफ्नै मर्जीमा चल्ने र जस्तोसुकै जोखिम उठाउने चरित्र महेन्द्रमा भरपूर थियो। आफ्नो मर्जी र आकांक्षाको यात्रा सुखमय बनाउन उनी जस्तोसुकै मेचमा बस्न लजाउँदैनथे। नभन्दै २०१७ पुस १ गते जननिर्वाचित सरकार बर्खास्त गरी महेन्द्रले सम्मानित राजाको सिंहासनबाट झरेर प्रधानमन्त्रीको मेचसमेत आफैंसँग राखे। जनताले छानेका प्रतिनिधि बस्ने त्यो मेच जुन दिन महेन्द्रले आफैं हडपे, त्यही दिनदेखि नेपाली जनताको एउटा हिस्सासँग राजतन्त्रको प्रत्यक्ष संघर्ष आरम्भ भयो।
त्यसअघि सिंगो नेपाली समाज राजालाई प्रश्नभन्दा माथिको अलौकिक अवतारका रूपमा शिरमा बोकेर बाँच्थ्यो। लामो राणाकालीन तजबिजको बन्धक बनेर आएका राजा जनताका लागि दैवीअंश थिए। उसै पनि ती खोपीमा राखिएका थिए, मन्दिरमा पत्थरको मूर्ति जसरी। ती सबैका लागि पुजनीय पनि थिए, त्यही पत्थरको मूर्ति जसरी नै।
मानिसहरू राजालाई मूर्ति मान्थे र राणालाई पुजारी। त्यसैले प्रश्न पनि पुजारीलाई गर्थे, मूर्तिलाई होइन।
जब महेन्द्रले खोपीमा बसेको राजतन्त्रलाई सक्रियताको दोबाटोमा ल्याए, मानिसहरूले फूल-अक्षता मात्रै फालेनन्, यो त कुनै अज्ञेय देवता होइन, यतैबाट टिपेर प्रतिस्थापन गरिएको पत्थर रहेछ भनेर प्रश्न उठाउन थाले। आलोचना र विकल्पबारे विमर्श गर्न थाले।
महेन्द्रले जनताबाट हठात् खोसेर लगेको त्यो मेच राजासँगै रहने कि जनताकोमा फिर्ता ल्याउने भन्ने प्रश्नमा देशको मत विभाजनको शिलान्यास महेन्द्रले नै गरे। सिंहासन हुँदाहुँदै मेच हडप्न राजा नै ओर्लिएपछि जनतालाई पनि सिंहासन मिल्काएर सबै मेचको प्रतिस्पर्धामा लागौं भन्ने आधार महेन्द्रले नै तयार गरे।
यसरी महेन्द्रले सक्रियताको दोबाटोमा ल्याएपछि आरम्भ भएको राजतन्त्रमाथिको प्रश्न र पक्ष-विपक्षका ध्रुवीकरणले कालान्तरमा कसरी राजतन्त्रलाई समयको संग्रहालयमा थन्क्याउने बाटो समात्यो भन्ने विषयमा यो आलेख केन्द्रित रहनेछ।
पार्श्व घटना
२०१५ को पहिलो आमनिर्वाचनपछि नेपाली कांग्रेसले बिपी कोइरालाको नेतृत्वमा सरकार बनाउँदाको दिनदेखि नै राजा महेन्द्र बिपी सरकारसँग असन्तुष्ट थिए। सुरूमा त महेन्द्रले बिपी नेतृत्वको कांग्रेसले चुनावै नजितोस् भनेर सकेको गरे। पैसा खर्च गरेर प्रजातान्त्रिक महासभालाई देशभर कांग्रेसविरुद्ध उम्मेदवारी खडा गर्न लगाए।
प्रजा परिषदको सहायक महामन्त्री रहेका बेला राजेश्वर देवकोटा महेन्द्रलाई भेट्न गएका थिए। महेन्द्रले राजेश्वरलाई भने, 'जताततै कांग्रेस मात्रै देखिन्छ, प्रजा परिषद पो हुनुपर्ने। तिमीहरूले केही गर्न सकेनौ। संगठन पनि बनाउन सकेनौ (भट्टराई, कुसुम – विद्रोही, पृ ९४)।
केही सीप नलागेपछि बिपीको नेतृत्वमा सरकार नबनोस् भनेर पनि महेन्द्रले सकेको चलखेल गरे। उनी कांग्रेस नेता सुवर्णशमशेरको नेतृत्वमा सरकार बनोस् भन्ने चाहन्थे। सुवर्ण उनका बालसखा थिए। राणा शासनमा जर्नेल बनिसकेका र भारदारी चालचलन जानेका सुवर्णलाई आफूजस्तै सामन्ती उत्पादन प्रणालीको उपज ठान्थे। सुवर्णलाई उनी तँ भन्थे, दबाएर राख्न सक्थे। महेन्द्रको व्यक्तित्वका लागि उनी कुनै खतरा थिएनन्।
बिपी भने आन्दोलन र संघर्षको मात्रै होइन, देशबाहिरको राजनीतिक संलग्नता र सम्बन्धले अग्लिँदै गएका राजनीतिज्ञ थिए। सोसलिस्ट इन्टरनेसनल र भारतीय नेताहरूसँगको सम्बन्धका कारण बिपी अन्तर्राष्ट्रिय जगतमा आफ्नो छवि चम्काउँदै थिए। भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूसमेत बिपीको अग्लिँदो व्यक्तित्वबाट त्रसित हुन थालेका थिए।
त्यसैले महेन्द्र चाहन्थे– बिपी प्रधानमन्त्री नबनून्। तर, कांग्रेसले उनैलाई संसदीय दलको नेता छान्यो। आफ्नो भगिरथ चलखेलले पनि रोक्न नसकेपछि बिपीलाई प्रधानमन्त्रीका रूपमा स्वीकार्न बाध्य भए महेन्द्र। त्यसपछि बिपी र महेन्द्रको टकराव बढ्दै गएर दुवै एकअर्काप्रति सार्वजनिक तवरले आलोचनाको निशाना साँध्न थाले। यो अनिवार्य नै थियो। किनभने, महेन्द्र र बिपीले प्रतिनिधित्व गर्ने आर्थिक–सामाजिक वर्गस्रोत परस्पर भिन्न थिए।
नेपाल भर्खरै सामन्तवादी व्यवस्थाबाट निस्केर अर्धसामन्ती व्यवस्थाको यात्रामा लाग्दै थियो। सामन्तवादी व्यवस्थाका सक्रिय खम्बाहरू आफ्नो पुरानो नेतृत्वको अवसानसँगै नयाँ सक्रिय नेतृत्वको खोजीमा भौंतारिएका थिए। राणाहरूको नेतृत्वमा एकत्रित उक्त तत्व राणा शासनको अवसानपछि राजतन्त्र वरिपरि केन्द्रीकृत हुँदै थियो।
राजतन्त्र परम्परागत सामन्तहरूको नेतृत्व गरेर सक्रिय भूमिकामा पनि प्रकट हुन नसक्ने र सामन्तवाद अन्त्य गरेर पुँजीवादी संक्रमणमा जान पनि नसक्ने दोधारे बाटोमा घिस्रिरहेको थियो। सामन्ती वर्गले परिवर्तित लोकतान्त्रिक व्यवस्था स्वीकार गरेको थिएन। सामन्ती भूस्वामित्व कजाएर बसेको उक्त वर्ग सक्रिय नेतृत्वमा आफ्नै वर्गस्रोत स्थापित गर्न चाहन्थ्यो।
बिपी कोइराला नेतृत्वको सरकारले त्यही सामन्ती भूस्वामित्वको घोडा चढेर बाँकी समाजलाई कजाएर बसेको सामन्तवादी उत्पादन प्रणालीका उपजमाथि नै हमला छेडिदियो, राजारजौटाको खारेजी र भूमिसुधारका कार्ययोजना अघि सारेर। त्यसको मार बज्रिएपछि सामन्तहरू तिल्मिलाए र देशभर अनेक शीर्षकमा बिपी सरकारविरुद्ध हुलदंगा खडा गरे।
गोरखा, दाङ, नेपालगन्ज, धनगढी, सुर्खेत, रामेछाप लगायत स्थानमा राष्ट्रियतालाई सिरानी हालेर भूसामन्तहरू प्रदर्शनमा ओर्लिए। राज्यसत्ताको प्रमुख शक्ति सामन्तहरूकै नेतृत्वमा सक्रियतापूर्वक अघि बढ्ने कि समाजलाई सामन्तवादी उत्पादन प्रणालीबाट निकालेर अर्धसामन्ती-पुँजीवादीको नेतृत्वमा लैजाने भन्ने सवाल प्रमुख भएर आमनेसामने टकराउन थालेको थियो।
बिपीको राजनीतिको वर्गस्रोत दोस्रो वर्गको भए पनि त्यसको विशाल आधारको एउटा हिस्सा सामन्ती उत्पादन प्रणालीको पक्षधरसमेत थियो। सुवर्णशमशेरदेखि तुलसी गिरी लगायतले त्यो वर्गको प्रतिनिधित्व गर्थे। वर्ग स्वार्थ टकरावको यात्रा तेज बनाएपछि गिरीहरूले आफ्नै वर्गसँग घाँटी जोड्न थालेका थिए।
कालान्तरमा गिरीले कांग्रेस त्यागेर सामन्ती व्यवस्थाको पक्षमा सक्रिय सहभागिता जनाउन पुगे भने सुवर्णशमशेर सामन्तवर्गलाई देशभित्र सक्रिय नेतृत्व निम्ति मैदान खाली गरेर कलकत्ता लागे। सामन्ती भूस्वामित्वको जमिनदारी वर्गस्रोत कायमै राखेर कम्युनिस्ट पार्टीको नेतृत्वमा आएका केशरजंग रायमाझी पनि कालान्तरमा आफ्नै वर्गको पक्षमा उभिए। उनी कम्युनिस्ट पार्टीको हिस्सा नै लिएर सामन्तवाद रक्षा वाहिनीमा भर्ती भए।
देशभर सामन्तहरू जुर्मुराउन थालेपछि त्यसलाई पृष्ठभागमा बसेर धन, बलको सहायता थप्न महेन्द्रले कुनै कसर बाँकी राखेका थिएनन्। गोर्खा र धादिङमा उठेको विद्रोहका लागि त महेन्द्रले राजदरबारबाट नगद र आफू निकटवर्तीहरूसमेत परिचालन गरेका थिए।
विसं २०१६ भदौ-असोजमा योगी नरहरिनाथ गोर्खाका विभिन्न गाउँहरूको यात्रा तीव्र बनाउँदै थिए। उनले आफ्नो गोजीमा महेन्द्रको तस्बिर भएको लकेट बोकेका थिए। साथमा राजदरबारबाट उनको नाममा आर्थिक मद्दतसहित लेखिएको पत्र थियो। त्यसरी गोर्खाका गाउँहरूको भ्रमण क्रममा कैयन वर्षदेखि दोहोरो परिचयमा रहेको पंक्तिकारको परिवारमा समेत बास थामेका थिए उनले।
