आज भाइटीकाको दिन दाजुभाइ, दिदीबहिनी नहुनेहरू राजा प्रताप मल्लले बनाएको रानीपोखरी बालगोपालेश्वर मन्दिर दर्शन गरेर आफ्नो न्यास्रो मेट्छन्। २०७२ को भुइँचालोमा क्षति पुगेको यो मन्दिर पाँच वर्षपछि पुनर्निर्माण सम्पन्न गरी यसैपालि खुला गरिएको छ।
प्रताप मल्लले आफ्ना तेह्रवर्षे पुत्र चक्रवर्तिन्द्र मल्लको मृत्युशोकमा परेकी रानी अनन्तप्रियाको चित्त बुझाउन यो पोखरी निर्माण गराएको इतिहास छ। रानीलाई कसैगरी सम्झाउन नसकेपछि संसारका सबैले मृत्युशोक बेहोरेका छन् भन्ने बुझाउन उनले सुरू गराएको गाईजात्रा पनि हाम्रो संस्कृतिको महत्वपूर्ण अंग बनेको छ।
दु:ख निवारण पनि यस्तो रचनात्मक तरिकाले गर्नु र आफूजस्ता धेरै दु:खीको घाउमा जुग-जुगसम्म मह्लम लगाउनु पो महानता!
आज म उनै प्रताप मल्ललाई जोडेर आफूले सिर्जना गरेका चित्रकलाको रचना गर्भबारे चर्चा गर्दैछु।
कुनै पनि चित्र बनाउँदा म पहिला त्यस विषयसँग सम्बन्धित ऐतिहासिक पुस्तकहरू अध्ययन गर्छु। ऐतिहासिक तथ्यबारे जानकारी प्राप्त गरेपछि म आफूलाई त्यही घटनाको परिवेशमा पुर्याउँछु र आफू पनि त्यसको हिस्सा भएको अनुभूति गर्छु। त्यसपछि मेरो चित्रमा पात्रहरू अनेक हाउभाउका साथ थुपुुथुपु बस्न थाल्छन्, मैले त ब्रस चलाउने मात्र हो।
रानीपोखरीको चित्र बनाउँदा पनि मैले आफूलाई प्रताप मल्लको एक विश्वासिलो निजी सहयोगी बनेको र सारा घटनाक्रमको साक्षी भएको अनुभूति गर्न थालेको थिएँ। त्यसपछि चित्रमा उल्लिखित दृश्य क्रमशः खुल्दैै गए।
राजाले गाईजात्रा पर्व सुरू गराएपछि रानी अनन्तप्रिया केही दिन त उज्याली नै देखिइन्। आफूजस्तै शोकमा परेकाहरूले अनेक हाउभाउ, शृंगार, तामझाम र केही अश्लीलतासमेत प्रदर्शन गरेर हँसाउने चेष्टा गर्थे। अनन्तप्रियालाई यसले केही समय मनोरञ्जन नै भयो। तर, विस्तारै मनको अँध्यारोले फेरि गाँज्दै ल्यायो।
उनी बेलाबेला शोकले भक्कानिन्थिन्।
उत्तर भारतबाट डोला झिकाएर विवाह गरेकी आफ्नी प्यारी रानीको त्यो अवस्था देखेर प्रताप मल्ल पनि दु:खी भए। कसो गर्दा रानीको मनलाई शान्ति होला भनेर उनले अनेकौं उपाय गरे। तै पनि रानीको अनुहारमा कान्ति फर्किएन।
एकदिन उनले अनन्तप्रियालाई मनको कुरा खोल्न लगाए।
'प्रिय, जे हुनु थियो भइगयो, अब आफ्नो मनलाई शान्ति दिने उपाय गर,' प्रताप मल्लले भने, 'बरू के गर्दा तिम्रो मनलाई शान्ति होला त्यसतर्फ विचार गरौं।'
राजाले यति भनेपछि अनन्तप्रियाले सहरनजिकै विशाल र शान्त तलाउको कामना गरिन्। भनिन्, 'त्यही तलाउ छेउमा समय बिताउन पाए दु:ख बिर्सन सजिलो हुन्थ्यो कि महाराज!'
