बर्मेली नेपाली
भने पनि नभने पनि, कोरोनाकाल साँच्चै दिक्कलाग्दो छ। त्यसमाथि लकडाउन भएर सहरको एउटा कोठामा थुनिनुको पीडा। अझ परदेशमा।
परिवार, आफन्त र साथीसंगी नभएको ठाउँ। सात महिना भयो। मनमा खासै उत्साह, उमंग छैन। थप, भाषा नजानिने ठाउँ। सरकारले कोरोनाबारे बेलाबेला दिइरहने र फेरिरहने सूचनामा पहुँच नहुने भएपछि अत्यासै लाग्दो रहेछ। वैदेशिक रोजगारमा हिँडेकाको रोजगारकै टुंगो नभएपछि मन झन् बरालिँदो रहेछ। व्यक्त गर्नु र नगरी बस्नु फरक कुरा हो। महशुस त सबैले यस्तै गरेका होलान्।
मनमा प्रश्न उब्जिरहन्छ, बिरामी परिहालियो भने कसो गर्ने होला? मैले सामान किन्ने किराना पसलका साहुनी बिरामी परेर पकाउने सामान पाइएन भने दुई छाक कसरी टर्ला? यो डेरामा पानी आउन छाड्यो भने कसलाई गएर के भन्ने होला? बिजुली भएन भने कसरी गुहार्ने होला? खाना पकाउने ग्यासलाई यिनीहरू के भन्दा हुन्, भएको एक सिलिन्डर ग्यासले कति दिन धान्छ होला?
कार्यालयका सहकर्मीले कति दिन मेरो खै-खबर गर्लान्? तिनीहरू नै बिरामी परे भने के हुने हो? देश फर्कने कहिले होला? कुनै कुराको पत्तोफाँट नभएपछि जति सकारात्मक सोच्छु भने पनि नसकिँदो रहेछ।
नेपालको समाचारले झन् अत्याउँछ। गाउँमा बूढा बाआमा हुनुहुन्छ। फोन सम्पर्क भइहाल्यो भने 'छोरा, दसैंमा त आउलास् नि?' भनेर आमा रुन्चे स्वरमा सोध्नुहुन्छ।
सिधै 'आउन सक्दिनँ' भन्न नसकेर 'आमा, गाह्रो छ, जहाज पनि चलेको छैन, के कसो हुने हो, फेरि उता आएर पनि काठमाडौंमै क्वारेन्टिनमा थुनिनुपर्ने हो कि?' भनेर अलिक लामो जवाफ दिन थाल्छु।
आमा यो सुन्नेबित्तिकै फोन बालाई दिनुहुन्छ। आमा छोराले थाहा नपाओस् झैं गरेर सुँकसुकाएको फोनमै महशुस गर्छु।
बा पनि 'ल ल अब आउन नमिल्ने भए के गर्ने त, आफ्नो ख्याल राखेस् केरे, मरिएन भने भेट्न पाइएला नि कुनै दिन' भनेर फोन काट्न हतारिनुहुन्छ।
मनमा फेरि गाँठो पर्छ।
धन्न, यो कोरोना भाइरसले इन्टरनेट बिगार्न सक्दो रहेनछ। तै पनि एउटा डर छ। केही गरी इन्टरनेट जाने त होइन? इन्टरनेट भए आत्तिहालेँ भने घरमा सम्पर्क हुन्छ। आफन्त, साथीभाइलाई खबर हुन्छ। दुई-चार जना नेपालीभाषी बर्मेली कमाइएको छ, तिनलाई खबर गर्छु। कसो नबाँचिएला र?
यस्तो बेला मलाई यहाँ नेपालीभाषी बर्मेलीले मज्जाले बचाएका छन्। हरेक दिनजसो एक न एक जना नेपालीभाषी बर्मेलीसँग कुरा गर्छु। कहिले जिस्किन्छु, कहिले गीत गाउन लगाएर, कहिले कविता भन्न लगाएर भिडिओ खिच्छु। कहिले कुनै लेख, भिडिओ वा पुराना फोटो पठाउन भन्छु।
यिनले बाँडेका तिनै शब्द र चित्रले बचाइरहेको छ। मन भुलिरहेको छ।
यसै क्रममा एउटा भिडिओ नेपालीभाषी बर्मेली साहित्यकार लक्ष्मण न्यौपानेले फेसबुकको मेसेन्जरमा पठाइदिए।
'कलिलो तामालाई, सोध रामालाई…' बोलको गीतमा दुई जना नेपालीभाषी बर्मेलीले मादल र बाँसुरीको धुन बजाएका रहेछन्। रंगुनबाट करिब नौ सय किलोमिटर पर मोगोकमा खिचिएको रहेछ। बेदु रिमालले बाँसुरी र सरोजकुमार लावरले मादल बजाएका रहेछन्।
भिडिओ पाउनेबित्तिकै अरू नेपालीसँग पनि साट्न मन लाग्यो। मंगलबार बिहान ट्विटरमा अपलोड गरेँ- 'यी नेपालीभाषी बर्मेलीले मलाई त हुरुक्कै पारे…। मादल र बाँसुरीको ताल, कति मिठो।
छातीमा मेरो यो छोटो भोटो
कम्मरमा खुर्पेटो...
