एक सुनसान मध्याह्न महिनावारीको दुखाइ छल्न 'वर्किङ फ्रम होम' बाट अलिकति समय सापट मागेर मैले नेटफ्लिक्समा 'गुन्जन सक्सेनाः अ कार्गिल गर्ल' हेरेँ। त्यो बेला ट्विटरमा भारतीय पत्रकार बर्खा दत्तको महिनावारी बिदाबारेको ट्विटमाथि बहस चल्दै थियो।
महिनावारीजस्तो 'सामान्य जैविक अनुभव' लाई ठूलो कुरा बनाइनु हुन्न, यसले धेरै दुःख गरेर प्राप्त गरेको कार्यस्थलमा समानतालाई हानी गर्छ भनेर उनले भनेकी थिइन्।
यता फिल्मको सुरूआती दृश्यमा गुन्जन सक्सेना सैनिक ठाँटसित दौँडदै हेलिकप्टरमा उक्लेर थम्स् अप गर्दाखेरी नै मलाई 'मुड स्विङ्ग्स'ले रूँलारूँला बनाइसकेको थियो।
गुन्जन...
गुन्जन नामले मेरो मनको अन्तरकुन्तरमा रहेको एउटा मीठो यादलाई हल्कासित छोएर गएको थियो। त्यो यादमा गुन्जन सक्सेना होइन, गुन्जन शर्मा थिई। र गुन्जन शर्मा 'बीमार' थिई।
'गुंजन शर्मा बीमार है'।
तीसौं बसन्त बोरामा निसास्सिएर बिताएजस्तो देखिने एउटा किताबको खिया रङका पानाको फोटो खिचेर विवेकानन्दको त्यो कथा केही वर्षअघि मलाई कुनै शुभचिन्तकले पठाइदिएका थिए।
सन् १९८२ को मे महिनाको 'धर्मयुग' मा छापिएको उक्त कथा ल्यापटपको स्क्रिनमा जुम गरिगरी घरी तल घरी माथि सारेर पढ्दापढ्दै मलाई हिन्दी भाषासित 'महोब्बत्' भएको थियो। बेलैमा हिन्दी साहित्यको पहुँच नपाएकोमा म थकथकाएकी थिएँ।
८० को दशकमा राजनीतिशास्त्रमा पिएचडी तयारी गर्दै गरेकी गुन्जन शर्मा 'मासुको थुप्रो मात्र' बन्न चाहन्नथी। स्वतन्त्रताको भोक र प्रेमको तोडमा ऊ तड्पिरहेकी थिई। सँगै आत्मसम्मानमा लागेको चोट पनि थियो।
सायद म गुन्जन सक्सेनामा कताकता गुन्जन शर्माको छाँया खोज्दै नेटफ्लिक्स चहार्न पुगेकी थिएँ।
गुन्जन सक्सेनाको कथा भारतीय वायुसेनामा महिलाका लागि छुट्टै ट्वाइलेट वा चेन्जिङ रूम नहुँदाको युगमा सेनाको हेलिकप्टर उडाउने सपना देख्ने एक युवतीको कथा हो। यो संघर्षको एउटा यस्तो फेहरिस्त हो जहाँ पाइलट बन्न गएकी एउटी महिलाले समकक्षी पुरुषसित पञ्जा लडाएर आफ्नो क्षमता देखाउनुपर्छ र उसका समग्र समस्यालाई एकमुष्ट 'एक्सक्युजेज'को नाम दिइन्छ।
सँगै यो आफ्नी छोरी, दुनियाँले छोरीहरूबाट आशा राख्नेभन्दा भिन्न बनोस् भनेर जीरा र धनियाँको धूलोसम्म नचिनाएका एक पिताको कथा हो। यो एक त्यस्तो दाइको पनि कथा हो जो आफ्नी बहिनीलाई यति माया गर्छ, उसलाई लाग्छ, बहिनीको सुरक्षाको अगाडि सबथोक सानो हो, बहिनीको खुसी पनि। गुन्जन सक्सेनाको कथा एकथरी बाउदाइहरूका लागि छाती चौडा पारेर हेर्ने र अर्काथरीलाई सोचमग्न पार्ने कथा हो।
खैर, यो फिल्मको रिभ्यू पनि होइन। बलिउडको नातावाद, कृपावाद बहस वा चरित्रचित्रणको राजनीतिभित्र घुस्ने प्रयास पनि होइन। फिल्मले देखाएको संसार र आफूले देखेको संसारबीचको दूरी नाप्ने कोशिस चाहिँ हो। गुन्जनको ठाउँमा आफू अनि आफूजस्तै अरूलाई टाँसेर हेर्दा मनभित्र जन्मिएको खैलाबैलालाई आकार दिने प्रयास मात्र हो।
प्रथमतः गुन्जन सक्सेनाको कथा नौलो होइन। यसअघि यस्तै धारमा, यस्तैखाले विषयवस्तुमा आधारित भएर बलिउडमा धेरै बायोपिक बनेका छन्।
सन् १९९४ मा फूलनदेवीको जीवनीमा आधारित ‘द ब्यान्डिट क्वीन’ पछि केही समय सेलाए पनि अहिले बलिउडमा महिलाकेन्द्रित बायोपिकको कमी छैन। 'द डर्टी पिक्चर', 'नीरजा', 'मेरी कोम', 'दङ्गल', 'साइना', 'सांड की आँख', 'पङ्गा', 'छपाक' हुँदै 'शकुन्तला देवी' र 'गुन्जन सक्सेना'सम्म आइपुग्दा यी कथामा (नहेरिकनै) अनुमान गर्न सकिने एकरूपता जहिल्यै विद्यमान हुन्छ, त्यो हो पुरुषको दुनियाँमा महिलाको पारम्परिक भूमिकाबाट बाहिर निस्कन खोज्दाको द्वन्द्व। सङ्घर्ष। फरक सपना। स्वतन्त्र अस्तित्व र पहिचानको खोजी। त्यो खोजीदेखि तर्सने पितृसत्तासितको पैंठेजोरी। आफूलाई प्रमाणित गरेर देखाउने भोक। आगो। र, जीत।
सपनाको जीत।
तर 'उस्तैउस्तै', 'क्लिसे' वा 'नयाँपन नभएजस्ता' लागे पनि महिलाका कथा मूलप्रवाहमा आउन अझै पुगेको छैन। कमेडीका नाममा दर्शकलाई बेवकूफ बनाएर पैसा कमाउने अनि भरमार स्त्रीद्वेष ओकल्ने प्रेमकथाभन्दा बरू बलिउडले अझ धेरै बायोपिक नै बेचोस्। यी बायोपिकमा 'सांड की आँख' का चन्द्रो र प्रकाशी तोमर वा 'छपाक' की लक्ष्मी अग्रवालजस्तै भुँइमान्छे महिलाका कथा धेरैभन्दा धेरै अटाऊन् भनेर हामी आशा मात्र गर्न सक्छौं।
नेपाली फिल्म उद्योगले अझैसम्म 'महानायक को?', 'साम्राज्ञी र भुवन के.सी.मा को सही' अनि कतिसम्म 'दाह्रा उछिट्टिएका' नायिकाको करिअरको आयु कति हुने जस्ता मुद्दामा बहस गरेर फुर्सद नपाएको अवस्थामा अंग्रेजीमा खास दखल नभएका नेपाली दर्शकलाई अझै पनि बलिउडले जे दिन्छ, त्यसमै चित्त बुझाउनु त छँदैछ।
गुन्जन सक्सेनाहरूका कथा सायद हामीलाई यही हेक्का दिलाउन पनि आवश्यक छन्। समाजले पुरुषको भनी छुट्याइदिएका भूमिकामा आफ्नो भाग खोज्न संघर्षरत गुन्जन सक्सेनाहरूकै कारण आज भारतीय वायुसेनामा भर्ती हुने महिला पाइलटले चेन्जिङ रूम वा लेडिज ट्वाइलेटको चिन्ता गर्नुपर्दैन। आफूलाई अब्बल प्रमाणित गर्न आफूभन्दा दोब्बर ज्यानको कुनै पुरुषसित पञ्जा लडाउनुपर्दैन।
आज हिजोजस्तो संघर्ष गर्नु पर्दैन, तर के संघर्षको सिलसिला बन्द भएको छ र? गुन्जन सक्सेनाले जस्तै युद्धमा बहादुरी देखाएर आफ्नो क्षमता प्रमाणित गर्ने सौभाग्य कतिले पाउलान्? के तिनीहरूले पाइला-पाइलामा आफूलाई बहादुर र अब्बल प्रमाणित गरी...रहनु पर्दैन?
आज पनि जुनसुकै क्षेत्रमा असमानता व्याप्त छ। चाहे त्यो आकाशमा होस्, राजनीतिमा वा ओच्छ्यानमा। बिहान छोराको टिफिन बनाएर अफिसमा ओभरटाइम काम गरेर पनि बेलुकी तरकारीको झोला बोकेर लखतरान ज्यान भान्छामा उभ्याउनुपर्ने महिलाहरू हाम्रै घरछिमेकमा प्रशस्त छन्। गुन्जन सक्सेनाको फिल्मले याद दिलाएको के भने, आज संघर्षको प्रकृति फेरिएको छ, संघर्षका मुद्दा फेरिएका छन्, तर संघर्ष सकिएको छैन।
भौतिक होस् वा अभौतिक, कुनै पनि चिजको उपस्थिति केवल उपस्थिति मात्र होइन, उक्त वस्तु वा अवधारणाको अस्तित्व हुनु पनि हो। त्यसैले महिलाका लागि छुट्टै शौचालय केवल हल्का हुने ठाउँ मात्र होइन, महिलाको उपस्थितिको प्रतीक हो, महिलाको फरक आवश्यकताको बोध हो र भिन्नता भित्रको सहअस्तित्वको खोज हो।
तर गुन्जन सक्सेनाहरूले खडा गरेको फरक शौचालयको एउटा कुनामा कुक्रुक्किएर महिनावारीको पीडा छल्न पेन-किलर खाँदै आज पनि आफ्नो क्षमता प्रदर्शन गर्न प्लेन उडाउनैपर्छ भन्नेतिर हामी गयौं भने भोलिको पुस्ताले हामीसित प्रश्न गर्नेछ, तिमीले हाम्रा लागि मेलो कति सार्यौ त? त्योभन्दा महत्त्वपूर्ण हामीले महिला र पुरुषबीच कस्तो बराबरी चाहेका हौं भन्ने हो। यो बराबरीको सम्बन्धको प्रकृति र सीमाका सम्बन्धमा हामी स्पष्ट नहुन्जेल महिलाले आफूलाई प्रमाणित गरिरहनुपर्ने सिलसिला रोकिँदैन।
शौचालय पक्कै पनि महत्त्वपूर्ण उपलब्धि हो तर अन्तिम होइन। हाम्रो प्रयास जति मात्रामा शौचालयको छेउमा शिशुका लागि दिवा हेरचाह केन्द्र ठड्याउनमा लाग्नुपर्छ, त्यति नै महिनावारीका बेला सीधा उभिन नसक्नेका लागि आरामको सन्दर्भमा आवाज उठाउनेमा लाग्नुपर्छ। यी सबै नै अन्तरसम्बन्धित विषय हुन्। यिनलाई निरपेक्ष राखेर हेर्न मिल्दैन, हेर्नै सकिन्न।
गुन्जन सक्सेनाको फिल्मले मेरो दिमागमा हिर्काएको अर्को पाटो हो, सपनाको शक्ति। सपनाले दिने ऊर्जा र हर कठिनाइ सामना गर्न सक्ने आँटको।
गुन्जन सक्सेनाले सानै छँदा प्लेन चढ्न पाएकी थिई। चढ्न मात्र होइन, ककपिटमा छिरेर प्लेनलाई देब्रे मोड्ने सौभाग्य पाएकी थिई, भलै त्यो कति काल्पनिक हो, असली गुन्जन सक्सेना नै जानून्। तर मायावी वायुयान सरक्क देब्रे मोडिँदा अनन्त आकाशमुनि स्थिर र शान्त पृथ्वी हेरेर ऊ चित खाएकी थिई।
गुन्जन सक्सेनाले दाइ र बाउलाई पाइलट बन्छु भनेर आफ्नो कलिलो सपना सुनाइरहँदा म भर्खर टिनएजमा प्रवेश गरेका सुदूर गाउँकी ती किशोरीलाई सम्झिरहेथेँ, जसलाई मैले पछि गएर के बन्छौ भन्दा लाजले भुतुक्क भएर उनले मेरो कानमा सुटुक्क भनेकी थिइन्, 'पाइलोट...'
युवती बन्नुअघि नै कसैको पत्नी वा बुहारी बनिसक्ने गाउँठाउँमा उनको त्यो अवोध सपनाको आयु कति थियो कुन्नि! तर कमसेकम सपना मात्र सुनेर पनि मभित्र आशाको सञ्चार भएको थियो।
'अर्काको भाग्यमा खाने जात'का रूपमा सानैदेखि राम्रो लोग्ने पाउनु नै जीवनको एक मात्र उद्देश्य बनाउन दीक्षित गराइएका अधिकांश ग्रामीण भेगका किशोरीहरूका सपना बिहे, गरगहना, राम्रो लोग्ने र आफूलाई पाल्न सक्ने घरपरिवारभन्दा बाहिर निस्कन अझै सकेको छैन। र हामी बाल विवाह कम गराउन किशोरावस्थामा नै आमा बन्दा आमा र बच्चालाई हुने जोखिमको बारेमा 'जनचेतना जगाउँदै' हिँडिरहेका छौं।
तर किशोरावस्थामा नै पत्नी वा आमा बन्दा मर्ने सपनाहरूको चर्चा खै? हिसाबकिताब खै? बाल विवाहमा आज पनि नेपाल दक्षिण एसियामै तेस्रोमा आउँछ। बाबुआमाको जोडबलमा इच्छा नहुँदै सानैमा बिहे गराइदिने चलनले बाल विवाह बढेको भन्ने कुरा अबको समयमा आधा मात्र सत्य हो। आफ्नै इच्छाले, सानैमा मायाप्रेम गरेर भागी विवाह गर्ने किशोरकिशोरीको संख्या दिनानुदिन बढ्दै छ।
बाबुआमा वा लमीलाई त कानुनी कारवाही गरौंला, 'हामीलाई छुटायौ मात्र भने तिमीहरूकै अगाडि झुन्डेर मर्दिन्छौं' भन्ने प्रेमजोडीहरूलाई के गर्ने? यो मैले होइन, केही वर्षअघि सुर्खेतकी एक महिला विकास अधिकृतले सोधेको प्रश्न हो।
जब २० कटेर गरे पनि, नकटिकनै गरे पनि, गर्नुपर्ने बिहे नै हो, सपना देख्नु राम्रो लोग्ने र राम्रो घरकै हो, तब कोही किन २० कुरोस्? कोही किन मायालुसँग 'ज्यान टाढा' भएर बसोस् वा बाबुआमासँग लडाइँ लडोस्? त्यसैले आजको समयमा बाल विवाहको सबभन्दा उपयोगी ओखती केही छ भने त्यो केटाकेटीलाई सपनाको शक्तिसँग चिनाउने हो। त्यस्ता सपना, जसले घरबार गर्ने एक मात्र सपनालाई परास्त गर्न सकोस्। त्यस्ता सपना, जसले उनीहरूलाई गुन्जन सक्सेनाजस्तै ढीट भएर आफ्ना सपनाको पछि भाग्न प्रेरित गरोस्। त्यस्ता सपना, जसको उनीहरू आफूभन्दा बढ्ता माया मानून्।
तर सपना पूरा गर्नु जति गाह्रो काम हो, सपना देख्नु त्योभन्दा कठीन काम हो। किनभने, सपना देख्न आधार चाहिन्छ। त्योभन्दा महत्त्वपूर्ण, सपना देख्न 'एक्सपोजर' चाहिन्छ।
वार्षिक दुईसरो लुगाले बाल्यकाल काटेका केटाकेटीले कहाँबाट फेसन डिजाइनर बन्ने सपना देख्नु?
चप्पलका पाङ्ग्रा गुडाएर हुर्किएकाले अटोमोबाइल इन्जिनियर बन्ने सपना कसरी देख्नु?
बुबाआमालाई रातोदिन गर्जो टार्नै हम्मेहम्मे परेको देखेका केटाकेटीले बिहे गरेर एक मुख कम गरिदिने वा खाडी गएर उनीहरूको बोझ हल्का गरिदिने बाहेका सपनाको बोझ कसरी धान्न सक्नु?
जीवन-मरणको दोसाँधमा रहेका कलिला किशोरीहरूलाई सुत्केरी गराउन आक्कल झुक्कल आकाशमा झुल्किने हेलिकप्टर देखेर उनीहरू 'पाइलोट' बन्ने सपना देख्न सक्छन् भने अर्थपूर्ण 'एक्सपोजर' पाएका खन्डमा के के आँक्दा हुन्?
हाम्रा बाबुआमासित 'उही पराठा बेल्ने मात्र बन्ली' भन्ने डरले छोरीहरूलाई जीरा र धनियाँको धूलो नचिनाई राख्न सक्ने सुविधा नभए पनि कमसेकम राज्यले केटाकेटीहरूलाई सपना देख्न मात्र भए पनि सघाए हुन्थ्यो। गुन्जन सक्सेनाका जस्ता कथा नै सही, उनीहरूसम्म पुग्न सके हुन्थ्यो। सपना देख्ने र सपनाका पछि भाग्ने हुटहुटी उनीहरूभित्र जगाउन सकेका दिन सशक्तिकरणको मुद्दाको परिभाषा पनि फेरिन्थ्यो होला।
र अन्तमा,
कुनै एकान्त पलमा प्रेमले ओतप्रोत भएका बेला गुन्जन शर्माले आफ्नो प्रेमीसित बिहे गर्ने इच्छा प्रकट गरेकी थिई। उसको प्रेमीले त्यसलाई शारीरिक सम्बन्धको 'सिग्नल' को रूपमा बुझेको थियो र उसले प्रतिवाद गर्दा भनेको थियो, 'तुम मानसिक रूपमे बीमार हो, गुंजन शर्मा...'।
के गुन्जन शर्मा साँच्चिकै 'बीमार' थिई?, मलाई थाहा छैन। प्रेमका बारेमा ऊ के सोच्थी? यौनका बारेमा ऊ के सोच्थी? करिअरकै बारेमा ऊ के सोच्थी?, मलाई थाहा छैन। किनकी कथा त विवेकानन्दले भनेका थिए। गुन्जन शर्मा उसको प्रेमीका नजरमा 'बीमार' थिई, जसरी गुन्जन सक्सेना उसको दाइको नजरमा अफिसर थिइन।
बस्, कसको नजरिया भन्ने न हो!
(दुर्गा कार्कीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)