जम्मू यात्रा- ३
यो लेखको पहिलो भागः छुट्टिने बेलाको बोली अन्तिम रहेनछ
यो लेखको दोस्रो भागः हम देखेंगे
आत्तिँदै मेरो क्याबिनमा छिरेको बालकले मलाई उठाउन सक्थ्यो तर उठाएन। निदाएजस्तो गर्नेलाई उठाएर के फाइदा?
उसको अनुहार डराएको छ। डराएको अनुहारसँग म पनि डराएँ। उसको डर मैले नडराएको भए हराउँथ्यो। तर म डराएँ।
अरूको डर हटाउने मौका मलाई जस्तै इतिहासमा धेरैलाई आएको थियो। तर मेरो मनजस्तै सबैको मन पनि डरायो। म निदाएजस्तो गरेँ र उठिनँ। उनीहरूले पनि त्यसै गरे।
निदाएका मान्छे मात्र उठिदिएका भए इतिहासका कयौं काला दिनहरू उज्याला हुने थिए। अर्काको डरमा डराएका मान्छे मात्रै नडराइदिएका भए डर देखाउनेहरू हराइसक्ने थिए। डराएको आँखामा मात्र कसैले नडराइ हेरिदिको भए डर आँखामै डुब्ने थियो।
इतिहास 'हिजो' मात्र होइन। भोलिको इतिहास त 'आजै' हो। म आजै डराएँ।
मन डराएपछि म आधा मान्छे हुन्छु। आधा निद्रा सुत्छु।
हामी बाँचिरहेको समय 'आधा' बाट बनेको छ। यो पूरा भए जस्तो देखिन्छ तर वास्तवमा आधा मात्र छ। आधा न्याय। आधा सरकार। आधा बाचा। आधा विकास।
रेल ठूलो आवाज निकालेर गुड्न थाल्यो। म सुतेको सिटमुनि बसिरहेको बालक झ्यालतिर सर्यो र बाहिर हेर्न थाल्यो। डराएको अनुहारले ऊ के हेर्दै होला? पर कतै हिउँमा छुटिरहेको मान्छे जस्तो आकृति कसको हो?
यस्तरी डराउँदै चढेको मान्छेले पछाडि पक्कै केही छाडेर आएको छ। डराउँदै भागेकाहरू केही न केही छाडेर भागेका हुन्छन्।
तर उसले के छाडेर आयो, त्यो मलाई थाहा छैन। अरूले के छोडेर आएका छन् मात्र थाहा भइदिएपछि धेरै सम्बन्धहरू अर्कै हुन्थे।
पछाडि जे छुटेको भए पनि रेल चढेपछि कहीँ पुगिन्छ भन्ने उसलाई लागेको हुनुपर्छ। पछाडि जो छुटेको भए पनि रेल चढेपछि अगाडि कोही भेटिन्छ भन्ने उसलाई लागेको हुनुपर्छ। रेलको गति बढेसँगै उसको अनुहारको डर घट्न थालेको देख्छु। तर पनि म उठ्दिनँ। उसले भेट्न खोजेको मान्छे म हुन किन सकिनँ?
कसैले भेट्न खोजेको मान्छे जो कोही हुँदैन रहेछ।
उसको डर धेरैबेर घट्न पाउँदैन।
दौडिन थालिसकेको रेल रोकिन्छ। झ्यालबाट बाहिर हेरिरहेको ऊ फर्किएर आफू आएको ढोकातिर हेर्न थाल्छ। रेल रोकिँदा ऊ किन पहिलाभन्दा डराएको?
