नेपथ्य
(अ)
इशापूर्व ३४० मा ग्रिक दार्शनिक एरिस्टोटलले ‘अन दी हेभन्स’ पुस्तकमा सूर्य, चन्द्रमासहितका अरू ग्रहहरूले पृथ्वीलाई केन्द्र मानेर परिक्रमा गर्छन् भन्ने मत सार्वजनिक गरे।
उनको तर्क थियो, सारा ग्रहहरूको बीचमा पृथ्वी छ।
उनको यो धारणालाई अर्का दार्शनिक टोलेमीले अझै विस्तारमा व्याख्या गरे। यसलाई क्रिश्चियन चर्चहरू (जो त्यसबखत सामाजिक सत्ता चेतनाका आधिकारिक फैसलाकर्ता र कार्यान्वयनकर्ता समेत थिए) ले पृथ्वीलाई केन्द्रमा राखेर अरू ग्रहहरूले परिक्रमा गरिरहेको ब्रह्माण्डको चित्र बनाउँदै ग्रहण गरे।
एरिस्टोटलको यो वितरित चेतना पश्चिमा समाज र खासगरी क्रिश्चियन चर्चका उच्च पादरीहरूमा डेढ हजार वर्षभन्दा लामो समय अन्तिम सत्यका रूपमा रह्यो (हकिंग, स्टेफन– अ ब्रिफ हिस्ट्री अफ टाइम: फ्रम दी विग ब्यांग टू ब्ल्याक होल्स, पृ ४)।
सन् १५१४ मा पोल्यान्डका पादरी निकोलस कोपर्निकसले पृथ्वीलाई केन्द्र बनाएर ग्रहहरूले परिक्रमा गर्छन् भन्ने धारणाको खण्डन गरे। उनले आफ्नो अनुसन्धानको निचोडका रूपमा सूर्य केन्द्रमा रहने र पृथ्वीसहितका ग्रहहरूले सूर्यको परिक्रमा गर्ने धारणा अघि सारे। यसरी स्थापितभन्दा भिन्न धारणा राख्दा चर्चले विधर्मीका रूपमा उभ्याउने खतरा थियो। त्यही भएर कोपर्निकसले छद्म नाममा आफ्नो धारणा सार्वजनिक गरेका थिए।
उक्त धारणासहितको पुस्तक उनको मरणोपरान्त सन् १५४३ मा मात्रै प्रकाशित भएको थियो, उनकै नाममा।
सन् १६०९ मा इटालियन वैज्ञानिक ग्यालिलियो गलिली र जर्मन वैज्ञानिक जोहान्नेस केप्लरले कोपर्निकसको धारणालाई सार्वजनिक तवरले समर्थन गरे। त्यसपछि एरिस्टोटलको पृथ्वीकेन्द्रित अवधारणा निषेध भई कोपर्निकसको सूर्यकेन्द्रित अवधारणा विमर्शमा आयो।
ग्यालिलियोले कोपर्निकसको विचारलाई समर्थन गरेकोमा क्रिश्चियन चर्चका पादरीहरू विक्षिप्त र आक्रोशित भए। उनीहरूले यसलाई 'पवित्र बाइबल' माथिको हमला भन्दै १६३३ मा ग्यालिलियोलाई आजन्म घरमै नजरबन्दमा रहनुपर्ने आदेश दिइयो (हकिंग– द ग्य्रान्ड डिजाइन, पृ ४१)। यति हुँदाहुँदै क्रिश्चियन चेतले विज्ञानको सत्यलाई सधैंभर नजरबन्दमा राखिरहन सकेन। आखिरमा सूर्यकेन्द्रित परिक्रमाको सिद्धान्त स्थापित भएरै छाड्यो।
सन् १९९२ मा आएर रोमन क्याथोलिक चर्चले ग्यालिलियोमाथि चर्चहरूबाट गरिएको दुर्व्यवहारका लागि माफी माग्यो।
पादरी अगस्टिनले आफ्नो पुस्तक ‘दी सिटी अफ गड’ मा ब्रह्माण्डको उत्पत्ति ५००० इशापूर्वमा भएको तर्क गरे। त्यसपछि क्रिश्चियन मतका अनुयायीहरूले विश्व सभ्यता र इतिहासको समयलाई त्यही ७००० वर्षको सीमारेखाभित्र कैद गर्ने गरी तय गरे। तर, जब वैज्ञानिक खोज, अनुसन्धान, उत्खनन, प्रमाणहरूले पृथ्वीको आयु अर्बौं वर्ष लामो रहेको तथ्य अघि सार्यो, क्रिश्चियन चर्चका पादरीहरू यो नयाँ अवधारणामाथि जाइलागे। अब त चर्चका मतान्धहरूबीच पनि पृथ्वीको आयु अर्बौं वर्ष पुरानो रहेको सत्य स्थापित छ।
स्थापित चेतना र चिन्तनसँग नयाँ चेतना टकराउनासाथ प्रचलित चेतनाले कसरी फडा उठाउँछ र नयाँ चिन्तनमाथि जाइलाग्दै विषालु घोलमा मुछेर सिध्याउन चाहन्छ भन्ने उदाहरण हो यो।
यसरी जाइलाग्ने काम पश्चिमा क्रिश्चियन चेतनामा मात्र होइन, बाँकी समाजमा पनि त्योभन्दा कम छैन। बरू पश्चिमा समाजले पन्ध्रौं शताब्दीयता स्थापित विचार, मान्यता, चेतना, आविष्कार, प्रमाणहरूभन्दा इतर चेतनासहित प्रकट भएका फरक संश्लेषणहरूलाई विमर्शमा स्थान दिएपछि यताका पाँच सय वर्षमा विज्ञान, दर्शन, विचार, व्यवहारमा पश्चिमा समाजले अकल्पनीय फड्को हानेको पाइन्छ।
यसले लोकतन्त्रका लागि नागरिक चेतनाको जग ठड्याएको छ। यद्यपि त्यो व्यक्तिकेन्द्रित मुनाफामुखी व्यवहारमा विघटित छ, यो बेग्लै कुरा हो। तर, समाज र मानिसको चेतना बहस, छलफल विर्मशलाई लल्कार्ने स्तरबाट कमसेकम माथि उठेकै छ।
पूर्वीय चेतना र चिन्तनले भने इशापूर्व दोस्रो शताब्दीदेखि नै आफूलाई कट्टर बनाउँदै लाने, फरक मतलाई निषेध गर्ने, नयाँ चेतनाहरूमाथि निरन्तर आक्षेप लगाउने र विमर्शको नियोजन गर्ने व्यवहार देखाउँदा यताको समयमा यो प्रज्ञारूपी दर्शनबाट रुढीको जीर्ण पर्खालका रूपमा उभिन पुगेको छ।
यो चिन्तनको पञ्जाले कहिले जातको नाममा नवराज विकहरुको घिच्रो फुटाउँछ, कहिले लिंगका नाममा महिलाहरूमाथि आधिपत्य र स्वामित्व प्रदर्शन गर्दै निजी ‘वस्तु’ का रूपमा शोषणको नंग्रा गाड्छ। धर्म, संस्कार र सभ्यताको अलाप भट्याउँदै।
(आ)
आजका दिनमा धेरै मान्छे इमान र स्वाभिमान बेचेर पनि आफ्नो स्वार्थ साँध्ने काममा लागिपर्छन्। उनीहरू भन्ने गर्छन्, समयअनुसार नचले पछि परिन्छ।
भन्नुको मतलब, पैसा नै प्रधान भएको समयमा इमान मात्र भट्याएर बस्ने मान्छे अगाडि बढ्न सक्दैन। अब इमान भन्ने कुरा डाइनासोर भइसक्यो। त्यसको पछि लागेर बसे आफू पनि डाइनासोर बनिन्छ। डार्बिनले भनेझैं ‘सर्भाइवल अफ द फिटेस्ट’।
उसो त ‘सर्भाइवल अफ द फिटेस्ट’ डार्बिनले सिर्जना गरेको अवधारणा होइन। यो अवधारणा सिर्जना गरेका थिए, हेर्बर्ट स्पेन्सरले।
स्पेन्सरले ‘प्रिन्सिपल अफ बायोलोजी (१८६४)’ मा उक्त अवधारणा प्रयोग गरेका थिए, चार्ल्स डार्बिनको ‘अन दी ओरिजिन अफ स्पेसिज (१८५९)’ पढेपछि। डार्बिनले त्यही अवधारणा ‘अन दी ओरिजिन अफ स्पेसिज’ को १८६९ को संस्करणमा मात्रै उद्धरण गरेका थिए।
प्राणीहरूले बाँच्न र आफ्ना सन्तान उत्पादन गर्न गरेको संघर्ष, प्रकृतिको छनौट र प्रकृतिअनुकूल आफूलाई परिमार्जन गर्दै लाने सन्दर्भमा उक्त अवधारणा आएको भनिन्छ। यसलाई युरोपेली साम्राज्यले आफ्नो उपनिवेशवादी चरित्र पुष्टि गर्न संसारभर भजायो।