हालैको दिनमा त्यससम्बन्धी कुरा खोतल्ने क्रममा २०१७ सालमा १७ वर्षे उमेरमा रहनुभएका मेरा एक दाजु (हजुरबाको सहोदर दाइको नाति) ले भन्नुभयो, ‘भदौको झरीमा योगीजी आउनुभयो। ताकुकोटमा जनमत बनाएर आएको भन्नुहुन्थ्यो (हाम्रो छिमेकी गाउँ ताकुकोटका उहाँको जेठान त्यही नरहरिनाथले उठाएको गोर्खाकाण्डमा पक्राउ परेर ६ महिना जेल बसेका थिए भने त्यही ताकुकोटबाट लगिएका पुजारी काजीमान बाँडा प्रदर्शन क्रममा गोली लागेर मारिएका थिए)। हामीलाई यो सरकार फाल्नपर्यो, कांग्रेसीले देश बेचेर खान लागे भनेर मलाई महाराजबाट मद्दत र आदेश भएको छ भन्दै गोजीबाट महेन्द्रको तस्बिर भएको लकेट देखाउनुभयो। दरबारबाट आर्थिक मद्दत भएको भन्दै उहाँ आफैंले दरबारको निशाना लागेको पत्र देखाएर पढ्नुभयो र तपाईंहरूले गाउँ उठाएर ल्याउनुपर्यो भन्नुभयो।’
कात्तिक पहिलो साता योगी आफू नेतृत्वको कर्मवीर महामण्डलका सहयोगीहरूसहित फेरि गाउँगाउँ पुगे। खासगरी मन्दिरका पुजारी, बिर्ता जमिन कमाएर खाएका र अलिक ठूला पहाडी जमिनदारहरूको परिवारलाई लक्ष्य गरेर योगीले 'कांग्रेसले धर्म मास्यो, गरिखाने जमिन खोस्न लाग्यो, देश बेच्न लाग्यो' भन्दै प्रदर्शनमा आउन अपिल गरेका थिए।
कर्मवीरको तर्फबाट योगीले गाउँगाउँमा वितरण गरेको पर्चामा लेखिएको थियो– '... धर्मरक्षक राजा-प्रजाको एकता कायम गरेर गोर्खा राष्ट्रलाई सर्वतन्त्र स्वतन्त्र राख्नु कर्मवीरको उद्देश्य हो। आज चारै सत्ता ((धर्मसत्ता, राज्यसत्ता, राष्ट्रसत्ता र जनसत्ता) को एकैचोटि चोट परेकाले कर्मरक्षक कर्मवीरहरूले कर्मक्षेत्रमा उत्रिन परेको छ...' (देवकोटा, ग्रीस्मबहादुर – नेपालको राजनीतिक दर्पण, भाग २, उही, पृ ५३९)।
आन्दोलनको तयारी पूरा गरेर नरहरिनाथ कात्तिक ७ गते बिहान झिसमिसेमै गोर्खा बाह्रकिलोनजिक एक सहयोगीको घरमा खाना खाएर झोला बोकेर निस्किए र जुम्लातिरको बाटो तताए। पूर्वघोषित कार्यक्रमअनुसार कात्तिक ९ गते गोर्खा सदरमुकाम पोखरीथोकमा जिल्लाभर र आसपासबाट ओइरिएका तीन हजारभन्दा बढी मानिसले सनातन धर्मको जय, गोर्खालीको जय, श्री ५ महेन्द्रको जय, नेपाली कांग्रेस धोका हो, देश बेचुवा कांग्रेस हो, कांग्रेस सरकार खारेज होस् आदि नारा लगाउँदै बडाहाकिम कार्यालय घेरा हाले (देवकोटा, उही, पृ ५४०)।
कांग्रेस सरकारले भने आन्दोलनमा आएका जनतालाई शान्तिपूर्ण तवरले सम्बोधन गर्नुभन्दा दमनको बाटो अख्तियार गर्यो।
काठमाडौंबाट डिआइजीको नेतृत्वमा फौज पठाइएको थियो। पोखराबाट पनि भारी संख्यामा प्रहरी फोर्स गोर्खा उतारियो। दमन क्रममा सात जना घटनास्थलमै गोली लागेर मरे भने कैयन घाइते भए। बिपी सत्तामा आएपछि भएको सबभन्दा ठूलो हत्याकाण्ड त्यही गोर्खाकाण्ड नै थियो।
गोर्खाकाण्ड मच्चिएको तीन दिनपछि कात्तिक १२ गते योगी नरहरिनाथ जुम्लामा पक्राउ परे। उनको साथबाट राजाको सैनिक सचिव सहायक रथी शेरबहादुर मल्लद्वारा लिखित पत्र बरामद भयो। जसमा लेखिएको थियो –
श्री सभापति,
यस महामण्डलले यस्तै गरी राजसत्ता, धर्मसत्ता, राष्ट्रसत्ता र जनसत्ता कायम राखी कार्य गरिआएको सराहनीय छ। तपाईंको अनुरोधअनुसार श्री ५ महाराजाधिराजबाट बक्सिएको चन्दा मोरू ५०० यसैसाथ छ। पउँच दिनुहोला।
शेर ब. मल्ल, बृ.ज., मिलिटरी सेक्रेटरी ।
त्यसरी जुम्लाबाट पक्राउ परेका नरहरिनाथले बयानमा भनेछन्, 'राजाले मलाई बोलाएर त्यहाँ रहेका १००–५० जना तिम्रो कनफट्टा जोगीहरूलाई लिएर मालअड्डा लुट्न सक्दैनौ भनेर सोधे। ... तिमीहरूले मालअड्डा लुट्न सफल भयौ भने दिनदहाडै सरकारी माल लुटेर लग्दाखेरि पनि केही गर्न नसक्ने लाछी सरकार भनेर म यस सरकारलाई भंग गरिदिन्छु। कथंकदाचित् गोली चलाएर मान्छे मारे भने मान्छे मार्ने सरकार भनेर यस सरकारलाई भंग गरिदिन्छु (गौतम, राजेश – प्रजातान्त्रिक आन्दोलन र गणेशमान सिंह, पृ १६७)।
यसरी महेन्द्र बिपी सरकारलाई बर्खास्त गर्न विभिन्न हतकण्डाको जोरजाम गर्दै थिए। त्यसका लागि रगत बगाउने हदसम्मको अशान्ति मच्चाउन पैसा र प्रेरणा दिएर मानिस परिचालन गरेका थिए।
गोर्खामा हत्याकाण्ड मच्चिनुअघि नै देशभर अशान्ति फैलिन थालिसकेको थियो। गोर्खाकै छिमेकको पश्चिम १ नम्बर (हालको धादिङ) मा एक वर्ष लामो समयदेखि भड्किएको किसान विद्रोह विभिन्न पार्टीको स्वार्थ खेलोमा उपयोग भएर कचल्टिएको थियो। त्यसरी कचल्ट्याउन राजा त लागेकै थिए, कांग्रेस पनि नजानिँदोसँग फसेको थियो।
तामाङहरूको ल्हप्सङकर्पो (तामाङ भाषामा गणेश हिमालको नाम) क्षेत्रको जमिन गोर्खा राज्य विस्तार अभियानपछि जुम्ला, पर्वत, गोर्खा हुँदै आएका रिजाल, अधिकारी, सिंखडा, आचार्य, प्याकुर्यालहरूको हातमा गएको थियो। गोर्खाली राज्य विस्तारपछि बसाइँ निम्ति उपयुक्त थातथलो खोज्दै आएकाहरूले रैथाने तामाङहरूको जमिन हत्याएका थिए, विभिन्न हतकण्डा अपनाएर। त्यसमा विजेता गोर्खा राज्यको आडभरोसा र बक्सिसको आड पनि छँदै थियो।
यसरी केही पुस्तादेखि नुवाकोट टक्सारका सापकोटा, मार्पाकका अधिकारी, सत्यदेवी खनायोवासका रिजाल, दार्खा– गुम्दी–फूलखर्कका सिंखडा, अधिकारीहरूले रैथाने तामाङहरूको जायजेथा जाली तमसुक, सुदव्याज र जालझेल गरेर हत्याएका थिए।
गोर्खा विस्तारपछि विभिन्न बहानामा आएका उल्लिखित जातिहरूले पुस्तौंदेखि बसोबास गर्दै आएका तामाङहरूको जमिन हत्याएपछि उनीहरू हेर्दाहेर्दै आफ्नै भूगोलमा भूमिहीन भए र तिनै उपल्ला जातिहरूको घरेलु कामदारमा परिणत भए। घरेलु श्रमदासका रूपमा कहिल्यै तिरिनसकिने तमसुकको भाउ चुकाउन गएका तामाङहरू मालिकहरूकहाँ यातनापूर्ण श्रम गर्न विवश बनाइएका थिए। थिचोमिचो, अन्याय, अत्याचारको पारो उच्च विन्दुमा पुगेर त्यसले विष्फोटको घडी प्रतिक्षा गरी बसेको थियो।
त्यही अवस्थामा २०१६ मंसिरमा पश्चिम १ नम्बर खनायोवासकी १४ वर्षीया बालिका बाख्रा चराउन जाँदा गोपाल रिजालको धानखेतबाट ढोकामा झुण्ड्याउने पुतली बनाउन दुई मानाजति आउने धानको बाला लगेको निहुँमा तामाङहरूलाई स्थानीय चौतारामा बोलाई कुटपिट र चर्को दण्डजरिवाना गरियो। यही कारणले पश्चिम १ नम्बरमा विद्रोह चर्किएको देखिन्छ। सामन्तवादी शोषणविरुद्ध रैथाने उत्पीडित किसानहरूले सशस्त्र शैलीको प्रतिकार र आक्रमणको बाटो समाए।
रिजालहरूबाट त्यसरी अकल्पनीय जरिवाना ठेकिएपछि पीडित तामाङहरू छिमेकी भेगका गोर्खा परिषदबाट निर्वाचित सांसद ललितमान घलेकहाँ गए। उनले शोषण अति भयो, एकजुट भएर तमसुक च्यात्ने र अत्याचारको प्रतिकार गर्नुपर्छ भनेर भनिदिए (घलेपुत्र पूर्वआइजिपी डिबी लामा लिखित 'संघर्षको लामो यात्रामा मेरा जीवनका उकाली ओरालीहरू', पृ ७५)।
त्यति बेलासम्म गोर्खा परिषद कांग्रेसविरोधी र राजा समर्थक राजनीतिमै थियो। उनीहरू (गोर्खा परिषदका राणा र राजा) को राजनीतिको वर्गस्रोत एउटै थियो। त्यसैले गोर्खा परिषद किसानहरूको विष्फोटक विद्रोह उक्साउन लाग्यो। त्यो थाहा पाएपछि कांग्रेस पनि 'जसको जोत उसको पोत' को नारा लिएर तामाङहरूको किसान विद्रोहलाई राजनीतिक पूठ दिन सक्रिय भयो।