उनले अगाडि भनिन्, 'तलाउको बीचमा मेरो बालगोपाल श्रीकृष्णजस्तो पुत्रको कल्पना आउने एउटा मन्दिर पनि भइदिए म त्यही हेरेर आफ्नो मन शान्त राख्न सक्थेँ कि!'
रानीको मनको कुरा सुनेपछि प्रताप मल्ललाई केही सहज अनुभव भयो। रानीले भनेजस्तो तलाउ र बीचमा मन्दिरको कल्पनाले उनलाई पनि रोमाञ्चित बनायो।
उनले रानीलाई आश्वासन दिए, 'प्रिय, तिमी सुर्ता नमान। म तुरून्तै तिमीले भनेजस्तो तलाउ र मन्दिर निर्माण गराउनेछु।बरू तिमी पनि त्यसको निर्माणमा नियमित सहभागी भएर आफूलाई व्यस्त राख।'
रानीले सहमति जनाइन्।
धेरै दिनपछि आफ्नी प्रिय रानीको मुहार टल्केको देखेर प्रताप मल्ल पनि सन्तुष्ट भए।
बाध्यताले सिर्जना गरेको यो परिस्थितिलाई प्रताप मल्लले ठूलो अवसरका रूपमा लिएका थिए। पाटन, भक्तपुर सहरमा थुप्रै राम्रा-राम्रा पोखरी हुँदा पनि काठमाडौंमा उल्लेख्य जलाशय थिएन। रानीको आत्मशान्तिकै लागि भए पनि अब सारा प्रजा र पाटन, भक्तपुरलाई समेत चकित पार्ने गरी चिरकालसम्म कीर्ति छाड्ने ठूलो अवसर उनले पाएका थिए।
उनले आफ्ना कुशल कालिगढहरूसँग सरसल्लाह गरी पोखरी र मन्दिरको स्थान तय गरे। कल्पनाको उडान भर्दै पानीको स्रोत र रेखदेखका साथै अन्य सबै पक्ष निधो गरियो।
पोखरीले आकार लिँदै गएपछि यो जलाशय कान्तिपुर नगरीकै सुन्दर हिरा बन्नेछ र जोकोही यसको विशालतमा हराउनेछ भनेर उनी ढुक्क भए।
निर्माण पूरा भएपछि पनि आफ्नो जीवनकालकै सबभन्दा सुन्दर स्मारक निर्माण गराएँ भन्ने सन्तुष्टिले उनी भावविभोर भए होलान्!
मान्छेले पोखरीलाई पवित्र जलाशयका रूपमा प्रयोग गरेर आफूलाई शुद्ध पारून्, पितृहरूलाई तर्पण दिऊन् भनेर घाट निर्माण गर्ने, विश्राम स्थल र वाटिका बनाउने योजना पनि बुनियो। पानीको शुद्धता कायम गर्न निरन्तर जलप्रवाहको व्यवस्थाका लागि राजकुलो तथा फोहोर पानी निष्कासन गर्ने व्यवस्था पनि मिलाइयो।
प्रताप मल्ल आफैं विद्धान त थिए नै, उनको दरबारमा एकसे एक योग्य भारदारको कमी थिएन। प्रसिद्ध तान्त्रिक जामुना गुभाजु र लम्बकर्ण भट्ट पनि उनको भारदारी सभामा थिए। यी सबैसँग सल्लाह गरेर सारा स्रोतसाधन र बुद्धिबर्कत लगाउँदा पनि यो पोखरी बनाउन पाँच वर्ष लागेको थियो। कुनै पोखरी नै नभएको ठाउँमा बनेको 'नयाँ पोखरी' लाई नेपाल भाषामा अहिले पनि 'न्हु पुखु' भनिन्छ।
पोखरी तयार भएपछि बीचको मन्दिरको संरचनामा प्रशस्त विचार-विमर्श भए। त्यो मन्दिरलाई कस्तो रूप दिने भन्नेमा धेरैले धेरै उपाय सुझाए। प्रताप मल्ललाई भने पन्ध्र-सोह्र वर्षअघि स्वयम्भूमा उनै रानी र आफ्नो नाममा निर्माण गराएको प्रतापपुर र अनन्तपुर नामका जोरमन्दिरको आकृति नै उचित लाग्यो होला। उनले रानी र भारदारसँग सल्लाह गरेर त्यसैलाई अनुमोदन गरे।