उसको डर मलाई सर्छ। डर सबभन्दा छिटो सर्छ।
यतिबेला पनि म उठेर ऊसँग आँखा जुधाएको भए उसको डर बाँकी हुने थिएन। तर म त भविष्यका लागि आँखा बन्द गरिरहेको थिएँ। ऊ विगतबाट तर्सिएर वर्तमानमा डराइरहेको थियो। एउटै रेलको डिब्बामा हामी फरक-फरक 'काल' बाँचिरहेका थियौं। छौं।
रेल रोकिएको आवाज सुनेर ऊ अधैर्य भयो। के गर्ने, भेउ पाउन सकेन। रेल चलेपछि सबै थोक चल्छजस्तो लागेको उसलाई रेल रोकिएपछि सबै थोक रोकिएजस्तो लाग्यो।
उसले नरोक्नु सोचेका बेला रेल रोक्ने 'रातो डोरी' कसले तान्यो? रेल कुदाउने डोरी कहाँ छ?
ऊ अत्तालिँदै उठ्यो र नजिकैको सिटमा चढेर ढोकाको चुकुल लगायो।
म यतिबेला ब्युँझिएको भए पनि हुन्थ्यो। तर ब्युझिनँ।
म उठेर उसको नजिकै बसिदियोस् र उसलाई सबै ठीक हुन्छ भनिदेओस् भन्ने ऊ चाहन्थ्यो। तर म डराएर ब्युँझिनँ। बरू नजिकै भएको उसलाई बेवास्ता गरेँ। यी कुराले उसलाई पो फरक पार्छ, मलाई केही फरक पार्दैन जस्तो लाग्यो।
जस्तो लागेको सबै कुरा हुँदैन।
रेल रोकिएको आवाज राम्रोसँग बज्न नपाउँदै बाहिर पाइला बाक्ला भए। काट्ने बेला उम्किएको खसी समात्न मानिसहरू पछाडि दौडिए जस्तै ती हुरुरु रेलमा चढे र ढोका बेस्सरी ढकढक्याउन थाले।
हरेक ढकढकमा बालकको मुटुको धड्कन र मेरो मुटुको धड्कन एकैपल्ट धड्कियो। तर म उसको ढकढकलाई शान्त बनाउन उठिनँ। उसको धड्कन विगतको हो। मेरो धड्कन भविष्यको हो। मलाई यस्तै लागिरह्यो।
लागिरहेको जस्तो सबै कुरा हुँदैन।
हाम्रो मुटु एउटै डरबाट धड्किरहेको छ तर म उसलाई शान्त बनाउन उठ्दिनँ। 'काल' फरक भए पनि एकैपल्ट धड्किएको धड्कन एकैपल्ट रोकिन पनि सक्छ भन्ने मलाई हेक्का भएन।
अर्काको मुटुको धड्कन आफ्नो सुने जति नै सुन्न पाएको भए कति ठूला ठूला युद्धहरू रोकिने थिए। कति ठूला ठूला दंगाहरू हुने नै थिएनन्।
तर मुटुको धड्कन कहिले धर्मले सुन्न दिएनन्। कहिले रिस, कहिले 'आइडियोलोजी', त कहिले जात र सम्प्रदायले सुन्न दिएनन्।
यी सबै छाडेर मान्छेले अरूको मुटुको धड्कन मात्र सुनिदिएका भए?
अकस्मात् ड्याम्म आवाज निस्कियो। ढोका खुल्यो। रेल पुरै रोकियो। मैले आँखा चिम्लिएँ। हतियारसहित आएका केही युवकहरूले उसलाई घेरे। ऊ पनि आँखा चिम्लिरहेको रहेछ। एक युवकले उसलाई टपक्क टिप्यो र ढोकातिर बढ्यो। उसले अन्तिम आशा राखेर मैले ओढिरहेको लुगा समात्यो। म अर्कोतिर फर्किएँ र उसले तान्न नसक्ने गरी लुगा बचाएँ।
तर त्यसले मलाई बचाएन। तानातान भइरहेकै बेला हतियार बोकेको एक युवक उसलाई छाडेर मतिर बढ्यो र बालकले तानेको ठाउँमै समातेर मलाई छुन खोज्यो। ऊ बाट जोगिन बल गरेर खुट्टा तान्ने हुँदा झल्याँस्स ब्युँझिएँ।
नेपाल ससुराली भएका आर्मी दाइ आफ्नो झोला तयार पारिसकेर मलाई कोट्याउँदै 'भाइ, जम्मू आइपुग्यो, उठ' भन्दै रहेछन्।
म सपनाको बाटो हिँडेर जम्मू पुग्दा रेल पनि पन्जाबको लामो बाटो काटेर जम्मू नै पुगिसकेछ। पन्जाब नाम सुन्नासाथ भारत-पाकिस्तान विभाजन सम्झिहाल्थेँ। त्यही बाटो जाँदै छु भन्ने भएपछि त्यसैको कथा सपनामा देखेछु।
सिटबाट तल ओर्लिएँ। सपनामा बालक बसेको सिट हेरेँ। ऊ त्यहीँ छ जस्तो लाग्यो। विभाजनमा कतै भागिरहेको थियो सायद। ऊ बाहेक अरू को-को त्यसरी नै भागेका थिए होला? ऊ क-कसलाई छाडेर आफ्नो ज्यान बचाउन हिँडेको थियो होला?