स्पेन्सर र डार्बिनले उक्त भाष्यको रचना त्यो बेला गरेका थिए, जति बेला युरोप र त्यसमा पनि बेलायत संसारभर साम्राज्य विस्तारको दौडमा हुत्तिएको थियो। र, त्यही ‘बलशालीको विजय’ को नारा भट्याउँदै युरोपेली साम्राज्यले कमजोरहरूमाथि निर्घात बलमिच्याइँ गर्नु संयोग मात्रै होइन। उनीहरूले कमजोर समूहलाई सत्ताको दास, श्रमदास र यौनदास बनाए। देशहरूको स्वतन्त्रता खोसे र उपनिवेश लादे। त्यही युरोपेली उपनिवेशवाद ‘जस्टिफाई’ गर्न स्पेन्सरले उक्त अवधारणा आफ्नो अर्थशास्त्रीय सिद्धान्तको व्याख्याको आडमा प्रयोग गरेका थिए।
चेतना कसरी निर्माण हुन्छ र त्यो कस्तो आवरण ओढेर मानिसहरूमाथि आरोपित हुन्छ भन्ने यो अर्को उदाहरण हो।
यहाँ एक त उक्त अवधारणा डार्बिनले प्रतिपादन गरेजसरी उनकै नाममा उद्धरण गर्ने काम आमप्रचलनमा आयो भने अर्कातिर प्रकृति र जातिहरूको विकासको आवरणमा युरोपेली (खासगरी बेलायती) साम्राज्यवादले लादेको उपनिवेशलाई प्रकृतिसम्मत, नियमसम्मत ठहर्याउन उक्त अवधारणा अघि सारिएको थियो। यसले सक्नेहरू मोटाउने र निर्धाहरू लुछिने चेतना निरन्तर चलिरहेकै छ। त्यही अवधारणा सिरानी हालेर आवश्यक पर्दा तर्कको डन्डा बर्साउने काम पनि भइरहेकै छ।
आरम्भ विन्दु
(क)
करिब ७० हजार वर्षअघि अफ्रिकाबाट निस्केको ‘होमो सेपियन्स’ विभिन्न समयमा विश्वका विभिन्न ठाउँमा सरे। त्यही क्रममा भारतीय उपमहाद्वीपका विभिन्न स्थानमा पनि आइपुगे।
त्यसरी आएको पहिलो समूहसँग करिब ३५ हजार वर्षपछि मध्य-एसियाबाट अघि बढेको समूह मिसियो र पहिलो दक्षिण एसियाली आदिवासीको स्वरूप ग्रहण गर्यो। अण्डमन टापुको निग्रोइट्स अन्जहरू तिनै पहिलो दक्षिण एसियाली भएको आनुवांशिक अध्ययनमा पाइएको छ।
द्रविडियनहरू मध्य-एसियाबाट दक्षिण एसिया सरेका थिए, तर भारोपेलीहरू (आर्य) भन्दा निकै पहिले। तर, कहिले?
आनुवांशिक अध्ययनमा सामेल अध्येताहरू भन्छन्- पन्ध्र हजार वर्षभन्दा पहिले नै।
‘द जेनेटिक फर्मेसन अफ साउथ एन्ड सेन्ट्रल एसिया’ शीर्षकमा सन् २०१८ मा प्रकाशित ९२ वैज्ञानिकहरूको संयुक्त अनुसन्धानपत्रले सिन्धुका पूर्वजहरू इशापूर्व ४७०० देखि ३००० को बीचमा जाग्रोसबाट गएकाहरू हुन् भन्छ। जाग्रोस भनेको अहिलेको इरान, इराकदेखि टर्कीसम्म फैलिएको १६ सय किलोमिटर लामो पर्वत शृंखला हो। आर्यहरू भने इशापूर्व २५०० आसपास सुमेरिया हुँदै भारतीय उपमहाद्वीप आइपुगेको देखिन्छ।
यसरी बितेका सात हजार वर्षबीच जाग्रोसबाट आएकाहरू र हरप्पनहरूको सम्मीश्रण नै आजको दक्षिण एसियाली जनसंख्याको प्रमुख हिस्साका रूपमा देखापर्छ। भारतीय उपमहाद्वीपमा लामो समयदेखि चिन्तन, चेतना, संस्कृति, राजनीति र धर्ममा दबदबा कायम गरेका आर्यहरूको समूह यही स्वरूपको अभिव्यक्ति भएको आनुवांशिक अध्ययनहरूले पुष्टि गरेका छन्।
(ख)
अध्येताहरू भन्छन्- मानिसहरू घुमन्ते शिकारी (जंगली) युगबाट पशु तथा बोटबिरुवाको घरेलूकरण गरेर व्यवस्थित खेती प्रणालीमा अभिसारित भएको १० देखि १२ हजार वर्ष भयो। कतिले समय किटानै गरेर ११ हजार ७ सय वर्ष भन्ने गरेको पनि पाइन्छ। सामान्यतया १२ हजार वर्षअघिको समयलाई पानीढलो मानेर मानिसहरू कृषि युगमा अभिसारित भएको मानिन्छ।
दक्षिण एसियामा कृषिको प्रारम्भ भएको स्थानका रूपमा अहिलेको पाकिस्तानमा पर्ने बेलुचिस्तानको मेहरगढ पहिचान भएको छ। त्यहाँ इपू ७००० देखि इपू २६०० सम्म झन्डै ४५०० वर्ष आवाद गुल्जार रहेको पाइएको छ (जोसेफ, टोनी–अर्ली इण्डियन्स, पृ ५९-७३)।
यसरी दक्षिण एसियाको मेहरगढले प्रामाणिक रूपमै सभ्यताको नौ हजार वर्षअघिको पदचाप छाडेको छ। हरप्पा, मोहेन्जोदारोको उत्खनन् सकिएको छैन, तर त्यसले सात हजार वर्ष हाराहारीको समयरेखा टेक्ने प्रमाण छाडेका विवरण आएकै छन्। त्यसैले यो आलेख तयार गर्दासम्म प्राप्त पुरातात्विक सामग्रीहरूको समयकालले मेहरगढलाई दक्षिण एसियाको सर्वप्राचीन सभ्यताका रूपमा उभ्याएको छ, जसले पाँच हजार वर्ष लामो सभ्यताको उत्कर्ष भोग्यो र इशापूर्व २००० तिर विश्रृंखलित हुन गयो।
नौ हजार वर्षअघिको पुरातात्विक प्रमाण फेला पर्नुको अर्थ मेहरगढमा सभ्यताको सुरूआत नौ हजार वर्षअघिबाट भएको थियो भन्ने होइन। त्यहाँ सभ्यता त्योभन्दा पहिल्यै सुरूआत भएको थियो। त्यहाँका मानिसले छाडेका अवशेषको मिति मात्रै नौ हजार वर्षअघिको हो। प्राप्त प्रमाणभन्दा कमसेकम एक हजार वर्षअघिदेखि मानिसहरू यो भूगोलमा बसोबास, खेतीपाती र सभ्यता विकासमा अभिसारित भएका हुन सक्छन्।
यस आधारमा दस हजार वर्षअघिको समयरेखालाई आरम्भिक विन्दु मानेर त्यसयता भारतीय उपमहाद्वीपमा निर्मित र विकसित भई रुढ हुन आएको चेतनाको लामो बाटोसम्बन्धी विमर्शमा यो आलेख केन्द्रित रहनेछ। यो लेख आज अकाट्य मतका रूपमा रहेको संकथनको पृष्ठभूमिलाई चियाउने प्रयास हो।
सत्ता चेतना
मानिस शिकारी युगबाट कृषि युगमा रूपान्तरण भएपछि जीवन चलाउने, एकअर्काबीच सम्बन्ध राख्ने र समाजमा आफ्नो उपस्थितिलाई लिएर नयाँ चिन्तन र अभ्यास निर्माण हुन गयो। पहिले साना समूहमा सामूहिक रूपले बसोबास गर्दै आएकाहरू कृषि युगमा आएपछि व्यक्ति, परिवार, समाज, समूह, भूगोलको चेतनामा डोरिए। सामूहिक परिवारको संरचनाबाट वंशीय परिवारको संरचना सुरू भयो।