मनको धनी पाउनेमा छैनौ
मजस्तो कोही केटो...
अपलोड गरेको केही समयमै सेतोपाटीका विवेक खिम्दुङले मेसेज गरे, 'दाइ, सेतोपाटीमा हाल्न पर्यो भिडिओ। ती व्यक्तिका बारेमा अलिकति लेख्दिनु न।'
मलाई बहाना मिलिहाल्यो। कुरा गर्न थालेँ मोगोकका तिलक पोख्रेलसँग। नेपाली साहित्यमा रूचि भएका, हरेक महिना एक-दुइटा लेख-कविता नेपालीमा लेखिरहने तिलक भाइसँगको कुराले मन थप शान्त बनायो।
उनैले पहिले खोज्दिए सरोजकुमार लावर, भिडिओका मादलवादक। उमेर २२ वर्ष। लावर भनेको कथित 'तल्लो' जाति। मोगोकमै जन्मेको। बर्माको सानो सहर। मोगोक नेपालीभाषी बर्मेलीहरू एक्कै ठाउँमा झुरुप्प मिलेर बसेको सहर। संसारभर नै रुबीका लागि प्रसिद्ध सहर।
रुबी एक किसिमको रातो रङको ढुंगा हो। जसको एक तोलालाई नै करौडौं पर्न सक्छ। गहना बनाउन प्रयोग हुन्छ। तपाईं पनि मजस्तै मणिमाणक्यमा रूचि नभएको मानिस हो भने यति बुझे पुग्छ। गरगहना, मणिमाणिक्यमा रूचि भएकालाई रुबीका बारेमा मैले व्याख्या गर्नु पर्दैन होला।
मोगोकमा करिब १५ हजार जति नेपालीभाषी छन्, जुन सहरको जनसंख्याको हिसाबले बर्मेली, श्यानी, लिशुपछिको चौथो जाति हो।
'नेपालबाट बाआमा हैन, बाजेबराजु आका हुन्। कहाँबाट आए? भनेर मलाई नसोध्नू दाइ,' सरोजले मलाई भने, 'धनीमानी ठूलावडाको पो वंशज हुन्छ दाइ, हामी दलित भनिनेको को आयो, कहिले आयो, कसलाई के अत्तपत्तो? त्यो जान्ने, बुझ्ने, खोज्ने हाम्रो पुर्खामा केको रूचि?'
संरचनागत हिसाबले लाभ पाइरहेको मलाई सरोजको भनाइ घुच्चुकमै हानेजस्तो भयो।
सरोज १२ वर्षका हुँदा बा बितेछन्। मैले उनलाई बा सम्झन लगाएँ।
'चिनी रोग लागेर बित्नुभो बा। ड्राइभर हुनुहुन्थ्यो। ठूला भिक्षुका गाडी कुदाउनुभयो, रुबी खानीका गाडी पनि चलाउनुभयो।'
सरोजका बुबाआमाले कपडा सिलाइको काम गर्थे भन्ने मैले पत्तो पाएको थिएँ।
सरोजले पनि भने, 'सिलाउन जानेको मान्छे हो बुबा। नेपाली दौरा सुरूवाल पनि सिलाउने।'
आमा नि?
सरोजले जवाफ दिए, 'थाइल्यान्ड, बैंककमा काम गर्ने हो। कुकको काम गर्नुहुन्थ्यो। अहिले यहीँ मोगोक फर्कनुभएको छ।'
नेपालीहरू जसरी कामका लागि भारत जान्छन्, यहाँका नेपालीभाषी त्यसरी नै कामका लागि थाइल्यान्ड जान्छन्।
मावली नि?
सरोजले भने, 'उत्तरी शान प्रदेशको कुटखाईंमा बस्थे। बागीले दुःख दिएपछि अहिले यतै मोगोकमा आएर सानोतिनो काम गर्दै जीवन चलाउँदै छन्।'
बागी भनेको सशस्त्र विद्रोही समूह। पोहोर दसैंअगाडि म पनि कुटखाईं पुगेको थिएँ। सरकारी सेना र सशस्त्र विद्रोही सेनाबीचको गोली हानाहान भइरहन्छ कुटखाईंमा। बर्मामा जातीय स्वायत्त राज्यसहितको संघीयता माग गरेर करिब २० वटा सशस्त्र समूह सरकारी सेनासँग भिडिरहेका छन्। नेपालीभाषीहरू तिनै सशस्त्र समूहलाई बागी भन्छन्।
कुटखाईंमा दुईखाले लडाइँ हुन्छ। एउटा सशस्त्र जातीय सेना र सरकारी सेनाबीच। अर्को सशस्त्र समूहहरूबीच। आ-आफ्नो जातीय क्षेत्र बढाउन भनेर सशस्त्र समूहहरू आपसमा पनि भिड्दा रहेछन्। लडाइँमा परेर तथा दुवै खाले सेनाले बिछ्याएका बारुदी सुरुङमा परेर बर्सेनि नेपालीभाषीले पनि उत्तरी शान प्रदेशमा ज्यान गुमाउँछन्। घरबार विहीन हुन्छन्।
सरोजले १० कक्षासम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। मन संगीतमा छ।
'पढेर के गर्नु? बरू आमाले दिएको पैसा र आफूले पत्थर (मोगोकमा पाइने रुबी र अन्य प्रकारका महंगा ढुंगा) घोटेर जोडेको पैसाले संगीत स्टुडियो पो खोलेको छु दाइ,' उनले सुनाए, 'सबै सरकारी कागजपत्र बर्मेली भाषामा हुन्छ। नागरिकता, पासपोर्ट लिँदा भर्नुपर्ने फारम धेरै जना नेपाली बोल्नेले भर्न जान्दैनन्। अनि तिनको फारम बर्मेली भाषामा भरेर पनि पैसा कमाएको छु।' सरोजको गुजारा चलाउने बाटो।
संगीतमा सरोजलाई सानैदेखिको रूचि हो।
'चार वर्षको उमेरमा होला, बाले सानो पियानो किन्दिनुभयो,' उमेर बढ्दै गएपछि मोगोकमा भएजतिका गीत गाउने र बजाउनेसँग यिनले संगत गरे।
'गुरू त कतिलाई थापियो, थापियो, बिर्सेँ दाइ,' सरोजले भने, 'किबोर्ड र गितारमा एक्सपर्ट भइसक्या छु।'
अनि मादल?
'दुई वर्ष भयो मादल बजाउन थालेको। परार छिमेकी बा नेपाल जानुभएको थियो। मलाई जसरी पनि एउटा मादल ल्याइदिनू है भनेको थिएँ। उहाँले ल्याइदिएदेखि बजाउन थालेको हुँ। युट्युबमा नेपाली गीतमा मादल बजाएको सुनेर सिकेँ।'
सरोजले मलाई संगीतबारे थप सिकाए, 'एउटा बाजा बजाउन जान्नेलाई अर्को बाजा सिक्न धेरै बेर लाग्दैन। मोगोकमा मादल त छन्। तर धेरै जनाले कहाँ दिन्छन् र? फेरि सजिलै यहाँ किन्न पाइने भए पो दिन्थे? नेपालबाटै मगाउनुपर्छ। पहिला आफूसित थिएन। बजाउन पाइएको थिएन।'
सरोजको स्टुडियोले भर्खरभर्खर आम्दानी पनि दिन थालेको छ। एउटा गीत रेकर्ड गराएको नेपाली दस हजार रुपैयाँसम्म पाउँछन्। सरोजका दाजुले गाडीका थोत्रा इन्जिन बनाउने र रुबी खानीमा प्रयोग हुने तुईनको सामानको व्यापार गर्छन्। सरोजका भाइ भिडिओ खिच्ने काम सिक्दै छन्। सरोजले मादल बजाएको भिडिओ चाहिँ उनका भाइ रेमन सुनामका गुरु मोहन ज्ञवालीले खिचेका हुन्।
सरोजलाई नेपाल जाने मन छ। भन्छन्, 'नेपालका भिडिओ हेर्दा कस्तो रमाइलो लाग्छ।'
योजना बुन्न भने पैसा पुगेको छैन। सरोजलाई नेपाली गीतमा मन खाएको गीत खासै धेरै छैन। रामकृष्ण ढकाल चाहिँ उनका मनपर्ने गायक हुन्। एउटा नेपाली गीत भर्खर रेकर्ड गराएका छन्। भविष्यमा थुप्रै नेपाली गीत गाउने मन छ। तर यहाँ बाँच्न बर्मेली, श्यानी र लिशु गीतमा लाग्नुपर्यो। मलाई सरोज व्यावहारिक लाग्न थाले।
'भिडिओका बाँसुरीवादक बेदु रिमालसँग पनि कुरा गर्न खोज्दैछु' भन्दै थिएँ, उनैले आफ्नो स्टुडियोमै बोलाइदिए बेदुलाई।
बर्मामा बाँसुरी बजाउने तीन जनाको नाम लिन परे मोगोकका बेदुको नाम पहिलो नम्बरमा आउँछ। बेदुलाई पनि आफ्ना पुर्खा नेपालको कुन ठाउँबाट कहिले बर्मा आएका हुन् पत्तो रहनेछ।
'हजुरबा आएका हुन्। फुयाँल गाउँ, हावा चावा ठाउँ भन्थे केरे बाहरूले। नेपालमा त्यो कता पर्छ, तपाईंलाई थाहा होला?' उल्टै मलाई प्रश्न गरे बेदुले।
पुर्ख्यौली थलो थाहा नभए पनि बर्माबाट सन् १९६० दशकमा गएका उनका आफन्त अहिले धरान र इटहरीमा छन्।
'भर्खरै फोनमा कुराकानी भएको थियो, नेपालमा त कोरोनाले आपत् पारेको छ रे नि है?' उनले फेरि अर्को प्रश्न गरे।
नेपाल मात्र होइन, बर्मालाई पनि आपत् पारेको छ कोरोना भाइरसले। झन्डै ४० हजार संक्रमित र नौ सयभन्दा बढी बर्मेलीले ज्यान गुमाइसकेका छन्। फरक यत्ति हो, नेपालमा जताततै फैलिएको छ। यहाँ निश्चित सहर र गाउँमा मात्र। बर्माका १४ वटा प्रदेशमध्ये कुनै कुनैमा त अहिलेसम्म एक जना पनि संक्रमित फेला परेका छैनन्।
६१ वर्षीय बेदुका छोरीज्वाइँ नै कोरोनाका कारण रंगुनको कपडा व्यापार छाडेर अहिले मोगोक गएर बसेका छन्। बेदु पनि मोगोकमै जन्मेका हुन्। उनका पिताले पनि गाडी चलाउने काम गर्थे। खेती किसानी त प्रमुख पेसा थियो।
'खोरिया फाँडेर खेतबारी बनाइयो, भैंसी पालियो, गाई पालियो। बुढाघरे महाजन भनेर हामीलाई चिन्थे पिताजीको पालामा त,' बेदुले भने।
बर्मामा भेटिने ६० वर्षमाथिका नेपालीभाषी सबैको जीवनी यही हो। अपवादबाहेक। खोरिया फाँड्यो, खेती गर्यो। बस्तुभाउ पाल्यो। जीवन धान्यो। चार दशकयताका पुस्ता भने खेतीपाती गर्ने मात्र छैनन्। बेदुकै दुई छोरा लाश्यो सहरमा कपडा व्यापार गर्छन्।
बसाइँ सर्न यहाँका नेपालीभाषीलाई कसैले जित्छ जस्तो लाग्दैन। व्यापारको सिलसिलामा कता कता पुगेका हुन्छन्, हुन्छन्। हुन पनि एकपटक थातथलो छोड्न पो गाह्रो। एकपटक छाडेपछि अर्को, अर्कोपटक त सजिलै छाड्न सकिँदो हो!
बेदुले बाँसुरी बजाउन थालेको १०-१२ वर्षको उमेरदेखि नै हो। संगीतका गुरू आफ्नै पिताजी र रेडियो नेपाललाई मान्छन्।
'बा मुरली बजाउने र बनाउने दुवै गर्नुहुन्थ्यो, मलाई पनि सिकाउनुभयो। पछि त सर्टवेभमा रेडियो नेपाल सुनेर नक्कल गर्दै बाँसुरी बजाउन थालेँ,' बेदु ४०-४५ वर्ष पछाडि फर्के।
'रेडियो नेपालमा गीत सुन्दा कुन औंलाबाट बजायो, कति सास फाल्यो भनेर ध्यान दिएर सुन्थेँ। त्यसैबाट जानियो,' बेदुलाई आफ्नै एक जना मगर साथीले बाँसुरी बजाउँदा घुमाएर सास तान्न सिकाए रे। पछि गएर यिनको संगत एक जना नेपालीभाषी धर्म प्रचारक स्वामी विवेकानन्दसँग भएछ।
थपे, 'गुरूजीले त मेरो बाँसुरीलाई सारेगमको लयमा पो हिँडाइ दिनुभयो।'
बर्मामा रेडियो नेपाल सुनेर हुर्किएका दुई पुस्ता नेपालीभाषी भेटिन्छन्। स्याटलाइटमार्फत् टिभी प्रसारण हुन थालेसँगै पहिले च्यानल नेपाल हेर्ने र आजभोलि डिसहोम घरमा राखेर नेपाली र भारतीय टिभी च्यानल हेर्नेहरू निकै बढेका छन्।
डिसहोमको अनाधिकृत बिक्रेताले बर्मामा प्रशस्त पैसा कमाएका छन्। नेपालीभाषीको घरमा डिसहोम हुनुलाई 'स्टेटस सिम्बल' का रूपमा पनि लिइन्छ।
छिमेक, टोल, गाउँ, जिल्ला हुँदै बेदुको बाँसुरी ख्याति बर्माका विभिन्न प्रदेशसम्म पुग्यो। बेदुलाई पनि बाँसुरीको सोख, जहाँ-जहाँ बोलाउँछन्, बजाउँदै हिँडे। बर्मेली बाजामा भने बाँसुरीको स्थान छैन। तर केही वर्षयता उनले घुसाउने प्रयास गरेका छन्।
'नेपाली चाडवाडमा बाँसुरी बजाएको सुनेका बर्मेलीले मलाई तिनका गीतमा पनि घुसाउन भने। मैले पनि बर्मेली गीतमा यसो मिलेको ठाममा बाँसुरी बजाइदिन थालेँ। भर्खरै 'दिदी' को चुनावी गीतमा पनि बाँसुरी घुसाएको छु,' बेदुले भनेको 'दिदी' आङसाङ सू ची हुन्।
आउँदो कात्तिक २३ गते बर्मामा आमचुनाव छ। धेरै नेपालीभाषीहरू आङ साङ सू चीको पार्टीलाई समर्थन गर्छन्।
बर्मेलीलाई नयाँ बाजा सिकाइदिएकामा बधाई भन्न मात्र भ्याएको थिएँ, बेदुले थपे, 'बर्मेली संगीत खल्लो छ। मलाई त नुन, अमिलो, पिरो केही नभएको अचारजस्तो लाग्छ।'
'ल अब उसो भए बर्मेली संगीतलाई ट्वाक्क बनाइदिनू,' मैले ठट्टा गरेँ।
बेदुसँग अहिले १३ वटा बाँसुरी छन्। दुइटा त चीनबाट ल्याएका, एउटैको २५ हजार नेपाली रुपैयाँ जति परेको सुनाए। नेपालीभाषी गुरू विवेकानन्द नेपाल जाँदा पनि बेदुलाई बाँसुरी ल्याइदिने रहेछन्। उनी आफैं पनि बाँसुरी बनाउँछन्। तर आफैंले बनाएको त्यति चित्तबुझ्दो हुँदो रहनेछ।
छुट्टिनुअघि मैले बेदुलाई भविष्यको योजना सोधेँ।
'अब डुब्ने बेलाको घाम भइयो। नेपालीभाषीलाई सत्मार्गमा लगाउन पाए हुन्थ्यो भन्ने छ। म त आफैं अगाडि सर्ने खालको पनि होइन। कसैले केही अह्राए-पराए भने गोर्खाली समाजको हित हुन्छ भने त्यही काम गर्ने हो,' उनले भने।
भिडिओमा बेदुले बाँसुरी बजाएको र सरोजले मादल ठोकेको ठाउँ मोगोककै गोर्खाली मन्दिर परिसर हो।
यहाँका नेपालीभाषीका लागि पशुपतिनाथ सबभन्दा ठूलो धाम हो। बूढाबूढीलाई 'के छ तपाईंको इच्छा' भनेर सोध्दा धेरैजसोले एउटै जवाफ दिन्छन्, 'एकपटक पशुपतिको दर्शन गरेर मर्ने मन छ।'
त्यसैले नेपालीभाषी भएका सहर, गाउँपिच्छे सानो भए पनि पशुपतिनाथको मन्दिर बनाउँछन्।