उसले भागेको विगत त वर्तमान नै रहेछ। सबै विगत विगत हुन कहाँ पाउनू? बल्झिरहने विगत के विगत?
आर्मी दाइ झोला तयार पारेर ओर्लिन ठिक्क पर्दै छन्। उनलाई लिन कोही सहयोगी आएको छ। उसले 'सर' लगाएको आधारमा ठूलै पोष्टमा रहेछन् भन्ने अनुमान गर्छु। आर्मीका अफिसर होलान्। बिदा सकेर जम्मू फर्किँदै छन्।
बिदा सकेर जम्मू फर्किने सिपाहीलाई कस्तो लाग्दो हो?
यति बेला भारत-पाकिस्तानबीच फेरि तनाव भइरहेको छ। भारत-पाकिस्तानबीच तनाव हुँदा जहिल्यै पनि 'बिदामा घर आएका गोर्खा सैनिक फर्किए' भन्ने समाचार आउँछ। उनीहरू कसरी फर्किँदा हुन्?
तनाव बढेको खबर माथिल्लो तहबाट आर्मी अफिसरसम्म आइपुग्दा कसरी आउँदो हो? उनीबाट सिपाहीसम्म कसरी पुग्दो हो? सिपाहीबाट तिनको परिवारसम्म कसरी पुग्दो हो?
लडाइँको खबर गह्रौं-गह्रौं हुँदै तलसम्म पुग्छ र जसले सबैभन्दा गह्रौं खबर सुन्छ, त्यसलाई उसले वर्षौंसम्म बोकिरहन्छ। पुस्तौंसम्म बोकिरहन्छ। तर गह्रौं खबर निर्माण गर्नेहरू यसलाई रोक्न खोज्दैनन्।
यस्ता गह्रौं खबर दिनेहरू दुवैतिर छन्। उनीहरू गह्रौं भारी बोकेका सिपाहीलाई भिडाउन व्यस्त छन्। लडाइँमा उत्पादित खबर घर पठाउन व्यस्त छन्।
कति परिवार त बरू गह्रौं नै भए पनि खबर सुन्न पाए हुन्थ्यो भनिरहेका होलान्। द्वन्द्वकालका बेला श्रीमान वेपत्ता पारिएका एक दिदीलाई पोखरामा भेटेको थिएँ। उनले रूँदै भनेकी थिइन्, 'बरू मर्यो भन्ने सुन्न पाए पर्खिनु पर्दैन थियो।'
देशको सम्बन्ध खराब भेदिँदा मान्छेको सम्बन्धलाई असर पर्छ। राजनीतिको सम्बन्ध खराब भइदिँदा मान्छेको सम्बन्धलाई असर गर्छ। तर मान्छे भएरै बनेको देशले मान्छेकै सबभन्दा महत्त्वपूर्ण यही कुरा बुझ्दैनन्। मान्छे भएरै बनेको राजनीतिले मान्छेकै यही कुरा बुझ्दैनन्।
युद्ध एक अर्कासँग भिड्नु होइन। एक अर्कालाई नबुझ्नु हो।
मैले जुत्ता लगाउँदै गर्दा सिपाही दाइ बाहिर निस्किसकेका छन्। अब उनी जम्मूमै रहलान् कि छिट्टै कश्मीर उक्लेलान्?