राजज्योतिषहरूको सल्लाहबमोजिम त्यसमा स्थापना गर्ने मूर्ति र नामाकरण पनि तय गरियो। प्रताप मल्लले जलाशयको दक्षिणतर्फ आफू र आफ्ना छोराहरू महिपतिन्द्र र चक्रवर्तिन्द्र चढेको हात्तीको प्रस्तर आकृति बनाउन लगाए।
पोखरी र मन्दिर तयार भएपछि त्यसमा पवित्र तीर्थस्थलहरूबाट जल ल्याएर हाल्ने हो भने स्नान गर्नेहरूलाई सबै तीर्थको पुण्यफल प्राप्त हुन्छ भन्ने सुझाव पनि भारदार सभाबाट आयो। त्यसपछि उनले सम्भव भएजति महत्वपूर्ण तीर्थस्थल, नदी, कुण्ड इत्यादिबाट जल ल्याउने निर्णय गरे।
पण्डितहरूका अनुसार ५१ वटा जलाशयको जल हाल्नु शुभ देखियो। जल ल्याउने जिम्मेवारी दिएर मानिसहरू चारैतिर खटाइए।
यसरी प्रताप मल्ले आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण उपलब्धि ठानेको पोखरी तयार भयो। पाटन, भक्तपुर र उपत्यकाबाहिरका राजारजौटालाई समेत आफ्नो यो अनुपम कीर्ति देखाउन पाउनु प्रताप मल्ल र सिंगो कान्तिपुरकै निम्ति बडो खुसीको कुरा थियो।
प्रताप मल्लले एउटा भव्य समारोह आयोजना गरेर सबैतिर निम्ता पठाए। कन्तिपुरका राजाले आश्चर्यलाग्दो सुन्दर पोखरी बनाएका छन् भन्ने हल्ला सबैतिर चलेको थियो नै, अब आफैं आमन्त्रित भएर हेर्न पाउनु सबैका लागि खुसीको कुरा हुने नै भयो।
ओहो, कस्तो थियो त्यो समारोहको भव्यता!
छिमेकी राजाहरू प्रताप मल्लको निम्ता मान्न साजसज्जा गरिएका हात्ती चढेर आएका थिए। पाल्कीमा चढेर आएका रानीहरू पनि कम्ता ठाँटिएका थिएनन्। सुन्दर राजकुमार, राजकुमारीहरूको चालढाल निकै रवाफिलो थियो। तान्त्रिक जामुना गुभाजु नै भारदार भएपछि तान्त्रिक विधिअनुसार यज्ञ नहुने त कुरै भएन।
कान्तिपुरका जनता पनि ठूलो उल्लास र उमंगसाथ त्यो रमितामा सहभागी भएका थिए। बाजागाजाले त्यो माहोल थप उमंगमय बनाएको थियो। धिमे बाजा र ताइनाइको तालमा सिपालु हातहरूले बाँसका लिंगोका धुंज्याहरू फुर्तिले घुमाएका थिए।
जलाशयमा हाल्न टाढा-टाढाका तीर्थहरू केदारनाथ, बद्रिनाथ, मुक्तिनाथ, गोसाइँकुण्ड, वनारसकोे गंगाजल पहिले नै ल्याइसकिएको थियो। नजिकका बागमती, विष्णुमती र अन्य तीर्थबाट जल ओसार्नेहरू पनि धमाधम जल ल्याउँदै थिए। तीन सय त प्रताप मल्लका रानीहरू नै थिए। उनीहरूले स-साना घडाबाट जलाशयमा जल खन्याउँदा ओहो कस्तो मोहक दृश्य देखिएको थियो!
त्यति बेलाको कान्तिपुर नगर र यहाँको प्राकृतिक सुन्दरताको त के कुरा गर्नु!