हिजो समूहमा बस्ने, घालमेल तवरले सन्तान उत्पादन गर्ने, समूहका सन्तानहरू त्यही समूहका नाममा चिनिने अवस्थाबाट निजी सम्पत्ति जम्मा गर्ने, त्यसको हस्तान्तरण गर्न अविच्छिन्न वंशीय उत्तराधिकारी जान्नुपर्ने अवस्था आयो। पिताले पुत्र र पुत्रले पिता चिन्ने-जान्ने वंशीय परम्पराको चेतना व्यवहारमा आयो। महिलाको स्थान यही प्रक्रियासँगै दोयम बनाइँदै लगियो।
यस्तो निश्चित भूगोलभित्रै एउटा सगोलमा बस्ने परिवार पनि कालान्तरमा फैलिँदै गएर एकै घेरामा नअट्ने अवस्था आयो। त्यो क्रमशः विभाजित भयो। उपलब्ध उत्पादन र कामले जनसंख्याको बढ्दो चाप थेग्न सकेन। आफूलाई चलायमान बनाउन सक्नेहरूले नसक्नेको या जसले जसको काममा पनि हस्तक्षेप गर्ने अवस्था आयो। त्यसले समाजमा अन्तरविरोधहरू खडा गरेपछि त्यसको व्यवस्थापन एउटा प्रमुख सामाजिक समस्याका रूपमा उपस्थित भयो।
निश्चित भूगोलमा फरक-फरक योग्यतासहित उपस्थित मानिसहरूबीच काम, व्यवहार र व्यवस्थापनका सन्दर्भमा सामाजिक अन्तरविरोधहरू बढ्दै गए। त्यसलाई समन्वय गर्न विस्तारै सामाजिक अगुवा, गणप्रमुख, भूगोल प्रमुखको चेतना विकास भयो। कालान्तरमा त्यसले राज्य, शासक र शासितको अभ्यास गरायो। समाज व्यवस्थापनका लागि संहिताहरू जारी गरिए।
योसँगै आफूजस्तै मानिसले बनाएको संहिता बाँकी समाजले अस्वीकार गर्ने परिस्थिति पनि विकास भयो। यसबाट उत्पन्न अन्तरविरोधहरू थेग्न आत्मा, परमात्मा र अन्त्यमा दैवी चमत्कारका प्रलयकारी चेतनाले मानव सभ्यतामा प्रवेश गरेको देखिन्छ।
सामाजिक र शासकीय व्यवस्था थेग्न जारी संहिताहरूलाई दैवी संहिताका रूपमा प्रचार गरी कार्यान्वयनमा लग्ने काम साथसाथै अघि बढाइयो।
जातको कथा
मानिसलाई उसको जीवनकालभरि श्रमको व्यवस्था गर्न नसकिने भएपछि उमेरका आधारका कहिले के गर्ने भनी आश्रम व्यवस्थाको सुत्रपात गरियो।
यसैको अभ्यास क्रममा आश्रम–व्यवस्था सामाजिक संघटनाको प्राण बन्यो। त्यही सामाजिक प्राणलाई अकन्टक सञ्चालन गर्न व्यक्तिको जीवनकाललाई चार भागमा विभाजन गरियो– ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास।
ब्रह्मचार्य काललाई अध्ययन र पवित्रता (कौमार्यको चेतना यस शब्दमा अधिनस्थ देखिन्छ) को उमेर मानियो। गृहस्थ आश्रम विवाह तथा परिवार निर्माण, विस्तार र व्यवस्थापन काल हो। वानप्रस्थ अर्थात् गृहत्याग भनेको वनमा गई तपस्या गरी बस्ने उमेर हो। त्यस्तै, संन्यास अर्थात् सम्पूर्ण सांसारिक वन्धन, सम्बन्ध र मोह त्याग गरी निराकार भावमा जीवनको मूल्यबोधको यात्रामा निस्कने समयकालका रूपमा विभाजित गरियो।
यो व्यवस्थाले पनि बढ्दो जनसंख्या र त्यसको उत्कर्षमा प्रकट सामाजिक अन्तरविरोधहरू थेग्न नसकेपछि समाजमा वर्ण व्यवस्थाको सुत्रपात भयो।
पहिले उमेरका आधारमा मानिसलाई काममा लगाउने या उसको थान्को कसरी लगाउने भन्ने नियम बनाइयो। त्यसले नथेगेपछि मानिसलाई उसको योग्यताका आधारमा सामाजिक गति थेग्ने थितिमा बाँधियो। कालान्तरमा जनसंख्या वृद्धिका कारण एकले अर्कोको काममा हस्तक्षेप गर्न थालेपछि अरूबाट आफूलाई कुनै प्रकारको हस्तक्षेप नहोस् भनी वर्णहरूको विभाजन गरिएको देखिन्छ।
त्यसैको उत्कर्षमा मानिसको योग्यता, रूचि र कामका आधारमा समूह विभाजन गरियो। ताकि, निश्चित समूहका व्यक्तिको काममा अर्को समूहको व्यक्तिले हस्तक्षेप गर्ने अवस्था नआओस्। योग्यताका आधारमा ऊ जुनसुकै समूहमा जान त सक्ने भयो, तर जुन समूहमा अधिनस्थ छ, अर्को समूहको काम खोस्न नमिल्ने गरी संहिताहरू जारी गरियो।
ऋग्वेदका संहिताहरू यही अवस्था सिर्जना भएपछिको समस्या सम्बोधन गर्न रचना गरिएको बुझ्न सकिन्छ।
ऋग्वेदको आरम्भिक रचना कालमा वर्ण–व्यवस्था जन्मजातभन्दा व्यक्तिको योग्यताका आधारमा तय हुने गरेको देखिन्छ। जसअनुसार ब्रह्म अर्थात् ज्ञानको कर्ममा लागेकाहरूलाई ब्राह्मण समूहमा राखेर पढ्ने–पढाउने, यज्ञ गर्ने, दान लिने–दिने, शास्त्रहरूको अध्ययन, व्याख्याको काममा लगाइयो।
समाज, राज्य र व्यवस्थाको रक्षामा लागेका, युद्धमा सौर्य र बहादुरी देखाउन लालायितहरूलाई क्षत्रीयमा राखेर भूगोल रक्षा, युद्ध गर्ने, यज्ञ गरी दान दिने काम सुम्पिइयो।
उद्योग, कलकौशल, व्यापार र खेतीपाती गर्नेहरूलाई वैश्यमा राखी व्यापार, पशुपालन, खेतीपाती, व्याजमा धनसापटी, दान लगायत काम दिइयो।
त्यस्तै, आर्यहरूसितको युद्धमा पराजित अनार्यहरूलाई शुद्र भनियो र तिनलाई उपल्ला तीन समूहको निस्वार्थ सेवामा दास मनोभावका साथ ढालियो।
यसरी वर्णाश्रम व्यवस्थाबाट सञ्चालितहरूको भूगोललाई आर्यावर्त र वर्णाश्रमको दाम्लोमा ननारिएकाहरूको भूगोललाई म्लेच्छका रूपमा व्याख्या गरियो (वराल, वासु–हिन्दु सामाजिक संगठनको प्रारूप, विभिन्न पृष्ठहरू)।
उसो त ऋग्वेदमा शुद्रको उल्लेख भएको छैन भने पनि हुन्छ, एकपटक बाहेक। त्यो पनि पछिबाट थपिएको हुनसक्ने तर्क निकै बलशाली देखिन्छ।
ऋग्वेदकालीन समयसम्म मानिसको योग्यता, कर्म, सीप र सामर्थ्यका आधारमा तय हुने वर्ण व्यवस्थाले जातीय स्वरूप ग्रहण गरिसकेको थिएन। जन्मका आधारमा वर्ण समूहको स्वतः उत्तराधिकारी भएर जन्मने प्रथा चलिसकेको थिएन। कर्मका आधारमा ऊ जुनसुकै वर्णमा अधिनस्थ हुन सक्थ्यो। यो क्रम विक्रमपूर्वको दोस्रो शताब्दीसम्म जारी थियो।
नभन्दै ‘जेनेटिक रिपोर्ट’हरूले आज ब्राह्मण, क्षत्रीय, वैश्य र दलित भनिनेहरूबीच ७० पुस्ता अघिसम्म एकअर्काको आनुवांशिक मिश्रण रहेको देखाएको छ (नेसनल इन्स्टिच्युट अफ बायोमेडिकल जेनोमिक्स, पश्चिम बंगाल)। पछिल्लो समय प्रचलनमा रहेको एक पुस्तालाई २९.५ वर्षका दरले गुणा गर्ने अभ्यासअनुसार झन्डै २१०० वर्ष अघिसम्म यी समूहबीच बिहेवारी या जीनको आदानप्रदान जारी रहेको देखाउँछ।