विभाजनको पीडामा फसेको बालकलाई देखिरहेको सपनाबाट कश्मीरमा लडाइँ लड्न जाने सम्भावना भएका सिपाही दाइले मलाई उठाएर गए।
त्यो बालक उनको सपनामा पनि गयो कि?
कश्मीरका पण्डित दाइ बेलुका सिटमुनि हालेको ससुरालीको कोसेली निकाल्दै छन्। हिजो त्यही कोसेलीले हामीलाई बोल्ने बनाएको थियो।
'ससुरालीको माया, नल्याऊँ भन्न पनि भएन,' उनी सामान सिटमुनि हाल्दै बोलेका थिए।
'ससुराली नभएको मान्छे, मलाई ससुरालीको कोसेली कस्तो हुन्छ के थाहा?' मैले हाँस्दै जवाफ फर्काएको थिएँ।
'मेरो ससुराली नेपाल हो नि,' सिपाही दाइ पढिरहेको किताबको पानाबाट हाम्रो कुराकानीमा मिसिएका थिए।
कहिलेकाहीँ कुराकानी बढ्न एउटा शब्द नै काफी हुन्छ। तर त्यो शब्दले सबैलाई एकै ठाउँमा पुर्याउनुपर्छ।
यसरी हाँसेर सुरू भएको थियो हाम्रो कुराकानी।
त्यसमा बिस्तारै एकआपसका कथाको पुल हाल्न थालेका थियौं। त्यसमा तर्दै-तर्दै त हो हामी उनले कश्मीरमा छाडेको घर पुगेको।
'के भएको थियो सुनाउनु न दाइ,' आर्मी दाइ र मैले एकै स्वरमा उनलाई अनुरोध गरेका थियौं।
उनले कथा सुनाउन थालेका थिए।
घाम लागिरहेजस्तो हँसिलो उनको अनुहारमा विगतको कथा सुनाउँदै गर्दा कालो बादल लाग्न थालिसकेको थियो। बादललाई घाम छेक्न कति बेर लाग्छ र?
कश्मीरमा हिंसा भड्किएको खबर सुन्दा उनी बसपार्कमै थिए। उनको यातायात व्यवसाय थियो। जम्मू झर्न लागेको बसलाई पठाउने अन्तिम प्रक्रिया पुर्याउँदै थिए। बसपार्कमा त्यसरी काम गरेको वर्षौं भइसकेकाले उनलाई सबैले चिन्थे। हाँसेर बोलाउँथे। उनलाई घाम मनपर्थ्यो। एउटा बस पठाएर अर्को बस पठाउनुभन्दा पहिलाको खाली समयमा उनी घाम ताप्थे।
बसलाई प्याटप्याट हिर्काएर बाटो लगाइदिएपछि उनी सधैंजस्तो त्यस दिन पनि घाम ताप्न खोज्दै थिए। घाम पल्लो डाँडामा मात्र लागिरहेको थियो। घामलाई डाँडा नाग्न कति समय लाग्छ र? उनी घाम आउने समय पर्खिरहेका थिए।
ठीक त्यसै बेला माथि गाउँमा हिंसा भड्किएको खबर पल्लो डाँडामा लागिरहेको घाम सर्दै आए जसरी उनीतिर आउन थाल्यो। घाममा हिंसा मिसिएपछि त्यसले धेरै पोल्छ। उनी भाग्न खोजे। भाग्ने मान्छेलाई पो समय लाग्छ, हिंसा मिसिएको घामलाई डाँडा काट्न कति समय लाग्छ र?
उनलाई मन पर्ने घामले धपाइरहेको थियो। घामबाट कहाँ भाग्नु? घामबाट कसरी लुक्नु?