विभिन्न ऐतिहासिक स्रोतहरूबाट प्राप्त जानकारीका आधारमा म धेरै दिन कल्पनाको उडानमा उडेँ। के म यी सबै परिवेश निर्माण गर्न सकुँला त!
सुरूमा त आफैंलाई दुबिधा भयो। पछि मैले बनाउनैपर्छ, मैले नगरे कसले गर्ला भनेर मनमा आँट पलायो। छोरा विष्णु (विष्णुप्रसाद शर्मा) ले पनि आडभर दिएर हौस्याइरहेका थिए।
यो चित्रकला उनैको परिकल्पना हो। उनले मलाई सन् १८४५ मा प्रुसियाका राजकुमार वाल्डमार नेपाल भ्रमणमा आएको र उनको भ्रमण डायरीमा रानीपोखरीको तत्कालीन चित्र संकलित रहेको लेख पढेर सुनाए। त्यही चित्र र प्रताप मल्लकालीन ऐतिहासिक तथ्यका आधारमा रानीपोखरीको एउटा चित्र बनाऔं भनेर उनी भनिरहन्थे।
म भने पहिलेको चित्र उनै विदेशी चित्रकारले बनाइहाले, अहिलेको रानीपोखरी छँदैछ, अब यसमा नयाँ बनाउने कुरा के छ भन्ने जवाफ दिएर तर्किन्थेँ।
यसबीच २०७२ को भुइँचालोले रानीपोखरी र बालगोपालेश्वर मन्दिरमा क्षति पुर्यायो। पुनर्निमाण क्रममा मन्दिरको संरचना कस्तो हुनुपर्छ भन्ने विवाद चर्केको थियो। त्यही समय एकदिन साँझपख छोरा विष्णुले भने, 'बुवा, भोलि बिहान फुर्सत भए वसन्तपुर, काष्ठमण्डपतिर घुम्न जाउँ न? तपाईंको बाल्यकालको मिठाइ खाने भान्दासको पसलमा म जेरी पनि खुवाँउछु।'
म जन्मे-हुर्केको लगनटोल र त्यहाँबाट पानी-पँधेरोजस्तो काष्ठमण्डप सम्झँदा मलाई सधैं रमाइलो लाग्छ। त्यसमाथि भान्दासको पसलको तात्तातो जेरी। उहिले जेरी किन्दा सालकोे चिल्लो पातमा तपतप घिउ चुहिने मोहनभोग लपक्क दलेर फोसा पनि पाइन्थ्यो। सम्झँदै मुखमा पानी आइहाल्यो। मैले हुन्छ भनेँ।
भोलिपल्ट बिहानै हामी बाबुछोरा मोटरसाइकलमा त्यहाँ गयौं। दुुवैले जेरी खायौं। पहिलेको जस्तो स्वाद त कहाँ पाउनु! न जेरीको प्रस्तुतिमा त्यो सौन्दर्य, न घिउमा त्यो शुद्धता! न आफ्नो मुखमा युवावस्थाको स्वाद!
तै पनि जे छ त्यसमा सन्तुष्ट भएर खाएँ। हामी काष्ठमण्डप घुम्यौं। कुमारी घर गयौं। मल्लकालमा बनेका ती मन्दिर देख्दा म हरेकपटक आह्लादित हुन्छु।
फर्कने बेला छोराले भोटाहिटीनिर मोटरसाइकल पार्किङ गरे। केही बेर अलमल गर्दै भने, 'एकछिन रानीपोखरीतिर जाउँ न, यसो केही विषयवस्तु पाइन्छ कि?'
'अब रानीपोखरीतिर किन जानु? के छ र त्यहाँ हेर्ने? मलाई सबै कण्ठ छ, ल सोध के सोध्नुपर्छ,' मैले अलि झर्किंदै भनेँ।
'एक छिन जाऔं न हेरौं,' उनले कर गर्दै रानीपोखरी छिर्ने बारमा ढोका खोज्न थाले।
'हैन के कुरा गरेको यो? रानीपोखरीभित्र कहाँ जान पाइन्छ त?' मैले भनेँ।
'कोशिस गरौं न, के बिग्रिन्छ र? कोही पालेपहरा छन् भने उनलाई कुरा बुझाएर एकछिन जान सकिएला नि?'