अब बढ्दै गएको र परिवर्तित उत्पादन सम्बन्ध र त्यसले पैदा गरेको सामाजिक अन्तरविरोधलाई कर्मका आधारमा तय हुने वर्ण व्यवस्थाले मात्रै थेग्न सकेन। कामको सीमितता र जनसंख्याको चापले अब एउटा वर्णको सीमारेखा तोडेर अर्को वर्णको काममा हस्तक्षेप गर्ने अवस्था आयो। त्यसलाई नियमन गर्न जन्मजात वर्णहरूको स्वतः उत्तराधिकारी भएर आउने भाष्य निर्माण गरियो। एकअर्को जातसँगको संर्सगबाट जन्मिए ऊ सिधै तल्लो वर्णमा खस्ने गरी यसलाई जातीय स्वरूप दिइयो। मनुस्मृतिले यसलाई वैधानिकता दियो।
जातीय उचनिच र विभेदको अभ्यास रामायण र महाभारतकालसम्म प्रस्ट रूपमा आइसकेको देखिन्छ। रामायाणका पात्र शाम्बुक (शुद्र) ले स्वर्ग जान तपस्या गरेको थाहा पाएपछि तपस्या गर्ने र स्वर्ग जाने अधिकार शुद्रमा नभएको भन्दै रामले शाम्बुकको टाउको काटिदिए। महाभारतमा एकलव्य र कर्णजस्ता प्रखर पात्रमाथि अभिजातीय विभेदको प्रस्ट तस्बिर झल्किन्छ।
एकलव्य कृष्णका काका देवश्रवाका पुत्र थिए। सानैमा जंगल गएका बेला कारणवश एकलव्य हराए। उनलाई आर्य समाजले जंगली जातिमा गणना गर्ने निषद जनपदका हिरण्यधनुषले पाएर पालेका थिए। उनी शुद्र जातिका मानिन्थे। तिनै एकलव्यलाई ऋषि द्रोणाचार्यले शुद्र जातिको भन्दै आफूले निच जातिको मानिसलाई शिक्षा नदिने बताए। यसले जातीय भेदभावपूर्ण चिन्तनको तस्बिर बाँकी समयका नाममा दर्ता गरायो।
बुद्धकालीन साहित्यहरू हेर्दा मानिसले बुद्धको समयभन्दा अघिदेखि नै जन्मजात तय गरिने जातीय सोपानको विभेद शिरमा बोकिसकेको देखिन्छ। शाक्यहरूले कोशल सम्राट प्रसेनजितलाई आफूहरूभन्दा निच मानेर महानाम शाक्यकी दासपुत्री बासभखत्तिया दिएर पठाएका थिए। त्यसको रहस्य खुलेपछि बासभखत्तियाबाट जन्मेका छोरा बिडुडभले कालान्तरमा कसरी जातपातको प्रकरणबाट उठेको असन्तोषलाई समन गर्न कपिलवस्तुका सारा शाक्यहरूको निर्मम कत्लेआम गरे भन्ने विवरण कम्ति अत्यासलाग्दो छैन।
इशापूर्व दोस्रो शताब्दीदेखि इशाको छैंठौं शताब्दीबीच वैदिक सनातन दर्शनले हिन्दु धर्मको स्वरूप ग्रहण गर्यो। परम्परागत वर्ण व्यवस्थालाई जेलेर जातीय चेतना संस्थागत गर्यो। इस्ट इन्डिया कम्पनी भारत आएपछि उसले सामाजिक सत्ता नियन्त्रणमा लिएर आफ्नो कजाई चम्काउन हिन्दु सामाजिक प्रचलनमा संघटित जातीय विभेदलाई तीव्रतर बनाइदियो।
महिला: दस हजार वर्षदेखिको दमन
कृषि युगको आरम्भिक काल अघिसम्म अर्थात् १० हजार वर्षअघिसम्म महिला, पुरुषहरू एउटा निश्चित सदस्य संख्याले बनेको समूहमा बस्थे। पुरुष सरह महिलाहरू पनि आफ्नो शरीर, वैयक्तिक स्वतन्त्रता, प्रेम, यौन अधिकारमा समानजसो अभ्यास गर्दै थिए। समूहका उमेरदार पुरुष र महिलाबीच बिनाभेद यौन सम्बन्ध कायम राख्नसक्ने अवस्था रहेको अनुसन्धाताहरूको निचोड छ।
त्यस्ता समूहमा कहिले महिलाभन्दा पुरुष बढी र कहिले पुरुषभन्दा महिला बढी हुने हुँदा यौन साथीको छनौट आवश्यकता र उपलब्धतामा हुने गर्थ्यो। एकनिष्ठ यौनको कुनै बनिबनाउ मान्यता चेतनामा आरोपण भइसकेको थिएन।
कालान्तरमा त्यो अभ्यासमा नवयौनसाथी (हुर्कंदो) र पुरानो यौनसाथीको चेतना, भर्खरका युवती र उमेर छिप्पिएका यौनसाथी (महिला-पुरुष दुवै) प्राप्त गर्ने विषय प्रमुख बनेर अगाडि आयो। त्यसले मनमुटाव र तनावको स्थिति बन्न गयो।
यौन उमेरमा पुगेका नवयुवतीको योनी ‘भोग’ गर्न पुरुषहरूबीच द्वन्द्व, सम्पत्ति हस्तान्तरणका लागि आफ्नो ‘जीन’ चिन्ने व्यक्तिवादी चेतको आरोपण, ‘कुमारी योनी’ भोगको चिन्तन निर्माण प्रक्रियासँगै विवाह संस्था सुरूआत भएको देखिन्छ (वेस्टरमार्क, एडवर्ड– ए सर्ट हिस्ट्री अफ म्यारिज-दी हिस्ट्री अफ ह्यूमन म्यारिज, विभिन्न पृष्ठहरू)।
महाभारतकालमा वशिष्ठका नाति परासरसँगको संर्सगबाट पहिल्यै व्यासलाई जन्म दिइसकेकी सत्यवतीसँग विवाह भएको थियो, भरतवंशी राजा शान्तनुको। उनीहरूतर्फ चित्रांगद र विचित्रवीर्यको जन्म भएको थियो। शान्तनुको गंगातर्फबाट जन्मिएका सन्तान थिए भीष्म।
चित्रागंदको सानै उमेरमा गन्धर्वहरूका गणप्रमुख चित्रांगदसँग नामको विवादका कारण भएको लडाइँमा मृत्यु भएपछि विचित्रवीर्यको अम्बिका र अम्बालिकासँग विवाह भएको थियो। विवाह भएको केही समयमै विचित्रवीर्यको पक्षघातबाट निधन भयो। त्यसपछि सत्यवतीको परासरतर्फका छोरा व्यास र सत्यवतीको शान्तनुतर्फकी बुहारी अम्बिका र अम्बालिकाबीच यौन समागमबाट धृतराष्ट्र र पाण्डु जन्मिएका थिए। ती दुई बुहारीहरूका दासी परिश्रमीसँगको सहवासबाट विदुर जन्मिए।
यसले त्यस बखतसम्म पनि यौन सम्बन्धका लागि नातापाता, विवाहको चिन्तन रुढ नभइसकेको देखाउँछ। विवाहको अभ्यास रहेको तर त्यो सवर्था सामाजिक अदालतको आखिरी फैसलाका रूपमा रुढ नभइसकेको देखिन्छ।
अविवाहित कुन्तीले जन्माएकी छोरा कर्णलाई समाजसामु परिचय दिन नसक्ने अवस्था आएपछि बगाउन पर्नु तर अन्य पुरुषहरूसँगको संसर्गबाट सन्तान जन्माएर तिनलाई सामाजिक परिचय दिन सक्नुले महाभारत रचनाकालीन समयमा विवाह र कुमारी आमाको चेतना एकापसमा टकरावको स्थितिबाट गुज्रिरहेको महशुस हुन्छ।
रामायणको रचनाकालसम्म त महिलाको शरीरको अन्तिम अधिकारी महिला नै रहिरहेको देखिन्छ। रावणबाट गरिएको सीताहरण र सीताको मञ्जुरीबिना रावणले सीतामाथि बलपूर्वक यौन व्यवहार नगरेबाट रामायण लेखिँदाको दिनसम्म यौनका लागि महिलाको शरीरमाथि पुरुषले बलजफ्ती गर्न मिल्दैन भन्ने चेतनाले बाँधिरहेको देखिन्छ।
अहिल्या, कुन्ती, द्रौपदी, सीता, तारा र मन्दोदरीलाई यौन सम्बन्धपछि पनि कुमारी (कौमार्य नबिग्रने) नै रहने नारीका रूपमा व्याख्या गरेको पाइन्छ। यसले त्यस बखतको चेतनामा कौमार्य एउटा गम्भीर विषयका रूपमा उपस्थित भइसकेको देखाउँछ।
यिनै परिघटनाहरूको परिणाममा विकसित चेतनाले महिलालाई कुमारित्व, पतिव्रता, एकनिष्ठ यौनदासी, चरित्रवान, संस्कारी बन्न के-के गर्नुपर्छ भन्ने संहिताहरू जारी गर्यो। घरेलु यौन कारोबारमा, यौन बजारमा, श्रम बजारमा बेच्यो र त्यसको प्रतिफलले पुरुष सत्ता मखलेल बनिरह्यो।
दस हजार वर्षअघि सम्पत्ति र परिवारको आवरणमा सुरू महिलामाथि दोस्रो दर्जाको व्यवहार आजको गणतान्त्रिक संविधानसम्म जारी छ।
आठ हजार वर्षअघि एक पुरुषसँग १७ महिलाहरू सम्भोगका लागि बाध्य थिए, दुनियाँभर। आज ३५ प्रतिशतभन्दा बढी महिला आफ्ना श्रीमान् या अरूबाट शारीरिक या यौन हिंसामा पर्ने गरेका छन्। सात प्रतिशत महिला अपरिचित पुरुषहरूबाट यौन हिंसामा पर्ने गरेका छन्। ३८ प्रतिशत महिलाको हत्या आफ्नै श्रीमान् या ‘अन्तरंग मित्र’ बाट हुने गरेको छ। यस्तो वैदिककालमै पनि भएको थियो।
वृहस्पतिले आफ्नै भाइकी पत्नी ममतालाई भाइ नभएको मौका पारेर बलात्कार गरेका थिए। ममताले बलात्कारपछि जन्माएकी थिइन् भारद्वाजलाई। द्रोर्णाचार्य तिनै भारद्वाजपुत्र थिए। त्यो थाहा पाएर वृहस्पति पत्नी तारा स्तब्ध भइन्। उनी चन्द्रराज्यको भ्रमणमा निस्किइन् र प्रेममा परिन् चन्द्रसँग। वृहस्पति त्यसलाई स्वीकार गर्न चाहन्थेनन्। उनी तारालाई आफ्नो निजी वस्तु मान्थे। उनले आफूलाई छाडेर गएकी तारालाई फर्काउन खोजे तर तारा मानिनन्। वृहस्पतिले इन्द्रलाई गुहारे। देवसभाले चन्द्रसँगको प्रेम टुटाएर तारालाई जबर्जस्ती फर्कायो।
महिलामाथि पुरुषको आधिपत्यको चिन्तन इन्द्र–अहिल्याको विवरणबाट अझ प्रस्टिन्छ।
गौतम पत्नी अहिल्याले इन्द्रसँग स्वखुसी सम्भोग गरेकी थिइन्। गौतम अहिल्यालाई आफ्नो स्वामित्वको साधन सम्झन्थे। उनले इन्द्र–अहिल्यालाई दण्डित गरे। गौतमले इन्द्रको अण्डकोष नै काटिदिएका थिए।
अहिल्या ब्रह्माकी छोरी थिइन्। सृष्टिकर्ता भनिने ब्रह्माकी छोरीसँगै आफ्नो शरीरको स्वामित्वको अन्तिम अधिकार थिएन भने अरूको त के कुरा?
यसले शास्त्रवर्णित सत्ययुगमा समेत महिलासँग आफ्नो शरीर, त्यसको उपभोग, यौन साथी रोज्ने स्वतन्त्रता थिएन र त्यसको अधिकार पुरुषको मुठ्ठीमा गइसकेको थियो भन्ने देखाउँछ। एकातिर यसले त्यस बखत विकसित भइसकेको महिलालाई पुरुषले आफ्नो निजी ‘माल’ सरह व्यवहार गर्ने चेतना विकसित भइसकेको थियो भन्ने देखाउँछ। अर्कातिर, त्यस्ता चेतनाको जगको उठानसँगै विकसित एकनिष्ठ सम्बन्धको चंगा किन उडाइएको रहेछ भन्ने संकेत दिन्छ।
दर्शनको बाटो
भारतीय उपमहाद्वीपमा दर्शनको सुरूआत इशापूर्व २००० वरिपरि भएको मानिन्छ (एस, राधाकृष्णन् र अरू–द कन्सेप्ट अफ म्यान, पृ २२)।
द्रविडहरू मातृ आराधना गर्थे। आरम्भमा प्राकृतिक शक्तिहरू सूर्य, वायु, अग्नि, चन्द्रमा, आकाश, वर्षाको पूजा गर्थे। त्यसको झन्डै १५०० वर्षपछि उक्त परम्परागत आदर्शवादी दर्शनमा द्वन्द्वात्मक चेतसहितको बौद्ध दर्शन थपिन पुग्यो।
म्याक्समुलरले वेदलाई इपू १२०० को मानेका छन् भने हउगले इपू २४०० को। गंगाधर तिलकले इपू ४००० को। जति बेला वेदका शुक्तहरूको रचना भएको थियो, हुनसक्छ त्यस बखतसम्म भारतीय उपमहाद्वीपमा लेखन पद्दति विकास भइसकेको थिएन। ऋग्वेद न एक जना ऋषिले लेखेको हो, न एकैदिनमा रचना गरिएको थियो (दासगुप्ता, सुरेन्द्रनाथ–ए हिस्ट्री अफ इन्डियन फिलोसफी, भाग १, पृ ११-१४)।
ऋग्वेदमा सिन्धु, सरस्वती नदीको उच्च वर्णन पाइन्छ। ऋग्वेद भन्छ– सिन्धु नदीका तटमा उच्च नश्लका घोडा पाइन्थे। जसको नामै सैन्धव थियो। आर्यहरूले घोडा र रथमा चढ्ने, सुन, चाँदी, फलामबाट तीनतलेसम्म घर बनाउने गरेको उल्लेख छ। सुनबाट बनेको सहर अर्थात् सुवर्णपुरीको बयान वेदले उल्लेख गरेको पाइन्छ। खेतीपाती पनि आर्यहरूको प्रमुख पेसाका रूपमा उल्लेख गरेको पाइन्छ ऋग्वेदले।
ऋग्वेदमा उल्लिखित घोडाको वर्णन र हरप्पामा कसैगरी नपाइएको घोडाको अस्थि अवशेषको यथार्थले ऋग्वेदलाई सिन्धु सभ्यतासँग जोड्न समस्या हुँदै आएको छ। उता उत्तर प्रदेशको बाघपाटस्थित सुनौली गाउँमा पुरातात्विक उत्खनन गर्दा प्राप्त रथको अवशेष इशापूर्व १८०० भएको पाइएको छ।
सन् २००५ देखि उत्खनन् सुरू भई २०१८ सम्म प्राप्त १२६ भन्दा बढी चिहानहरूको उत्खनन क्रममा चारखुट्टे काठको कफिन (महिला योद्धाको समेत), भूमिगत कोठा, भाँडाकुँडा, घोडाले तान्ने रथ, ढाल–तरबारहरू फेला परेका थिए। ती सबै अवशेष इपू १८०० को पुष्टि भएको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए, सन् २०२० को सुरूआतमा।
घोडा इपू ४८०० हाराहारी युरेसियामा घरेलुकरण गरिएको तथ्य (एन्थोनी, डेविड डब्लु.–दी हर्स, दी ह्विल एन्ड ल्याङ्ग्वेजेज, पृ २०१) ले घोडा भारतीय उपमहाद्वीपबाहिरै घरेलुकरण भएर आएको देखिन्छ। यसले या त आर्यहरू बाहिरै घरेलुकरण गरिएको घोडासहित यता आए या उनीहरूले उल्लेख गर्ने गरेको इन्द्र आदि ‘देवता’ र ऋषिहरूको कल्पनातित समयकाल इपू ४८०० भन्दा निकै पछिको हो भन्ने देखाउँछ।
वेदमा आउने हात्तीको वर्णनमा गहिरिँदा पनि हात्तीलाई सँधाउने काम सिन्धु सभ्यतामा इपू २००० तिर भएको देखिन्छ। यसले पनि वैदिककाल इपू २००० भन्दा पछिको देखाउँछ।
वैदिक साहित्यमा प्रचुर प्रयोग गरिएका घोडा, तामा, फलामका आधारमा त्यसको समयकाल खुट्याउने सामान्य प्रयास गरिएको छ पछिल्लो समय।
ऋग्वेदमा घोडा र अयस (तामा) को प्रयोगको प्रसंगले ऋग्वैदिक चेतना इपू ३५०० भन्दा पछिको या तावे युगको देखाउँछ। दक्षिण एसियामा घोडाको घरेलु प्रयोग इपू १९०० तिर र उत्तरी भारतमा फलाम सहज प्रयोगमा आएको इपू १४०० तिरको मात्रै हो। त्यसैले ऋग्वेदलाई इशापूर्व २००० देखि १४०० बीचको कालखण्डको चेतना संग्रह मान्न सकिन्छ (जोसेफ, उही, पृ १७८)। आरम्भिक आर्यावर्त इपू २००० देखि इपू १४०० बीचको देखिन्छ (विलियम र अरू १७ शोधकर्ताहरू–दी जेनेटिक एन्सेस्ट्री अफ मोर्डन इन्दज भ्याली पपुलेसन फ्रम नर्थवेस्ट इन्डिया, पृ २)।
वैदिक चेतना
प्राचीन सनातन दर्शन वेदका चार स्वरूप छन् – ऋक् (शुक्त), साम (संगीत), यजुर (अनुष्ठान) र अर्थव (अक्षर–शब्द निमार्णको आधार)।
तिनका चार तहहरू छन् – संहिता (मन्त्र), ब्राह्मण (अनुष्ठान), आरयण्क (ईश्वरशास्त्र) र उपनिषद (दर्शन)।
देवताको आराधना गर्ने शुक्तका रूपमा परिचित संहिता मानव जीवनको ब्रह्मचार्य-शिष्य समयका लागि अभ्यासमा ल्याइएको पाइन्छ। त्यसैगरी कर्तव्य-दायित्व बुझाउने शुक्त ब्राह्मण गृहस्थ-वैवाहिक जीवनका लागि, पूजा-आराधना-ध्यानसम्बन्धी शुक्त आरण्यक वनप्रास्थ या अवकाशको जीवनका लागि र दर्शनसम्बन्धी शुक्त उपनिषद संन्यासी-स्वआत्मावोधी जीवनका लागि भनेर अभ्यासमा ल्याएको पाइन्छ।
ऋग्वेदका ऋचाहरूका रचनाकर्ता ऋषिहरू मानिन्छन् – अंगीरस, भृगु, विश्वामित्र, वशिष्ठ, अगस्त्य, कश्यप, अत्रि।
महाभारत अर्थात् वीरगाथा
आरम्भमा महाभारतको नाम ‘जय’ थियो। त्यसमा भरतवंशीहरूको इतिहास उल्लेख थियो बढीमा ८ हजार* पद्यमा। यसका लेखक थिए, द्वैपायन व्यास।
त्यसमा प्रथम संशोधन या प्रवर्द्धन भयो र वीरकथा थपियो। अनि नाम राखियो ‘भारत’, जसमा २४ हजार पद्य थिए। यसका सम्पादक थिए, भारताचार्य वैशम्पायन।
दोस्रो परिवर्तित वीरकथामा बृहत्तर वर्णन थपेर एक लाख पद्यमा विस्तारित ग्रन्थलाको नाम ‘महाभारत’ राखियो। यसका सम्पादक मानिन्छन् उग्रीसर्वा सौती। सौतीले महाभारतलाई धार्मिक र दार्शनिक विचारको भण्डार बनाउने लालसाले आख्यानलाई उपदेशको भण्डार बनाइदिए (वेदव्यास–संस्कृत साहित्यका इतिहास, पृ २०८)।
वैशम्पायनले जनमेजयलाई ‘भारत’ को वर्णन सञ्जयले धृतराष्ट्रलाई ‘जय’ को वर्णन गरेको ७५ वर्षपछि गरेको मानिन्छ। त्यस्तै, वैशम्पायनले जनमेजयलाई ‘भारत’ वर्णन गरेको ५५ वर्षपछि उग्रीसर्वा सौतीले सौनकलाई ‘महाभारत’ वर्णन गरेको मानिन्छ।
महाभारतको घटना समयलाई ३१३९ वर्ष पुरानो मान्नेहरू पनि छन्। तर सामान्यतया इपू १३०० को आसपास महाभारत युद्ध भएको मोटामोटी समयरेखा तय भएको छ। पाँचौं शताब्दीका गणितज्ञ आर्यभट्टले महाभारतलाई ३१०० इपूमा भएको घटना ठहर्याएका छन्। त्यस्तै, सिभी वैद्य र अट्लले ३१०१ इपू, वेन्काटचलमले ३१३९ र डा. वर्तकले ५५६१ अक्टोबरमा भएको भनेका छन्।
रामायण र महाभारत दुवैको रचनाकालसम्म विवाह, निजी सम्पत्ति, शक्तिहीनहरूलाई दबाउने र शक्तिसम्पन्नहरूको पक्षधरता लिने, जतिसुकै खराब र त्याज्य भए पनि सत्ता चेतनाको टाट्नोमा बाँधिने चेतना र चिन्तनले सत्ताका बफादारहरूलाई डामिसकेको पाइन्छ।
ठूल्ठूला आदर्श पात्रका रूपमा उभ्याइएका द्रोणाचार्य, कृपाचार्य, भीष्मजस्ता पात्रले समेत खलनायकी चरित्र आरोपण गरिएका सुयोधनका कदम गलत भएको, सत्यविरूद्ध रहँदा रहँदै पनि आफूहरू सत्ताको वफादारिता छाडेर सत्यको अर्थात् पाण्डवहरुको पक्षमा उभिन नसक्ने बताउनुले त्यसलाई प्रस्ट पार्छ। नायकहरूको वीरगाथाको महिमामण्डन गर्छन् यी ग्रन्थहरूले।
यी वैदिक, मिथकीय शास्त्रहरूले आरोपित गरेको सत्ता वफादारिताको चेतनाको टाट्नोमा बाँधिने र आफूलाई त्यसरी टाट्नो उपलब्ध गराउने मालिक जतिसुकै खराब, भ्रष्ट, इमानहीन भए पनि तिनकाप्रति वफादारिता चुकाइरहने चेतना आजसम्म निरन्तर छ। बरू झन् झन् प्रष्फुटित छ, लोलाएको छैन।
दैवी चेत
कृषि युगमा कृषि उत्पादनका सामानहरू पूजा गरे पुग्थ्यो। सहरी सभ्यताको आकार लिँदै गएपछि कृषि युगका सीमित पूजन विम्वहरूले फैलिँदो सहरी पूजन आकांक्षा थेग्न सकेन। त्यसपछि उत्पादन सामग्रीको पूजन परम्पराको दायरा बढेर वायु, जल, अग्नि, आकाश, समय पूजन विम्वको दायरामा फैलिँदै जान थाले।
सूर्य उदय र अस्तको समय आर्यहरू सूर्यको पूजा गर्थे। वरुण (जलदेव), प्रजापति, विश्वकर्मा हुँदै विस्तारै आत्मा-परमात्माको चेतना अभिसारित भयो आर्यहरूमा। अरू अरू देवीदेवता पनि थपिँदै गए।
आरम्भिक आर्य चेतनामा मन्दिर, देवता केही हुन्थेन। उनीहरू प्रकृति पूजक थिए। प्रकृतिको पूजा गर्थे, जबसम्म उनीहरूले शरीर र आत्मालाई छुट्याएर हेर्न थालेनन्।
ऋग्वेदमा उल्लिखित इन्द्र, अग्नि, वरुण, अश्विन केहीको पनि अस्तित्व पाइएको छैन सिन्धु सभ्यतामा। हुनसक्छ त्यो चेतना उनीहरूले एटेप्पीबाट आउँदा सँगै लिएर आएका थिए। बरु ऋग्वेदले निन्दा गर्ने (७ः२१ः५) लिंग पूजन (शिश्ना–देव) भने हरप्पा सभ्यताको आत्माका रूपमा रहेको प्रमाण त्यहाँको उत्खननमा पाइएको ‘लिंग–देव’ को मूर्तिबाट प्रस्टिन्छ, जसलाई यताका दिनमा शिवलिंगका रूपमा पूजा गरिन्छ (जोसेफ, उही, पृ १७३)।
उत्पादनका सामान, प्रकृति र ब्रह्माण्डलाई पूजन सामग्री बनाएर पनि नथेगिएपछि अब विस्तारै रहस्यमयी पात्रहरू सिर्जना गर्ने र तिनै पात्रहरूमा दैवी रहस्य आरोपण गरेर पूजा गर्ने प्रचलन अघि सारियो।
आरम्भमा आजको हिन्दु चेतना सनातनवादी सामाजिक दर्शन थियो। बौद्ध दर्शनले हिंसा र दुनियाँलाई हेर्ने दृष्टिकोणबारे द्वन्द्ववादी चिन्तन अघि सार्यो। त्यसपछि बढ्दो बौद्ध मतको प्रभाव थेग्न ईपू दोस्रो शताब्दीदेखि इशाको छैठौं शताब्दीबीच हिन्दु दर्शन जब्बर, अनुल्लघंनीय धर्मको चेतनासहित आरोपित भयो। त्यही समयबीच मनुस्मृति, महाभारत, रामायण, पुराण लगायत अनेकन स्मृतिहरूको बाढी आयो।
मुख्यतः उपनिषदहरूले आत्मा, परमात्माको चेतना गहन रूपमा आरोपित गरिदिएको देखिन्छ। आत्मा पूजनको र त्यसमा परत्रको चेतना अभिसारित भएपछि आराधनाको अभ्यास थालनी भयो। प्रकृतिबाट वरुण, प्रजापति, विश्वकर्मा महान् देवता भएकोमा अब ती पनि द्वितीयमा झरे र प्रथम देवताका या महाईश्वरका रूपमा परमात्माले स्थान लियो।
शुद्ध–अशुद्ध, पाप–धर्म, आत्मा–परमात्मा, भूलोक–पितृलोक, स्वर्ग–नर्कको चेतना वेदका शुक्त (संहिता) हरू रचना गर्ने समयताका नै अभिसारित भइसकेको देखिन्छ। जन्म–पुनर्जन्म, अवतार र मूर्ति (काठको) पूजाको चेतना ऋग्वेदमा प्रस्ट उल्लेख भएको पाइन्छ।
वेदका उपवेदहरू आए। स्वर्ग, नर्क, पाप–धर्म, देवता–राक्षसको संकथन तयार गरियो र त्यही चेतना आक्रामक रूपमा मानिसहरूमा आरोपित गरियो।
मानिसलाई जन्मदेखि मृत्युसम्म, प्रभातदेखि अन्धकारसम्म, विपनादेखि सपनासम्म धर्म, देवता, शास्त्र र तिनले अभिसारित गरेको संहिताको (नियम) चेतनारेखा पार गर्ने सोच्नसमेत नसक्ने गरी बाँधियो।
मानिसले सत्ता चेतनाको आँखीझ्यालबाट निस्किएर बाहिर चियाउने फुर्सद नपाउन् भनेर तिनलाई व्यस्त राख्न बिहान उठेदेखि दैनिक पालना गर्नुपर्ने विभिन्न विधिविधान र आराधना–पूजा गर्ने अनेकन दैवी थितिहरूको संकथन गरियो।
प्रकृति र मस्टोजस्ता दृश्य साक्ष्य र जीवनका आधारहरूको पूजक सनातनवादी दर्शनका अनुयायीहरूलाई अदृश्य र कल्पनातीत देव पूजन चेतनाले डामियो।
नारी धर्म, पुरुष धर्म, रैती धर्म, शासक कर्म सबैको संहिता बनाइए र दैवी नियमको गाता हालेर मानिसमा आरोपित गरिए। त्यसका लागि इन्द्र, ब्रह्मा, विष्णु, शिवजस्ता अलौकिक नायकहरू खडा गरेर दैवी प्राधिकारका रूपमा खडा गरियो। जुन संहिताहरू जारी गरिए, ती तिनै प्राधिकारहरूले दिएको मन्त्रका रूपमा प्रचार गरियो।
असल पत्नीका जे मापदण्ड बने, ती पुरुषहरूका लागि महिलामाथि कज्याई लाद्ने आधार बने। महिलाले परपुरुषको मुखसमेत हेर्न हुँदैन भनी उल्लेख गर्ने संहिताले पुरुषलाई बहुपत्नी राख्ने सुविधा दियो। रैतीले शासकको सेवा गर्नुपर्ने कर्तव्य सिकाउने संहिताले शासकलाई आफ्नो सत्ता स्वार्थको रक्षा गर्न रैतीको जीवनमाथि समेत खेल्न सक्ने सुविधा दियो।
शास्त्रले शुद्रलाई उपल्ला तीन वर्णहरूको सेवा नगरे दण्डको कस्तो भुक्तमान बेहोर्नुपर्छ भन्ने चेतना वितरण गर्यो। तर, शुद्रमाथि नारकीय दासता लाद्ने उपल्ला वर्णहरूलाई कस्तो दण्ड हुन्छ भन्ने उल्लेखै गरेन।
यस्तोे किन भयो भने, जति पनि संहिताहरू तर्जुमा गर्ने काम भयो, ती सबै पुरुषहरूले, उच्च ब्राह्मणहरूले सत्ताको अमनचयन भोग गरेका क्षत्रीयहरूको स्वार्थ रक्षाका खातिर गरे। पुरुष ब्राह्मण र क्षत्रीयहरूको सुखशान्ति, अमनचयन तलवितल हुन नदिन र आफ्ना आधार वैश्यहरूको कारोबार सुरक्षा गरेर त्यसैको लाभमा आफू व्यवस्थित हुन ती संहिता निर्माण गरिए। र, समयक्रममा एकपछि अर्को गर्दै जारी भएका ऐन, नियम, कानुनहरू वेद, स्मृति, पुराणको स्वरुपमा मानिसहरूमा आरोपित भए।
त्यसको परिपालन र नियमनका लागि पण्डित, पुरोहित र धर्माधिकारीका नाममा धार्मिक प्रहरीहरू परिचालन गरिए। पारिवारिक, सामाजिक, धार्मिक, राज्यसत्ता सञ्चालनका लागि शास्त्र व्याख्या गर्ने पण्डित, पुरोहित, धर्माधिकारीहरूको व्यवस्था आजपर्यन्तै जारी छ।
जीवन दर्शन र व्यवहार उपयोगी चिन्तनको प्रचुर उपस्थिति रहेको आरम्भिक सनातन दर्शन कट्टर धार्मिक उर्दीहरूको डण्डाका रूपमा विघटित छ यताको समयमा। र, यस्तो हिन्दु मतान्धहरूबीच मात्र अभ्यासमा छैन। क्रिश्चियन, मुसलमानहरूसमेत धार्मिक कट्टरतावाद र मतान्धबाट रत्तिभर तलवितल छैनन्। कतिसम्म भने, भौतिकवादी चेतनाबाट ओतप्रोत बौद्ध दर्शनसमेत यताका दिनमा अकाट्य धार्मिक रुढीका रूपमा अभ्यासमा छ।
कमसेकम दस हजार वर्षदेखि समाजमा उपस्थित अन्तरविरोधहरूको सम्बोधन र व्यवस्थापन क्रममा संकथन र रचना गरिएका नियम (संहिता) हरूले आजको समाजको अन्तरविरोध र समस्या सम्बोधन गर्न सक्दैन। यो जान्दाजान्दै तिनै भाष्यहरूमा रत्तिभर तलवितल नपारी त्यसैको बलमा आजको समाज बाँध्ने कोशिस रहिरहेको छ।
चार हजार वर्षभन्दा अघिको वर्ण व्यवस्था, पुरुष व्यवस्था, धार्मिक व्यवस्थाका सूत्रहरूमा बाँधेर आजको सामाजिक चेतना सुमर्ने प्रयत्न जारी छ।
चेतनाको संस्थागत यात्रा
विश्वकै सबभन्दा पुरानो मानिने तक्षशिला विश्वविद्यालय स्थापना भएको थियो, गान्धारको राजधानी तक्षशिलामा। तक्षशिलाको नाम रामका भतिजा अर्थात् भरतका छोरा तक्षको नामबाट रहेको थियो। गान्धारी र शकुनीका पिता तिनै तक्षका उत्तराधिकारी थिए।
पाणिनी, चरक, जीवक कुमार भच्च, चाणक्य लगायतले त्यही तक्षशिलामा पढेका थिए भन्ने विवरणले त्यो कमसेकम इशापूर्व आठौं शताब्दीअघि नै आकर्षणको केन्द्र थियो भन्ने देखाउँछ। बौद्ध साहित्यमा पनि यसको थप व्याख्या पाइन्छ।
जनकको पालामा जनकपुरको मिथिलामा वैदिक साहित्य, कला, दर्शनबारे विमर्श हुने अध्ययन केन्द्र सञ्चालनमा रहेको देखिन्छ। त्यस बखतका बौद्धिकहरूबीच मिथिलाले शास्त्रार्थको केन्द्रका रूपमा भूमिका खेलेको बताइन्छ। न्याय र तर्कशास्त्र त्यही मिथिला अध्ययन केन्द्रको क्षेत्रबाट आएको तत्व चिन्तामणिले संकेत गरेको छ।
बुद्धकालीन कपिलवस्तु जनपदको सामगाममा वेधञ्जा (वैधन्वा) भनिने धनुर्वेदको शिक्षणालय थियो। तलहरा, शारदापीठ, नालान्दा, वल्लभी, पुण्यगिरी, ओदान्तपुरी, विक्रमशीला, वनारस, नागार्जुन प्राचीन विश्वविद्यालय लगायत अध्ययन केन्द्रहरू पनि थिए। दक्षिण एसियामा अभिसारित शास्त्रीय चेतनाको स्वरूपलाई असंगठित आश्रम परम्पराले नथेगेपछि यी अध्ययन केन्द्रहरूले कमसेकम बितेका तीन हजार वर्ष हाराहारीदेखि योगदान गरिआएको देखिन्छ (अल्टेकर, ए. एस.–एजुकेशन इन एन्सिएन्ट इन्डिया)।
सुरूमा सानो समाजमा निश्चित संख्यामा शास्त्रका व्याख्याता भए पुग्थ्यो। बदलिँदो सामाजिक हलचल, जनसंख्याको घनत्व र तिनमा बढेको चेतनाको लहर थेग्न र कज्याउन शास्त्रीय व्याख्याताको आवश्यकता बढ्यो। त्यही शास्त्रीय चेतनाको सत्ताको भाष्य नाघ्न नदिन चिन्तन, चेतनामा दैवी चमत्कार, डर, त्रास, मोहका कथ्यहरू घोल्ने र वितरण गर्ने क्रम झन् झन् तीव्रतर बन्दै गयो। यी संस्थाहरूले त्यही युगभार वहन गरेको पाइन्छ।
समयक्रमसँगै के खान हुने के खान नहुने भन्ने विषयहरूको सूची पनि तय हुन थाल्यो। ऋग्वेदकालसम्म गाईको मासु खाने अभ्यास थियो। युद्धमा गएर आएपछि र मित्रहरू समेतको भोजनका लागि गौ मासु प्रबन्ध गर्न आह्वान गरिएको यो शुक्तले पुष्टि गर्छ:
यदीदहं युधये संनयान्यदेवयून्तन्वा३ शूशुजानान् ।
अमा ते तुम्रं वृषभं पचानि तीव्रं सुत. पंञ्चदशं नि षिञ्चम् (ऋग्वेद १०ः२७ः२) ।।
पछिका दिनमा दूध र मासुका लागि गाईको माग र उपलब्धताले पैदा गरेको सामाजिक अन्तरविरोधहरूलाई समन गर्न गौ वध अपराधका रूपमा परिभाषित गरियो।
चेतनाको सत्ता कोर्रा
समाजमा निन्तर अन्तरविरोध बढ्दै गयो। त्यसलाई नियमन गर्न संहिताहरू जारी भए। तिनले थेगेन, नयाँ संहिताहरू जारी गरिए।
जस्तो- १९१० को मुलुकी ऐनले र त्यसपछिका थप ऐन, कानुनले नथेगेपछि संविधान जारी गरियो। कहिले पञ्चायतका नाममा, कहिले प्रजातन्त्रका नाममा, कहिले गणतन्त्रका नाममा हामी नाम फेरी फेरी नयाँ व्यवस्था र कानुन जारी गरिरहेका छौं।
त्यसैगरी हिजो पनि अनेकन नाममा नियमहरू जारी भएका थिए। वेद, गीता, स्मृति, पुराणहरूका नाममा। तिनलाई प्रभावकारी, विश्वसनीय र अनुल्लंघनीय बनाउन महाभारत, रामायणजस्ता अनेकन वीरगाथा र मिथकीय व्याख्यानहरू रचिए।
यसरी नयाँ समय, समस्या, आकांक्षा सम्बोधन गर्न र नियमन गर्न एकपछि अर्को गर्दै पुरानो मान्यतामाथि नयाँ मान्यताहरू थप्ने निरन्तरको अभ्यास इशाको छैठौं शताब्दीसम्म जारी रह्यो। आजका हामी त्यही पुरानै इशाको छैठौं शताब्दीदेखि स्थिर रहेको चेतना र मान्यताको बलमा आजको समाज कज्याउने बाटोमा अभिसारित छौं।
परम्परागत धार्मिक नियम, संहिताहरूको स्थान इशाको छैठौं शताब्दीपछिबाट धर्मको सिरानी हालेर बनाइएका नीति, कानुनहरूले लिएको छ। जयस्थिति मल्लले मनुस्मृतिलाई आधार बनाएर जातीय उत्पीडनको प्रावधानरूपी वर्ण व्यवस्थालाई राजकीय संहिताको स्वरूप दिए। यसले नेपाली समाजलाई डरलाग्दो गरी जातपातको कानुनी व्यवहारले बेरिरहेको छ। महिलालाई संस्कार र संस्कृतिका नाममा विभेदको जाँतोमा हालेर पिसिराखिएको छ।
विसं १९१० मा जारी मुलुकी ऐनका अधिकांश प्रावधान धार्मिक मत, मान्यता, संहिताको आधारमा अभिसारित छ। यस्तो किन पनि भएको छ भने, तत्कालीन समाज सञ्चालनको प्रमुख आधार धार्मिक मान्यता र व्यवस्थाहरू थिए। ऐन, नियम, कानुनहरू भनेको मौजुद समाजको अन्तरविरोधलाई सत्ताको सजिलोका लागि सम्बोधन गर्न तर्जुमा गरिने प्रावधान हो।
तत्कालीन पारिवारिक, सामाजिक, शासकीय सत्ता पुरातन धार्मिक स्मृति, पुराण, मिथकीय ग्रन्थका आधारमा तय हुनु स्वाभाविक छ। त्यही मतको बाछिटा आजको दिनमा गणतन्त्र नेपालको नाममा जारी संविधानका धाराहरूमा पनि प्रचुररुपेण उपस्थित छ। आमाका नाममा नागरिकता दिने विषय, छुवाछुतबारे, धार्मिक स्वतन्त्रताबारे मानिसहरूको रुढी मत अभेद्य पर्खालका रूपमा खडा हुनुको सम्बन्ध त्यही शास्त्रीय ग्रन्थहरूले आरोपित गरेको अकाट्य भन्ने चेतनाको स्रोतसँग छ।
अब थेग्दैन मक्किएको धुरीखाँबोले
सामाजिक आर्थिक गतिशीलताले उत्पन्न गरेको टकरावका कारण कुनै समय अभेद्य मानिएका दास प्रथा, सति प्रथाजस्ता अभ्यास कुरीतिका रूपमा निषेधित भए।
दस हजार वर्षभन्दा अघिदेखि जारी महिलामाथिको उत्पीडन, तीन हजार वर्षभन्दा अघिदेखिको छुवाछुत र जातीय उत्पीडन अबको समाजले संस्कार, रीति, थिति, नियमका नाममा शिरमा बोकेर हिँड्न सक्दैन। अब थप नवराज विकहरूको बलिले सिँचेर जात व्यवस्थाको अमरत्वको गीत सुसेल्न सक्दैन समयले। संस्कार, संस्कृतिका नामा हजारौं वर्ष लामो उत्पीडनको पहाड बोकेर समान प्रतिस्पर्धा गर्न सक्दैनन्, अबका छोरीहरूले पुरुषहरूसँग।
जो समयको पदचापसँगै सामयिक तवरले परिमार्जित र उपयोगी बनिरहन्छन्, ती संस्कृति हुन्छन्। समाजमा, जीवन व्यवहारमा जीवन्त रहन्छन्। जो समयको टाउकोमा बोझिलो घाउ बनेर पन्पिन्छन्, ती कुसंस्कार बन्छन्। कुसंस्कार बोकेर समाज जति दिन समयको प्रतिध्वनि नसुनेझैं गरेर उभिन खोज्छ, समाज उति नै त्यसको मोल चुकाउन अभिशप्त हुन्छ।
चेतना त्यस्तै हो। युगको ध्वनि त्यसमा प्रतिविम्बित भइरहँदाको घडीसम्म त्यो दर्शनका रूपमा अभ्यासमा रहन्छ। समय चेतनामाथि भारका रूपमा लादिए रुढी चेतका रूपमा युगलाई पिरेर बस्छ। सम्बन्धित समाज र त्यसका आश्रितहरूलाई विषालु सर्पले झैं डसेर बस्छ।
* सच्याइएको