आफूलाई मनपर्ने चिजले धपाउँदा छिटो भाग्न सकिँदैन। धपाएकै हो त भन्ने सोच्दा-सोच्दै धपाउने नजिकै आइसक्छ।
हतार हतार घर दौडिए। स्कुल गएका छोराछोरी फर्किसकेका थिए। उनलाई जस्तै घामले मान्छेहरूलाई खेदाइरहेको थियो। साँझ पर्दासम्म धेरै मान्छे जून भइसकेका थिए।
घामले खेदाएका मान्छेलाई जून हुन कतिबेर लाग्छ र?
अर्को घाम उदाउनुभन्दा पहिला नै उनले गाउँ छोड्नुपर्ने भयो। जून हुनुभन्दा पहिला नै उनले गाउँ छोड्नुपर्ने भयो।
हतार हतारमा जे जति पोको पार्न सक्थे पोको पारे र आफ्नो बस आफैंले कुदाएर जम्मू झरे। फुर्सदमा जोहो गरेका सामान हतारमा पोको पार्न सकस हुन्छ।
कश्मीरमा भएका उनका सबै बस जम्मूसम्म झर्थे र फर्किन्थे। तर त्यस दिन बस पठाउँदै थिएनन्। आफूलाई पठाउँदै थिए। त्यस दिन कसैलाई पुर्याउँदै थिएनन्, आफूलाई भगाउँदै थिए। अरूबेला बस चढ्न हात उठाउनेहरू उनी परैबाट चिन्थे। त्यो दिन बाटोमा हात उठाउने कसैलाई पनि गाडी रोकेनन्। चिनेका मान्छेसँग आँखा जुधाउनबाट डराए। चिनेका आँखाबाट भाग्न सबभन्दा गाह्रो हुन्छ।
नफर्किने गरी हिँडेको मान्छेले अरूको आँखा छल्न खोज्छ।
बाटोमा उठाउने हातसँग उनलाई डर लाग्यो।
कश्मीर छुट्ने बेला उनलाई चाँडै फर्किएर सबै थोक मिलाउँछु भन्ने लागेको थियो। तर घामबाट भागेर हिँडेको मान्छे घाम हुन्जेल कसरी फर्किनु?
उनले पठाएको खबरले व्यवसाय चलाउने कुरै भएन। उनी जम्मूमा अडिन समय लाग्यो। मान्छे नै अडिएपछि गुड्ने यातायातको के काम?
गाडी जम्मू ल्याउन नखोजेका हैनन्। तर चलाएर ल्याइदिने ड्राइभर भएनन्। मनले खाएका ड्राइभरलाई सोधी हेरे तर कसैले पनि जोखिम लिएनन्। भाग्न नपाउनेहरूले भागिसकेका मान्छेको काम गरेर किन जोखिम लिनु?
उनैले काम लगाएका चालकले पनि ल्याइदिन पाएनन्। उनले जिन्दगीभर जसलाई जम्मू-कश्मीर गराइरहे, तिनले नै उनको गाडी कश्मीर ल्याउन दिएनन्।
अनि उनले बिर्सिए।
कश्मीरको घाम पनि बिर्सिए।
घर पनि बिर्सिए।
आफू कश्मीरबाट आएको थिएँ भन्ने पनि बिर्सिए।
तर बिर्सिन सजिलो कहाँ हुन्छ?
हामीलाइ कथा सुनाउँदा उनी फेरि त्यहीँ पुगे। विगत बिर्सिन सजिलो कहाँ हुन्छ?
कथा सुन्दासुन्दै उनको अनुहारको बादल हाम्रो अनुहारमा सर्यो। बादल गह्रौं भएपछि पानी पर्छ। उनको आँखामा पानी पर्यो। हाम्रो आँखामा पनि पानी पर्यो। उनले पानी पुछे। हामीले पनि पुछ्यौं।
युद्ध र हिंसाको आँखा हुँदैन। यसको मन पनि हुँदैन। यसले को आफ्नो को परको, चिन्दैन। फेरि युद्ध युद्ध कहाँ हो? यो त व्यापार हो। युद्ध र हिंसामा फाइदा हुने व्यापारको पनि आँखा हुँदैन।
यसले आफूसँग भएको सबभन्दा प्रिय चिज नै आफ्नो हुन दिँदैन। यसलाई अन्तिमपल्ट बुझ्नेहरू निस्किएका छैनन्। एउटा देशले बुझ्यो भने अर्को देश नबुझ्ने भइहाल्छ। एउटा जातिले बुझ्यो भने अर्को जाति नबुझ्ने भई हाल्छ। एउटा धर्मले बुझ्यो भने...
युद्ध भनेको एक अर्कालाई नबुझ्नु हो। एक अर्काबाट नसिक्नु हो।
उनको कथाले ओभाएका आँखाले पनि सायद मलाई विभाजनबाट भागिरहेको बालकसम्म पुर्याएका थिए।
'सामान छुट्ला राम्रोसँग हेर्नू भाइ' मैले झोला तयार पार्दै गर्दा यसो भन्दै कश्मीरका पण्डित दाइ पनि निस्किए। क्याबिन खाली भयो।
हिजोबाट बसेको भए पनि निस्किने बेलासम्ममा क्याबिन प्रिय भइसकेको थियो। त्यसका धेरै चिजहरू चिन्ने भइसकेको थिएँ। त्यहाँ सँगै बसेका मान्छेका कथाले झनै नजिकै बनाइरहेको थियो। चिन्ने भएपछि माया बस्छ। कथा जानेपछि माया बढ्छ।
सँगै बसिरहेको छिमेकीले त झन् धेरै थोक जानेको हुन्छ। तर दंगा भड्किएपछि उसले किन सबै कथा बिर्सिन्छ? युद्ध, दंगा हुनु भनेको कथा बिर्सिनु हो।
कस्तो बिर्सिएछु। हिजो बेलुका ह्वाट्सएपमा कुराकानी हुँदा 'बिहान आइपुगेर खबर गर्नू' भनेका थिए आयोजकले। आइपुगेँ भन्ने खबर दिन फोन लगाउन थाल्छु। तर फोन लाग्दैन।
के भयो? डाटा खोलेर ह्वाट्सएपबाट म्यासेज गर्छु। त्यहाँबाट पनि म्यासेज जाँदैन। फेरि फोन लगाउँछु तर अहँ फोन जाँदैन।
एकपल्ट फोन नजाँदा अनुहारमा घाम थियो। अर्कोपल्ट पनि उसैगरी नजाँदा बादल आफूतिर दौडिरहेको जस्तो देख्छु।
ट्याक्सीवाला दाइले 'जम्मूमा दिल्लीको सिम चल्दैन' भनेको याद आउँछ र हातमा पसिना बनी बस्छ।
मोबाइलमा टावर छैन। स्टेसनको वाइफाइ सिग्नल पनि अफ छ। म आइपुगेँ भनेर अब कसरी भन्ने? लिन आउने भनेको मान्छेलाई आइपुगेँ नभनी कसरी पुग्ने?
पुगेर पनि पुगेँ भन्न पाइएन भने पुगिँदैन।
स्टेसनमा लिन आइहाल्छन् भनेर मैले नै होटलको जानकारी मागिनँ। बेलुका कुरा हुँदा अघिल्लै दिन पुग्नु भएका विमल सर (जम्मूमा मञ्चन हुन लागेको नाटकका निर्देशक) लाई पनि आउनुपर्ने ठाउँ कहाँ हो सोधिनँ। नयाँ दिल्ली एयरपोर्टको इमिग्रेसनमा 'जम्मू कहाँ जाने?' भनेर सोधेको बेला 'जम्मू थिएटर' मात्र भनेर निस्किएँ।
होटल वा थिएटरको ठेगाना मात्र थाहा भएको भए पनि ट्याक्सी लिएर जान गाह्रो हुँदैन थियो। स्टेसनमा उत्रिनासाथ पुगेको भन्ने हुँदैन।
बादल नजिकै नजिकै आउन थाल्यो।
अघिल्लो पल्ट यस्तै नाटक महोत्सवका लागि गुवाहाटी जाँदा स्टेसनमा आयोजक प्लेकार्ड बोकेर बसेका थिए। यहाँ पनि त्यस्तै कोही बसिरहेको छ कि? पुरानो घटनाले आशावादी बनायो।
मनमा हिम्मत आएकाले होला, बादल एकछिन रोकिएजस्तो लाग्यो।
प्लेटफर्ममा ओर्लिएँ। मलाई लिन आएका आँखा खोजेँ। तर कतै पनि देखिनँ। बादल फेरि मतिर आउनलाई उड्न थाल्यो।
अलि पर कश्मीरका पण्डित दाइ झोला बिसाएर कसैलाई पर्खिँदै रहेछन्। पूरै स्टेसनमा मैले चिनेका मान्छे उनै मात्र हुन्। यति बेला उनीसँग मात्र म आँखा जुधाएर कुरा गर्न सक्छु। नचिनेको ठाउँमा आँखा जुधाएर कुरा गरिदिने मान्छे हुनु पनि कति ठूलो कुरा हो।
उनी मेरो अनुहारमा लाग्न थालेको बादल चिन्छन्।
उनकै फोनबाट थिएटर फेस्टिभल आयोजकको नम्बरमा फोन गर्छु। स्विच अफ भन्छ। स्विच अफ छ भन्ने जानकारी दिने आवाज कति कर्कस? त्यति अप्रिय आवाज कहिल्यै सुनेको थिइनँ। म निराश भएर उनलाई फोन फिर्ता दिन्छु।
'ठेगाना थाहा भएको भए मेरो गाडी आउँदै थियो,' उनी सान्त्वना दिन खोज्छन्। अब उनले चाहेर पनि गर्न सक्ने केही छैन।
ठेगाना नहुनुले धेरै फरक पार्छ।
कश्मीरका पण्डित दाइसँग अन्तिमपल्ट बिदा माग्छु। उनी कसिलो गरी हात मिलाउँछन्। उनले गर्न सक्ने अब केही छैन तर छुट्ने बेला उनले समातेको कसिलो हातले अनुहारको बादललाई समातेर पर फ्याँकिदिए जस्तो लाग्छ।
'म त्यसरी भाग्दै आएर त अडिएँ, टिकट काटेर आएको मान्छे के आत्तिएको?' स्टेसनबाट गइसकेका उनले यस्तै भनिरहेको जस्तो लाग्यो।
बाटोमा साथी भेटिए भने आँट हुन्छ भनेर बुढापाकाले त्यसै भनेका कहाँ रैछन् र? बाटोमा भेटिएको साथी छुट्टिएपछि पनि आँट भइरहने रहेछ। पण्डित दाइले कसिलो गरी समातेको हातले मलाई अर्कै आँट दियो। डर हटाएको होइन तर सँगै आँट उभ्याइदियो। स्टेसनमा अरूसँग आँखा जुधाउन सक्ने बनाइदियो।
आँट दिनु भनेको सक्ने बनाइदिनु हो।
बाहिर निस्किएँ र चिया मागेँ। भारतले भर्खरै यो क्षेत्रलाई आफ्नो कानुन पालना हुने ठाउँमा गाभेको छ। बाहिरको सिम नचल्ने भएदेखि इन्टरनेट सेवा पनि बन्द छ। मान्छेहरू एक अर्कासँग कम बोलेका छन्। वरपर अचम्मैसँगको सन्नाटा लाग्छ। मानिसहरू टाढा टाढा छन्। सैनिकका गाडी र सैनिक मात्र देखिन्छन्।
मन डराउन खोजेको थाहा पाउनासाथ पण्डित दाइ कसिलो गरी समाइहाल्छन्। डर केही बेर धकेलिन्छ।
नडराउनु भनेको डरलाई अलि पर धकेल्नु हो।
आफूभित्र हुन्जेल लिन आउने मान्छे बाहिर पो छन् कि जस्तो भएको थियो। बाहिर आएपछि भित्र पो छन् कि जस्तो लाग्छ। फेरि भित्र जान्छु। अर्को रेल आएर स्टेसनमा भिड बढिसकेछ। मन फेरि आत्तिन खोज्छ। पण्डित दाइ अघि भेटेको ठाउँमै उभिएजस्तो देख्छु। उनले 'केही भएकै छैन किन आत्तिएको'? भनेजस्तो लाग्छ।
नडराउनु भनेको कसैले सान्त्वना दिनु रहेछ।
म नौलो ठाउँमा नौलो नदेखिन खोज्दै छु। लिन आउने मान्छेसँग सम्पर्क नभए पनि कोही लिन आउँदै गरे जसरी आफूलाई देखाउन खोज्दैछु। म जे भएको छु त्यो होइन जस्तो देखाउन खोज्दैछु। म मान्छेका आँखाले चिन्छन् कि भनेर आँखा नजुधाउन खोज्दै छु।
'समस्यासँग भागेर हुन्छ। समाधान पो खोज्नुपर्छ,' पण्डित दाइले गाली गर्दै कतै देखाएजस्तो लाग्छ। त्यता हेर्छु। एउटा मान्छेसँग आँखा जुध्छ।
'सिम खुल्यो कि, एकपल्ट यी मान्छेसँग फोन मागेर ट्राइ गरे भो नि त,' उनले यस्तो भनेको जस्तो लाग्छ।
आँखा जुधाउन सक्ने मान्छेसँग सहयोग माग्न सकिने रहेछ। म उनको फोन माग्छु र आयोजकलाई फोन गर्छु। फोन अझै पनि स्विच अफ छ।
'मान्छे लिन आइसक्यो कि, त्यहाँ एनाउन्स गराउने ठाउँमा आफ्नो बारेमा भन्न लगाऊ न,' ती दाइले पनि मेरो समस्या बुझेछन्। आँखा जुधाउने मान्छेले नभनी कति धेरै कुरा बुझ्छ।
अन्तिम अप्सन त्यही भएपछि एनाउन्स गर्ने ठाउँमा आफ्नो नाम र आएको देश टिपाउँछु।
'नेपालबाट आएको सुरज सुवेदीलाई लिन आउनुभएको छ भने यहाँ सम्पर्क गर्नुहोला,' हिन्दी भाषामा स्पिकरमा बजेको आफ्नो नाम भएको सूचना आफैं अनुवाद भएर नेपालीमा सुनिन्छ। मेलामा आफू हराएको सूचना आफैंले सुनेजस्तो लाग्छ।
एनाउन्स गर्ने दाइसँग पनि आँखा जुधाउन सक्छु। आँखा जुधाउन सक्ने मान्छे थपिँदै गएपछि डर आफैं हराउँदै जान्छ।
कश्मीरका पण्डित दाइ 'लिन आएका यी नै हैनन्?' भने जसरी मलाई कोट्याउँछन्। म उनले कोट्याएतिर हेर्छु।
मेलामा हराएको आफ्नो बालकको नाम सुनेर बाबुआमा हतारिएजस्तै दुई युवक मतिर लम्किँदै आइरहेका छन्।
उनीहरू दुई जनासँगै आँखा जुध्छ। आफूले खोजेका आँखा आफ्नो आँखा अगाडि देख्दा आँखा भरिन्छन्। आँखा भरिन सक्ने मान्छेसँग सुरक्षित भइन्छ।
सपनामा देखेको बालकसँग आँखा जुधाउन सकिनँ। जुधाएको भए यी आँखा उसका हुने थिए।
(जम्मू यात्राको यो अन्तिम भाग हो)
सुरज सुवेदीका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्