यसरी त्यस विद्रोहमा राजनीतिक स्वार्थको रोटी सेक्न राजनीतिक दलहरूले तँछाडमछाड गरे। र, त्यो विद्रोह किन्तांग, गुन्तांग, गेर्खु, दार्खा, गुम्दी, फूलखर्कसम्म फैलियो। फूलखर्क, दाङसिंग भेगको लुटपाटमा राजाको सैनिक सचिवालयमा कार्यरत अधिकृतका छोरा २० वर्षे हरिबहादुर थापा र गोर्खाबाट आएका योगी नरहरिनाथका कार्यकर्ता हेमलाल भट्ट लगायतलाई दरबारको योजनामा गोर्खा परिषदले लुटपाट भड्काउन परिचालन गरेको थियो (तत्कालीन खनायोवासका मेघनाथ रिजालसँग पंक्तिकारले निजी शोधका लागि २०७३ असार २९ गते बालाजुमा गरेको रेकर्डेड कुराकानी)। आश्चर्यजनक तवरले महेन्द्रले सत्ता लिएपछि तिनै हरिबहादुर पटकपटक पञ्चायतमा माननीय भए र मिष्टर हरिबहादुरका नामले प्रख्यात रहे।
पछिबाट पञ्चायतको सांसद बनेका तत्कालीन गोर्खा परिषदका युवा कार्यकर्ता मिष्टर हरिबहादुरले पंक्तिकारसँग भने, 'नेतृत्वविहीन लुटपाटले साम्प्रदायिक रूप लिएपछि त्यसलाई नेतृत्व दिएर थप हिंसात्मक हुनबाट जोगाएको हुँ (२०७२ असार र साउनमा थापा निवास बालाजुमा पटकपटक गरिएको रेकर्डेड कुराकानी)।
थापाले त्यसो भने पनि उनी दरबारको सैनिक सचिवालयमा रहेका पितामार्फत् दरबारबाट आन्दोलनलाई हिंसात्मक बनाउन आएको आदेशबमोजिम आन्दोलन भड्काउन परिचालित भएका थिए (शेषनाथ सिंखडासँग २०७२ साउन ४ गते गरिएको रेकर्डेड कुराकानी)।
तत्कालीन पश्चिम १ नम्बर भनेर चिनिने अहिलेको धादिङ–नुवाकोटमा २०१६ को मंसिर–पुसमा भएको लुटपाटमा पीडित भएकाहरू न्याय पाउन भनेर महिनौंदेखि काठमाडौंमा भौँतारिएका थिए। उनीहरूले प्रधानमन्त्री बिपी कोइरालासँग भेटघाटको समय पाइरहेका थिएनन्। त्यसरी धाउनेको समूहमा धादिङ, गुम्दीका शेषनाथ सिंखडा पनि थिए, जो काठमाडौं बसेर पढिरहेका विद्यार्थी थिए।
गाउँमा भएको स्थानीय विद्रोहपछि आएका गाउँलेको समूहमा मिसिएर उनी वनकालीमा योगी नरहरिनाथलाई भेट्न गएका थिए। सिंखडाले पंक्तिकारसँगको कुराकानीमा भनेका छन्, ‘नरहरिनाथले हाम्रो कुरा सुनेपछि जुरुक्क उठेर भने- ‘अब असनमा गएर एक–एकवटा खुकुरी किन्नोस् र गाउँमा गएर छपाछप लुटेरालाई काट्नोस्। पुलिस प्रशासन आए, हामीले यिनको आदेशमा यो सब गरेका हौं भन्नोस्।’ त्यति भनेर नरहरिनाथले राजा महेन्द्रको फोटो भएको लकेट हामीतर्फ तेर्स्याए (सिंखडा, उही)।’
यसरी महेन्द्रनिकट मानिसहरू योजनाबद्ध तवरले देशभर प्रदर्शन र अशान्ति कायम गर्न परिचालित थिए। बिपी नेतृत्वको कांग्रेस भने त्यसको अन्तर्य पर्गेल्न नसकेर आफैं त्यस्ता घटनालाई राजनीतिकरण गर्न र गिजोल्न व्यस्त थियो। स्वाभाविक तवरले उठेका जनसंघर्षहरूमा मौजुद राजनीतिक दलले आफ्नो वर्गको पक्षधरता लिनु स्वाभाविक थियो। पश्चिम १ नम्बर विद्रोहमा पक्राउ परेकाहरूलाई छुटाउन प्रधानमन्त्री बिपीलाई भेट्न आउँदा कांग्रेस बनेमा जेलमुक्त गराउने आश्वासनपछि कांग्रेसको सदस्यता वितरण गरिएको थियो। महेन्द्रले 'कू' गरेपछि जेलमा रहेका बन्दी छुटाउने भन्दै काठमाडौं बोलाएर शैलजा आचार्यले पश्चिम १ नम्बरका दुई सयभन्दा बढी महिलाको जुलुस निकालेकी थिइन् (तामाङ, गोपाल – क्रान्तिकारी सेक्के तामाङ: खनियावास विद्रोहको अगुवा, पृ ७)। एक वर्ष कटिसक्दा पनि धादिङ विद्रोहको समाधान गर्न बिपी सरकार असफल भइरहेको थियो।
यसरी नियोजित तवरले बिपी सरकार अपदस्त गर्न विभिन्न बहानाको जोरजाम गर्दै थिए महेन्द्र। देशका अन्य भागसहित गोर्खा र धादिङमा मच्चिएको लुटपाट र हिंसाले महेन्द्रलाई त्यो आधार तयार गरिदियो। पुस १ मा त्यसैलाई आधार बनाउँदै महेन्द्रले प्रजातान्त्रिक सरकार अपदस्त गरे र निरंकुश हुकुमी शासनको सूत्रपात गर्दै देशको गतिलाई २००७ फागुन ७ अघिको दिशातिर उल्टाइदिए।
त्यसका लागि उनले देशको मात्र होइन, कांग्रेसको आन्तरिक राजनीतिमा पनि प्रशस्तै किचलो मच्चाइसकेका थिए। सवारी मन्त्रीका रूपमा बिपीले नै खटाएका तुलसी गिरी महेन्द्रको कानेखुसी समूहमा सामेल भइसकेका थिए। गिरीले आफ्ना हितैसी विश्ववन्धु थापालाई समेत महेन्द्रसँग मिलाइसकेका थिए। महेन्द्र हरेक सम्भावित समर्थकको खोजीमा कम्युनिस्ट, कांग्रेस, गोरखा परिषदका एक-एक नेता, सांसदको मोलतोल र नापजाँच गर्दै थिए। उसै पनि पहिलो संसदीय निर्वाचनमा बढारिएका जनमतविहीन एक्ले नेताहरूको कुनै कमी थिएन, जो मौजुद राजनीतिमा आफ्नो भविष्य अन्धकार मात्रै देखिरहेका थिए।
महेन्द्रले यो सबको गठजोड गरे। सेना उनीप्रति वफादार छँदै थियो। सेनाभित्रै पनि आफ्नो कदममा दह्रोसँग अडिन लर्बराइरहेका सेनापति नीरशमशेरलाई उनले भारतीय सेनापति जनरल केएस थिमैयाको शिकार यात्रा व्यवस्थापन शीर्षकमा चितवन पठाइदिएका थिए, समकक्षीका रूपमा।
सिंहासनबाट जननिर्वाचित प्रधानमन्त्री बसिरहेको मेच खोस्न ओर्लिने आखिरी ताक तय गर्न महेन्द्रले गिरफ्तार गरिनेहरूको सूची थमाएका थिए नीरशमशेरलाई। उनले 'यसो गर्नु उचित होला र महाराज' भनेपछि उनलाई ‘ल यसलाई भित्र राख्नू’ भनेर कोठामा थुनिदिएका थिए। र, यसले तख्तापलटमा साथ दिँदैन भनेर थिमैयासँग चितवन पठाइदिएका थिए।
सेनाका सेकेन्डम्यान सुरेन्द्रबहादुरसमेत निर्वाचित सरकारलाई जेलमा कोचेर निरंकुशता लाद्ने महेन्द्रको अठोटसँग त्रसित थिए। उनको छातीमा पेस्तोल तेर्स्याएर ‘ल समरबहादुरसँग जा’ भनेर नेताहरूलाई गिरफ्तार गर्न खटाइएका थिए। समरबहादुर कुँवर थिए राजाका विश्वासिला सहयोगी सैन्य जनरल। महेन्द्रले सत्ता हातमा लिन तल्लो दर्जाका समरबहादुरको ‘खास’ कमान्डमा सेकेन्डम्यान शाहलाई परिचालन गरेका थिए।
महेन्द्रले देशभित्रको राजनीतिलाई मात्र आफ्नो पक्षमा मिलाएका थिएनन्। देशबाहिर समेत ‘ल मैले लिन लागे है’ भनेर सम्मति मागेका थिए, भारतदेखि युरोप-अमेरिकासम्म। त्यही सिलसिलामा नीरशमशेरको नाममा निम्तो पठाउन लगाएर निम्त्याइएका थिए, जनरल थिमैयालाई 'कू'को एक साताअघि।
भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू बिपीको व्यक्तित्वले विस्तारै अन्तर्राष्ट्रिय मञ्च पाउन थालेकोमा कुण्ठित हुन थालेका थिए। आफूलाई क्रस गरेर इजरेलसँग सम्बन्ध राखेको, भारतको इच्छाअनुसार नेपाल चलोस् भन्ने चाहेकोमा आफूले भनेबमोजिम चिनियाँ राष्ट्रमण्डलसँगको भेटमा कुरा नराखेको, सोसलिस्ट इन्टरनेसनलको नेता बनेकोमा नेहरू बिपीसँग सशंकित हुन थालेका थिए। राणा–कांग्रेस सरकार विघटन भएदेखि नै बिपीलाई सत्तामा जानबाट रोक्न नेहरूले सकेको तागत लगाएका थिए।
यसपटक भने जनताबाट निर्वाचित प्रधानमन्त्री बन्नबाट बिपीलाई रोक्न न महेन्द्र न त नेहरू नै सफल भए। बरू त्यो असफलताको इख मेट्न प्रजातन्त्र नै सखाप पार्ने महेन्द्रको कदममा नेहरूले ग्रिन सिग्नल मात्रै दिएनन्, त्यसको आन्तरिक अर्थ प्रगाढ हुने गरी ‘कू’ को समयमा नेपालमै रहने गरी आफ्नो सेनापतिलाई नेपाल पठाए।
प्रजातान्त्रिक नेताको अन्तर्राष्ट्रिय छविका कारण नेहरूले महेन्द्रको सत्तापलटको खुल्ला समर्थन गरेनन्। तर, महेन्द्रले सत्ता लिएपछि भारतीय संसदमा लगातार चलेको बहस र त्यसउपर उनले दिएको जवाफ हेर्दा नेहरूको पूर्वअनुमोदनमा महेन्द्रले नेपालमा सत्तापलट गरेका थिए भन्नेमा कुनै दुविधा हुन सक्दैन। त्यसको प्रस्ट संकेत नेपालका लागि तत्कालीन भारतीय राजदूत हरिश्वर दयालले कांग्रेस नेताहरूलाई दिइसकेका थिए।
पुस १ को केही दिनअघि दयालले कांग्रेस नेताहरूलाई व्यक्तिगत तवरले भेट हुँदा या टेलिफोनबाट सचेत गराएका थिए, ‘लोकतन्त्रका मौत आनेवाली है। नरेश एक वा दो दिनके अन्दर बडा कदम चला रहा हैं। हमारी बात मान लिजिए, आप लोगों को क्या करना है किजिए। वरना आप लोगों का धोखा हो जाएगा (सिंह, मंगलादेवी – नारी संघर्षका पाइलाहरू, पृ, १३८)।’
महेन्द्रको फौजी ‘कू’ पछि भारतीय संसद लोकसभामा पुस २ गते सांसदहरू ब्रजनारायण सिंह, इन्द्रजित सिंह लगायतले ‘कू’ मा भारतीय प्रधानमन्त्रीको समर्थन भएको, महेन्द्रले गरेको बीपीविरुद्ध ‘कू’ लाई सघाउन नेपाली सेनाको सम्मान लिने बहानामा सेनापति थिमैयालाई नेपाल पठाएको आरोपउपर जवाफ दिँदै संसदमा जवाहरलाल नेहरूले भनेका थिए, ‘हामीलाई बराबर यो खबर प्राप्त थियो कि नेपाल नरेश त्यहाँको स्थितिबाट सन्तुष्ट हुनुहुन्न र उहाँ कुनै कारबाही गर्न सक्नुहुन्छ। तर, घटना अवस्थामा भारतीय राजदूतको उपस्थिति राजधानी काठमाडौंमा थिएन। प्रधान जनरल थिमैयालाई पनि थाहा थिएन कि नेपालमा त्यस्तो केही हुनेछ (देवकोटा, उही, विभिन्न पृष्ठ)।’
राजदूतलाई थाहा भएको कुरा सेनापतिलाई थाहा नभएको भन्ने नेहरूको भारतीय संसदमा व्यक्त कथनले त्यसको भित्री चरणमा अझै थप संलग्नताको खुल्ला सन्देश बुझ्न गाह्रो पर्दैन।
बिपी–महेन्द्र: व्यक्तित्वको टकराव
अ)
विश्वेश्वरप्रसाद कोइराला थिए पश्चिम लमजुङ दुराडाँडा, कोइराला फाँट पुर्ख्यौली भएका पेशेवर राजनीतिकर्मी। पश्चिम जुम्ला हुँदै आएको ब्राह्मण परिवारले दुराडाँडा फेदीको कोइराला वन फाँडेर बसेको हुनाले त्यो कोइराला वन फाँडेर खेतीपाती गरी बसेको ब्राह्मण परिवारलाई स्थानीयहरूले कोइराला बाजे भन्न थाले र उनले खेती गरेको फाँटलाई कोइरालाफाँट (कोइराला, विश्वेश्वरप्रसाद – आफ्नो कथा, पृ २)। त्यही दुराडाँडाबाट बसाइँ सरेर मकवानपुर हुँदै कालान्तरमा सिन्धुली (दुम्जा) पुगेका थिए, कोइरालाहरू।
बिपीका पिता कृष्णप्रसादले राणाकालीन जगजगीका दिनमा तत्कालीन श्री ३ महाराज चन्द्रशमशेरसँग टक्कर लिएका थिए। चन्द्रशमशेरको शासन राणाकालको उत्कर्ष थियो। समयको श्वासलाई मुठीमा निचोरेर राखेका थिए चन्द्रशमशेरले। आफ्नो शासनकालमा मैदानी सीमाचौकी ठेक्कामा लिएर रकम उठाइबस्ने, सामान आयात गरेर कर असुल गरिबस्ने मामुली प्रजाले थान थाप्दै आएपछि चन्द्रशमशेर कृष्णप्रसादलाई झुकाई छाड्ने ढिट लिएर बसेका थिए। कृष्णप्रसाद पनि कसै चन्द्रशमशेरसामु शिर नलतार्ने टक्करमा थिए (कोइराला, उही, पृ ३१)। तिनै कृष्णप्रसादले त्यसरी राणा शासनमा सत्तासँगको टकरावकै कारण थुनिएकै अवस्थामा जेलमै मृत्युवरण गरे।
बिपीले भोग र दरिद्रताको उच्चता दुवै खेपेका थिए। राणा शासन बेलाका सर्वसाधारणमध्ये निकै नै सम्पन्नता हासिल गरेका कृष्णप्रसाद कोइरालाको चकचकी पनि बिपीले भोगे, जसले विराटनगरको जग बसाएका थिए। चन्द्रशमशेर र जुद्धशमशेर पालैपालो लागेपछि परिवारमाथि बज्रिएको दरिद्रताको उच्चतामा अप्रेसन गर्दा एनेस्थेसियाका लागि दिनुपर्ने ७५ रुपैयाँ रकमसमेत नभएर लठ्याउने औषधिबिनै दाह्रा किटेर अपरेशन गराउनेसम्मको अवस्था व्यहोरेका थिए बिपीले बाल्यकालमा।
विश्वेश्वरप्रसाद कोइरालाले पछिबाट आफ्ना पिता कृष्णप्रसादकै बाटो समाते। पिताको मात्र होइन, माता दिव्या कोइरालाको स्वाभिमानी चेतनाको सिकाइसमेत उनमा खिपिएर आयो। दिव्याले तानाशाही राणा शासनमा जेलभित्रै मृत्युवरण गरेका पति कृष्णप्रसादलाई दागबत्ती दिएकी थिइन्। उसैगरी राणा सरकारविरुद्ध संघर्षमा जेल परेर जेलभित्रै आमरण अनशनमा रहेका बिपी जीवनमरणको दोसाँधमा परेपछि बोलाइएकी दिव्याले मोहनशमशेरलाई उनकै सामु दृढतापूर्वक हाँक दिएकी थिइन्।
मोहनशमशेर बिपी सिकिस्त बिरामी परेको र कुनै पनि समय मृत्यु हुनसक्ने जनाउँदै अचेत हुन थालेका बिपीको जिम्मा लगाउन खोज्दै थिए। दिव्याले बिपीको अवस्था देखिसकेकी थिइन्। र, त्यो सबैलाई उनले मनमा खिपेकी थिइन्। तर सबै वेदनालाई मनभित्रै बाँध लगाएर दिव्याले मोहनशमशेरलाई भनिन्, 'काठमाडौंमा मेरो तीतो अनुभव छ महाराज, मेरो पतिको मृत्यु यहीँ खेपेँ। मैले मेरो पतिदेवको दाहसंस्कार गरेँ र मेरो छोराको दाहसंस्कार गर्न फेरि आएको छु।'
दिव्याको स्वाभिमानी र दृढ वचनले आहात भएर मोहनशमशेर कड्किए, 'एउटा हठी युवकको अगाडि सरकारले कसरी घुँडा टेक्ने? सरकारले पनि त आफ्नो मर्यादा राख्नुपर्यो नि।'
दिव्याले मोहनशमशेरको पाल्सी अहंकारमाथि वचनको शक्तिशाली तोप पड्काइन्, 'मेरो छोराको मर्यादाअगाडि तपाईंको के मर्यादा? (चटर्जी, भोला–बिपी कोइराला: एक क्रान्तिकारी व्यक्तित्व, पृ ९३)'
सत्ताका निणार्यक हर्ताकर्तासँग पौठेजोरी खेल्न यसरी बिपीले माता, पिताको घरेलु पाठशालाबाटै सिकिसकेका थिए। त्यसलाई उनले जीवनको बाटो बनाए। आधारभूत लोकतान्त्रिक व्यवस्था उनको विश्वासको बाटो थियो। आफ्नो विश्वासको बाटो हिँडिरहँदा कहिले उनी राणा सत्ताद्वारा पक्राउ गरिए, कहिले राजा सत्ताद्वारा। कहिले उनी राणाको जेलभित्र आमरण अनसन गर्न बाध्य बनाइए, कहिले राजाको जेलभित्र। कहिले राणा सरकारविरुद्ध सशस्त्र संघर्षको कमान्ड सम्हाल्न बाध्य भए, कहिले राजा सरकारविरुद्ध। तर लोकतन्त्रप्रतिको आफ्नो प्रतिबद्धता र त्यसतर्फको यात्रालाई उनले कुनै पनि सम्झौताको चौतारीमा बसेर साटफेर गरेनन्। बरू जेलको चिसो छिँढी रोजे। प्रवासका शरणार्थी शैलीका कठिन दिनहरू स्वीकार गरे। कहिले नरम भए होलान् या कहिले गरम, त्यो बेग्लै कुरा हो।
त्यही लोकतन्त्रप्रतिको उनको सम्झौताहीन पक्षधरता राजा महेन्द्रलाई पचेन। जनताबाट प्रचण्ड बहुमत ल्याएर निर्वाचित प्रधानमन्त्रीमा बहाल भएकै घडी महेन्द्रको सैन्यबलद्वारा गिरफ्तार गरिए र वर्षौं बिनाअपराध, बिनाआरोप, बिनामुद्दा कालकोठरीमा बन्दी बनाइए। राणा प्रधानमन्त्री मोहनशमशेरले बरू पक्राउपछि उनलाई अदालत (हरिशमशेरको इजलास) मा हाजिर गराएका थिए। महेन्द्र भने न्याय, निसाफ, अधिकार, अदालत, न्यायाधीश, प्रधानमन्त्री, राजा सबै आफैं भएका थिए। बिपीलाई आफ्नो हुकुमको भरमा सैनिक व्यारेकमा बन्दी बनाए। आफ्नो एकल मनमौजी इजलासको आदेशको भरमा बिनाअभियोग बन्दी बनाइराखे।
महेन्द्रले खडा गरेको पञ्चायती व्यवस्थाको अदालत कतिसम्म निष्पक्ष थियो भने, विराटनगर बमकाण्डमा परेर घाइते भएका पीडित भीमनारायण श्रेष्ठ कांग्रेसमा आस्था राखेकै कारण बम विष्फोट गराएको अभियोगमा फाँसीको तख्तामा टांग्न पठाइए। जबकि त्यो बम पड्काउने पात्र थिए, श्याम सापकोटा। र, योजनाकार उमेश गिरी। भीमनारायण त्यस दिन साथी रामकृष्ण श्रेष्ठका साथ उनकी आमा अगमकुमारीका लागि औषधि किन्न औषधिचोक पुगेर राजाको कार्यक्रम हेरेपछि अस्पताल फर्कंदै गर्दा विष्फोटमा परेका थिए। रामकृष्ण त्यही विष्फोटमा परेर मारिएका थिए (नेपाल, जगत –बिपीको विद्रोह, पृ २३६)।
तिनै महेन्द्रको पालामा जनकपुर बमकाण्डको अभियोगमा १३ वर्षीय बालक अरविन्द ठाकुरलाई पक्राउ गरी १६ वर्ष जेलमा सडाइएको थियो। महेन्द्रको कठोरतालाई राणाकालीन समयमा सर्वश्वसहित जेल सजाय पाएका र जेलबाट भागेपछि फेरि पक्राउ गरेर जेलमा राखिएका स्वनामधन्य गणेशमान सिंहले दाँजेका थिए– 'म सुन्दरीजल जेलबाट छुटेपछि भेट्न आउने साथीहरूले २०१७ पुस १ पछि पक्राउ परेका साथीहरूमाथि दिइएको यातनाबारे बताए। त्यो सुन्दा राणा शासनको भन्दा ज्यादै बर्बर, घृणित एवं पाशविक यातना पञ्चायतकालमा दिइएको थियो भन्न करै लाग्छ' (सिंह, गणेशमान–मेरा कथाका पानाहरू, भाग २, पृ ९९)।
आ)
महेन्द्र पनि थिए पश्चिम लमजुङकै दुराडाँडामा प्रस्ट परिचय खुल्ने पुर्ख्यौली भएका राजतन्त्रका उत्तराधिकारी शासक। उनका पुर्खा पश्चिम नेपालको लसर्घाबाट अघि बढेका पश्चिम नवकोटमा थाना हाल्दै कास्कीमा रजाइँ गर्न आइपुगेका जगाती खान (कुलमण्डन खान) का छोरा जसवम (यशोब्रह्म) साही। लमजुङमा गतिलो शासक नभएपछि दुराडाँडाका दुराहरूसहितले कास्कीबाट मागेर ल्याएर थपना गरिएका तिनै जसवमका छोरा थिए द्रव्य साही। उनैबाट प्रस्टत: धुरीखाँबो गाडिन्छ पश्चिम नेपालको भिरालो पहाडी भेग गोर्खामा खान-साही-शाहहरूको रजाइँ यात्राको।
महेन्द्र तिनै दुराडाँडाका दुराहरूसहितले ल्याएर थापिएका राजा जसवम साहीका उत्तराधिकारी थिए। जन्मँदै राजा हुने योग्यता लिएर आएका सामन्तवादी व्यवस्थाका अविच्छिन्न उत्तराधिकारी। महेन्द्र आफ्ना पिता त्रिभुवन जम्मा १३ वर्ष १० महिना २३ दिनको उमेर पुग्दा जन्मिएका थिए। जसले कालान्तरमा आफ्नै पितासँग अनेकन टक्कर लिए। कहिले राणाहरूको अदालतमा चुक्ली लगाएर त्रिभुवनलाई असजिलोमा पारिदिए। कहिले इच्छित युवतीसँग बिहे गर्न नपाए युवराज पद नै त्यागिदिन्छु भन्दै राजीनामा फालेर बोलचाल बन्द गरिबसे।
त्रिभुवनले पनि ‘तेरो राजीनामा स्वीकार गरेर तेरो भाइलाई तेरो ठाउँमा युवराज बनाउँछु’ भनेर धम्क्याएका थिए। घुर्क्याउन राजीनामा गरेका महेन्द्र कथम् त्रिभुवनले राजीनामा स्वीकारै पो गरिदिन्छन् कि भनेर अन्तिम भरोसाको आशले बिपीको शरणमा गएका थिए– पदवी छाड्नै परे नेपाली कांग्रेसको सदस्यता लिएर राजनीतिमा आउँछु, अहिलेलाई पिता (त्रिभुवन) लाई सम्झाइदिनपर्यो भन्दै (नेपाल, जगत – पहिलो संसद: बिपी महेन्द्र टकराव, पृ ७)।
महेन्द्र बिपीसँग भनिरहन्थे– रत्नसँग बिहे गर्न पाइनँ भने म गद्दी छाडिदिन्छु। उनले बिपीसँग अनुरोध गरेका थिए– मलाई निकाल्ने अन्तिम योजना बनेको छ। तपाईंले रोक्नुपर्यो। त्रिभुवनलाई सम्झाएर महेन्द्रको राजीनामा फिर्ता गराउन र महेन्द्रलाई मन परेकी युवतीसँग बिहे गर्ने अनुमति दिन मनाउन पुगेका बिपीलाई त्रिभुवनले सचेत गराउँदै भनेका थिए– बिपी, तपाईं प्रजातन्त्रमा मन पराएको केटीसँग विवाह गर्न पाउनुपर्छ भन्नुहुन्छ। तर मेरो छोरा महेन्द्रलाई मैले जति चिनेको छु, तपाईंले चिन्नुभएको छैन। यसले दु:ख दिएपछि थाहा पाउनुहुन्छ (नेपाल, उही (१), पृ ७८)।
त्रिभुवनलाई बिहेको प्रसंगमा मात्र होइन, राणाकालमा समेत महेन्द्रले रुवाएका थिए। राणा सरकारसामु रक्तपात मण्डली, प्रजा परिषदको योजनामा त्रिभुवन संलग्न भनेर महेन्द्रले चुक्ली लगाएका थिए। त्रिभुवनले गणेशमानसँग भनेकै पनि रहेछन्– यस (महेन्द्र) ले ९७ सालमा रक्तपात मण्डलीको आन्द्राभुँडी सबै बताइदिएको थियो। त्यो गरेबापत् उसलाई जुद्धशमशेरले बोलाएर बुवा (त्रिभुवन) लाई गोरखा पठाउने तय गरिसकेँ। अब सरकार गद्दीमा राज होइबक्सनुपर्छ भनेर यसलाई भनेको थियो। त्यहाँबाट फर्केपछि उस (महेन्द्र) ले आफ्नो कर्मचारीहरूमध्ये सुब्बालाई मिरसुब्बा र मिरसुब्बालाई सरदार प्रमोसन गरेछ (गौतम, उही, पृ १७४)।
नभन्दै त्यसरी राजीनामा टारेर मन परेकी रत्नसँग बिहे गराउन त्रिभुवनलाई सहमत गराएका बिपीलाई महेन्द्रले शक्ति हात लिएर प्रधानमन्त्रीमा बहाल रहेकै अवस्थामा सेना लगाएर पक्राउ गराए। आठ वर्ष लामो कठोर जेल जीवनमा कैद गरे बिनाअभियोग। प्रताडना लादे। अरूलाई जित्नैपर्ने र आफूभन्दा देशभित्रका अरू कसैको व्यक्तित्व अग्लिएको पचाउन नसक्ने आत्मिक लघुताभाषको परिणाममा लोकतन्त्रमाथि अहंकारको शाही बुल्डोजर कुदाइदिए।
छलछाम, धोकाधडी, प्रतिशोध महेन्द्रले मनको सन्दुकमा जतन गरेर राखेको जीवन व्यवहारको आदर्श खजाना थियो। उनी बिपीसँगको वार्तासमेत रेकर्ड गराउँथे गोप्य तवरले। महेन्द्रले व्यक्तित्वको लघुताभास दबाउन निरंकुशताको सिक्रीमा बाँधेर घिसारेका थिए बिपीलाई।
त्यसको प्रस्ट संकेत दिँदै महेन्द्रले बिपीलाई ‘कू’ को केही दिनअघि मात्रै भनेका थिए– विश्वेश्वर बाबु, तपाईं र ममध्ये एकजना रहनुपर्यो। या त तपाईं चलाउनुस्, मछेउ लागिदिन्छु। या तपाईं छाडिदिनुस्, म चलाउँछु (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, पृ २७५)।
अर्धसत्य यथार्थ
यो मात्रै अन्तिम सत्य थिएन। हो, बिपी र महेन्द्रमा व्यक्तित्वको टकराव थियो। तर, ०१७ पुस १ गते महेन्द्रबाट गरिएको लोकतन्त्रको अपहरण बिपीसँगको व्यक्तित्वको टकरावका कारण मात्रै थिएन।
बिपी हटेर सुवर्ण प्रधानमन्त्री भएको भए ०१७ पुस १ को निरंकुता देशमा लादिन्नथ्यो भनेर महेन्द्रीय पञ्चायतको भक्तिभाव गर्नेहरूले भनिरहेको पाइन्छ। बिपीले महेन्द्रसँग पटकपटक 'सरकारलाई मसँग काम गर्न असहज भएको हो भने जुनसुकै बेला राजीनामा दिन तयार छु, सुवर्णलाई प्रधानमन्त्री बनाऔं' भनेर प्रस्ताव गरिरहेकै थिए।
उसै पनि बिपीले पत्नी सुशीलाको भोकहड्ताल तोडाउन वर्षदिन बढी प्रधानमन्त्री पदमा नबस्ने बाचा गरेका थिए विश्ववन्धु थापा, तुलसी गिरी लगायतलाई फड्के किनाराको साक्षी राखेर। त्यस्तो बाचाले तय गरेको म्याद गुज्रिँदै जान थालेपछि सुशीला र त्यसको फड्के किनाराका साक्षीहरूले बिपीमाथि वचनको पक्का हुन दबाब तीव्र पारिरहेका थिए।
सुशीलाको त्यो भोक हड्ताल 'बिपीलाई राजा महेन्द्र प्रधानमन्त्रीमा देख्न चाहन्नन् र बिपी प्रधानमन्त्री भए प्रजातन्त्र खाइदिन्छन्' भन्ने हल्लाबीच बीपीकै भान्साबाट उठेको थियो। खानपिन बन्द गरेर सुशीला कोइराला बिपीसँग भनिरहेकी थिइन्– गान्धीजस्तो बन। सुवर्णलाई प्रधानमन्त्री बनाऊ। राजासँग टसल नबढाऊ। लोकतन्त्रलाई जोखिमको खोरमा नथुन। फेरि जेल, प्रवास र संघर्षको जमिन तयार नगर। मान्दैनौ भने म हड्ताल तोड्दिनँ।
सुशीलाको दृढ अडानबाट आजित बिपीले एक वर्षभित्र लोकतान्त्रिक संरचना सुदृढीकरण गरेर सत्ता सुवर्णमा हस्तान्तरण गर्ने बचन घरभित्रैको सत्याग्रहीलाई दिएका थिए। र, त्यसको म्याद गुज्रेर गइसकेपछि बिपी अब छाड्छु भन्ने मानसिकतामा पुगेर राजालाई त्यसबारे प्रस्ट जनाउ दिन थालिसकेका थिए।
महेन्द्रको समस्या व्यक्ति बिपीमा होइन, बिपीजस्ता अनेकन नेताहरूले नेतृत्व गरेको लोकतान्त्रिक पद्धतिमा थियो। महेन्द्र सैद्धान्तिक रूपमै लोकतन्त्रको, उदारताको पक्षमा थिएनन्। ‘कू’ को मानसिक निश्चय लिएपछि राष्ट्रसंघमा राजदूत रहेका हृषिकेश शाहलाई महेन्द्रले पेरिसमा बोलाएर 'कू' मा साथ दिन भने।
शाहले महेन्द्रसँग सोधे– ‘सरकार, प्रधानमन्त्रीले केही बेअदवी गरे कि, के गरे?’
महेन्द्रले भने– ‘... होइन मेरो मर्यादा या अधिकारको खिलाप कहिले पनि, केही पनि गरेनन्। ... तर मलाई लाग्यो, प्रजातान्त्रिक प्रक्रियाबाट हुँदैन (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त, पृ २८५)।
महेन्द्रको समस्या लोकतान्त्रिक प्रक्रियामै थियो। २०१८ माघ १२ गते नेपाल कम्युनिस्ट पार्टीले अपिल जारी गर्दै भनेको छ– २०१७ पुस १ को घटना ००७ सालदेखि प्रजातन्त्रविरुद्ध गरिएको षड्यन्त्रको पराकाष्ठा हो। ... चुनाव भई देशमा जुन संसदीय व्यवस्था कायम भयो, त्यसले पनि राजाको अधिकारलाई ठूलो हाँक दिएको हुनाले नै राजा महेन्द्रले त्यसलाई विघटन गरेर देशमा आफ्नो शाही हुकुमत कायम गरेका हुन् (पुष्पलाल, छानिएका रचनाहरू, भाग २, पृ २,३, १४)।
पुष्पलालले त्यसलाई थप व्याख्या गर्दै उल्लेख गरेका छन्– ‘२००७ को सशस्त्र क्रान्तिद्वारा सामन्ती राणाको जहानियाँ हुकुमत फ्याँकिनासाथ एकतन्त्रवादका समर्थक सामन्ती प्रतिक्रियावादी तत्वहरू शाही दरबार वरिपरि संगठित हुँदै आएका थिए। यिनै तत्वको सहयोग र समर्थनमा ...धिराजबाट ठाडो हुकुमत खडा गर्ने प्रयत्न गरिएको हो (पुष्पलाल, उही, पृ २२)।’
२००७ सालमै संविधानसभाको चुनाव तय भएको थियो, जसले निर्वाचित गरेका प्रतिनिधिमार्फत् राजकीय सत्ताका तमाम अधिकार जनतामा हस्तान्तरण गर्न राजा त्रिभुवनसमेत तयार थिए। जब महेन्द्र शक्तिमा आए, उनका तमाम प्रयत्न २००७ को क्रान्तिले जनतामा परिलक्षित गरेका अधिकार खोस्ने र सामन्तवादी राणाव्यवस्थाको अविच्छिन्न उत्तराधिकारीको स्थानमा रातन्त्रलाई स्थापित गर्नेतर्फ केन्द्रित देखिन्छ।
२००७ सालको घोषणाको नेपाली उल्था हेरेपछि महेन्द्र आफ्ना भाइ हिमालयसहित गएर त्रिभुवनसँग कड्किएका थिए– त्यो घोषणा हामीलाई किन देखाइबक्सेन? हामीले हेरेको अंग्रेजीको जस्तो भएन। दरबारप्रति धोका भयो भन्दै (खनाल, रेवतीरमण – अनुभूति र अभिव्यक्ति, पृ १५२)।
यो देश भनेका मेरो पुर्खाले आर्जेका हुन् र यसको भोग मैले, मेरो इच्छाको मेचमा बसेर गर्ने हो भन्ने उनको बुझाइ थियो। रैतीहरू मेचमा बस्न आउने होइन भन्ने उनको प्रस्ट सोच थियो। महेन्द्र प्रधानमन्त्री या शासन प्रमुख गरिब, निमुखा, झुपडीका झुत्रेझाम्रेले छान्ने होइन, त्यो काम त दरबारको खोपीमा बसेर चुरोट सल्काउँदै आफूले गर्ने हो भन्ने सोचाइका थिए।
उनको समस्या प्रजातन्त्रसँग थियो। त्यसको अजेय शक्ति थामेर बसेका ‘प्रजा’सँग थियो। त्यसैले उनी नागरिकको शक्ति खोसेर आफ्नो मुठीमा कैद गर्न चाहन्थे। त्यसका लागि लोकतन्त्र या प्रजातन्त्र जे भनौं, त्यसको मृत्युघण्टा बजाउनुपर्थ्यो। महेन्द्रले पुस १ को दिनलाई जनताको हातमा गएको आफूलाई शासन गर्नेहरू छान्ने अधिकार छिन्ने मिति तय गरे। र, जनताको त्यो अधिकार आफ्नो बगलीमा कैद गरे। उक्त कदमलाई आकर्षक देखाउन उनले देश विकास, राष्ट्रियता, भ्रष्टाचार नियन्त्रण, अराष्ट्रिय तत्व, देशविरोधी तत्वजस्ता शब्दहरूको बिस्कुन फिँजाएका थिए।
बिपी र उनको मन्त्रीमण्डललाई बद्नाम गराउन महेन्द्रले कू गरेपछि अनेकन आरोपहरू लगाएका थिए। भ्रष्टाचारदेखि हास्यास्पद खालका समेत। बिपीले तस्करी, भ्रष्टाचार, कमिसन खाएको समाचार छपाएका थिए महेन्द्रले। कन्सुलर बनाउन, राजदूत बनाउन घुस मागिएको पत्र बरामद भएको समाचार लेखाइएको थियो।
महेन्द्रको राजनीतिकर्मीमाथि हिलो छ्याप्ने प्लाटुनले बिपी, गणेशमान, सूर्यप्रसाद उपाध्याय, प्रेमराज आङदम्वे लगायतमाथि सार्वजनिक तवरले बद्नाम गर्ने मोर्चा सम्हाल्यो। कतिसम्म भने सूर्यप्रसाद उपाध्यायको सेफबाट दुईवटा परिवार नियोजनको निम्ति प्रयोग गरिने वस्तु बरामद भयो भनेरसमेत प्रचार गराइयो (देवकोटा, ग्रीस्मबहादुर, उही, पृ ६७१)।
भ्रष्टाचारको मुहान भने महेन्द्रले नेतृत्व गरेको दरबारभित्रै थियो। त्यसलाई संकेत गर्दै महेन्द्रले नै मनोमानीमा प्रधानमन्त्रीको फुली लगाइदिएका डा. केआई सिंहले भनेका थिए– मेरो पालामा म पहिले भ्रष्टाचार निर्मूल पारूँ भनी त्यसको मूल पत्ता लगाउँदै गएँ। जाँदा जाँदा म त राजदरबारको ढोकामा पो पुगेछु। जुन दिन म त्यहाँ पुगेँ, मैले मेरो मन्त्रीमण्डल विघटन भएको सुन्नुपर्यो (सिंह, मंगलादेवी, उही, पृ १३२)।
देशका मन्दिरका सयौं, हजारौं वर्ष पुराना मूर्तिहरू, सर्पका छालादेखि कागजपत्र तस्करी गरिएको कहिले हो? त्यसमा सामेलहरू को थिए? मानिसले भुलिहाले पनि तथ्यहरूले आफूलाई सिध्याइसकेका छैनन्। बिपी सरकारले भ्रष्टाचार गरेको हो भने त्यही सरकारका आफूलाई साथ दिने साधु र नदिनेलाई भ्रष्ट भन्नुले महेन्द्रीय सदाचारको अन्तर्कथा प्रस्ट भइहाल्छ।
असहिष्णु बिपी
बिपीले लोकतन्त्रका लागि कठोर संघर्ष गरे पनि उनमा समेत फरक मतप्रति गहिरो असहिष्णुता थियो। पार्टीभित्रकै असहमतप्रति उनको त्यो असहिष्णुताले उत्कर्ष देखेको थियो। २००७ सालपछि आन्दोलनमा निस्किएका कम्युनिस्टमाथि उनले हिंसात्मक दमन मात्र गरेनन्, प्रतिबन्धसमेत लगाए। असहमतमाथि प्रतिबन्ध लादेर बिपीले चलाएको लोकतन्त्र र महेन्द्रले चलाएको पञ्चायतको चेतना एउटै हो। प्रधानमन्त्री भएका बखत रूसमा पढ्न जान छानिएका विद्यार्थीलाई रूसको विश्वविद्यालय कम्युनिस्ट बनाउने केन्द्र हो भन्दै म त्यहाँ विद्यार्थी पठाउँदिन भनेर विद्यार्थीलाई जानै दिएनन् (अधिकारी, भरतमोहन – मेरो जीवनयात्रा केही सम्झनाहरु, पृ ६५)।
आफ्नो नेतृत्वलाई चुनौती दिने पार्टीभित्रकै नेताहरूप्रति पनि उनी अनुदार थिए। आफ्नो नीति, विचार, नेतृत्वसँग टकराउनेप्रति बिपी प्रतिसोध साँध्थे। पार्टीभित्र प्रस्ट चुनौती बनेपछि उनले आफ्नै दाजु मात्रिकाप्रसाद कोइरालालाई पार्टीबाट बर्हिगमित हुने अवस्थामा पुर्याए। आफूभन्दा फरक विचार र बाटो लिएकै कारण सुवर्णशमशेरलाई अपमानित तवरले पार्टीको नेतृत्वबाट बेदखल गरे। कतिसम्म भने, मित्रमण्डलीको बहसमा समेत बिपी आफ्नो मतसँग टकराउनेहरूप्रति झोक्किन्थे (शर्मा, कुवेर – विद्रोह: इतिहासका साक्षीहरू, पृ ३२)।
पदलाई लिएर पनि उनको दोहोरो मापदण्ड थियो, अहिलेका प्रधानमन्त्री केपी ओलीको जस्तै। अरू (मात्रिका) को विरुद्ध एक व्यक्ति एक पदको नारा लगाएर एक पद (सभापति) आफूलाई दिन माग गरेका बिपी पछि प्रधानमन्त्री हुँदा भने एक व्यक्ति एक पदको माग उठाउनेप्रति असहिष्णु बने। नैतिक रूपमा समेत उनले आफैंले उठाएको एक व्यक्ति एक पदको सवाल कार्यान्वयन गरेनन्, जब उनी त्यसलाई व्यवहारमा उतार्ने ठाउँमा पुगे।
योजनाहीन महेन्द्र
‘तीव्र विकास गर्ने चाहना भएर मैले शासन सत्ता लिएको हुँ। अरू कारणले होइन। तर सोचजस्तो नहुने रहेछ भन्नेमा म पुगेको छु (गौतम, उही, पृ २३६)।’
यसरी विकासको देखावटी तर्क फ्याँके पनि महेन्द्रसँग विकासको कुनै योजना थिएन। विकासको त के, ‘कू’ गरेपछि त्यसको नाम के राख्ने र त्यो कसरी चलाउने भन्नेसमेत महेन्द्रसँग योजना थिएन। खालि उनलाई हुकुमी शासनको मोह चढेको थियो।
महेन्द्रले सत्तापलट गरेपछि पुस ८ मा तुलसी गिरी र विश्ववन्धु थापा महेन्द्रलाई भेट्न नारायणहिटी छिरेका थिए। अघिल्लो दिन अमेरिकाबाट फर्किएर केही घन्टा सैन्य नियन्त्रणमा समेत परेका कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रहेका थापाले महेन्द्रसँग सोधे– ‘अब भावी कार्यक्रम र व्यवस्थाको नाम के राख्ने त?’
महेन्द्रसँग न नाम थियो न कार्यक्रम। भने– ‘मैले व्यवस्था मात्रै परिवर्तन गरेको हुँ। अब के–के गर्ने हो तिमीहरूले नै छलफल गरी तयार गर्नू (सिजापति, विनोद– विश्ववन्धु थापा: क्रान्तिदेखि क्रन्तिसम्म, पृ २०)।’
योजनाहीनता र लहडबाजीको ताउमाउर सेलाउँदै गएपछि महेन्द्र सुस्केरा हाल्न थालिसकेका थिए– ‘अब म सक्दिनँ। वीरेन्द्रलाई दिएर छाडेर जान्छु (शाह, हृषिकेश– प्रारब्ध र पुरुषार्थ, पृ १२८)।’ महेन्द्रले पञ्चायती ठेलागाढा घिसार्न जति खेताला जुटाएका थिए, ती देश बनाउन होइन, स्वार्थको घैंटो भर्न महेन्द्रको चाकरीमा लामबद्ध थिए। अलि पछि गएर महेन्द्रले समेत त्यो कुरा बुझिसकेका थिए। उनी भन्न थालेका थिए– ‘आजकल म जसलाई भेट्छु कि पद माग्छ, कि जमिन माग्छ, कि तक्मा माग्छ। केही न केही मागेकै हुन्छ (सुवेदी, नवराज – इतिहासको एक कालखण्ड, पृ ५)।'
तुलसी गिरीजस्ता मानिस स्वार्थको बेतोड घोडामा सवार थिए। आफूलाई राजनीतिमा ल्याएर माथिल्लो पद, मन्त्री दिने बिपीमाथि विश्वासघात गर्नेले महेन्द्रलाई निस्वार्थ सघाउने कुरै थिएन। महत्वाकांक्षाको उस्तै बेतोड घोडामा सवार महेन्द्रबाट उचालिएर हुकुमी पञ्चायतको टाट्नोमा पहिलो स्याउला चबाउन पुगेका थिए गिरीहरू। सूर्यबहादुर थापाहरू पनि त्यसको अपवाद थिएनन्। प्रधानमन्त्री पद नपाएको दिनमा महेन्द्रकै विरोधमा उफ्रिन थाल्थे। पछिबाट महेन्द्रले पनि गिरीहरूले आफूलाई धोका दिएको गुनासो गर्न थालेका थिए– मैले उनीमाथि विश्वास गरी पञ्चायत सुरू गरेँ, तर अहिले मलाई छाडे (सुवेदी, उही, पृ ५)।
त्यसरी आजित भएपछि महेन्द्र बिपीलाई सम्झिन थालेका थिए, ‘अब म बिपीलाई झिकाउँछु र ऊसँग सम्झौता गर्छु।’
बिपी आए आफ्नो भाग खोसिने प्रस्ट जानेका गिरी, विश्ववन्धुहरू भन्थे– ‘सरकार केही समय पर्खिबक्सियोस्। बिपीलाई जेलमुक्त नगरिबक्सियोस्। हामी सबै ठिकठाक बनाउँछौं (कार्की, गोविन्दमान – नेपाली कांग्रेसको सशस्त्र आन्दोलन, पृ १४)।’
तिनले आफ्नो स्वार्थबाहेक कहिल्यै केही ठिकठाक पारेनन्। महेन्द्र योजनाहीन थिए। उनका सारथीहरू स्वार्थको घडा भरेर बसेका थिए। त्यसबारे महेन्द्र राम्ररी प्रस्टिन थालेका थिए।
उनले एकदिन बिपीका भाइ गिरिजाप्रसाद कोइरालालाई नारायणहिटीको बन्द कोठामा भने– हेर गिरिजा सबैको मूल्य हुन्छ।
गिरिजा – सरकारले के भनिबक्सेको?
महेन्द्र – बाख्राको मोल यति, भेडाको मोल यति। कसैको मोल पाँच सय, कसैको पाँच हजार, दस हजार। त्यस्तै मान्छेको पनि मोल हुन्छ। ...फलानोको यति, फलानोको यति ... टंकप्रसादको मूल्य यति ... मात्रिकाप्रसादको मूल्य यति...। तर एउटा मान्छेको मात्र मूल्य छैन । (भित्तातिर देखाउँदै) यसको मूल्य छैन।
गिरिजाले राजाले देखाएको भित्तातिर हेरे। त्यहाँ बिपीको तस्बिर थियो। महेन्द्रले त्यही फोटो देखाइरहेका थिए (कोइराला, गिरिजाप्रसाद –आफ्नै कुरा, पृ ६८)। जीवनको आखिरी घडीमा दियालो बंगलामा महेन्द्रले भनेका रहेछन्– अब मैले देशका लागि केही गर्नैपर्छ। डेमोक्रेसी नै मासेर म मर्न चाहन्न। उत्कर्षमा महेन्द्रले निष्कर्ष सुनाउन थालेका थिए– ‘अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बिपीजस्तो मानिस छैन।’
यसरी महेन्द्रले जिउँदैमा आफ्नो कदम गलत भएको र आफ्नो बुझाइ गलत भएको स्वीकार गरिसकेका थिए।
आफूले मारेको डेमोक्रेसी फर्काउने आखिरी योजना कार्यान्वयन गर्न नपाउँदै हर्टअट्याक भएर बितेका महेन्द्रले डेमोक्रेसी मारेर लादेको पञ्चायती रजगजको नसा बसेकाहरू भने आज पनि मरिसकेको पञ्चायतको महिमा फलाक्न अभिसप्त छन्। पञ्चायतका आविष्कारक महेन्द्रका छोरा एवं उनका उत्तराधिकारी वीरेन्द्रले समेत पञ्चायतले देश हितको, समयका पदचापको अब थप सामना गर्न सक्दैन भनेर पञ्चायतलाई मृत्युशैयामा सुताएका थिए। वीरेन्द्रले समेत अब थाङ्ने भयो भनेर मृत बनाएको पञ्चायतको धङधङीमा भाउन्निएर अलापविलाप गर्नेहरूले नयाँ समयलाई सस्तो मनोरन्जन दिन भने छाडेका छैनन्।
महेन्द्रले जीवनकालमा केही दृढनिश्चयी काम पनि गरेका थिए। त्यसको दीर्घकालीन प्रभाव पनि परेको छ। तर, सबभन्दा माथि थियो उनले वितरण गरेको पाल्सी राष्ट्रवादको ज्वरो, जसले हनहनी तातिएका महेन्द्रीय चेतनाका चेला चपेटाको दिमागबाट पाल्सी राष्ट्रवादको भुंग्रो अझै सेलाएको छैन।
उनको कदमलाई देश जोगाउने, राष्ट्रिय चेतनाको लहरी उठाउने खेलोका रूपमा स्थापित गर्न सर्जकहरु परिचालन गरेर निबन्धमार्फत् व्याख्या गराउन थालिएको थियो। बालकृष्ण समले लेखेका छन्– महेन्द्र वीरविक्रम शाहदेव राजगद्दीमा विराजमान होइबक्सेको बेलादेखि हाम्रो देशमा राष्ट्रिय चेतनाको लहरी उठ्न थालेको हो (सम, बालकृष्ण – हाम्रो राजा, हाम्रो देश, हाम्रो भाषा, हाम्रो भेष (महेन्द्र स्मृति ग्रन्थ), पृ ३०८)।
चित्तरञ्जन नेपाली लेखिरहेका थिए– २०१७ सालमा महान ऐतिहासिक कदम चालिबक्सी राजाले देशलाई पतनको बाटोबाट बचाइबक्सेको थियो (महेन्द्र स्मृति ग्रन्थ, पृ ८३३)।
तर जनताको अधिकार खोसेर आफ्नो गोजीभित्र तजबिजीका लागि राख्ने मानिस कसरी राष्ट्रवादी हुन्छ? नागरिकहरूलाई विभाजित गर्ने, देशलाई आफ्नो मनचिन्ते सनकको पक्ष–विपक्षमा विभाजित गर्ने, अन्यौल र निरंकुशताको घन नागरिकको टाउकोमा बजार्ने व्यवस्था लाद्ने मानिस कसरी राष्ट्रवादी हुन्छ? त्यस्तो व्यवस्था जसलाई देशले तीस वर्षपछि फ्याल्नुपर्यो। उनकै छोराले त्यसलाई मृत घोषणा गर्नुपर्यो। देशको तीस वर्ष अन्यौल, विवाद, संघर्ष र हानाथापको खाडलमा हालेर बर्बाद बनाउने कोही कसरी राष्ट्रवादी हुनसक्छ?
महेन्द्रले लादेको पञ्चायती व्यवस्थाले देशका नागरिकलाई विदेश निर्यात गर्ने कामको सुरूआत गरेको थियो। राणाकालीन समयमा देशबाहिर पढ्न, उपचार, तीर्थ गर्न जानसमेत राहदानी चाहिन्थ्यो। त्यस कारण सर्वसाधारणहरू देशबाहिर खासै गएका थिएनन्। २००७ देखि २०१७ को बीचमा पनि असाध्यै कम नेपाली नेपालबाट बाहिर जान थालेका थिए। महेन्द्रले तानाशाही लादेपछि भने देशको अवस्था अकल्पनीय तवरले बदलियो। देशको परम्परागत आन्तरिक उत्पादन प्रणालीमा जोडिएर जीवन चलाएका नेपालीहरू श्रमशक्ति बेच्न भारतका गल्लीहरूमा भौंतारिने र भारतीय दरवानमा बहादुरको खिताब भिरेर सलाम बजार्ने प्रथाको आरम्भ महेन्द्रीय तानाशाहीका दिनमा आरम्भ भएर उत्कर्षमा पुग्यो।
महेन्द्रले शासन गरेकै दिनमा देशको एकचौथाइ जनता श्रमशक्ति बेच्न भारतीय श्रम बजारमा भौंतारिएका थिए। आज भारतदेखि अरब, युरोप, अमेरिका, जापान, कोरिया लगायत देशमा श्रम बेच्न जानेहरूको संख्या पनि त्यही हाराहारी छ।
धेरैले महेन्द्रले विकासको मूल फुटाएको आधारहीन तर्क बेच्ने गरेको पनि पाइन्छ। पूर्व–पश्चिम राजमार्गको परिकल्पनाकारका रूपमा उनको जयजयकार पनि गर्ने गरेको पाइन्छ। वास्तविकतामा पूर्व–पश्चिम राजमार्गको परिकल्पनाकार महेन्द्र थिएनन्। त्यो योजना थियो सात समुन्द्रपारि अध्ययन गर्न गएबापत जातिच्यूत भएका नृपजंग राणाको। पूर्व-पश्चिम राजमार्ग निर्माणका लागि भनेर २००५ सालमा वीरगन्जमा खुलेको कार्यालयको प्रमुख तिनै नृपजंग थिए, जो २००७ को परिवर्तनपछि बनेको संयुक्त सरकारमा शिक्षामन्त्री बने।
२०१७ देखि २०४६ बीचको ३० वर्ष समयमा शिक्षा, स्वास्थ्य, यातायातका परिसूचकहरूमा नेपाल संसारकै सबभन्दा पुछारमा थियो। साक्षरता प्रतिशत उस्तै दयनीय हालतमा थियो। महेन्द्रको निधन भएको वर्ष २०२८ मा देशको कुल बजेटको ३० प्रतिशतभन्दा बढी अर्थात् ३५ करोड रकम विदेशी ऋणको भरोसामा थियो। त्यो बढेर पञ्चायतको आखिरी वर्ष ०४६ को वार्षिक बजेटमा विदेशी ऋणको हिस्सा ७ अर्ब पुगेको थियो। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीको साधारण तर्फको कुल बजेट राजदरबार एक्लैको बजेटभन्दा निकै कम थियो।
जति कलकारखानाहरू खुलेका थिए, पञ्चायती प्रेतहरूले चुसेर त्यसलाई कंगाल बनाइसकेका थिए। चर्को घाटामा गएपछि २०३९ मै ती कारखाना बेच्ने या बन्द गर्नुपर्ने प्रतिवेदन तयार भैसकेका थिए। पञ्चायतकालीन त्यही प्रतिवेदनलाई पछि बहुदलकालीन खुला बजार अर्थतन्त्रका हिमायतीहरूले कार्यान्वयन गरेर बेचिदिए।
संसारको तीव्रत्तर विकासको गति जुन तीस वर्षको समयान्तरमा भयो, त्यसको दाँजोमा नेपाल सर्वाधिक गतिमा पछि परेको त्यही महेन्द्रीय तानाशाहीका तीस वर्षे समयकालमा हो।
महेन्द्रको जुवामा कांग्रेसी डफ्फा
पुस १ पछि कांग्रेसका एकसेएक उच्चस्तरीय नेताहरूलाई निर्दलीय हुकुमी मनोमानीको जुवामा नारिदिए महेन्द्रले। प्रचण्ड बहुमतसहित निर्वाचित बिपी नेतृत्वको सरकारलाई अपदस्त गर्दै बिपीसहितलाई सैन्य हिरासतमा बन्दी बनाएर गठित हुकुमी मनोमानीको जुवामा नारिन जानेहरूमा तीन जना त कांग्रेसका पूर्वमहामन्त्रीहरू नै थिए।
आफैंले आफैंलाई राजाबाट प्रधानमन्त्रीसमेतमा मनोनित गरेका महेन्द्र नेतृत्वको सरकारमा हाजिरी लगाउनेमा कांग्रेस पूर्वमहामन्त्रीत्रय तुलसी गिरी, विश्ववन्धु थापा, हृषिकेश शाह, नागेश्वरप्रसाद सिंहसहित भुवनलाल प्रधान, खगेन्द्रजंग गुरुङ, सूर्यबहादुर थापा लगायत थिए। सूर्यबहादुरसमेत कांग्रेस मोरङका पूर्वसचिव थिए। गिरी र थापा त बिपीका दाहिने, देब्रे हात भनेर प्रचारितसमेत थिए। पञ्चायतको नामाकरण गराउनेसमेत तिनै विश्ववन्धु थिए।
पछिबाट कांग्रेस नेताहरू श्रीभद्र शर्मा, रुद्रप्रसाद गिरी, दिल ब. श्रेष्ठ लगायत अनेकन् पञ्चायतलाई काँध हाल्न पुगे। नेपाल कम्युनिस्ट पार्टीका केशरजंग रायमाझीसहित कमलराज रेग्मी लगायत केही नेताले पनि महेन्द्रको जुवाको सोइलामा आफ्नो गर्धन छिराउन पुगे।
गणतन्त्रको जग
अनेकन तिकडमबाजी र खेलोहरूको जुगाड गरेर २०१७ पुस १ मा महेन्द्र रेडियो नेपालमार्फत् मुखरित भए – ... अराष्ट्रिय तत्वहरूले धेरै मात्रामा प्रोत्साहन पाई राष्ट्रिय एकतामा समेत बाधा पुर्याउने वातावरण आउन लागेकाले, ....समाजमा चाहिने परिवर्तनको सट्टा जनतामा अशान्त र दूषित वातावरण मात्र पैदा गरेकाले, ...उपर्युक्त वातावरण हटाई शान्ति–सुरक्षा कायम राख्न र देशलाई संक्रमण स्थितिबाट बचाउन... मन्त्रिमण्डल र संसदका दुवै सदनहरूसमेत हामीबाट आज यो घोषणाद्वारा विघटन गरिबक्सेका छौं ।
यो घोषणासँगै महेन्द्रले जनतामा निहीत अधिकार आफूमा केन्द्रित गरे र देशलाई हुकुम र आदेशको बलमा सञ्चालित गर्ने बाटो समाए। महेन्द्रको कदमलाई समर्थन गर्नेहरू राष्ट्रवादी भए। देश लुटेर टाट पल्टाउने, पुरातात्विक मन्दिरका मूर्ति चोरेर विदेश पठाउने, सर्पको छाला तस्करी गर्ने, कार्पेटदेखि जीवजन्तुको छाला तस्करी गर्नेसम्म राष्ट्रवादी भए, महेन्द्रीय पञ्चायतलाई शिरमा बोकेका कारण।
२०१७ सालअघि प्रत्यक्ष तवरले कहिल्यै राजतन्त्रविरुद्ध नारा लागेको थिएन। जनता राजाबेगर पनि देश चल्छ भन्ने सोच्न समेत सक्थेनन्। राजनीतिक दलहरू पनि संविधानसभको नारा त दिइरहेका थिए तर राजासहितको संसदीय व्यवस्थामै सहभागी भइरहेका पनि थिए। २०१७ सालको महेन्द्रको ‘कू’ ले दलहरू र जनतालाई राजतन्त्र जनअधिकारको प्रमुख समस्या हो र राजतन्त्र र लोकतन्त्र सँगसँगै जान सक्दैनन् भन्ने निष्कर्षमा पुग्न सहयोग गर्यो। सडकमा राजतन्त्रविरुद्ध नारा महेन्द्रले पञ्चायत आरम्भ गर्नुअघि कहिल्यै लागेको थिएन। महेन्द्रले त्यसका लागि जमिन तयार गरिदिए।
कतिसम्म भने संविधानसभाको माग छाडेर संसदीय चुनावमा झरेका र सहअस्तित्वको कुरा गरिरहने बिपीसमेत राजतन्त्रको विकल्पमा सोच्न बाध्य भए। उनी भन्न थालेका थिए – राजाको भविष्य लोकतन्त्रका लागि हुने आन्दोलनको स्वरुपबाट तय हुन्छ। आन्दोलन शान्तिपूर्ण हुन्छ भने आन्दोलनपछि संवैधानिक राजतन्त्र रहन्छ। तर आन्दोलन हिंसात्मक हुन बाध्य भयो भने त्यहाँ राजतन्त्र रहन सक्दैन (२०२५ फागुन १ मा बिपीले विराटनगरमा पत्रकारमाझ दिएको अभिव्यक्ति)।
नभन्दै बिपीले त्यसो भनेको २१ वर्षपछि शान्तिपूर्ण आन्दोलनले संवैधानिक राजतन्त्रलाई ठाउँ बनायो। संवैधानिक राजतन्त्रलाई तानाशाहीमा बदल्ने महेन्द्र पुत्र ज्ञानेन्द्रको कदमपछि दलहरू सशस्त्र युद्धमा सामेल माओवादीसँग हात मिलाउन बाध्य भएपछि राजतन्त्र समाप्तिको बुलेट दागेर बन्दुकलाई बाकसमा थन्क्याइयो।
महेन्द्रले लादेको निरंकुशताको परिणाममा नागरिकहरू खुलेआम राजतन्त्र समाप्तिको माग गर्न थालेका थिए। बिपी अप्रजातान्त्रिक तवरले सञ्चालित राजतन्त्र बोक्न सकिँदैन भन्दै अदालतमा समेत अभिव्यक्त भइरहेका थिए – नेपाली कांग्रेस त्यस्तो राजतन्त्रको विरोधी छ (बिपी कोइरालाको अदालतमा बयान, पृ १६)। जनकपुर बमकाण्डको आरोपमा फाँसी दिन लागिएका दुर्गानन्द झालाई उनको अन्तिम इच्छा के छ भनेर सोध्दा उनले भनेका थिए – देशमा प्रजातन्त्र ल्याउन राजसंस्थाको समाप्ति हुनुपर्छ (अधिकारी, हेमराज – आजको नेपाल, पृ ४७४)।
यो आवाजको २०१७ मा शिलान्यास भयो, महेन्द्रबाट, आफ्नै निरंकुश कदमका बलमा। जो, समयक्रममा मुखरित हुँदै गयो, चर्को बन्यो। २०४६ सालमा आइपुग्दा कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा राजनीतिक हिस्सा राजतन्त्रविरुद्ध सैद्धान्तिक अडानका साथ उभिने अवस्थामा पुग्यो। त्यो बढ्दै गयो र २०६३ सालमा गणतन्त्रको धुन्य फहरायो।
महेन्द्रले बिपीबाट मेच खोसेर शिलान्यास गरेको गणतन्त्रको यात्रा बिपीकै भाइ गिरिजाप्रसादको नेतृत्वमा नेपाली जनताको विशाल पंक्तिको एकताबद्ध तागतको बलमा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्रबाट खोसेर पूरा गरियो।
गणतन्त्रमा मेचमा बस्ने सदिच्छा सबैले राख्न पाउँछन्। ज्ञानेन्द्रले पनि। ज्ञानेन्द्रका शुभचिन्तकहरूलाई उनी जननिर्वाचित व्यक्ति बस्ने मेचमा बसेको देख्न मन छ भने महेन्द्रझैं कसैलाई नभनी सुटुक्क मेच भएको कोठामा छिर्ने होइन, खुला चुनावमा आएर मेचमा बस्न पुग्ने स्वतन्त्रता छँदैछ।