यो लेखमा एउटा खिल उक्काउँदै छु।
त्यो खिल कसैले सोधेको प्रश्नमा आफैंले दिएको जवाफबाट बनेको हो। कसैले सोधेको एउटा सामान्य प्रश्न सायद धेरैबेर साथमा नरहला। मलाई सोधिएको त्यो प्रश्न सामान्य थियो। मैले झट्ट दिएको जवाफ पनि सामान्य नै थियो।
तर जवाफ दिइसकेपछि 'मैले किन त्यसरी जवाफ दिएँ?' भनेर आफूले आफैंलाई सोधेको प्रश्न भने असामान्य बन्यो।
मैले उनलाई जवाफ दिएपछि आफैंलाई सोधेको त्यही असामान्य प्रश्न काँडा बनेर मेरो मनमा गढ्न थालेको थियो। अहिले खिल भएको छ।
यो लेखमा त्यही खिल उक्काउँदै छु।
ग्यास चुल्होको देब्रे बर्नर बिग्रिएको महिनौं भइसकेको थियो। निलो बल्नुपर्ने आगो पहेँलो पहेँलो बल्थ्यो। कराही र कुकरमा कालो लाग्थ्यो। तर मलाई बनाउने हतार भएको थिएन। निलोबाट पहेँलो हुँदै कालो बन्ने रङको यात्रा रमाइलै लागिरहेको थियो।
'चुल्हो यस्तो बिजोग पारेको मान्छेले देखे भने के भन्छन्?' आमालाई मैले देखेको रङको यात्रा मन परेन।
स्वास्थ्य सम्बन्धी तालिम लिन काठमाडौं आएका बेला कालो लागेको भाँडा माझ्नुपरेपछि हकार्नुभयो। हकारेको केही दिनमा उहाँ फर्किनुभयो।
मलाई त रङको यात्रा रमाइलै लागेको थियो।
'ग्यास बनाइस् त?' धनकुटा पुगिसकेपछि फोन गरेर उहाँले नसोध्नुभएको भए यो कथा अर्कै हुन्थ्यो। तर उहाँले सोध्नुभयो।
बनाएकै छैन भन्यो भने 'लखर लखर कुद्दै फुर्सद छैन' भन्ने डाइलग आइहाल्थ्यो। त्यसैले 'तपाईं जानेबित्तिकै बनाइ हालेँ नि' भन्दै झुट बोलेँ। धन्न 'खै त, बालेर देखा' भन्नुभएन।
उहाँसँग झुट बोलिरहेका बेला यता ग्यास चुल्होले मतिर फर्किएर 'के बनिसक्यो भनेको भाइ, म त उस्तै छु त?' भनेजस्तो लाग्यो।
झुट बोलेको पक्राउ परेर लत्रक्क भएको सानो बालक जसरी म ग्यास चुल्होसँग लजाएँ। आफ्नै भान्साको चुल्होले लत्राएपछि त के इज्जत भो र?
त्यसैले सोचेँ 'आउने शनिबार चाहिँ जसरी पनि बनाउन लान्छु।'
शनिबार आयो। तर दुइटा बर्नर भएको चुल्होलाई बनाउने ठाउँसम्म बोकेर लैजाने झोला भएन। सानो भए पो बोकेर लानु? यत्रो ठूलोलाई त बोरा नै चाहिन्छ। कि त बाइकमा बक्सा हुनुपर्यो।
'बोक्न त्यस्तै झ्याउ हुने भए एउटा मात्र बर्नर भएको सानो किन्नु थियो नि त,' नबिग्रिएको दाइने बर्नर बिच्कियो।
'तिमी सिंगलै हुन्छौ भनेर दुइटा भएको किनिदिएको नि,' मैले उसलाई जिस्क्याएँ।
'आफू कत्ति न डबल भएको जस्तो,' उसले मलाई जिस्क्यायो।
'डबल हुनेले पनि के नाप्यौ र,' मैले आफूलाई 'डिफेन्ड' गरेँ।
'सिंगलै भएको भए बरू बिग्रिने थिइनँ' बिग्रिएको देब्रे बर्नरलाई पनि उसले जिस्क्याउन भ्यायो।
'तिमीहरूको बोलचाल छैन कि के हो,' मैले पेलेँ। दुवै बर्नर बोलेनन्।
मेरो बेलाबेला कोठामा भएका सामानसँग यसरी नै बोल्ने बानी थियो। निर्जीव चिजलाई सजीव ठानेर बोलाउँथे। आफूले लेखेका नयाँ कुरा सुनाउँथे। कहिलेकाहीँ उनीहरूलाई सुनाउँदा सुनाउँदै लामो समयदेखि डल्लो परेका अक्षरहरू फुट्थे। म फुटेका अक्षरहरू बटुलेर वाक्य बनाउँथे।
यसरी झोला नभेटेर ग्यास बनाउन जाने कि नजाने भन्ने दुविधा भइरहेकै बेला घरबाहिरबाट आवाज आयो- ग्यास चुल्हो बनाउने, प्रेसर कुकर बनाउने।
समस्या फुटाउने ढुंगो खोजिरहेका बेला देउता भेटेजस्तो भयो। हत्तपत्त बाहिर निस्किएँ। देउता हाम्रो गल्लीमा छिरेकै रहेनछन्। पल्लो गल्लीबाट कराएको आवाज पनि सुनेछु।
'आफूलाई चाहिएको भएर त्यति परको आवाज सुनेको हुँ कि, मेरा कान साँच्चै तिखा भए?' बाहिर निस्किएर यस्तो सोच्दै गर्दा 'ग्यास चुल्हो बनाउने, प्रेसर कुकर बनाउने' आवाज अलि नजिक भयो। फेरि एकपल्ट दोहोरिएर मेरो नजिकै आएर रोकियो।
'के बिग्रिएको?' आवाज निकाल्ने दाइले साइकल र आफूलाई सँगै अड्याउन एकापट्टिको खुट्टा भुइँमा टेक्दै सोधे।
'चुल्होको एउटा बर्नर रिसायो दाइ। झ्यापझ्याप भाँडोमा कालो फ्याँक्छ,' मैले जिस्किँदै उनलाई सबै समस्या खुलस्त बताएँ।
कहिलेसम्म सद्दे बलेको थियो पनि जिस्किँदै भनेँ, 'एक दिन घिरौंला पकाएको थिएँ। त्यस दिनदेखि चुल्हो रिसायो।'
घिरौंला मनपर्ने नै भए पनि फेसबुकमा आएको मिमले यस्तो बोल्ने बनाएको थियो।
'के पकाएको हो भनेर चुल्होले के जान्दछ, चुल्हो त पकाएन भने पो रिसाउँछ,' यसो भन्दै दाइ साइकलबाट ओर्लिए। र, म बस्ने घरको गेटनजिकै साइकल अड्याए। उनले त्यसो गर्नुको मतलब मैले भनेको लक्षणको आधारमा ग्यासको समस्या थाहा भइसक्यो भन्ने हुन्थ्यो।
त्यही पनि ढुक्क हुन सोधेँ, 'बन्छ त दाइ?'
'त्यो त हेरेपछि थाहा हुन्छ,' उनको आवाज डाक्टरको जस्तो सुनियो।
'यति टेस्ट गरेर आउनुहोस् अनि हेर्नुपर्छ,' भन्लान् जस्तो लाग्दै थियो। तर उनले भने, 'निकाल्नुहोस् त हेरौं।'
म लुसुलुसु भित्र छिरेँ। मेरो ढोकानजिकै भएको चर्पीको ढोका खुल्लै रहेछ। त्यसको ढोका लगाएँ र आफ्नो कोठाको ढोका खोलेँ।
भान्सामा गएर ग्यासको रेगुलेटरलाई सिलिन्डरसँग छुटाएँ।
'आफ्नो ब्रेक-अप भयो भनेर अरू मिलेको देखी नसहेको हेर न,' सिलिन्डरले हप्काएजस्तो लाग्यो।
'आफ्नै कोठामा भएको सामानले पनि इज्जत गर्दैनन् यार। झन् हरियो बल्नुपर्ने पहेँलो बल्यो भनेर बनाउन लाग्दै छु,' मैले सिलिन्डरलाई जवाफ फर्काएँ।
'पहेँलो बलेको नि ठीकै छ त,' ऊ जिस्कियो।
'अर्कोपल्ट अर्कै कम्पनीको सिलिन्डर ल्याउँछु अनि थाहा होला,' मैले उसलाई धम्क्याएँ।
यसो भनेर म बाहिर निस्किँदासम्म मेकानिक दाइले मर्मत गर्ने सामान भुइँमा राखिसकेका थिए। लामो समयदेखि चलाएको झोला हो भन्ने झोलाको रङमा मिसिएका अरू रङबाट थाहा हुन्थ्यो।
दाइको झोलाले गरेको रङको यात्रा चिहाउँदै उनको हातमा चुल्हो दिँदै भनेँ, 'नदुखाई हेरिदिनु है। यसलाई पहिलोपल्ट बनाउन लागेको। डराउँछ होला।'
मैले गरेको जोक हो कि के हो भन्ने बुझ्न एकछिन समय लगाएर दाइले चुल्हो समाते। भुइँमा राख्दै सोधे, 'कुन हो बिग्रिएको?'
मैले चिनाउन भुलेछु। 'यो देब्रेतिरको,' हातैले देखाइदिएँ।
'पहेँलो पहेँलो कस्तो मजाले बल्थ्यो, मलाई पनि त्यस्तै बलेको हेर्ने बानी भइसकेको रहेछ,' दाइनेतिरको बर्नरले बनाउनका लागि खोल्न ठिक्क पारिएको देब्रे बर्नरलाई जिस्क्यायो। देब्रे बर्नर जवाफ दिन खोज्दै थियो मेकानिकल दाइले मुखैमा च्याप्प समाते।
बर्नर क्याप निकाले र केहीबेर घोरिएर हेरेपछि समस्या पहिचान गर्दै भने, 'तपाईंको ३५० रूपैयाँ चुना लाउँछ जस्तो छ। यसो बेलाबेला ब्रस गराइदिने गर्नुपर्छ नि। दाँत सबै फोहोरी भएछन्।'
उनले मेरो जोक गर्ने बानी बुझेर त्यसरी नै जवाफ फर्काए।
'अब बोल्न मजा आउँछ।'
'आफ्नै त ब्रस गर्दैनन् दाइ,' म बोल्नलाई हौसिँदै गर्दा दाइनेतिरको बर्नर बाठो भयो।
मेकानिकल दाइ पेन्चिस टिपेर चुल्हो खोल्न थाले। बिहान-बेलुका पुछ्दा बर्नर काउकुती लागेजसरी उफ्रिन्थ्यो। आज अर्कै मान्छेले पेन्चिस घुमाउँदा पनि चुपचाप सहिरहेको थियो। दाइने बर्नर उसको बाध्यता खुब मजा मानिमानी हेरिरहेको थियो।
'यो अर्कोलाई पनि खोलेको बेला सफा गरिदिम् कि के हो दाइ?' मैले उसलाई फसाउने सोचेर भनेँ। दाइने बर्नर झस्कियो।
'यो पर्दैन। यसलाई केही भएकै छैन,' मेकानिकल दाइले उसलाई बचाउँदै भने, 'बिग्रिएको पो बनाउने हो।'
उसलाई फसाउन खोज्दा म फसेको देखेर दाइने बर्नर हाँस्यो।
'काठमान्डुमा मान्छे भन्दा चुल्हो धेरै छन् नि भाइ,' ब्रसले बर्नरको दाँत माझिँदिँदै मेकानिक दाइले भने।
'मान्छे सिंगल भए पनि प्रायः बर्नर डबल हुन्छन् त्यही भएर होला,' म हाँसे।
'मेरो त परिवारमा २ जोर मान्छे छन्।'
'घर कहाँ तपाईंको?'
'बिहार।'
'कति भयो त काठमाडौं बस्न थाल्नुभएको?'
'२२ वर्ष।'
'त्यही त, गज्जब नेपाली बोल्नुहुँदो रैछ।'
'नेपाली बोले पनि सबैले आफ्नो ठान्दैनन्। छालाको रङले छुट्याउँछ,' उनले बिझेको काँडो देखाएजसरी बोले। मसँग काँडा झिक्ने सियो थिएन। चुप लागेँ।
उनले सफा गरिसके। ग्यासको भित्रपट्टी भएका फोहोरहरू पनि निकाले।
'हामीले त केही गरेका थिएनौं भनेजसरी बाहिर नदेखिने ठाउँमा बसेका फोहोरहरू टुक्रिएर झरे। उनले बढो जतनले बर्नरलाई फेरि पहिलाजस्तै गरी जोडिदिए।
मेरो ठूलो काम हलुका गरिदिए।
'लु एकपल्ट बाली हेर्नु। अब बल्नुपर्ने हो,' मेरो हातमा चुल्हो थमाइदिए।
रेगुलेटर जोड्ने बेला सिलिन्डर फेरि खुसी भयो। जोड्नासाथ पाइपबाट हुर्रिएर बर्नर भेट्न पुग्यो। बर्नर अन गरेर लाइटरको स्पाइक छाडेँ। आगो सल्कियो र निलो बल्यो। पहिलाजस्तै निलो।
'पहेँलो पनि ठीकै थियो, यो पनि ठीकै छ। राम्री मान्छेजस्तो बले पनि राम्री,' दाइने बर्नरले कुरा मिलाउन खोज्यो।
उनीहरूलाई कोठामा छोडिदिएर बाहिर निस्किएँ।
'बनाएपछि त फरकै नपर्ने रहेछ नि,' मेकानिक दाइलाई जिस्क्याएँ।
'यही कामले पेट पाल्ने हो,' बनाइसकेपछि उनी अझै 'कन्फिडेन्ट' सुनिए।
'प्रेसर कुकरमा कुनै समस्या त छैन? म त्यो पनि बनाउँछु,' आफ्नो अर्को सीपको पनि मार्केटिङ गरिहाले।
'बिग्रियो भने तपाईंको आवाज फेरि सुनिहाल्छु नि,' मैले उनलाई फुर्क्याएँ।
मैले बोल्दै गर्दा उनी झोलामा सामान हाल्न थाले। सामान हाल्ने २२ वर्ष पुरानो सानो काठको बाकस कालो भएको थियो। तर उनले कालो लागेको मेरो ग्यासको बर्नर सफा पारिभ्याए। हलुण र जुवा भेटिने ठाउँमा चिल्लो भएको जस्तै चलाउँदा चलाउँदा चिल्लो भएका सामानलाई जतनले झोलामा हाले। र, साइकलको पछाडि बाँध्न थाले।
'बरू साइकलको पछाडि नै एउटा बाकस बनाउनु नि,' मैले भनेँ। झोला निकालिरहनु भन्दा बाकस नै जोडे सजिलो हुन्छ जस्तो लागेको थियो।
'झोला भए सजिलै निकाल्न मिल्छ। बाकस भएपछि साइकललाई भारी बनाउँछ। घर जाँदा गाडीको हुटमा राखेर लैजान पाइँदैन फेरि,' उनले जवाफ दिए।
मैल 'चुना लागेको' पैसा निकालेँ र उनको हातमा दिएँ।
पैसालाई कमिजको देब्रे छातीतिर भएको गोजीमा हालेपछि उनले साइकल चढ्न खुट्टा उचाले। तर खै के सोचे कुन्नि, उचालेको खुट्टा पुनः भुइँमा राखे। हिँड्न लागेको मान्छे रोकिनलाई केही विशेष कारण हुन्छ। उनी रोकिएपछि आएका सम्भावित प्रश्नले मलाई छोपे।
'केही छुट्यो दाइ?' मैले प्रश्न गरेँ।
मैले सोधेको प्रश्नको जवाफ नदिई उनी सिधै मनजिक आए र मेरो कानको नजिकै पर्ने गरी अप्ठ्यारो मान्दै सानो स्वरमा साउती गरे जसरी सोधे, 'म तपाईंको चर्पी जाऊँ?'
चर्पी जाऊँ भनेर यसरी मलाई कसैले पनि प्रश्न सोधेको थिएन। मलाई के जवाफ दिने झट्टै भन्न आएन।
अनि मेरो मुखबाट फुत्त निस्कियो, 'बाहिर चर्पी नै छैन दाइ।'
अहिलेसम्म नसुनेको प्रश्नको जवाफ मैले यसरी दिएँ मानौं, यसको जवाफ मलाई पहिल्यैदेखि थाहा थियो। मुखबाट जवाफ निस्किनासाथ मलाई ग्लानी भयो। पसिना आए। गेटबाट सिधा परको प्यासेज कटेपछिको ढोकामा चर्पी थियो। उनी जुन गेटभित्र बसेर मेरो ग्यास चुल्हो मर्मत गरिरहेका थिए, त्यही घरको भुइँतलामा चर्पी थियो।
तर मैले फुत्तै भनेँ, 'बाहिर चर्पी छैन दाइ।'
'ठीकै छ दाइ, म बुझ्छु,' मैले बाँकी केही बोल्न नपाउँदै उनी आफूभन्दा धेरै कान्छो मान्छे मलाई दाइ भन्दै साइकलमा चढे र अघि आउँदाभन्दा दोब्बर रफ्तारमा हुइँकिए।
मैले केही भन्नै पाइनँ। बोल्नै पाइनँ। आउँदाभन्दा तीव्र रफ्तारमा फर्किने मान्छेलाई केही भन्न नपाइने रहेछ। उनले बोलेको जस्तो पल्लो गल्लीमा सुनिनेगरीको आवाज मेरो थिएन।
उनी त्यसरी गएपछि 'मैले किन त्यसो भनेँ?' भन्ने प्रश्न पटकपटक मनमा बजिरह्यो।
उनले बनाएर गएको ग्यास चुल्होलाई सोधेँ, ग्यासलाई सोधेँ, कोठामा भएका अरू सामानलाई पनि सोधेँ। कसैले जवाफ दिएनन्।
आफूले दिएको जवाफ किन दिएँ भनेर आफूलाई नै सोधेको त्यो प्रश्न काँडा भएर मनमा गडिरह्यो। मसँग त्यसलाई निकाल्ने सियो थिएन। ग्लानीले जलिरहेर पनि काँडा निस्किएन। बरु खिल बन्यो।
त्यसपछि ती दाइको बोली फेरि सुन्न पाइनँ। तर आज पनि हरेकपल्ट भात पकाउन ग्यास बाल्ने बेलामा उनैलाई सम्झिन्छु र आफूलाई सोध्छु, 'मैले त्यो दिन किन उनलाई चर्पी देखाउन सकिनँ?'
Twitter: @SurajWritesNP
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्