मंसिरको एउटा घमाइलो दिनमा छोरो जन्म्यो। यो ऊ जन्मनु अगाडिको कथा हो। त्यसैले एकचोटि घडीको सुईलाई नौ महिनापछाडि फर्काइ हेरौं।
लकडाउनका सुरूआती दिनको साँझ। म साइकल चलाएर पोडकास्ट सुन्दै थिएँ, चितवनका गाउँले सडकमा। द न्यु रिपब्लिक पत्रिकाको 'द पोलिटिक्स अफ एभ्रिथिङ' पोडकास्ट बज्यो। त्यस दिनको अंकको शीर्षक थियो- आर किड्स ब्याड फर द प्लानेट?
अर्थात् के बच्चाहरू पृथ्वीका लागि घातक छन्?
प्रस्तोताहरू लाउरा मार्श र एलेक्स पेरिनले पत्रकार एमिली एट्किनसँग गरेको संवादमा केही प्रश्नको जवाफ खोज्दै थिए- नयाँ पुस्ताले के आधारमा बच्चा जन्माउनेबारे निर्णय लिन्छ? त्यो निर्णय प्रक्रियामा वातावरण र जलवायू परिवर्तनको भूमिका कस्तो हुन्छ?
कुरा गर्ने उनीहरू थिए तर यस्तो लाग्दै थियो, म उनीहरूसँग संवादमा थिएँ। र, मेरा सरोकारहरूको सम्बोधन उनीहरू तीन जनाले गर्दै थिए।
त्यो बेला हाम्रो बिहे भएको एक वर्ष कटेको थियो। उमेरले हामी दम्पती नै चालीसको संघारमा थियौं। बच्चा जन्माउनेसम्बन्धी निर्णय गर्न हामीसित लामो समय थिएन।
बिहे अगाडिदेखिकै संवादमा बच्चा पाउनेबारे हामी दुवैको ठोस वा अपरिवर्तनीय अडान थिएनन्। यस विषयमा हामीबीच चल्ने संवादको टुंगिने बिन्दु उही हुन्थ्योः एज यु विश।
उनी त्यही भन्थिन्, म त्यही।
बच्चा पाउने वा नपाउनेबारे मेरो निर्णय प्रक्रिया त्यही पोडकास्टमा छलफल भएझैं केही जवाफहीन प्रश्नको बन्धक भएको थियो- आउँदो बीस वा पचास वर्षमा के पृथ्वी मानिस स्वस्थ रूपमा बाँच्न योग्य रहला? प्रदूषित भौतिक वातावरण र विषाक्त मानसिक ध्रुवीकरणबीच सन्तान जन्माएर तिनप्रति के न्याय गर्न सकिएला?
मानिसहरू अहिले झैं धुन्धुकारी नै रहने र जीवनशैली नफेरिने हो भने थप एउटा विध्वंशक मानव पैदा गर्नु के न्यायसंगत होला?
फेरि यो पृथ्वीको दोहन र उसमाथि हुने अतिक्रमणको कुरा मात्रै थिएन, मानव जातिको अत्याचारप्रति पृथ्वीले प्रतिक्रिया जनाउने क्रममा भावी सन्तानको आफ्नै जीवन हाम्रोभन्दा निकै दयनीय हुने निश्चित थियो। अनि मान्छे र पृथ्वीले एकअर्कालाई दयनीय बनाउने यो दुश्चक्र कहाँ गएर टुंगिने हो कुनै पत्तो थिएन, छैन। यी सबै कारणले म यस विषयमा कुरा उठ्दा साथीहरूसँग भन्थेँ, 'म बच्चा जन्माउँदिनँ।'
तर मनमा कतै फरक किसिमको भय पनि थियो। आउँदो पाँच वा दस वर्षपछि, जब हाम्रो प्रजननको उमेर कट्छ, त्यतिखेर सन्तानको इच्छा जाग्यो भने के गर्ने? मैले सोचेजस्तो प्रलयले अलि लामै समय लियो भने?