नभन्दै एउटा सानो प्रवेशद्वार देखियो। त्यहाँ एक जनाले केही सोधपुछ गरेर हामीलाई भित्र जान दिए। विष्णुले मलाई विस्तारै हात समातेर प्रताप मल्ल चढेको हात्तीतर्फ बढाए। पोखरीको बीचमा रहेको भत्केको मन्दिरतिर फर्केर हेर्न लगाए।
त्यसरी पोखरीभित्रै गएर प्रताप मल्ल चढेको हात्तीनजिकै उभिएर त्यो कोणबाट मैले कहिल्यै रानीपोखरी हेर्न पाएको थिइनँ। मैले जे दृश्य देखेँ, मलाई त सपना देखेजस्तो भयो। कल्पनाको अर्कै संसारमा डुब्न थालेको पत्तै भएन।
केही बेर निशब्द भएपछि मैले छोरालाई भनेँ, 'हेर, यही ठाउँ उभिएर राजा प्रताप मल्लले सारा पाहुनालाई रानीपोखरीबारे बताए होलान्। यो कोणबाट कति सुन्दर देखियो होला त्यो बीचको मन्दिर। ल धमाधम यी कोणहरू मिलाएर फोटो खिच त, म एउटा भव्य चित्र बनाउँछु रानीपोखरीको!'
विष्णु मेरो चालामाला देखेर मुसुमुसु हाँस्दै थिए।
मैले माथि उल्लेख गरेको रानी अनन्तप्रिया र प्रताप मल्लबीचको संवाद र रानीपोखरी निर्माण हुँदाका शृंखलाको परिकल्पना यही विन्दुबाट भएको हो। घर आएर उनले खिचेका फोटो प्रिन्ट गरेर हामी छलफलमा जुट्यौं। उनले इन्टरनेट र आफ्नो संकलनबाट मलाई धेरैवटा सन्दर्भ सामग्री उपलब्ध गराए। दुई-तीनपल्ट उनी फेरि त्यहाँ गएर थप नापनक्सा कोरेर ल्याए।
करिब छ महिनामा हामी बाबुछोरा छलफल गर्दै मैले त्यो चित्र तयार गरेँ। त्यो चित्र पत्रिकामा पनि प्रकाशन गर्यौं। प्रताप मल्लले निर्माण गरेको शिखर (ग्रन्थकुट) शैलीमै मन्दिर पुनर्निर्माण होस् भन्ने तर्कमा बल पुर्याउनु हाम्रो उद्देश्य थियो।
धेरै सम्पदाप्रेमीले उक्त चित्रको सन्दर्भ लिएर रानीपोखरीको मन्दिर शिखर शैलीमै निर्माण हुनुपर्ने आवाज उठाएका थिए। आज काठमाडौं महानगरपालिकाको अग्रसरता, सम्पदाप्रेमीको दवाब र सिपालु वास्तुकला प्राविधिकहरूको सहयोगले रानीपोखरीले यो अहिलेको रूप पाएकोमा म प्रसन्न छु।
केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त नवनिर्मित रानीपोखरी उद्घाटन गर्दै घडाबाट जलाशयमा जलधारा खन्याइरहेको तस्बिर हेर्दा मैले प्रताप मल्लकी रानी अनन्तप्रियालाई सम्झिएँ, जसले त्यसैगरी आफ्नो मृतपुत्रलाई सम्झेर जलाशयमा जलधारा झारेकी थिइन् होला।
उनै रानीको आग्रह र राजा प्रताप मल्लको सिर्जनशिलताका कारण कान्तिपुरले यो सुन्दर सम्पदा पाएको थियो। र, आज काठमाडौंको कोलाहलबीच पनि हाम्रा आँखालाई शितल दिने कमसेकम एउटा सम्पदाले पुनर्जीवन पायो।
ती सबैप्रति मेरो श्रद्धासुमन!
यी पनि हेर्नुहोस्: