म मरेको दिन कस्तो होला?
कसैको मन मरेको दिन जस्तो होला।
मेरो निदाएको जिउलाई हेरेर आफू ब्युँझिन मान्छेहरू आऊलान्।
मान्छेका ओठले मेरा बारेमा ती कुरा भन्लान् जो सुनेर अब कसैलाई फाइदा छैन। मान्छेका मनले मेरा बारेमा ती कुरा भन्लान् जुन ओठले भनेको भए धेरैलाई फाइदा हुने थियो। उनीहरूकै मनलाई पनि फाइदा हुने थियो।
अझ म जिउँदो हुँदै भनेको भए कम्तिमा मलाई त फाइदा हुने थियो!
तर तब त फाइदा लिन म नै हुने छैन।
मेरो लाशअघि मान्छेले मेरा बारेमा भनेको कुरा म आफैंले सुन्न पाए कस्तो हुँदो हो?
मेरो लाश कसरी जल्ला?
तास जसरी जल्ला। त्यो पुरानो तासजसरी जसको नयाँ बुङ कतै तयार हुँदैछ।
मेरो जिउ टुक्रिँदै जलेको देखेर मलामीहरूले आफ्नो जिउ छामछुम गर्लान्। आफू अझै सिंगै भएको थाहा पाएर उनीहरू ढुक्क होलान्।
मेरो लाशबाट निस्किरहेको धुवाँको गन्ध मलामीहरूको नाकबाट छिरेर फोक्सोभित्रसम्म पुग्ला।
बाँच्दा नपुगेको म, मरेपछि पहिलोपटक कति मानिसहरूको त्यति भित्रसम्म पुगौंला।
उनीहरूले म जलेर बनेको हावाले सास फेर्लान्। म उनीहरूको हावा होउँला। सास फेरून्जेल मान्छे जिउँदो हुन्छ भन्छन्। जो सास फेरिरहेको छ, त्यो जिउँदो हुन्छ। ठीक छ। अनि जो सास भएर फेरिइरहेको छ, त्यो के हुन्छ?
जिउँदो उनीहरू कि म?
कि म जिउँदो उनीहरूमा?
बोल्न सास चाहिन्छ। मलामीहरूले मेरै सासले मेरै बारेमा के-के बोल्लान्? ती कुरा म आफैंले सुन्न पाए कस्तो हुँदो हो?
म जलिसकेको साँझ मान्छेहरूले आफ्ना साथीहरूलाई भेट्लान्। त्यहाँ साथीसँग मेरा बारे के कुरा गर्लान्?
म जलिसकेको रात निदाउनुअघि मान्छेहरू खाटमा एक्लै पल्टेलान्। त्यहाँ आफैंसँग मेरा बारे के कुरा गर्लान्?
ती कुरा म आफैंले सुन्न पाए कस्तो हुँदो हो?
यो विचारको ठूलो मुस्लो मेरो मनमा उठिरहेको थियो। त्यतिखेर तपाईंको चिताबाट धुवाँको सानो मुस्लो निस्किरहेको थियो। मान्छेको शरीरमा उसको नाम हुँदैन रहेछ। तपाईंको शरीर जलेर निस्केको धुवाँको कालोपाटीमा कतै माधवप्रसाद घिमिरे लेखिएको थिएन।
मास्क लगाएका नेपाली सेनाले आफ्नो राष्ट्रकविको सम्मानमा सलामी दिइसकेका थिए। बन्दुकका ती नालहरू यताउता नाचेको देखेर पशुपति आर्यघाट वरपरका परेवाहरूको सानु मुटु थरर काँपेको थियो।
बुबा, तपाईं त चराको बोली देखेर बाँचेको कवि। तपाईं त चराको बोली लेखेर बाँचेको कवि। एक शताब्दी चराहरूको मुटु सुम्सुम्याएर बाँच्नु भयो। आफू मरिसकेपछि सेनालाई बन्दुक नचाउन लगाएर ती चराहरूको सानु मुटु थर्काउने रहर तपाईं आफैंलाई त के थियो होला र है?
जिउँदै हुँदा पनि तपाईंलाई सेनाको साँघुरो चुस्त पोशाक लगाइयो। त्यतिखेर पनि तपाईंले स्वतन्त्र भएर हात चलाउँदा तपाईंको काखीमुन्तिर अप्ठ्यारो भएको थियो नि?
बुबा, तपाईंको लाश जलिरहँदा जे भयो, त्यो थाहा पाएर तपाईं मख्ख पर्नु हुनेछ। सुनाउँछु ल?
म जलिरहँदा मेरो वरपर के भयो मलाई कसैले सुनाइदेला?
म कीर्तिपुरबाट हेडफोनमा त्यही गीत सुन्दै सुन्दै आर्यघाटतिर हिँडेको थिएँ जुन गीतमा तपाईंले आफू यसरी मरूँ भनेर लेख्नु भएको थियो।
बाटोभरि करिब दसचोटि जति मेरो कानमा गुञ्जिरह्यो:
त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारू चरण
हिमालचुली देशमा
दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण
सुन्दर सृष्टि निहारी सुखैले चिम्लूँ नयन
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा बिना पवन
मुटुमा चोट नपरी टुटेर जाओस् बन्धन
बादलको सेतो रासमा
दुइटा मूर्ति पासमा
जसरी शिर नुहाइ आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण
अमरापुरी सभामा आफैंलाई गरूँ वरण
एउटा पंक्तिको हाँगामा मेरो मन टक्क अडियो।
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा बिना पवन
सोचिरहेँ- बिहानको राती, पारिजातको फूल हावाले पनि नहल्लाई पुक्लुक्क झरेजसरी, म पनि चुपचाप यो संसार छाडेर जान पाए कत्ति वेस हुने थियो!
तपाईंको अर्को गीत सम्झेँ:
आजै र राती के देखेँ सपना मै मरिगएको
बतासैबिना हाँगाको फूल भै झरिगएको
बुबा, तपाईं जस्तो कविलाई पनि दुई फरक गीतमा एउटै कुरा दोहोर्याउन मन लागेछ। तपाईं आफ्नो मृत्यु ठ्याक्कै यसरी नै हुनुपर्छ भन्नेमा कति मिठ्ठो गरी जिद्दी हुनुहुँदो रहेछ। आफ्नो जीवन ठ्याक्कै यस्तै हुनुपर्छ भन्नेमा मात्रै पनि हामी यति जिद्दी हुन सके!
अमरापुरीको सभामा तपाईंले आफूलाई वरण गरिसक्नु भएको थियो। तपाईंको शरीरलाई पशुपति आर्यघाटको त्यो चितामा राखियो जहाँ राजाहरूलाई जलाइन्थ्यो।
बुबा, राजाहरू तपाईं मरेपछि तपाईं पनि उनीहरू जस्तै हुनुहोस् भन्ने चाहन्थे हो?
राजाहरू तपाईं जिउँदो हुँदा तपाईं पनि उनीहरू जस्तै हुनुहोस् भन्ने चाहन्थे हो?
तपाईंले उत्तर दिनु पर्दैन बुबा। सबै उत्तर म तपाईंका कवितामा खोजौंला।
खोजेपछि भेटिएला नि बुबा।
६ वर्षअघि तपाईंलाई भेटेँ। मेरा तीनवटा कविता सुनेपछि तपाईंका कामिरहेका दुई हातले मेरा हातलाई लपक्क समाते। छयानब्बे वर्षे बाबुले आफ्नो हराएको छोरा भेटेर हत्तपत्त हात समातेजस्तो। अनि काँपेको स्वरमा तपाईंले मलाई एउटा वाक्य भन्नु भयो।
त्यो वाक्य सुनेकै पल मैले मभित्रको कविलाई भेटेजस्तो भएको थियो।
त्यसपछि मैले कवितामा खोजेको के-के भेटेको छु। तपाईंलाई भेटेरै सुनाउँछु सोचेको थिएँ। मैले भेटेका मान्छे सुनाउन मन थियो। भेटेका कुरा सुनाउन मन थियो। भेटेका मान्छेका कुरा सुनाउन मन थियो। बुबा, तपाईंले गर्दा मैले जे भेटेँ, जसलाई भेटेँ, तपाईंलाई भेटेर सुनाउन पाइनँ। अर्को चिठीमा सुनाउँछु ल? चिठीमा लेख्न जानिनछु भने उहीँ भेटेर सुनाउँला नि।
आज त्यो दिनको कुरा सुनाउँछु जुन दिन तपाईंभित्रका स्वर्ण किरणले हिमालचुलीमा विश्राम गर्ने ठाउँ भेटे।
जीवनबाट चुँडिएको तपाईंलाई चितामा सुताइएको थियो। भेट्नोबाट चुँडिएका फूलहरू तपाईंको चिता वरपर गाडिएका अग्ला बाँसहरूमा बाँधिएको थियो। परबाट झलक्क हेर्दा यस्तो देखिन्थ्यो, कोही फूलबारीका बीचमा जलिरहेछ।
तपाईंको शरीर जलेर बनेको हावा पालैपालो घुम्न निस्किरहेको थियो। बागमती वारिपट्टिबाट घुम्न हिँडेको तपाईंको शरीरको हावा एकैछिनमा पारिपट्टि पुग्यो। तपाईंको हावाले पहिलो यात्रामै नदी पार गर्यो।
वैतरणी नदी कहाँ छ?
त्यो हावा नदीपारि बसिरहेका म र मेरो साथीभित्रसम्म आइपुग्यो।
अब तपाईंको हावाले सास फेरेर बाँचिरहेको मान्छे तपाईं कि म?
कि तपाईं बाँचिरहेको हामीमा?
बुबा, तपाईंको घाम अस्ताएको साँझ मलाई घाम उदाउने जिल्लाबाट कसैले फोनमा भन्नु भएको थियो, 'मेरो तर्फबाट पनि बुबालाई ढोगिदिनु ल।'
मैले मभित्रको तपाईंलाई ढोगेँ।
तपाईंको लाश जल्न थालेको केही बेरपछि नै प्रायः सबै मानिसहरू के-केमा व्यस्त देखिन थाले। मलाई लाग्यो तपाईं एक्लै हुनु भयो। सोचेँ, एक्लो तपाईंलाई के गर्न मन लाग्ला? फेरि सोचेँ, तपाईंको हावाले म सास फेरिरहेछु। तपाईं मै हुँ। अनि सोचेँ, चितामा त्यसरी एक्लो हुँदा मलाई के गर्न मन लाग्ला?
क्षणभरमै मैले मैलाई भनेँ, 'गीत सुन्न।'
'कुन गीत?'
'त्यही गीत जुन मैले बाँचुञ्जेल मलाई पनि नसुनाउनू भनेको थिएँ। अब त मेरो मरण भइसक्यो। अब बजाए हुन्छ।'
पारिपट्टि मैले गोजीबाट मोबाइल निकालेँ। र तपाईंले सुन्ने आवाजमा बजाएँ, 'त्यसरी होओस् मरण...'
बुबा, आगोको मखमली खाटमा सुतेर त्यो गीत सुन्दा तपाईंलाई कस्तो लाग्यो?
म चाहिँ मोबाइलमा बजिरहेको गीत हेरिरहेथेँ। म तपाईं वरपर झुण्ड्याइएका फूलहरूलाई हेरिरहेथेँ। अनि सोचिरहेथेँ, म जलिरहँदा मेरो लाशले सुन्नेगरी मेरो 'एक्लै' कविता कसले बजाइदेला?
त्यतिखेर एउटा अद्भूत घटना भयो बुबा। तपाईंलाई जलाइरहेको आगो निक्कै माथिसम्म अग्लिन थाल्यो। म र मेरो साथीले आगोको त्यो छट्पटी छक्क परेर हेरिरह्यौं।
हावाले एक्लै छोडेर गएकामा आगो छट्पटाएको हो बुबा?
हावा र आगोले त सँगै हुन पाउनु पर्छ नि हैन?
हावा पो एक्लै बाँच्न सक्ला। आगोले त हावाबिना कसरी बाँच्नु?
(बुबा, मेरो हावाले मलाई छाडेर नजाला है?)
छट्पटाउँदै गरेको आगोले आफ्नो जिउलाई यताउता जथाभावी हुत्त्याउँदै थियो।
हावा रिसायो भने त हुरी बन्ला।
आगोको चित्त दुख्यो भने उसले के गर्नु?
हावा नभएपछि त ऊ कतै भाग्न पनि सक्दैन। धन्न भाग्न सक्दैन। नत्र आगोको हुरी कस्तो देखिँदो हो?
आफू त्यसरी बाँधिदा आगोलाई कति पोल्यो होला है?
मैले भनेको थिएँ नि बुबा, तपाईंको चिता वरपर फूलहरू बाँधिएका थिए। बाँधिएको आगोलाई फूलहरू त्यसरी बाँधिएको मन परेन क्यार। तनक्क जिउ तन्काएर आगोले एउटा फूललाई छोइदियो। त्यो फूल पुक्लुक्क झर्यो। तपाईंसँगै एउटै चितामा जल्यो। त्यो फूल आगोले छोएर आगोमा झरेको थियो। हावा बिनाको आगोले छोएर।
बुबा, ठ्याक्कै त्यतिखेरै मेरो मोबाइलमा के बजिरहेको थियो थाहा छ?
बिहानीपख रातको
कुसुम पारिजातको
जसरी जान्छ झरेर भुइँमा बिना पवन
त्यही पलमा मलाई थाहा भयो- एउटा कवि हठ पूरा गर्न कसले सघाउँदो रहेछ।
त्यसपछि हावा हुँदै, खाली हुँदै तपाईं आकाश हुनु भयो। थोपा हुँदै, खरानी हुँदै तपाईं खोला हुनु भयो। आकाश हेर्दैहेर्दै म खोलाको बाटो भएर कोठा फर्किएँ।
बाटोमा मलाई लाग्यो- यो अस्तित्वले लेखेको कवितामा हामी मात्र एउटा पंक्ति हौं।
मलाई तपाईंले लेखेको कवितामा एउटा पंक्ति थप्न मन लाग्यो। मभित्रको तपाईंको हावामा मिसिएर मैले थपेँः
त्यसरी होओस् मरण, त्यसरी होओस् मरण
मरेर जिउँदो छाडेको जीवनको होओस् स्मरण
म गाउँदै गाउँदै कीर्तिपुर पुगेँ। अनार किन्न रोकिएँ। मैले प्रायः फलफूल किन्ने पसलका दाइले म छक्क पर्नेगरी भन्नु भयो, 'यो आँप पनि लानुस् भाइ। यो आँप नछुटाउनुस्।'
बेच्ने जुक्ति मात्रै हो भन्ने सोचेर कुरा टार्न मैले भनेँ, 'आँप पछि कुनै दिन लैजान्छु दाजु। अहिले अनार मात्रै दिनु।'
उहाँ त ढिपी नै गर्न थाल्नु भयो, 'हैन, अहिले नै लानु भाइ।'
मैले अनौठो लागेर सोधेँ, 'किन यस्तो भन्नुभ'को दाजु? यो आँपमा के खास छ?'
उहाँले त्यहाँमध्येको सबभन्दा भरिलो आँप हातमा उठाएर भन्नुभयो, 'भाइ, यो यसपालिको अन्तिम आँप हो। अब यस्तै आँप खान तपाईंले एकदमै धेरै समय पर्खिनुपर्छ।'
(नवराज पराजुलीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)
म मरेको दिन कस्तो होला- सुन्नुस् अडियोमा