श्रीमतीको निर्णय लिने दुरुस्त आधार मलाई थाहा छैन। तर ढिलो गरी बिहे गरेकी कामकाजी उनलाई बच्चाको अचाक्ली रहर चाहिँ थिएन।
पोडकास्ट सुनेको केही दिनमा हाम्रो बच्चा बसेको निश्चित भयो। हाम्रा सबै दुविधा आफैं दुर भए। हामीले नयाँ परिस्थितिका लागि आफूलाई तयार पार्दै गयौं।
उक्त पोडकास्टमा आफ्नो खोजका आधारमा एट्किनले भनेकी छन्- पृथ्वीमा तपाईंको कार्बन फुटप्रिन्ट कम गर्ने वा जलवायू परिवर्तन रोक्न योगदान गर्ने सबभन्दा सजिलो व्यक्तिगत उपाय भनेको एउटा कम बच्चा जन्माउनु हो। एउटा बच्चा नजन्मिनु भनेको उसले जीवनभर उत्सर्जन गर्ने कार्बन डाइअक्साइड लगायत हरितगृह ग्यास वातावरणमा जानबाट रोकिनु हो। अर्थात् वातावरणीय हिसाबले बच्चा नजन्माउनु भनेको बाढी रोक्न मूल नै थुनिदिनुजस्तो हो।
तर फेरि उनी भन्छिन्- नयाँ पुस्ताले मानिस जातिको भन्दा निर्जीव पृथ्वीको बढी माया लागेर बच्चा नपाउने निर्णयमा पुगेका होइनन्। सन्तान प्राप्ति र तिनको रेखदेख अपार सुखको स्रोत हो भन्ने तिनलाई राम्रैसँग थाहा छ। तिनमा त्यो सुख लिने हुटहुटी पनि छ। तर आफ्ना सम्भावित सन्तानले विषाक्त हावामा सास फेरेको, विषाक्त पानी र खाना खाएको, क्यान्सरजस्ता रोगसँग लडेको अनि एकपछि अर्को प्राकृतिक प्रकोप झेलेको कल्पना गर्दा तिनको आङ सिरिंग हुन्छ। उनीहरू त्यस्तो नारकीय वातावरणमा सन्तानलाई प्रवेश गराएर तिनको बिजोग भएको हेर्न सक्दैनन्।
उसो त अहिलेसम्म विश्वका धेरै देशका मानिसले यही भरोसा राख्दै आएका छन् कि तिनको भन्दा तिनका सन्ततिको भविष्य उज्ज्वल हुनेछ। आधा पेट वा एक छाकले गुजारा गर्नेका सन्तानले भरपेट दुई छाक खानेछन्। निरक्षरका सन्तान शिक्षित हुनेछन्। बस चढ्न नपाउनेका सन्तान जहाज चढ्नेछन्। गाउँ नछाड्नेका सन्तान महादेशै छाडेर नयाँ संसार देख्नेछन्।
खासगरी पश्चिमा विश्वको पछिल्लो पुस्ताले त्यस्तो विश्वास गुमाउँदै गइरहेको छ। तीव्र आर्थिक असमानताबीच सन्तानको आर्थिक भविष्यप्रति धेरै बाबुआमा चिन्तित छन्। तर पछिल्लो समय चर्किँदै गरेको वातावरणीय समस्या र जलवायु परिवर्तनले संसारभरका सचेत युवा दम्पतीलाई धर्मसंकटमा पारिदिएको छ- आफ्नोभन्दा खराब हालत हुने जानेरै अर्को पुस्तालाई जन्म दिने कि नदिने?
लकडाउनको एउटा फाइदा के भने, पेसागत कामको चाप घट्यो। परिणाम, पहिले आँटै गर्न नसकेर थाँती रहेका काम सुरू भए। मुख्य काम थियो पढ्ने। बढी लगाव र मिहेनत चाहिने गैर–आख्यानका मोटा किताब नपढेको लामो समय भइसकेको थियो।
युवल नोआ हरारीको विख्यात 'ट्रिलोजी'को दोस्रो भाग 'होमो डियोस' पहिले छिचोल्न नसकेर यसै थियो। केही दिनमा त्यो पढिसकेँ। आजको मानव जातिका सामु रहेका चुनौतीबारे लेखिएको त्यत्तिको सारगर्भित सायद अर्को कुनै किताब छैन। खासगरी मान्छे आफैंले गरिरहेको 'विकास' कसरी उसको हातबाट फुत्किँदै गइरहेको छ र नयाँ युगका चुनौती खप्न हामी कति अक्षम बन्दै गइरहेका छौं भन्ने कुरा किताब पढेपछि छर्लंग हुन्छ। संवेदनशील मानिसले त्यो किताब पढेपछि उसको निद्रा पातलिन सक्छ।
त्यसपछि मैले विख्यात क्यानाडेली प्रगतिशील पत्रकार तथा लेखक नाओमी क्लेनको 'दिस चेन्जेज एभ्रिथिङ' पढेँ। पर्यावरणमाथिको चौतर्फी हमला र ध्वंशबीच पनि अवश्यम्भावी हुँदै गरेको प्रलय कसरी पछाडि धकेल्न वा टार्न सकिन्छ भनेर आशावाद जगाउने गजबको किताब छ त्यो। त्यसमा समेटिएको सन्तानसम्बन्धी क्लेनको आफ्नै अनुभव मेरा लागि प्रेरणादायी रह्यो।
'द राइट टु रिजेनेरेट' शीर्षक किताबको अन्तिम अध्यायमा क्लेनले एउटा प्रसंग उप्काउँछिन्- उनीसम्बद्ध द नेशन पत्रिकाले अमेरिकाको अलास्का भ्रमणको विज्ञापनमा लेखेको थियोः 'कम सी द ग्लेसियर्स बिफोर दे मेल्ट'। अर्थात्, आउनोस्, नपग्लिँदै हिमनदीहरू हेरिहाल्नोस्।
सुरूमा यस्तो उत्ताउलो विज्ञापनको विरोध गरेर त्यो फिर्ता गराए पनि क्लेनले महसुस गर्छिन् कि त्यहाँ लेखिएको कुरा त कटु सत्य पो थियो।
चालीस वर्ष हाराहारी पुगुन्जेल वातावरणसम्बन्धी पत्रकारिता र अभियानमा होमिँदा माथि उल्लेख भएझैं मानवनिर्मित भावी प्रलयको डरका कारण उनलाई सन्तानको इच्छा भएन। तर त्यही अभियान क्रममै उनले जीवनयापनको वैकल्पिक रुप र दिगो विकासका वैकल्पिक बाटा पनि देखिन्।
क्लेनले लेखेअनुसार त्यसपछि उनलाई लाग्यो, सम्भवतः, खाली सम्भवतः यस्तो पनि भविष्य छ जहाँ पृथ्वीमा हाम्रो आफ्नो प्रतिस्थापनको प्रक्रिया फेरि एकचोटि ध्वंशको नभई सिर्जनाको चक्र बन्नेछ। त्यसपछि गर्भपतन, पाठेघरको ट्युमर, अर्को गर्भपतन र पीडादायी उपचारको चक्रपछि ढिलो गरी उनले सन्तान जन्माउँछिन्।
वातावरणीय प्रदूषण र मानिसको प्रजनन क्षमताबीचको सम्बन्ध खोज्दै जाँदा क्लेनले एउटा हृदयविदारक उदाहरण फेला पार्छिन्। अमेरिकाको लुइजियाना राज्यको मस्भिल सहरकी डेब्रा रेमिरेजले सिएनएनको एउटा कार्यक्रममा भनेकी थिइन्- उनी, उनका तीन दिदीबहिनी र छोरी गरी परिवारमा पाँचै महिलाले पाठेघर निकालेर फालिसकेका थिए।
कारण- नजिकैका भीमकाय पेट्रोकेमिकल कम्पनीले बर्सेनि त्यहाँको पानी, माटो र हावामा छाड्ने ४० लाख पाउण्ड विषाक्त रसायन। अनि तिनले गराउने गर्भपतन र थरिथरिका क्यान्सर।
मानिसले क्यान्सरका डरले पहिल्यै आन्द्रा वा आँखा फाल्न सक्दैनथे। तर पाठेघर र स्तनजस्ता अंग फाल्न सक्थे। अनि भेटिन थालेका थिए पाठेघररहित घरधुरी र टोलहरू।
आधुनिक विकासको त्यस्तो कुरुप चित्र हेरिसकेपछि पनि बच्चा जन्माउने क्लेनको निर्णयबारे पढेपछि बच्चा पेटमा रहेपछिको मेरो आफ्नै अपराधबोध अलि कम भयो।
नौ महिनाभन्दा केही हतार गरेर यो संसारमा छोरो आइसकेको छ। ऊ बेखबर छ तर पृथ्वीमा मानव समाजमा तीव्र उथलपुथल चलिरहेको छ। उसले गर्भमा वास लिनु अगाडि सुरू भइसकेको कोभिड महामारी चीनबाट युरोप र अमेरिका छिचोलेर नेपालका गाउँसहर पुगिसकेको छ। संसारमा झन्डै ६ करोड मानिस संक्रमित भएका छन् र झन्डै चौध लाखको मृत्यु भइसकेको छ।
तै पनि मानिस जातिमा चेत फिरेको छैन। प्रकृतिको दोहन झन् तीव्र छ। ब्राजिलको अन्तरिक्ष खोज एजेन्सीका अनुसार गत अक्टोबरमा मात्रै, जम्मा एक महिनामा, अमेजन जंगलको ८३६ वर्ग किलोमिटर अर्थात् झन्डै चितवन राष्ट्रिय निकुञ्जले ओगटेको जति क्षेत्रफलमा जंगल नाश भयो।
नेचर जियोसाइस जर्नलमा यही अगस्टमा प्रकाशित खोजअनुसार सन् १९९४ देखि २०१८ सम्म बढ्दो वातावरणीय तापक्रमका कारण एन्टार्कटिकामा मात्र ४० खर्ब मेट्रिक टन हिउँ पग्लिसकेको छ। परिणाम, समुद्र सतह बढेसँगै जाकार्ताजस्ता सहर क्रमशः पानीमुनि धसिँदै छन्। माल्दिभ्स र बंगलादेशजस्ता टापू देशको अस्तित्व जोखिममा छ।
प्रविधि विकाससँगै नवीकरणीय 'सफा' ऊर्जातिर समाजले फड्को मार्न थालेको भनेर धेरै मान्छे आशावादी छन्। तर यथार्थ दुरुह छ- फोर्ब्स पत्रिकाका अनुसार सन् २०१९ मा नवीकरणीय ऊर्जाले विश्वभर ५ प्रतिशत माग धान्दा ऊर्जाको सबभन्दा विषाक्त स्रोत कोइलाले २७ प्रतिशत माग धानेको थियो। तेल र ग्याससहित हरित गृह ग्यास छाड्ने खनिज स्रोतले ऊर्जा मागको ८५ प्रतिशत माग धानेका थिए।
मैले यी पंक्ति लेखिरहँदा एक घण्टा अगाडि अपडेट गरिएको पोखराको प्रदूषण पिएम २.५ इन्डेक्स २०० छ। अर्थात्, २५ माइक्रोनभन्दा साना घातक कण प्रतिघनमिटर १२ माइक्रोग्रामभन्दा कम हुनु पर्नेमा १५० माइक्रोग्रामभन्दा बढी छ।
वैज्ञानिकहरु भन्छन्- मुटु र फोक्सोका रोगीलाई यस्तो दूषित वातावरणमा निकै कठिन हुन्छ र उनीहरू र बूढाबूढीमा मृत्युदर बढ्छ। पूरै जनसंख्याको स्वासप्रस्वासमा उल्लेख्य अवरोध आउँछ।
अझै मध्य हिउँद आइसकेको छैन। काठमाडौं लगायत सहर धुवाँको कुहिरोले छोपिन बाँकी नै छ। वातावरण प्रदूषण र जलवायु परिवर्तन प्राज्ञिक बहसबाट बाहिर निस्केर तपाईं हाम्रो जीवन–मरणको विषय बनिसकेको पनि अब वर्षौं भइसकेको छ।
लकडाउनका सुरूआती दिनमा 'कोभिड एन्ड कार्बन लेबल्स' वा 'कोभिड एन्ड क्लाइमेट' शब्दावली खोजेर मैले निकै सामग्री पढेँ। मानिस जातिलाई यो भाइरसले यत्रो क्षति त पुर्याइ नै हाल्यो, बदलामा कतै केही फाइदा पनि पो भइहाल्छ कि त भन्ने आशा पनि लाग्यो।
तर यस विषयमा विज्ञहरू एक मत थिए- अल्पकालमा कार्बन उत्सर्जन केही कम होला। तर मानिसको व्यवहार नफेरिएसम्म दीर्घकालमा केही फरक पर्नेवाला छैन।
तर पनि नाओमी क्लेनले पुस्तकमा लेखेझैं जहाँ मानिसहरू संगठित प्रतिरोधमा लागेका थिए, त्यहाँ परिवर्तनहरू भइनै रहेका थिए।
लकडाउनकै एक दिन बिहान नारायणी नदी किनारको चौरमा साइकल अड्याएर 'दिस चेन्जेज एभ्रिथिङ' पढ्दै थिएँ। अमेरिकाको कुख्यात किस्टोन पाइपलाइनविरुद्ध भएको संघर्षबारे पढ्दा आङ सिरिंग भयो।
किस्टोन एक्सएल पाइपलाइन पूरा भएको अवस्थामा क्यानडाका कुख्यात 'टार स्यान्डस' बाट निकालिएको फोहोरी खनिज तेल सहजै अमेरिका र विश्व बजारमा पुग्थ्यो।
त्यसमा नाफा अकुत थियो तर उत्तरी संयुक्त राज्य अमेरिका र दक्षिणी क्यानडाको ठूलो भूभागको पर्यावरणलाई त्यसले जोखिममा पार्थ्यो। तेल चुहावट हुने एउटै दुर्घटनाले लाखौं आदिवासीको जमिन, पानी र हावा दूषित गरेर लोपोन्मुख वनस्पति र प्राणी निर्मूल गरिदिन सक्थ्यो।
त्यो बर्बादीमूलक आयोजनाले टार स्यान्डस वा बिटुमेनबाट तेल उत्खननमै लाखौं टन कार्बन उत्सर्जन गर्छ। त्यसबाट उत्पादित तेल खपत हुँदा निस्कने कार्बन डाइअक्साइड लगायत अरू प्राणघातक ग्यास र कणले पर्यावरण र मानव स्वास्थ्यमा पुर्याउने क्षतिको त कुरै नगरौं।
क्यानडाजस्ता विकसित देशको त्यस्तो घातक योजना अहिलेसम्म मलाई आफ्नो अस्तित्वमाथिको आक्रमणजस्तो लाग्थ्यो। अब त्यससँग मेरो सन्तानको अस्तित्वको लडाइँ पनि जोडिँदै थियो। यस अर्थमा छोरा गर्भमा हुँदै टार स्यान्डस र किस्टोन एक्सएल विरूद्धको संघर्षमा उसको सरोकार जोडिएको थियो।
बाराक ओबामाले रोकिराखेको त्यो पाइपलाइन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले बाटो खोलिदिएका थिए। तर पनि स्थानीय प्रतिरोधका कारण काम रोकिएको थियो।
क्लेनको उल्लिखित किताब सन् २०१४ मा निस्केको थियो। मैले २०२० मा पुस्तक पढिरहँदा त्यो आयोजनाको हैसियत के भयो होला भनेर इन्टरनेटमा खोजेँ।
जवाफ आतेसलाग्दो थियो- पाइप निर्माता टिसी इनर्जीले लामो समयदेखि रोकिइराखेको काम महामारीको मौका छोपेर धमाधम सुरू गर्दै थियो। अभियन्ताको ध्यान कोभिडमा भएका बेला त्यहाँ धमाधम कामदार ओसारिँदै थिए।
तर त्यसको केही सातापछि अमेरिकाको एउटा अदालतले उक्त पाइपलाइनको काम रोकिदियो। त्यो अयोजना विरूद्ध डटेर लडेका अभियन्तासँगै नेपालमा बसेर आफ्नै अस्तित्वको चिन्ता गरिरहेको मैले पनि चैनको सास फेरेँ।
लगत्तै जुलाई ७ मा इमेलमा द न्यु रिपब्लिकको न्युजलेटर हेर्दै थिएँ, एउटा समाचारको शीर्षकले तान्यो- द पिपुल किल्ड द पाइपलाइन्स।
अमेरिकाकै डिएपिएल र एसिपी (डाकोटा आक्सेस पाइपलाइन र एट्लान्टिक कोस्ट पाइपलाइन) का आयोजना नै रद्द भएका ती समाचार उत्तिकै उत्साहजनक थिए। वर्षौंदेखि स्थानीय प्रतिरोधका कारण ढिलो भएका ती आयोजना महामारीका कारण तेलको मूल्यमा गिरावट आएसँगै आर्थिक संकटमा परेका थिए।
चौतर्फी वातावरणीय संकटबीच पनि यी तीन पाइपलाइनले भोगेको हालतले मजस्ता धेरैलाई थोरै भए पनि राहतको सास फेर्ने मौका दिएका छन्। कतै मानिसको खनिज ऊर्जाप्रतिको 'एडिक्सन' अब घटी पो हाल्छ र पृथ्वीले पनि सास फेर्ने मौका पाउँछ कि त! अनि मेरो छोरालगायत भावी पुस्ताका मानिसले पनि अलिकति स्वच्छ हावामा सास फेर्न पाउँछन् कि त!
वातावरणबारे मनन गर्दा सधैं मेरो मनमा एउटा विम्ब आउँछ जसलाई म 'पोचर्स डिलेमा' भन्छु। कल्पना गर्नुस्, गैंडाको चोरी-शिकारी गर्ने मानिसले जंगलमा गैंडालाई बन्दुकको निशाना लगाइराखेको छ। उसको जीवन चोरी-शिकारीबाटै चलेको छ। तर अब उसलाई थाहा छ, यो जंगलको अन्तिम जोडी गैंडा हो। यसलाई मारेर खाग बेच्न सक्यो भने उसलाई वर्षौं परिवार धान्ने चिन्ता त रहने छैन। तर त्यसपछि मार्न वा हेर्न कुनै गैंडा हुने छैन।
अर्कोतिर यो जोडीलाई बाँच्न र सन्तान जन्माउन दियो भने सिंगो समुदायले दशकौं पर्यटनबाट लाभ लिन सक्नेछ। धेरै मानिसको जीविका दिगो रुपमा चल्नेछ। तर उसको परिवारलाई तात्तातै आर्थिक लाभ हुने छैन। त्यसैले शिकारीको आफ्नो व्यक्तिगत हित र समाजको हित हुने अवस्था परस्पर विरोधी छन्।
तपाईं हामी आफूले चढ्ने पेट्रोलियम कार र हामीले बनाउने कंक्रिटका घरलगायत यावत सुविधाका लागि अहिले त्यही आलंकारिक गैंडाको खाग बेचिरहेका छौं। त्यो खाग भनेको स्वच्छ हावा, पानी र माटो हो। हामीलाई एसी चलाएर संगीत सुन्दै पेट्रोलियम कार अहिले चढ्नुछ, अहिल्यै बंगलाहरूमा बस्नुछ, दैनिक दर्जनौं एकपटक प्रयोग हुने प्लास्टिक झोलामा 'सपिङ' गर्नुछ, मोबाइल, टिभी वा ट्याब्लेट प्रयोग अहिले गर्नुछ। विष हालेर भए पनि लहलह तरकारी अहिल्यै फलाउनुछ। हर्मोन र एन्टिबायोटिकको अन्धाधुन्ध प्रयोग गरेर भए पनि दिनैपिच्छे मासु खानुछ।
शिकारीसित गैंडाको पर्यटनलाई कुर्ने धैर्य नभएजस्तै हामीसित साइकल वा विद्युतीय सवारी साधन चढ्ने धैर्य र इच्छाशक्ति छैन। किनमेल गर्न जाँदा घरबाट झोला लैजाने बानी छैन। साना, सस्ता र वातावरणमैत्री घर बनाउने त कल्पनासमेत छैन। स्मार्ट ग्याजेट बनाउन प्रकृतिको कति दोहन हुन्छ, त्यो बुझ्ने जाँगरसम्म छैन। विषादी नहालिएको थोरै तरकारीले हाम्रो काम चल्दैन। कस्तो आहार–विहारले क्यान्सरजस्ता रोग लगाउँछ भन्ने बुझेर जीवनशैली फर्ने त कुरै छाडौं।
अर्थात् हामी निशाना लगाइराखेको गैंडा मारेर धनी हुन यति आतुर छौं, त्यसपछि अनिवार्य आउने संकटको हामीलाई अत्तोपत्तो छैन।
सायद मजस्तै तपाईं पनि आफ्ना सन्तानको भविष्यका बारेमा चिन्तित हुनुहुन्छ। तिनसामु रहेको सबभन्दा ठूलो चुनौती के होला?
मैले नाम बिर्सेँ तर हालै एउटा पोडकास्टमा कसैले भन्दै थियो- पृथ्वी कतिसम्म सुन्दर र जीवनदायी थियो भनेर थाहै नपाउनु उनीहरूको जीवनको सबभन्दा ठूलो दूर्भाग्य हुनेछ। धुवाँको बादलमुनि जीवन गुजार्नेले सुन्दर निलो आकाश कल्पना गर्न सक्ने छैनन्। ढलजस्ता नदी मात्र देख्नेका लागि कञ्चन पानीका नदी कल्पनाबाहिर हुनेछ। दूध पसलका प्याकेटबाट आउँछ भन्नेले जनावरको पीडा बुझ्न सक्ने छैनन्।
अनि उनीहरू कल्पनाबाहिरको वस्तुका लागि कसरी संघर्ष गर्लान्? आफ्नै जीवनकालमा निलो आकाश घुर्मैलो बन्दै गएको देख्ने पुस्ता वातावरणका लागि जति अपनत्वका सहित लड्छ, आकाशको रङ नै घुर्मैलो भनेर बुझेको पुस्ताले त्यो एजेन्डामा कति अपनत्व भेट्ला? मासुको स्रोत सुपरमार्केटका डिप फ्रिजर हुन् भनेर बुझाइएकाले कसरी पशुमाथिको क्रुरता विरोध गर्लान्?
'द लास्ट अर्काइभ' पोडकास्टको एउटा अंकमा इतिहासकार तथा न्युयोर्कर पत्रिकाकी लेखक जिल लेपोरले एउटा त्यस्तै उदाहरण दिन्छिन्- सत्रौं र अठारौं शताब्दीतिर अमेरिकामा परेवा प्रजातिको एउटा चरा यति ठूलो संख्यामा थियो कि करोडौं चरा एकसाथ आकाशमा उड्दा घाम छेकिएर दिउँसै साँझ परेजस्तो हुन्थ्यो। मारेर कहिल्यै नसकिएलाजस्तो लाग्ने त्यो चरा मानिसले मन लागे जति शिकार गर्थे। पछि शिकार र वासस्थान विनाशका कारण तिनको संख्या घट्दै गयो।
हुँदा हुँदा 'प्यासेन्जर पिजन' भनिने त्यो चरा एक दिन लोपोन्मुखमा दरियो। लोपै हुन लागेपछि त्यसको संरक्षण प्रयास भयो। तर संरक्षण केन्द्रमा राखिएकी 'मार्था' नामक परेवाको १९१४ सेप्टेम्बर १ का दिन मृत्यु भएसँगै पृथ्वीबाट चराको त्यो प्रजाति नामेट भयो।
बीसौं शताब्दीको सुरूतिर वृद्ध मानिसले युवावस्था सम्झँदै नोस्टाल्जियापूर्वक भन्थे- हामी सानो छँदा आकाशै ढाकेर अँध्यारो पार्ने एक खाले परेवा हुन्थ्यो। त्यसपछाडिको पुस्ताले त्यो चरा देख्नै पाएन। कुनै बेला अर्बौंका संख्यामा रहेको त्यो चरा अब कसैले सम्झिँदैन, न त्यो लोप भएकोमा कसैले शोकमनाउ गर्छ।
यो लेख सन्तान जन्माउनेबारे व्यक्तिले लिने निर्णयबाट सुरू भयो। त्यसैले एउटा सान्दर्भिक प्रश्न- आखिर पर्यावरणको यस्तो अन्धाधुन्ध विनाशका लागि जिम्मेवार को? के सबै मानिसलाई एउटै डालोमा हालेर यस्तो आलोचना गर्न पाइन्छ?
धेरै साथीभाइको विचार यस्तो पनि छ- युरोप र अमेरिकाले औद्योगिक क्रान्तिदेखि पृथ्वीलाई तताएर र प्रदूषित गरेर धनी बनिसके, अब हामी मात्र किन पछि पर्ने? अहिले पनि जलवायू परिवर्तनका लागि हामीभन्दा कैयौं धेरै ऊर्जा खपत र कार्बन फुटप्रिन्ट भएका पश्चिमा देश जिम्मेवार छैनन् र? मस्ती उनीहरू गर्ने, मूल्य हामीले चुकाउने?
यी प्रश्नको सबैलाई चित्त बुझ्ने जवाफ मसँग छैन। तर मलाई लाग्छ हामी सबै यस्तो डुंगामा सवार छौं जहाँ प्वाल पार्दा तत्काल आनन्द आउँछ। सुरूमा यो चाल पाउनेले डुंगाको पिँधमा छिद्रैछिद्र बनाइसकेका छन् र डुंगामा पानी छिर्न थालिसकेको छ। हामीले त्यो आनन्दको स्रोत थाहा पाउँदासम्म डुंगामा पानी भरिने र डुंगा डुब्ने प्रक्रिया सुरू भइसकेको छ।
त्यसैले मेरा लागि सुरूदेखि कसले डुंगामा प्वाल पार्यो भन्ने प्रश्नभन्दा ती प्वाल टाल्न र डुंगामा भरिइसकेको पानी फाल्न अब कसले के गर्छ भन्ने कुरा धेरै महत्वपूर्ण छ। ती प्वाल टाल्न सकिएन भने हाम्रा सन्ततिले जन्मँदैखेरि आफूलाई डुब्दो डुंगाको यात्रीका रूपमा पाउनेछन्।
त्यो अवस्थाका लागि हाम्रो पुस्ताका कसैको दोष कम र कसैको बढी हुनेछ तर निर्दोष कोही रहने छैन। अर्को एक वा दुई पुस्तापछि पृथ्वीको अधिकांश भूभाग मानव बसोबासका लागि लायक भएन र मानव सभ्यता जोखिममा पर्यो भने त्यसका लागि म आफैंलाई पनि दोषी मान्नेछु।
कारण- जसलाई दुई छाक जुटाउन हम्मे छ, वातावरण जोगाउने जिम्मेवारी उनीहरूको होइन। तर मलाई दुई छाकको चिन्ता छैन। म शिक्षित छु, वातावरण विनाशबारे विज्ञानले पत्ता लगाएका कुरा पढ्न र बुझ्न सक्छु। म बोल्न र लेख्न सक्छु। म आफ्नो मात्रै नभई सन्तानको भविष्य कस्तो होला भनेर आकलन गर्न सक्षम छु। त्यसैले जे सक्छु, त्यो गर्नु मेरो कर्तव्य हुन्छ।
सुरूको पोडकास्टमा एट्किनलाई विज्ञहरूले भन्छन्- एउटा अवस्थामा सन्तान जन्माउनु पृथ्वीका लागि लाभदायी हुन सक्छ। यदि सन्तानकै मायाका कारण पर्यावरण बचाउन हामी थप सक्रिय भएर लाग्यौं भने। बच्चा रहनासाथ मैले झलक्क यही वाक्य सम्झेर मनन गरेँ।
म यसै पनि धेरै ठूलो कार्बन फुटप्रिन्ट भएको व्यक्ति होइन। यतिका उमेरसम्म चार वर्षको अवधिमा मात्रै मैले व्यक्तिगत पेट्रोलियमको साधन मोटरसाइकल चलाएँ। बच्चा रहने बेलासम्म आउँदा मेरो यातायातसम्बन्धी ९० प्रतिशतभन्दा बढी आवश्यकता साइकलले पूरा गर्थ्यो, गर्छ। त्यसैले कार्बन उत्सर्जन कटौती गर्न मैले चाल्न सक्ने कदम सीमित छन्।
तै पनि आफ्नो पहुँच र क्षमताभित्रका केही कदम चाहिँ मैले चाल्ने निर्णय गरेँ।
एक, मजस्तै पर्यावरण–प्रेमीको संख्या बढाउने। ताकी उनीहरूको पनि कार्बन फुटप्रिन्ट खुम्चिँदै जाओस्।
दुई, शाकाहारी बन्ने।
छोराबाट चाहिँ मेरो अपेक्षा यत्ति छ, उसले प्रेम गर्न सिकोस्। आफन्तलाई वा मानिसलाई मात्रै होइन, अपरिचित, भावी सन्तति र अरु प्राणीलाई पनि। सानैदेखि सजीवदेखि निर्जीव वस्तुप्रति समेत समानुभूति वा 'एम्प्याथी' विकास होस्। झारपात उखेल्नको कष्टले उसले माटोमा 'विड-किलर' नखन्याओस्। कीराफट्यांग्रा मार्न मानिसलाई नै क्यान्सर हुने गरी विष नछरोस्।
र सबैभन्दा बढी, प्रकृतिको गजबको देनका रुपमा, सोच्न सक्ने र चेतनाले भरिपूर्ण जीवका रूपमा आफैंले आफैंलाई प्रेम गरोस्। आफूलाई पृथ्वीमा प्रकृति दोहन गरेर मस्ती गर्न जन्मेको जीवन नसम्झोस्। ब्रह्माण्डको विरल जीवनदायी ग्रहमा चेतनशील जीवका रूपमा अस्तित्व पाएकोमा कृतज्ञ होस् र जीवनका पक्षमा डटेर लागोस्।
मलाई विश्वास छ, ऊ त्यसो गर्न सक्षम हुनेछ। त्यो विश्वासको एउटा आधार ऊप्रतिको मेरो प्रेम होला तर ऊ पनि जन्मिनु अगाडि नै नयाँ पुस्ताको एउटा युद्ध जितेर आएको छ। ऊ जन्मिनु तीन दिन अगाडिसम्म उसकी आमाको शरीरमा कोभिड गराउने भाइरस व्याप्त थियो। त्यसलाई परास्त गरेर नयाँ जीवन सुरू गरेका आमाछोरा दुवैलाई मेरो बधाइ।